15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनोवाञ्छा

कविता श्रवणकुमार ढुंगाना February 18, 2022, 5:41 am
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

दोवाटोमा
जवानी मै बुढिएर
उजाडिएको
एउटा बुढो रूख
तिम्रै आशमा बाँचेको छ
तिम्रो प्रेमको सिञ्चनले
पालुवालाग्ने सपना बोकेर,
के तिमी उसलाई
पुनर्जिवन दिन ईच्छुक हुन्छ्यौ?

एक शुष्क मैदान
उदासीको फाँटमा
चर्किएको छाती बोकेर
घाम, पानी, आँधि, बाढी खेपेर
हरियालीको नाममा अर्धमृत
सिरु, काँस र खरका झाडी बोकेर
तिम्रै बाटो कुरिरहेको छ
तिम्रो स्याहारले जोतेर, खनेर, फोरेर, जिल्याएर
भोको सपना भर्ने दुई गास उमार्ने अभिलाषा बोकेर,
के तिमी उसको
रहर कोरिबाट्न इच्छुक हुन्छ्यौ?

एक उर्जावान यात्रु
निरन्तर यात्रामा
घरी दिन, घरी रात
घरी आँधी, घरी घाम
लुकामारी खेल्दाखेल्दै
एकलास, अनकण्टार जंगलमा
बाटो बिराएर
घरी पहरामा काँध नपाएर
घरी खोंचमा हात नपाएर
अत्यासको घुट्को निल्दै बसेको ऊ
तिम्रै साथ खोजिरहेछ,
के तिमी उसलाई
गुलजार जिन्दगीको आभाष दिन तैयार हुन्छ्यौ?

अनेकन हण्डर र प्राप्ति
अनि तिनका पिण्डका गुरुत्वले
दुर्विभाव्य यात्रामा भौंतारिएको
जिजिविसाको एक तरंग
अर्को तरंगसँगको सहवरणले
आफ्नो गुरुत्वमा सघनता खोजिरहेछ,
र तिमी
घामसँग उदाउने
फूल झैं मुस्कुराउने
बादल चढेर आउने
कल्पनाको संसारमा पुर्‍याउने
`भ्यालेन्टाईन´ पर्खिरहेकिछ्यौ?
त्यो उजाडिएको रूख
त्यो उदासिएको मैदान
त्यो अत्यासिएको जवान जस्तो भएको ऊ
टुंट्दैगएको मनोवाञ्छा बोकेर
जिन्दगीको बिहानीमा
तिमीलाई पर्खिरहेछ,
के तिमी ऊसँगै
घामको गुलाफ उदाउन तैयार हुन्छ्यौ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।