15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिडम्बना

लघुकथा डिल्लीप्रसाद अधिकारी February 24, 2022, 5:12 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

उ द्वैत चरित्रको थियो । कहिले बाँसको तामा त कहिले वनतरूल। भएको भुइँ घर भत्काएर उसले तामा भएको बेला अग्लो र भव्य घर बनाउने निधो गर्‍यो । दोहोरो चरित्र भएको उ श्रवनकुमार झैँ पितृभक्त थियो र वनतरूल भएका बेला बाबु अन्धा नभएकोमा र उनको उपचार गरेर आफू तामा बन्न नपाएकोमा बडो चिन्तित हुन्थ्यो । एकदिन बाबु बिमारी परे। आँखा ठिकै थिए तर बाबु घुँडा दुख्ने बिमारीले ग्रस्त बने। भुँइ घर भए त यसो बाहिर निस्कन सजिलो हुन्थ्यो भन्ने बाबुको विचार थियो तर अग्लो घरको माथिल्लो तलामा तामा भएको उसले बाबुलाई विराजमान गराएको बेला बाबु भने घुँडाको बिमारले ग्रस्त बने। धन्य यसबेला उ भने तामा नै रहेकाले बाबुको उपचारमा कुनै कमी रहेन।

एकदिन जातिभइसकेका बाबुले भने- "म भुइँ तलामा नै सुत्छु- र अझै थपे-" मलाई मरेपछि तिमीहरूलाई बाहिर निकाल्न सजिलो हुन्छ "। बाबुले मृत्यु नजिकै देखेको जस्तो लागेपछि उसले घरमा विद्युतीय लिफ्ट लगाउने काम गर्‍यो । उसको पितृभक्तिको यो सबल उदाहरणलाई समाजले सराहना गर्‍यो । अचानक उ एकपल्ट फेरि वनतरूलमा परिणत भयो र लिफ्टबाट ओरालेर बाबुलाई भुइँमा राख्ने काम गर्‍यो ।

द्वैत चरित्रको उ प्रकृतिका विपरीत कर्मगर्नमा आनन्द मान्थ्यो। गर्मीमा कफीको तृप्ति र जाडोमा बरफको मजा लिने उ त्यसबेला गर्दथ्यो जतिबेला धन-धान्यको अधिक सम्पन्नता उसमा छाउँथ्यो र तामा बनेको हुन्थ्यो ।
बाबुलाई भुइँ तलामा राखेर उ लिफ्टका सहायताले बाबुको रेखदेखमा कुनै कसर नहोस् भन्ने सचेतना राख्थ्यो। एकपल्ट पितृभक्त उसले आफ्नी बहिनीले बाबुलाई रेखदेख गरेको चाल पायो । रेखदेख राम्रोसँग गरिएको थियो तर उसको तामापन झन् छिप्पिएर उ झण्डै ढल्यो कि श्रवनकुमार उ छँदाछँदै बहिनी किन बाबुलाई स्याहार्छे? बहिनीलाई हपारेर उ लिफ्टमा चढेर माथ्लो तला उक्लिएको त्यही साँझमा हो ठूलो भुइचालो गयो।

घर जम्मै ढल्यो तर भुइँतला भने जोगियो र बाबु छोरी पनि सकुशल थिए। माथिल्लो तलामा बसेको उसको हात भित्ताको इटाले लागेर भाँचियो। उसकी स्वास्नी कृष्णमायाको त कम्मरै भाँचिएको हुँदा स्टेचरको सहायताले उनीहरूलाई छिमेकीले सिँढीबाट ओरालेर गाडीमा चढाएर अस्पताल लाँदै गरेको र बाबु र बहिनीले उनीहरूलाई साथ दिएको दृश्य देख्नेबित्तिकै यो कथा लेखिसकियो।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।