15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ढकनी

लघुकथा काशीनाथ मिश्रित March 26, 2022, 7:21 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

चैतको महिना भर्खर शिशिरको हावाले झारेका सिख्रा बोटहरूमा पालुवा पलाउन सुरु हुँदै थियो । चैतको बाटो भदौको आटो भन्दै मान्छेहरू बारीका बीचबाट पनि हिँड्ने भएकालेहरियो घाँसको अनिकाल लाग्ने बेला भैसकेको थियो । गाउँघरमा गाईभैँसी प्रत्येकका घरमा भए पनि दुहुना कमै थिए । दुईतिन घर डुलेर अलिकति दुध जम्मा पारी कालेकी आमाले ढकनी पकाइदिइन् । बाबु दीर्घ रोगी, भाइहरू सानै एक्ली आमाले मेलापात गरेर ल्याएको पैसाले घरको गर्जो टर्थ्यो । गरीबीको चपेटामा च्यापिएको कालेले आठ कक्षामा पढ्दै थियो । छुट्टीका दिन आफू पनि कसैको काममा गएर कमाएको पैसाले पढाइ खर्च जुटाउनुपर्ने कालेलाई गरीबीको बोझले बेसरी थिचेको थियो । आमाले ढकनी बनाउनुको प्रयोजन उसलाई थाहा थिएन । आमाले बोलाएर पुन्टेकी आमा आफ्नी दिदीकहाँ जाने रे, तँ पनि उनीसँगै फूपूकहाँ गएर अलिकति रिन ल्याउँछस् कि भनेर हो भनेपछि पो उसले थाहा पायो । हरिया पातका टपरीमा सानो र ठुलो गरी दुईवटा पोका बनाएको देखेर भने उसलाई सोध्नै मन लाग्यो ।
-“एउटा ठुलो र अर्को सानो पोको किन हो नि आमा?” आमाले पनि सहजै भनिन्, “ठुलो पोको फुपूलाई पाहुर, सानो चाहिँ तँलाई बाटामा भोक लाग्दा खान अर्नी !” फुपूको घर टाढाछ । राम्ररी हिँडेर गएस् पुन्टेकी आमासित । भालुबनको भिरमा ख्याल राखेस् । फुपूलाई मैले भनेको कुरा भनेस् । आमाले थप सिकाइन् र तेह्र वर्षको छोरोलाई पठाइन् । काले पनि खुसी हुँदै पुन्टेकी आमासित हिँड्यो फुपूको घरतिर ।
दिनभर हिँडेर काले फुपूकहाँ पुग्यो । फुपू र फुपाजुको गोडामा पुर्पुरो टेकायो र सुकुलमा बस्यो । “कोसित आइस् त कालु?” फुपूले सोधिन् । उसले सन्चो बिसन्चोका साथ सबै हालचाल बतायो । तर फुपाजुका अगाडि आमाले भन्न पठाएको कुरा चाहिँ भनेन । भन्ने मौका पर्खेर बसिरह्यो । फुपूका तिन भाइ छोराहरू जागिरे थिए । छोरीले पनि सिलाइ सिकेर राम्रै कमाउँछिन् भन्ने उसले सुनेको थियो । मनमनै रिन त पक्कै पाइएला भन्ने कल्पना गर्दै थियो काले । अझसम्म पनि दाइहरु र दिदी भने घर आइपुगेका थिएनन् । केही बेरपछि कालेलाई फुपूले बैठक कोठामा बोलाइन् ।
आहा ! भन्ने मौका त मिल्ने भयो भन्ने सोच्दै काले बैठक कोठामा पुग्यो । ढकनीको पोको फुकाउँदै फुपुले भनिन्, “ हेर त कालु, तिमीले ढकनी ल्याएका रहेछौ? यहाँ यो कसैले पनि रुचाउन्नन् । अहिले दाइदिदीहरू नाउँदै तिमी र मैले खाऊँ, नत्र इजेत जान्छ । रोटी, कुराउनी ल्याएको भए हुन्थ्यो ।“ काले छाँगाबाट खसे झैँ भयो । आमाले कति दुःख गरेर बनाइदिएको पाहुरलाई अवहेलना गरेको देखेर उसलाई असाध्यै दुःख लाग्यो । धनीहरूलाई गरीबको मर्म के थाहा? बरु कसैकहाँ ढुङ्गा बोक्ने काम त पाइएला । मरे पनि भन्दिन आमाले भनेको कुरा भन्ने अठोट गर्यो । रिन माग्न आएको कुरा मुटुमा खाँदेर मुखमा त्यही आफूले बोकेर ल्याएको ढकनी खाँद्न थाल्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।