17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रूपेश शर्माको साहित्यालोचना सिर्जना र दृष्टि – एक विवेचन

व्यक्तित्व / कृतित्व बैद्यनाथ उपाध्याय February 11, 2022, 5:38 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

नेपाली साहित्यमा आलोचनात्मक लेखनको खड़ेरी परेको समयमा बाग्राकोट, डुवर्स, पश्चिम बंगालमा जन्मिएका र सिक्किमको हिमाली बेला नामक नेपाली दैनिक समाचार पत्रका सह सम्पादक रूपेश शर्माको हालै प्रकाशित सिर्जना र दृष्टिले साहित्य जगतमा आशा जगाएको छ। उनि भन्छन- तीक्ष्ण आलोचनादृष्टि निरुत्साहित हुँदै गएको अनि अतिरञ्जनापूर्ण आलोचनाले प्रोत्साहन पाउँदै गएको परिवेशमा म आलोचनात्मक ग्रन्थ लिएर पाठकहरूमाझ आएको छु अर्थात् म एउटा चुनौतीपूर्ण परिवेशमा पसेको छु। आलोचनालाई सिर्जनाभन्दा कम महत्वको रूपमा लिइने गरे तापनि यसको जोखिम र महत्व भने कम छैन। आलोचनाले एउटा बौद्धिक कार्यको जिम्मेवारी पनि वहन गर्नुपर्ने हुनाले यो आफ्ना सीमाहरूभन्दा केही माथि उठेको हुनुपर्दछ। स्वस्थ्य बहस, अन्तरक्रिया र छलफलको गति मन्द रहेको हाम्रो समाजमा खुसामदी गर्न नरुचाउने व्यक्ति सबैको छड्के नजरमा पर्छन। स्वस्थ्य आलोचना पचाउन सक्ने समाज छैन भने आलोचनामा भाटगिरी हावी हुन्छ। एकोहोरो प्रशंसा र अनावश्यक महिमामण्डन स्वयम् सर्जकका लागि पनि घातक हुनपुग्दछ। यसैले समाजमा वाद-विवाद-संवादको ढोका सधैं खुला हुनुपर्दछ।
रूपेश शर्मा को यस सिर्जना र दृष्टि दुई भागमा विभाजित छ। पहिलो खण्डमा उनले क) पैतालातल्तिरमा क्रान्तिकारी आशावाद र भविष्यदृष्टि, ख) अर्को लश्करको सैद्धान्तिक निकटता, ग) पखेटा चलुञ्जेलको सौन्दर्य, घ) म टिस्टा बगिरहेछु – उदात्त यथार्थको प्रतिविम्बन, ङ) निमित्तहरू – श्रमजीवी वर्गमा अवगुण्ठित विद्रोही भावको अनावरण, च) अक्षर अनप्लग्ड – कविताको भावभूमिमा जैविकता, छ) समय स्ट्रोक्समा प्रतिरोधी कालिक चेतना, ज) गाउँलाई भनेरमा रूपायित डुवर्समोह र झ) जिद्दी बालकमा मानवीय मूल्यबोध।
दोश्रो खण्डमा क) नारीवादी लेखन र भारतीय नेपाली साहित्य, ख) उत्तरआधुनिकतावाद – सन्दर्भमा भारतीय नेपाली साहित्य, ग) विचारको शक्ति र घ) साहित्यमा वाद – असहमतीय जड़।
समीक्षकका रूपमा रूपेश शर्माले आफ्नो मेरूदण्ड सीधा राखेर कृतिहरूको वस्तुनिष्ठ आलोचना गरेका छन। यो नै समालोचनाको मूल विषय हो। उनले लेखकीय समकालीन प्रवृत्तिहरूमाथि तीक्ष्ण दृष्टि राखेका छन र विसंगतिहरूमा आफ्नो असहमति पनि जाहिर गरेका छन। उनको समालोचना कसैको अनाहक प्रशस्ति गर्ने र कसैलाई होच्याउने मानसिकताले आलोचना गर्ने- यस प्रवृत्तिको छैन। त्यसैले उनको समालोचना उच्चकोटीको रहेको छ। जहाँ लेखकसँग मतद्वैतता छ त्यो उनले स्पष्टसँग उल्लेख गरेका छन। रूपेश शर्माले कृतिहरूको समीक्षा गर्दा साहित्यिक प्रतिवद्धताका साथ कृतिको सबल पक्ष र दूर्बल पक्षमाथि प्रस्तुत भएका छन। धेरै अध्ययन गरेर थोरै लेख्न चाहने समालोचकका रूपमा रूपेश शर्माले सिर्जना र दृष्टि-भित्रका समालोचनात्मक रचनाहरूमा आफ्नो दृष्टि र अडान स्पष्टरूपमा प्रकाश पारेका छन। रूपेश शर्माको यस समालोचना कृतिले समकालीन लेखकहरूका कृतिहरूमाथि समालोचनात्मक टिप्पणी अघिसारेको छ।
समालोचना सम र आलोचना यी दुई शब्दले बनेको छ। यो शब्दको सामान्य अर्थ हुन्छ राम्रो सँग तथा सबैतिरबाट कुनै बस्तुलाई हेर्नु। स्पष्ट नै छ कि लेखकले यस पुस्तकमा विभिन्न लेखकहरूका विशेष पुस्तकहरूको निगरानी गरेका छन अनि त्यसमाथि आफ्नो विचार पनि प्रस्तुत गरेका छन। रूपेश शर्मा सहज सरल पत्रकार हुन र नेपाली भाषाका विशिष्ट चिन्तकका रूपमा पनि मानिन्छन। उनको समालोचनामा सहज हृदयग्राही भाव छ जस्ले पाठकलाई बोर हुनबाट बचाउँछ। उनमा कृतिको गहिराईसम्म पुग्ने प्रबल प्रवृत्ति छ।
अर्को लश्करको सैद्धान्तिक निकटता शिर्षकको राजा पुनियानीको अर्को लश्कर पुस्तकको समीक्षा अघिसार्दै रूपेश शर्मा भन्छन- राजाको हस्तक्षेपी भावधारामा स्पष्टबोधी विचारतत्वनै सबभन्दा बढ़ी प्रभावोत्पादक भएर देखा परेको छ। विचारमा, वरियतामा, सत्तामा, शोषणमा, एउटा मठ र रूढ़ मानसिकताविरूद्ध धावा बोल्ने हठ राजामा छ। यस्को निम्ति छुट्टै लश्कर उनको आह्वान पनि हो।
समकालीन नेपाली साहित्यका एक बरिष्ठ व्यक्तित्वका रूपमा चिनिएका कवि टीका भाईको पैतालातल्तिरमा पुस्तकको समीक्षा लेख्दै समालोचक रूपेश शर्मा उनका कवितामा क्रान्तिकारी आशावाद र भविष्यदृष्टि रहेको मान्दछन। उनि भन्छन- सूचना सञ्चार र प्रविधिको पहुँचमात्र आजको कविताको लोकप्रियताको कारण मानेर यस्को महत्ताको अपघटन गर्न सकिन्न। समकालीन कविहरूमा देखिएको कालिक चेत, पाठक (जन) सरोकारयुक्त विम्बको खोजी, कविताइतर ठानिएका विषयहरूसँग पाठकको साक्षात्कार, पाठकका समस्यासँगको सरोकार, अनुभूतिको विशिष्टतालाई सामूहिक सौन्दर्यबोधमा रूपान्तरण, साधारणको विशेषीकरण र विशेषको साधारणीकरण, पाठक अभिमुखी सौन्दर्य़ मूल्यको संवहन, समकालीन अन्तरविरोधको पहिचान, वैश्विक चेतको आत्मसातीकरण, साझा मूल्यको उद्वोधन, यथार्थको उदात्तीकरण, जीवनअभिवृत्ति जस्ता सौन्दर्यात्मक अन्वेषणले आजको कवितालाई नयाँ उचाई प्रदान गरेको छ।
यसरिनै रूपेश शर्माले अजय खडकाको पखेटा चलुञ्जेल निबन्ध संग्रहमाथि आलोचना अघिबढ़ाउँदै भनेकाछन- बिक्रीको सन्दर्भमा मात्र होइन, विषयगत विविधता र विचारगत विशेषताका कारण पनि यस संग्रहले दूरगामी प्रभाव छोडने आकलन गरेको छ। म टिष्टा बगिरहेछु कृतिको समालोचना गर्दै लेखकले कवि वेगवसन्त थापाको काव्यिक यात्रामाथि एक आकलन प्रस्तुत गरेकाछन। आफ्ना कविताहरूप्रति असन्तुष्ट रहने प्रवृत्ति र कवितालाई न्याय दिलाउने प्रयासकै कारण उनले आफ्नो कृति प्रकाशन गर्न ढिलाई गरे भन्दै वेगवसन्त थापाको लेखकीय जीवन दर्शनमाथि पनि चर्चा गरेकाछन। निमित्तहरू-श्रमजीवी वर्गमा अवगुण्ठित विद्रोही भावको अनावरण शिर्षक लेखमा उनि भन्छन- तेश्रो कथासंग्रह निमित्तहरूसम्म आइपुग्दा कथाकार श्रीनारायण प्रधान निकै परिष्कृत र खारिएका पाइन्छन। सामाजिक बेथिति, विसंगति, कुसंस्कार, रूढिवाद, चिया श्रमिकहरूमाथिका अन्याय र अत्याचार र तीबाट छटपटी र मूक्तिका निकासहरूबारे यिनका कथाले पाठकहरूलाई सोच्न बाध्य बनाएका छन। उनका तीव्र व्यंग्यवाणले कथाहरूलाई रोचक र घोचक दुवै बनाएका छन। अक्षर अनप्लग्ड – कविताको भावभूमिमा जैविकता शिर्षक उनको अर्को समालोचनात्मक निवन्धमा उनि भन्छन- लेखनाथ छेत्रीका कविताहरूको एउटा विशेषता छ त्यो हो प्रस्तुतिको काँचोपन। काँचोपनलाई शब्दकोशीय अर्थभन्दा पनि सामाजिक जीवनका स्वाभाविक यथार्थ अनि प्रतिरोधात्मकताको अर्थमा बुझ्न सकिन्छ। समय स्ट्रोक्समा प्रतिरोधी कालिक चेतना निबन्धमा रूपेश भन्छन-रवि रोदनको कविता संग्रहको मूल शिर्षकमै देखिएको स्ट्रोक्स मोह चित्रकलाबाटै आएको कुचीमोह पनि हो। अंग्रेजी शब्द स्ट्रोक्स क्रिकेटमा पनि प्रचलित छ। तीक्ष्ण प्रहार, मार वा भेदलाई हामी स्ट्रोक्सको रूपमा अर्थ्याउन सक्छौं। चित्रकलामा यो शब्दले ब्रस वा कुची चलाइको उच्चतम रूपलाई दर्शाउँछ। तर रोदनले आफ्नो संग्रहमा समयको मार खप्ने र समयलाई मार गर्ने उच्चतम उपकरणका रूपमा यसको उपयोग गरेका छन।
प्रगतिवादी धाराका भारतीय नेपाली साहित्यको एक भरपर्दो र वस्तुनिष्ठ समालोचना अघिसार्दै पत्रकार रूपेश शर्माले प्रतिवद्धताका साथ गहन जिम्मेदारी पनि निभाएका छन। यस समालोचना कृति भित्र विचारको शक्ति शिर्षकमा एक भाव उद्रेककारी चिंतनपरक निवन्धलाई पनि उनले समावेश गरेका छन। विचार प्रति आस्था गुमाएका सुधीजन आजकल अनेक शब्दक्रीडा गर्छन। विचारको आत्मसातीकरणले माग गर्ने बौद्धिक हस्तक्षेप धरमराएपछि यसलाई लुकाउन शब्दजाल बुनिन्छ-कविता वा साहित्यले विचारको भारी बोक्नु हुँदैन, यो राजनीतिको गुलाम हुनुहुँदैन, कविता त मानव जीवनका यावत समस्याहरूबाट मुक्त अन्तरआत्माको कलात्मक अभिव्यक्ति हो..आदि इत्यादि। सशक्त विचारयुक्त साहित्य कलावादीहरूका लागि सँधैं अपच्य नै हुन्छ, चाहे त्यो जति नै कलात्मक र उत्कृष्ट किन नहोस। विचारविरूद्धको लामै ऐतिहासिक विरासत बोकेका कलावादीहरूबाट जनमुखी वा क्रान्तिकारी साहित्यको सराहना भएका घटना विरलै पाइन्छन भन्दै वैश्विक विचारकहरूका मतहरू पनि उन्ले अघिसारेका छन।

खांखलाबारी, उदालगुड़ी-784509, बीटीआर, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।