15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुल उद्घाटनको मन्चन

हास्यव्यङ्ग्य विश्व विनोद March 27, 2022, 4:46 am
विश्व विनोद
विश्व विनोद

पुलले कहिलेकाहीँ मलाई भुल गराउँछ , कहिलेकाहीँ अलमल गराउँछ, मैले भनेका कथा हजुरले सुन्नुभयो भने पनि म जस्तै दिग्भ्रमित गराउन सक्ला । कुराको कुलो खोली हालौ ल ?
यथार्थको एक ठाउँमा एकादेश थियो, जहाँ नेताहरु बाँडीचुँडी मिलेर र निलेर बसेका थिए । भुँडीवाल नेताहरुको फरक फरक गाडी थियो भने एस म्यान कार्यकर्ताहरु उनीहरुलाई साथ नै दिई रहेका थिए । त्यो एकादेशमा दुई गाउँको बीचमा एक ठूलो नदी थियो । वारी पट्टि एक गाउँ पालिका र अर्को पट्टि अर्को गाउँपालिकाको क्षेत्र थियो । गाउँमा झुक्किएर दुवै गाउँपालिकालाई जोड्ने गरेर पुलको योजना बनेछ । वाह ! दुखिया गाउँलेको मुहारमा निकै रौनकता थपियो ।
पुलको शिलान्यास गर्ने बेला भयो । एका पट्टि गाउँपालिकाका मानिसले आफ्नै पालिकाका प्रमुखको सोस फोर्स लगाएर केन्द्रिय मन्त्रिले राजधानीबाट हेलीकोप्टरमा आएर धुलो उडाउँदै शिलान्यास गरे । उता अर्को पट्टिको गाउँपालिकाको राजनीतिक धार अर्कै भएकाले उनलाई निकै मार प¥यो त्यसैले उनले पनि पुलको अर्को मुखमा फेरी पुलको शिलान्यास गर्ने योजना बनाए अनि प्रदेशमा उनको पार्टीको सरकार रहेकोले प्रदेशका मन्त्रिले हेलिप्कोटरमा आएर धुलो उडाउँदै शिलान्यास गरे ।
लगातार दुई दिनमा वारी र पारी एकै पुलको शिलान्यास भयो त्यो चमत्कारवाला देशमा ।
ठेकेदारले तीन चार बर्ष पछि कनीकुथी पुल बनायो । अब पुलको उद्घाटनको समय आयो । बिडम्बना पुलले जोड्ने दुवै गाउँपालिकाका प्रमुखहरु परस्पर बिरोधी पार्टीका परेछन् । केन्द्रमा एउटाको सरकार रहेछ भने प्रदेशमा अर्को पार्टीको सरकार बनेको रहेछ । अब उद्घाटनको दिन आउन लाग्यो । वरको पालिकाले केन्द्रिय मन्त्रि ल्याउने भनेर कुर्लिन थाल्यो भने परको पालिकाले प्रदेशको मन्त्रि भए हुन्छ भनेर उर्लिन थाल्यो । तर अहँ दुबै पालिकाको समन्वय भएन । पूर्वाधार बिकास कार्यालयका मानिसहरु पनि बिभिन्न पार्टीमा बिभक्त भएकोले पुल उद्घाटनको लागि पार्टिगत रस्साकस्सी हुन पो थाल्यो ।
भलै उद्घाटनको मिति त तोकियो तर अचम्म उही मितिमा दुवै पालिकाको प्रमुखले फरक फरक व्यक्ति बोलाएर पुलको उद्घाटन हुने भयो । उही मिति, उही समय तर पुलको दुई मुखमा दुई फरक नेताहरुको उपस्थितिमा पुलको उद्घाटन भयो । दुबै किनारामा हेलिकोप्टर उडे, फरक फरक पार्टीका कार्यकर्ता आफ्नो पार्टीका नेता जता छन् त्यतै उपस्थित भए अनि नेताले गरेको भाषणमा ताली बजाए ।
बिडम्बना, ति फरक पार्टीले एक अर्काको अस्तित्व स्विकार्न सकेनन् अनि आफू ठूलो हुँ भन्ने घमण्डको कारण दुवैले बिपरित तर्फबाट आएको गाडीलाई आफ्नो पक्षतर्फ गाडी आउन दिएनन् किनकी उता किन अर्को पार्टीले उद्घाटन ग¥यो भनेर निकै सवाल जवाफ भयो । घटनाले अर्को मोड लियो । दुवै पक्ष झडपमा उत्रिए । नयाँ बनेको पुलको बीचमा टायर बालियो । भिड उग्र हुँदै गयो , दुवै पक्षले नयाँ बनेको पुलको रेलिङ भाँच्न थाले । एक अर्कामा ढुंगा मुडा हुँदै गर्दा दुवै तर्फ दुई जनाको मृत्यु भयो । भिड उग्र हुँदै गयो अनि दुवै पक्षले पुलमा बम बनाएर आक्रमण गरे । क्षणभरमा पुल भत्कियो । वारीका मानिस वारी भए, पारीका मानिस पारी भए, केही मानिस खोलामा बगे । खोलमा बग्नेहरुलाई शहीद घोषणा गरियो भने दुवै तर्फका मानिसहरु फलानो पार्टी जिन्दाबाद र ढिस्कानो पार्टी मुर्दाबाद भन्ने नारा लगाए । म भने पुल हेरेर राजनीतिक माहौल र नदी कसरी तर्ने भनेर सोचमग्न भै नै रहेँ । तारेमाम् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।