15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म त्यही नारी हुँ

कविता शिखा ज्ञवाली March 27, 2022, 4:40 am
शिखा ज्ञवाली
शिखा ज्ञवाली

हो म त्यही नारी हुँ,
जुन तिम्रो मैलो खुट्टाको पानी
स्वच्छ जलको रूपमा घुटुक्क निलेकी छु।
आफ्ना रहर र इच्छालाई
एउटा कोठामा कैद गरी
तिम्रो पेट भरी
ठूलो अफिसर बनाएकी छु।
एक चिम्टी सिन्दुर को भरमा
आमा बुवा , इष्ट मित्र सबै त्यागेकी छु
जसले नौं महिना पेटमा राखी
दिसा,पिसाब सम्हाल्दै आइन,
तिनैलाई भेट्न आज हात जोडी
अनुमती लिएकी छु।

हो म त्यही नारी हुँ
जुन तिम्रो रुष्ठ बोली पनि
बर्मा बाणीका रूपमा स्मरण गरेकी छु।
कहिले अपुग नपुग पकाउँदा
आफू भोकै सुती तिम्रो पेट भरेकी छु,
सधैं साथ निभाउने वाचा गरेकी म
आज तिम्रो काम मा बोल्दा ,
घरकी पोथी भनेर चिनिएकी छु।
बिहे अघि सानु र जानु को
सम्बोधन पाएकी म
आहिले कुकुर्नी र अलक्षिणीको रूपमा
बुझिएकी छु।

हो म त्यही नारी हुँ
जुन तिम्रो कठोर ब्यवहार पनि
पतिव्रता इस्त्री को रूपमा सहेकी छु।
सधैं हाँसो र खुसीमा काट्ने मेरा दिन
आज चुलो र चौको मा झेलिएकी छु।
कालो गाजल लगाउँदा
राम्रो देखिने आँखा
रुँदा कसैले थाहा पाउँछन् कि भनी
बग्ने गाजल लगाउन छोडेकी छु।

हो म त्यही नारी हुँ
जुन तिम्रो लामो आयुको लागि
निर्जल व्रत बसेकी छु
कसैले तिमीलाई नराम्रो भन्दा,
सहन नसकी कान थुनी बसेकी छु
धेरै खुसी खोजी तिम्रो समीपमा
आधार चाएकी म
माया भन्दा धेरै हेलिएकी छु।

हो म त्यही नारी हुँ
जुन बिल्कुलै फेरिएकी छु।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।