हाम्रा नारीहरु पशु सरी बेचिए मुम्बईमा ।
शिक्षा रूपी नयन नहुँदा बाध्यता भो उनीमा ।
आँखा खोली किरण तिमिले चेतनाका फिँजार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
देखेका छौ सिरक नभको ओढ्दछन् बालबच्चा ।
हेरेकै छौ पथ सडकको जोड्दछन् वास कच्चा ।
खाते हेला किन हुन गए गर्नु पर्ला पियार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
भूमी जोत्ने कृषकहरुको साँझको गास छैन ।
बन्छन् उच्चा महल तर ती ज्यामिको वास छैन ।
टर्लान् यस्तै कति दिन अरू खून तिन्को चुसेर १
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
भारी बोक्छन् तरर पसिना नित्य झारी भरीया ।
फेरीदेउन् कसरि तिनले श्रीमतीको फरीया ।
फाटेको हो कमिज उनको जीर्ण दौरा परार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
भेटेका छौ कतिपय तिमी बाह्र वर्षे खलाँसी ।
भाँडा माझ्छन् कति त बिचरा ! नित्य खाएर बासी ।
तिन्को पढ्ने रहर मनमै जान्छ क्यारे मरेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
गिट्टी फोर्छन् अझ ति कलिला हातले वालवच्चा ।
पढ्ने लेख्ने तिनिसित कठै ! छैन होला र इच्छा ?
देखेका छौ युवक तिमिले खोइ वालाधिकार?
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
भ्रष्टाचारीहरु दिनदिनै देशमा बढ्न थाले ।
जूका जस्तै गरि मुलुकको दाममा गड्न थाले ।
छानी छानी अब युवक हो पूर खाल्डो खनेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
गुण्डागर्दीतिर प्रगति भो उन्नती भो डकैती ।
निर्धामाथि झन दमन भो च्यापिएछन् सबै ति ।
हिँड्छन् हाम्रा बुधजनहरू नैन नै चिम्लिएर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।