15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आफ्नो मान्छे भए के हुन्न !

हास्यव्यङ्ग्य होम सुवेदी February 21, 2022, 6:16 am
होम सुवेदी
होम सुवेदी

छोरा छोरी अलिक गतिला बनाउन सकियो र ठाउँमा बिहेदान गरिदिन सकियो भने चारैतिरबाट लडी लडी चानस आउँदा रहेछन् । अरूको के भाको छ मलाई थाहा भएन तर मलाई भने लडिबडी भएको छ । छोराको बिहे भएन भएन भएपछि गजब नै भएको छ । संयोग पनि कस्तो परेछ भने सम्धीज्यू पर्नु भएछ "नेपाल मारुनी ठेट्टर तथा ढोलक प्रज्ञाप्रतिष्ठान" का कुलपतिको स्वकीय सचिव । कुलपतिकै स्वकीय सचिबको योगदानका कारण आज उहाँकी छोरी अर्थात् मेरी बुहारी प्रतिष्ठानकी मानार्थ सदस्य छिन् । धनुस तीर र भाला चलाउन माओवादीबाट प्रशिक्षित भएकोले उहाँको ज्वाइँ अर्थात् मेरो छोरालाई पनि "नेपाल गुलेली मट्याङ्ग्रा समागम सङ्घ" मा भत्तो सहित उचित स्थान मिलाउनु भएको छ । यतिमै पनि मलाई लाग्न थालेको छ- 'आफ्नो मान्छे भए के हुन्न !'
एकदिन उहाँले फोन गर्नुभो-"हैन सम्धीज्यूको केही नाचगान बजानमा रुचि छ कि छैन ?"
"उहिले उहिले भए पनि अब उति छैन पो सम्धीज्यू" मैले भनेँ ।
"उहिले थियो भने भैगो नि । यसो अँघेरीका पात बजाउन मारुनीसारुनी भएर नाच्न र हाट बजारमा जाँदा यसो तरुनी फकाउन गाउने गर्नुहुन्थ्यो भन्ने लागेको छ ।"
"त्यसो त उ बेलामा त्यो भन्दा पनि बढी पनि गरियो नि । मिठा मिठा गीतहरु गाइयो । जङ्गलमा एकान्त पारेर.........। अहिले पो दाँत फुक्लेपछि यो गाउनओर्न सकिन्न त । उहिले त दौरा सुरुवाल लाएर मारुनी नाचमा फिरिक फिरिक नाचेपछि तरुनी ता हिरिक हिरक । हिहिहिहि.......!!"
"भैगो यति भए पनि योग्यता पुग्यो ।"
"हैन केको योग्यता नि ?" मैले सोधें ।
"मारुनी ठेटर ढोलक प्रज्ञाप्रतिष्ठानको आजीवन वैतनिक सदस्य हुने नि ,अरू केको ?"
"लौ सम्धीज्यू पनि.............. ।"
यसरी कुरा चलेको केही महिनाभित्रै म उक्त प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यमा मनोनित भएको छु । भत्तो बडा मजा छ खाइएको छ घर बसीबसी । यसरी उहाँकै कारणले म पनि सो प्रतिष्ठानको आजीवन वैतनिक सदस्य भएको हुँ कुनै बेला बैठक भो भने गइन्छ हावाजहालमा सररररर।
बेलाबेला म चोच्छु- 'स्वकीय सचिबबाटै त यतिसम्म भो भने कुलपतिकै योगदान हुनु हो भने झन् केकेसम्म हुँदो हो !!"
लगतै पर्सिपल्ट उहाँले फेरि फोन गर्नु भो नमस्कार समस्कारका कुरापछि क्षेमकुशल सकेर उहाँले कुरा छेड्नु भो-" हैन सम्धिनीज्यू पनि गजल पाड्कको साड्विको अनि कवित्त सवित्त केकेजाति लेख्नु हुन्छ हैन त ?"
"उहिले जवानीमा हाम्रो इलु इलु चलेको बेला अलेलि केकेजाति लेख्थिन् अहिले यो घरको धन्दा र केकेजातिले गर्दा लेख्तिनन् सब भुलेर खतम छ ।'
"लु यहाँले नै उहाँका नाममा यसो गजल लेखाएर यता पठाइदिनु पर्यो ।" देशव्यापी गजल प्रतियोगिता लेखनमा सहभागी गराइदिनु परो । जसरी पनि पठाइदिनू । बाँकी के गर्नु पर्छ भन्ने कुरा मलाई थाहा छ ।"
कति अर्काकै भरमा पर्ने । कति भरिया मात्र लाउने भनेर नभन्दै मैले नै केके जाति लेखेर पठाइदेको स्वकीय सचिबको पालो आफ्नो बलमा उनैलाई प्रथम पारिएछ । वाचन गर्न बोलाइएको थियो वाचन गर्न त भुत्रो आओस् । कोरोना सोरोनाले अलिक अप्ठेरो छ सम्धीज्यू भनेर थामथुम गरियो । अर्कै कुनै भरियालाई वाचन गराउनु भएछ । अचले वाचन गर्ने भरियाको के कमी हुन्थ्यो । पुरस्कारको राशी र प्रमाणपत्र घरमै पठाइदिनु भएको थियो । उनी पनि खुसी छिन् सम्धीदेखि ।
फेरि अलिक पछि सम्धीको फोन-"आयो सम्धीज्यू यो डायस्पोराबारे कसैलाई अलिकति पैसो दिएर केही लेखाउनु न आफ्ना नाममा । ठुलो चानस छ अउरिका घुम्ने । त्यहाँका केही च्याप्टरहरुले बोलाएका छन् । साथमा म ता भैहाल्छु । सम्धीलाई अब के छाडौँ भनेर नि । अनि पासपोर्ट सासपोर्ट बनाउन म लाइदिन्छु फोटो खिचेर पठाउनू । मजाले अउरिका घुम्ने हो । सके युरोपतिर पनि घुम्ने चानस पर्छ । इजराइल च्याप्टर कोरिया च्याप्टरले पनि बोलाएको छ ।"
"खै कसलाई लेखाउनु र आफूलाई त्यो डायस्पोरा हो कि हाडफोरा हो केही थाहा भए त मरिजाऊँ ।" मनमनै सोचेँ ।
"आ अलिकति पैसो फालिदिनू नि । पैसो भनेपछि मरिहत्ते गर्ने हन्तकाली जति पनि पाइन्छन् । पैसो भनेपछि आमा ता बेच्छन् यहाँका हन्तकालीले । ययति मुले काम के नगर्लान् र । लेखिदिन्छन् मजाले । कि म यतै लेखाइदिऊँ ?"
"हैन हजुरले मात्र कति टेनसन लिने । यता पनि त्यस्ता केही हन्तकाली रहेछन् भने म नै यो काम गर्छु नि, यति ता मेरो पनि दायित्व हो नि कति यहाँलाई मात्र दूःख दिनु" भनेँ । अनि खोज्दै जाँदा एक जना हन्तकाली जानिफकारलाई फेला पारेँ । नभन्दै डायस्पोराबारे उनले मजाले लेखिदिए । पैसो न थियो चाहिएको । अलिकति छरिदिएको दुनियाँभरको डायस्पोरा नै लडाइदिए मेरा नाममा । अनि उनकैबाट बिजुली हुलाकमा हालेर मेरा सम्धी वा "नेपाल मारुनी ठेट्टर तथा ढोलक प्रज्ञाप्रतिष्ठान"का कुलपतिको स्वकीय सचिवज्यूलाई पठाइदिएँ । त्यही बेला ती भरिया लेखलाई सोधेँ- "हैन यहाँले एउटा गतिलो किताब लेखिदिएको कति लिनुहुन्छ ?"
"कस्तो खालको किताब चाहियो हजुरलाई ?" उनले सोधे ।
"पुरस्कार नै पाउने खालको चाहियो निj, लेखाएपछि झारेझुरे के लेखाउनु ?"
"ए त्यो खाले हो भने त अलिक बढी नै लिने गरेको छु । फेरि पुरस्कारै पाउनेमा भने अलिक सङ्का पनि हुन्छ । मजस्ता भरिया लेखक कति छन् छन् । यो दुनियामा म भन्दा गतिला पनि हुन सक्छन् यो कुरा मान्छु म । तैपनि मैले लेखेर दिएकाले उति बित्तुर खाएको छैन । अनेक तिकडम लाएर पुरस्कार अन्यत्र नै उछिट्याउन पनि सक्छन् । कुन पुरस्कारका लागि लेखिदिनु हो पुरस्कारको नाम भन्नुहोला र लेखिदिनु हो भने अलिकति पेस्की पनि छाडिराख्नु होला । पछि पुरस्कार पाउनुभो भने जति सक्नु हुन्छ मलाई पनि दिनु पर्छ । मन्जुर भए कुरा बढाऊँ नत्र होस्.................. !!"
कुरा हुँदा हुँदै उहाँको अन्यत्रबाट फोन आयो ।
गोजीमा भएको पचिस हजार जति टक्राएँ र म लागेँ टेलरकातिर लुगा सिलाउनु जो छ अउरिकाका च्याप्टरहरूको निम्तो मान्न जानलाई । फेरि कुन बेला छिटो आउनु भन्ने फोन आउन सक्छ सम्धीज्यूको । तयारी नगरी भो त अब । सम्धीलाई यति भएपछि मेरो काम फत्ते गर्छन् भन्नेमा म विश्वस्त छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।