14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

परदेशिनुको पीडा

कविता आचार्य प्रभा October 12, 2008, 11:55 pm

सयपत्री मखमली ,गोदावरी अनी चमेलिसङै

मेरो आगन रमायो शायद ।

दुबो अनी अक्षतामा दशै तिहार

जग्मगायो शायद,

म भने झ झल्को आँखाभरी सजाएर

परदेशी हुनुको पीडाबोध सहिरहेछु

साँझको नभलाई चिहाएर

मान्यजनको आशिषको कामना मागिरहेछु ।

त्यो देवी थान,

लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला ।

त्यो गाउँको गोरेटो

आषिशको टीका र जमराले ढाक्यो होला

अभावको भकारीमा जमरा टुसाए शायद ।

बर्षौ बर्ष हराएको खुशी

लालुपाते ओठ बनेर मुस्काए होलान ।

म भने,

सम्झना मनभरी पालेर

टाढा हुनुको आघात खपिरहेछु ।

पारी क्षितिजलाई मेरो आगनको

पर्याय मानेर

जुन, तारा झलमल्ल कल्पनामा

सजाइरहेछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।