प्रविधिले गरेको ग्लोबलाईजेशनलाई आम मानिसले आत्मसात गरे । त्यसै कारण अहिले हामी एउटा कोठामा बसेर विश्व चिहाइरहेका छौं । विश्व घुमिरहेका छौं । लाग्छ यो संसार सबै आफ्नै हातमा छ । मलाईसहित धेरैलाई त्यस्तै लाग्दो हो । प्रविधिका विषयमा कुरा गर्ने म मा कुनै ल्याकत छैन । जानी/नजानी सन्दर्भ जोड्न खोजेको मात्र हो । हुन् त यहाँ मैले जुन प्रयास गर्दैछु, त्यो नै अल्पज्ञानी भयंकरम् भने झैं हुन सक्छ । एउटा सिद्धहस्त लेखकको लेखनी (कृति) का बारेमा केही लेख्न खोज्नु नै अल्पज्ञानको भयंकर रुप हो । तर सिक्ने पनि त यहीबाट हो । अझ नढाँटी भन्नुपर्दा तन्काउने र छोट्याउने साहित्य र समाचारको द्वन्द्वले गँजेट्याइबाट उछिट्टिएको सानो प्रयास मात्र हो । अझ भनौ कहिं कतैबाट आएको समिक्षात्मक आग्रह उपज हो ।
अहिले विरामी भन्ने वित्तिकै हाम्रो ध्यान कोरोनातिरै मोडिन्छ । यो स्वाभाविक पनि हो । वर्तमानको जल्दो–बल्दो समस्या नै यही छ दुनियाँमा । विगत ३ वर्षदेखि कोभिड–१९ का कारण विश्व आतंकित छ । संक्रमण फैलन नदिन गरिएका प्रयासहरुका कारण कतिका रोजगारी गुमेका छन् । अर्थतन्त्र खतराको सूचीमा छ । लामो समय व्यापार व्यवसाय ठप्प हुँदा त्यहाँ आश्रित मजदुरहरु समस्यामा छन् । विविध समस्याबारे यहाँ बेलिविस्तार गरिरहनको कुनै तुक छैन । हामी सबै भुक्तभोगी छौं ।
यो महामारीमा कति आफैं संक्रमित भयौं, कतिले संक्रमितको सेवा गर्यौं त्यो भन्दा ठूलो र दुःखदायी कुरा कतिले आफन्त गुमायौं । गुमाउनुको एउटा पीडा, गुमाएपछि हाम्रो संस्कार अनुसार अन्त्येष्टि र दशगात्र कर्म समेत गर्न नसक्ने कहाली लाग्दो अवस्था आयो–जुन हाम्रो कल्पना बाहिरको कुरा थियो । त्यसैले आम मानिसलाई रोग, भोक र शोकको चिन्तासंगसंगै मानसिक चिन्ता समेत थपिदियो । जुन कुरालाई आत्मसात गर्न निकै कठिन भयो÷अहिले पनि भइरहेको छ ।
प्रविधिको ग्लोबलाइजेसन जस्तै रुप लियो कोभिड–१९ ले पनि । सन् २०१९ को डिसेम्बरमा चिनको हुवानबाट शुरु भएको कोभिड–१९ विश्वभर नै फैलियो । महामारीका रुपमा फैलिएको कोभिडका बारेमा नसुन्ने मान्छे छैन । यस्तो संक्रमण भोगेको अहिलेको पुस्तालाई पहिले–पहिले पनि संक्रमणहरु हुन्थे भन्ने कुराको जानकारी कमैलाई मात्र छ । जुनबेला प्रविधि के हो थाहा थिएन् । डाक्टरी औषधी उपचारका बारेमा कमैमात्र जानकार थिए । जानकार हुनेहरु पनि उपचारको पहुँचमा पुग्न सक्दैनथे । भएका एकाध डाक्टर, बैद्य भेट्नै मुस्किल । भौगोलिक विकटता, आर्थिक अवस्था, ज्ञानको अभाव, पूर्वाधार विकासको अभाव, धामी र बैद्यप्रतिको विश्वास त्यो बेला यी र यस्ता यावत समस्याहरु थिए । उपचारमा जान असहिलेको जस्तो सहज कहाँ थियो र ? कहाली लाग्दा दिनहरुलाई हाम्रा अग्रजहरुले कसरी गुजारे भन्ने कुरा सबैले जान्ने र बुझ्ने गरी दस्तावेजीकरण भएको शायद नहोला । यसअघि आएका महामारीले के दिएर गए थाहा छैन । तर, कोरोना महामारीले भने संक्रमणको अतित बुझ्ने दस्तावेज दिएर गएको छ भन्दा अन्यथा हुन्छ जस्तो लाग्दैन । हो कोरोना संक्रमणले हामीलाई संक्रमण उपहार दियो । अदृश्य उपहारलाई सबै सामु समर्पण गरेका छन् साहित्यकार राजेन्द्र संग्रौलाले ।
‘संक्रमण रोग, भोक र शोकको’ भित्र पस्दा कोरोनाको कहर र भोगाई नियाल्दा आफ्नै कथा लेखेको हो कि जस्तो आभास हुन्छ । यो त मेरो भोगाई हो कसरी संग्रौलाले थाहा पाए ? प्रश्न आफैंमा उब्जिन्छ । पंक्तिकारले सबैभन्दा ठूलो महामारी भोगेको अनुभव कोरोना पहिलो हो । त्यसअघि कस्ता कस्ता महामारी थिए ? भन्ने कुराको खोजी गरिएकै थिएन ।
विषय वस्तुलाई टपक्क टिपेर त्यसैमा टुनामुना गरेर पाठकलाई त्यही भित्र भुलाउन सक्ने लेखकीय क्षमता भएका संग्रौलाले कोरोनालाई टिपेर कहिल्यै ननासिने ‘संक्रमण’ सम्पत्ती जोडेका छन् । ३१ दिनको एकान्तबासका क्रममा उनले यसअघिका हैंजा, न्यूमोनिया, विफर, मलेसिया, औलो, दादुरा, झाडापखाला, रगतमासी, प्लेग जस्ता रोगले समाजमा फैलिएको आतंक र त्यसको नियन्त्रणका लागि हाम्रा अग्रजले गर्ने गरेका जडीबुटीजन्य औषधोपचार, आपत पर्दा धामी झाँक्रीको भरमा चित्त बुझाउनु पर्दाको अवस्था मात्र पस्केका छैनन् कोरोना महामारीमा खोपकाण्डमा घोटाला भएको भनिएको घटनालाई ट्वाकलमा बालबच्चाका लागि राखेको दूध र भात चोरेर खाने झम्के माइलाको बानीसंग तुलना गरेका छन् । खोप लुकाउन भूमिका खेलेको वा महामारीका बेला पीडितका लागि आएको राहतमा समेत कमिसन खाएको भन्दै राष्ट्रिय नेतासंग झम्केको प्रबृत्तिसंग जोडेर देशमा भइरहेको भ्रष्टाचार जस्तो विकृतिलाई समेटेका छन् । दूध र भात चोरेर खाने झम्केलाई तह लगाउन उनका दाजुले नेलकाँटी ठोकेपछि पनि चोर्न नछोडेको प्रसङ्ग जोड्दै भ्रष्टाचारमा संलग्न नेताहरुलाई पनि जनताले नेलकाँटी ठोक्नुपर्ने विचार व्यक्त गरेका छन् । वास्तवमै मुलुकमा बढेको भ्रष्टाचार र महंगीले सीमा नाघ्दा कोरोना महामारीले थलिएका जनताको ढाड अझ सेकिएको छ ।
त्यसो त कोरोना महामारी खेपेका लेखक आफैं पटक पटक विभिन्न किसिमका महामारीको शिकार बन्नुका साथै महामारीकै कारण फुपु, मामा, हजुर बुबा विभिन्न बेला र ज्वरोबाट ४८ घण्टामै सहोदर भाई र बहिनी सदाका लागि गुमाएको कहाली लाग्दो प्रसङ्गलाई पुस्तकमा समेटेका छन् ।
कोरोना महामारीको भरपर्दो औषधी पत्ता नलागेको अवस्थामा उही जडीबुटी नै सञ्जिवनीको बुटी सावित भए । लसुन, ज्वानो, अदुवा, बेसार, दालचिनी हालेर पकाएको पानी निरन्तर पिउने तथा तितेपाती, निमपत्ती, अम्बक, असुरो, पारीजात, तुलसी, गुर्जो जस्ता बोटविरुवा नै हाम्रा अचुक औषधी बने । महामारीमा विज्ञान र प्रविधिको प्रयोग गरी अनुसन्धानबाट औषधी पत्ता लगाउन समय लाग्ने बेलासम्म जडीबुटीको महत्व कति रहेछ भन्ने कुरालाई उजागर गरेको छ । जुन जडीबुटीलाई हाम्रा अग्रजले महामारीका बेला प्रयोग गर्नुहुन्थ्यो । लेखक स्वयं हैंजाबाट थलिंदा उहाँलाई बचाउन रखालले कस्तुरीको बीन, हजुरआमाले जोरबिटे चाँदीको मोहर, चिरैतो, विखमा प्रयोग गरेका थिए भने भूत प्रेत पो लागेको हो किं भनेर भूत, प्रेत वा डङ्किनी बस्साउन फुड्लो, खुर्मी, खट्टे, सातकुवाको पानी, सातदोबाटोको माटो, केराका पत्ता, वनदेवी बक्साउन काइयो, थाक्रो, चुरा, धागो लगायतका सामग्रीहरु प्रयोग गरिएको कुरालाई लेखकले आफ्नै आमाले एकमात्र छोरा (राजेन्द्र) लाई बचाउनका लागि गरेको प्रयासलाई उजागर गरेका छन् । आपत पर्दा सहाराका रुपमा मानिने धामी झाँक्रीको प्रचलन अहिले घट्दै गएपनि पूर्णतया विश्वास हराइसकेको अवस्था भने छैन । त्यसो त अहिले र उहिलेका कुरा गर्दै जाँदा लेखकले आफूलाई ढाँट्न नसकेको जस्तो बुझिन्छ । यद्यपी शिक्षित भएर पनि सन्तान बृद्धिका शिलशिलामा लेखकमा देखिएको कमजोरीलाई निस्तेज पार्न गृहिणी सफल भएकी छन् भने कुरा बुझेपछि र अनिच्छुक गर्भ बसेपछि त्यसलाई फ्याक्न अपनाइएको घरेलु विधिका कारण गाउँघरका केहीले ज्यान गुमाएको घटनाबाट लेखक डराएका पनि छन् । जुन कुरा उनीहरुले खुसुक्क सुरक्षित ठाउँमा गएर एबोर्सन गराएका थिए ।
पुस्तकले हरेक मान्छेलाई कुनै न कुनै अवस्थामा छुन्छ । रोगब्याध,आर्थिक,सामाजिक,राजनीतिक अवस्था, गाउँपाखा पखेराको जीवनी, अहिलेको जस्तो स्वास्थ्योपचारको पहुँच नभएका ठाउँमा आपत–विपत पर्दा अपनाइने उपचारका विधी, अनि त्यही गाउँको मान्छे लाहुरे भएर उसले पस्केका लाहुरका अनुभव र गफ, विश्वयुद्धका कारण इन्डोनेसिया, थाइल्याण्ड, अफ्रिका जस्ता मुलुकमा फैलिएको महामारी र खाद्य संकटको दुःखद प्रसङ्ग एकातिर छ भने अर्कोतिर लाहुरे गाउँ फर्केपछि लाहुरको भोगाई र अन्यसंग जितेपनि चिनियाँ लालसेनासंग भएको हारले उ बेलादेखि नै सैन्य सवालमा चीन बलियो थियो भन्ने बुझ्न कठिन छैन ।
त्यसो त आफ्नी हजुरआमाको निधनले गाउँ समेत शोकमा परेको कुरालाई सभ्झिएका लेखकले गरुढ पुराण र त्यहाँ अभिव्यक्त पाप र धर्मप्रतिको भावलाई सम्झाएका छन् । त्यतिमात्र होइन हिन्दु संस्कारमा १३ दिन काजकिरियामा वस्ने प्रचलन र दानदक्षिणालाई मनोबैज्ञानिक उपचारका रुपमा जोडेका छन् ।
३१ दिने लामो एकान्तबासमा बसेका लेखक यसअघिका विभिन्न महामारीको शिकार भएका छन् । हैजा, ज्वरो लगायतका महामारीलाई परास्त गर्दै आएका लेखकलाई रगतमासीले भने निकै आपतै खेलाएको छ । यतिसम्मकी लेखकका बुबा बरण्डबाट केटाले छोड्यो है भनेर चर्को स्वरले कराउँदा आफूले आँखा हेरेको कुरा उल्लेख गरेका छन् ।
कोरोना कहर शुरु भएपछि धेरै मान्छेलाई डाक्टर बनायो । विज्ञानले औषधी पत्ता नलगाएको अवस्थामा घरेलु जडीबुटी नै सञ्जीवनी भयो कोरोना कहरमा । संक्रमण भोगेकाहरुले प्रविधिको उपयोग गरी आफूले सेवन गरेका जडीबुटी र खाने तरिका समेत सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गरे । लेखकले त्यसलाई फेसबुक डाक्टरका रुपमा प्रस्तुत गरेका छन् ।
कोरोना महामारीमा हुनेलाई रोगको पीर नहुनेलाई भोकको पीर भनेझै भयो । लकडाउनले बजार र काम बन्द हुँदा मजदुरी गरी खानेहरुको दैनिक चुलो बाल्न गारो भयो । झापा निर्माण क्षेत्रमा काम गर्ने अधिकतम भारतीय मजदुर थिए र छन् । अकस्मातको लकडाउनले ती मजदुरहरु घर फर्कन पाएनन् । लेखकले पनि त्यही प्रकृतिका मजदुर लगाएको अनुमान गर्न सकिन्छ । आफू आइसोलेसनमा बस्दा पनि निर्माण काम नरोकेका संग्रौलाले प्रशासनले मजदुरलाई काम नगर्न भनेमा उनीहरुसंग कसरी ट्याकल गर्न सिकाएको कुरा समेत सार्वजनिक गरेका छन् । त्यसो त खाद्यसंकटका बेला गाउँ घरमा धनी महाजनले गरिब गुरुवाको अभर टारिदिंदा उनीहरुलाई कसरी निचोर्छन भन्ने वास्तविकतालाई उजागर गर्न लेखक चुकेका छैनन् । २०३७÷०३८ सालमा तेह्रथुम र ताप्लेजुङमा खडेरीका कारण खाद्य संकट उत्पन्न भएको थियो ।
चञ्चले उमेरमा देखेका र सुनेका कुराले प्रभाव पार्नु स्वाभाविकै हो । लेखक पनि त्यस्ता कुराबाट अछुतो रहन सकेका छैनन् । बाल्मिकी ऋषीको तपस्याको कथा सुनेर प्रभावित भएका लेखकको मन साधुको भेषमा समेत बरालिन पुगेको छ । पिताजीको सिर्कनाको पीडा खप्न नसकेर साधु हुन् लगाएकै लुगामा साधुका पछि लागेका लेखकलाई साधुकै लात्तले घर फर्काएको छ ।
उबेला पहाडमा बस्नेका लागि मधेश मोह भएपनि टिक्न नसकेर फेरि थाकथलो नै फर्किएका उदाहरणहरु प्रशस्तै छन् । लेखकको जीवनमा पनि त्यही घटना दोहोरिएको छ । चाहेर हो या नचाहेर परिवार संख्या बढ्दै ११ मा पुगेको थियो । परिवार धान्न कठिन परिरहेको परिस्थितिमा मधेशबाट माइती घर गएकी फुपुको ढिपीका कारण बुबाले कमाएको आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक सम्पत्तीलाई चटक्क छोडेर मधेश झरे । तर, उनीहरुको मधेशमा स्थायी बसाई हुन नसकेपछि ०४४ सालमा फेरि तेह्रथुम नै फर्कन बाध्य भयो ।
सामाजिक परम्पराले बहुविवाहलाई कहिले पनि मान्यता दिएको छैन । त्यही मान्यता विपरित लेखकका बुबाले पनि विहे गरेको ३९ वर्षपछि आफू भन्दा २८ वर्ष कम उमेरकी कान्छी श्रीमती भित्र्याएपछि परिवारिक माहोल धुमिल हुनु स्वाभाविकै हो । उ बेला कानूनी कारवाहीको कठघरामै उभ्याउन नसकेपनि सामाजिक रुपमा स्वाभिमानका साथ हिड्न कठिन थियो । लेखकका बुबाले पनि अर्की आमा भित्र्याएपछि अदृश्य रुपमा बेमेल जस्तो देखिन्छ । शायद त्यही भएर हुन सक्छ ०३२ सालमा मधेश झरेको संयुक्त परिवार ०४४ सालमा फर्कदा लेखकका पिताजी कान्छी आमा लिएर धनगढी तिर लागे । २२ वर्षपछि उतै उहाँको नस्वरचोला बदलियो ।
रात बाहेक अधिकतम समय घरबाहिर बिताउने संग्रौलालाई ३१ दिनको आइसोलेसन एकप्रकारको कष्टडी नै भएको उनले अभिव्यक्त गरेका भावहरुबाट बुझ्न कठिन छैन । शुरु शुरुमा त उनलाई घरमा राख्नका लागि छोरी, श्रीमतीले निकै प्रयास गर्नुपरेको उनी आफैंले ओकलेका छन् । त्यो बेला कसैलाई सिंगान आयो, रुघा लाग्यो, हाच्छिउँ आयो, ख्वाक्क खोकी लाग्यो भनेपनि शंका कोभिडकै हुन्थ्यो । यहाँ पनि त्यस्तै भएको छ । सुगर र दमका प्यासेन्ट संग्रौला दम्पत्ती एकअर्कामा आफैंलाई घरीघरी शंकाको घेरामा राखेको पाइन्छ ।
कोभिडको पीडा खेपीरहँदा उनले पछिल्लो समय फैलिएको पेशेवार यौनजन्य एक हर्कत पनि सम्झन पुगेका छन् । जुन हर्कत साम्य पार्न र ज्यान जोगाउने कार्यमा किनाराका साक्षी लेखक आफैं भएका थिए । २०७१ सालमा आफ्नै छिमेकी पुरुषसंग एउटी महिलाले आफूलाई बलात्कार गरेको भन्दै कोठामा आएर ती पुरुषकी श्रीमतीलाई दिएको मानसिक तनाब । तनाब व्यवस्थापन गर्न नसक्दा छिमेकीले गरेको आत्महत्याको प्रयास र भोलीपल्ट ती परस्त्री आएर गरेको मोलमोलाईलाई पनि उजागरगरेर समाजलाई सचेत समेत गराएका छन् ।
कोभिडको आशंकाले ओछ्यानमा बसेपनि हातमा लिएको एउटा मोवाइलका भरमा देशविदेश सबैतिर घुमेका छन् । आफन्तको खोजी खबरी, सन्चो विसन्चोबारे सबै अपडेट छन् । अनि जिल्ला, देश र विदेशमा संक्रमणको अवस्थाबारे जानकारी लिएकै छन् । संगसंगै लेखकको लेखनी रोकिएको छैन । ३१ दिनको भोगाई, दशकौंदेखिका विभिन्न संक्रमण, आपत विपतबारे २०० पेशमा समेटिएको विषयवस्तुलाई समेट्ने झिनो प्रयास अर्याप्त छ ।
केही व्याकरणीय त्रुटी देखिन्छ भने कोभिड भन्दा पहिले नेपालमा त्यत्ति ठूलो प्रभाव नपरेपनि सामान्य संक्रमणका रुपमा देखिएको र विश्वका केही मुलुकलाई निकै सताएको सार्सका बारेमा उल्लेख गर्न केही छुटेको हो कि भन्ने लागेको छ । किन कि महामारीका विषयमा लेखिएको साहित्यिक कृति शायद कर्म होलान् । त्यहाँ उल्लेख गर्न सकेको भए रोगको पनि दस्तावेजीकरण गर्न लेखक चुकेको जस्तो अनुभूति भयो । त्यस्तै यौनजन्य पेशेवर घटनामा लेखकले छिमेकीको वास्तविक नाम नै उल्लेख गरेका हुन् भने यो उनको कमजोरी हो । पुस्तक एउटा दस्तावेज हो । ता कि दस्तावेज हेरेर छिमेकीका दरसन्तानलाई आफ्ना अग्रज वा अभिभावकप्रति घृणा उत्पन्न नहोस् । यो लेखकीय धर्म हो ।