19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सांस्कृतिक सचेतता : आजको आवश्यकता

निबन्ध खगेन्द्र जोशी April 14, 2024, 6:17 am

नेपाली भाषामा व्यवहृत ‘संस्कृति’ शब्द संस्कृत भाषाबाट रूपान्तरण नभईकनै नेपाली भाषामा भित्रिएको तत्सम शब्द हो । संस्कत भाषाको ‘कृ’ धातुमा ‘ति’ प्रत्यय लागेर व्युत्पन्न ‘कृति’ आधार पदमा ‘सम्’ उपसर्ग लागेपछि ‘संस्कृति’ शब्दको व्युत्पत्ति भएको हो । जसको शाब्दिक अर्थ कुनै देश, समुदाय वा जाति विशेषको कला, साहित्य, सङ्गीत, बौद्धिकता, आचार, व्यवहार वा त्यस देश, समुदाय वा जातिको मौलिक पहिचान गराउने विशेषता भन्ने हुन्छ । आज संस्कृति शब्दको अर्थविस्तार हुनगई यसले व्यापक अर्थ बोध गराउन थालेको छ । जीवनसँग जोडिएका ती सबै विचार र व्यवहारहरूलाई संसकृति भन्न सकिन्छ जसले कुनै समुदाय विशेषको मौलिक पहिचान गराउँछन् । संस्कृति व्यक्तिगत सोच र क्रियाकलापमा आधारित नभएर समुदायगत सोच र क्रियाकलापमा आधारित हुन्छ तर यसको अभिव्यक्ति भने व्यक्तिका माध्यमबाट नै हुन्छ । व्यापक रूपमा संस्कृति शब्दलाई अर्थ्याउनु पर्दा के भन्न सकिन्छ भने प्रकृतिप्रदत्त व्यवहार बाहेकका सम्पूर्ण मानव सिर्जित व्यवहारहरू संस्कृतिसम्बद्ध पक्ष हुन् । अर्को शब्दमा भन्नुपर्दा मानवले जुन व्यवहार प्रकृतिबाट सिक्यो ती व्यवहार संस्कृतिका अङ्ग होइनन् तर जीवनलाई व्यवस्थित बनाउने क्रममा जुन व्यवहार मानव स्वयंले सिर्जना गर्यो ती व्यवहार संस्कृतिका अङ्ग हुन् । अझै प्रस्ट पार्नुपर्दा मानिसले खाना खानु प्रकृतिप्रदत्त गुण हो तर खाना खाँदा अपनाइने शुद्धता, खाने तौरतरिका, खानाका परिकार बनाउने विधि आदि संस्कृतिसम्बद्ध पक्ष हुन् । मलमूत्र त्याग्नु प्रकृतिप्रदत्त व्यवहार हो तर त्यसलाई व्यवस्थापन गर्न अपनाइने तरिकाहरू संस्कृतिकै अङ्ग हुन् । निदाउनु प्रकृतिप्रदत्त गुण हो तर सुत्नका निम्ति अपनाइने तौरतरिका संस्कृतिका अङ्ग हुन् । नारी र पुरुष बिच हुने यौनाकर्षण तथा समागम कार्य प्रकृतिप्रदत्त गुण हो तर त्यसका निम्ति अपनाइने विधिविधानहरू संस्कृतिसम्बद्ध पक्ष हुन् । मानिसले लुगा लगाउनु, विचार विनिमयका निम्ति भाषा विशेषको प्रयोग गर्नु, जीवन निर्वाहका निम्ति विभिन्न पेसा तथा व्यवसायमा संलग्नता देखाउनु यी सबै संस्कृतिसँग सम्बन्धित क्रियाकलाप हुन् ।

मानव सभ्यताको विकासका क्रममा देखा पर्ने मानवकृत सम्पूर्ण व्यवहारहरू संस्कृतिकै अङ्ग हुन । यति मात्र होइन बरु प्रकृतिप्रदत्त सार्वभौम पक्षको प्रयोगमा पनि पार्थक्यता ल्याएर मानवले ती पक्षहरूलाई संस्कृतिसँग जोड्ने काम गरेको देखिन्छ । मानिसले गर्ने गतिविधिहरू मात्र संस्कृति होइनन् उसको मानसिकतामा पैदा हुने विचार, जीवन र जगतप्रतिको उसको दृष्टिकोण, सामाजिक परिवेशका सापेक्षतामा निर्मित मानिसको मनोविज्ञान आदि पनि संस्कृतिसम्बद्ध पक्ष हुन् । यसरी के भन्न सकिन्छ भने कुनै व्यक्ति जन्मेदेखि बाँचुन्जेलसम्म समाज/समुदायगत प्रभावबाट प्रभावित भएर उसको जीवनमा घटित सबै वैचारिक तथा व्यवहारिक क्रियाकलापहरूका साथै ऊ जन्मनुपूर्व र उसको मृत्युपश्चात उसका नामले गरिने क्रियाकलापहरू सबै संस्कृतिसम्बद्ध पक्ष हुन । मानिसको जीवनसँग जोडिएका रहनसहन, बोलीव्यवहार, लवाइखवाइ, रीतिरिवाज, मूल्यमान्यता, सोचविचार, आचारव्यवहार आदि सबै कुराहरू संस्कृतिकै अङ्ग हुन् ।

संस्कृति हरेक समुदायको स्वत्वको पहिचान हो । संस्कृतिको संरक्षण र संवर्धन गर्नु हरेक समुदायका सदस्यको कर्तव्य हो । संसकृति समाप्त भएमा सम्बन्धित समुदायको मौलिक पहिचान नै गुम्न जाने हुनाले आफ्नो संस्कृतिको संरक्षण गर्नु पर्ने कुरामा कसैको विमति नहुँदा नहुँदै पनि संस्कृति संरक्षणका नाममा विकृति बचाउने काम नहोस् भन्ने कुरामा भने सबै सचेत हुनु जरुरी छ ।

संस्कृति विभिन्न तत्त्वका सापेक्षतामा निर्माण र विकास हुने कुरा हो । यो भूगोल, समाजव्यवस्था, राजनैतिक व्यवस्था, अर्थव्यवस्था, उत्पादनप्रणाली, धर्मव्यवस्था जस्ता तत्त्वहरूसँग सापेक्ष सम्बन्ध राख्दछ । हिमाल, पहाड र तराईका मानिसको लवाइखवाइ तथा रहनसहनमा भिन्नता देखिनुको कारण भौगोलिक विविधता हो । पुरुषप्रधान समाजमा महिलामैत्री विचार र व्ययहारको अभाव रहनु, उच्च वर्गका व्यक्तिले निम्न वर्गका व्यक्तिमाथि प्रतिकूल प्रभाव पर्ने गरी विभेदपूर्ण व्यवहार गर्नु र निम्न वर्गका व्यक्तिले त्यसलाई परम्पराका रूपमा स्वीकार गर्नु आदि समाजव्यवस्थाका कारण देखा पर्ने गतिविधि हुन् । अधिनायकवादी व्यवस्थामा शासक केन्द्रित नीतिनियमअनुसार जीवनपद्धति सञ्चालन हुनु र जनवादी व्यवस्थामा जनभावनाअनुरूप जनताको हित हुने गरी निर्माण गरिएका नियमअनुसार जीवनपद्धति सञ्चालन हुनु राजनैतिक व्यवस्थाको सापेक्षतामा निर्माण भएका गतिविधि हुन् । आफूलाई आवश्यक पर्ने उपभोग्य वस्तु आफैले उत्पादन गर्नु वा बजारमाथि निर्भर हुनु तथा उत्पादनका साधनमा सामूहिक स्वमित्व हुनु वा एकल स्वामित्व हुनु जस्ता पक्षहरू उत्पादनप्रणाली र अर्थव्यवस्था सापेक्ष व्यवहार हुन् । गाईलाई आमा मानी पुज्नु र गाई काटेर त्यसको मासु खानु धर्मव्यवस्थाका सापेक्षमा विकसित गतिविधि हुन् । त्यस्तै संस्कृति समय सापेक्ष पनि हुन्छ । समयको परिवर्तन सँगसँगै जीवन र जगत्मा आउने परिवर्तनले व्यक्तिको विचार र व्यवहारमा पनि परिवर्तन ल्याइदिन्छ जसले गर्दा संस्कृतिलाई समयले पनि प्रभावित गरिरहेको हुन्छ ।

सामान्यतया मानव सभ्यताको विकासको क्रममा मानव जीवनलाई सहज बनाउनका निम्ति व्यक्तिको मानसिकतामा पैदा भएको विचार र त्यसको परिणाम स्वरूप स्थापित व्यवहार जब सामूहिकीकरण भएर स्थायित्व पाउँछ तब त्यसले संस्कृतिको स्वरूप ग्रहण गर्दछ । तर यसरी स्थापित हुने सबै मूल्यमान्यता र व्यवहारहरू जीवनोपयोगी नै हुन्छन् भन्ने कुरा चाँहि होइन । खासगरी सामाजिक, राजनीतिक, धार्मिकव्यवस्था तथा उत्पादनप्रणालीको प्रभावबाट प्रभावित भएर स्थापित गरिने मूल्यमान्यता तथा आचारव्यवहारहरू कुनै खास वर्ग, तह र समूह विशेषको अनुकूल हुने हुनाले ती आम जनताका निम्ति प्रतिकूल पनि हुन सक्छन् । त्यस्ता जीवनविरोधी विचार र व्यवहार वास्तवमा संस्कृति नभएर विकृति बन्न पुग्दछन् । हाम्रो सामाजमा विद्यमान देउकी प्रथा, झुमा प्रथा, जातीय उचनीचताको अवस्था तथा छुवाछुत प्रथा, छाउपाडी प्रथा, बलि प्रथा, बालीघरे प्रथा आदि जीवनविरोधी व्यवहारहरू संस्कृतिका नाममा परम्पराबाट प्रचलित विकृतिहरू नै हुन् । यी त केही उदाहरण मात्र हुन् समाजमा यसप्रकारका अरू पनि थुप्रै विचार र व्यवहारहरू देख्न सकिन्छ जसले जीवनलाई सरल होइन जटिल, सहज होइन असहज, गतिशील होइन गतिहीन् बनाउने र जीवनलाई प्रगतितिर नभएर अधोगतितिर धकेल्ने काम गरेको देख्न सकिन्छ ।

संस्कृति जीवनोपयोगी हुने र विकृति जीवन विरोधी हुने हुनाले समाजमा प्रचलित व्यवहारमध्ये कुन संस्कृति हो र कुन विकृति हो भनी पहिचान गर्नु जरुरी छ । कुनै खास वर्ग, तह तथा समूहका शक्तिसम्पन्न व्यक्तिहरूले आफ्नो हितअनुकूल हुनेगरी स्थापित गरेका मूल्यमान्यता तथा व्यवहारहरू यदि आम जनताको हितमा छैनन् भने संस्कृति संरक्षणका नाममा तिनलाई जोगाइराख्नु आवश्यक हुँदैन । त्यस्तै कुनै विशेष कालखण्डमा स्थापित व्यवहार त्यस समयको लागि उपयोगी भएपनि कालान्तरमा त्यो औचित्यहीन हुन सक्छ । त्यसता व्यवहारलाई पनि संस्कृतिका नाममा बाचइराख्नु जरुरी छैन । संस्कृति संरक्षणका क्रममा त्यसमा रहेको वैज्ञानिकता, जीवनोपयोगिता, सान्दर्भिकता जस्ता पक्षहरू केलाएर मात्र त्यसलाई जस्ताको त्यस्तै आत्मसात गर्ने कि परिमार्जन र परिष्कारसहित आत्मसात गर्ने वा पूर्ण रूपमा परित्याग गर्ने भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

संस्कृति संरक्षणका नाममा पक्कै पनि जडता प्रदर्शन गर्दै त्ससको रूप पक्षलाई मात्र समात्ने र सारलाई उपेक्षा गर्ने गल्ती कदापि गर्नुहुँदैन बरु सारलाई समातेर स्थापित संस्कृतिले अभिव्यक्त गर्न खाजेको आशयअनुरूप रूपमा परिमार्जन गर्दै जानुपर्ने पनि हुन सक्छ । उदाहरणका निम्ति ब्राह्मण समुदायमा विद्यमान धोती पहिरेर भान्सा पसी खाने र खाना पाकेको चुलोमा आगो निभेपछि अशुद्ध मानी त्यो खाना नखाने चलनलाई लिन सकिन्छ । त्यस चलनले खानपिनमा सरसफाइ, शुद्धता, स्वच्छता, ताजापनमा ध्यान दिनुपर्ने आशय अभिव्यक्त गर्दछ । खाना खाँदा धोती पहिरनु र भान्सामा मात्र खानुको पछाडिको कारण सरसफाइ तथा शुद्धतामा ध्यान दिनु हो । यताउता जाँदा लगाइएको लुगाबाट दुषित किटाणुहरू खानासँगै शरीरभित्र पसेर अनेक रोगबाट सङ्क्रमित हुन सक्ने र स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने हुनाले खाना खाँदा सफा वस्त्र धारण गर्नुपर्ने परिपाटी स्थापनाका क्रममा धोती लगाउने परम्पराको थालनी भएको हो । त्यस्तै भान्सामा मात्र खाना खानुको तात्पर्य पनि सरसफाइमा ध्यान दिनु नै हो र चुलोमा आगो निभेपछि नखानुको अर्थ ताजा खाना खानुपर्छ भन्ने हो तर आज त्यसको सारलाई समात्न नसकी रूपलाई मात्र समात्दा धोती फेरेर भान्सा पस्ने काम गरे पनि सरसफाइमा ध्यान नदिएको बरु फेरिएको धोती समेत फोहोर हुने गरेको अनि चुलोमा आगोको विकल्पमा बत्ती बालेर काम चलाउने गरेको पाइन्छ । धोती नफेरे पनि खाना खाँदा सरसफाइ र शुद्धतामा ध्यान दिनु अनि ताजा स्वच्छ तथा गरमगरम खाना खानु त्यसको सार पक्षलाई समात्नु हो ।

हामीले हाम्रो समाजमा विद्यमान संस्कृतिलाई संरक्षण गर्न खोज्दा त्यसमा रहेको जीवनोपयोगी पक्षलाई विशेष जोड दिनुपर्छ । हामीले आफ्नो पहिचानका लागि आफ्नो संस्कृति बचाउने नाममा अरूको संस्कृतिमा रहेका राम्रा पक्षलाई आत्मसात गर्न पनि अन्कनाउनु हुँदैन तर आधुनिक र उदार बन्ने नाममा अरूको संस्कृतिको अन्धानुकरण गर्नु पनि हुँदैन । त्यसमा रहेको वैज्ञानिकता, सान्दर्भिकता र उपयोगिताको ख्याल गर्नु नै पर्छ । त्यसको महत्त्वलाई केलाएर रूपमा भन्दा पनि सारमा त्यसलाई आत्मसात गर्नु उपयुक्त हुन्छ । आज हाम्रो समाजमा केही व्यक्तिहरू आफ्नो धर्म र संस्कृतिलाई जोगाउने नाममा रूढिवाद र अन्धविश्वासको पक्षपोषण गरिरहेका छन् । विज्ञानले गलत सिद्ध गरिसकेका कुरालाई पनि पुर्खाले मान्दै आएको भनी परम्पराका नाममा जोगाइराख्न खोज्नु परम्पराको अन्धानुकरण गर्नु हो र त्यो संस्कृतिको संरक्षण नभएर विकृतिको बचाव हो । यो प्रवृत्ति संस्कृति संरक्षणका क्षेत्रमा देखा परेको ठुलो समस्या हो । त्यस्तै कतिपय व्यक्तिहरू आफूलाई आधुनिक देखाउने नाममा पश्चिमा जगतबाट आयातित व्यक्तिकेन्द्रित उपभोक्तावादी संस्कृतिलाई अन्धाधुन्ध रूपमा आत्मसात गरिरहेका छन् । यो पनि संस्कृति संरक्षणका क्षेत्रमा देखा परेको झन ठुलो समस्या हो । आफूलाई मात्र केन्द्रमा राखेर सोच्नु तथा काम गर्नु, सामूहिकभन्दा व्यक्तिगत स्वार्थलाई बढी महत्त्व दिनु, श्रमलाई सम्मान नगर्नु, विनामेहिनेत वा कम मेहिनेतमा अत्यधिक नाफा खोज्नु, नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्नु, समस्या समाधानका लागि सङ्घर्ष गर्नुभन्दा समर्पण गर्न सिकाउनु, शून्यवादी चिन्तन आत्मसात गर्नु, आफूलाई समाजसेवाभन्दा मोजमस्तीमा व्यस्त राख्नु जस्ता चिन्तन तथा गतिविधि पश्चिमबाट नेपाली समाजमा भित्रिएका संस्कृति हुन् । यिनले नेपाली समाजमा विकृति नै बढाएको देखिन्छ ।

आज हाम्रो समाजमा साँस्कृतिक सचेतताको अभावको कारणले खास गरी दुई किसिमका समस्याहरू देखिन्छन् । पहिलो समस्या संस्कृति संरक्षणका नाममा अनुपयोगी, अवैज्ञानिक, असान्दर्भिक तथा जीवनविरोधी परम्परालाई पनि जोगाएर राख्न खोज्नु हो भने दोस्रो समस्या आधुनिक बन्ने नाममा पश्मिबाट आयातित संस्कृतिलाई अन्धानुकरण गर्नु हो । संस्कृति संरक्षण गर्नका निम्ति यी दुवै किसिमका समस्याबाट मुक्त हुनु जरुरी हुन्छ जसका लागि साँस्कृतिक सचेतताको आवश्यकता पर्दछ ।

एकातिर हाम्रो देशमा लामो समयसम्म सामन्तवादी राज्यव्यवस्था कायम रहेको र अझै पनि त्यसका कतिपय अवशेष बाँकी रहेका कारण हाम्रो देशको संस्कृति सामन्तवादको प्रभावबाट प्रभावित छ जसले गर्दा संस्कृतिमा रहेका सामन्तवादी दुर्गुणहरूलाई हटाएर परिमार्जन र परिष्कार गर्नु आजको आवश्यकता हो । अर्कातिर देश अर्धऔपनिवेशिक अवस्थामा रहेका कारण र भूमण्डलीकरणका कारण जनता उपभोक्तावादी संस्कृतिको सिकार बन्दै छन् भने शासकमा दास मनोवृति विकास हुँदैछ र आत्म समर्पणवादी बन्दै गइरहेछन् ।

यसरी हामीमा सांस्कृतिक सचेतता भएमा मात्र हामी असल संस्कृतिको निर्माण, संरक्षण र विकास गर्न सक्छौँ । नत्र भने संस्कृतिको नाममा विकृति बचाउने र भित्र्याउने काम मात्र हुन जान्छ ।


उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।