15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्यारा युवक -८

कविता काशीनाथ मिश्रित February 26, 2022, 5:16 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

सामन्तीको मुकुट चुडियो छन् जरा यत्रतत्र ।
गर्दै होला नव किसिमले देश खाने षड्यन्त्र ।।
खोस्रीखोस्री अब सब जरा फ्याँकिनै पर्छ क्यार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

आँखा गाडी किन दिनदिनै हेर्छ त्यो अम्रिकाले ।
गिद्धे दृष्टि दिइ किन सिमा मिच्छ त्यो इण्डियाले?
सोच्ने बेला नबन लहडी लाग मुठ्ठी कसेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

तिम्ले आँटे हिमशिखरमा फुल्छ लालीगुराँस ।
तिम्ले ढाटे मुलुक सहजै हुन्छ चाँडै विनाश ।
नेपालीको अझ रहिरह्यो फेर रुन्चे मुहार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हाम्रो ठूलो जनबल उता खाडिमा खेर जाने ।
बन्ला वातावरण कहिले चाकडीमा नजाने ।
कर्णालीको जल सरि गयो शक्ति तिम्रो अपार ।
मेरो प्यारा युवक बलिया देशका कर्णधार ।।

नेपालीको हृदय तिमिले छाम्नु पर्ने छ साथी ।
जिम्मा तिम्रै यस मुलुकको राख है काँधमाथि ।
फेर्नै पर्ने कुचलन यहाँ देख्छु कैयौं हजार ।
मेरो प्यारा युवक बलिया देशका कर्णधार ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।