15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सय रूपैयाँको बाटो

लघुकथा काशीनाथ मिश्रित February 24, 2022, 5:14 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

मनोज र विजय संस्था नवीकरणको काम सकेर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिए । डकुमेन्टहरूको फोटोकपी पनि गरिराखौँ न त चाहिइहाल्छ क्यारे भन्ने सल्लाहगरेर उनीहरू दुवै नजिकैको फोटोकपी सेन्टरतिर लागे । उनीहरू दुवै दृष्टिविहीन भएकाले हातमा सेतो छडी थियो । छामछाम छुमछुम गर्दै पसलभित्रै पसेर बेन्चमा बसेका दुवैलाई देखे पनि पसले केही बोलेन । सम्भवतः उसले चन्दा माग्न वा अगरबत्ती बेच्न आएका ठान्यो । अरु ग्राहकलाई झै के काम थियो होला? भन्ने जिज्ञासा पनि राखेन ।‘यहाँ फोटोकपी हुन्छ?’ केहीछिनको मौनतालाई चिर्दै मनोजले सोध्यो ।

- ‘हुन्छ, केको गर्नुपर्ने होला?’ पसलेले केही नम्र भएर प्रतिप्रश्न गरेको सुनेर विजयले भन्यो – ‘गर्नुपर्ने धेरै नै छन्, हामी भन्छौँ, तपाईँले हेरेर गरिदिनुहोस् ।‘

संस्थाका विभिन्न प्रमाणपत्रहरू तथा लेखापरीक्षणका प्रतिवेदनहरू फोटोकपी गर्दैगर्दा पसलेले आफ्नो इमानदारीलाई नलुकाई ओकल्न थाल्यो - ‘मैले त तपाईँहरूलाई अगरबत्ती बेच्न आएका होलान् भन्ठानेको थिएँ । सरासर पसलभित्र आएको देखेर अचम्म लाग्यो । अझ फोटोकपी गर्ने यस्ता कागजाद देख्दा त झन् छक्क परेँ । बाहिरैबाट सोध्थे अरुले त, तपाईँहरू भित्रै आउनुभयो । त्यसैले पनि केही बेर त कुरै गरिनँ ।

-‘हो, आम मानिसहरूको बुझाइ नै यस्तै छ । सबैलाई माग्ने वा सडकमा गीत गाएर हिँड्ने अथवा मैन बत्ती, अगरबत्ती बेच्नेको रूपमा हेरिन्छ । यसमा तपाईँको दोष नै के भयो र?’ मनोजले भन्दै गयो – ‘म शिक्षक हुँ, विजय कर्मचारी हुन् । नेपालमा साढे चार सय जना त म जस्ता शिक्षक छन् । तपाईँको कुराले मलाई तिन वर्ष अघिको सम्झना गरायो । हामी एउटा तालिममा थियौँ । हामी दुवै जना मिनरल वाटर किन्न भनेर यस्तै गरी पसल पसल चाहर्दा एउटाले पसल बाहिरै आएर हामीलाई हिजै दिएको हो हिजै ! भन्दै अर्को पसलतिर पाखुरामा समातेर लैजान खोज्दा म कड्कनु परेको थियो । अलिक झोक्किएर के हो हिजै दिएको? कसलाई हो?? हामी पानी किन्न आएका हौँ के दिएका थियौ तिमीले हिजो हामीलाई ??? भनेपछि माफीसमेत मागेको थियो । यस्ता अनुभव त हामीले धेरै सँगालेका छौँ । के गर्ने, अपाङ्गताप्रतिको दृष्टिकोण नै ठिक छैन समाजको ।

- ‘ए..., केही सम्झन खोज्दै विजयले भन्यो ‘हिजो बजारमा हिँडेको बेला अगरबत्ती छ?भनेर सोधेको त हामीलाई पो रहेछ मनोज दाइ !’ हिजो उनीहरू हिँडिरहेको बेला बजारको कुनै पसलबाट चर्को स्वरमा आवाज आएको सुनेका थिए –‘अगरबत्ती छ?’

- हो, अहिलेसम्म यहाँ तपाईँहरू जस्ता जति पनि मानिसहरू आए ती धेरैजसो अगरबत्ती बेच्नकै लागि आए । म पनि बाहिरफेरो घुम्न नपाउने हुनाले तपाईँहरू जस्ता पढेलेखेका व्यक्तिहरूसित भेट्ने मौका पाएकै थिइनँ । मैले त अब सय रुपियाँले बाटो खोज्यो, ठिक्क पार है ! भनेर श्रीमतीलाई भनिसकेको पनि थिएँ तपाईँहरूलाई आएको देखेर ।‘ पसलेले आफूभित्रको कुनै कुरा लुकाएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।