15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डोल्पा घुमेपछि

नियात्रा प्रभा बराल February 7, 2022, 4:59 am
प्रभा बराल
प्रभा बराल

घामको रापले बाहिरको तुषारो पगाल्न बाँकी नै थियो । हामी चार मानुषी बिहान अबेलासम्म कोठाभित्र बस्नै सकेनौँ । कति बेला से–फोक्सुण्डो ताल हेर्न जाऊँ भयो । लामा होटलका बहिनीले “अहिले जाडो हुन्छ एकछिन पछि जानुहोला” भने । उनीहरूले बनाएको तातो चिया र फापरको रोटी विलम्ब नगरी खायाैँ । भान्छाको तातो कोठा भए पनि अलमल गरेर बस्न मनै मानेन । पाइलाहरू आफैँ तालतिर सोझिए । यहाँसम्म आइपुग्न कात्तिक १ गते काठमाडौँदेखि रुकुम पश्चिमसम्मको पच्चीस घण्टे यात्रा गरियो । रुकुमदेखि डोल्पा त्रिपुराकोटसम्म करिब आधा दर्जन जिपको कष्टकर जोखिमपूर्ण यात्रा पनि यही ताल हेर्नलाई त थियो । जाडोको के बहाना गर्नु जस्तो लाग्यो । डोल्पाको सुलीगाडदेखि यहाँसम्म तीन दिन लगातार हिँड्ने जोश पनि त यही तालले दिएको थियो ।

“से–फुक्सुण्डोले रूप फेरिरहन्छ । घाम नलाग्दैको रूप, लागेपछिको रूप, त्यसपछि फेरि पनि अनेक अनेक रूप, घण्टौँ बसेर नियाल्नु है राम्ररी,” अनुभवीको सल्लाह थियो यो । सुन्दै आश्चर्य लाग्ने यो कुरालाई महसुस पनि गर्नु थियो । होटलदेखि पाँच मिनेटको दूरीमा थियो ताल । बिहानको ७ बज्दा नबज्दै हामी रिग्मो गाउँ नियाल्दै अगाडि बढ्यौँ । ढुङ्गाको गारो लगाइएका प्रायः दुईतले घर, आँगनमा मोटामोटा दाउराको खलियो, घरमाथि छानामा फहराइरहेका लुङ्दार, कलात्मक बुट्टा खोपिएका काठका झ्याल भएका करिब पचहत्तर घर धुरी रहेछन् यहाँ । वरिपरिका पर्वत शृङ्खलाका चुचुरा हिउँले सेताम्य थिए भने परबाट कान्जिरोवा हिमालले पनि घुम्टो उघारिरहेको थियो । मनै हर्ने दृश्य थिए यी । प्रायः सबै घर होटल नै थिए । असोजदेखि चैतसम्म दुनै वा अन्य ठाउँमा गएर हिउँ छल्नुपर्छ भनेर अघि होटलका बहिनीले भनेको सम्झँे । हिमाली जीवनको जटिलता कहाँ सहज छ र ?
तालछेउ पुग्दा हामीजस्तै आन्तरिक पर्यटक छपक्कै भरिन लागेछन् । “दिदी ! भ्युपोइन्ट जान लाग्नुभएको हो कि ? हामी त्यतै जान लागेको,” हिजो बाटोमा आउँदा भेटिएका जाजरकोटका भाइले भने ।

“नजाने हामी यहीँबाट हेर्छौं, कस्सिएर दुई घण्टा हिँड्ने जाँगर छैन ।” हामी पुग्दा तालको पानी फेवातालको पानीजस्तै थियो । हिजो बेलुका यहाँ पाइला राख्नेबित्तिकै ताल हेर्न आएका थियौँ । आउँदा आउँदै हेरेको निलो पानी अहिले त फेरि यस्तो है ? हामी गफ गर्दै हिँड्दा एउटी शेर्पिनी आमाको आँगनमै आएछौँ । उनले मुसुक्क हाँसेर स्वागत गरिन् । उनको गाउँमा हामी आइपुग्दा शायद उनी भित्रदेखि नै खुसी होलिन् । “निलो पानी कतिबेला हुन्छ आमा ?” नमस्कार गर्दै जिज्ञासा राखेँ । “अब घाम लागेपछि बिस्तारै निलो हुँदै आउँछ । ऊ पर हेर्नु त किनारकिनार निलो निलो हुँदै आएको छ नि ।”

“ए हो त है ?” तालको यो विचित्र दृश्यले मन रोमाञ्चित भयो । एकछिन उता पाल शेन गुम्बातिर जाऊँ, त्यतिञ्जेल घाम पनि लागिसक्छ अनि यता घुमौँला हामीले सल्लाह ग¥यौँ । रिग्मो गाउँ हेर्दै हेर्दै ताललाई किनार पारेर पूर्वपट्टि लाग्यौँ । बाटोमा चर्दै गरेका चौँरी हाम्रो आगमनले तर्सिएजस्ता पो देखिए । हामी जति जति नजिक जान्छौँ, ती त्यति त्यति पर पो भाग्न थाले । तिनका समीप बसेर फोटो खिच्ने हाम्रो रहर पूरा भएन ।
ठाउँ–ठाउँमा हामी टक्क अडिँदै प्राकृतिक सौन्दर्य नियाल्दै थियौँ । पहेँला र राता पात भएका थरी थरी वृक्ष अनि सल्लाका रुखले तालको सौन्दर्य अझ निखारेजस्तो लाग्यो । वरिपरि चट्टानी पहाडले ताललाई संरक्षण दिइरहेको थियो । कलाकारले कुँदेर बनाएजस्ता पहाडहरू मुसुक्क हाँसिरहेका थिए । अद्भूत प्रकृतिको वरदान यहाँ खनिएको थियो । करिब दस मिनेटजतिमा हामी गुम्बानजिक पुग्यौँ । ताल र गुम्बाका बारेमा धेरै तथ्य बुझ्न मन लाग्यो । स्थानीय व्यक्ति भेट्यौँ । उनीसँग केही भलाकुसारी भयो ।

रारा तालपछि से–फोक्सुण्डो दोस्रो ठूलो ताल हो । नेपालको सबैभन्दा गहिरो ताल यही हो र यो तीन हजार ७४४ मिटरको उचाइमा अवस्थित छ । यो तालमा कुनै जलप्राणी छैैनन् भन्ने सुन्दा अझ बढी आश्चर्य लाग्यो । फेरि तालको पानीमा कहिल्यै हिउँ पनि जम्दैन रे ! प्रकृतिको अनमोल वरदान से–फोक्सुण्डोका बारेमा यति धेरै जानकारी पाउँदा हर्षविभोर भयौँ । प्राकृतिक सम्पदामा हामी कति धनी छौँ । से–फोक्सुण्डो, रारा, तिलिचो, फेवा, वेगनासलगायत दर्जनौँ ताल, विभिन्न हिमताल अनि अन्य प्राकृतिक सौन्दर्यका खानी कति कति तर पनि हामी किन यस्ता मगन्ते ? किन सधैँ हामी विकासमा पछि ? विश्वले किन हामीलाई हेप्छ ? गरिब मुलुकको सूचीमा किन हामी परिरहन्छौँ ? निकै दुःख लाग्यो देशको दुरवस्था सम्झेर । तत्काल केही कायापलट हुने सम्भावना पनि नदेखेर फेरि छातीमा देश दुख्यो । आँखामा आँसु भरियो । “तिमी नेपाली सुनको थाल लिएर माग्न हिँडेका छौँ” भनी विदेशीले कहाँ त्यसै भनेका हुन् र !

यस क्षेत्रको धार्मिक आस्था, विश्वास र प्रकृतिको ऐतिहासिक सम्पदाको द्योतक रहेछ यो गुम्बा । संसारकै पुरानो बोन धर्म यहाँका मानिसले मान्दा रहेछन् । रिग्मो गाउँको आस्थाको केन्द्र मानिने साझा गुम्बा रहेछ यो । से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको बहुमूल्य सम्पदा रहेको तालनजिकैको यो गुम्बा निकै पुरानो पनि हो रे । डोल्पा जिल्ला प्राकृतिक सम्पदाका हिसाबले अत्यन्त धनी छ । यार्सागुम्बा, चिराइतो, जटामसी, पाँचऔँले, बोदो, अन्तिस, पदमचाल, भोटेखयरलगायत अनगिन्ती जडीबुटी पाइन्छन् यहाँ तर हालसम्म सडक सञ्जालसमेत जोडिन नसक्दा जनता निराश छन् । राज्यसत्ताको नेतृत्व वर्गप्रति अत्यन्त खेद छ उनीहरूलाई । तपाईंहरू काठमाडौँदेखि आउनुभएको रहेछ । डोल्पाको विकास गरे समग्र देशकै मुहार फेरिन्छ भनेर भनिदिनुस् है, उनले भावुक हुँदै भने । आफ्नो आवाज मोबाइलमा अडियो रेकर्ड भएको देखेर केही आशावादी भएका होलान् ।
“ओहो ! यहाँबाट त ताल झन् सुन्दर देखिने रहेछ,” साथीहरूको मुहार अझै उज्यालियो । पहाडका अनेक कोण र खोँचमा बगेको निलो पानीले तालको भव्यतालाई निखार्ने रहेछ । घुम्दै घुम्दै हामी वरिपरि हिँडिरह्याँै । कुनै तपस्वीले एकटकले ताल नियालेजस्तै देखिने रहेछ गुम्बाबाट हेर्दा । से–फोक्सुण्डो तालमाथि नै झैँ गरी एउटा रुखमा बसेर फोटो खिचेको दृश्य सामाजिक सञ्जालमा देखेकी थिएँ । त्यो रुख त गुम्बाकै अगाडि बसेर हाम्रै स्वागतमा मुस्कराइरहेको पो रहेछ । धेरै पुरुष मित्र रुखमाथि चढ्दै फोटो खिच्दै गर्नुभएको थियो । ज्यानै हत्केलामा राख्ने दुस्साहस हामीले गरेनौँ । मनले त यो ठाउँ छोड्न मानेको थिएन तर हामीसँग त्यति धेरै समय कहाँ थियो र ?

बिहान सात बजे तालमा आएका हामी मध्याह्नको ११ बजेछ । तालको पानी अब भने राम्रैसँग निलो देखिएको थियो । अति सुन्दर दृश्य थियो यो । स्थानीयको पहलमा तालकै छेउछाउ वाईफाई जोन रहेछ । सौर्य ऊर्जाले चल्ने यो सुविधाको उपयोग गर्न बिर्सिने त कुरै भएन । हामीले पालैपालो फेसबुक लाइभ ग¥यौँ । दर्जनौँ साथीले लाइक र कमेन्ट गरेर उत्तिकै हौसला दिनुभयो । आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय कति चिन्तित रहेछन् भन्ने कुरा पर्यटकलाई इन्टरनेटको सुविधा दिन खोजेको उदाहरणले पनि छर्लङ्ग पार्दथ्यो । “आमा, यो ठाउँका बारेमा केही बताइदिनु न ?” चाउरीले मुजैमुजा पर्न लागेकी एउटी आमासँग सोधेँ तर आमाले आडैका बुवालाई देखाइन् । बुवा त डोल्पाका इन्साइक्लोपिडिया जस्ता नै रहेछन् । डोल्पाको नामकरण कसरी रह्यो भन्नेदेखि लिएर एउटा रोचक किंवदन्ती नै सुनाए ।
“के के फल्छ नि यो गाउँमा ?”

“आलु, उवा, जौ प्रशस्त फल्छ । भेडाबाख्रा, याक, चौँरी, नाक प्रशस्त छन् । तिनको दुग्ध उद्योग, जडीबुटी सङ्कलन र प्रशोधन गर्न सके मनग्गे आम्दानी हुन्थ्यो तर खै कहिले हुन्छ हाम्रो ठाउँको विकास ? बिरामी पर्दा अस्पतालको मुख देख्न हामीले कहिले पाउँछौँ ? हाम्रो चौँरी बिरामी परेर भकाभक मर्दा हामीलाई कति चोट लाग्छ । हाम्रा दुःख कति छन् कति । तपाईंहरू तालको सुन्दरता र हिमालको हिउँ मात्र देख्नुहुन्छ तर हाम्रो दुःख महसुस गर्न सक्नुहुन्न । पीडा छ हामीलाई,” बूढा बोल्दाबोल्दै भावुक देखिए । क्याराभानका नायक थिन्ले र से–फोक्सुण्डोमा चौँरी झरेको दृश्य सुटिङ भएको ठाउँ पनि उनले देखाइदिए । बाटोमा आउँदा थिन्लेलाई घोडाले खसालेको ठाउँ देखेनौँ ? उनले भने ।

“देख्यौँ । उनको नाममा स्मारक पनि बनेको रहेछ ।” यही माटोमा जन्मेर हुर्केर यहीँको बाटोमा अभ्यस्त बनेको मानिस घोडाबाट जोगिन नसकेर मर्नुपर्ने नियति सम्झेर मन कटक्क भयो । “मलाई साथीहरूले बोलाए बुवा, अहिले जान्छु एकछिन पछि फेरि बोल्न आउँछु है ?” भनेर उनीबाट छुट्टिएँ । उनले भनेका कुरा सोह्रैआना सत्य हुन् । ती कुरासँग मेरो पनि पूर्ण सहमति छ तर हामी निरीह जनता के गर्न सक्छौँ र ? देश हाँक्ने मानिसले गर्नु प¥यो समस्याको समाधान । हेलिकप्टरमा सिधैँ ताल आउने । “आहा ! ताल” भन्ने र फोटो खिच्ने जाने गर्न भएन । मनमनै यिनै कुरा गम्दै तालको छेउमा पुगेँ ।
साथीहरूले कविता भन्दै भिडियो खिच्दै थिए । मैले पनि त्यो सुवर्ण अवसर गुमाउन चाहिनँ । तालमा परेको इन्द्रेणीले अपूर्व दृश्य प्रतीत भइरहेको थियो । प्रकृतिको अनमोल वरदान रहेछ यो भन्ने लाग्यो । हामी आजै फर्कने योजनामा थियौँ । करिब पाँच घण्टा तालमा घुुमेर फर्कनै लाग्दा एक जना भाइ घोडाको बगाल लिएर बाटोमा हिँड्दै थिए । “ल भाइ हामी ताललाई साक्षी राखेर घोडा चढ्छौँ र पारिश्रमिक पनि दिन्छौँ” भनेपछि चारै जना पालैपालो घोडा चढ्यौँ र दुई सय रुपियाँ हातमा राखिदियौँ । खुसी भए भाइ । घोडा चढ्ने धोको पनि हाम्रो पूरा भयो । होटलमा फर्र्किएर खाना खायाँै र हिँड्ने तरखरमा लाग्यौँ । होटलका बहिनीले खादा लगाएर बिदाइ गरे । अन्तिम पटक ताललाई होटलको छतमा उक्लेर फेरि हे¥यौँ र बाईबार्ई ग¥यौँ । अलिकति वर आउँदा प्राथमिक स्कुल रहेछ । शिक्षकसँग परिचय भयो ।

कक्षाभित्र पसेर दस जनाजति विद्यार्थीसँग बोलियो । कक्षा एकदेखि चारसम्मका सबै विद्यार्थी संयुक्त कक्षामा रहेछन् । चकलेट दियौँ, खुसी देखिए । तानमा कपडा बुनिरहेकी एउटी दिदी तान रोकेरै हामीसँग बोलिन् । खानेकुरा के दिऊँ के दिऊँ भयो । झोलाभित्र हात हालेँ, केही बदाम, काजु र किसमिस फेला पारेँ । खुसी भएर हात थापिन् । यी र यस्तै सुखद अनुभूति बटुलेर तल झर्न लाग्यौँ । उकालो उक्लँदाको सास्ती ओर्लंदा कहाँ हुन्थ्यो र ! से–फोक्सुण्डोको साक्षी बन्दै, उसको माया छातीभरि सजाएर ‘से फोक्सुण्डो झरना’ आइपुग्दा लेखक तथा पर्यटनविद् कर्ण शाक्यको पुस्तक ‘डोल्पो द हिडन प्याराडाइज’ सम्झिएँ । नेपालको सबैभन्दा अग्लो र ठूलो झरना भनेर उल्लेख गरेको कुरा स्मृतिमा पुनर्ताजगी भयो । यो अनुपम दृश्यलाई आँखा झिम्म नपारी हेरिरह्यौँ । रेँची पुगेर बास बस्ने योजना थियो । हिँडाइलाई सुस्त बनाउन पनि भएन भनेर झरनासँग पनि बिदा भयौँ र ओर्लियौँ डोल्पाली बाटोका घुम्ती छिचोल्दै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।