15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मूल खाँबो

लघुकथा डिल्लीप्रसाद अधिकारी February 7, 2022, 4:54 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

हुन त त्यो घरको मूल खाँबो आमा थिइन्। तर बुहारीले उनलाई मानसिक रूपमा बन्दी बनाएर पालेकी हुनाले आमाको अस्तित्व थिएन नै भन्दा पनि हुन्छ। त्यसैले घरमा मूल खाँबो थिएन तर एकाएक एउटा छोरो त्यो घरको धुरीमा परिणत भयो। आमालाई पालेर महान बन्ने त्यो आडम्बरी छोराले बुहारीलाई साह्रै बेसी सम्मानित गर्ने नयाँ सोच देखाउँथ्यो र समाजले उसको वैभवशाली जीवन देखेर उसका हरेक कुरालाई नवीन, महान, ओजश्वी, महान आदि भन्दथे। उ भने खासमा स्त्री लम्पट थियो र पैसामा किन्न सकिने नारी भोगका वस्तु मात्र हुन् भन्ने ज्ञान आर्जन गरेको थियो। छोराको ध्येय भने अब समाजकै धुरी बन्नतिर लागेको थियो। भौतिक सम्पत्तिको राम्रो जोहो गर्न सकेमा जो कोही पनि महान बन्न सक्ने सामाजिक मान्यतामा उसको व्यक्तित्व समय सापेक्ष थियो।

घरमा अरू सदश्य पनि थिए तर उसको वर्चश्व यति धेरै थियो कि अरू सबैलाई ओझेलमा राख्न छोरो सक्षम थियो। समाजमा पनि उ धुरी नै हुन थालेको थियो। यो सबै यसकारण सम्भव भयो कि उसमा पैसा बगाउन सक्ने क्षमता थियो। आचार, संस्कार, नैतिकता सबै बजारमा किन्न पाइने वस्तु भएको समाजमा माया, प्रेम सद्भाव पनि विक्रिमा छन् भन्ने गहिरो ज्ञान उसमा भएकाले सासू पाल्ने उसकी स्वास्नी पनि गद्-गद् थिई।

घरको मूल खाँबो एकदिन ढल्यो अर्थात् आमा स्वर्गे भइन्। अब भने धुरी डगमगायो र ढल्ने भयो। उ जागेन किनभने पैसा भए मूल खाँबो अर्को लगाइहाल्न सकिन्छ भनेर स्वास्नीले सल्लाह दिई। तर कसैगरे भएन। ढलेपछि मात्र मूल खाँबोको अस्तित्व टड्कारो बोध भयो। धुरी बनेको महान छोराले आफूलाई सिस्सहाय पायो। समाजको आडम्बर पनि उसले बुझ्यो साथै परिवारको आवश्यकता पनि उसलाई अनुभव हुन थाल्यो जुन परिवार खासमा मूल खाँबामा जोडिएका थिए र धुरीलाई होइन भुँइलाई महत्तवपूर्ण ठान्थे। उसले अब भने चाल पायो कि धुरी हुनु भनेको मूल खाँबाको भरमा मात्र रहेछ। सधैँ धुरी हुनलाई मूल खाँबोलाई सम्हाल्नुपर्ने रहेछ तर समय बितिसकेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।