15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रानी

लघुकथा ईगम खालिङ February 11, 2022, 5:18 am
ईगम खालिङ
ईगम खालिङ

घरका सारा काम देखभाल गर्ने त्यो गृहसहयोगी केटी पलको बिहेमा सामेल भएन। त्यसको नाम रानी हो। रानीबिना भान्साघरका धेरै काम सम्भव हुँदैन। त्यसले परिवारका सबै सदस्यहरूको मन जितेकी छे, तर त्यो आफ्नै मालिकको एक्लो छोरो पलको बिहेमा देखा परेन। बिहेको अघिल्लो रातदेखि नै रानीको मोबाइल फोन पनि बन्द छ।

कति प्रेमसित भोलि बिहेमा लगाउनु भनेर दिएको बनारसी साडी त्यसले पलको कोठामा नै छाडी राखेछी। त्यो देखेर पलको मनमा नाना किसिमका विचारहरू आइरहन्छन्। उसलाई अचम्म पनि लाग्छ कि “बनारसी साडी बनारसी साडी” भन्थी तर छोडी राखेछी, फेरि बिहेमा पनि आएन। कतै रानीलाई भ्रम त भएन भन्ने शङ्काले पलको मन कताकता खाइरहन्छ।
भोलिपल्ट बिहानै पल रानीको डेरातिर लाग्छ। डेरा चकमन्न छ तर रानी भने अझै पनि पलङमा घोप्टिएर सुकसुकाइरहेकी छे। पलले ढोका के खोल्न लागेको थियो कि उसको मनमा दोस्रो विचार झट्ट आउँछ र भित्र नपसी ऊ त्यहाँबाट बाहिर निस्कन्छ। रानीलाई दिन भनी ल्याएको त्यो साडीसित पनि उसलाई डर लागेर आउन थाल्छ।

बाटामा एउटी खाते केटी एउटा बोराभरि सामान काँधमा बोकेर आउँदै रहेछे। पलले गाडी त्यसको छेउमा रोकेर त्यो साडी दिन्छ—पहिले त त्यसले लिन मान्दैन तर पछि सम्झाइबुझाइ गर्दा मात्र लिन मान्छे। त्यहाँबाट अलिक अघि पुगेपछि उसलाई त्यसको नाम सोध्न मन लाग्छ। गाडी पछिल्तिर घुमाएर केटीको सामु रोक्छ। उसलाई फेरि देखेर केटी डराई डराई मुसुक्क हाँस्छे। उसले अप्ठ्यारो मान्दै सोध्छ, “बहिनी ! तिम्रो नाम के हो?”

‘रानी’ भनी राखेर त्यो केटी घोप्टिएर फटाफट आफ्नो बाटो लाग्छ। पलको मुटु कटकट दुख्छ र शरीरभरि एक प्रकारको चिसो पसिना आउँछ। एकछिनपछि मनको ढोकालाई एकैचोटिका निम्ति ड्याम्म थुनेर ऊ आफ्नो घरतिर लाग्छ।

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।