15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतिभा पुञ्ज अविनाश श्रेष्ठ

व्यक्तित्व / कृतित्व नवीन पौड्याल February 7, 2022, 5:15 am
नवीन पौड्याल
नवीन पौड्याल

हाम्रो समाजमा केही यस्ता व्यक्ति छन् जो आफ्नो लेखन प्रतिभाको बलले समाजमा सम्मानित भएका हुन्। यस्तै मध्येका एक हुन् अविनाश श्रेष्ठ। उनी प्रतिभाका पुञ्ज हुन्। जहाँ गए पनि लेखन प्रतिभाका बलले आफ्नो ठाउँ जमाएका छन्, नाम कमाएका छन्। उनको जन्म १४ मई, १९५५ मा गुवाहाटीमा भएको हो। उनका बाबुआमाको नाम स्व. यमनारायण श्रेष्ठ र स्व. लक्ष्मी श्रेष्ठ हो। उनको बाल्य र युवावस्था गुवाहाटीमा नै बितेको हो। अध्ययनका क्रममा उनले गुवाहाटीबाट बि. ए. सम्म पढेपछि त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन्। सन् १९६९ मा नै उनको कविता ‘बाढी’ प्रकाशित गरेर साहित्यमा प्रवेश गरेका थिए।
उनीभित्रको प्रतिभा बाल्यकालदेखि नै प्रष्फुटित भएको थियो। उनको प्रतिभाले नयाँ मार्ग अवलम्बन गरेको पाइन्छ। उनको प्रतिभा कहिले नाटककार, कहिले कथाकार, कहिले कवि, कहिले सिनेमाका संवाद- कथा-पटकथा लेखक, कहिले नाट्य अभिनेता आदिका रूपमा बाहिर प्रस्फुटित भएको पाइन्छ। सदैव आफ्नो जाति, समाज र साहित्यका निम्ति केही नयाँ काम गर्ने हुट्हुटी, उत्साह र सचेतताले उनी लागिपरेका छन्। उनी युवा अवस्थामा छँदा नै गुवाहाटीमा आफ्ना केही साहित्यिक मित्रहरू मिलेर कोलाज आन्दोलन गरेका थिए, जसको प्रभावले आसाममा नयाँ नयाँ लेखक समूह लेखन प्रवृतिको प्रवेश भयो। उनीबाहेक यसका केही मुख्य लेखक- कार्यकर्ताहरू लगभग २०-२५ जना जति थिए। तीमध्ये केही प्रमुखहरूमा उनीबाहेक बालकृष्ण उपाध्याय, कमल बगाले, मित्र उपमन्यु, दिलीप सिंह, अनुराग प्रधान, शान्ति थापा, देबेन सापकोटा.भीम सोताङ, विनोद कोइराला, विजय पद्मनील, ध्रुव शर्मा, छविलाल पौड्याल, मोहन श्रेष्ठ, राधिका उपाध्याय, रश्मि बगाले, तिलक रसाइली, विजयकुमार राना आदि थिए। असमीय चित्रकला एकाडेमीमा विशेष गरी पिकासोका चित्र देखेर कोलाजको अवधारणा उब्जेको थियो। कुनै पनि कुरालाई कलात्मक रूपमा समग्रमा लेख्ने कोलाजको विचारलाई कवितामा उतार्ने अभियान थालेका थिए।
त्यहाँ उनी एक विद्यार्थी हुँदा नै नेपाली साहित्य परिषद्को स्थापना गर्न जुटेका थिए। यसको गठनको विचार उनी र उनका केही उत्साही साथीहरूको थियो। यसमा उनको मूल र अन्य साथीहरू भुपेन निषाद्, जङ्गबहादुर गुरूङ, राधा प्रधान, बालकृष्ण पौडेल, चोकहादुर थापा, मोतीसिंह छेत्री, पञ्चमाया छेत्री, प्रेमा छेत्री, रविलाल खरेल, सीताराम पाण्डे आदिको रहेको थियो। ४ जनवरी १९७४ मा नेपाली साहित्य परिषद्को पहिलो कार्यकारिणी समितिमा उनी संस्थापक सचिव रहेका थिए। उनी पहिलो, दोस्रो र तेस्रो कार्यकारिणी समितिका पनि सचिवका रूपमा, चौथो कार्यकारिणी समितिमा साहित्य सचिव र पाँचौं कार्यकारिणी समितिमा उनी अध्यक्ष रहेका थिए। यसलाई असम सरकारबाट पंजीकरण गर्न निकै खट्नुपरेको थियो। त्यतिबेलाका मन्त्री कुलबहादुर छेत्रीको सक्रिय सरकारी तवरमा सहयोग र प्रेमसिंह सुवेदीको शारीरिक सहयोगले यो काम हुन सकेको थियो। यसलाई साहित्य अकादमी, नयाँ दिल्लीमा मान्यताका निम्ति पनि उनी आफैं इन्द्रबहादुर राईलाई भेट्न दार्जिलिङ तीनपल्ट आएका थिए। राई उक्त समयमा साहित्य एकाडेमीका नेपाली प्रकोष्ठका संयोजक थिए। पछि राईले अनुमोदन गरेर मान्यता पाएको थियो। उनी परिषदमा रहेका बेला हरिभक्त कटुवाल काठमाडौंबाट फर्केपछि उनलाई स्वागत अभिनन्दन कार्यक्रम र सहयोग, बाहिरबाट साहित्यकार बोलाएर अभिनन्दन कार्यक्रम, पत्रिका सम्पादन, शाखा-प्रशाखा विस्तार आदि जस्ता मुख्य काम भएका थिए। परिषद्को पछिल्लो दुई समितिमा उनी सल्लाहकारका रूपमा देखिन्छन्। उनी जस्ता उत्साही, ज्वाजल्य प्रतिभा गुवाहाटीबाट पलायन हुनु उनको निम्ति विवशता हो भने यता असम र भारतीय नेपाली साहित्यको निम्ति भने ठुलो क्षति हो। उनले गुवाहाटीमा स्कुल खोलेर चलाए। त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर पढेर आएपछि शिलाङ, सिलगढी, दार्जिलिङ, कालिम्पोङ, खरसाङका कलेजमा नेपाली प्राध्यापनका निम्ति निवेदन गरे। गान्तोकमा भण्डारी दम्पत्तिले पाठ्य पुस्तकको अधिकारीको पदमा राख्ने इच्छा गरेका थिए तर उक्त जागिर भण्डारीज्यूको मुख्यमन्त्रीको कार्यकालभरिलाई मात्र हुने भएर उनले त्यस्तो अनिश्चित काम गर्न उचित ठानेनन्। उनी जीवन धान्ने क्रममा काठमाडौं पुगेका हुन्। त्यसपछि उनी गुवाहाटीबाट ओझेल भएर काठमाडौंमा चम्किन पुग्छन्।
नेपाली साहित्य परिषद्, कोलाज कविता, गुवाहाटीमा नाटक मञ्चन, नेपाली भाषा मान्यताका निम्ति असमेली नेपाली विद्यार्थीको आन्दोलनमा उनको भूमिका, सन् १९७९ देखि १९८३ सम्मको असमव्यापी विदेशी बहिष्कार आन्दोलनमा सचेत नेपाली विद्यार्थीहरूको संगठन र आत्मरक्षात्मक भूमिका आदिमा उनलाई अहिले पनि सम्झना गरिन्छ। त्यसबेलाका उनका मित्र मण्डलीका सदस्यहरू घट्दै गएका छन्। जति छन्, उनलाई बिर्सन सक्दैनन्। अबका नयाँ पुस्ताले अनुसन्धान गर्दा उनलाई अवश्य पाउने नै छन्।
हुन पनि उनी नेपाली साहित्य परिषद्‌मा सक्रिय रहेका बेला धेरै काम भएका थिए। काम गर्ने हुट्हुटीले उनले हरिभक्त कटुवाल स्मृति ग्रन्थ, परिषद् पत्र आदिको कुशल सम्पादन गरेका थिए। गुवाहाटीबाट उनी पढ्न भनी काठमाडौं छिरेका थिए। गुवाहाटीमा छँदा विद्यार्थी समाजको नेतृत्व गरेका थिए। नेपाली भाषा मान्यताको आन्दोलनमा उनी विद्यार्थी नेता भएर प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्ने जाने प्रतिनिधि टोलीमा पनि सामेल भएका थिए। उनकै संस्थागत कार्यले दस वर्षदेखि स्थगित भएको भानु जयन्ती मनाउन परम्परा फेरि शुरू गरिएको थियो। यस दिनलाई असममा आंशिक सरकारी विदा घोषणा भएको थियो। उनको पुस्तक प्रकाशनको थालनी त असमीय भाषामा रहेको ‘तुमियेइ मोर नेपथ्य प्रिया’ हो। उनले नेपाली साहित्य परिषद्को मुखपत्र ‘परिषद् पत्र’को पहिलो अङ्क (१८८४-८५), दोस्रो अङ्क (१९८६-८७) र यसको गोजिका पत्रिका ‘सलेदो’को सम्पादन गरेका हुन्।
त्यसपछि एउटा विद्यार्थीको प्रतिभाको बलले काठमाडौंमा नै उनलाई स्थापित गरेको छ। भौतिक रूपमा उनी रित्तै थिए तर उनीभित्र सिर्जनाको हतियार थियो। त्यही हतिहारले उनले यश लाभ र धनलाभ गरे, व्यस्त भए, काठमाडौंमा इज्जतका साथ जीवन बिताइरहेका छन्। हालसम्म उनका प्रकाशित कृतिहरू हुन्- ‘परेवा सेता काला’ (विस. १९४१) ‘संवेदना ओ संवेदना’ (कवितासङ्ग्रह, २०३८), ‘अनभूति यात्रामा’ (कवितासङ्ग्रह, २०४७), ‘हेर्नुस यस शहरलाई’ (नेपाली जर्मनी संयुक्त कवितासङ्ग्रह, २०५२), ‘करोडौं सूर्यहरूको अन्धकार’ (कवितासङ्ग्रह,२०६०), ‘गुडबाइ रोनिता’ (लघु उपन्यास, २०४२), ‘तान्या, इन्द्रकमल र अन्धकार’ (कथासङ्ग्रह, २०६३), ‘आधुनिक भारतीय नेपाली कथा’ (सम्पादन, २०६४), ‘दन्त्यकथाभित्रको दन्त्यकथा’ (कथासङ्ग्रह प्रकाशोन्मुख), ‘अश्वस्थामा हतोहतः’ (नाटक, २०५०), ‘कविको मृत्यु’ (नाटक प्रकाशोन्मुख), ‘डायनासोर–मुद्रा’, नाटक प्रकाशोन्मुख), ‘समय समय समय’ (मञ्चित नाटक)। यी सिर्जना र सम्पादन कृतिबाहेक उनका समीक्षा- अनुसन्धान कृति पनि रहेका छन् - नेपाली कविताको आरम्भ र विकास तथा समकालीन नेपाली कविताको परिप्रेक्ष्य (२०४१), आधुनिक भारतीय नेपाली कथा (२०६४), नेपाल बाहिरका नेपाली साहित्यकार (प्रकाशोन्मुख)। सन् २००३ उनको नाटकको हिन्दी रूपान्तर गरी ‘समय समय और समय’ का नाममा महाकाल थिएटरको आयोजना र डा. अझर आलमको निर्देशनमा कोलकाताको अलीपुरमा सडक नाटक सफलतापूर्ण सम्पन्न भएको थियो। गुवाहाटी र काठमाडौंमा उनका धेरै नाटक प्रदर्शित भएका हुन्। सन् १९७२ मा पहिलोपल्ट उनको नाटक यहाँ जिन्दगी यस्तै छ को गुवाहाटी जिल्ला पुस्तकालय हलमा भव्य रूपमा मञ्चन भएको थियो। यसको निर्देशक गोपाल नेवार तथा अभिनेता- अभिनेत्रीहरू मुक्ति उपाध्याय बराल, योगमाया शर्मा, लक्ष्मी उपाध्याय, बादल सुवेदी, देवी उपाध्याय, पार्वती उपाध्याय आदि मुख्य रूपमा थिए।
यीबाहेक उनले हरिभक्त कटुवाल स्मृति ग्रन्थ, सलेदो, परिषद् पत्र, प्रज्ञा, समकालीन साहित्य, गरिमा ‘घुएत्रो; ‘झटारो’ (हास्य व्यङ्ग्य संकलन) आदि जस्ता स्तरीय पत्रिकाका सम्पादन गरेका छन्। उनी गीत लेखनमा पनि निपुण छन्- हालसम्म उनले रचेका दुईवटा गीति अल्बम निस्किएका छन्- ‘धुक्‌धुकीका हरफहरू’ र ‘मनमा तिमी’। उनले लेखेका केही भिडियो चलचित्र हुन्। उनले ठुलो पर्दाका धेरै चलचित्रमा कथा, पटकथा, संवाद लेखन कार्य गरेका थिए। ती चलचित्रहरूमा ‘भाउजू’, ‘लक्ष्मीपूजा’, ‘ज्वाला’, ‘परेली’, ‘राँको’, ‘पराइ-घर’, ‘कस्तो सम्झौता?’, ‘पूजा’, ‘परेली’, ‘साथी’, ‘तिमी नै बस्यौ मेरो मनमा’, ‘नौडाड़ा पारी’, ‘किन लाग्छ माया’, ‘मोहनी लाग्ला है’, ‘जिन्दगानी’, ‘विश्वास’, ‘जय होस्’ आदि हुन्। यसै गरी उनले सानो पर्दाका केही भियो चलचित्रहरू जस्तै- ‘धराप’, ‘सरगम’, ‘बोक्सी आदि हुन्। उनले केही टेलिशृङ्खलामा पनि कथा, पटकथा, संवाद लेखन गरेका छन्। ‘चक्रव्युह’, ‘नमस्ते काठमाडौं’, ‘कान्छी’, ‘माइली’, ‘कालीगण्डकीको सेरोफेरो’लगायत पचासौं यस्ता शृङ्खलाहरूमा काम गरेका हुन्।
अविनाश श्रेष्ठ एक युग सचेत, शिल्प सचेत, प्रयोग सचेत लेखक हुन्। उनी उच्चकोटीका प्रयोगशील लेखक हुन्। उनका जुनै पनि कृतिमा मिथकको नयाँ सन्दर्भ, प्रतीकको कुशल चयन, बिम्बको कलात्मक प्रयोग, भाषा चयनमा नवीनता, प्रस्तुतिमा कलात्मकता पाइन्छ। उनका कथामा असमीय पृष्ठभूमि, असम प्रेम, आन्तरिक चिन्तन, करूणा, सौहार्द, यौवनका उच्छवास, यौनविम्ब, आकर्षक प्रस्तुति आदि जस्ता प्रवृति पाइन्छन्। पाठकका निम्ति उनका प्रत्येक सिर्जना रूचिकर, नयाँ स्वादको र नयाँ प्रस्तुतिको लाग्दछ। उनका कवितामा युगीन चेतना, वर्तमानका युवा पिँढीको नैराश्य, मूल्य-मान्यताको ह्रासको स्थितिमाथि चिन्ता जस्ता प्रवृत्ति परिलक्षित हुन्छ। कवितामा विभिन्न इन्द्रियजन्य विम्ब, वैयक्तिक प्रतीक योजना, प्रस्तुतिगत कलात्मकता जस्ता विशेषता पाइन्छ। उनका नाटकहरू अस्वस्थामा हतोहतमा महाभारतीय पौराणिक पात्रविशेषलाई विमिथकीकरण गरी युगानुकूल सन्दर्भसित जोडेका छन्। उनको यो नाट्यकृतिलाई उत्तर बङ्गाल विश्वविद्यालयको स्नातक तहको नेपाली अनर्समा पाठ्यक्रमका रूपमा गाभिएको छ।
काठमाडौं पुगेर पनि उनी साहित्य सङ्गठनको स्थापना गर्न र सक्रियता रही काम गरेका हुन्। उनी गोष्ठी नेपालको संस्थापक सदस्य, नीहार प्रकाशन गृहका संस्थापक अध्यक्ष रहेका थिए। उनी नेपाली प्रज्ञा प्रतिष्ठानमा रहेर भाषा सम्पादक, ‘प्रज्ञा’ र ‘समकालीन साहित्य’को सम्पादक र पछिबाट प्रधान सम्पादक रही सेवा पुर्‌याएका छन्। यसै गरी उनी ‘गरिमा’ मासिकका दुई वर्षजति गरिमामय सम्पादक पनि रहेर यसलाई स्तरीय बनाउन निकै मेहनत गरेका छन्। उनको सम्पादन कला पनि सिर्जनात्मक देखिन्छ। नेपाली साहित्यमा उनको उच्चकोटिको प्रतिभा साहित्यिक पत्रिकाको सम्पादन कला पनि हो। उनले ‘समकालीन साहित्य’ लाई उचाले, ‘गरिमा’लाई उकासे। उनले छोएपछि कुनै पनि पत्रिका फलामबाट सुन भएझैं स्तरीय र उत्कृष्ट सावित हुन्छ।
अविनाश श्रेष्ठ अग्ला रूख हुन् जसमा हावा हुण्डरीले पनि बेसी हल्लाउँछन्। समय समयमा हुण्डरी आएर हाँगा- बिङ्गा भाँच्न खोज्छन्, भाँचिदिन्छन्, पात झारिदिन्छन्। उनको काममा लम्की लाउने, टाङ अडकाइदिने, लाञ्छना लाउनेहरू पनि कमी छैनन्। उनले कति हण्डर खाएका होलान्, त्यो उनैलाई थाह छ। एक प्रकारले भनुँ भने उनी चिल्लो ढुङ्गाको लोहोरो हुन, जो समय र परिस्थितिसित गुढ्दै-बुढ्दै, लड्दै-पड्दै, ठोक्कर खाँदै जाँदा चिल्लो र उपयोगी भएका हुन्। उनको प्रतिभाको कदर पनि नभएको होइन्। उनले केही मान -सम्मान पुरस्कार पाएको पाइन्छ। उनले रत्नश्री स्वर्णपदक, सर्वश्रेष्ठ नाट्य लेखन पुरस्कार, सर्वोत्कृष्ट नाटक लेखन पुरस्कार, धौलागिरी साहित्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार र स्वर्णपदक, नेपाली मोसन पिक्चर एवार्ड, लोकेन्द्र साहित्य पुरस्कार, लक्स चलचित्र एवार्ड, डाबर -अनमोल मोसन पिक्चर एवार्ड, गरिमा सम्मान पुरस्कार, मैनाली कथा पुरस्कार आदि प्राप्त गरेका छन्।
उनी व्यस्तताभित्र पनि आफ्नो लेखन कार्यलाई अघि बढाउन सक्ने क्षमताशील लेखक हुन्। उनी काठमाडौंमा बिहानको कलज पढाएर दिउँसो प्रज्ञा प्रतिष्ठान वा कुनै फिल्मको काममा दिनभर व्यस्त रहेर राती लेखन कार्य गर्दथे। चलचित्रका पटकथा संवाद लेख्नु, पत्रिकाको स्तम्भ लेख्नु, आफ्नो विद्यार्थीहरूलाई पढाउने सामाग्री तारी गर्नु आदि आफ्नो व्यावसायिक काम गर्नु बाध्यता र अनिवार्यता थियो। यतिका काम हुँदाहुँदै कविता, कथा, नाटक, समालोचना लेख्नु आदि सिर्जनात्मक काम पनि समानान्तर रूपमा सक्रिय रहे। अहिले भने उनी सेवानिवृत्त भएर स्वतञ्त्र लेखनमा आवद्ध छन्। अहिले काठमाडौंको कोटेश्वरको अमरावतीस्थित घरमा सानो परिवार सुखी परिवार भएर आनन्दको जीवन बिताउँदैछन्। उनका सुपुत्रीहरू पनि सुयोग्यका छन्। सुन्दर हस्ताक्षर, सुन्दर रूप, सुन्दर परिधान, सुन्दर घर, सुन्दर परिवार, सुन्दर कला पाएका अविनाश श्रेष्ठ भारतले उम्काएको एउटा होनहार प्रतिभा हुन्। अविनाश श्रेष्ठको अगुवाइमा स्थापित भएको नेपाली साहित्य परिषद्, असम र नेपाली साहित्य सभा, असम जस्ता दुई साहित्यिक संगठनको विलयन-एकीकरण गरेर ईश्वी २०१३ मा असम नेपाली साहित्य सभा बनाएकामा यस पंक्तिका लेखकलाई एक भेटमा उनले गुनासो र आपत्ति व्यक्त गरेका छन्। एउटा संस्थाको नाम र अर्को संस्थाको स्थापना वर्ष र लोगोलाई मिलाएर समय र राजनैतिक विभिन्न कारण र बाध्यताले गङ्गा र यमुना मिसिएर ठुलो गङ्गा बनेको सत्यता पनि उनले स्वीकार्नु पर्दछ। उनको लेखनमा अझ तीब्रता आवोस्, समय सदा अनुकल रहोस् भन्दै सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।

कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।