15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

द्रष्टाको सालिक

कथा शिव गौतम February 11, 2022, 5:46 am
शिव गौतम
शिव गौतम

“ए नीलम, खाना खाने बेला भएन ? आज त मैले पटक्कै ढिलो गर्नु हुँदैन”, टेलिभिजनका पर्दामा टाँस्सिएक आँखा हटाउँदै यसो भान्सा तिर मुन्टो फर्काएर मैले अलिकति ठूलो स्वरले भने ।

“भयो भयो अब, आउनु,” नीलमले भित्रैबाट भनिन्।

भान्साभित्र पस्दैगर्दा म एक्लै बोल्दैथिएँ ,“पत्रकार सम्मेलन ठिक साढेदस बजे छ, विदेशी पत्रकारहरु पनि थुप्रै आउँछन् होला । नेपाली मात्रै भए त एकै घण्टा ढिलो भए पनि केही हुँदैन, नेपाली समय त्यस्तै हुन्छ । तर विदेशी ……”।
“कति भाषण गर्नु परेको”, मैले वाक्य पुरा नगर्दै नीलमले बिचैमा भनिन्, “मलाई पनि थाहा छ कति महत्व पूर्ण दिन हो आज तपाईका लागि” ।
“म आसाध्यै नर्भस छु”, मैले भनें ।
“द्रष्टा र द्रष्टा सभ्यताको बारेमा संसारमा तपाइइँलाई भन्दा अरुलाई बढि ज्ञान छैन । अनि किन आत्तिनु पर्यो र ?” निलम मेरो साहस र उत्साहमा टेवा लाउन खोज्दै थिईन् । र साँच्चि नै उनको भनाईले मेरो हौसला नबढेको पनि होइन ।

मलाई एक हप्ता देखि नै राम्ररी निन्द्रा लागेको थिएन । हुन पनि विश्वभरी नै तहल्का मच्चिने कुरो मैले भन्नु पर्ने थियो आजको पत्रकार सम्मेलनमा । मैले आफ्नो अनुहार संसार भरिका पत्रपत्रिका र टेलिभिजनहरुमा कल्पना गर्न थालेको थिएँ । फेरि यो रहस्य मलाई ज्यादै गह्रौं हुन थालेको थियो । मन्त्रीमण्डल, मुख्य सचिब , साँस्कृतिक मन्त्रालयका सचिव, पुरातत्व विभागका महानिर्देशक र मलाई वाहेक देशभरी अरु कसैलाई केही थाह थिएन यस्को बारेमा। साह्रै खप्न नसकेर मैले निलमलाई चाँही “कसैलाई नभन्नु है , फेरि जागीर जान्छ”, भनेर सुटुक्क भनेको थिएँ ।

म खाना खाएर, आजको पत्रकार सम्मेलनकै बारेमा सोच्तै अफिस तिर लागें।

पत्रकार सम्मेलनको आयोजनामा पनि निकै राजनिति भयो । साँस्कृतिक मन्त्रीले त्यो महत्वपूर्ण घटनालाई आउन लागेको आफ्नो चुनावी प्रचारका लागि उपयोग गर्न कोसीस नगरेको होइन । तर पुरातत्व विभागका महानिर्देशक डा. गुप्ताको प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध भएकोले उनले प्रधानमन्त्रीलाई, डा. परिवेश रायमाझी द्रष्टा सभ्यताका अग्रगण्य अन्वेषक हुन् , द्रष्टा सभ्यताका संसार भरिका विद्धान, शोधकर्ता, प्रोफेसर तथा विद्यार्थीहरु उनको नामसँग परिचित छन् । त्यसैले सदियौं देखिको एउटा गुत्थी खुलेको कुरा सार्वजनिक गर्न उहाँबाटै लगाउँदा उपयुक्त हुन्छ भनिदिनाले मात्रै मैले त्यो अवसर पाएको थिएँ ।

यस्तै नानाथरीका कुराले गर्दा राम्रोसँग निन्द्रा नलागेको होला । त्यसमाथि द्रष्टा समाजका काल्पनिक दृष्यहरु पनि बेला-बेला मगजमा घुमिरहन्थे अनि म त्यसै टोलाउँथे ।

“माथि कान्छा मुखीयाका छोरा जस्तै तँ पनि ईन्जिनियर भईस् भने ठूलो जागीर पाउँछस् “ म सानो छँदा मेरा बा, बेलाबेला मलाई उकस्याई रहनु हुन्थ्यो । माथि डाँडाका कान्छा मुखिया प्रायः “ काठमाण्डौमा मेरा छोराको घर एउटा दरवार जस्तै छ” भन्थे।

एस.एल.सी. पास गरेपछि जिल्लाको सदरमुकाममा रहको कलेजमा पढ्नु पर्ने भयो। ईन्जिनियर बन्न पढ्नुपर्ने साइन्स त्यो कलेजमा थिएन । सदरमुकाम भन्दा परको कलेजमा गएर पढ्न घरको आर्थिक श्रोतले भ्याएन । आफूलाई चाहिने नून भुटुन सबै घरबाट लान्थें , किन्न सक्ने कुरै थिएन ।

जिल्लाको कलेजबाट आइ.ए. पास गरेपछि गाउँको मिडिल स्कूलमा ३ वर्ष पढाएँ । प्राइवेट दिएर बि.ए. पास गरेपछि जिल्लाको सदरमुकाममा रहेको हाईस्कूलमा पढाउन थालें । म प्राय आपनो मन पर्ने विषय इतिहास र संस्कृति पढाउने गर्थें। त्यहीं हाईस्कूलमा पढाउँदा म द्रष्टा सभ्यता तिर निकै आकर्षित भएँ । हुन त द्रष्टाको बारेमा कसले सुनेको हुँदैन र? तिन चार क्लास देखि नै द्रष्टा एउटा माहान व्यक्ति थिए, उनको वास्तविक नाम कुमार थियो र उनको मुख्य सन्देश सबैलाई प्रेम गर भन्ने थियो भन्ने कुरा अझै पनि स्कूलहरूमा घोकाइन्छ ।

एकदिन म १० कक्षामा द्रष्टा सभ्यता बारे पढाउँदै गर्दा एउटा केटाले दाहिने हात उठायो। मैले उ तिर हेरेर भने , “ भन”

“द्रष्टाको वास्तविक जन्म थलो अचेल कहाँ पर्छ होला, सर?” त्यो विद्यार्थीले सोध्यो ।
“कोही नेपालमा भन्छन् अनि कोही भारतमा, अझै टुङ्गो लागेको छैन”, मैले जवाफ दिएँ ।

“मलाई त द्रष्टा नै थिएनन् जस्तो लाग्छ । कसरी थाह पाए मान्छेले द्रष्टाको बारेमा, द्रष्टा सभ्यता र द्रष्टा साम्राज्यका बारेमा?” अर्को विद्यार्थीले प्रश्न गर्यो ।

“द्रष्टा सभ्यताका मान्छेहरु साहित्य र ज्योतिषमा निकै विकसीत थिए । उनिहरुले विभिन्न ग्रह र तारा कुनवेला कहाँ थिए भनेर लेखेका छन् । उदाहरणको लागि द्रष्टा मरेको दिनको वयान गर्दै त्यस दिन सूर्य, चन्द्रमा अरु ग्रहहरु कुन नक्षत्रमा कहाँ थिए, संपूर्ण विवरण दिएका छन् । त्यसबाट सजिलै आजभन्दा कति वर्ष अघि त्यो घटना घट्यो भनेर ठ्याक्कै निकाल्न सकिन्छ” ।

म एक छिन चुप लागेर केटाकेटीहरुलाई हेरिरहें, कसैले प्रश्न गर्छ कि भनेर । सबै मेरो मुखमात्रै ताकिरहेका थिए । म फेरी बोल्न थालें, “भारतका धेरै ठाउँमा उत्खनन् गर्दा द्रष्टा सभ्यताका शहरहरु फेला परेका छन् । चौडा सडक, सडकको दुवै तिर ढल, सार्वजनिक धाराहरु, अनि शहर भित्र पस्ने प्राय एउटै ठूलो ढोका पाइएको छ, दक्षिण भारतमा भेटिएको एउटा शहरमा वाहेक। त्यहाँ भने चारवटा ढोका पाइएका छन्। त्यहाँ पनि अन्यत्र जस्तै प्रत्येक गेटमा द्रष्टाका स्तुति कुँदिएका ढुङ्गा भेटिएका छन् । शहरका मध्यमा द्रष्टाको सालिक पनि भेटिने गरेको छ । अहिले सम्म भारतमा भेटिएका द्रष्टा शभ्यताका शहर मध्ये तिनवटामा मात्रै सालिक छैनन् । त्यस्तै नेपालमा भेटिएका मध्ये एउटा शहरमा मात्र सालिक छैन” ।

“नमस्ते परिवेश जी”, अचानक मेरो सोचाइको क्रम चुँडियो । एक जना पुराना साथी संग भेट भयो । उनी पनि हतार हतार अफिस जान लागेका थिए । चोकमा पुगेपछि उनी दाहिने तिर लागे म सिधै पुरातत्व विभाग तिर पाइला चाल्न थालें । तर मेरो मन फेरी पुराना कुरा तिर गयो ।

हाइस्कूलमा पढाउँदा शरद नामको विद्यार्थी म संग आएर बेला-बेला पश्नहरु सोध्ने गर्थ्यो । पहिले पहिले त पढ्नमा चाख भए जस्तो देखाएर उस्ले मलाई मूर्ख बनाउन खोजेको होला जस्तो पनि लाग्यो । तर उ साँच्चै नै असल विद्यार्थी रहेछ । उ पनि अहिले मेरै अन्तर्गत पुरातत्व विभागमै काम गर्छ । साह्रै होनाहार छ शरद । एक दिन स्कूलमा पढाउने काम सकेर म डेरा तिर फर्कदै थिएँ । शरद पनि पछि पछि लाग्यो ।

“सर “, अचानक शरद बोल्यो, “एउटा कुरा सोधौं?
“सोध”
“द्रष्टाको जन्म थलो पत्ता लगाउलान् त सर, कुनै दिन ?”
“खै म भन्न सक्तिन । अहिलेसम्म, द्रष्टा उत्तर तिर हिमालयको काखमा मणिपुर भन्ने ठाउँमा जन्मेका हुन् भन्ने थाह छ, त्यति हो । मणिपुर भेटिएको छैन । द्रष्टा सभ्यता दुई हज्जार वर्ष सम्म फष्टायो, त्यसको प्रभाव टाडा टाडाका राज्य सम्म फैलियो अनि त्यसै स्वाट्टै नामोनिशान बिना हरायो” ।

शरदसँग द्रष्टाको बारेमा त्सबेला अरु पनि कुराकानी भयो होला तर मलाई संझना छैन। उ ज्यादै जिज्ञासु थियो, विषेश गरेर ऐतिहासिक विषय वस्तुहरु प्रति। एक दिन उसले अंशुवर्माको कैलाशकुट भवनको बारेमा पनि निकै चासो देखाएको थियो। मैले त्यस हाईस्कूलमा तिन वर्ष सम्म पढाएँ । त्यस अवधिमा अरु कुनै दस क्लासमा पढ्ने विद्यार्थीले प्राचिन इतिहास र संस्कृतिमा त्यत्रो जिज्ञासा देखाएको संझना छैन ।

मेरो सोचाईको क्रम फेरी चुँडियो । बाटो काटेर पल्लो पटि लाग्नु पर्ने तर ट्याक्सी र सरकारी मोटरको भिड थियो । ट्राफिक प्रहरीले हातले इसारा गरेपछि मोटर रोकिए अनि म जस्तै अरु पनि बाटो तर्न पर्खिरहेका मान्छे एकै हुल जस्तो गरेर फटाफट हिड्न थाले । म पनि त्यही हुलमा मिसिएर पारी पुगें । पारी पुगेपछि फेरी मेरा खुट्टा पुरातत्व विभाग तिर लागे र मेरो मन अतित तिर ।

हाईस्कूलमा पढाउँदा कमाएको पैसा जोगाएर म एम.ए. पढ्न काठमाण्डौ गएँ । पैसा नपुगे सानो तिनो जागीर पनि खाउँला भन्ने थियो । एक हप्ता जति के पढ्ने पढ्ने भन्दैमा मै वित्यो, बस्ने चाँजोपाँजो पनि मिलेको थिएन । धन्न एक जना गाउँले जो काठमाण्डौंमा शाखा अधिकृतको जागीर खाएर वसेका थिए , उनैकोमा पाहुना लाग्न पाईयो शुरुशुरुमा। आखिरमा म पुरातत्वमा एम.ए. पढ्ने भएँ ।

एम.ए.मा एउटा सिङ्गै कोर्स द्रष्टा सभ्यतामा थियो । डा. राई पढाउँथे त्यो कोर्स । म डा. राईबाट ज्यादै प्रभावित भएको थिएँ । विचारा मरे, दुई तिन वर्ष भयो । म डा. राईको नम्र, गम्भिर तर ओजपूर्ण आवाज क्लासमा गुन्जेको अझै झलझली संम्झन्छु ।

“द्रष्टा, द्रष्टा हुनु भन्दा अघि कुमार थिए”, डा. राईले चारैतिर दृष्टि छर्दै भने । अचानक उनका ओठमा हाँसो चिप्लिए जस्तो देखियो “हुन त विवाह भन्दा अघि सबै केटा आँफूलाई कुमार भन्छन्”। हामी सबै खितिति हाँस्यौ ।

“तर द्रष्टाको नाम नै कुमार थियो”, डा.राई फेरि भन्न थाले, “ उनी मणिपुर भन्ने ठाउँमा जन्मेका थिए । मणिपुर वास्तवमा दस बाह्रवटा गाउँ मिलेर बनेको एउटा सानो राज्य थियो । द्रष्टाका बाबुआमा को थिए भन्ने थाह छैन । द्रष्टा किन मणिपुर छोडेर दक्षिण तिर ज्ञानको खोजीमा लागे भन्ने पनि थाह छैन । अम्वाली राज्यमा पुगेपछि त्याहाँको मनोरम दृश्य देखेर कुमार त्यहीं नदीको किनारमा, एउटा रुख मुनी बसेर घण्टौ घण्टौ सम्म एकनास क्षितिज हेर्ने गर्थे”।

क्लासको पहिलो दिन भएकोले डा.राई औपचारीकतावश द्रष्टाको बारेमा सामान्य जानकारी दिंदै थिए । यी सब कुरा त कसलाई थाह थिएन र? अम्वालिकाका सज्जन मान्छेहरुले त्यही रुखको छेउमा कुमारका लागि कुटि बनाई दिए, विहान वेलुका खाने सरदाम जुटाई दिए । हिउँदमा कति मान्छेहरु आगो ताप्न कुमारको कुटि अगाडि आउँथे । कुमार गाउँलेहरुको दुःख सुखमा आफ्नो दुःखसुख जस्तै गरी कुरा गर्थे । तर्कपूर्ण वचनले जस्को पनि आँशु पुछिदिने गर्थे ।यसरी प्रायः दिनभरी क्षितिजलाई अर्धमुदित आँखाले हेर्ने र विहान वेलुका गाउँलेहरु संग वार्तालाप गर्न थालेको छ वर्षमा उन्लाई ज्ञान प्राप्त भयो ।

“मैले ज्ञान प्राप्त गरें ,मैले ज्ञान देखें”, उनि भन्न थाले, “सबैमा सबैले प्रेम भाव राख्नु पर्छ । जो मान्छे अर्को मान्छे प्रति प्रेम भावना राख्तैन वा मन, वचन र कर्मले हिंसा गर्छ त्यो पशुभन्दा पनि निच हुन्छ, त्यो पृथ्वीलाई भार हो” । कुमारको मुख्य सन्देश यही थियो । त्यस वेला देखि उनलाई सबैले द्रष्टा भन्न थाले ।

द्रष्टाको कुरा सुन्न मान्छेको घुइरो लाग्न थाल्यो । एक दिन अम्वालीका राजा नन्दन समेत उनका श्रोता भए । राजा नन्दन यति प्रभावित भए कि उनले आफुलाई द्रष्टाको शिष्य बनाए । राजा नन्दनले देशका सारा कानुन नियमहरु द्रष्टाको उपदेशलाई आधार बनाएर परिवर्तन गरे । डा. राईले आजको क्लासमा यीनै कुरा भने । अनि अन्त्यमा उनले भने, “ अर्को चोटी म द्रष्टा सभ्यताको जन्म र विस्तार बारे पढाउँछु । तपाईहरु पनि यसो पढेर आउनु होला” ।

समय जान कति वेर लाग्छ र पत्तैनपाई जाँच आइ सकेछ । द्रष्टाको बारेमा आफुलाई जत्ती पनि थाह छ भनेर त्यति पढिनँ , तर जाँच नजीक आएपछि डर डर लाग्यो । साह्रै भएन भनेर एक दिन पुस्तकालय तिर गएँ । पुस्तकालयमा रीजर्वमा राखेको एउटा पुस्तक ‘द विगीनिङ अफ् द एण्ड अफ् द्रष्टा सिभिलाइजेशन’ मागें । डा. विलियमसन द्धारा लिखित यो पुस्तक त्यसवेला ज्यादै प्रख्यात थियो । त्यसैले यो पुस्तक पुस्तकालयबाट वाहिर लान पाइदैन थियो ।

गर्मीको वेला थियो पढ्दा पढ्दै टेवुलमा टाउको जोतेर भुसुक्कै निदाएँछु । निदाउने मात्र हैन किताबमा भर्खर पढेको एउटा घटनाको बारेमा सपना पनि देख्न थालें ।

“म एक पल्ट आफ्नो जन्म थलो मणिपुर जान्छु “, मेरो सपनामा द्रष्टा भन्दै थिए, “मलाई आफ्नो जन्म थलो मै मर्न मन लागेको छ” । तर उनलाई मणिपुर राज्य भित्रै छिर्न दिईएन । यसकुराले राजा नन्दनलई साह्रै चोट पर्यो । हुन त अम्वाली र मणिपुर विचमा पुरानै शत्रुता थियो ।

यस घट्नाको छ महिना भित्रै द्रष्टाको देहान्त थियो ।

“मणिपुरेहरुले द्रष्टालाई आफ्नो जन्मस्थलमा जान पनि दिएनन्” आफ्ना भारदार र मन्त्रिमण्डलको सभामा अम्वाली नरेश नन्दन गर्जे । उनले अरू थपे, “सबैमा प्रेम भाव राख भनेर शिक्षा दिने द्रष्टा प्रति यो ठूलो अपमान हो । मणिपुरेहरुले द्रष्टा प्रति प्रेम भाव राखेनन् । द्रष्टाकै भनाई अनुसार अब मणिपुरे पशुभन्दा पनि निच तथा पृथ्वीका भार हुन् । अब हामीले कि उनीहरुलाई मान्छेको पदमा उचाल्नु पर्छ वा पृथ्वीको बोझ हल्का गर्नु पर्छ “।
“कसरी महाराज?”, प्रधानसेनापति उग्रवगले प्रश्न सोधे ।
“जो जो मणिपुरे द्रष्टालाई स्विकार्छन् ती मात्र मान्छे हुन्। जस्ले द्रष्टालाई स्विकारदैनन् तिनीहरु पशुभन्दा पनि निच हुन्, अनि पृथ्वीका भार हुन्। ति पशुका घाँटी हाम्रा तरवारका मारमा पर्ने छन् । यस प्रकार द्रष्टामा विश्वास नगर्नेहरुको भार पृथ्वीले सहनु पर्दैन” ।

त्यसपछि एकैपल्ट मणिपुरको राजमहल देखियो सपनामा । मणिपुरका राजा कैदी बनाइएका थिए । मणिपुर अब अम्वाली राज्यको भाग भै सकेको थियो । वास्तवमा मणिपुर नै अब विस्तृत अम्वालीको राजधानी थियो । द्रष्टालाई नस्विकार्नेहरु या त मारीए या त कैदी बनाइए । द्रष्टाको सम्मानमा उनको एउटा सालिक खडा गरे राजा नन्दनले ।

झसंग भएर व्यूझिएँ । अलिक परतिरको टेवुलमा पढ्दै गरेको अर्को विद्यार्थीले शायद एउटा पुस्तक भूईमा झारेछ अनि त्यो टिप्न कुर्सि यसो पछाडी सार्दा आएको कूईंयको आवाजले म विउँझें ।

यस्ता धेरै घटना चै किन हो किन मेरा दिमागमा सदाको लागि नमेटिने गरेर बसेका छन् । नत्र द्रष्टा सम्बन्धित कति पुस्तक पढें होला कति पल्ट पुस्तकालय गएँ होला कुनै पनि घटना जस्ताको तस्तै खुटैखुट ल्याउने गरी सम्झन सक्तिन । शायद कुनै कुनै घटना यस्तै हुन्छन् होला जो कैयौं वर्षपछि पनि जस्ताको तस्तै झलझली संझना आइरहन्छन् ।

त्यस्तो अर्को घटनाको याद म अमेरिकाको कोर्नेल विश्वविद्यालयमा पी.एच डी गर्दाखेरीको छ । त्यहाँको स्थानीय पुस्तकालयमा एउटा सिनेमा रहेछ द्रष्टा सम्बन्धि । एक दिन त्यो भिडियो क्यासेट डेरामा ल्याएर हेरें । टेलिभिजनका पर्दामा कलाकारहरु सजिव भएर उत्रिए ।

“न्यायधिशज्यू यो मान्छेले प्रेम भाव राखेन। यस्ले द्रष्टाको अपमान गर्यो, यस्ले अधर्म गर्यो”, एउटा सरकारी कर्मचारीले आरोप लगायो ।
“तिम्रो के भनाइ छ?” न्यायधिशले कैदीलाई सोधे ।
“हजुर, मेरो छिमेकीको गोरुले धेरै पल्ट मेरो वाली खायो । धेरै पल्ट प्रेम भावले गुनासो गर्दा पनि छिमेकीले केही गरेन । अनि रीस थाम्न नसकेर म उ संग आज चैं वाझें, मनपरी भनाभन पनि भयो । मैले उसलाई रिसको झोंकमा लठ्ठीले टाउकोमा हिर्काएँ । उ रगत पच्छे भएर मुर्छा पर्यो । उ एक छिन पछि होसमा आयो । माफ पाउँ अबदेखि यसो गर्दिन “।
“मान्छेमा प्रेम भाव नराख्ने मान्छे पृथ्वीको वोझ हो”, न्याधिशले भने, “ यसलाई सजाय देउ” ।

त्यो मान्छेलाई मणिपुरको द्रष्टाको सालिकको अगाडि लगियो । अब सालिकको खुट्टामा मान्छेको वलिदान दिएको कसरी देखाउछन् जस्तो लाग्यो । हेर्न पनि सक्तिन जस्तो लाग्यो । तर धन्न तरवार उठाएको मात्रै देखाए टाउको काटेको चै देखाएनन् ।

अर्को एउटा दृश्यमा चैं कुनै बुढो भारदारीया संग एउटी युवतीले विवाह गर्न नमान्दाको घट्नालाई लिएर युवतीलाई सजायको दृश्य देखाइएको थियो । कस्तो राम्रो अभिनय गरेका ति कलाकारहरुले । नेपाली वा हिन्दी सिनेमामा खेल्ने कलाकार भए यति राम्रो अभिनय गर्न के सक्थे होला जस्तो पनि लाग्यो ।

सबैभन्दा विर्सनै नसकिने दृश्य चैं खिश राज्यमाथिको आक्रमण थियो । यो घट्ना, द्रष्टा मरेको दुई सय वर्ष पछिको हो । द्रष्टावादीले शान्तिप्रिय खिशहरुमाथी आक्रमण गरे । खिश नरेशलाई मारेपछि पनि खिशका बासिन्दाहरुले आत्मसमर्पण गरेनन् । द्रष्टावादीले शान्तिप्रिय खिशहरुलाई मार्दा-मार्दा थाक्न थाले । खिशहरु न त द्रष्टा स्विकार्थे न त लडाई नै गर्थे । उनीहरुको वल र आशाका श्रोत राजा होइन खिश गुरु थिए । यो थाह पाएर खिश गुरु र उनका चार चेलालाई शहरको मध्यमा लगियो । खिश गुरु र उनका चेलाले द्रष्टालाई स्विकारेनन् । खिश गुरुका तिन वटा चेलालाई एक एक गरेर मारीयो । तर मारेको साक्षात दृश्य चैं सिनेमामा थिएन ।

“द्रष्टालाई स्विकार्छस?” सेनापतिले चौथो चेलालाई सोध्यो ।
“म गुरु बाहेक कसैलाई मान्दिन”, चेलाले भन्यो ।
“किन यी सवैलाई मार्छस्, तैंले द्रष्टा स्विकारे सवैले द्रष्टा स्विकार्छन, कसैलाई सजाय दिनै पर्दैन “, सेनापतिले गुरुतिर हेरेर भन्यो ।
“मैले यिनीहरुलाई अहिलेसम्म स्वाभिमान साथ वाँच्न सिकाएको थिएँ , र अहिले स्वाभिमान साथ मर्न सिकाउँदैछु “, गुरुले भने।
सेनापति रिसले चुर भएर चौथो चेलालाई आराले टाउको देखि कम्मर संग चिरेर दुई फबल्याटा पार्ने आदेश दियो । तर त्यसो गरेको दृश्य चै सिनेमामा प्रत्यक्ष देखाइएन ।

थाहै नपाइकन म त एकै चोटी पुरातत्व विभाग पो आइसके छु ।
“नमस्ते हजुर”, पालेले भन्यो ।
“नमस्ते” ।
मैले पुरातत्व विभागमा काम गरेको पन्ध्र वर्ष भयो । यो पाले त्यही त्यसरी नै सधै “नमस्ते हजुर” भन्दै गरेको भेट्टाएको छु । उस्को नमस्ते हजुर मेरो लागि लत जस्तै भै सकेको छ ।

पत्रकार सम्मेलन, तोकिएको समय भन्दा पन्ध्र मिनेट जति ढिलो शुरु भयो । म माइकको अगाडि गएर उभिएँ । सबै मलाई हेरिरहेका थिए । यसो-यसो भन्छु भनेर हिजो अभ्यास गरेको पनि विर्सेर, एकै चोटि प्वाक्क, “द्रष्टाको जन्म नेपालमा भएको हो भन्ने कुरा अब निश्चित भयो”, भन्न पुगें। विदेशी पत्रकारहरु समेत भएकोले म अंग्रेजीमा बाेल्दै थिएँ ।

“त्यस्तो के नयाँ प्रमाण फेला पर्यो एउटा पत्रकारले सोध्यो” ।
“तपाईहरुलाई थाह छदैछ नि दुई वर्ष अघि नेपालमा एउटा द्रष्टा सभ्यताकालीन नयाँ ठाउँ फेला परेको । संयुक्त राष्ट्रसंघ, भारत र नेपालको त्रिपक्षीय सहोयोगमा त्याहाँ उत्खनन कार्य भइरहेको पनि तपाईहरुलाई थाहै छ । त्यो ठाउँ अरु कुनै होइन द्रष्टाको जन्मस्थल मणिपुर हो । आज भन्दा छ महिना अघि त्यहाँ द्रष्टाको एउटा सालिक भेटियो…”।

“द्रष्टाका सालिकहरु भारतमा पनि धेरै ठाउँमा पनि भेटिएका छन् नी”, एउटा भारतीय पत्रकार विचैमा बोल्यो ।
“हो”, म भन्न थालें, “ जब जब द्रष्टाको सालिक भेटिन्छ, मणिपुर यहीं थियो कि भन्ने चर्चा हुन्छ, तर मणिपुर कहिल्यै भेटिएन आजसम्म । अरु सालिक फेला पर्दा जस्तै यसपाली पनि सालिकका दुवै खुट्टा अलिकति खुर्केर त्यो धूलो अमेरिका पठाइयो । महिना दिन अघि त्याहाँको प्रयोगशालाबाट आएको रिर्पोटमा त्यो धूलोमा मान्छेको रगत भएको पुष्टि भयो । मणिपुरको सालिकमा वाहेक अन्यत्रका कुनै पनि सालिकमा दण्ड स्वरुप मान्छेको वलि दिने गरेको उल्लेख कतै पाइदैन । भारतीय पुरातत्व विभागका महानिर्देशक डा.कुलकर्णीले पनि हिजै एउटा बधाई पत्र पठाउनु भएको छ जस्मा वहाँले द्रष्टा अब नेपालकै सपुत भएकामा कुनै शंका छैन भन्नु भएको छ ।“

माइक्रोफोनबाट यसो टाउको उठाएर चारैतिर हेरें । कोही फोटो खिच्नमा व्यस्त थिए, कोही कागजमा केही लेख्नमा व्यस्त थिए , कोही टेलिभिजन क्यामेरा उचालिरहेका थिए । क्यामेराको फ्ल्यास लाइटले घरीघरी अन्धो नै बनाई दिन्थ्यो ।

कसैले प्रश्न सोध्छ कि भनेर म पर्खिरहें ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।