15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्युचिन्ता

कथा राजु “हिमांशु” February 7, 2022, 5:10 am
राजु “हिमांशु”
राजु “हिमांशु”

उनीहरु आए तीनजना।
“बस्नुहोस्”-चौकीतर्फ इङ्गित गर्दै मैले भनेँ। उनीहरु बसे।
“भन्नुहोस, के भयो?” मैले सोधेँ।
उनीहरु तीन जनामा एक स्त्री थिई अनि दुई थिए पुरुष । दुई पुरुषमा एक रोगी अनि अर्को स्वस्थ देखिन्थे।
स्वस्थ पुरुषले रोगी पुरुषलाई देखाउँदै भन्यो –“सर,ऊ पेन्सनर हो अनि ऊ आफ्नो नोमिनी को छ त्यो जान्न चाहन्छ। ”
“किन के भयो? उहाँले पेन्सन पाउनुभएको छैन ?” मैले सोधेँ।
“होइन,होइन सर,म त पेन्सन पाउँदैछु।” रोगी पुरुष बोल्यो ।
“त्यसो भए के भयो त्यस्तो?”मैले सोधेँ।
“होइन कि सर,म मरेँपछि मेरो फ्यामिली पेन्सन चैँ कसले पाउने रहेछ भनी सोध्न आएको। ”
“अनि ?”
रोगी पुरुषले स्त्रीतर्फ देखाउँदै भन्यो-“धेरै वर्षअघि उसलाई अर्थात् मेरी स्वास्नीलाई नोमिनी राखेको थिएँ । तपाईँहरूको रेकर्डमा उसको नाम छ कि छैन भनेर नि सर। ”
“तपाईंको पिपीओ नम्बर अर्थात् पेन्सन भुगतान आदेश सङ्ख्या कति हो?”मैले सोधें ।
उसले भन्यो-“५३०४१”।
उसले बताएको पेन्सन भुगतान आदेश सङ्ख्या टङ्कण गरेर कम्प्यूटरमा खोजेँ । कम्प्यूटरमा विवरण निस्कियो । उनको स्वास्नीको नाम रहेछ उषा दास । पेन्सनभोगीको नाम रहेछ प्रवीर दास। प्रवीर दासको मृत्युपछि उषा दासले परिवार पेन्सन पाउने रहेछ । उनीहरुलाई बताइदिएँ।
मैले भनेँ-“उषा दास तपाईँकी स्वास्नीले नै तपाईँपछि परिवार पेन्सन पाउने रहिछ । यो त भयो पछिको कुरो । तर तपाईँले आज नै किन आफूपछि कसले पेन्सन पाउने छ भनी सोध्नुभएको ?”
“सर, यी: यहाँ हेर्नुहोस्” भनी रोगी पुरुष प्रवीर दासले कमिजको बटन खोलेर नाङ्गो छाती देखायो मलाई । उसको छाती र घाँटीमा शल्यचिकित्सापछि सिलिएका धेरै निसानहरू थिए ।
उसले भन्यो-“मेरो यस्तो अवस्था छ । कति दिन बाँच्छु र ? म मरेपछि मेरो परिवारले समयमा पेन्सन पाएन भने अप्ठ्यारो हुन्छ। सर, अब म धेर दिन बाँच्दिनँ होला। यसर्थ मैले पाउनुपर्ने रकमहरू चैँ मेरो परिवारले सहजै पाउन सकोस् ।उनीहरुलाई दु:ख नहोस् । यति चाहन्छु। ”
स्वस्थ पुरुष र स्त्री चुपचाप थिए । उसले अझै भन्दै थियो –“म मरिहालेँ भने चैँ मेरी स्वास्नीले के कस्तो कागजपत्र जमा गर्नुपर्ने होला सो राम्ररी बताइदिनुहोस् न सर।”
“मानिसको मरण मानिसको हातमा हुँदैन । तपाईँ तपाईँकी श्रीमतीभन्दा पहिला मर्नुहुन्छ भन्ने केही ग्यारन्टी छैन । अघिपछि को हुन्छ ? त्यो त सर्वव्यापी सर्वशक्तिमान ईश्वरको हातमा छ । तपाईँ यसरी किन चिन्तित हुनुहुन्छ ? तपाईँ अझै धेरै बाँच्नुहुन्छ। बाँच्नुपर्छ। ईश्वरमाथि भरोसा राख्नुहोस्।जन्मेर रुने मान्छे हामी हाँसेर बाँच्नुपर्छ । हुने कुरो भएरै छोड्छ। राम्रो सोच पालेर परिवारसित खुसी भएर समय बिताउनुहोस्। रोग कसलाई लाग्दैन र ? तर हरेश खानु हुँदैन । चिन्ता नगर्नुहोस्। ” मैले भनेँ ।
“तैपनि के कस्तो औपचारिकता पालन गर्नुपर्छ सो बताइदिनुहोस् न। ” उसले भन्यो। उसकी स्वास्नी आँखा सजल पारेर उभिएकी स्पष्ट देखिन्थ्यो। स्वस्थ पुरुष अझै मौन थियो।
“तपाईँको देहान्तपछि तपाईँकी श्रीमतीले तपाईँको मृत्यु भएको सूचना तपाईँको मृत्यु
प्रमाण-पत्रको प्रतिसित यस कार्यालयमा दिनुपर्छ साथै तपाईँकी श्रीमतीले तपाईँको ब्याङ्क खाता भएको ब्याङ्कमानै ब्याङ्क खाता खोलेर त्यसको पासबुकको प्रति र उहाँको आधार कार्डको प्रति पनि जमा
गर्नुपर्छ। त्यसपछि परिवार पेन्सन सुरू हुन्छ। चिन्ता गर्नु पर्दैन। ” मैले भनेँ ।
“धन्यवाद सर । यति कुरो तल्लो तलामा नै थाहा पाएको भए यसरी सिँढी चढेर तीन तलासम्म आउनुपर्ने थिएन । कति साह्रो प-यो मलाई सिँढी उक्लिनु। ” केही स्या स्या हुँदै उसले भन्यो।
“अहो! तपाईँलाई दु:ख भएछ । क्षमा गर्नुहोला । तपाईँ तल्लो तलामा बसेर उहाँलाई मात्र पठाउनुभएको भए भइगाको थियो । तपाईँलाई कष्ट भयो । अब चाँडै लिफ्ट पनि चालु हुँदैछ। ” मैले भनेँ ।
उसले भन्यो –“धन्यवाद सर ।तपाईँले राम्ररी बताइदिनुभयो। यसरी कहाँ सबैले बताउँछन्। रुपियाँ बिना त कामै गर्दैनन्। सरलाई धेरै धेरै धन्यवाद।अब हामी जानुप-यो । ”
“ हुन्छ। अब धेरै चिन्ता नगर्नुहोस् । आफ्नो भाग्य र ईश्वरप्रति भरोसा राखेर सधैँ राम्रो सोच्नुहोस्। मृत्युको चिन्ता नगर्नुहोस्। समयमा दवाई लिनुहोस्। सबै ठीक हुनेछ। अमर जुनी कसैको छैन ।फेरि चिन्ता किन गर्ने ?” मैले भनिदिएँ।
“धन्यवाद सर ।” दुई पुरुष र एक स्त्रीले एकै साथ भने । त्यसपछि उनीहरू गए अनुहार केही उज्यालो पारेर मृत्युचिन्तालाई पन्साएर । म आफ्नो अन्य कार्यमा पुन: लीन भएँ ।
केही महिनापछि ।
कागजपत्रहरू थुप्रिएको एउटा फाइलभित्र ब्याङ्क पासबुक र मृत्यु प्रमाण-पत्रका प्रतिहरू संलग्न एउटा पत्रमा यस्तो लेखिएको थियो –“ मेरो पतिको गत १०/०२/२०१९ मा देहान्त
भयो । उहाँले पिपीओ सङ्ख्या ५३०४१ द्वारा स्टेट ब्याङ्क अफ इण्डिया मालबजारबाट मासिक पेन्सन पाउनु हुँदै थियो। अब उहाँको पेन्सन बन्द गरेर मेरो नाममा परिवार पेन्सन झट्टै चालु गरिदिनुहोस् भनी नम्र निवेदन गर्दछु । आवश्यक कार्वाही हेतु यहाँ मेरो ब्याङ्क पासबुक, मेरो पतिको मृत्यु प्रमाण-पत्र,मेरो आधार कार्ड, अनि जीवन प्रमाण-पत्रका प्रतिहरू संलग्न गरेको छु। तपाईँको उषा दास। ”
मृत्यु प्रमाण-पत्र उठाएर राम्ररी हेरेँ । त्यसमा मृतकको नाम लेखिएको थियो –
प्रवीर दास । मृत्युचिन्ताले ग्रसित त्यो रोगी पुरुषको साँच्चै मृत्यु भएछ ।

डाउहिल,खरसाङ,भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।