15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शब्दार्थमा लक्ष्मीप्रसाद देवकोटारचित 'पागल'

कृति/समीक्षा कृष्ण प्रधान March 15, 2022, 4:43 am
कृष्ण प्रधान
कृष्ण प्रधान

पूर्वकथन -
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, महाकवि देवकोटाले लेखेका एकाध कविता बाहेक अन्य कविता मैले आजसम्म बुझ्न सकेको छैन । कागले बेलमाथि टेकेर आफ्नो टुँड़ो (चुच्चो = beak) ठुङेर बेल फुटाउने जतिनै मूर्ख प्रयास गरे पनि बेल जस्ताको तस्तै अवस्थामा रहे झैं देवकोटाका कतिपय कविता र तिनमा प्रयोग गरिएका शब्दहरू पनि मलाई बेलै बराबर लाग्छ ।

मैले नबुझेका देवकोटाका कतिपय कविताहृरूमध्ये एउटा कविता हो 'पागल' । कलेज-विश्वविद्यालय पढ़ाउऩे अहिलेका माननीय विज्ञ प्रा.डा.हरूले तिनका विद्य़ार्थीगणलाई मैले नबुझेको देवकोटाको 'पागल' कविता छर्लङ्ङै पार्न सक्लान् वा सकेका छन् के ता ? यसको उत्तर मजस्तो टपरटुँइय्ये समालोचकले के दिन सक्छु र ! मैले पनि मेरा पूर्व विद्यार्थीगणलाई देवकोटाको 'पागल' छर्लङ्ङै पार्न सकेँ के ता भन्ने प्रश्नले मलाई अहर्निश कोपरिरहन्छ । हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, देवकोटाको 'पागल' कविताभित्रका कतिवटा शब्दको अर्थ खुट्याउन मैले मेरो जिब्रो दुवै दाँतले टोक्नुपरेकोले सबैका निमित्त 'पागल'मा निहित कठिन शब्दहरूका अर्थ कनीकुथी भए पनि यहाँ राख्ने धृष्टता गरेको छु ।

पहिलो अनुच्छेद -
१. पागल - [सं. वि.] बहूलाहा, उन्मत्त; विक्षिप्त, मगज सड़किएको, छँटाहा, अर्द्धसिल्ली, सन्की, हावा खुस्किएको । [ना.] गधाको बच्चो, गाँड़ु; सन्की व्यक्ति, सन्काहा मान्छे ।
२. जरूर - [अ.,जुरूर, ना.] अवश्य, पक्का, निश्चय । [क्रि. वि.] अवश्यै नै, पक्का पनि, पक्कै, निःसन्देह, साँच्चासाँच्ची । (वि.) आवश्यक, चाहिँदो, जरूरत ।
३. हाल - [अ., पुं.] अवस्था, दशा, स्थिति, वर्तमान काल, चालू समय; हालत, परिस्थिति; समाचार, खबर ।

दोस्रो अनुच्छेद -
१. शब्द - [सं. पुं.] - आवाज, ध्वनि; सार्थक पद, लवज, वाक्यसंयोजन, गीत; वाक्य ।
२. दृश्य - [सं. न.] स्थूल वस्तुको एउटा रूप, आँखाले देख्न सक्ने वस्तुहरूको समष्टि, हेरिने प्राकृतिक वा कृत्रिम वस्तुको समूह; दर्शनीय थलो । [वि.] देख्न वा हेर्न सकिने, चाक्षुस गेय र स्पष्ट; सुन्दर. दर्शनीय ।
३. वास्ना [सं. वि.] आफै थाहै नपाई मनमा घुसिरहेको आशा वा तिर्खा, एक प्रकारको ज्ञान; सांसारिक सुखभोग; कामना, चाहना; अनौठो ढङ्गले हुने अनुभव, भावना ; मिथ्याविचार ।
४. स्वाद [सं. पुं.] जिब्रामा पर्दा वा छुवाउँदा रसेन्द्रियले गर्ने अनुभव; अमिलो, पिरो आदि रसको प्रतिक्रिया ।
५ अस्तित्व [सं. नपुं.] सत्ता, सत्व, विद्यमानता, उपस्थिति, छ भन्ने पना ।
६. लोक [सं. पुं.] सामाजिक अवस्था-आपसी भावना-समान संस्कृति भएको मानिसको समुदाय, समाज; जनता, दुनियाँ; संसार. जगत; स्वर्ग-मर्त्य-पाताल, त्रिलोक; चौधभुवन ।
७. आकार [सं. पुं.] आकृति, स्वरूप, किसिम, बान्की, कद, रूपरङ्ग. मूर्त्ति ।
८. जल-किनार [कविताको अर्थमा] नदीको तट वा किनार ।
९. जल-चिप्ला [कविताको अर्थमा] नदी किनारमा छ्वाल्लै-छ्वाल्लै उर्लिने छालले भेटेर चिप्ला भएका ढुङ्गाहरू ।
१०. कोमलाकार - [कोमल+आकार, सं. वि.] देख्दा, सुन्दा वा छुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने खालको, मुलायम भएको, सुकुमार रहेको ।
११. पाषाण [सं., पुं.] पत्थर, शिल, चट्टान, ढुङ्गो ।
१२. चाँदनी - [चाँद्+नी, ना.] चन्द्रमाको कान्ति, जून, चन्द्रज्योति, चन्द्रकिरण, चँदुवा ।
१३. स्वर्ग [सं. पुं.] सुरलोक, देवलोक,, सुखधाम, परलोक ।
१४. जादूगर्नी [जादुगर+नी, स्त्री.] जादूको काम वा विद्या वा शिल्प, जादुकर्म, जादुविद्या; जादुगरको स्वभाव वा पेशा वा काम ।
१५. पत्रिएर [पत्र+इ+एर, क्रि.] पत्र-पत्र परेर, उप्किएर ।
१६. नर्मिएर [नर्म+इ+एर, क्रि,] नरम वा लुलो भएर ।
१७. झल्किएर [झल्क+इ+एर, क्रि.] टल्केर, चम्केर ।
१८. झल्किएर [झल्क+इ+एर क्रि] देखिएर, तहरिएर, टहटह भएर ।
१९. बल्किएर [बल्क+इ+एर, क्रि.] टल्केर ।
२०. मूक [सं., वि.] उमेर पुगेर पनि बोली नफुटेको, लाटो, मौकामा बोल्न नसक्ने निमुखा ।
२१. चकोर [सं., पुं.] तित्राजस्तो बुट्टे, रातो टुँड़े, गाजले आँखा हुने र आगाको फिलिङ्गो खान सक्ने, त्यस्तै चन्द्रमा देख्दा मग्नमस्त बनेर नाचगान गरिरहने पहाड़ी चरो, च्याखुरा ।
२२. जुनेली [जून+ए+ली, वि.] टकटक जून भएको, सफासँग उज्यालो जून लागेको। [ना.] जूनको प्रकाश, चन्द्रमाको उज्यालो ।
२३. भाषा [सं. स्त्री.] आफ्नो मनको भाव अरूले बुझ्न सक्ने गरी प्रकट गर्ने शब्द, वाणी ।
२४. छाल [सं., क्षाल, ना.] नदी-सागर-तलाउ आदिको लहर. तरङ्गलहरी, ज्वार, रूख बिरूवाको बोक्रो ।

तेस्रो अनुच्छेद -
१. चतुर [सं, वि.] चतुरो, चनाखो, बाठो; छिटोछरितो, फुर्तिलो, प्रिय, सुन्दर ।
२. वाचाल [सं., वि.] वाकपटु, वाकचातुर; बढ़ता बोल्ने, बकबके ।
३. शुद्ध [सं. वि.] चोखो, पवित्र; निर्मल; निष्कपट, निश्छल, त्रुटिरहित ।
४. गणित - [सं. न.] अङ्कशास्त्र, हिसाबकिताब जान्ने शास्त्र, गिन्ती सिकाउने विद्या, गणना । [वि.] हिसाब गरिएको, गणना भएको ।
५. पाँच इन्द्रिय यसका पाँच भेद - स्पर्श (Sense of touch), रस (Sense of taste ), घ्राण (Sense of smelling), आँखा (Sense of seeing) तथा कान (Sense of hearing) तथा शब्द (नेत्र, नाक, जिब्रो, कान र त्वचा) ।
६ छैटौं इन्द्रिय (the sixth sense) - छैटौं इन्द्रिय देखिँदैन तर यसको अस्तित्व अनुभव हुँदछ। हाम्रो कपालको मुन्तिर एउटा कोमल क्षिद्र हुन्छ जसलाई ब्रह्मारन्ध भनिन्छ । यो मनको केन्द्रविन्दु पनि हुनसक्छ । छैटौं इन्द्रिय सुप्तावस्थामा हुँदछ । भृकुटी (आँखीभौं) माझ निरन्तर र नियमित ध्यान गर्नाले आज्ञाचक्र जाग्रत हुन्छ र हाम्रो छैटौं इन्द्रियलाई टेवा मिल्छ । छैटौं इन्द्रिय जागृत भएमा व्यक्तिको मस्तिष्कको कार्यदक्षता दोबर-तेबर बढ़्छ । आफ्नो वरिपरि भइरहेको गतिविधिलाई पूर्वाभास गर्न सक्दछ ।आफू वरिपरिका नकारात्मक शक्ति समेत सुइँको पाउन सक्दछ ।
७. गिदी [सं., गोछ ना.] प्राणीको खप्परमा हुने-सुखदुःख-राम्रोनराम्रो कुराको ज्ञान दिने-लयालु पदार्थ, मथिङ्गल, मस्तिष्क, मगज ।
८. मुटु [सं मुष्ट, ना.] जीउभर रक्तसञ्चार गराउने छातीभित्रको प्राणसञ्चारी मुख्य अवयव हृद, हृदय ।
९. सिवाय [सिवा, ना. यो.] बाहेक, सिवा, विना, अतिरिक्त ।
१०. हेलेन [ना.] ट्रयका राजकुमारले स्पार्टाकी रानी हेलेनलाई अपहरण गरेर ट्रय नगर पुऱ्याए । यो अपमानको बदला लिन ग्रीकका राजाहरू र वीरहरू मिली ट्रयमाथि आक्रमण गरे । ट्रयबाट फर्किँदाको समयमा उ नको जहाज आँधीबेह्रीमा फँस्यो । हेलेन अच्चाकाली सुन्दरी थिइन् ।
११. पद्मिनी [ना.] चित्तौड़का राजा रत्नसिंह (रतनसेन)-की रानी पद्मिनी पद्मावती नाउँले पनि परिचित थिइन् । १५४० ख्रीष्टाव्द मालिक मुहम्म्द जायसीको महाकाव्यमा रानी पद्मिनीको वर्णर पाइन्छ। तिनी सिंहल राज्य (श्रीलङ्का) की बेहद् सुन्दरी रानी थिइन् । चितौरका राजपुत राजा रतन सेनले हिरामन नाम भएको सुगाबाट उनको रूपको वर्णन सुनेर पागल भई पद्मिनीलाई आफ्नो हात पारेर बिहे गरी चितौरमा लिएर आए । तत्कालीन दिल्लीका सुल्तान अलाउद्दिन खिलजीले उनको रूपको कुरा सुनेर तिनलाई हात पार्ने उद्देश्यमा चितौर आक्रमण गरे ।)
१२. बलिया [बल+इया, वि.] प्रशस्त बल भएका, बलिष्ठ, धेरै खप्ने, मजबूत, दह्रो; धन-जनले सम्पन्न ।
१३. गद्य [सं. न.] पद्यको जस्त छन्द-लय-गण-मात्रा-वर्ण-उच्चारण आदिको गणना गर्ने नियमसँग कुनै सम्बन्ध नरहने साहित्यिक रचनाभेद, अनौपचारिक र निबन्धनमय साहित्य-रचना-भेद, सामान्य वार्तालापका वा वर्णनमा क्रम मिलाई लेखिएको रचना ।
१४. तरल [सं. वि.] पानी भएको, पानीजस्तो, बग्ने स्वभावको, झोलदार, स्थिर हुन नसक्ने, चञ्चल, चलनशील ।
१५. पद्य [सं. न.] मात्रा-वर्ण-गण आदिको निश्चित नियमअनुसार प्रस्तुत हुने साहित्यिक रचना, छन्द-मय रचना, शास्त्रीय कविता; गेयात्मक विविध चरण र प्रवाहमा रचिने कविता, गीतिकाव्य । [वि.] पदसम्बन्धी, शब्दसम्बन्धी ।
१६. जम्नु [अनु जम्+नु क्रि.] दूध आदि तरल वस्तु बाक्लो वा ठोस बन्दै जानु, ठोस हुनु, कठोर हुनु; पानी आदि चिज अन्यत्र बगन नपाएर एकत्रित बन्नु, जम्मा हुनु; मस्त हुनु, गम्कनु, जम्कनु; स्थायी बनेर रहनु, नडग्ने रुपले बस्नु वा अड़्नु; थुप्रने ।
१७. पग्लिनु [पग्ल+इनु, सं. प्रगलन, क्रि.] बाक्लो-खदिलो घन वस्तु रुपमा उत्रनु, गल्नु बग्ने हुनु; केही रुपमा दानी वा दयावान हुनु ।
१८. सङ्लनु [सङ्ल+नु, क्रि.] सफा हुनु, छ्याङै हुनु ।
१९. उल्टो [उल्ट+ओ, वि.] सामान्यतया मिल्नु पर्ने कुरा नमिल्ने, बिब्ल्याँटो विपरीत, विरोधी वा नमिल्दो बानीबेहोराको, अधबेस्रो, अर्धङ्गी ।
२०. ठोस [सं. स्थास्नु, ना.] मुखभरीको जवाफ, ठाड़ो जवाफ । [वि.] वास्तवमा भित्र रित्तो वा खोक्रो ।
२१. बाफ [सं. वाष्प,] पानी तातेर धूँवाको रुपमा मास्तिर उठेको सूक्ष्म जलकणको समूह; शरीरबाट निस्केको तातोपन ।
२२. बाक्लो [सं. बल्कल, वि.] पन्यालो वा फिक्कापन कम भएको, गाढ़ा, घना, सघन; खूब जमेको; पातलोपन कत्ति नभएको, मोटोपनाको ।
२३. पातलो [सं. पत्रल, वि.] तरल, बग्दो, पन्यालो; मोटाइ वा बाक्लोपन कम भएको; सिकुटे, खियाउटे; फाइफुट्टे ।
२४. ढुङ्गा [सं. ध्वान, ना.] माटो शताब्दीयौंसम्म जमी-जमी साह्रै कठोर रुपमा परिणत भैसकेको साररहित ढिक्को, पत्थर, पाषाण, शिला, चट्टान, ढुङ्गो; साँध, सिमाना ।
२५. वस्तु [सं. न] अस्तित्ववाला जुनसुकै चीज, पदार्थ; द्रव्य, सम्पत्ति; मुख्य कुरो, सारतत्व ।
२६. यथार्थ [सं. वि.] जस्ताको तस्तै, हुनु पर्ने तस्तै, उचित, ठीक; सही, साँचो, खास । [ना.] साँचोपना, वास्तविकता ।
२७. सपना [सं. स्वप्न,] निद्रामा हँसले अनुभव गर्ने विविध घटना र दृश्य, स्वप्न; रमाइलो भविष्यको कल्पना; उदेक, असम्भव; मीठोसपना ।
२८. पान्ढिकी [पानढिकी, पानी+ढिकी, ना.] पानीको वेगद्वारा चलाइने ढिकी, त्यस्ता यन्त्रले टक मारेको मोहर वा डबल (एक रुपैयाँको नेपाली मुद्रा) ।
२९. बाटुलो [सं., वि.] गोलाकार मिलेको, डल्लो प्रकारको ।
३०. वेग [सं., पुं.] मन-बुद्धि आदिको आवेग, जोश ।
३१. लाटा [लाटो+आ, वि.] लट्ठक, लाटो; बेला वा उमेर भएर पनि बोली नफुटेको, अबोला ।
३२. वाचाल [सं. वि.] वाकपटु; वाक् चतुर; बढ़्ता बोल्ने, बकबके ।
३३. नशा [नसो+आ, ना.] शिरा, नसो, नाड़ी, रेशा, नसा ।
३४. नशा ढीलो कविको भावनासित पौंठाजोरी खेल्ने कविको निजी अन्तःस्करणको बाई पङ्खी घोड़ा हो जो लगामहीन झैं बेफिक्री चञ्चल भएर दुगुर्छ ।

चौथो अनुच्छेद -
१. राप [सं. रवि+ताप, ना.] आगो-घाम आदिको तातोपना, ताप, आँच ।
२. राप तापेर भर्खर भर्खर टिम्टिमाउँदै गरेको ताराहरूको रमिता हेरेर ।
३. तरङ्गी [सं., वि.] तरङ्गअऩुसार चल्ने, छटाँहा, मनमोजी; छाल भएको; आफ्नो विचारअनुसार जता पनि लाग्ने, छिनछिनमा विचार र निर्णय फेरिरहने खालको।
४. भष्मेश्वर [सं., पुं.] हिन्दूधर्मको किंवदन्तीअनुसार भष्मेश्वर नामक राक्षस पार्वती पाउनका लागि हजारौं वर्ष भगवान् विष्णुको तपस्या गर्छ । त्यसपछि वरदान दिने क्रममा भष्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी (पूर्व नेपालको खोटाङ जिल्लामा हलेसी-मातृका गुफा अवस्थित छ) आएपछि, शिवपार्वती गुफाभित्र पस्छन् । भष्मेश्वर पनि त्यहीँ पस्छ । तर विष्णुले पुनः जाल रची भष्मेश्वरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यहीं विराजमान भएका किंवदन्ती रहेको छ ।
५. टोल्हाएको [टोल्हा+ए+को, क्रि..] एकोहोरिएको वा वाल्ल परेर हेरेको हेऱ्यै हुनु, बिलखवन्द परेको, जिल्ल परेको ।
६. भूत [सं., पुं.] एक देवयोनि; एक प्रेतयोनि; एक शिवगण; प्रेतात्मा । [न.] पृथ्वी आदि पाँच महाभूत; प्रेमतत्व; बितिसकेको वा गुज्रेको बेला, अतीतकाल । (वि.) बितेको, गुज्रेको, गत; विगत; मिलको; प्राप्त भएको, जन्मेको, उत्पन्न; समान, तुल्य ।
७. तुषारा [सं. तुसार+आ, स्त्री.] तुसारो, शीत; शीतविन्दु; ठण्डी ।
८. छिर्का [प्रा., क्षरका, ना.] छिर्को, मसिनो थोपो, 'छिर्को'-को बहुवचन शब्द ।
९. आत्मा [सं. आत्मन्, ना.] शरीरलाई जीवित राखी क्रियाशील तुल्याउनेअतीन्द्रिय अभौतिक शक्ति, अन्तस्करणसम्बन्धित क्रियाको बोधकसत्ता, जीव, जीवात्मा, चैतन्यमय खास तन्त्र, चित्त, हृदगत समस्त शक्तितत्व, अन्तस्करण़ अन्तरात्मा, जुनसुकै चीजको चुरो, केन्द्रित सार, मन, बुद्धि, ब्रह्म, सूर्य, अग्नि, वायु, धर्म, विवेकमय चिन्तन, पुत्र, छोरो ।
१०. बुद्ध [सं. पु.] नेपालको तराई लुम्बिनीमा शाक्य सम्राट महाराज शुद्धोधन र मायादेवीबाट जन्मेका-बौद्धधर्मका प्रवर्तक विश्वप्रसिद्ध एकजना महापुरुष, गौतमबुद्ध; मानिएका दश अवतारमध्येका नयाँ अवतार, बुद्धावतार ।
११. छटाएको [छट+आ+ए+को, क्रि.] पागलपना, सिल्लीपना ।
१२. वसन्त [सं., स्त्री.] ऋतुराज, ऋतु वा मुख्य ।
१३. कोकिल [सं., पु.] कोइलीचरी, कुहु, कोइली ।
१४. बहुलाहा [बहुला+आहा, वि.] बौलाएको, सिल्ली बनेको।
१५. सुनसान [सं. शून्य+शान्त, वि.] आवाज खलबली कत्ति केही नभएको, केही पनि नभएजस्तो, चकमन्न, सान्नेसुन्ने । [ना.] चकमन्न स्थिति, सन्नाटा, शून्यसान्य, सुनसान ।
१६. औंसी [सं, अमावसी, स्त्री.] चन्द्रमासको कृष्णपक्षको अन्तिम तिथि, अमावश्या ।
१७. निशास [सं., ना.] श्वाश न बास ।
१८. प्रलय [सं., पु.] मृत्यु, मरण; संहार, सर्वनाश, क्षय ।
१९. वेदना [सं., स्त्री.] शरीर वा मनमा पर्ने कड़ा दुःखको अनुभूति, पीड़ा, कष्ट ।
२०. ठिंगुरा [ठिङ्गो+उरा, ना.] अपराधीलाई थुन्दा भाग्न-उम्कन नपाउने गरी खुट्टा पस्ने प्वाल भएका दुइ काठको बीचको खुट्टा पारी ताल्चा मार्ने साधन, तुरूङ, ठिउँरो, ठिङ्गरो ।
२१. तूफान [अ, पु] समुद्री हावा, आँधी; आँधीबेरी, पानीबतास; गञ्जागोले , गड़्बड़े ।
२२. बुज्रुग [फा., वि.] जानिफकार; बुज्रुक, जानेसुनेको, जान्नसुन्ने, पाको, अनुभवी; जेठो, बूढ़ो ।
२३. राँची [ना.] उराँव शब्द 'रअयची'-बाट अपभ्रंश भई बनेको राँची शब्दको अर्थ हुन्छ, 'होस्, छोड़िदिनू' । पौराणिक कथानुसार, आत्मासित भनावैरी भएपछि एकजना खेतीवालले आफ्नो बाँससित आत्मालाई पराजित गऱ्यो । आत्मा र अयची... र अयची भन्दै हरायो । 'रअयची' राची हुँदै आजकको राँची भएको हो । भारतको एउटा महानगर, झारखण्ड प्रदेशको राजधानी, पहिले यो बिहार राज्यको हिस्सा थियो, राँचीको कांके भन्ने ठाउँमा The Central Institute Psychiatry (CIP) नाउँमा पागलखाना छ, जुन पागलखाना १७ मई १९१८ मा ब्रिटिशले पहिलो विश्वयुद्धका मनोरोगीहरूका निमित्त स्थापित गरेका थिए । विश्वको यो पहिलो पागलखाना (मानसिक अस्पताल)का प्रथम मेडिकल सुप्रिण्टेण्डेण्ट कर्णल ओवेन एआर बर्कले-हिल थिए ।
२४. लम्पसार [लम्बा+पसार, ना.] हातखुट्टा पसारेर सुतिरहने काम या ढङ्ग । [वि.] त्यसरी सुतेको । [क्रि. वि.] लमतन्न ।
२५. बेसरी [बेस+गरी, क्रि.वि.] खूबसित, राम्ररी; छ्यालछ्याल, मनग्यै ।
२६. साल [फा., पु.] वर्ष, बर्ख, बाह्रमहिनाको समूह, सम्वत् ।

पाँचौं अनुच्छेद -
१. नवाब [अ., नव्वाब, ना.] मुगलकालीन इतिहासअनुसार कुनै प्रवेशमा बादशाहबाट नियुक्त भएको शासक प्रतिनिधि । [वि.] ठूलोबड़ो; ठाँटबाँट साथ बस्ने, खूब रवाफ गर्ने; नवाफ ।
२. मदिरा [सं., स्त्री.] सुरा, मद्य, शराब ।
३. खून [फा., पु.] रगत, रक्त, काटमार ।
४. छिमेकी [छिमेक+ई, वि.] छिमेकमा बसेको, छिमेक वरपरको, चऱछिमेकी, गाउँले, गाउँघरे।
५. लाश [फा., स्त्री.] मरेका मानिसको जीउ, शव, मृतदेह; सिनु, मुर्दा । राजा - [सं., राजन, पुं.] महाराज, राज्यको सर्वेसर्वा व्यक्ति ।
६. राजा [सं. राजन्, पुं.] राजतन्त्रात्मक देशमा वंशपरम्परानुसार राज्याधिकार भएको व्यक्ति, राज्यको सर्वेसर्वा व्यक्ति, महाराज, महाराजधिराज ।
७. गरीब [अ., वि.] गरिप, निर्धन, दरिद्र; अनाथ. दुःखी, दीनहीन ।
८. सिकन्दर [ना.] सिकन्दर या अलेजाण्डर ग ग्रेट मेसिडोनियाका ग्रीक प्रशासक थिए । यिनी अलेकजाण्डर तृतीय तथा अलेकजाण्डर मेसेडोनियन नाउँले पनि प्रख्यात थिए । इतिहासमा यिनी कुशल र यशस्वी सेनापतिहरूमध्ये एकजना मानिएका छन् । आफू मरूञ्जेल यिनले सबै भूमिहरूबाट प्रायः आधै भूमि जितेका थिए । यिनले आफ्नो कार्यकालमा इरान, मिस्र, मेसोपोटोमिया, फिनिशिया, जुदेआ, गाझा, बक्ट्रिया र भारतमा पञ्जाब (जसका राजा पुरू थिए)- सम्म विजय हासिल गरे पनि पछि मगधको विशाल सेनासित डराएर फर्केका थिए ।
९. गाली [सं., गाली, पुं.] सराप, दुर्वचन, कङ्कसूचक बोली, हप्की. धम्की ।
१०. महात्मा [सं., वि.] विचार-बुद्धि-विवेक-स्वभाव र व्यवहार साह्रै उत्तम भएको सर्वोत्कृष्ट, अति उदार मन भएको । [ना.] महान् आत्मावाला व्यक्ति, महापुरूष ।
११. भनाउँदा [भन्+आउँदा, वि.] नाममात्रको, तथाकथित; भन्नमात्र पर्ने, भनिटोपलिने ।
१२. निन्दा [सं., स्त्री.] खोट वा दोष बताउने काम; कुरो काट्ने काम; घृणा, बदनामी, अपवाद ।
१३. नगण्य [सं, वि.]गन्नै नपर्न, गन्ने नसुहाउने; ज्यादै, थोरै, निकृष्ट, तुच्छ ।
१४. सातौं [सं सप्त, सात+औं. ना.] छ र एकको योगसङ्ख्या, सातको अङ्क, सप्त, [वि.] छ र एक जोड़िँदा गनिने, सात ।
१५. आसमान [फा, पुं] आकाश, गगन, देवलोक,स्वर्ग; वैकुण्ठ ।
१६. सातौं आसमान कुरआनमा सातवटा आकाशको कुरा गरिेएको पाइन्छ । यस कुरालाई विज्ञानले समेत स्वीकार गरिएको कुराको पनि उठान गरिएको छ। सातवटा आसमानहरूमध्ये पहिलो आसमानको नाम 'रफीअ' हो भने पानी वा धूँवाजस्तो रङ्गको हुन्छ । दोस्रो आसमान 'कैदूम' ताँबाको रङ्जस्तो हुन्छ। तेस्रो ' माटून'को रङ्ग पित्तले रङ्गको, चौथो चाँदी रङ्गेको नाम 'अरफलून', सुनौलो रङ्ग भएको पाँचौं आसमानको नाम 'हय्यून', छैटौं आसमानको नाम 'उरूस' हरियो सब्जीको रङ्गजस्तो हुन्छ भने सातौं आसमान 'उज्माअ' सेतो मोती रङ्को हुन्छ) ।
१७. तारीफ [अ, स्त्री.] प्रशंसा, बखान ।
१८. पूल [पुल्+अ, ना.] नदीनालामा वारपार गर्न मिल्ने गरी वारि-पारिको किनारमा खम्बा-लट्ठा आदि गाड़ी तिनकै भरले नदीको माथि बऩाइएको बाटो, पक्का साँघु, सेतु; तुइन, झोलुङ्गे, पुलेसो, तुर्लुङ आदि साधन, पुल ।
१९. महापण्डित [सं., पुं.] ठूलो विद्वान, विद्वद्वर ।
२०. महामूर्ख [सं., वि.] पटमूर्ख हुनाको भाव वा क्रिया वा प्रक्रिया ।
२१. स्वर्ग [सं, पुं.] सुरलोक, देवलोक, उत्कृष्ट प्रकारको सुख, पूर्ण सुख, चैन, कुनै किसिमको दुःख-अशान्ति-अभाव आदिले असर पार्न नसक्ने ठाउँ, सुखधाम, सामवेद, सामगान, मृत्युपछि पुगिने भनिएको ठाउँ, परलोक, सोर्गे ।
२२. नरक [सं., पुं.] पापीलाई मरणोप्रान्त दण्ड दिइने ठाउँ, दर्गा, यमलोक, दुःख-कष्टले जिन्दगी बिताउनु पर्ने थलो, अत्यन्त कष्ट-पीड़ा सहनुपर्ने ठाउँ; घर-व्यवहार- जीवन आदि सबथोक (रिस वा घृणाको अर्थमा), मल, विष्टा, अचाक्ली घीनलाग्दो फोहरी ठाउँ, यमलोकका प्रसिद्ध एक्काईस नरकको समुदाय ।
२३. धर्म [सं., नपुं.] व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृति, स्वभाव; नियत, नीति; स्वाभाविक गुण, सहज वृत्ति; श्रेय, सुकृत; नियमित र निर्धारित काम वा व्यवहार; सुख र स्वर्ग प्राप्त हुने भन्ने लोकविश्वासको सुकर्म, पुण्यकर्म; लोकहितका लागि स्वीकारिने कर्त्तव्य-कर्म, सदाचार; सदाचार; सत्कर्म; ईश्वर प्राप्ति वा सदगतिका लागिको शास्त्रनिहित कर्म; स्वधर्म, सामूहिक कर्त्तव्य; कुनै मान्यजन वा महापुरुष वा आचार्य वा ऋृषि वा ग्रन्थनिर्दिष्ट परलोक-सुख प्राप्ति हुने उत्तम कार्य; गुण-परिणाम-स्थिति-आवश्यकताऩुसार सर्वथा उचित ठहरिने काम; उचित-अनुचितको विवेक गर्न सक्ने चित्तवृत्ति; चरित्ररक्षा; परोपकार; कुनै महात्मा वा महापुरुषद्वारा प्रतिपादित सिद्घान्त ।
२४. पाप [सं., न.] खराब काम, अशुभ कार्य, अधर्म, दुष्कर्म, कुकर्म, दुष्टता, पातक; कुकर्मको फल, कुफल; कसुर, अपराध; दोष, कसर; खराब नियत, कुनीति; झोज, झञ्झट; हिंसा, चोट; अर्कालाई पारिने हानि; चरित्रपतन वा नैतिकपतन हुने कामकाज ।
२५. चलाक [फा. चालाक, वि.] चलाख, चतुर ।
२६. बिलकुल [अ., वि.] सबका सब, भए भरको, सिरीखुरी ।
२७. लाटा [लाटो+आ, ना.] मकै पाक्ने मौसममा मकैका बोटमा बस्ने पहेँलो कीरो, मकैकीरो; बालकहरूको खेलमा प्रयोग हुने एक शब्द । [वि.] लट्ठक, लाटो ।
२८. उन्नति [सं., स्त्री.] उन्नत हुनाको अवस्था वा भाव वा क्रिया, बढ़ीबढ़ाउ, अभिवृद्धि, समृद्धि, कुनै क्षेत्रीय उद्योग, उद्यम; व्यवसाय, उदय, गरुड़की स्त्री ।
२९. अवनति [सं., पुं.] ढल्काइ, लत्राइ, निहुरिने पना वा काम, नम्रता, विनय, नमस्कार, ढोगाइ, पतन, कमी, न्यूनता, अधोगति, हीनदशा, दुर्दशा, आपत्ति ।
३०. मोलमोलाइ [मोल+(द्वि.)+आइ, भा.] मोलतोल, भाउताउ ।
३१. उलट-पलट [उल्ट+पल्ट, ना.] उल्टापाल्टी, ठूलो परिवर्त्तन, अदलाबदली; परिवर्त्तन, हेरफेर, गोलमाल, अव्यवस्था; उलटपुलट ।
३२. चन्द्रहात [सं.,वि.] वेसूर, विक्षिप्त moonstruck, पागलपन ।

छैटौं परिच्छेद -
१. अन्धा [सं. अन्ध,वि.] अन्धो (ब.ब.) , नेत्रहीन ।
२. दुनियाँ [अ, दुनियाँ, ना.] जनता, जनसमुदाय, प्रजा, रैती, विशव, संसार, लोक, ब्रह्माण्ड ।
३. अगुवा [अगि+उवा, वि.] अगि लाग्ने वा हिँड़्ने, अघिसरा, सम्मुख पर्ने, बाटो देखाउने, मार्गदर्शक, अग्रगामी, नेतृत्व गर्ने; काम गर्न पछि नपर्ने । [ना.] नेता, नाइके, मुखिया ।
४. गुफा [सं. गुहा, ना.] ककारो-पहरो-चट्टान-ढुङ्ग्यान आदिमा बनेको सुरुङ, ओड़ार, गुहा, गह्वर, ऋृषि-मुनि वा जोगी-सन्यासी बस्ने कुटा, बाघ-भालू-अजिङ्गर आदि भयानक जन्तुको आश्रय ।
५. तपस्वी [सं.,वि.] तपस्या गर्ने, तापस, तपसी; विचरो, बबुरो; कष्टभागी; अत्यन्त मिहिनेत गरिरहने । [ना.] नारदमुनि; योगी; सन्यासी ।
६. भगुवा [भाग+उवा, वि.] भागेको, भाग्ने, भगौटे; लाछी, कातर, डरछेरुवा ।
७. मिथ्या [अव्य.] असत्य, असाँचो, झूट, झुट्टो ।
८. मञ्च [सं.,पुं.] प्रायः धेरै जनाले देख्न मिल्ने गरी उच्च ठाउँमा तैयार गरिएको आसन वा फलैंचा आदि मण्डप. रङ्गमञ्च, रङ्भूमि ।
९. नटुवा नटुवा - [नट+उवा, ना./वि.] नट, नचुवा ।
१०. विफल [सं., वि.] फलहीन, निष्फल; व्यर्थ, निरर्थक; असफल, अनुत्तीर्ण । [न.] फल नभएको रुख ।
११. सफल [सं.,वि.] फलसहितको, फल लागेको; गरिएका कामको सिद्धि पाएको, कृतकार्य; फल राम्रो भएको, सार्थक ।
१२. प्रगति [सं., स्त्री.] अघिल्तिर लाग्ने वा बढ़्ने काम वा क्रिया वा प्रक्रिया, उन्नति, उत्थान; विकास ।
१३. अगति [सं., स्त्री.] अज्ञान अवस्था, अबोध अवस्था, अनजान स्थिति; नराम्रो दशा, दुर्दशा, नरक, दुःखस्थिति । [वि.] गतिहीन ।
१४. ऐंचाताना [ऐंच+तान्+आ, क्रि.] खिंचातानी, तानातान ।
१५. दीवाना [फा., पु.] पगला, बहुला, सिल्ली; अर्द्धविक्षिप्त, प्रेमिकाप्रति मरिहत्ते गर्ने प्रेमी; लग्गू।

सातौं परिच्छेद -
१. निर्लज्ज [सं., वि.] लाजसम्म नभएको, पकच्चरो, सरमछाड़ा ।
२. नेतृत्व [सं. हड़्ड+ई, ना.]
३. नीरस [सं., वि.] रसहीन, सुक्खा; रसिलोपना नभएको, शुष्क; बिरसिलो; बेस्वादिलो, भाव-भाषामा मीठो रमाइलोपन नघुसेको ।
४. रसना [सं., स्त्री.] जिब्रो; कन्ननी; रशना; तरल पदार्थ बहेर मुखभित्रबाट बाहिर निस्किनु ।
५. जन-अधिकार [जन+अघिकार, ना.] जनताको खास अघिकार, मानिसहरूको मौलिक हक, मानवाधिकार, जनाधिकार, जीवनाधिकार; जनअधिकार ।
६. डँड़ाल्नो [डँड़ाल्नु+ओ; ना.] डँड़ाल्नु; डँड़ाल्लो ।
७. भँगेर-टाउके [भँगेर+टाउके, ना.] भँगेराकैजस्तो झीना टाउको हुने ।
८. विवेक-वीर [सं., वि.] असल वा खराब हो भनी छुट्याउन सक्ने बुद्धि वा विचार वा क्षमता वा ज्ञान हुने ।
९. जाली [जाल+ई., वि.] कपट-झूठो र जालसाज गर्ने नक्कली, जालन्धरी ।
१०. झूठ [प्रा., झूट, ना.] झूट, असत्य कुरा । [वि.] मिथ्या ।
११. ललकार्छ [ललकार+छ, क्रि.] लड़ाइँ-घम्साघम्सी आदिका लागि आह्वान गर्छ, हाँक लाउँछ । १२. गोल [प्रा., ना.] अँगार ।
१३. निमुखा [निमुख+आ, वि.] निर्धो, निर्बल, शक्ति, वा साधन नभएको; अनाथ, अकिंचन, सीधासाधा, निमुखो ।
१४. जहर [फा. जह्र, स्त्री.] हलाहल, कालकुट, गरल, विष ।
१५. अमृत [सं., वि.] नमर्ने, मृत नहुने, अविनाशी, नमरेको ।
१६. रौं [सं. रोम, ना.] रोम, रउँ ।
१७. गर्गन [ग्री., - ई; स्त्री.] भयङ्कर, डरलाग्दो । गर्गनलाई नेपालीमा किचकन्नी / किचकन्ने, [सं. कीचक कन्या, स्त्री.]-को शब्दकोशीय अर्थ हुन्छ, तरूणी- स्त्रीका रूपमा दोबाटो-चौबाटो-एकान्तथलो आदिमा पर्ने प्रेतयोनि वा प्रेतात्मा ; खुट्टाको पौंजा पछिल्तिर फर्किएको पैंताला नचाली युवकसँगै हिँड़्ने प्रेतसुन्दरी, अगति परेर मरेकी भोगकुण्ठिता स्र्त्रीको प्रेतात्मा । हिन्दी भाषामा ' गर्गन'-लाई 'चुड़ैल' (स्त्री., ना.) भनिन्छ । जसको हिन्दी शब्दकोशीय अर्थ डायन, राक्षसी, भूतकी स्वास्नी, अत्यन्त दुष्ट स्वभाव भएकी स्त्री हुन्छ । [भारतीय सपमहाद्विप र केही दक्षिण-पूर्वी एशियाको लोककथामा एक प्रकारको दानव वा राक्षसीपन पाइन्छ । महिलाद्वारा निर्मित यस्ता स्वभावका आइमाईहरू प्रसवको समयमा मर्छन् । यिनीहरूको रूप घिनलाग्दो हुनाका साथै डरलाग्दो हुने बताइएको छ । तर तिनले सुन्दर स्त्रीको रूप पनि धारण गर्न सक्छिन् । यिनीहरूलाई उल्टा पैंतालाको आधारमा चिन्न सकिन्छ। अङ्ग्रेजहरूले प्रेत नमानेर भूत मान्ने हुनाले 'गर्गन'-लाई (ghost) भूत वा दुष्टसत्व (evil-spirit) मान्दछन् । ग्रीक पुराणविद्यामा 'गर्गन'-लाई यसरी परिभाषित गरिएको पाइन्छ - gorgon (n) - "In Greek mythology, a 'Gorgon' (Ancient Greek Gorgon / Gorgos) is mythical creature portrayed in ancient Greek literature, While descriptions of Gorgos vary and occour in the earliest examples of Greek literature, the term commonly refers to any of three sister who had hair made of living, venomonous snakes, as well as a homfying visages that turned those who beheld them to stone. Traditionally, while two of the Gorgons were immortal, Stheno and Eurayale, their sister Medusa was not and she was slain by the demigod and hero Perseus.
The name derives from the Ancient Greek word gorgos, which means 'grim or dredful', and appears to come from the same root as the Sasnkrit word gargana (गर्जन= [सं., न.] ठूलो स्वरले कराउँदाको ध्वनि, गर्जाइ, हप्की, खप्की, मेघ वा सिंह आदिको गर्जना, हुङ्कार, गड़्याङ्गुड़ुङ), which is defined as a guttural sound, similiar to the growling of a beast, thus possibly originating as an onomatopoeia.
Gorgons were a popular image in Greek Mythology, appearing in the earliest of written records of ancient Greek religious beliefs such as those of Homer.
१८. सर्पकेश [सं. पुं. सर्प+केश] साँपजस्तो केश ।
१९. ह़ड्डी [सं. हड़्ड+ई, ना.] हाड़, अस्थि । [वि.] हाड़मात्र भएको, साह्रै दुब्लो, सिट्टी ।
२०. दधीचि [सं., पु.] वज्र-निर्मार्णाथ देवताहरूलाई आफ्नो जीउको हाड़ दिएर योगमृत्यु लिने प्रसिद्ध वैदिक महर्षि । यिनका ज्न्मबारे थुप्रै कथाहरू छन् । याल्क अनुसार, यिनी अर्थवका पुत्र हुन् । पुराणमा यिनकी माताको नाम 'शान्ति' रहेको पाइन्छ । यिनको तपस्याबारे पनि धेरै कथाहरू प्रचलित छन् । यिनैको हाड़ले बनिएको धेरै धनुद्वारा इन्द्रले वृत्रासुरको संहार गरेका थिए । केही व्यक्तिहरूले आधुनिक मिश्रितथतीर्थ (सीतापुर)-लाई यिनको तपोभूमि बताउँछन् । यिनको प्राचीन नाम 'वसुपञ्'च भनिन्छ ।
दधीचि कुल ब्राह्मण पिता अथर्वा विवाह गभस्तिनी सन्तान 'पिप्पलाद्' विशेष दधीचिद्वारा देहत्याग गरेपछि देवताहरूले उनकी पत्नी सती हुनभन्दा पहिले उनको गर्भ पिपललाई सुम्पिदिएका थिए । जसको कारण बालकको नाम पिप्पलाद्' भएको थियो । कुनै पुराण अनुसार यिनी कर्दम ऋषिकै कन्या 'शान्ति'- को गर्भबाट उतपन्न अर्थवाका पुत्र थिए । दधीचि प्राचीनकालका ख्यातिप्राप्त महर्षि थिए । यिनकी पत्नीको नाम 'गभस्तिनी' थियो । महर्षि दधीचि वेद् शास्त्रहरू आदिका पूर्ण ज्ञाता र अत्यन्तै दयालु स्वभावका व्यक्ति थिए । अहङ्कारले ता उनलाई छुनै सकेको थिएन । उनले सधैं अरूको हित गर्नु आफ्नो परम धर्म ठान्थे । उनको व्यवहारले ती बनका पशुपंक्षी यति सन्तुष्ट थिए, जहाँ उनी बस्दथे । गङ्गाको तटमै उनको आश्रम थियो, जो पनि अतिथि महर्षि दधीचिको आश्रममा आउँथे, स्वयम् महर्षिका साथै उनकी पत्नीले अतिथिगणलाई भव्य श्रद्धाभावले सेवा गर्दथे । यसै पनि भारतीय इतिहासमा कैयन् दानी ऋषि-महर्षि, राजा-महाराजा देखिए तर मानव कल्याणको निम्ति हाड़ दान गर्ने एकमात्र महर्षि दधीचि नै थिए । दधीचिको हाड़ले बनिएको वज्रद्वारा नै असुरहरूको संहार गर्न सक्छ भन्ने कुरो देवताहरूका मुखबाट सुनेपछि महर्षि दधीचिले आफ्नो शरीर त्यागेर हाड़ दान गरे ।
अतिप्राचीन मन्त्रद्रष्टा ऋषि दधीचिको वैदिक नाम दघ्यङ अथर्वण हो । यिनले इन्द्रयोग गरी इन्द्रलाई खुशी पारेर इन्द्रबाट मधुविद्या सिकेका थिए । इन्द्र दही खूब मनपराउँथे । दिनैपिच्छे दहीको भिक्षा चयन गरिएकोले नाम दध्यङ या दधीचि रह्यो भन्ने धारणा छ । यिनले अश्विनी कुमारलाई मधुविद्या र ख्रष्टालाई नारायणकवच सिकाएका थिए । ख्रष्टाले यिनबाट प्राप्त गरेको विद्याको उपयोग गरेर यज्ञबाट वृत्तासुरलाी उत्पन्न गराए । त्यसलाई मार्न मधुविद्याले बकिया भएको हा़ड़ चाहिन्थ्यो । दधीचिले देवताहरूलाई आफ्नो हाड़ दिए । त्यसैको वज्र बनाएर वृत्तासुरलाई मारियो ।
पौराणिक कथाहरू लक्षणात्मक हुन्छन् । कथाको माध्यमले समाजलाई जानकारी गराउनु नै पुराणहरू रचिनुका उद्देश्य रहेको हुन्छ । यस कथाले के जानकारी दिन्छ भने, संस्कृति रक्षाको निम्ति हाम्रा कर्मयोगी ऋषि-मुनिहरूलेआफ्ना सर्वस्व न्यौछावर गरेका छन् । संरक्षण-रक्षण तथा जतन गर्नाका निम्ति आफ्ना हाड़ समर्पण गरेर संस्कृतिको संवर्द्धन गरेका छन् ।
२१. भयंकर [सं., वि.] घोर, भयानक, भयकारी, भयावह, डरलाग्दो; भयङ्कर ।
२२. बल [सं., पु.] बलदेव; बलिभोगी । [न.] शारीरिक शक्ति, बहादुरी, पराक्रमी ।
२३. चट्याङ [अनु. चट्याङ+अ, ना.] चट्याङ, आकाश-बिजुली चम्कँदा उब्जने भयानक आवाज वा दम्को; वज्र, चड़्के ।
२४. मानव [सं. पुं.] मनुका खलक, मानुष, मनुष्य । [वि.] मनुसँग सम्बन्धित, मनुसम्बन्धी।
२५. बत्तीस दन्ते [बत्तीस+दन्त+ए, ना.] बत्तीसवटा दाँत भएको, मानिसको परिपक्वताको चिन्ह भएको; बत्तीस दन्ते ।
२६. बङ्गारा [सं., बङ्गि+आरा, ना.] मुखमा परेका खाउने वस्तु चपाउने विशेष दाँतका लहर, दन्तपङ्क्ति ।
२७. भीमसेन [सं.,दु] महाभारतप्रसिद्ध माहिलो पाण्डव, भीम, वृकेश्वर । महाभारतअनुसार भीम पाण्डवहरूमध्ये दोस्रो स्थानमा थिए । यिनी पवनदेवको वरदानस्वरूप कुन्तीबाट उत्पन्न भएका थिए । सबै पाण्डवहरुमध्ये यिनी सबैभन्दा बलशाली तथा श्रेष्ठ कदका थिए । युधिष्ठिरका सबभन्दा प्रिय सहोदर समेत थिए यिनी । यिनको बल दस हजार हात्ती समान थियो । युद्धकलामा पारङ्गत तथा सक्रिय थिए । रिस उठाएको खण्डमा यिनले कैयौं कौरवहरूलाई समाप्त गर्न पनि सक्थे। युद्धमा ता स्वयम् इन्द्रले पनि यिनलाई पराजित गर्न सक्दैनन् थिए । बनवासकालमा यिनले अनेकौं राक्षसहरूको बध गरे जसमा बकासुर तथा हिडिम्ब आदि प्रमुख हुन् । अज्ञातवासमा विष्ट नरेशका शालो कीचकलाई वध गरी द्रौपदीको रक्षा गर्ने यिनै भीम हुन् । गुरू द्रोणाचार्य र बलरामका शिष्य यिनी गदा युद्धमा अत्यन्तै सिपालु थिए । युधिष्ठिरको राजसूय यज्ञमा राजाहरूका सङ्ख्या कम्ति हुँदा यिनले मगधका राजा जरासन्धलाई पराजित गरी ८६ जना राजाहरूलाई मुक्त गरे । द्रौपदीको चीरहरणको बदला लिनलाई यिनले दुःशासनको छाती फोरेर तिनको रक्तपान गरे । भीम काम्यक वन नामक राक्षस वनका राजा थिए । महादैत्य वनका पूर्व राजा हिडिम्बसुर राक्षस थिए । महाभारतको युद्धमा भीमले नै सम्पूर्ण कौरव भाइहरूलाई वध गरेका थिए । यिनैद्वारा दूर्योधन वध भएपछि महाभारत चुद्ध अन्त्य भएको हो ।
२८, प्रकोप [सं., पु.] शरीरमा पैदा हुने विकार; प्राकृतिक विकार; रिसको जोश, चर्को रिस । २९. डबल [अ., वि.] दोबर, दोगुणा, एक रूपैयाँको नेपाली मुद्रा ।
३०. लाल लाल आँखा रक्तिम आँखा (कवितामा)
३१. अमानव [सं., वि.] मान्छेको मन नभएको, मान्छेको अनुहार मात्र भएको, पशु र मान्छेमा फरक नभएको, मान्छेको अनुहार पशुको स्वभाव भएको, पशु राक्षस।
३२. लप्का [सं. लपन, ना.] आगाको भरभराउँदो ज्वाला, राँको, मुस्लो, लपट, लप्को ।
३३. कलपुर्जा [कल+पूर्जा, ना.] कलकाँटा, सरसमान ।
३२. खलबल [खल+बल, ना.] धेरै मानिस एकैपल्ट वा तैंछा़ड़मछाड़् गरी बोल्दावा कराउँदाको स्थिति, हूल्लाखल्ला, हल्लीखल्ली, खल्याङबल्याङ, अन्याय अत्याचारको विरोधमा भएको समूहको आवाज, होहल्ला, खैलाबैला ।
३४ तूफान [सं., पु.] समुद्री हुरीआँधी, आँधीबेह्री, पानीबतास, गञ्जागोल, ठूलो गड़बड़ी; उत्पात, उपद्रव ।
३५. विकृत [सं., वि.] विकास वा बिगार घुस्रेको, बिग्रेको; फेरिएको; रूप बिग्रेको, कुरूप; बेढङ्गको, अस्वाभाविक; बहुलाएको ।
३६. चेहरा [फा., पु.] मुखको आकृति, अनुहार, मुखमण्डल, वदन ।
३७. दिमाग [अ., पु.] गिदी, मस्तिष्क; विवेक-चेतना-सुझबुझ आदि मानसिक क्षमता वा अन्तःशक्ति; अहङ्कार, शेखी, फुईं ।
३८. बड़वानल [सं., पु.] बड़वाग्नि, समुद्रभित्रको आगो ।
३९. बहुला [वातुल, वि.] मगज बिग्रेको, बौलाहा, पागल, छँटाहा ।
४०. चकोर [सं., पु.] तित्राजस्तो बुट्टे राम्रो देखिने चखेवा, मनमोहक गाजले आँखा हुने र आगाको फिलिङ्गो खान सक्ने ।
४१. असुन्दर [सं., वि.] नराम्रो, कुरूप, विद्रूप, अशोभनीय, बेछाँटको ।
४२. फोर [फोहोर, वि. (ना.)] फोहोर, फोहर ।
४३. कोमल [सं., वि.] नरम, कमलो, मृदुल, सुकुमार, कलिलो, मधुर, मन्द । [ना. जल] ।
४४. क्रूर [सं., वि.] मन ज्यादै कड़ा भएको, निष्ठूर, डरलाग्दो स्वभावको, नृशंस; परद्रोही, दुष्ट, रिसाहा, झोंकी, दयामायाको भावै नराख्ने ।
४५. चिड़िया [प्रा., चिड़िया, ना.] चरो, पन्छी, चरी, पक्षी ।
४६. स्वर्गाग्नि-चोर [सं., ना.] स्वर्गबाट आगो चोर्ने ।
४७. ज्वालामुखी [सं., स्त्री.] उन्मत्त भैरवीसमेतको मुखबाट ज्वाला निकाल्ने प्रचण्ड एक देवी; मौका-बेमौकामा कुनै-कुनै शिखर वा थुम्काबाट आगोको ज्वाला-तातो बल्दो लेदो-धूवाँ-गेगर आदिको मुस्लो निकाल्ने पहाड़, ज्वालामुखी पर्वत, ज्वालामुखी पहाड़ ।
४८. उदगार [सं., पु.] कण्ठगर्जन, मनोभाव प्रकाट गर्नु ।
४९. व्यक्तित्वपाल [सं., पु.] व्यक्तित्वका धनी, व्यक्तित्वशाली, व्यक्तिमा हुने निजी विशेषता ।
५०. सन्के [सन्क+ए, वि.] सन्कने बानीको, सन्काहा, रिसाहा सन्की ।
***** ***** ***** ***** *****
## प्रयुक्त शब्द र सङ्केत
अ. अरबीमूल
अनु. अनुकरणमूल
अव्य. अव्ययबोधक
क्रि. क्रियापदबोधक
ग्री. ग्रीकेलीमूल
न. नपुंसकवाची
ना. नामवाचक
पुं पुलिंगबोधक
प्रा. प्राकृत
फा. फारसमीमूल
स्त्री. स्त्रीलिङ्गी
************
कृतज्ञता स्वीकार -
१. पागल - लक्ष्मी कविता सङ्ग्रह - सम्पादक चूड़ामणि बन्धु, साझा प्रकाशन, काठमाण्डौं, वि.सं. २०३३ (सन् १९७६ )
२. विभिन्न शब्दकोश
३. Feldman, Thalia (1965) 'Gorgo and the origins of Fear' . Arion. 4 (3) 484-94 JSTOR 20162978
४. Lempriers, John (1833). 'Gorgones'. Bibiliotheca cllassica, or, A classical dictionary. G & C & H Carvill. p. 620. 'Impenetrable scales.'
५. Homer - Illiad
६. Homer, Odessay : 6.4-5 (Lattimore 1975)
७. Odysey Randon House Webster's Unabridged Dictionary, Archived from the original on 2016-
८. Iliad : Randodn House Webster's Unabridged Dictionary.

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।