15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

काँध

हास्यव्यङ्ग्य कृष्ण प्रधान February 28, 2022, 5:13 am
कृष्ण प्रधान
कृष्ण प्रधान

पाखुरा जोड़िएको जार्नीदेखि गर्दनसम्मको शरीरको भागलाई काँध भनिन्छ । कु्म, स्कन्ध यसका पर्यायवाची शब्दहरू हुन् ।
यो संसारमा काँधको महत्त्व लरतरो छैन । झन् यो गोर्खे काँध ता अचेल सबैभन्दा महत्त्वपूर्ण भएको देखिन्छ । संसार भएका अऩ्य जातिहरूको काँधमध्ये सबैभन्दा सस्तो काँध चाहिँ गोर्खे काँध नै हो भन्दा कुनै टुटा नपर्नुपर्ने । यो गोर्खे काँधमा प्रायः सबैले नै बन्दुक तेर्स्याएर आफ्नो दूनो सोझ्याएको कुरा नयाँ होइन । संसार थर्काउऩे यो दह्रिलो छिप्पेको गोर्खे काँधले इतिहास कायम गरेको कुरा हामीलाई मात्र होइन संसारैलाई थाहा छ । आज यो गोर्खे काँध छिप्पेर जस्तै गह्रौं भार पनि वहन गर्न सक्षम भएको कुरा थाहा नहुने विरलाकोटि मात्रै होलान् । यो छिप्पेको काँधमाथि चढ़ेर रजाइँ गर्न अन्य जातिहरूलाई बड़ो सजिलो र ढुक्का भएको कुरा कतै पनि लुकेको छैन ।
पहिलो र दोस्रो महायुद्धमा, फकल्याण्ड युद्धमा, कारगील युद्धमा चौड़ादार छाती थापेर गोर्खे सन्तानले आफ्नो वीरत्व देखाएर संसारलाई छक्क पारेको इतिहास हामीसित छ । कति ठूलो समर्पण ! कति ठूलो त्याग र बलिदान ! तर हिजोआज गोर्खे काँधमाथि अरुलाई नै मपरी गर्न दिएर समस्त गोर्खे जातिलाई फुटबलजस्तै बऩाइसकेको देखिन्छ । जसले पायो उसैले डङ् कि डङ् किक लाउँछन् ।
साँच्चै, यो गोर्खे काँध बड़ो सजिलो भयो । सुठीसाह्रै सजिलो भयो । सबैको खेलाँची भयो । कसैको गरी खाने भाँड़ो भयो भने यो गोर्खे काँध अरुको निम्ति मामाको घोड़ा मेरो हिही भयो । राजनैतिक बन्दुक यहाँ गोर्खे काँधमा तेर्सिन्छ । पक्षपातित्वको एस. एल. आर. यही गोर्खे काँधमाथि नै तेर्सिन्छ । षड़्यन्त्रको धनुकाँढ़् यही गोर्खे काँधमाथि नै तेर्स्याइऩ्छ । तर पनि हाम्रो यो गोर्खे काँध एक रति डग्मगाउँदैन । आँ....उँ...केही गर्दैन । साह्रै सोझो यो गोर्खे काँध । हल न चल भएर सबै सहिबस्छ । विचरा तर यो निर्जीव गोर्खे काँधको पनि के दोष र ? गोर्खे काँधका मालिक नै हुतिहारा, निमुख र आबा न चाबा भएपछि कसको के लाग्छ र ज्यू...कसको के लाग्छ ?आफ्नो काँधलाई सम्हाल्न र गोहार्न नसक्ने हुतिहारा यो जातिलाई धिक्कार छ ।
अफिस, अड्डा-अदालतमा पनि यो गोर्खे काँधले बग्रेल्तै षड़यन्त्रको गह्रौं भार वहन गर्नुपर्छ । साँच्चै यो गोर्खे काँधलाई कतै शान्ति छैन, ठ्याम्मै सञ्चो छैन । काँधका मालिकहरूले आफ्नो काँध लाजै पचाएर अर्कालाई सुम्पेपछि यो गोर्खे काँधले पनि जसो जसो बाहुनु उसै उसै स्वाहा गर्नै पऱ्यो । सामान्य स्वार्थको निम्ति आफ्नो काँधमा अरुकाली बन्दुक तेर्स्याउऩे अनुमति दिएपछि हामी नाथु बोलेर के गर्नु ? त्यति पनि कहाँ र अरुको बन्दुक आफ्नो काँधमा तेर्स्याएर आफ्नैहरूमाथि बन्दुक पड़्काउन लाउनेहरू खाँटी कलङ्क हुन् । घरका शत्रु विभीषण झैं कुलाङ्गार हुन् । यस्ता कुलाङ्गारले आफ्नो काँधमाथि बन्दुक तेर्स्याइदिएर अरुलाई मनपरी, सही सही बिसही बिसही गर्न दिएर आफ्नै सन्तानलाई सत्यानाश नपारी छोड़्लान र !
यो गोर्खे काँधमा एउटा सिङ्गो जातिको इतिहास लुकेको छ । पिता-पूर्खाको आशीर्वाद परेको यो गोर्खे काँध । ठूला-बड़ाको श्यावाशी बोकेको यो गोर्खे काँध । के छैन यो गोर्खे काँधमा ? यो काँध मामुली र खेलाँची काँध होइन ठ्याम्मै । किनभने, यो गोर्खे काँधमा शहीद दुर्गामल्ल र दलबहादुर गिरीको आशीर्वाद परेको छ । वीर वलभद्र, भीमसेन थापा, अमरसिंह थापा, सुकराज शास्त्रीजस्ता वीर गोर्खा शहिदहरूका माया, स्नेह र वीरता थप्थपिएको छ यो गोर्खे काँधमा । हामी कति भाग्यशाली छौं....हाम्रो यो काँध कति शक्तिशाली...संसारको जस्तै गह्रौं भार पनि वहन गर्न सक्षम । तर अचेल यो गोर्खे काँधको मान-मर्यादा क्रमश: ह्रास हुँदै गइरहेको देखिँदोछ । यस्ता वीर योद्धा काँधलाई अरुले नै आफ्नो पेवा बनाई उनीहरूकै रिमोटले इच्छानुसार आफ्नो काममा व्यवहार गरेको पनि नदेखिएको होइन ।
हाम्रो समाजमा जस्तै गह्रौं भार पनि वहन गर्नसक्ने खालका काँधवाला व्यक्तित्वहरू पनि छैन भन्न मिल्दैन । हाम्रा पीर-मर्का, दुःख-कष्ट सबै नै सकी-नसकी आफ्नो काँधमा बोकी ठिक ठाउँमा पुऱ्याउँछु भनी विचरा ठीक ठाउँमा नपुगेका होइनन् । उनको यो काँधमा काँध मिलाएर लक्ष्यमा पुग्ने जल्पना-कल्पनामा हामी तम्सिएकै हौं ; जुर्मुराएकै हौं । मच्चिएकै हौं ; उफ्री-पाफ्री गरेकै हौं । आहा...कस्तो जोश थियो त्यसताका । यो गोर्खे काँध कति सल्बलाएको थियो उबेला । उबेलाको दमन, धम्की, डाङ्डाङ् डुङ्डुङ्लाई यो गोर्खे काँधले ह्याँकुलाले मिचेरै धुरी कट्टाइदिएकै हो । यो गोर्खे काँधलाई उबेला आफ्नो लक्ष्यमा पुग्ने धुनसवार भएको थियो । भुरा-भुरीदेखि बूढ़ा-बूढ़ीसम्मैका काँधहरू जुर्मुराएका देखेर समस्त विश्ववासीहरू लाटाले पापा हेरेको हेऱ्यैजस्तै आँ....परेका थिए । तर हाम्रा पीर-मर्का, दु:ख-कष्ट आफ्नो चट्टानजस्तो काँधमा वहन गरेर अघि-अघि हिँड़्ने वीर काँधवाल नाइकेले आफ्नो त्यस्तो मूल्यवान काँध बीच बाटामै कसैलाई हरेक मालको हिसाबमा बेचिदिँदा पो सर्वनाश भएको हो ; समस्त योजना बिल्लीबाठ भएको हो । नत्र यो गोर्खे काँधले ठीक ठाउँबाट ठीक कुरा नै लिएर आउनसक्ने थियो । हाम्रा ती हुतिहारा नाइकेले आफ्नो यत्रो मूल्यवान, संसारले मानेको काँध मात्रै हरेक मालको हिसाबमा बेचेन्न् तर आफ्नो डुप्लिकेट पानीमरुवा काँधमाथि लुखास्त (!)-को रकेट लञ्चर ल्याएर उफ्री-पाफ्री गर्ने निमुख, सोझा-सिधा दह्रो काँधहरूलाई लुम्रुङ-लुम्रुङ पारेर तिनका जनता-जनार्दलाई थाङ्ना बनाएका छन् । यसैकारण, अचेल हामी सबै लुलीहात (केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई हल्लाई उसका हातले उसैलाई लबट्याउने चलखेल) खेल्ने भएका छौं । असली काँध बेचेर नै हामीलाई लुलीहाते खेल्ने बनाइएको हो । मेरो कुरो पत्याउनुहुन्न भने, तपाई आफ्ना दुवै काँध आफैले छाम्नोस्...केही फरक खुट्याउनु सक्नु भएन भने जानोस् सोझै महाकाल बाबका थानमा । महाकालबाबालाई तपाईहरूका दुवै काँध देखाउनुहोस् । यो गोर्खे काँध देखाउनोस्...यतिउति गर्न लाउनोस्...। किनभने अचेल ता हाम्रा महाकालबाबा सबैसित हाकाहाकी बोल्न थालेका छन् । होइन र ? त्यो पनि भएन भने तपाईका गाउँ-घरका माता, गुरुजी, रिम्पुचे, झाँक्री-फेदाङ्बाहरूलाई तपाईको हुतिहारा गोर्खे काँध देखाएर यसो झार-फुक गर्न लाउनोस् । किनभने अब हाम्रा समस्याहरू समाधान गर्न सक्छन् भने एकमात्र हाम्रै माता, गुरुजी, रिम्पुचे तथा धामी-झाँक्रीहरूले मात्र सक्छन् । बड़े-बड़े चट्टानजस्तो काँधवाला महामहिमले केही लछारपाटो लाउन सक्दैनन् । काँध होस् न केही गरोस् बुबुराले । फेरि हरेक मालको भाउमा सुटुक्कै बिक्री गरिसकेको गोर्खे काँधलाई अब ता पत्याउन र विश्वास गर्ने कुरो पनि ता आएन ।
हाम्रा ठूला-बड़ाहरूले आफ्नो काँध बेचेजस्तै यहाँका प्रत्येक अफिस, अड्डा-अदालतका भारेभुरेहरूले समेत आफ्नो दुनो सोझ्याउन आफ्नो गोर्खे काँध बेच्ने गर्छन् । कसैले ता अचेल बन्दकी पनि राख्न थालेका देखिन्छ । आफ्ना मुखियालाई खुशी पार्न, आफू सद्धे हुन्, आफ्नै सहकर्मीलाई उछानेर, पछारेर वा लङ्की लगाएर आफू सिङसाँढ़े हुने दाउ र लोभमा आफ्नो गोर्खे काँधमा आफ्ना मुखियालाई मनपरी रकेट लञ्चर पड़्काउन दिने पनि कम्ति छैनन् । साह्रै सजिलो भयो, अति नै सस्तो भयो हाम्रो यो गोर्खे काँध । मुखियाको जात न हो....यस्तै काँध बेचुवाहरूलाई मुखियाहरू आफ्नो झोलामा हाल्ने ताकमा हुन्छन् । अघि-पछि केही नबुझ्ने, नसोंच्ने, आफ्नो-पराय नचिन्ने हुतिहारा, लुइतामे, पाङ्दुरे, मूल्याहा काँध बेचुवाहरूलाई मन माफिक हात पारेपछि यी मुखियाहरूले यी काँध बेचुवाहरूका गोर्खे काँधमाथि मनग्गे ढलिमली गर्छन् । तर यी काँध बेचुवाहरूलाई मुखिया हड्डी मात्र चपाउन दिएर निष्फिर्कीसँग आफूलाई चाहिँदो लिने र उपभोग गर्ने गरी आफ्नो दुनो सोझ्याउन हाम्रैहरूमाथि खुट्टा घुमाएका के थाहा ! आफ्नो काँधमा मुखियालाई विराजमान गराएर यी काँध बेचुवाहरू हड्डी मरक्-मरक् चपाउनमै सन्तुष्ट हुन्छन् । यस्ता काँध बेचुवाहरूको के भरोसा...के विश्वास ? यस्ताहरूले आफ्नो काँध ता बेचे-बेचे आफ्नो जाति, समाज सबै बेच्न सक्छन् है...साह्रै साह्रै पऱ्यो भने आफ्नै स्वास्नी समेत बेच्न बेर लाउँदैनन् नि मोराहरूले ।
लाखेस् !!
आफ्नै काँध बेच्ने काँध बेचुवा साथी ! लाखेस् ! सामान्य स्वार्थ र लोभको निम्ति तपाई किन त्यति तल झर्नुहुन्छ ? तपाईलाई के को कमी छ हजूर ? तपाईका दह्रिला दुइ काँधले तपाईकै जातिको, समाजको भार वहन गर्न सक्नुपर्छ । तपाईमाथि ठूलो जिम्मेवारी आइलागेको छ । किन तपाईँ आफ्नो दह्रो, सक्षम काँधमाथि अरुलाई बन्दुक तेर्स्याउन दिनुहुन्छ ? तपाईलाई के त्यस्तो वाध्यता र विवशता छ ? सावधान काँध बेचुवा साथी ! सावधान ! तपाईको काँधमा यसरी तपाईका मुखियाले बन्दुक तेर्स्याउँदा कुन दिन मौका हेरेर तपाईमाथि नै घो़ड़ा चढ़न बेर लाउँदैनन् है बेर लाउँदैनन् । तय्सपछि तपाईको निमुखा समाज, निरीह जातिको काँधमाथि नै बुईँ चढ़ेऱ तपाईको सुन्दर समाज र जातिलाई धोती न टोपी पार्नेछन् । अझैसम्म तपाईजस्ता बुजुर्ग व्यक्तिले गुहू र गोबरमा कुनै भिन्नता खुट्याउऩ सक्नुभएन ? धिक्कार छ तपाईजस्तो काँध बेचुवा हुतिहारालाई । तपाईले पोखरीबाट माछा पनि समात्छु ; पानी पनि छुदिनँ भन्नुहुन्छ । यो ट्याक्टिक्स सामान्य केही दिनसम्म खपत होला तर थुञ्चेले छोप्दा-छोप्दा डोकोले छोपेको दिन चैँ के होला (?) त्यो पनि हजूरले सोंच्नुभएको छ के ?
यसकारण, यो काँध तपाईको हो । तपाईको काँध लरतरो र मामुली छैन । तपाईको काँध सामान्य मरञ्च्याँसे काँध नभएर एउटा सिङ्गो खाँटी गोर्खे काँध हो । तपाईको काँधमाथि रुपियाँमा सोह्रै आना तपाईको अधिकार छ । यो तपाईको व्यक्तिगत अत्यन्त निजी सम्पत्ति हो । तपाईका यी दुवै काँधमा तपाईकी प्राणप्रिय आमाको कोमल हातले कैयौं वर्षसम्म मालिस गरेर तपाईका यी दुवै काँधलाई कति सबल, सक्षम बनाइदिएकी छन् । आफ्नी आमाका कोमल हातहरू सल्बलाएका यी दुइ काँधमा अन्य कसैलाई ढलिमली गर्न दिनुभयो भने तपाईका जाति र समाजले मात्र होइन तपाईले समेत शान्ति पाउँने छैनन् । यसकारण, तपाईको गोर्खे काँध जोगाउनुहोस्, सम्हाल्नोस् अनि दिन-रात स्याहार्नुहोस् । यो काँध तपाईको व्यक्तित्वको सही छाप हो । यो काँध तपाईको अस्तित्त्वको प्रतीक हो । यो काँध तपाईको वंशको चिन्हारी हो । तपाईको यो काँध कसैको स्वार्थ बिसाउने स्ट्याण्ड होइन । कुनै अवस्थामा पनि बन्दुक तेर्स्याउने कसैको ठाउँ होइन । तपाईकै काँधमा आफ्नो इच्छानुसारले बन्दुक तेर्स्याएर तपाईकै जाति, समाजलाई ढ्याङ् पारी रजाइँ गर्ने प्लेटफार्म होइन तपाईको मायालु काँध । तपाईको काँध कसैको फुटबल खेल्ने खुल्ला मैदान पनि ठ्याम्मै होइन । यसकारण, मेरो के निवेदन छ भने, दया गरेर तपाईको काँध जोगाउनुहोस् ।
म पनि दुइ काँधका धनी हुँ । मेरा यी दुवै काँध खाँटी गोर्खे काँध हुन भन्ने सगर्व घोषणआ गर्न चाहन्छु । यसमा लुकाउने, छक्याउने कुरै छैन । मेरो काँधमा पनि बन्दुक तेर्स्याउऩ खोज्ने मेरा चारैतिर होलान् भन्न सकिँदैन । मान्छेको किसिम दाउ हुन्छ तर मेरा यी दुइ काँध कसैको पेवा होइन न ता कुनै विर्ता नै हो । यसकारण अऩ्य स्वार्थीहरूलाई मेरो काँधको पेवा बनाउऩे कुरै आएन । मेरो आफ्नै बल-बुता र बुद्धिले दह्रो बनाएको यी दुवै काँधलाई सकेसम्म अरुको बन्दुक तेर्स्याउन दिने छैन भन्ने मैले प्रण गरिसकेको छु । यसैले मेरा यी दुइ काँधमा कसैले थाहै नपाई बन्दुक पो तेर्स्याएका छन् कि भनेर रात-दिन म मेरा काँधलाई बड़ो सावधानीपूर्वक सुम्सुम्याउने गर्छु । किनभने, मेरा यी दुइ खाँटी गोर्खे काँध कसैको टाइम पास र स्वार्थपूर्ति गर्ने अखड़ा होइन ।
पिलो फुटेको राम्रो बादल फाटेको झन् राम्रो ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।