15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नठम्यिएको चित्र

कथा सतीश छेत्री February 7, 2022, 5:06 am
सतीश छेत्री
सतीश छेत्री

कुनै नयाँ ठाउँमा गएर नयाँ कुरा हेर्नु मान्छेको रहरहरूमध्येकै एउटा हो। त्यस्तै रहर हामी परिवारले पनि गरयौँ। हाम्रो परिवारको नयाँ ठाउँ थियो - महाभारतकालीन अथवा कतै लोदी सल्तनतले १५०४ मा स्थापना गरेको भनिएको शहर आग्रा ।

आग्रा भन्नेबित्तिकै ताजमहलको सम्झना र झझल्को आउने गर्छ अनि त्यहाँ धेरैवटा ऐतिहासिक धरोहरहरू प्रतिस्थापित पनि छन् । ताजमहल र आग्रा किल्ला दुईवटा किनारजस्ता एकार्कादेखि नजिकमा छन्, एउटै सूत्रमा बाँधिएर, एउटाले अर्कोलाई हेरिरहेर युगौँदेखि । यहाँ जानलाई अन्य पनि धेरैवटा धरोहरहरू छन् ; तर एकै दिन लगाएर मुगल साम्राज्यका केही आधारभुत कुराहरू हेर्न यी दुई पर्याप्त छन् । हामीले पनि यसपल्ट आग्रामा ताजमहल, लालकिल्ला र महताब बाग घुम्ने एकदिने भ्रमण योजना बनाएर घरबाट निस्क्यौँ । रेलमा चढ़ेर जाने हाम्रो योजना थियो, घरबाट तयार भएर हिँड़्दा बिहानीको ४ बजेको थियो ; हामी टिकटले पठाएको ठाउँ हजरत निजामुद्दिन रेलवे स्टेशन पुग्यौँ। अटोबाट उत्रिएर रेलवे स्टेशनतिर बढ़यौँ, बिहान ७ बजीको रेल चढ़नु छ उद्देश्य । चार्ट बिहान ३ बजी नै मोबाइलमा आइसकेको छ, अब केवल निर्धारित सीटमा बस्नु छ, आग्रा पुग्नु छ। मनमा मयुर छम्छम् नाचिरहेको छ, बाहिर झमझम पानी परिरहेको भए तापनि ; तर यो मनमयूर धेरै बेरसम्म नाच्नै पाएन, त्यसको कारण के थियो भने प्लेटफर्मको पहिलो सिँढ़ी टेक्नेबित्तिकै मोबाइलले एउटा ‘टेक्स्ट मेसेज’ ग्रहण गरयो । ‘मेसेज’ आइआरसीटीसी (भारतीय रेलको अधिकृत साइट) बाट आएको थियो - ‘रेल क्यान्सल भयो ।’

हामी अरकच्च परयौं। अर्को खुट्टा कहाँ टेक्नुजस्तो भयो मानौं उचालिराखेका छौं पयर । छोरीहरू छन् ७ र ११ वर्षका। बारीको भर्खर पानी परेको हरियो डुकुजस्तो हल्लिरहेका छन् उनीहरूको उत्साह। बाबु छन् ६३ वर्षका आमा छिन् ६० वर्षकी । श्रीमती छिन् साथमा। ‘अब फर्कौं त’ भन्न पनि आँटले दिएन। पानी परिरहेको भूइँआँगनमा ल्याम्पोस्टका प्रकाश सुनौलो रङ्गमा पोखिएको छ, पानीमा जलथल। बिहानको उज्यालो खसेकै छैन। केही त समाधान निस्कन्छ कि भन्ने मनमा विश्वास भइनै रहेको थियो।

साँच्चै हो न हो, त्यतिनै बेला त्यहाँ रेलको मार्का पोशाकमा धारण गरेको एकजना भद्र पुरूष दाहिने तर्फबाट आए । भने - ‘तिमीहरूको ट्रेन क्यान्सल भयो, यो ट्रेन चढ़ेर जाऊ ।’ मैले उनको कुराको प्रतिक्रिया गरूँ, त्यसअघि नै उनी त्यहाँबाट ओझल भइसकेका थिए । मैले त्यतैतिर हेरिरहेकै भएर चित्त बुझाएँ, सम्भवतः यस्तो हुनु !

‘इन्क्वारी’ लेखेर टाँसिएको पाटीमुनिको खिड़की खोज्दै गएँ, न यस्तै पो भइहाल्छ कि ! तर तल्लो तलाको देब्रे कुनामा मैले माथिबाट हेर्ने ठाउँ पाएँ, - जहाँचाहिँ त्यो खिड़कीभित्र एकजना भद्रजन सबैको गुजुल्टा प्रश्नबाट एकएकवटा रेसा केलाउन, हल्लामा अझै एउटा अग्लो हल्ला थपिरहेका थिए । केही बेर त्यहाँ त्यसरी हेरिरहेर म उल्टो खुट्टा आफ्नो परिवार भएतिर ठेलिएँ भित्रबाट । माथिल्लो तलाको दाहिने फलाटमा बर्को ओड़ेर बसेकी आमालाई सुरक्षाजस्तो दिएर बाबा उभिएका थिए । छोरीहरू घाम झुल्कनअघिको डाँड़ालाई पर्खिएजस्तो म फर्किने दिशातिर हेरेर उभिएका थिए । परिवारको मायाजस्तो एउटा हयाण्डब्याग झुण्डाएकी थिइन् श्रीमतीले । त्यहाँ सिधा पर रहेको ‘टिकट काउण्टर’मा गोड़ाले मेरो शरीरलाई हल्लाउँदै बगाएर लिएर गयो । शरीरहरू बीच कोल्टे थिचिएको शरीरसित टाउकोलाई काउण्टरतिर फर्काएर एक सासमा पूर्वापर सम्बन्ध खोलेर एउटा प्रश्न हुत्याएँ । अधिकारीले सुनेछन् - ‘ट्रेन हो तब न?’ तिनले मलाई प्रश्नले रयाप गरेर उत्तर दिए - “आपको पैसा वापस मिलेगा“ । अब प्रश्नहरू गरिरहन उचित लागेन । भनिएकै पनि त छ - ‘प्रश्न होस् कि उत्तर अन्तिम कहिले हुँदैन ।’

शरीरलाई रक्तप्रवाहित नसाले जेलेजस्तो देशलाई जेलेको रेल प्रणाली, भारत देशको यातायातमा सर्ववृहत् चौथो स्थानमा आउँछ विश्वमा। रातदिन यी रेलहरू आफ्नो निर्धारित लक्ष्यलाई ताकेर कुदिरहेकै हुन्छन्, कुदिरहेकै हुन्छन् । एकाधिकपल्ट केही तकनीकीय कारणवश कि त कुनै दुर्घटनावश यात्रीले अचानकको समस्या भोग्नु पर्छ, पूर्व जानकारीबिना। तर ‘आफ्नो दुःख पहाड़ भन्छन्’ एउटा गीतले भनेजस्तो आफूलाई लागेको यो समस्याको पहाड़, रेल अनि रेल कर्मचारी, विशेष गरेर रेलचालकको दुःखलाई हेर्ने हो भने केही पनि त होइन ।

हामीले बस पक्रिने निधो गरयौँ । बस स्टेशन कति टाड़ो छ, आग्रा पुग्ने भाड़ा कति हो भन्ने कुरोको निश्चित जानकारी नहुँदा एकजना टयाक्सी चालकले हामीलाई झण्डै लण्डयाएर ठगीको गोल छिरयाइहालेको । सबैलाई आफ्नो जीवन धान्न छ, के गर्ने त ? दैवसंयोग कुनि कसरी पारा मिलेर सबै परिबन्द मिल्यो । आग्रा पुरयाइदिनलाई टयाक्सीचालकले मागेको ६ हजार रूपियाँको साटो एक हजार रूपियाँमा हामी सपरिवारको यात्रा तय हुने भयो । बस चढ़यौँ, आग्रा जानलाई । छोरीले भन्दैथिई - “भोल्भो रै’छ“

++
दृश्यहरूलाई तासको पत्तालाई झैँ फिट्दै बस आफ्नो गतिमा दगुरिरहेको थियो । बसले तीनवटा टोल प्लाजा नाघेपछि ऐतिहासिक भूमि आग्रा पुरयायो।

इतिहासमा आग्रा प्रातःस्मरणीय ठाउँ हो। कोरोनाले पेल्नु पेलेको समयमा इतिहासतिर लम्किएका थियौँ हामी। ‘न इतिहास नै भइपठाउँछौँ कि !’ भन्ने आशङ्काको सानो टुसालाई मनैको जुत्ताले कुल्चिएर अघि बढ़ेका थियौँ । कोरोनालाई लाग्न नदिन अप्नाउन पर्ने सावधानीहरू सबै अप्नाएका नै थियौँ ।

बस आग्राको एउटा सड़कको किनारमा गएर उभियो। हामी उत्रियौँ । मसिनो भुवा पानी आकाशबाट आँटाजसरी फुरूरू भइरहेको थियो, कतै एककुनामा उज्यालो पनि थियो। ‘ताजमहल’लाई यो वातावरणले हेर्न नदिने हो कि ! तर जतिजति समय बित्दैगयो, दैवसंयोग आकाशमा त्यो सानो भ्वाङ पारेर देखिएको उज्यालो क्रमशः बढ़दै गयो। अटोवाला केही बुजुर्ग थिए, दिनभरिको लागि अटो भाड़ा गरयौँ, हाम्रो घुम्ने ठाउँहरू बताएपछि उनले आरम्भमा नै ताजमहल जाने सल्लाह दिए अनि पुरयाइदिए ताजमहलको पश्चिमद्वारमा । सम्पर्क नम्बर आदानप्रदान भयो ।

हामी भित्र पस्यौँ इस्पातका गेटबाट । केहीबेरमै लामो फराकिलो सड़कमा नानीहरू उफ्रँदै कुदिरहेका थिए । छेउका चउर, चउरको माझमा, किनारमा उभिएका हरिया रूखहरू, बाँदरको झुण्ड । आउनेहरू आइरहेका, जानेहरू गइरहेका । ‘शाहजहाँहरू यतातिर घुम्दा हुन् ।’ मेरो कता दिमागमा आयो ।

गइरहेपछि एउटा चौबाटो आयो । चारवटा तीरले चारवटा दिशा देखाएकोमा एउटा तीरले बायाँतिर ‘ताजमहल’ भनेर देखाएको रहेछ, नीलो पाटीको सेतो अक्षरमा । ‘हेलो सर ! गाइड’ भन्दै एकजना आए । मैले मुसुक्क हाँसिदिएर टाउको हल्लाइँदिएँ । आमा-बाबा साथमा पछिपछि हुनुहुन्छ । ‘हेलो सर गाइड !’ भन्दै अर्का आए । थपे - ‘केवल ढेड़ सय दिजिए ।’ फेरि पनि टाउको हल्लाएँ । अलि पर फेरि अर्का आए - ‘गाइड सर ! गाइड।’

अझै भित्र छिरेपछि एउटा खुला घरजस्तो ठाउँ आयो, जहाँ स्टीलका ग्रीलको बार बनाइएका थिए-कम्मरसम्मका । पुरूष र स्त्रीलाई अलग लाइनमा उभ्याएर टिकट स्क्यानसित जिउको पनि स्क्यान भयो। त्यहाँ ठूला फाँट खोलिए । आकाश उदाङ्गिए । चारैपट्टि लाल रङ्गका किल्लाकारका भवन। लहरै द्वार । एउटा ठूलो झ्याम्म रूख देखियो, ‘शाहजहाँहरूको पालामा यो रूख थियो कि थिएन होला, शाहजहाँ विशेष गरेर उनी नै, जसले ताजमहल बनाएको भनिन्छ, देखिँदा कस्ता थिए होलान् ?’ कल्पिएँ । यो क्षणविशेषलाई फोटोको रूपमा संचयन गर्दै भित्र पसिरहँदा त्यो साम्राज्यको अस्तित्वको एकएकवटा पाटा जो अतीतमा पानामा पुगिसकेको छ, अझ रहस्यमय बन्दै गइरहेको भान हुन्थ्यो । यसै क्रममा ठूलो द्वारबाट भित्र छिरेपछि, त्यहाँ स्फटिक कोमलतासित पर उभिएको देखियो - ताजमहल।

धेरैजना परिवार, युगल जोड़ीहरू परिसरमा थिए,कतिजनाले ताजको गुम्बदलाई चिमोटेको फोटो उतारिरहेका थिए । २२ हजार श्रमिकले बीस वर्ष समय लगाएर बनाएको भनिएको महललाई उनीहरूले गुम्बदको चुच्चोलाई चुटकीले उचालिरहेको भान पारेर फोटो उतारिरहेका थिए ।

त यसरी हामी कहिले विस्मात अनि कहिले आनन्दित बन्दै ताजमहलतिर बढ़िरहेका थियौँ । मैले अचानक कसो कसो गर्दा एक जत्था पैदल सैनिकहरू लावालश्कर, भालाको घाँटीमा रातो तुलको कपड़ा बाँधिएको हात-हातमा लिएर हामी जुन बाटो आयौँ, त्यही बाटो जाँदैगरेको देखेँ । ‘के रहेछ हेर त !’ भनेर छोरीलाई सम्बोधन गरूँ भन्दा ती गइसकेका भए। के हुनसक्छन् ती ? कुनै झाँकी प्रस्तुत गर्न लागेका हुन् कि ! - लाग्यो ।

ताजमहल ताकेर गइरहेका हामी भयौँ । सबैजना मस्तमगन । अनुभवमा गोता हान्न तम्तयार बनेका जिज्ञासु गोताखोरहरू। कदमहरू अघि बढ़िरहेका थिए, शिर घुम्थ्यो आफ्नो अक्षमा, शिरभित्र आँखा घुम्थे त्यसरी नै, जस्तै कि घामको वरपर घुमिरहेको यात्रा हो शिरको घुमाइ, अनि पृथ्वी जो आफ्नै ध्रुवमा ‘दिनलाई रात र रातलाई दिन बनाउँदै घुमिरहन्छ, त्यो यात्रा हो आँखाको घुमाई, तर दुःखको कुरो घुमाइ अर्धवृत्त । मनले सबै अङ्गलाई छिटो संचालन गराएजस्तो । कुनै कुरो पनि हेराइ र देखाईबाट नछुटोस् भन्ने अभिप्राय, घोड़ाजस्तो कुदिरहेको मनको ‘लन्’मा ; तर कति सम्भव होला र देख्नु ! २४ घण्टामा ४० मिनट मान्छे अन्धो रहन्छ भनिन्छ, त्यति समय परेला झिम्काउाँदा जान्छ भनिन्छ । त्यस्तै एक परेला झिम्किएर आँखा उघ्रिँदा मैले देखेँ - परबाट राजाको भेषमा एकजना मानिस आइरहेका छन्। फेरि परेला अर्काेपल्ट झिम्किँदा र उघ्रिँदा ती त्यहाँ छैनन् । ‘आज यहाँ राजाको झाँकी पक्कै प्रस्तुत गरिने रहेछन्’ - शील मोहर नै भयो मेरो मनमा ।

हरियो धुप्पीजस्तो गाछलाई हातहाँगा काटिदिएर सैनिकी अदबमा अनुशासित उभिनलगाइएकोे, बिचमा पानीलाई त्यसरी नै सौर्न्दय थप्न चटक्क ओच्छयाइएको-बाट अलि यतापट्टि फाँटमा टेक्दै हामी गइरहेका थियौँ । प्रेमी-प्रेमिकाले ताजमहल- प्रेमको प्रतीक भन्ने पढ़ेको/सुनेकोलाई बल थप्दै उनीहरूको आफ्नै ताजमहल बनाइरहेका थिए - फोटोमा।

हामी यतिबेलासम्म ताजमहलको आधारभूमि चढ़ेर माथिल्लो तला आइपुग्यौँ , दायाँ अनि बायाँ भागमा जो निर्माण छन् ती मस्जिद हुन् भनिन्छ । त्यस परिसरलाई फन्को मारेर हामी ताजमहलको मुल भवनमा पस्न सिँढ़ीहरू चढ़न लाग्यौँ, केही अघि नै हामीलाई पातलो लुगाको थुङाजस्तो वस्तु किन्न लगाइएको थियो । फलाटमा बसेर थुङाभित्र जु़त्तैसित खुट्टा घुसारेपछि पुग्यौँ, ताजमहलको विशाल ढोकाको आँगनमा ।

अद्भुत कला । ढुङ्गाको फूल पर्खालमा आँकिएका । कल्पनाभन्दा पर। अनौठो ईंजीनियरिङको प्रतिफलन्। काराङमिरिङ अक्षरहरूमा मूलद्वार छेउको विशाल पर्खालमा केही लेखिएको, जानकारहरूले भनेका छन् - कोरानका पवित्र हरफहरू हुन् यी ।


भित्र पस्यौँ । दुईवटा टायल्सका ढिस्कना देखिए । मुमताज बानु बेगम, जसको नाममा यो निर्माण गरिएको र शाहजहाँ जसले यो निर्माण गरे भनेर इतिहासले पढ़ाएको हामीलाई ; ती द्वय राजा-रानीका समाधि ती। छक्क लाग्यो, मृत्युपछि उनीहरूले पाएको जीवन ! समाधि वरपर घुम्ने व्यवस्था मिलाइएको थियो, आवाज गज्जबले खेल्नसक्ने अग्लो गुम्बद् । परिवारमा सबैजना केही परपर थिए, तर के अचम्म, मैले अघि राजाको पोशाकमा देखेको व्यक्ति त त्यहाँ अघि पो देखा पर्छ । कुनै गुप्त दरवाजाबाट फुत्त निस्किएजस्तो उसको उपस्थिति थियो । लगभग ६ फीटको मानिस राजाको पोशाकमा, पुरै मोतीमुगा माला धारण गरेको, लगभग ७२-७४ वर्षको ! छद्मभेषी हो कि जस्तो पनि लाग्यो । झललल आभुषण । अदम्य प्रभाको प्रवाह । मोटो जुङा उठाएर ओठ तन्कायो ।

छेउमा आएर भन्यो - ‘म तपाइँको गाइड हुँ ।’
म अलि दच्किएँ, भनें - ‘अँ हँ पर्दैन’
उसले भन्यो - ‘तपाइँ निश्चिन्त हुनुहोस्’
मैले भनें - ‘पर्दैन, पर्दैन!’
उसले भन्यो - ‘आउनुभयो तर फोटो खिचेर जानुहुन्छ ?’
उसका कुरा कसरी पत्याउने, राजाको भेषमा ठग पनि त हुनसक्छ । के यो अचम्मको ‘गाइड’ प्रबन्धन सरकार पक्षबाट भएको हुनसक्छ ? तर खै त एकैजना मात्र छन् ती । होइन, यो महाठगीको निम्ति गरिएको नौटङ्की हुनसक्छ ।“
“म ठग होइन“ - मनको कुरा बुझेजस्तो उसैले भन्यो ।
“अनि ?“ -
“म राजा हुँ, शाहजहाँ। “

ताजमहलभित्रको परिसर चकमन्न भयो, थाह छैन, त्यतिका औधी घुम्दै गरेका मानिस कति बेला बाहिर पुगिसके । त्यहाँ हामीद्वय मात्र रहेछौँ ।
उसले भनिरहेको थियो - “पूरा नाम अल आजाद अबुल मुजफ्फर साहब उद्दीन वेग मुहम्मद खान उर्फ खुर्रम । ५ जनवरी १५९२ मा हालको लाहौर पाकिस्तानमा आमा जगत गोसाईं, जसलाई प्रजाले जोधाबाई पनि भनेर चिन्ने गर्थे उनैको कोखबाट जन्मिएको हुँ म, पिता हुन् जहाँगीर।“
म चुपचाप भएँ, यस्तो पनि कहिले हुन्छ ? केही बेरपछि भनेछु - “दिल्लगी नगरी, भन्नू, के छ ?“
उसले भन्यो -
“तपाइँलाई पत्याउन गाह्रो भयो होला ; तर निर्धक्क पत्याउनुहोस्। खेल विश्वासको हो ।“
म किंककर्त्तव्यविमूढ़ देखेर उसले फेरि थप्यो - “ताजमहल मैले बनाएको“

मेरो मनको पुलिसले शंकाको लौरो हातमा घुमाउँदै उसलाई हेरयो -
“घर कहाँ हो ?" सोधें
उसले भन्यो - “आग्रा फोर्ट ! एक दशमलौ ६ किलोमिटर टाड़ा छ । आउनुहोस् घुम्न त्यहाँ पनि“
आग्राफोर्टको पनि गोजीमा टिकट छ।
उसले फेरि भन्यो - “ताजमहल घुम्न आउनुभयो ।’
चुपचाप म निरूत्तर छु । बोलुँ त के बोलुँ - महाराजासित । पहिले त दिमागले यो छायालाई सत्य या विभ्रम भनेर मोहर लगाउन सकेकै छैन ।
“भन्नुहोस्। किन घोरिनुहुन्छ ? ताजमहल घुम्दै हुनुहुन्छ ?“
‘हजुर!’ उसले देखिरहेको कुरामा पनि के पुष्टि खोजेको हो बुझ्न सकिनँ । लोकोचारले भनें - ‘प्रेमको प्रतीक ।’
क्षणिक समय लिएर उ उदासजस्तो बन्यो, र भन्यो - “प्रेमको प्रतीक के हुनसक्थ्यो ?“ गइरहेको भयो - “प्रेमलाई बस्तुमा रूपान्तर गर्न सकिने थियो भने तपाइँको जमानामा पाइने मुटु आकारको बेलुन पनि त प्रेम नै हो । जो कहिले पनि फुट्न सक्छ । ताजमहल शानदार प्रेमको प्रतीक यसैले बन्यो...“ फनक्क घुमेर भन्यो - “...कि त्यस जमानामा तीन करोड़ रूपियाँ खर्च गरिएको थियो ?“
मैले उसको कुरा केही पनि बुझिन । उसले प्रश्न गरेको हो कि उत्तर ।
“अन्त ?“ मेरो मुखबाट यस्तै आयो ।
“ताजमहल, शाहजहाँको हीनताबोधको प्रतीक हो“ - मैले पुलुक्क हेर्दा अनुनय, आँट र क्षमा-आग्रहका भावले उसका आँखाका परेलीमा उभिएर मलाई हेरिरहेका थिए । भन्यो - “हो ! म शाहजहाँ आफैंले भनेको यो मेरो हीनताको प्रतीक हो ।“
मैले भनें - “किन त्यसो भन्नुपरेको ?“
“यसको एउटा कहानी छ“ - उसले फेरि फर्स देखाएर भन्यो - ‘यहाँ बस्नुहोस्’

हेन भन्नु न तेन भन्नु । बसिरहँदा उसलाई हेरिरहेको भएर म बसिसकेको थिएँ । उ पनि अलिकति पोशाकलाई सम्माएर गजधम्म बस्यो । हामी दुवै पलेँटी जमाएर बसेका थियौँ ; चिसो देखिएको फर्स, मखमली अनुभूतिसित थियो -“ मेरो उसित भेट त्यतिबेला भएको जतिबेला म १५ वर्षको र उ सम्भवतः १४ वर्षकी थिई ।’ उसले कुरा थाल्यो -“ अर्जुमन्द बानु बेगम। उसको खास नाम यही थियो। अर्जुमन्दलाई मैले मीनाबजारमा प्रथमपटक देखेको थिएँ । कलिलो लालगुलाब जस्तो । जो नखोलिएको पङ्खुड़ीमा चाहिँ ओसको तीनथोपा खसेको होस्। यस्तो पवित्र थिई उ । लहङ्गाभित्र थिई उ कालो दुपट्टा उसको केशबाट यसरी झरेको थियो , त्यो प्रथमपटक देख्दा म पूर्णतः होशमा थिइनँ। यस्तो लागिरहेको थियो कि मानौ गिलासबाट पोखिएर अङ्गुरको शराब गिर्दैछ । उसका पीतामह एतामाउद्दौला हाम्रा वजीर थिए, तिनको छोरो अबु हसन आसफ खानकी छोरी थिइ उ । मीनाबजार,आग्रा किल्लामा छ । हाम्रा महलका स्त्रीहरूलाई बाहिर जाने अनुमति थिएन र उनीहरूले किल्लाभित्रकै मीना बजारमा आफूलाई चाहिने सरसामानहरू किन्थे । दोकान थाप्न बाहिरका स्त्रीहरू आउँथे, त्यो बजार विशेषतः स्त्रीहरू अनि किन्नरहरूका लागि थियो ।

उसका र मेरा आँखा जुझे त्यहाँ, त्यो ठोक्काइमा सूरज अनि चाँदको बिच दुरीमा दुईवटा फूलको वाण ठोक्किएको थियो र हामी दुईमाझ अरू कसैलाई नछोई फूलहरूको वर्षा भएको थियो । त्यो कति पवित्र दिन थियो । १६०७ को कुरा हो - अप्रेल महीनाको एक दिन ; उसको अनि मेरो सगाई भयो । किशोरावस्थाको प्रेम भन्नुहोस कति पवित्र हुन्छ ? कुनै ललक हुँदैन, न उसले धन हेरेर न पद र सम्मान हेरेर प्रेम गर्छ। त्यो प्रेम गरेको कहाँ हुन्छ र ? त्यो त प्रेम भएको हुन्छ, बिना कृत्यको प्रेम । जस्तो कि निद्रा लागेको होस्, सम्पूर्णतः प्राकृतिक ।“

“इतिहासको विषय हो“ - मैले भनेँ के भन्नु भन्नु भएर । प्रसङ्ग थाह नभएको अवस्थामा त टिप्पणी गर्न पनि गाह्रो पर्दोरहेछ जस्तो लाग्यो मलाई । उसले भन्यो - “तर उसित मेरो निकाह १० मई १६१२ को दिन भयो पाँच वर्षपछि । त्यति बेलासम्म मैले निकाह गरिसकेको थिएँ, दुईवटी रानी थिए मेरा, मैले अर्जुमन्दलाई तेस्री रानीको रूपमा ल्याएको हुँ । त्यतिबेला उ १९ वर्षकी र म २० वर्षको थिएँ ।“

मलाई यतिबेला कता कता कतै पढ़ेको याद आयो - “मुमताजलाई रानीको रूपमा ल्याउनका लागि शाहजहाँले उसको पतिको हत्या गरेको छ ।“
उसले भन्यो - “खै मानिसहरू के के भन्छन्-भन्छन् ! जब बहुसङ्ख्यकले यो कुरा मान्न थाल्छ, तब यो म पत्याउँछु, तर अहिले म यसो भन्नु राजी छुइन ।“
मैले भनें - “अनि मुमताज शाहजहाँको चौथो पत्नी हो।“
“हुनसक्छ, मैले धेरैजनासित विवाह गरेँ - कन्दाहारी बेगम,हसीना बेगम, मुति बेगम, कुदसिँया बेगम, फतेहपुरी महल, सरहिंदी बेगम, मनभाविथी“ - उसले आत्मसमर्पणै जस्तो गरी भन्यो अनि थप्यो - “ मैले अर्जुमन्दलाई प्रेमबन्धनमा बाँधेर निकाह त गरेँ, तर बुढे़सकालमा भोग्नुपरेको ८ वर्ष लामो बन्दीजीवनमा यो निष्कर्षमा पुगेँ कि, उसको जीवनको अन्त्य त्यसै दिनदेखि शुरू भएको रहेछ । किनभने उ मेरो प्रेमको प्रतिमूर्ति होइन, नानी जन्माउने मशीन बनी । मार्च महीना १६१३ मा हाम्रो पहिलो सन्तान शाहजादी जन्मी । जून महीना १६३१ जुन दिन उसको मृत्यु भयो तबसम्मको १९ वर्षको हाम्रो वैवाहिक जीवनमा उसले १४ औं पल्ट सन्तान जन्माई । यसरी प्रत्येक वर्ष नै उसको पेटमा गर्भ रहेको हुन्थ्यो । मसितै उ युद्धभूमिहरूमा आएकी हुन्थीे अथाह प्रेम थियो उसको । अन्तिमपल्ट सन्तान जन्मिरहँदा पनि उ मसितै बोरहनपुरमा थिई, प्रसव वेदनामा उसको निधन भयो । इतिहासकारहरूले भनेर मैले यो कुरो पत्याएको छु, युद्धभूमिमा उ आफैँ आउँथी कि मैले लिएर आउँथे, त्यो पनि मलाई राम्ररी थाह छैन। मैले उसको पतिको शीर काटेको थिएँ भने युद्धभूमिमा मसित उ स्वेच्छाले के भनेर आउँथी ! होइन भने पनि गर्भवती स्त्रीलाई सधैँ साथ लिएर हिँड़नु प्रेम थियो कि मेरो कायर आत्मले गरेको सुरक्षाको प्रबन्धन ?“

उसका आँखामा साँच्चै यतिबेला पीड़ाका भाव थिए ।
मैले भनेँ -“ताजमहल हीनताको प्रतीक हो भन्ने कुरो, प्रतिक्रियावादिहरूले शाहजाहँविरूद्ध गरेको टिप्पणीले होला ?“
उसले भन्यो - “हेर्नुहोस् मलाई कसैको भनाइमा चिन्ता र चासो छैन । यति हो कि म आत्मालोचनाचाहिँ गर्छु, मान्छेले आफ्नो निम्ति गर्नसक्ने र गर्नैपर्ने काम आत्मालोचना नै हो । मैले आत्मालोचना गरेर के थाह पाएँ भने सायद म त्यति प्रेमील थिइनँरहेछु कि ! मैले मुमताज पछि पनि उसकी बहिनीलाई बिहे गरेँ । मैले मुमताजलाई, मेरी अर्जुमन्दलाई कहिले सोधे हुँला उसका ईच्छा, उसका भावना। उ शीशमहलमा बन्दी माटोको पुत्ला ठहरी कि न मेरो निम्ति ? यही हीनताको भावनाले पो मेरो मनमा गुम्फित बनेर प्रतिफलमा बनायो कि - ताजमहल । मेरो हीनतालाई दमन गर्नलाई।
सबैले मानेका छन्, ‘ताजमहल प्रेमको प्रतीक हो।’ तर मैले उसलाई जीवनमा ताजमहल जति प्रेम गर्नै सकिनँ । देखाउन युगौँसम्मलाई भयो तर मेरी अर्जुमन्दप्रति म त्यो उच्च मूल्यको प्रेमी हुनै सकिनँ।“
“शाहजहाँको समयमा कुनै गर्भनिरोधक तत्त्व पनि त थिएन नि!“ मैले भनेँ ।
“ढाडसको निम्ति धन्यवाद।’ उसले अघि भन्यो -“तर स्त्रीप्रसङ्ग गर्नलाई मसित ५ देखि ८ हजार स्त्रीहरू थिए ; मैले यो बात ख्याल राखेर जान र रूह दुवै दुर्बल हुनबाट उसलाई जोगाउन त सक्थेँ !“

मलाई कुनै विचार सुझिरहेको थिएन । ‘शाहजहाँ हुँ’ भन्ने मान्छेले मैले बनाएको शाहजहाँको ऐनाको फ्रेममा घुस्सीले कसिरहेको अनुभूति हुनलाग्यो मलाई ।

हामी बाहिर निस्क्यौँ । केहीबेरको तालाङतुलुङपछि ‘तपाइँ घुम्नुहोस्“ भनेर उ ताजमहलको पछिल्लो भागतिर गयो । त्यसपछि उ कता गयो, उसलाई पर्खिरहने फुर्सद् पनि थिएन। उसको उपस्थितिले दिमाग घुमिरहेको थियो । के पात्र हो उ ? जीवित हो कि आत्मा हो ? वर्तमान हो कि भुत हो ? वास्तवमा समय कतै छैन - भन्छ । के त्यस्तो कुनै आयाम फेला पार्न सकिन्छ र ? जहाँचाहि इतिहास फेरि भेट होस् ?

मैले छोरीलाई हात समातिरहेको भएर अघि बढ़िरहेको थिएँ, मनको चउरमा कुराहरू लोथेर्केजस्तैे खेलिरहेका थिए।

परिवार हेर्छु, उनीहरू आफ्नै धुनमा छन् । परिसरमा अमला, वेलका रूखहरू छन् । यतिकैमा अलि पर एक झुण्ड युवा समूह, धागोको डल्लो झैँ फुस्किएको देखेँ । जसको बिचमा उभिएका थिए - एकजना टाइसूटमा भद्र देखिने वृद्ध-पुरूष । सबैले अभिवादन गरेर तिनलाई छोड़ेर गए । यतिबेलासम्म म उनको नजिक पुगेछु । उनीसित आँखा जुझे । जुझेकै आँखाहरूसित पाइला हिँड़िरहे केही बेर।

“ताजमहल घुम्नुभयो ?“ चीरपरिचित झैँ उसैले भन्यो ।
मैले हाँसेर भनें - “ज्यू हजुर !“
“भित्र पस्नुभयो ?“
“हजुर“
“भगवान शिवलाई पुकारेर जानुहोस् । यो तेजोमहालय मन्दिर हो ।“
एक बथान चराहरू रूखबाट भुर्र उड़े । मैले त्यता हेरिसकेर भनें - “हजुर ?“
“हजुर ! ताजमहल तेजोमहालय मन्दिर हो ।“
मैले केही दिक्दारीको भावसित उसलाई प्रश्न गरेँ “तपाईंको परिचय ?“
“म हुँ पी.एन.ओक । पुरूषोत्तम नागेश ओक । २ मार्च १९१७ मा ब्रिटिशकालीन भारतको इन्दौरमा मेरो जन्म भएको हो र ४ दिसम्बर २००७ मा मैले यो शरीर त्याग गरेँ ।“ उसले बढ़ो आत्मविश्वाससित यति भन्यो अनि फेरि थप्यो - “म इतिहासका पुनर्लेखक भनेर चिनिन्छु । सैनिक जीवन बिताइसकेको मैले सड़ेको इतिहासका पन्नाहरूलाई सही तथ्यद्वारा भरेको छु। १९६५ देखि मैले लगातार इतिहासलाई संशोधन गर्ने काम गरेँ। ताजमहल विषयमा मेरो पुस्तक पढ़नुभयो तपाइँले ?“

मैले केही भन्न सकिनँ । आज मसित यो के भइरहेको छ ? बुझ्ने प्रयास गरिरहेको थिएँ म । यो कसरी स्वीकार्ने कि मृत्युको तारिख तोकेर कोही मान्छे बोलिरहेको छ मसित ? फेरि अर्को कुरा ताजमहल भनेर हामी कुनै अर्को संरचनामा पुग्यौँ त ?

“पर जो उभिनुभएको छ- देख्नुभयो ?“
“हजुर !“ पर युवा-जत्थासित कुरा गरिरहेको एउटा पुरूष आकृति देखेँ । पछिबाट एक छेउ देखिरहेको थिएँ ।-“ उहाँ हुनुहुन्छ कृष्ण कुमार पाण्डेजी! उहाँ पनि ताजमहलको तेजोमहालयको सिद्धान्तसित परिचित मात्र होइन अन्वेषक पनि हुनुहुन्छ। आरम्भमा मैले १९६५ मा यस कुराको उठान गरेको थिएँ कि ताजमहल कुनै समाधि नभएर एउटा धेरै वर्ष पूरानो मन्दिर हो। मेरो कुराको समर्थनमा धेरैजना विज्ञहरूले सहमति जनाए। तिनमा पाण्डेजी पनि हुनुहुन्छ“

हामी चउरको एउटा कुनाको छेउमाथि बसेका थियौँ - बाहिरतिर निस्कने गेटलाई हेरेर एउटा सिन्काले भूइँमा कोर्दै उसैले कुरा थाल्यो -“पाण्डेजीको र मेरो अनुसन्धानको आधारमा भनिरहेको छु, - ताजमहल भवनबाट यमुनासम्म जाने दुईवटा भूमिगत् पक्का बाटो छ। यीनै द्वारहरूमा रहेको चौखटलाई छुरीले खुर्किएर अमेरिकामा सर्वेक्षणको निम्ति पठाइएको थियो - परीक्षणमा यो काठ बाबरको जमानाभन्दा अस्सी वर्ष अघिको निस्क्यिो । बाबरको जमना भनेको १५२६ देखिको कुरा हो ।“

मैले सोधेँ - “यसबाट के हुन्छ ?“
“तपाइँलाई विस्तारमा बताउँछु - शाहजहाँ आफैंले अनुमोदन गरेको अभिलेखहरूमा समीक्षा गरयौं भने पाउँछौं - मुमताज बेगमको देहान्त बुरहानपुरमा भएको थियो - तिनको शवलाई अकबराबाद अर्थात आग्रामा ल्याइयो । त्यति बेला अहिलेको ताजमहल भवन राजा जयसिंहको स्वमीत्वमा थियो, जयसिंह मानसिंहका नाति थिए, त्यो मानसिंहको भवन थियो। त्यसैमा शवलाई दफ्नाइयो ।“

“हजुर । शाहजाहँले आफैेले नियुक्त गरेेको इतिहासकारको कुरा हेरौं न“ - एउटा आवाज मधुरोबाट चहकिलो हुँदैआयो - हेरेँ छेउमा अघि ‘पाण्डेजी’ भनेर देखाइएको व्यक्ति हुनपर्छ खड़ा थियो, -“ शाहजहाँले दरवारमा मुल्ला अब्दुल हमीद लोहरी नामक विद्वानलाई नियुक्त गरेका थिए । अब्दुलको काम लेख्नु थियो । उनले सोह्र सय पृष्ठको शाहजाहँकालको अघिल्लो २० वर्षको इतिहास लेखे - ‘बादशाहनामा’। त्यस १६०० पृष्ठको पुस्तकले पनि ताजमहल शाहजाहँले बनाएका होइनन् भनेर पुष्टि गर्दछ । “
“अर्थात् कसरी पुष्टि गर्छ?“ मैले केही दबिएको स्वरमा सोधेछु ।
“हजुर ?“
“पुष्टि गर्छ ! पुष्टि कसरी गर्छ ?“
पाण्डेले खल्तीबाट एउटा पर्ची निकाल्यो र भन्यो - “त्यस पुस्तकमा, हेर्नुहोसै त्यति मोटो पुस्तकमा मात्र दुई पृष्ठ ताजमहलजस्तो भवनको विषयमा कुरा गरिएको छ। जुन ताजमहललाई बनाउन विश्वभरिको संशाधन प्रयोग गरियो भनिन्छ । त्यतिबेलाको जमनामा ३ देखि ४० करोड़ रूपियाँ खर्च गरियो भनिन्छ, २२ हजार सैनिकले बीस वर्ष काम गरे भनिन्छ - ती महान् कामको निम्ति दुई पृष्ठ ?“ सिँढ़ी-सिँढ़ी हुँदै माथि पुगेको तिनको आवाज मत्थर भयो र फेरि झर्दै आयो - “दुई पृष्ठ यसकारणले कि ताजमहल शाहजहाँले बनाएकै थिएनन्। तिनले जयसिंहको स्वामित्वमा रहेको मानसिंहको महललाई पुनरूद्धार गरे, रिपेयर गरे, रेनोभेट गरे ।’ सम्झाउने लयमा फेरि भन्यो -“त्यस पुस्तकको पृष्ठ ४०२ मा २२ पंक्तिमा जुन भवनको कुरा गरिएको छ, त्यसको स्पष्ट सम्बन्ध ताजमहलसित छैन भन्ने कुरो बुझिन्छ । पृष्ठ ४०३ को १९ पंङ्क्तिमा ताजमहललाई वर्णन गरिएको छ - त्यस फारसी पाठको सार बताउँछु - यस्तो, मुमताज उज जमानीको पार्थिव शरीर १७ जन्मदिल अब्बलमा आग्रा पठाइयो, जो त्यहाँ १५ जमादिलसानीमा पुग्यो । शव दफ्नाउनमा जुन स्थल चुनियो, त्यो नगरको दक्षिणस्थित राजा मानसिंहको नामबाट जानिन्छ । त्यो महल आकारमा विशाल, भव्य, गगनचुम्बी गुम्बजयुक्त एवम् धेरै ठूलो बगैंचाले घेरिएको थियो । अघिलो वर्ष राजाको आज्ञानुसार अधिकारीहरूले शवलाई दफ्नाए । कुशल ज्यामितिज्ञहरू एवम् कारीगरीहरू लगाएर कब्रको नींब राखियो अनि भवनमा ४० लाख रूपियाँ खर्च गरियो ।"- उसले प्रश्न गरयो - "यहाँबाट केही बुझ्नुभयो ?“

“हजुर !“ मैले भन्नैपर्ने भएर भनें । बुझेको जस्तो केही लागेको थिएन ।
“यसबाट“- उसैले भन्यो - “रानीलाई राजा मानसिंहको भवनमा दफ्नाइएको भन्ने स्पष्ट छ। त्यहाँ महल भत्काइएको कुनै दशी छैन - दफ्नाउँदा राजा शाहजहाँ उपस्थित थिएनन् । जतिबेला दफ्नाइयो, त्यतिबेला नै त्यो भवन आकाशचुम्बी, महान् अनि गुम्बज युक्त थियो । बनाउँदा ४० लाख, के के कुरामा खर्च भएको हुनसक्थ्यो - म तपाइँलाई बताउँछु - रानीको शवलाई बराहनपुरबाट मगाउनु, बाटोमा गरीब तथा फकीरहरूलाई सिक्का बाँड़नु, कब्र राखिनलाई भवन खालि गराउनु, शव दफ्नाउनु, भवनको तलमाथिका सबै दरवाजाहरू बन्द गराउनु, मकरानाबाट संगमर्मर पत्थर मगाउनु, कुरान आदि लेख्नु, फर्श सुधार्नु, नमाजअदा गर्नलाई आसन बनाउनु, बगैंचामा सड़क नहर आदि बनाउनु, शव राखिएको ठाउँ घेरा बनाउनु यस्तै अरू के के कुरामा हुनसक्छ। ताजमहलको आधारमुनि अष्टकोणीय स्तम्भहरू छन्, जोचाहिँ हिन्दु मन्दिरहरूमा हुन्छन्। यस्ता प्रमाणहरू हामीसित यथेष्ट छन् यथेष्ट ।“

यतिबेला मैले ओक. भनेको मान्छेको आँखामा हेरेँ तिनमा एउटा रोषको जस्तो भाव देखेँ । कस्तो भने - “किन नबुझेको ?“ भन्ने प्रकारको ।
पाण्डे नामक व्यक्ति फेरि बोल्यो -“इतिहासकार टेवर्नियरले यो कुरा बिगारेका हुन्, उनले भनिदिए - अनुमानको भरमा ताजमहल यतिबेलादेखि यतिबेलासम्म बनिएको हो भनेर। सबैले पत्याइदिए। ताजमहल बनिँदै गरेको समयमा उ स्वयम् नै आग्रा आएको थिएन । कसैले पनि अनुसन्धानको भरमा इतिहास लेख्ने प्रयत्न नै गरेनन् ।“

मैले मेरो परिवार निकै पर पुगिसकेको देखेँ, अप्रत्याशित पी.एन ओक हुँ भन्ने मान्छेले भन्यो - “तपाईँलाई ढिलो भयो ? “ म केही भनुँ पाण्डे भनिएको व्यक्तिले भन्यो - “जाऊँ त हामी पनि पूर्वद्वारसम्म ।“
अनि उनीहरू गए । थाह पाएँ - केही बेरसम्म म त्यहीँ उभिइरहेको थिएछु ।

+++

त्यस दिन त्यसरी आधाभन्दा धेरै दिन बितिसकेको थियो । परिवारसित चिया-चमेना गरेर अटो चढ़ेर महताब बागतिर पुग्यौँ। महताब बागमा शीतकालीन उदासिनता थियो । न फूल नै फुलेका थिए न अरू केही विशेष नै । मुमताज बेगमले समय बिताउने गरेको भनिएको यस बाग यमुना नदीको पार स्थित छ । जहाँबाट ताजमहल देखिन्छ, घुमेर बाहिर निस्कँदा परको चियापसलमा अघि शाहजहाँ हुँ भन्ने व्यक्ति र पी.एन ओक अनि कृष्णकुमार भनी परिचय साँटिएको दुईजना व्यक्ति सँगै बसेर चिया पिईरहेका थिए।

+++

हामी अटो चढ़ेर आग्रा फोर्ट वा भनौँ आग्रा किल्लातिर उद्देश्य ताकेर हिँड़यौँ । ठूला दरवाजाभित्र पस्नेबित्तिकै टिकट स्क्यान भयो । झ्वाम्मै पहाड़को फेदजस्तो विशाल र अग्लो संरचना, आँखा अघि उद्घाटित हुँदा आश्चर्य र अपत्यारको भाव दूध उम्लिए झैँ हुसुसु बढ़ेर मनमा ढक्क जमे ।


“कति महान् संरचना ! परिसर कति भव्य ! कस्ता शौकीन हुँदारहेछन् राजा-महाराजा !“ म आश्चर्यको भावले फत्फताइरहेको थिएँ । शाहजहाँका पिता राजा - जहाँगीरले नुहाउने गरेको, ठानिएको विशाल ढुङ्गाको कुण्ड देखियो। पार्श्ववर्ती भागमा रातो किल्ला - आग्राफोर्ट। हामी फाँट पक्रेर घुम्दै कुनै कोठाबाट भित्र छिरयौँ - घुमेर घुमी नसक्नुको । कोठाभित्र कोठा, जिन्दगीका भेउजस्ता । अघि छोड़ेर आएको जस्तो फाँट लाग्थ्यो तर अचानक फेरि त्यस्तै अर्को फाँट खोलिन्थे। यस्तैहरूमध्ये एउटा फाँटमा कलात्मक कोठा-कोठा बनाएर फूलहरू रोपिएका थिए । जसमा एकजना माली फूलका पौधाबाट घाँसको पौधा चिनेर तिनलाई उखालिरहेका थिए । मलाई यीचाहिँ सही र वास्तविक पात्र लाग्यो। जसमा कि मृत्यु भइसकेको पात्र होइन - यस्तै ठानेर म उतिर लम्किएँ ।

“नमस्कार !“ मैले भनेँ
“सलाम आलेकुम !“
“कति महान् संरचना रहेछ ।“
“हजुर ! तपाइँ अहिले जहाँबाट निस्कनुभयो त्यो रानी मुमताज बेगमको कोठा हो, जहाँ मैनबत्तीको झुमर हुने गर्थ्यो र पर्खालमा हीरामोती जड़िएका हुन्थे जसले गर्दा राति प्रकाशित भएर कोठाको शब्दातीत सौन्दर्य हुन्थ्यो ।“
“यो ?“ भनेर आफू निस्केर आएकै ठाउँतिर हेरिरहेको भएँ ।
“हजुर ! रोशन आरा, आलम आरा - शाहजहाँका दुई छोरीहरूको महल/कोठा त देख्नै भयो होला । अलि पर गएर हेर्नुभयो भने मीना बजार लाग्ने गरेको ठाउँ पुग्नुहुन्छ, जहाँचाहिँ शाहजहाँको अर्जुमन्द यानिके मुमताजसित पहिलोपटक भेट भएको थियो ।“
टाङ फारेर बसेको उ, बिच जमिनमा देखिँदै गरेको घाँस-घाँसको जरा उखेल्दै कुरा गरिरहेको थियो । “शाहजाहँलाई उसको छोरो औंरगजेबले राजपाठको लोभले, उ परको ठाउँमा नजरबन्द गराएर राखेको थियो ।“ उसले ओठ चुच्याएर अलि पर हेरयो र फेरि काममै तल्लीन भयो । फेरि भन्यो - “नमाज अदा गर्न शाहजहाँ माथिल्लो तलामा चढ़थ्यो, बन्दी जीवनमा ।“ एकछिनपछि भन्यो -“उसलाई छोरोले १६५८मा नजरबन्द गरेको थियो २२ जनवरी १६६६ मा नजरबन्दी अवस्थामै उसको मृत्यु भयो । आठ वर्षसम्म उसले आफ्नी प्रिया अर्जुमन्दलाई, मुमताजलाई सम्झँदै ताजमहललाई हेरेर आँसु बहाउने गर्थ्यो।“

“यो कुरा त थाह थियो, औंरगजेबले बाबुलाई बन्दी बनाएका थिए। के शाहजहाँले मुमताज बेगमलाई त्यति विराट प्रेम गर्थे त?“ मेरो ध्यान उसको कुरामा र नजर उसको काममा थियो । उसले भन्यो - “ हेर्नुहोस् एउटा कुरा के छ भने मुगल सल्तनतमा स्त्री एउटा भोग्या वस्तुथिइन्। रानी कतिजना हुन्थे त्यसको कुनै हिसाब छैन। शाहजहाँका बाजे अकबर कर्तव्यपरायण, धार्मिक व्यक्तित्व थिए । धर्मनीति नै पनि इजाद गरे - दीन-ई-ईलाही नामले। तर उनको पालामा पनि ‘खुदारोज’ पालन गरिन्थ्यो जहाँचाहिँ स्त्रीहरू सर्वाङ्ग नग्न प्रस्तुत हुनपर्थ्यो ।

मुमताजप्रति शाहजहाँको प्रेम थिएन पनि त भन्न सकिँदैन। रानीहरूमा तिनलाई केही विशेषाधिकार प्राप्त थियो, राजकीय कतिवटा कार्यव्यवहारमा मुमताजको शीलमोहर आवश्यक हुन्थे। उनी बस्ने महल देखिहाल्नुभयो । राजाले रानीसित विशेष व्यवहार नै गर्थे । तर एउटा कुरो यो पनि हो, शाहजहाँमा यौन दुर्बलता भने अवश्यै थियो। पछिबाट तिनले मुमताजकी बहिनीसित निकाह गरे । आफ्नै छोरीसितको सम्बन्धलाई तिनले जायज तुल्याएका थिए। जुनचाहिँ अनैतिक र शरमशार पनि मान्न सकिन्छ “

एकछिनपछि उसैले केही हाँसेको आवाज बनाएर भन्यो - “शाहजहाँको प्रेम पनि कहिलेकाहीँ त अनुवांशिक सनकजस्तो मात्र पनि लाग्छ । तिनका पिता जहाँगीर भनुँ न सलीमले पनि अनारकलीको निम्ति पागलपनको हद पार गरेका थिए। जुन स्त्रीलाई शाहजहाँका बाजे अकबरले जिउँदै देवालमा थुनिदिएका थिए । जहाँगीर त सुल्तान भए, तर अनारकलीले प्राण गुमाइन्।“ मालीले मलाई हेरयो र भन्यो - “कस्तो लाग्छ ! अनारकली प्रेमिका मरिन् ; तर प्रेमी ? राजा बने, तिनको घरबार, राजपाठ सबै सुचारू चल्यो ।“

लामो सास तानेर उसले एकपल्ट काममा तल्लीनता देखायो अनि फेरि भन्यो - “मुमताज र शाहजहाँको प्रेमको छैटौँ निशानी जन्मियो- औंरगजेब; जसले आफ्नो अब्बूजानलाई नजरबन्द गरयो ।"

म चुपचाप उसको कुरा सुनिरहेको छु ।

फेरि उसले भन्यो - “मुगल साम्राज्य ३३० वर्ष जति लामो बाँच्यो । राजा बाबारले १५२६ मा इब्राहम लोदीलाई युद्धमा हराएपछि मुगल साम्राज्य दौड़ाएका हुन् । मुगल साम्राज्य सानो थिएन । सिन्धु नदी, उत्तरी अफगानिस्थान, कास्मिरदेखि उत्तरीदक्षिणमा अहिलेको असम अनि पूर्वमा बङ्लादेशका अग्लो भागहरू हुँदै दक्षिणी कछार भागसम्म मुगल साम्राज्य फैलिएको थियो।“ उसले आँखीभौँ उचालिरहेको भएर मतिर हेरिवरी टाउको एकपल्ट माथि र तल हल्लायो । फेरि आफ्नो काममा अलिकति झुकेर टाउको उठाएर भन्यो -“अर्थात् लगभग सिङ्गो भारतमा उनीहरूले शासन गरे। बाबर, हुमायूँ, अकबर, जहाँगीर, शाहजहाँ एकभन्दा अर्का सशक्त राजाहरू भए। मुगलशासनकालमा ताजमहल, दिल्लीको लालकिल्ला, जामा मस्जिद, लाहोर मस्जिद, मोती मस्जिद आदिजस्ता भवनहरू निर्माण गरिए । मुगलकालमा शाहजहाँकाललाई त अझ स्वर्णीमकाल भनिन्छ । कला-संस्कृतिको संरक्षक थिए तिनी, प्रजाहरू खुशी थिए, आपसम वैरभाव थिएन । तर यौन दुर्बलताले आक्रान्त स्त्रीप्रतिको कुण्ठाग्रस्त व्यवहार, आफ्नो अब्बु जानप्रतिको विद्रोह, जोचाहिँ धेरैजना मुगल राजाहरूले सत्ताको लोभमा गरे, भाइ-भाइको विपुल मनोमालिन्यता, यी सबै नै मुगल सल्तनत खतम हुनमा बिस्तारै कारक बन्दै आएको थियो । जसले यति लामो परम्परालाई धराशयी बनायो । मुगल साम्राज्यको पतन त्यहाँबाट आरम्भ भयो जब जहाँदार शाह प्रधानमन्त्री जुल्फिकार खानको कठपुतली बने । १७१३मा राजपाठ सम्हाल्न आएका राजा फर्रूख्शियार शाहले प्रधानमन्त्रीलाई हत्या गरायो, अनि उसैले ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई निशुल्क व्यापार गर्ने अनुमति दियो । ब्रिटिशले बिस्तारै आफ्नो उपनिवेशवादि पखेटा फिँजायो । अर्का रङ्गीला राजा मुहम्मद शाहको शासनकालसम्म कम्पनी सरकारले भारतमा मोटामोटी वर्चस्व जमाइसकेको थियो। अन्तिममा १८५७ मा बहादुर शाह जफर खान अङ्ग्रेजको प्रपञ्चमा आइसकेका थिए, उनले भारत स्वतन्त्रताको निम्ति लँड़ाई लड़े पनि हारे र निर्वासित भए । उनै थिए अन्तिम राजा मुगल सम्राटको ।"

" उत्तरवर्ती राजाहरू निकै विलासी, असचेत, लालची भएर साम्राज्य गरिराखेका थिए । जसद्वारा अङ्ग्रेजहरूलाई उपनिवेशवादि महात्याचारी शासन विस्तार गर्नमा सहयोग मिल्यो, त्यो मुगल साम्राज्यले नै खनेेको भ्वाङ थियो, जसबाट डुबाउको कूलो बग्यो । । नत्र त नौरत्न थिए - अकबरको पालामा। प्रायः मुगल राजाहरूले कला संस्कृति र सौन्दर्यप्रतिको आफ्नो अनन्य रूचीलाई सधैँ विस्तार नै गरिरहे । यतिचाहिँ भन्न सकिन्छ, पछि आउने धेरैजना मुगल सम्राटहरूमा अघिल्लो पुस्ताले गरेको वीरताको कहानीबाहेक आफ्नोतर्फको सुनाउनलाई सकारत्मक केही थिएन "

केहीबेरपछि सम्झिएजस्तो गरी मालीले फेरि भन्यो - “... अब हामीले हेरयौं भने जुन उनीहरूले गरे - हाम्रानिम्ति नराम्रा छन् भने हाम्रा निम्ति नराम्रा हुन्। जुन उनीहरूले गरे अनि हाम्रो निम्ति राम्रा छन् भने हाम्रोनिम्ति राम्रा हुन्।“

“ताजमहल“ एकछिन रोकिएको भयो मेरो आवाज -“शाहजहाँले नै बनाएका हुन् ?“ सोध्नै पर्ने जस्तो लागेको थियो मलाई यो प्रश्न ।
“तपाइँलाई के लाग्छ ?“ उसले निहुरिएरै भन्यो ।
“म कन्फ्यूज छु । ताजमहल हो कि तेजोमहालय ।! सत्य के हो ?“
“सत्य, शोकेसमा राखिएको जलपदार आभुषण हो । जुनमा धेरै चमक हुन्छ, त्यही नै हो मान्छेको लागि सत्य“
“होइन नानीहरूले इतिहासमा के भनेर पढ़छ, मन्दिर कि समाधि?“ मेरो प्रश्नले पानी झैँ बग्न चाहयो ।
“दिमागलाई कुनै कुरो पत्याउन दिनुहोस्, त्यसभन्दा अघि त्यस भवनलाई राम्ररी अनुभूत गर्नुहोस् । मन्दिर होस् कि समाधि त्यो त त्यसको प्रयोग हो, अनि नाममा के छ ? मन्दिरलाई समाधि भनौं कि समाधिलाई मन्दिर, त्यसले व्यक्तिगत धारणाबाहेक अरू कतै पनि त फरक पार्न सक्दैन ।"

मेरो हात हल्लियो,कान्छी छोरीले समातेकी थिई, भनी - “बाबा जुम् अरे! बुनुले भन्नुभएको ।“
“हुन्छ त’ - म उभिएँ । “तपाइँको शुभनाम ?“
“सलीम“
“कहाँ बस्नुहुन्छ ?“
“म यहीँ बस्छु । अन्तिम राजा - बहादुर शाह जफर जो थिए शायर, अङ्ग्रेजहरूद्वारा निर्वासित हुँदा म पनि उनैसित थिएँ । अङ्ग्रेज ; जसलाई पछिबाट आफैं पनि निर्वासित हुनुथियो ।“

****

हात समातेर हिँड़िरहँदा छोरीले सोधी - “बाबा ! कोसित बात गर्नुभएको ?“
मैले उत्तर भनिसक्दा उसले पछि फर्केर हेरी ।

****

बसको खिड़की छेउमा बसेकी थिइन् श्रीमती । छोरी काखमा थिई । आमा र बाबा अघिल्लो सीटमा थिए, ठूली छोरी उनैसित अङ्कमाल गरेर बसेकी थिई । बत्तीहरूको ठूला साना चहक आँखामा परिरहेका थिए, यसैसित मेरा दिमागमा पनि सत्यहरू निभ्दै र बल्दै गरिरहेका थिए -

शाहजहाँ.... पी.एन.ओक. ... कृष्णकुमार पाण्डे... माली... ताजमहल....तेजोमहालय....हाम्रो यात्रा...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।