15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ठूलाबा

कथा सतीश छेत्री March 27, 2022, 4:44 am
सतीश छेत्री
सतीश छेत्री

ठूलाबाको जीवनसित सम्बन्धित कतिपय तथ्यहरू मसित छैनन्। हुनसक्छ उहाँ, धेरै घाम लागेको दिन जन्मिनुभएको थियो। ठूलो हुरीझरी परेको दिन उहाँको न्वारान परेको थियो अनि हुनसक्छ - चामलको भात खान पाउने दिन कुनै उत्सव जस्तो हुने समयमा उहाँ युवा उमेरमा पुगेको हुनुहुन्थ्यो। तर अहिले उहाँ जीवनको घाम र पानी, वसन्त र शिशिर, यौन र यौवन, प्रेम र पीड़ा सबै कुरालाई एकएक पृष्ठ पढ़दै जीवनको अन्तिम उत्तरार्द्धमा हुनुहुन्थ्यो। अनुहार परेको होइन, उहाँको अनुहार सिंपाजीको जस्तो थियो, तर सागर हुनुहुन्थ्यो मेरोनिम्ति प्रेमको । मैले जीवनमा कलम समाएर धेरै चाहिँदो-नचाहिँदो कुराहरू लेखेँ हुँला ़’ तर ठूलाबालाई भनेर केही लेखिनरहेछु। त्यही आत्मबोधले मलाई यी पृष्टहरू भर्न लगाइरहेको छ। मुटुको चारवटा कोठाहरूमध्ये एउटा कोठा जो उहाँको नाममा थियो कुनै समय।

ठूलाबा, मेरा आमाका बाबा हुनुहुन्थ्यो। माईतमा आमाले ‘बाबा’ भनेको सुन्दा परिवारको जेठो सन्तान भएकोले मैले पनि बाबा नै भन्ने गरेको थिएँ। पछिबाट उमेर बढ़दैजाँदा यो साइनो अपग्रेड भएर भएको थियो - ठूलाबा।


ठूलाबा कथाकार

ठूलाबा र म थियौँ साथी साथी। म यस्तै पाँच वर्षको हुँदो हुँ, जबदेखि चेत सम्हालेर म उहाँको साथमा हुन लागेँ। उहाँले कथा भन्नुहुन्थ्यो। आफ्नो बाजेको, गाई गोठको, उहाँले आफ्नो जीवनमा भोग्नुभएको, अनुभव गर्नुभएको विमिन्न समय र पक्षका कथाहरू। ती कथाहरू सुनेर म आफ्नै कल्पना संसारमा रूमालिन्थेँ। मेरा आँखा विस्फारित हुन्थे। कोही बेला मुटु ढुकढुक भएर स्वाँस्वाँ सास बज्थ्यो। ती कुराहरूमा त्यति डरलाग्दो केही हुँदैनथिए अहिलेको मानसिकताले पर्गेल्दा। तर ठूला बाले आँखा ठूला ठूला पारेर त्यस्ता कथा भन्दा म आङ जिरिङ्ग पार्थेँ। (भलै पछिपछि भने त्यस्तै भएको अभिनय गरिदिन्थेँ, किनभने उहाँबाट कथा सुन्नु मैले यति अभिनय गरिदिनुपर्छ भन्ने अनुभव गर्न थालेको थिएँ। )

त उहाँले भन्ने गर्नुभएको प्रिय कथाहरूमा प्रिय पात्र थियो उहाँको आफ्नै बाजे। उहाँले कथा भन्नुहुन्थ्यो बाजेको । कि उहाँको बाजे कति शुरो थिए - निकै जण्डा झाँक्री पनि । नाक अग्लो थियो अरे उनको, हँसिलो मुहारको। गाउँमा कसैले छिसिक्क गरयो र उनलाईचाहिँ मलाई हो भन्ने लाग्यो भने नाङ्गो ‘सिरूपाते खुकुरी’ टलक्क टलक्क टल्काउँदै गाउँ डुल्थे अरे!

उहाँका बाजे जण्डा झाँक्री भएका नाताले गाउँमा मार हान्न परयो भने उनलाई नै बोलाइएको हुनपर्थ्यो अरे! यदि कुनै घरमा यसो गर्न उनलाई निम्तो छैन भने मार छिनाउनेले बाह्र हाते सिरूपाते मच्याएर पनि ८०-९० केजीको मार छिनिँदैनथियो अरे! त गाउँकाले बुझ्थे अरे! कि ‘फलानलाई निम्तो भएन, पक्कै उनले नै बिथोल पारे।’ तब उनलाई निम्त्याइन्थ्यो अरे! भरेभन्दा हाम्रो बाजेका बाजे ;बराजु कि चेप्जु ? (मलाई साइनो केलाउन आउँदैन) ले एउटा अम्लिसोको पात दुईपट्टि धारमा फुक्थे अरे! मच्याएर घिच्रोमा हान्थे अरे! एउटा अजङ्गको खसी यसरी स्वाट्टै छिनिन्थ्यो अरे!

एकदिनको कुरो अरे ! कसैको घरमा उनलाई ननिम्त्याइएको भएर यसरी नै खसी छिनिएन रहेछ! भरेभन्दा मार हान्नेले पछिल्लो मार अझ जबर्जस्तीसित के हानेका थिए अरे! खसी त उनै चेप्जुमा पो परिणत भएको अरे। ढाड़ घोप्टो पारेर शिर नुहाएको अवस्थामा।

अब यो कथा ! ठूलाबाको स्वैरकल्पना थियो कि साँच्चैको घटना ! म अहिले किटान गरेर भन्न सक्दिनँ। तर मलाई एउटा कुरोमा भने साह्रै हाँसो उठ्थ्यो कि जब पनि उहाँको बाजेलाई साह्रै चित्त पर्दैन थियो अरे ! त्यति बेला तीन महीनासम्म पनि हाँसपोखरीभित्र डुबेर पानीलाई गुड़ुरूगुड़ुरू पारिरहनुहुन्थ्यो अरे! म कल्पना गर्थेँ कि ती कस्ता अजबका मान्छे थिए होलान् !
म जोरसित हाँसिदिदा ठूलाबा निकै खुसी हुनुहुन्थ्यो । आखिर उहाँको उद्देश्य पनि हसाउँनु नै हुन्थ्योरहेछ सायद।

ठूलाबा’ले धेरैवटा यस्ता कथाहरू सुनाउनुहुन्थ्यो - त्यस्तै अर्को उदाहरण.....,
उहाँ पढ़नुभएको भने होइन। माने स्कुल गएर पढ़नुभएको होइन। त्यतिबेला स्कुलको नाकनक्सा पनि थिएन भन्नुहुन्थ्यो। उहाँले भन्नुभएको - ढुङ्गाका गेड़ाहरू बटुलेर भुइँमा राख्दै उहाँहरू पढ़्नुहुन्थ्यो अरे - ‘कपुरी क, खरायो ख, गाइगोड़े ग, घरजस्तो घ, नाकथोप्ले ङ, चरीचुच्चे च, छपनी छ, जरायो ज, खुट्टा झारयो भळ, गोरूसिङे ´, ओठ काट्यो ट, ओठ मिलायो ठ, डाङ्डुङे ड, कुकुरपुच्छ्रे ढ, तीनधर्के ण, कोदालीपाते त, घोरमुखे थ, दहिले द, निहुरमुण्टे न, पाटी प, छोरी बोक्यो फ, बाटुलो ब, भकारी भ, यस्तै अरू। त एकएकवटा आकृतिको एकएकवटा अर्थ निकाल्नुहुन्थ्यो अरे ! लाग्थ्यो कति प्रभावकारी अध्ययन/अध्यापन त्यतिबेलाको ! एउटालाई चराको चुच्चो जस्तो देख्यो त्यसबाट वर्णको अर्थ उत्पादन गरयो, भन्यो ‘च’। लौरो काँधमा बोकेकोजस्तो देख्यो भन्यो - काँधलौरी ‘ध’। भनिदियो राम्रो ‘म। कुनै बठ्याइँ छैन सोझो हिसाब। उहाँ पढ़नुभएको थिएन । यसको अर्थ कि कसैले लेखिदिएको पढ़नुभएको थिएन; तर आफ्नो जीवनचाहिँ पढ़नुभएको थियो, र मलाई पछि एमए सकेर पनि लाग्थ्यो कि म उहाँको ज्ञानको एक अंश पनि भेट्न सक्दिनँ।

त यहाँ प्रसङ्ग आएको थियो कि .....कथा सुनाउनुहुन्थ्यो, अर्को उदाहरण ...- उहाँको पहाड़को हुर्काई। गाईगोठ सम्हालेर बस्नुभएको अरे! गाईगोठ सम्हालेर बस्दा रातिको दृश्य साह्रै भयङ्कर हुने अरे ! किनभने राति कुनै यस्तो जीव आउँथ्यो अरे ! कि प्रत्येक गोठगोठको दैलोमा गएर कराउँथ्यो अरे ! अजङ्गको स्वर निकालेर। सबैले भन्थे अरे कि ‘सोक्पा हो सोक्पा !’ अनि सबैले आ-आफ्नो मानदस्तुर अुनसार रातो भुप्रो निकालेर गाईधुप छवाइँय पार्दै भाखा गाउँथे अरे !

‘लु है परमेशुरा, हामी त अजानमुर्ख, कुनै भुलचुक भए होलान्। खाने अखाने बच्छेहरू खायौँ होला। रक्खे गर्नुपर्छ परमेशुरा ! के बिथोल परयो नि ! तिमी नै हो हाइ यस पाखा-पखेरूको जिम्मेदारी गर्नी, हे परमेशुरा हामी मनुखेलाई माफी गरीलानु पर्छ होइ......।’
साँच्चै नै साँचो मनले यति बलबिन्ती मागेपछि त्यो आवाज कराउन बन्द हुन्थ्यो अरे!

म यो कुरो स्वाँस्वाँ हुँदै सुन्थेँ। डर पनि हुन्थ्यो, रोमा´्च पनि हुन्थ्यो भित्र। डराउँदै कुनै रहस्यमयी /डरलाग्दो कथा पढ़िरहेको जस्तो । त पहाड़मा दूध-दही र घिउकोचाहिँ खोला बग्ने अरे! अहा ! त्यस खोलामा एक्लै पौड़ी खेल्न पाए त..., कस्तो रोमा´्चत बनाउने दृश्य। कल्पना पनि गर्न नसकिने कस्तो थियो होला त्यो स्थल। कस्तो जीवन बाँच्नुभएछ हाम्रो ठूलाबाले !

ठूलाबाले आफ्नो बाल्यकालमा पहाड़मा भोगेका कुराहरूलाई पछि आफैसित रगतमा बग्ने गरेको पाउनुभयो। उहाँले पनि झारफुक गर्ने काम गर्नुहुन्थ्यो । पछि गोल्मामा हुँदा ढाङर गुरूकोबाट दाँतका कीरा झार्ने मन्त्र सिक्नुभएको थियो अरे! झार्नुहुन्थ्यो। कीरै त झर्थ्यो कि झर्दैनथियो, कहिले देखिएन ; तर परिणाम राम्रै थियो।

ठूलाबाले रक्सी खानुहुँदैन थियो। घरमा ‘नयाँको पूजा’ गर्दा त्यसको प्रयोग हुन्थ्यो । किनभने ठूलाबा’लाई सघाउन केही तलको गाउँबाट आउँथे - कोपा। कोपा पनि उस्तै रसिलो/भरिलो मानिस थिए। दुईजना भएर घरको सिह्रान गह्रामा ‘नयाँको पूजा’ गर्नुहुन्थ्यो। त्यो दिन हामीलाई उत्सव। नयाँको पूजा हामीले बुझेअनुसार अथवा बुझाइएअनुसार कस्तो हुन्थ्यो भने - ६ वटा ढुङ्गा गाड़िन्थे । तितेपातीको लिङ्गुरा, अथवा घुङ्ग्रीङ। नयाँको पूजा गाउँभरिमा घरैपछिको आ-आफ्नो दस्तुरअनुसारको हुन्थ्यो। त यसरी शिला, लिङ्गुरा गाड़िएपछि सबैमा तुलको लुगा, अबीर, पानपत्ता-सुपारी, बारीको नयाँ तुलफुल के छ सो, फूल मिठाई, ल्वाङ-अलैँची-अदुवा विशेषगरेर। सबै सबै चढ़ाइन्थे। यी दुई बुढ़ा बाजेले एउटा थानमा चाहिँ केराको पत्ताको दुई तला बनाउने गर्थे। त्यहाँ दुईवटा हाँस, कुखुराको पोथी खुट्टा बाँधेर लड़ाइएका हुन्थे ।

त यसरी थानमा प्रकृतिका दैवशक्तिहरू क्रमैले - ‘नयाँ शिकारी, नयाँ राजा-नयाँ रानी, बाजे-बोज्यू, अनि बूढ़ो शिकारी’ प्रतिस्थापित गराइएका हुन्थे। शिकारीलाई अण्डा भेंट गरिन्थ्यो, अरूमा हाँस वा कुखुराको नियमानुसार बलि दिइन्थ्यो। निभा बाँसको जोर धनुस र तीनतीनवटा काँड़ तयार गरिएका जो हुन्थे ती शिकारीद्वयलाई भेंट गरिन्थ्यो। उसैगरी तयार गरिएको बाँसकै चोया खिपेर बनाइएको कायौँ र थाक्रो बज्यूलाई चढ़ाइन्थ्यो। बाँसका (प्रतीकरूपद्) तोङबामा तरूणीको लजाएको गाला रङ्गको कोदोको छोक्रा चढ़ाइन्थ्यो अनि आराध्यलाई सम्पूर्ण भक्तिभावसितले लेकवेंशीबाट पुकार्दै पुकार्दै आफूले बनाएको थानमा ल्याएर बसाइन्थ्यो। त्यसपछि क्रमैले प्रत्येक थपनामा सालधुपको मुस्लो धुवाँ उड़ाएर बलबिन्ती मागिन्थ्यो र भोग लगाइन्थ्यो। भोग लगाइएपछि मुटु-कलेजो छेउमा बलिरहेकै धुनीमा पोलेर खान्थे बूढ़ाहरू। बूढ़ाहरूले मात्रै त होइन हुन त, अरूलाई दोष्याउनु मजा आएको मात्र हो, हामीलाई पनि बाँड़िन्थ्यो, बाँड़िनु त। देवतालाई चाहिँ भुत्ला र खोस्टा मात्रै छोड़िराखेर हामी कुखुरा हाँस झुण्डयाएर भान्साघर पस्थ्यौँ। थान छोड़्न अघि भत्काइन्थ्यो। भन्थे - “राति डुल्ने दिउँसो खेल्नेहरूले उल्टापाल्टी गर्न सक्छ।“

त्यस राति कोपाले अलिअलि चढ़ेपछि रमाइलो पार्नु हुन्थ्यो।

हाम्रा ठूला बा’ले नस सुँघ्नुहुन्थ्यो। यस्तो लत भएको मान्छे हजारमा एक भेटिएला सायद। नस भनेको पछिका सन्ततिले नबुझ्लान् । त्यो एक अर्थमा सुर्तीको धुलो हुँदोरहेछ। सुङेपछि हाँच्छयु आउने ! हामी पनि मागेर सुँघ्थ्यौँ। मजा आउँथ्यो, तिनत्रीलोक घुम्थ्यो । हाँच्छयु-हाँच्छयुँ गर्थ्यौँ। तर यसले रूढ़ि-खोकीमार्गी माने फ्लूहरू निको हुन्थे ; तर ठूलाबाले हाँच्छयुँ गर्नु हुन्थेन। अहिलेको ‘कलेजियन’ भाषामा भन्नु हो भने उहाँ ‘युज टू’ भइसकेको हुनुहुन्थ्यो।

ठूलाबासितको साथ

हामी घाँसमा जान्थ्यौँ। झण्डै तीन किलोमिटर पार गरेर। झोड़ीहरूको गुफा छिरेर। ठूलाबाले हातले भेट्ने जति हँसियाले फाँड़ेर हिँड़नेजतिचाहिँ गोरेटो निकाल्नुभएको हुन्थ्यो । घाँसको भारी बोकेर आउँदा लाग्थ्यो कि घाँसबुटा आफैँ हिँड़ेर आउँदैछ।

खरबारीको मसिनो खर भूइँदेखि डेढ़ ईन्चीजस्तो माथि मुरूकमुरूक काँटथ्यौ। उहाँको ठिक्क ६ मुठो भएपछि एक भारी हुन्थ्यो। प्रत्येक मुठोलाई हरकट्टो वा खर वा निभा वा निगाले बाँसको चोयाले देब्रे मोड़ेर बनाइएको यस्तो मुठो लाग्थ्यो कि कुनै कम्पनीको खाँचामा तयार भएको ‘प्रोडक्ट’ हो। मेरो पनि मुठो हुन्थ्यो तर कोही मुठी, त कोही मुठा हुन्थ्यो। उहाँको उमेरमा सङख्या थपिँदै गएपछि उहाँको भारीमा मुठोको सङ्ख्या घटदै गएको थियो।

त यसरी घाँस काटथ्यौँ, हाम्रो स्कुलको ठण्डा महीनाको छुट्टी बितेर जानलागेको हुन्थ्यो । कसरी बितेछ, जङ्गलमा समय थाह हुँदैनथियो। घाम लागेको दिन, भारी बोकेको त्यतै भीरतिर पल्टाइदिऔँ लाग्ने, किनभन्दा जिउ चिलाएर पोलिरहेको हुन्थ्यो - गोठमा भारी फ्याँकेर हेर्दा सिमीजस्तै झुप्पा झुप्पा गरी फल्ने झुसे काउसो पो ढोँड़ेको घाँससित काखीको छेउमा झुण्डिएर आएको भेटिन्थ्यो। जङ्गलमा पोटलजस्तै गरी फलेको इन्द्रेणी शिमलको टुप्पामा राता-पहेँला देखिन्थे। कोही बेला भाङरे सिस्नुले पोल्ने, 'पोलेको ठाउँमा सिङान दल्नुपर्छ' भनेर ठूलाबाले सिकाउनुभएको थियो। उसै गर्थ्यौँ।

कोही बेला ठूलाबाले ‘जा त पानी लिएर आइज बाउ!' भन्नुहुन्थ्यो । पानी लिन जान्थें /जान्थ्यौँ (पछि भाइ या बहिनी पनि) जङ्गलको बिचमा एउटा टुसारेको रूख थियो। टुसारेको रूखको छेउमा गगलातो घाँस। त्यसभित्र उम्रेको पानी कुलुलु बगिरहेको हुन्थ्यो। घामको किरण पर्दा पानीको ऐना औँठीको ईउँजस्तो टलक्क टल्किन्थ्यो। छेवैमा रहेको मानेको पत्ता चुँड़ाएर आफूले पिएपछि अर्को चुँड़ाएर ठूलाबालाई पानी लगिदिन्थ्यौँ । कोही बेला हामी यति मग्न हुन्थ्यौँ कि मानेको पातमा पानीको थोपा कुनै चाँदीको दानाजस्तो देखिन्थ्यो र यताउता गुड़किन्थ्यो। हामी गुड़ाइरहन्थ्यौँ। पछि एउटा गीत सुनें - भजन होला,
‘दुई दिनको जिन्दगानी, कर्कलाको पानी’ ।

त्यस जङ्गलमा हरेक कुरा मसित दोहोरो सम्वाद गर्थे। उम्रिएको पानी, सेतो चिउरीको रूख, त्यसको अलि माथिल्लोपट्टि चेक्रेसीको रूख, दल्सिङ ढुङ्गाहरूको कापमा उम्रिएको गायोको रूख (हाम्रो भटभटे), अलि भिरमा कान्टे उभिएको तारिकाको रूख, मलाई त्यसले देख्नेबित्तिक्कै ‘लौ न सम्हाल!’ भन्थ्यो। बलडेङ्ग्राका लहरा आफैं बुनिएर चट्टी बनिएको थियो, घाँस काट्दाकाट्दै गएर त्यहाँ लड़िबड़ी खेलाई हुन्थ्यो कोहीबेला। अलिमाथि चुलेत्रोकै उत्तापट्टि एउटा शिमलको रूख थियो -त्योभित्रको ओड़ारमा लाटकोशेरोको दुईवटा बच्चा भेटिएको थियो। मैले ठूलाबालाई देखाएको थिएँ।

एकदिनको कुरो, हामी घाँस काटिरहेका थियौँ जङ्गलमा अचानक बादलको हात्ती आयो र आकाशबाट सूँड़ले पानी खनाउन थाल्यो। सम्हालिने कुनै अवसर थिएन। ठूलाबाले बुद्धि खियाउनुभएछ। ‘हिँड़ हिँड़’ भन्दै लैजानुभयो र केराहरूको थामबिचमा पुरयाउनुभयो। आफ्नो धारिलो हँसियाले ढोँड़ेका पूराना सिटाहरूलाई ठिक्कठिक्क दुरीमा काटेर थामहरू बिच छेँड़ेर घुसार्नुभयो, केराको पात काटनृभयो। एकैछिनमा हामी केराको पातको छत भएको घरभित्र थियौँ। पानीले छानुमा ड्रम बजाइरहेको थियो। म भित्र नाचिरहेको थिएँ।

अर्को एकदिन, कुनचाहिँले तल जङ्गलको फेरमा आगो झोसिदिएछ। सल्केर आयो, पटपटे, कटुस, गाईखुरे, बिलाउने जे जे भेटियो घाँस छाँसेर ठूलाबा आगोभित्र पस्नुभयो निभाउनलाई । मैले पनि सिको गरेँ, र पसेँ तर मलाई आगोले चारैपट्टि घेरिसकेको थिएछ। छेउमा कटटट दाँत बजाउँदै हाँस्यो त्यो। यता झ्याप्प हिर्काउँछु। उता कटटट हाँस्छ, उता झ्याप्प हिर्काउँछु यता कटटट हाँस्छ। दुईहात हावामा घुमाउँछ, एक मुस्लो धुवाँ आँखामा हुत्याइदिन्छ। हावाले उता छिटो...छिटो भनिरहेको हुन्थ्यो। थाह छैन कसलाई ‘चेयरअप’ गरिरहेको छ। मलाई त्यसदिन लाग्यो - ‘अब यतैबाट धुँवा भइनेरहेछ।’ म कसो कसो गरी निस्कन सकेँ। पछि हेरेको आगो, जिब्रो घुमाउँदै चढ़ेर माथि पहाड़को चोटीमा हाँसिरहेको थियो। त्यो शिमल रूख, चुलेत्रो, बलडेङ्ग्रोको लहरो भएको पाखा, कपासको रूख, यतापट्टि जम्मैतिर धुँवा पुत्पुताइरहेको थियो। कोही कोही ठाउँमा रिसजस्तो जिलिक्क चम्केर, भ्लुक्क बल्दै पनि हुँदैथियो। मेरो चप्पल कता, म कहाँ भएको थिएँ, काल्लै र धुस्रैफुस्रै पनि।

ठूलाबाले पसिनासरी अनुहार पुछ्दै भन्नुभयो - “सकिएन,। गयो। त्यो पाखामा अम्लिसो थियो, को मरयो मरयो।”

त यस्तै दैनिक नयाँ दिनचर्या हुन्थ्यो। एउटै मिल्ने घटना भनेको चाहिँ के हो भने - ठूलाबाले समयमा भारी पुगेको अनुभव गर्नुभयो भने केही डाँड़ाजस्तो ठाउँमा बसेर सुसेल्नु हुन्थ्यो । भन्नुहुन्थ्यो - ‘हावा बोलाएको’। साँच्चै हावा आज्ञाकारी विद्यार्थी जस्तो आउँथ्यो र उहाँको निधार फुक्थ्यो। अनि हामी गीत गाउन थाल्थ्यौँ -

छुपुमा छुपु धान है रोप्नू,
हातैमा बिउ दिउँला
अरूलाई दिउँला बोली र वचन
हजूरलाई जिउ दिउँलाई
हजूरलाई जिउ दिउँलाई हो
हजूरलाई जिउ दिउँलाई

आकाशमा उड़ने बाइपङखी घोड़ा
पातालमा उड़्ने चील
हाँसीमा खेली गर्दामा गर्दै,
के साह्रो बस्यो दिल
के साह्रो बस्यो दिल हो,
के साह्रो बस्यो दिल

लसमा लस मसला पिन्नु,
ढुङ्गाको लोहोरी
एकोहोरी मायाले जिउज्यानै सुक्यो,
लगाइदिउँ दोहोरी
लगाइदिउँ दोहोरी हो लगाइदिउँ दोहोरी
......
घाँसको भारी बोकेर आउँदा अघिअघि बाटो देखाउँदै झैँ चरा हिँड़िरहेको हुन्थ्यो। ‘नचुँड़नू हेर कोपिला ...’ देवकोटाका भावहरू मलाई मेरी आमा र ठूला बाले पहिल्यै खेलैखेलमा पढ़ाइसक्नुभएको थियो।

८६ को आन्दोलनमा सीआरपी भनिएकोहरू गाउँहरूमा छापछाप थिए। उहाँ त बिहानै दूध पुरयाउन जानुहुन्थ्यो । भरेभन्दा केनमा दूध लिएर जाँदैगरेको एउटा जुङेले एक लौरो कसेछ। ठूलाबाको नाड़ीमा लागेछ। त्यो दुःखाइ उहाँलाई जीवनभरिको पेवा भयो। अलिकति चिसो भए कि उहाँ दुःखाइमा नाड़ी समाएर बसिरहनुहुन्थ्यो। बन्दुकको तेल थियो, शिशीमा, त्यो पनि दल्नुहुन्थ्यो।

हाम्रा ठूलाबा आरम्भदेखिकै गाइपालक भने हुनुहुन्नथियो। उहाँ हुनुहुन्थ्यो अरे - मधेसको रेलको ड्राइभर। रिटायर हुनुभएको रहेछ, मै जन्मिएको साल। नातिसित खेल्न पाउने समय, उहाँको भाग्यले जुराएको। बाहिरतिर कुद्ने उमेर भएदेखि नै खेतीकिसानीदेखि गाइपालनसम्म म उहाँको दाहिने हात भएँ। हामीले मूला रोप्थ्यौँ। रातो मूला फल्थ्यो कुहिनासम्मको। सुन्तलाजस्तो छिलेर खान्थेँ, ठूलाबाले भन्नुहुन्थ्यो - ‘न खा बाउ! भुँड़ी दुख्छ।’ म भन्ने गर्थेँ - ‘यस्तो मीठो मूला त म डल्लै खान्छु ....’ अनि तेर्सै कुद्थेँ।

म प्रत्येक कक्षा चढ़ेपछि पहिलो एउटा किताब ठूलाबाले नै किनिदिनुहुन्थ्यो। गाउँमा ठूलाबाको घरमा नै पहिलो टीभी आएको। ‘क्राउन’ कम्पनीको। सबैले रामायण हेर्थे, राम साक्षात आउँथे टीभीमा। ठूलाबाले भने टीभी हेरेको कहिल्यै देखिएन। यता रामायण चल्दै हुन्थ्यो उता ठूलाबा ठीकाबाट उभ्रिएको दूध उमालिरहेको भेटिनुहुन्थ्यो। ‘ठूलाबा’ रामायण किन हेर्नु नभएको?’ भनेर सोधे ‘आ.. त्यस्तो नाटक!’ भन्नुहुन्थ्यो। ठूलाबालाई टीभी यस अर्थमा पनि मन पर्दैनथियो कि ! घरीघरी माछाको करङजस्तो एण्टिना, घुमाएर ‘सिग्नल’ खोजिरहनुपर्थ्यो। साँझमा आउने हिन्दी चलचित्र हेर्न वरपर घरका जुत्ता-चप्पलहरू मन्दिरमा झैँ दैलोबाहिर उतारिएका हुन्थे। ब्याट्रीमा चल्ने टीभी, विज्ञापन आउँदा बन्द गर्नुपर्थ्यो। फेरि खोलिन्थ्यो। त्यतिबेलासम्म कोही बेला गीत आधा बजिसकेको हुन्थ्यो। चिम्टा जोड़्न ढिला हुँदा।

एकदिन मिथुन चक्रवर्ती अभिनित ‘डिस्को डान्सर’ चलचित्र चलिरहेको थियो। जस्तो ‘आइ एम ए डिस्को डान्सर’ भन्ने गीत आरम्भ भयो, त्यस्तै ‘राजु तुमारे दाँत तो मोती जैसा चमक रहा है तो ?’ भन्ने डाबर लाल दन्तम´्जनको विज्ञापन बज्न आरम्भ भयो। बज्यूले चिम्टा तानिदिनुभयो। ठूलाबा यतिबेला दूध दुहेर दैलोमा आइपुगेको भन्नुभयो - ‘हेर ! हेर! म दुध तताइहाल्छु।“

अर्थात् उहाँलाई लागेछ कि हामीले उहाँको डरमा टीभी बन्द गरिदिएका हौँ।


ठूलाबा अभियन्ता

‘ेमान्छेले आरम्भमा जीवनलाई उत्सव पाउँदोरहेछ, उमेर बढ़दै जाँदा त्यसमा मसिना छेँड़हरू, कोत्राहरू देख्न थाल्दोरहेछ। कोही बेला पाटो भत्किँदोरहेछ। त्यसलाई बनाउन सङ्घर्ष थालेपछि, त्यो बनिँदोरहेछ, कति खाटोहरू बसेर, तर बनिसक्दा जीवन पनि सकिएको हुँदोरहेछ।’ ठूलाबाको जीवन-दर्शन थियो।

ठूलाबाले यो गाउँको पुनःबिजारोपण गर्नुभएको थियो एकअर्थमा। अर्थात् सिरूबारीमा पहिलो पुस्ता सोत्तर भइसकेको थियो अरे। हैजा-रूढ़िले । धेरै मरे, कति भागे। ठूलाबाहरू परिवार लिएर आउँदा चिहानघारीहरूमा त्यो डाँड़ामा सयपत्रीहरू फुलेको देखिने अरे प्रत्येक साल। उहाँ जङ्गल फाँड़दै बजारदेखि दुई-तीन घण्टा लाग्ने ठाउँको गहिराईमा पस्नुभएको थियो। आफ्नो माईलो छोरो ९ वर्षको उमेरमा बितेपछि, उहाँको दम्पतीमा विरक्ति र वैराग्यको भावले छोपेको थियो। उहाँहरू आफ्नो छोरो खेलेको जमीनको आकाशभागलाई च्यातेर फ्याँक्न चहानुहुन्थ्यो। भुइँलाई सोहोरेर पन्साउन चहानुहुन्थ्यो। आफूबाट भाग्न चहानुहुन्थ्यो, जसले सम्झना गराउँथ्यो आफ्नो छोरोको नौवटा वर्षको एकएकवटा सेकेण्ड ।

पारिभित्ताका डाँड़ा-पखेरूहरू देखाउँदै उहाँ कोही बेला भन्नुहुन्थ्यो - ‘एउटा घर उ त्याँ थियो, एउटा घर यता, याँ पर थियो।’

चारपाँचवटा नाम्लो गाँस्दा पनि नभ्याउने सौरको रूख थियो एउटा.. माथि डाँड़ामा। जसलाई सौरको डाँड़ा भनिन्थ्यो। त्यस्तो हैमानका रूखहरू उहाँहरू आउँदाबेला पाँचवटा थिएअरे सम्पूर्ण पाखामा। खोलाले धोन्द्रोमा मुख हालेर हङहङ कराइबस्ने दिनभरि। यस्तो लाग्ने कि खोलाले अहिले गाउँतिर मुख फर्काएको छ।

ठूलाबा’को सम्पूर्ण अनुभवहरू मेरानिम्ति खजानाजस्ता थिए। कहिले म तीहरू प्रोडक्टको रूपमा पाउँथे। जस्तै कि बेपारीको पत्तामा कोदोको रोटी तातो खरानीमा बफ्याएर खानुदिनुभएको थियो एकदिन। त्यसको मिठास पछि पछि खान पाएको क्याडबरीभन्दा कता हो कता गहिरो थियो। अर्को, उहाँले मही बनाउनुहुन्थ्यो - डल्ले भाँड़ा थियो विशेषप्रकारको । ठूलाबाको दायाँ हातमा देवताहरू र देब्रे हातमा दानवहरू मिलेर फिर्केको मन्दरा पर्वत घुमाउँथे। त्यसबाट विष त कहिले निस्किएन, खालि निस्किन्थ्यो नौनीको डल्लो। चुल्हामा छवाइँ-छवाइँ धुवाँ उड़ाएपछि ‘हात थाप्’ भन्नुहुन्थ्यो। जेरेनियमको कलिलो पत्ताजत्रो म मेरो रातो हत्केला थाप्थेँ - ‘कहाँ पग्लिन्छु र’ भनेर बसेको जस्तो नौनीको डल्लो, थपक्क त्यहाँ राख्दै ठूला बा भन्नुहुन्थ्यो - ‘मेरो नातिले ठूलो भएर मेरो भारी बोकिदिन्छ नि !’


समय-दिन,रातहरू हुँदै वर्षहरूमा परिणत हुँदैगए। सबै यसरी चलिरहेको थियो ; तर एकदिन त्यो घटना भयो जुन घटनापछि उहाँको जीवनमा टर्निङ पोइण्ट आयो। उहाँले कुलेसोबाट घरको छप्परमा चड़ने कोशिश गर्नुभएछ, भुइँमा बजारिनुभएछ। त्यसपछि उहाँको दुर्दिन आरम्भ भयो। खासमा उहाँलाई उच्च रक्तचाप पनि थिएछ। बिस्तारै देब्रेतिरको पाटा अचल हुँदै आए। बजार जाँदावर्दा सधैँ उहाँको साथमा हुने गर्थेँ; तर अब भने उहाँलाई थाम्नुपर्ने अवस्था आइसकेको थियो। प्रत्येक दुई महीनामा उहाँ बजार जानु हुन्थ्यो। प्रत्येक यो दुई महीनाको अन्तरालमा उहाँको अवस्था अझ खस्दै गएको पाउन लाग्थेँ। खोलामा लड़ने, अण्डाको रयाक नै पल्टाइपठाएर सबै अण्डाहरू फुटने, ब्याङ्कको टोकन नम्बर, ब्याङ्कमा खोजेको खोजेकै हुने तर घरमा आइपुग्दा कोटको खल्तीमा हुनेजस्ता घटनाहरू धेरैगरी हुनथाले। मेरो साथीको यस्तो अवस्था म अनुभव मात्र गर्न सक्थेँ। उहाँलाई डोरयाएर सिँढ़ीहरूको उकालो-ओह्रालो गर्थेंं।

बिस्तारैबिस्तारै उहाँ उठेर हिँड़न नसक्ने हुनुभयो। उहाँका बोलीहरू नबुझिने हुनलागे। अस्पताल र दबाइपानीको क्रमबद्ध शृङ्खला चलिरहेको भए पनि उहाँको शारीरिक अवस्थासितै मानसिक अवस्था पनि दैनिक खस्दै गइरहेको थियो।

एकदिन ठूलाबासित बसिरहेको थिएँ, आमा पनि साथमा थिइन् । उहाँका नचल्ने अवस्थामा पुगिसकेको हात बिस्तारै मेरो टाँड़देखि लत्रिएको फिलामा आयो र उहाँले धुलो टक्टकाएजस्तो गरिदिनुभयो। मैले उहाँको हात मुसारेँ, छालाहरूमा यतिबिना चाउरी परेका थिए, मानौँ कि उहाँले भोग्नुभएको हरेक मिनट एउटा एउटा छेस्कोधर्का भएर त्यहाँ दायाँबायाँ कोरिएको छ। छालाले हडडी र मासमज्जालाई ‘लौ त ! छुटौँ ल अब’ भनेर छुटेजस्तै अलग थिए। लुगाजस्तै छाला लुतुलुतु तन्किरहेको थियो। मैले आँखामा हेरेँ, न त्यहाँ दुःख थियो, न पीड़ा, न खुशी, न लोभ, न रिस। प्रकृतिले अनुहारमा बूढ़ो मान्छे बनाउनमा चित्रकारिताको कुनै कमी राखेकी थिइनन्। चम्चीले कालो नुनियाको खोले र उसिनेको सिमरायोको साग (जोचाहिँ उहाँको दैनिकजस्तो खुराक थियो, कोही बेला तरकारीमा अर्को कुनै उसिनिएको थोक हुन्थ्यो) खुवायौँ। कति थोपा मुखभित्र पसे। कति बाहिर खसे। त्यति नै पसे होलान्, जतिचाहिँ सिताहरू उहाँका बाँकी थिए सायद। मैले हेर्दाहेर्दै ठूलाबा सम्पूर्ण पानीमा जलथल डुबेको देखेँ। वास्तवमा जता हेरयो त्यतै डुबाउ भएको थियो।

त्यस रात बितेर बिहान हुनहुन लागेको अवस्थामा, भुकभुके उज्यालोमा, हामी बोलाइएर गयौँ - आत्तिएको आवाजले भनेको थियो - ‘बाजे साह्रो भयो।’ हामी सबैजना छेउमा थियौँ। बिहान आउनसाथै मलाई आफन्तलाई खबर दिन बजार पठाइयो। मैले ठूलाबालाई त्यस्तै अवस्थामा छोड़ेर उकालो कुदेँ।

खबर भनेर आउँदा माथि डा़ड़ाबाट तल घरको छानो देखेको हेरेँ। मानिसहरू भेला भइसकेका थिए। छायाँहरू हिँड़िरहेका थिए, धुवाउँदैथियो कुलेसोमा।

दैलोमा आएर उभिँदा देखियो। ठूलाबा छेउमा खुकुरीको धार देखाएर सुत्नुभएको रहेछ। दियो बलेछ सिह्रानमा। फूलहरू...खदाहरू...धुपहरू... । ठूलाबा सब उड़िसकेपछिको शव भइसक्नुभएको थियो ।

एकोहोरो शङ्ख बज्यो। शवलाई बिचमा राखेर परिवार सबैजना वरपर घुम्नुपरयो। लाश वरपर घुम्नपर्ने यो रीतिचाहिँ मलाई सम्बन्धको परिक्षण जस्तो लाग्यो। आफ्नो प्रिय सधैँको निम्ति विदा हो भन्ने जान्दाजान्दै कसरी घुम्न सक्छ कोही ? कतिजना त्यहाँ आएका हुन्छन्, आँखामा हेर्छन् कि - को कति रून्छ!’

तर मलाई पटक्क आँसु आएको थिएन। म भित्रभित्रै रूँदैथिएँ-यसो पनि होइन। भित्र तमाम खालि भएको थियो अथवा भक्कानो जमेको थियो, त्यो पनि होइन। मैले मृत्युमा विदा हुने हो भनेर बुझ्दै बुझेको थिइन, त्यो झन् होइन। प्रभावै परेन पनि होइन। मैले मोक्ष पाइसकेको थिएँ, त्यो पनि होइन। मलाई लोकलाजले छोपेको थियो, होइन। म बस त्यहाँ थिएँ।

अह्राएको काम गरेँ,साथीहरूसित तल गाउँमा पराल लिन गएँ। पारि भित्ताबाट हेर्दा - हामी घाँसदाउरा गरेर हिँड़ेर आउने गरेकै बाटोको केही माथि खोला (जो अहिले पानी सुकेको अवस्थामा थियो) बाट धुवाँको मुस्लो आकाशतिर चढ़िरहेको थियो।
मैले जानेर हो नजानेर हो, दाहिने हात टाउकोमाथि उठाएर बिस्तारै हावामा हात हल्लाएको भएछु।

हप्ता दिनमा गएँ, त्यो ठाउँमा चिलाउनेका नजलेका एकदुईवटा मुड़ाहरू, ढुङ्गाको दुवैपटिट उठाएको देवाल र खरानीको थुप्रो थियो।

निकै दिनहरू बितिसकेपछि पुगेको भएँ, बालुवा थियो। त्यो खोलाले ठूलाबालाई त्यतै वरिपरिको माटोमा पनि छरयो होला भन्ने लाग्यो। कसैले माटोको कुरा गर्दा मलाई त्यस्तै माटोको कुरा होला भन्ने लाग्थ्यो।


आजका दिनहरू

मैले ठूलाबालाई कहिले सपनामा देखिनँ, सम्झनामा पनि आउनुभएन। आज सम्झना गर्ने कोशिश गर्छु ठूलाबा मेरो जीवनमा कहिले हुनुहुन्थ्यो...?
म यो कल्पनामा बाटो स्पष्ट देख्नथाल्दछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।