15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कथाकार दीप प्रधानकृत कथा सङ्ग्रह 'वरपरिको जिन्दगी'

कृति/समीक्षा कृष्ण प्रधान March 27, 2022, 4:52 am
कृष्ण प्रधान
कृष्ण प्रधान

परिचयाङ्कन -
मिरिक साहित्य फाँटलाई उर्वर बनाउने हुटहुटीमा चिमल क्लब परिवार, सगोत्री परिवार, साहित्य सुनौं परिवारमा संलग्न रही साहित्य फाँटमा सक्रिय भूमिका निर्वाह गर्ने मिरिक क्षेत्रका होनहार, उद्यमी, लगनशील युवा साहित्यकार हुन् दीप प्रधान । ठिटौले उमेरदेखि साहित्यप्रति हुरुक्कै र भुतुक्कै हुने युवा साहित्यकार दीप प्रधानका कविता, कथा तथा अन्य लेखहरू हिमालचुली, सुनाखरी, आजभोलि, चिमल, साहित्य सुनौं, पलाँस बाहेक पनि अऩ्य धेरै पत्र-पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् ।
यसबाहेक पनि .यिनी आफ्नो रचना वाचन गर्न कहिले आकाशवाणी खरसाङमा दुगुरिरहेका हुन्छन् भने कहिले विभिन्न साहित्यिक गोष्ठी , पुस्तक. पत्र-पत्रिका लोकार्पण कार्यक्रमतिर स्वरचित कविता तथा कथाहरू पढ़्न दुगुरिरहेका हुन्छन् । एकजना सफल उदघोषकका रुपमा पनि यिनको सक्रियता लरतरो छैन । थर्बुकै चिमल र बिहान साहित्यिक पत्रिकाको सम्पादन गर्नमा पनि यिनको अवदान कम्ति छैन । ठुङमार्दो कुरो ता के छ भने, भर्खरै कुमार साहित्य प्रतिष्ठानद्वारा साहित्यिक पत्रकार कुमार रसाइलीको स्मरणमा राधा रसाइलीको प्रकाशनमा प्रकाशित विशालकाय ग्रन्थ 'कुमार कर्म'-को सम्पादनमा पनि साहित्यिक पत्रकार दीप प्रधानको सिंहभाग भूमिका रहेको देखिन्छ । साहित्यप्रति यिनको लगनशीलता, परिश्रमको कदर गर्दै यिनलाई बसुन्धरा ग्रामीण पुस्तकालय, बाग्राकोट र 'हाम्रो गौरव'- गोर्खा सांस्कृतिक पर्यटन महोत्सव मिरिक - २०१२ ले सम्मान गरेर हुने बिरुवाको चिल्ला पातको लक्षणमा उकेरा लाउने काम गरेको देखिन्छ ।
२ सेप्टेम्बर १९७२ का दिन पिता पुष्पलाल प्रधान, आमा सङ्गिता प्रधानको कोखबाट थर्बु नौ माइल (मिरिक) मा जन्मेका दीप प्रधानको प्राथमिक शिक्षा थर्बु प्राइमेरी स्कूल, दोस्रो शाखामा भूइँ क्लासदेखि चौथो श्रेणीसम्म भएको हो । पाँचौंदेखि आठौंसम्म थर्बु हायस सेक्ण्डरी स्कू, नवौ-दशौं बाह्रौं श्रेणीसम्म रवीन्द्रनाथ हायर सेकेण्डरी स्कूल, सौरेनीमा भएपछि खरसाङ कलेजबाट स्नातक अनि उत्तर बङ्ग विश्वविद्यालय नेपाली विभागबाट स्नातोकोत्तर सिद्ध्याएका हुन् । यिनले श्रीरामकृष्ण बी. एड. कलेजबाट बी. एड. पनि सिद्घ्याएका हुन् ।
मिरिक क्षेत्रमा शिक्षाको विकासको निम्ति मिरिकमै 'केन्द्रिय मोडल स्कूल' संस्थापन गरी सन् २००१ देखि सन् २००८, थर्बु हायर सेकेण्डरी स्कूलमा सन् २००८ देखि २०१० सम्म स्वयमशिक्षक, यसै विद्यालयमा सन् २०१० देखि २०१७ सम्म पारा शिक्षक अनि सन् २०१७ देखि अद्यावधि सोही विद्यालयका स्थायी रुपमा सह-शिक्षकको रुपमा जीवन धानिरहेका छन् । शिक्षण क्षेत्रमा पनि शिक्षक दीप प्रधान भूमिका अजब र गज्जब देखिन्छ ।
श्रीमती उर्मिला प्रधान, एकजना छोरो सत्य प्रधान अऩि छोरी श्रद्धा प्रधानका पिता दीप प्रधान एकजना असल होनहार शिक्षक, लगनशील, उद्यमी साहित्यकार मात्र नभएर एकजना अब्बल, पोख्त पति अनि पिता पनि हुन् ।
साहित्यकार दीप प्रधान आफ्नो कथा सङ्ग्रह 'जीवनको वरपरि' लिएर भारतीय नेपाली कथा साहित्य फाँटमा अवतरण भएका छन् ।
कथाकार दीप प्रधानले भारतीय नेपाली कथा साहित्य फाँटमा कथा सङ्ग्रह प्रदान गरेकामा उनको नाउँ अब भारतीय नेपाली कथा साहित्य फाँटमा दर्ता भएको छ । यसको निम्ति स्वागत सहित भक्कुमारी बधाइ कथाकार दीप प्रधानलाई ।

कथा सङ्ग्रह 'जीवनको वरिपरि'
दीप प्रधानको कथा साधनाको यो पहिलो कथा सङ्ग्रहमा मोठ उन्नाइसवटा कथा समेटिएका छन् । नेपाली कथाकृतिमा सङ्ग्रहित कथाहरूमध्येबाटै एउटा कथा वा कविताको शीर्षक टिपी कथा वा कविता सङ्ग्रहको नाम राख्ने चलन नै धेर देखिए पनि यस सङ्ग्रहमा परेका कथाहरूमध्येबाट एउटा कथा टिपी कथाकार दीप प्रधानले सङ्ग्रहको नाम नराखेर कथाभित्रका जीवनलाई समेटी सङ्ग्रहको नामाकारण 'जीवनको वरिपरि' राखेको देखिन्छ । खासै कुरा, कथालाई नेपाली कथा साहित्यको लोकप्रिय विधा हो । कथाकार दीप प्रधानका कथाहरूका विषयवस्तुमा घरेलु महकका साथै स्थानीय रङ अथवा आञ्चलिक परिवेशमा केन्द्रित भएको पाइन्छ । यिनका कथाहरू मूल विषय नै नेपालीहरूको दयनीय भोगाइसँग आबद्ध छ । त्यतिमात्र नभएर यिनाक प्रायःजसो कथाहरू सरलीकॉत छन् । सरलीकृत मात्र होइन प्रभावकारी, चेतनामूलकका साथै मार्मिक पनि छन् । कथाहरू कतै सुखात्मक , कतै पीड़ात्मक तथा दुःखात्मक हुँदाहुँदै पनि सन्देशमूलक पनि छन् । कथा सन्देशपूर्ण हुनु कथाकारको विशेषता हो । यिनका कथाहरूमा कल्पनाको भरमार छैन, कपोलकल्पित, मनगढ़न्ते, उरेण्ठेउलो कुराहरू छैनन् । कथाको गति वा वेग कुलोजस्तै सलल...बग्नुका साथै प्रत्येक कथाले धारावाहिकताको पछ्यौरा समातेर पाठकलाई कथामा घटित घटनाहरूसित अङ्कमाल गराएर लाने खालको देखिन्छ । यसैले यिनका कथाहरू आरम्भ गरेपछि कथा नसिद्धिञ्जेल एकै बसाइमा नपढ़ी धर पाइँदैन । कथामा मनोवैज्ञानिक पक्षको उदघाटन गरिएको कथामा निम्न तथा मध्यमवर्गीय जनजीवनलाई यथार्थपरक ढङ्गबाट टिपेर कथाकारले य़थार्थतालाई कथात्मकता दिनमा कुनै कञ्जुस्याइ गरेको पाइँदैन । कथाकार दीप प्रधानले आफ्ना प्राय-जसो जम्मै कथाहरूमा सामयिकता पाइने हुनाले प्रस्तुत कथा सङ्ग्रह सामयिक तथा सामाजिक घटनावलीको उत्कृष्ट कथा सङ्ग्रह हो । सामाजिक दुष्प्रवृत्तिलाई कथात्मकता रुप दिइएको प्रस्तुत कथा सङ्ग्रह सामाजिक घटनावलीको अब्बल एवम् उत्कृष्ट कथा सङ्ग्रह मान्न सकिन्छ ।

कथा विशेषण -
कथानक वा कथावस्तु -
१ । विश्वास र आस्था पनि गुमाएँ - यस कथामा म पात्र कथाको प्रमख पात्रका रुपमा रहेको देखाइएको छ । म पात्र फेसबुक, म्यासेञ्जर तथा वाटस्एप चलाउन र खेलाउनमा निपुण देखिन्छ । यसै सामाजिक सञ्जाल मार्फत् म पात्र विभिन्न ठाउँका देख-अनदेख, चिनेका-नचिनेका साथीहरूसित मित्रता गाँस्छ । दिनहुँ म पात्रलाई मित्रताको निम्ति कति अनुरोध आउँछन् कति । त्यसरी नै एक पल्ट थुप्रै मित्रताको निम्ति पठाइएका मित्र अनुरोधमध्ये पाँच जनाको मात्र अनुरोध स्वीकार गर्छ । तीमध्ये तीन जना चिनेको दुइ जना विदेशीहरू भने नचिनेको । नचिनेको विदेशी सखी अम्बर जेनिफरसित निकै गफ चल्छ । तर ती विदेशी सखी जनेफिरको कुनै फोटो ता के उनको प्रोफाइलमा लण्डनबाहेक केही नभएको जानकारी गराउन पनि म पात्रले कपटी गरेको देखिँदैन । फेसबुक चलाउन थालेको पन्ध्र वर्षभित्रमा यस्तो घटना पहिलो हो म पात्रको फेसबुके जीवनमा । म्यासेजमा जेनिफरले म पात्रलाई नाना प्रश्नहरू सोध्दै जान्छे म पात्रले पनि कुनै समय ढाँट, कुनै समय सत्य पाराले उत्तर दिइनै बस्छ । मित्रता निकै घनिष्ट हुँदै गएपछि जेनिफरले एकदिन मित्रलाई एउटा 'सरप्राइज' उपहार पठाउने कुरा गर्छे । म पात्रले त्यस्तो कुनै 'सरप्राइज' नपठाउने अनुरोध गर्दा गर्दै पनि जेनिफरले अटेरी गरेर फेरि म पात्रलाई उसको जुत्ताको साइज मागिपठाउँछे । कष्ट नगरीदिने अनुरोध गर्दा पनि फेरि उसले म पात्रको सम्पूर्ण हुलाकी ठेगाना पठाइदिने आग्रह गर्छे । अचानक दिल्लीबाट, म पात्रको नाउँमा लण्डनबाट अम्बर जेनिफरले पार्सल पठाएकी छ र फलानु एकाउण्टमा बीस हजार रुपियाँ बुझाउनुपर्ने कुरा गर्छ । जेनिफरको विन्ती, मायालु भावनामा मक्ख परेर म पात्रले दिइएको ठेगानामा बीस हजार रुपियाँ बुझाउँछ । साँच्चै म पात्रको ठेगानामा ठूलो पार्सल आउनु ता आयो । बान्धवीको उपहारस्वरुप आएको सरप्राइज गिफ्ट जुत्ता त्यो पनि बीस-बीस हजारले म पात्र गदगद हुनु स्वाभाविकै थियो । हत् न पत्त प्याकेट खोलेर हेर्दा त्यसभित्र बीस हजारको जुत्ताको सट्टा कागजका पोकाहरू मात्र भेट्टायो । उपहारको निम्ति जेनिफरलाई धन्यवाद लेखेर म्यासेज गर्दा पनि उताबाट कुनै उत्तर आएऩ । जेनफरको कुनै उत्तर नपाउँदा पार्सलको निम्ति फोन गर्ने कम्पनीलाई फोन गर्दा भूल नम्बर भन्ने जवाब आयो । यो महासञ्जालमा उसलाई बलिको पाठो बनाएको रहेछ भन्ने कुरा म पात्रले बल्ल बुझ्छ । म पात्र नराम्रो घतले ढगिएको कुरा छर्लङ्ङ् हुन्छ । आफू यसरी ठगिएको कुरा घरमा कसैलाई भन्नु बाहेक पुलिसमा जानेसम्म म पात्रको हिम्मत पुग्दैन । म पात्र यति साह्रो भएको छ....सेतो कपाल भएको सुन्दरी गोरीहरूको चित्र देख्दा पनि म पात्रको छाती गाँठो परेर आउँछ । म पात्रले त्यत्रो मोटो रकम ता गुमायो गुमायो कसैप्रतिको आस्था र विश्वास गुमाएको कुरा निर्धक, निर्लज्ज स्वीकार्छ ।

२ । बन्दना अब मरेर मात्र खुवाउने '? - भर्खर बिहे भएकी नव दुलही गाउँकै एउटा बिहे घरमा जाँदा उनीमाथि नेवारहरूको एउटा परिकार 'समय बजी' बनाउने जिम्मावारी दिइन्छ । परिचयका आदान-प्रदानपछि नव दुलहीले बनाएकी 'समय बजी' पनि आइपुग्छ । बिहे घरमा उपस्थित हुनेहरू सबै त्यो नेवारी परिकार बड़ो चाख मानेर खाए । बिहे घरमा आएकी नीनीले एकदिन उनलाई भटमास, सुकुटी हालेर 'समय बजी' बनाइदिने आग्रह गरिन् । यसरी दिनहरू बित्दै गए । धेरै महिनापछि नीनीले म पात्रलाई फेरि सो बजीबारे झस्काइऩ् । समय क्रमशः बित्दै गयो । नव दुलही वा म पात्रलाई नीनीको निम्ति 'समय बजी' बनाएर दिने कहिल्यै फुर्सद भएन । लकड़ाउनले गर्दा सबै कुरो ठप्प भएपछि केही गर्ने कुरै आएन । नीनीसित फेरि भेट हुन्छ नीनीले जहिले पनि 'अब मरेर मात्र खुवाउने ?' नीनीको प्रश्नले म पात्र वा बन्दना झस्किन्छे । तर रोगको कारणले नीनीको चोला उड़ेको खबर पाउँछे बन्दनाले । नीनी मरेर गएपछि पनि उनै नीनीको 'अब मरेर मात्र खुवाउने ?' भन्ने अनुत्तरित प्रश्नले म पात्र उर्फ बन्दनाको कलेजो छिया छिया हुन्छ ।
३ । मनको धनी - म पात्र स्वनिर्भर समूहकी जिल्ला स्तरीय प्रशिक्षिका भएकीले गाउँ-गाउँ घुमेर गाउँलेवासीहरूलाई स्वनिर्भरबारे विभिन्न विषयमा प्रशिक्षण वा जानकारी दिनुपर्छ । यसकारण म पात्र कहिले अनकण्टार ठाउँमा पुग्नुपर्छ । यसले कुनै दिन बाहिर वास बस्नुपर्छ । कहिले सस्तो होटलमा ता कहिले मङङ्गो होटलमा वास बस्नु पर्ने काम । आरम्भमा घरदेखि बाहिर बस्नुपर्दा बत्ती, पानी, शौचालय, ओड़्ने-ओछ्याउनेको सुर्ताले मर्नुहुने । तरै जे नै भने पनि नोकरी भनेको नोकरी नै हो । जीवनमा कल्पना नगरेकी ठाउँमा पुग्नुपर्छ । जीवनमा गर्दिनँ भन्ने कुरो गर्नुपर्छ, खाँदिनँ भन्ने कुरा पनि खानुपर्छ । जाँदिनँ भन्ने ठाउँमा जानुपर्छ । यही ता हो जीवन । यस कथाका म पात्र बिहे नहुञ्जेल उकालो, ओह्रालो, भिरालो, पहाड़तिर बिहे नगर्ने ढिट प्रतिज्ञा गरे पनि दैववश उनको बिहे तर दुर्गम क्षेत्रमै सम्पन्न हुन्छ । प्रशिक्षणको सिलसिलामा म पात्र टीनले अनि काठका बाकलहरू जोड़ेर बारेको घरमा वास पर्नु पऱ्यो । त्यो घरका वरिपरि विल्डिङै विल्डिङले घेरिएका थियो । घरका कोठाहरू ६/७ वटा भए पनि त्यत्रो विशाल घरमा मात्रै दुइ परिवारको वास थियो । दुइ लोग्ने स्वास्नी मात्र । दुवै लोग्ने साठी तीन कोड़ी खाइसकेका । उनीहरूका एकमात्र छोरी विदेशमा । गाईवस्तु, कुखुरा पालेका । मल बेचेर, दूध ठीकामा दिएन दुइ लोग्ने स्वास्नीले जीवन धानेका । कति सुखिलो परिवार । बिहान खाजा खाएपछि दुवै लोग्ने-स्वास्नी खाएर डोको बोकी घाँस दाउरमा जाने दैनिक रुटिऩ । सुनसान एकलास घरमा आधुनिकताको लेश मात्र थिएन । जीर्ण अवस्थामा परिसकेको शौचालय पनि टीनले बारेको एका पट्टि ह्वाङ्ङै । यस्तो अवस्था देखेर म पात्रलाई प्रशिक्षभरि कसरी बिताउनु भन्ने प्रश्नले कोपर्छ । आफ्नै खर्चमा होटलमा बस्ने निर्णय गरे पनि म पात्रलाई अतिथि ठानी दम्पत्तिद्वयले बेग्लै सानो कोठाको व्यवस्था गरिदिन्छन् । भोलि फेरि उनीहरू साबिक झैं घाँस दाउरामा जानुप्रने हुनाले म पात्रलाई जम्मै घरको जिम्मा दिएर जङ्गल जान्छन् । कति विशाल हृदय ती दुइ दम्पत्तिको । दम्पत्तिको स्नेह, अतिथि सत्कार, विश्वास सम्झेर पात्र अहिलेसम्म पनि आल्हादित बन्छिन् । म पात्र आफ्नो प्रशिक्षण सिद्ध्याएर घर आएपछि जम्मै नालीबेली उनका पति र छोरीलाई सुनाउँछिन् । सबै नालीबेली सुनेर तिनीहरू पैसाको होइन मनका धनी रहेछन् भन्ने अकाट्य मनतव्य पोख्छे ।

४ । बाचुञ्जेल दुःखेर मर्नु नै जिन्दगी रहेछ - प्रथम पुरुष दृष्टिविन्दुमा संरचित यस कथामा प्रमुख पात्रा एकजना युवती (म) रहेको छ । यस कथामा म पात्रले कथा आरम्भ भएदेखि पुछारसम्मै आफ्नो दुःखेसो, गुनासो, हुटहुटी, दुःख मनाउ, उकुसमुकुस, अबला नारीको आर्तनाद, कामुक पुरुषको स्पर्श, दुर्गन्ध, घाम-पानी-झरी-बतासको चपेट सहेकी म पात्राको आर्तनाद र जीवन वृतान्त यस कथामा ओकलिएको छ ।

५ । यो मन अनु पुर्कुटी सरको निमन्त्रण - गहन विचारले भरिएको यस कथामा म पात्र नै प्रमुख पात्रको रुपमा देखिएको छ । म पात्रको मन दोधारमा परेको छ । यिनका दुइ मन द्वन्द्वको लिङ्गेपिङमा मच्चिनुसम्म मच्चिन्छ । र ता कहिले हरिभक्त कटुवालको कविता सम्झिन्छ वा कहिले गीत गुन्गुनाउँन पट्टि मनलाई धकेल्छ । आफ्नो मनलाई आफै बुझ्न नसक्ने भएको छ म पात्रको मन । म पात्रको मन कहिले लेख्न तम्सिन्छ । तरै पनि मनै नलागेर कैयौं वर्ष सित्थैमा बिताउँछ । कुनै ठूला-बड़ाले अब वादमा कथा लेख्ने अनुरोधले म पात्रको मनलाई वाल्लै पार्छ । पात्रको अर्को सद्दे मनले वादमा लेख्नेहरू सबै स्मृतिको गर्भमा बिलाइसकेका छन् भनेर सान्तवना दिन्छ । पात्रलाई वाद कुनै चराको नाउँ हो त्यो पनि थाहा छैन । पात्र कथा लेख्ने कोशिष छ...अनि आफूले आफैलाई कथाकार हुँ के ता भनी प्रश्न तेर्स्याउँछ । एक मनले वादमा लेख्नेहरूलाई कतिले बुझेका छन् भन्छ अनि अर्को मनले कतिपयहरूले वादबिनै पनि साहित्य सिर्जना गरेकै छन् । मन दोधारमा पर्छ । उनको एक मन पुरस्कारको लोभी छैन । अर्को मनलाई कथा लेख्न छोड़िदने जङ चल्छ । रेडियोबाट आएको उत्साहवर्द्धक गीतले पात्रको एउटा मनलाई फेरि कथा लेख्ने सुर चल्छ । श्रीमतीको पनि कथा लेख्ने आग्रह छँदैछ । आफूलाई कथाकार हुने डर हुँहाहुँदै कथा वाचनको निम्ति जानलाई पनि पात्र कथा लेख्न कम्मर कस्छ । अर्को कथा सुन्नु, अरुलाई कथा सुनाउनु, आफू खुशी हुनाका साथै अरुलाई पनि खुशी पार्नु र कसैको निमन्त्रणमा कथा लेख्ने पर्ने वाध्यको माखेसाङ्लो जकड़िन्छ म पात्र ।

६ । आखिर दोष कसको ? - बिहेको काम धमाधम चलिरहेको समयमा दुइजना नानीहरू हस्याङ-पस्याङ हुँदै आएर अमन र रमन विरामी परेर अलस-तलस भएको सुनाए पछि बिहा घरमा मस्त खटिरहेका अमन र रमनका मातापितालाई सुनाए पछि ती दुवै दम्पत्ति अत्तालिँदै घर पुग्छन् । यो खबर सुनेर उनीहरूसित सँगै बिहे घरमा काम गर्नेहरू पनि अत्तालिएर उनीहरूसित रमन र अमनका घर पुग्छन् । साँच्चै उनीहरू आ-आफ्नो भुँड़ी निचोर्दै वान्ता गरिरहेका थिए । वान्ताबाट ह्वास-ह्वास्ती रक्सीको दुर्गन्ध आइरहेको थियो । धेरै मान्छेको धेरै कुरा भनेजस्तो त्यहाँ हुनेहरू कसैले नानीहरूलाई के के लागेको छ भने । तुरुन्तै झाँक्री आइपुगी मधौरालाई फुक्-फाक् गरी सिमेभूमेले भेटेको, कसैको नजर परेको कुरा सुनाए । कतिले अस्पताल नै लानुपर्छ भनी हतार-हतार एम्बुलेन्स बोलाई ती दुवैलाई अस्पताल पुऱ्याए । डाक्टरले राम्ररी जाँचेपछि नानीहरूको नाकका दुलामा नली (पाइप( घुसारी वमन गर्न लाउँदा खाको जति रक्सी निकाले । सलाइन वाटर लगाएको एक घण्टापछि नानीहरूको होश खोलेर दुवै हाँस्ने र बोल्ने भइसकेका हुन्छन् । खासमा रमन र अमनका माता-पिता रक्सी बेच्ने हुनाले घरमा दिनहुँ गाउँका ठूला-बड़ाहरू रक्सी खान आउँथे । दुवैलाई केरकार गर्दा घरमा आएका गाहकीले रक्सी खाएका देखी त्यसको देखासिकी गरी आफूहरूले पनि रक्सी खाएका कुरा सुनाउँदा सबै छक्कै पर्छन् । आमा-बाबा हुनसम्मको लज्जित भए । यस्तो घटनामा दोष कसलाई दिने भन्ने प्रश्नचिन्ह उपस्थित गरिएको छ य़स कथामा ।

७ । नो प्रब्लम - यस कथामा कथाकारले लुटी ल्यायो भुटी खायोको संसारमा बाँच्ने पीड़ित पात्रलाई म पात्रको रुपमा उभ्याएर कथा आरम्भ गरिएको छ । हतार बिहे गरेर पात्र अहिले फुर्सदमा पस्ताइरहेछ । बिहे पछि जय जन्म नहुने कुरै आएऩ । आर्थिक अवस्थाको चपेटमा जीवन कहालिलाग्दो भइरहेछ । पेट भर्न, लाला-बाला, स्वास्नी पाल्न नीजी विद्यालयमा शिक्षण पेशामा संलग्न छ । सरकारी नोकरी नपाएको दुःख मनाउ छँदैछ । सरकारी नोकरी गर्नेहरूलाई सबै कुरो सुख सुविध उपलब्ध भएको म पात्रको दुःख मनाउ उतिकै छ । यसैले श्रीमती सरकारी नोकही खोज्न वाध्य गराउँछे । छोरा-छोरीको खर्च दिनदिनै बढ़्दैछ । आफू अघोषित शिक्षक । बेरोजगार जिन्दगीभन्दा धेर छैन म पात्रको जीवन । स्ट्याण्डर्ड मेण्टेन ता छँदैछ, बजार भाउले आकाश छोइसकेको छ । पात्र आफूलाई माकुरोको जालोमा बेह्रिएको जस्तो लाग्छ । त्यबाट फुत्किने भरमग्दूर प्रयास ता छँदैछ । बल्ल बल्ल इण्टरभ्यूको सूचना आउँछ । काखीभरि आफूले कठोर परिश्रम गरेर हासिल गरेको डिग्री बोकेर इण्टरभ्यू थलो जानको निम्ति एउटा ट्याक्सी चढ़्छ । जति ट्याक्सी गन्तव्यस्थलितर गुड़्छ उति उति पात्रको मनमा इण्टर पहिल्यै भइसकेको अब ता भ्यू मात्रै होला भन्ने प्रश्नले कोपर्छ । पात्रलाई इण्टरभ्यूमा जान पनि प्रब्लम नै लाग्छ । ड्राइभरको पेन ड्राइभ चिच्चाइरहेको हुन्छ 'नो प्रब्लम' ।

८ । मानबीर अझ छक्क पर्छ - यस कथामा कथाको औचित्य बान्किलो पार्न कथाकारले तृतीय दृष्टिविन्दुमा कथा लेखिएको छ । प्रस्तुत कथा वाह्य पुरुष सीमित दृष्टिमा संरचित यस कथामा कथाकार आफू बाहिरनै बसी वर्णनात्मक र केही दृश्यात्मक पद्धतिको प्रयोग गरेर कथालाई अघि बढ़ाएका छन् । आफूले पाउनुपर्ने प्रायः तीस हजूर रुपियाँ ब्याङ्कबाट निकाल्न बलवीर ब्याङक धाएको धाएकै छ । ब्याङ्कमा किसिम बहाना गरी ब्याङक कर्मचारीले अल्ट्याङ गरेकोले हरेश खाएर , मन मारेर अब उसो सो रकम नखोज्ने पनि नखाने पनि किरिया हाली आफ्नै बेरोजगार दाज्यू मानबीरलाई सो रकम खोजेर खानू भनिवरी आफू चाहिँ विदेश लाग्छ । सित्थैमा यत्रो मोटो रकम पाइने हुनाले मानबीर पनि ब्याङ्क धाउन थाल्छ । फेरि गति उही भाइ बलबीरकै जस्तै । घरि त्यो काउण्टर घरी त्यो काउण्टर धाउँदा मानबीर हत्तु हैरान भइसकेको हुन्छ । महिना दिनसम्म ब्याङले टारेको कुरामा एकदिन झोंक्किएर, रमरम हुँदै फेरि ब्याङ पुग्छ । त्यहाँका कर्मचारीहरूसित ठाड़्-ठाड़ै बाझ्छ । भनावैरी निकै भएपछि ब्याङकमा आएका अन्य ग्राहकहरू ट्वाल्ल परेर हेर्न थाल्छन् । मानबीरको यो काण्डले झ्याउला निकै बढ़्ने डरले ब्याङकका प्रबनधकले एउटा फारम दिएर फेरि भर्ने अनुरोध गरेर । अब ता होला कि भन्यो यसबाजी पनि उसको सही मिलेर भनेर फारम फर्काइदिन्छ । बलबीर र मानबीरको सही मिल्ने कुरै आएन । खास सही मिल्ने मान्छे विदेश गइसकेको थियो । यो कुराले लाजमर्दो भएर मानबीर घर आएपछि ब्याङकमा खुट्टा टेक्न नै छोड़्छ । केही वर्षपछि एक महिनाको निम्ति बलबीर घर आएपछि मानबीर पैसा निकाल्न फेरि तम्सिन्छ । बलबीरको कुनै प्रतिउत्तर छैन । बलबीर उक्त रकमको माया मारिसकेको भए पनि मानबीरको लिँड़ेढिपीमा फेरि एकचोटि ब्याङ्क पुग्यो । ब्याङक अधिकारीले मानबीरलाई आफूले चिनेका र सोही ब्याङकमा रकम धारकलाई गवाहीरुपमा लिएर आउने आदेश दिए । बलबीरले धेर नपढ़े पनि तिनका बाल्य सहपाठीहरू भने नामी-नामी मात्रै होइन प्रायः नै उच्च ओहोदामा थिए । मानबीर हत्त पत्त ब्याङ्कबाट फुत्त निस्केर उसितै दशौं श्रेणीसम्म सँग पढ़ेका साथी सोही ब्याङ्कका मालिक विजयकहाँ गई सम्पूर्ण बेलिविस्तार लायो । ब्याङ्कका मालिक विजयसित मानबीरलाई देख्दा म्यानेजर छक्क परे । बलबीर, मानबीर र दलबीर तीनैजना साथी विजयसित ब्याङ्कमा पुगे । सबै प्रक्रिया सिद्धिएपछि पहिले ब्याङकले भुक्तान गर्न नचाहेको तीस हजार रुपियाँ बलबीरको हातमा सुम्पे । खुशी भएर घर आए पनि बलवीरले त्यो रकम मानबीरलाई दिने कुरै गरेन । मानवीर स्वाभिमानमा मान्छे सद्दे पुरुष भएकोले उसले बलवीरलाई चलाउनू भुनेको पैसा किन माग्थ्यो र ? मानेर आफ्नै स्वाभिमानमा बाँच्ने मानवीर मागेर खाने व्यक्ति थिँदै थिएन । आफू बेरोजगार भए पनि अरु सामु कहिल्यै हात नपसार्ने व्यक्ति मानबीर चूपो लागि साबिक झैँ घरको आफ्नो काम गरिरह्यो । रक्सी खाएर बरू रातभरि सुत्ने मान्छे मानबीर । तीस हजारको कल्पना गर्दै मानबीर घर आउँदा सबै आ-आफ्ना कामतिर हिँड़िसकेका हुन्छन् । बखतीबीर मालिकले बोलायो भनेर बिहानै घर छोड़ी गएको कुरा बाबाले मानबीरलाई सुनाउँछ । बाबाको कुरा सुनेर मानबीर बिलकवन्द पर्छ । दिनहरू बित्दै गए । छुट्टी लिएर घऱ आउने-जाने बलबीरको क्रम जारी छ । तीस हजारको कुरा ठ्याम्मै निकाल्दैन । बलबीरको कर्तुत देखेर मानबीर तीन छक्क पर्छ । पैसाको मोहले आफन्तलाई पनि एउटा खोलाको दुइ किनार बनाउँछ । पैसाको लोभ पनि कस्तो हुँदोरहेछ भनी मानबीर छक्क पर्छ ।

९ । प्रण आफैसँग गरेँ - प्रथम विन्दु दृष्टिविन्दुमा लेखिएको प्रस्तुत कथालाई कथाकारले लघु कथाको आकार दिएका छन् । परीक्षाको दिन परीक्षा भवनमा पुग्दा परीक्षा शुरु भइसकेको हुन्छ । अबेर पुगेकोले अत्तालिएको बेलामा एउटै उत्तर लेख्न सक्दैन । चारैतिर आँखा डुलाएर हेर्दा साथीहरू आफ्नै धुनमा लेखिरहेका देख्दा म पात्र थरथरी काम्छ । अन्तिम घण्टी बजेपछि सबैले आ-आफ्ना उत्तर पुस्तिका बुझाए । रुनु र हाँस्नु भएको पात्रबाट उत्तर पुस्तिका खोसिन्छ । अर्धचेत अवस्थामा पुगेको बेला कसैले थप्थपाएको आभास हुन्छ । हात निदाएर झनझन भैरहेको रहेछ । पात्र परीक्षा भवनमा होइन उसले सपनामा पो यी सबै देखेको रहेछ । अबेर गरी उठेकोले पात्र राम्ररी पढ़्न नपाई परीक्षा भवनमा पुग्छ । परीक्षामा राम्रै लेखे तापनि सपनाको दृश्यले घरि पनि घरि पनि पात्रलाई औँलाइरहन्छ । यी सबै कुराले पात्रले अब उसो बिहान सखारै उठ्ने प्रण गर्छ ।

१० । अप्रेल Fool - यस कथामा नारी पात्रलाई प्रथम दृष्टिविन्दुमा प्रयोग गरिएको छ । प्रीतिभोजको चहल पहल । खाने खाँदैछन् , बाँड़्नेहरू छिल्लिँदै इत्रिँदै खानीपिना, चिया, पानी ओसार पसारमा व्यस्त छन् । नव दुलही भएकी म पात्र प्रीतिभोजमा आउने जाने मानिसहरूलाई त्यति चिन्दिन । नयाँ दुलही भएकीले सिँगार-पटारका साथै स्किन टाइट कालो जिन्स, गुलाबी टाइट भेष्ट अनि जिन्सको छोटो कोटमा म पात्रलाई निकै आकर्षक देखिएको थियो । सबै उसको रुपमा मोहित भएका कुरा बुझ्न उसलाई गाह्रो परेन । भोजमा मासु र दालको भाग बाँड़्नेमा म पात्र परेकी थिई । चूल्हाबाट मासु ओसार्ने काम कालो सुट, टाइ लगाएको एकजना युवकलाई परेको रहेछ । यसरी घरि पनि मासु ओसार्दा पात्र र उसको घनिष्टता बढ़ेकोले दुवै निकै झ्यामिएका थिए । बेलुकीको खानपिन सिद्धिएपछि नाच-गान आरम्भ हुन्छ । नाँच्दा-नाँच्दै ती युवकले म पात्रलाई आई लभ यू भनि पठाउँछ । म पात्र विवाहित भए पनि उसको सिउँदोमा सिन्दूर थिएन । यसैकारण ती युवक नराम्रो घतले झुक्किएको छ । युवकको आई लभ यू-को उत्तरमा गीतमै पात्रले आफू विवाहित भएकी कुरा सुनाउँदै युवक झुक्किन्छ अप्रेल फूल भनिदिँदा युवक अरकच्च पर्छ । यो कुरा सुनेर युवकको निधारभरि चटचटी पसिना आउँछ....पसिना पुछ्दै थाकेको बहाना गरी चौकीमा थ्याच्च बसी बिनाबिच्चामा अप्रेल फूल....अप्रेल फूल भनिरहन्छ ।

११ । मैसे निर्णय लिन सकिनँ - रातदिन मोबाइलमै मस्त हुने छोरोको गतिविधि देखेर मनेले घरमा रँड़ाको मच्चाउँछ । छोरोको मोबाइल प्रति आसक्ति देखेर मनेलाई अच्चाकाली भाउन्न छुटछ र गाउँमा कोहोलो मच्चिने गरी कराउन थाल्छ । छर छिमेक पाहुनाहरू रमिता हेर्न सुन्न बऱ्याम लागेका थिए । कसैले सम्झाउने अवस्थामा थिएन, सम्झायो कि जाइ लाग्ने थालेको थियो मने । रक्सी खाएर आएपछि मनेले यसरी नै हुँड़ीबिड़ी मच्चाएको थियो । अऩ्तरे काकाको दुइ थप्पड़ले शान्त हुनु मात्र होइन नानीहरूको शिरमा हात राखी अब उसो रक्सी नखाने प्रण गरेको थियो । माझमा निकै शान्ति भए पनि लामो दिनपछि मने फेरि बौलाउन थाल्छ । कुरा बुझ्दै जाँदा छोरोले खलाउँदै गरेको मोबाइल यता ले कि यता ले भन्दैरहेछ । छोरोले मेरै पैसाले किनेको भनी ओँठे जवाब दिँदा आफूले माऊ गाई बेची किनिदिएको कुरा गर्छ । म पात्र सर त्यस घरमा पुग्दा मनेले तिनलाई उसकै विद्यार्थी रहेको कुरा बताउँछ । सरलाई वृतान्त बताएपछि सरले सबै कुरो बुझेर भोलि स्कूलमा नानीलाई बुझाइदिने भन्दा मात्र मने शान्त हुन्छ । मनेको अटेरी छोरी, म पात्र सरको विद्यार्थी । स्थित साम्य भएपछि म पात्र सर घरमा आइपुग्छन् । घर पुग्दा आफ्नै छोरी हेड फोन कानका दुलामै टाँसेर एकातिर गीत सुन्नमा मस्त अनि उतातिर छोरा लड़ीबड़ी गर्दै अनलाइऩ गेम खेल्दै गरेका देख्दा सर अरकच्च पर्छन् । आफ्नै छोरा-छोरीको गति यस्तो छ भने भोलि मनेको छोरो वा उनका विद्यार्थीलाई के भनेर सम्झाउने सो बारेमा कुनै निर्णय सक्तैनन् ।

१२ । म रिटायर्ड भएछु - घरको आर्थिक अवस्था डाँवाडोल भएको म पात्रको जीवन गाथा यस कथामा उतारिएको छ । जस्तै अवस्था भए पनि म पात्र स्कूल पढ़्न पाउँछ र चौबिस वर्षमा स्नातक सिद्ध्याउँछ । त्यसपछि शहरकै उच्च विद्यालयमा नियुक्ति हासिल गर्छ । तिनका विद्यार्थीहरू ठूल्ठूला ओहोदामा कार्यरत छन् । निस्वार्थ रुपले विद्यालयमा काम गरेकाले प्रधान अध्यापकले अवकाश ग्रहण गरेपछि उनले नै प्रधान अध्यापकको जिम्मावारी लिएका थिए । घर, समाज विद्याल्य सम्हाल्दा सम्हाल्दै म पात्रले पनि अवकाश ग्रहण गर्छन् । तर पनि विद्यालय जान उनले छोड़ेनन् । विद्यालयमा उनको कुर्सीमा अरु कोही बसेका थिएनन् । उनी दिनहुँ विद्यालय गएर बस्थे अनि तिनका उत्तराधिकारीलाई विद्यालयका जम्मै कामहरू सिकाउँथे । तिनका उत्तराधिकारी सम्पूर्ण रुपमा पारङ्गत भएपछि नयाँ उत्तराधिकारीलाई कार्यभार हस्तान्तरण गरे । विदाइ समारोह सम्पन्न भयो । तर पनि उनी विद्यालय जाने छोड़्दैनन् । सबै काम गरिदिन्थे । भूल कतै छ भने सच्याइ पनि दिन्थे । विद्यालयको फाइल हेरि सिद्ध्याएर अफिसबाट खुट्टा निकाल्ने बित्तिकै एकजनाको उनकै सहकर्मीले बूढ़ो किन आइरहेको होला नि भन्ने कटु वचन उनका कानभरि थुरियो । अर्कोको उही व्यङ्ग्य , बूढ़ोलाई रहर छ नि ता भन्ने कटुवचन फेरि कानैमा थुरिन्छ । यो कटु वचनले अवकाशप्राप्त सरलाई असह्य हुन्छ र अवकाश ग्रहण गरेपछि पनि कर्मक्षेत्रलाई किन माया गरिरहेँ होला भन्ने प्रश्नले उनलाई कोपर्नुसम्म कोपर्छ । खिन्न मन लिएर अवकाशप्राप्त सर विद्यालय प्राङ्गणमा नढिम्किने प्रण गरी आफ्नो बाटो लागे र मनमनै उनी साँच्चै रिटायर्ड भएको महसूस गरे ।

१३ । यस्तो पनि हुँदोरहेछ - प्रस्तुत कथामा पूर्व विद्यार्थी उर्फ सान्नुको कथा भन्ने म पात्र आफैले आऱफ्नै पीर-व्यथा तथा आफू ठगिएको कुरालाई मिश्रित दृष्टिविन्दुको आधारमा लेखेको पाइन्छ । प्रथम पुरुष पात्रलाई टाड़ाको साइनो सम्बन्ध रहेकी भाञ्जी सान्नुको बालसुसलभ आनीबानीले मोहित पारेको थियो । साइनोले भाञ्जी मात्र होइन उनको पूर्व विद्यार्थीसमेत थिई सान्नु । म पात्र आफू कार्यरत रहेकै विद्यालयबाट सान्नुले दसौं श्रेणी पढ़दा-पढ़्दै सान्नुका बाबाले सान्नुलाई छोड़ेर गए सधैंको निम्ति । बाबाको दुःखद निधनपछि सान्नु रोई मात्र रहन्थी । म पात्रले फकाएर उनलाई सान्तवना दिन्थे । दसौं श्रेणीको परीक्षा उसले तीन पल्टसम्ममा पनि पास गर्न नसक्दा मुक्त विद्यालयमा एघारौं श्रेणीमा भर्ना भई । त्यसपछि बाबाको ठाउँमा कामको निम्ति कहाँ कहाँ कुदिन । यसरी कामको निम्ति दौड़धूप गर्नाका साथै उसले बाह्रौं श्रेणी पनि सिद्य़ाई । लाख प्रयास पछि बल्ल नोकरीको निम्ति चिठी आउँछ । म पात्र अर्थात् मान्नुका साइनोले मामा तथा पूर्व शिक्षकले मुख्य कार्यालय कलकत्तामा पठाउँछन् । कति धाइन मुख्य कार्यालयमा । एकदिन सान्नुले फोनमा म पात्रलाई नियुक्ति पत्रको निम्ति पन्ध्र हजार दिनुपर्ने कुरा सुनाई । उनले उसलाई तीन-चार दिनको समय मागे । सान्नुले पन्ध्र हजार मागेकी कुरा श्रीमतीलाई सुनाउँदा म पात्रले श्रीमती झपऱ्याइँ खाए । श्रीमती घुइँकिँदै चेकबुक, पासबुक र एटीटएम कार्ड पछारिन् । आफू स्वयम् अस्थायी कर्मचारी रहेका र स्थायीत्वको निम्ति दुगुरेको दुगुरेकै । आफू ता महादेव उत्तानु कसलाई दिने वर भनेजस्तो त्यत्रो मोटो रकम दिन सक्तिनँ भन्ने कुरा सान्नुलाई भन्नु मन लागे पनि कसरी भन्नु भन्ने कुरामा तिनी स्तब्ध भए । सान्नुलाई दिएको तीन दिनको वचन पूराल भइसकेकोले सुन्नुले फेरि फोन गरेर पैसाको कुरा गर्दा टार्ने कोशिष गर्दै अझ दुइ दिनको समय माग्छन् । भोलि बेलुकी नै पैसा लिएर कलकत्ता जानुपर्ने कुरा रुञ्चे स्वरमा सुनाउँछे । म पात्र अरकच्च परेर भोलि ब्याङकमा बोलाउँछन् सुन्नुलाई । दिएको चेक पनि साट्न नजानेकी पात्र स्वयम् ब्याङ पुगी पैसा साटी सुन्नुको हातमा थमाउँछन् । दुइ महिनाभित्रमा नोकरी भएपछि पैसा फिर्ता दिने कुरा गरेकी सुन्नुको दुइ महिनासम्म काम भए नभएको कुनै खबर छैन । यती श्रीमतीको गनगन् उत्तिकै छ । सात महिना बितिसक्दा पनि कुनै खबर नहुँदा कति चोटि फोन गरे । तर सुन्नुले पुरानो नम्बर पनि साटिछ । कहिले काहीँ बाटोतिर देख्दा सुन्नुले देखेर पनि नदेखेकी जस्तो गर्न थालेकी छ । एकदिन जिस्काउने निहुँमा म पात्रले फोन गर्दा सुन्नुले नेपालमा छु भनी हाकाहाकी ढाँटी । पछि कुनै दिन बजारमा भेट हुँदा कामको बारेमा सोधीखोजी गर्दा सुन्नुले अझै पनि काम नभएको कुरा सुनाई । धनको मुख रातो हुन्छ भन्ने कुरा म् पात्रलाई छतछती याद भयो । जीवनमा पैसाले मानिस टाडिँएर यस्तो पनि हुँदोरहेछ भन्ने लागिरह्यो म पात्रलाई ।

१४ । मनु र इन्दुले घर छोड़े - दुइ दिदी-बहिनी मनु र इन्दु साथीहरूभन्दा पनि आगर मिल्थे । जीवनमा कुनै समस्या, अड़्चनको सामना नगरी सोह्र र अठार बसन्तकी भए । तर बर्खाको राति प्राकृतिक प्रकोपमा परी दुइजनाको सुखी परिवार बिल्लीबाठ भयो । छोरीहरूलाई प्राकृतिक प्रकोपबाट जोगाउनु आमाको मृत्यु भयो भने बाबु चाहिँको भने ढुङ्गाले चेप्टिएकोले कुट्टा काटेर विकलाङ्ग बन्नुपऱ्यो । जसोतसो इन्दुले स्नातक सिद्ध्याई भने मनु चाहिँ कल सेण्टरमा काम गर्न थाली । बाबाले पिउन थाल्छन् । बाबालाई नपिउने बारे कतिपल्ट सम्झाउँदा पनि विकलाङ्ग बाबाको कानमा ठ्याम्मै बतास परेन । उनी झन् बिग्रिए । यसरी जसोतसो घर संसार चले पनि एकदिन कल सेण्टरमा एकजना भद्रजस्तो युवकसित भेट हुन्छ । घनिष्टता ब़ढ़ेर गएपछि मनु ती युवकप्रति निकै आसक्ति हुँदै गई । त्यसपछि ती दुइको लगातार भेट हुनथाल्यो । अऩ्त्यमा दुवैजना एक भई बस्ने वाचा सहित मनु हराएकी हराएकै भई । मुन्नु हराएकी सूचना सार्वजनिक गरी इन्दुले । तर कामको काम केही भएन । एकदिन अखबारमा त्यो युवकको नक्सा सहित नारी तस्करी पक्राउ भन्ने खबर आयो । त्यस युवकबाट पुलिसले थुप्रै नकली पासपोर्टर जाली रुपियाँ पनि उद्धार गरेको रहेछ । जहाँ जहाँ जान्छ त्यहीँका युवतीहरूलाई आफ्नो जालमा फँसाई देश-विदेशमा समेत देह व्यापारमा संलग्न गराउँदोरहेछ । यो खबर पढ़ेर अनि त्यस युवकको नक्सा चिनेर इन्दु इन्तु न चिन्तु हुन्छे । सामाजिक संस्थाको गतिलो सहयोगमा मनु घर फर्किन सकी । घर आएपछि मनुले कसैबाट राम्रो व्यवहार पाइन । समाजमा बाँच्नु बड़ो अपठेरी परिसकेको थियो दुवै दिदी-बहिनीलाई । लाखौं लाज, शरम, पीर, वेदना तथा कुण्ठा बोकेर विकलाङ्ग बाबालाई एक्लो पारी दुवै दिदी-बहिनीले एकसाथ घर त्याग्छन् ।

१५ । गोष्ठी भएरै छोड़्यो - साहित्यिक गोष्ठी हुने लोभमा श्रीमतीसित बाझ्दै-जुझ्दै भए पनि गोष्ठीमा जाने साथीको फोनको घण्टीले झस्काउँछ प्रथम पात्रलाई । साथी निस्किसकेका रहेछन् । साहित्यको नशाले लठ्ठ परेर श्रीमतीको गनगनलाई वास्तै नगरी म पात्र गोष्ठीतिर पुग्छ । तर गोष्ठी हुने गोष्ठीथलोमा साहित्यिक साथीहरू एकैजनाको पनि अनुहार देख्दैन । गोष्ठी संयोजन, निम्तारु तथा सहभागी कसैको पनि उपस्थिति देखिएऩ । डेढ़-दुइ घण्टा अबेर गरी उपस्थित भइदिने साहित्यिक गोष्ठीको परम्परा गोष्ठीथलोमा पनि रहेको कुरा छ्याङ्ङै हुन्छ म पात्रलाई । बल्ल-बल्ल दुइजना थपिँदा उपस्थित हुनेको सङ्ख्या तीनजना पुग्यो । सबै साथीहरू यस्तो स्थिति देखेर हताश हुन्छन् । गोष्ठी थाँतीमै रहेकोले सबै आ-आफ्नो गन्तव्यतिर लागे । निकै माथि पुग्दा भने एकजना साहित्यिक साथी हतारिँदै ओह्रालो आउँदैथिए गोष्ठी हुन नसकेको कारण बताउँछ । अनौठो प्रवृत्तिका साहित्यकारहरूले जुनै ठाउँमा भए पनि गोष्ठी गरेरै छोड़्ने निधो गरे । आयोजकमण्डलीको पक्षबाट कुनै अगावै सूचना नपाएका सबैको दुःख मनाउ ता थिँदै थियो । गोष्ठीतिरै परिचय भएको बहिनीसित जम्का भेट हुँदा उनलाई सबैलाई केर्नुसम्म केरे । ती बहिनी पनि जिल्ल परिन् । अतिथिवर्गलाई निम्त्याएर आयोजक वर्ग नै अनुपस्थिति नहुनु पर्ने कुरामाउनले माफ मागिन् । जे भए पनि गोष्ठी गरेरै छोड़्ने निर्णयलाई बहिनीले गतिलो सहयोग गरिन् । स्थानीय व्यवसायी भवनमा गोष्ठी सम्पन्न गरियो । उपस्थित सबैले निजी रचना वाचन गर्छन् । घरमा आएर श्रीमतीलाई गोष्ठी भएरै छोड़्यो भन्ने कुरा सुनाउँछ । तर भोलिपल्ट अखबारमा नक्सासहित ढाँट खबर छापेको देखेर म पात्र फिस्स हाँस्छ अनि लामो श्वास फेरेर सुस्तरी भनिपठाउँछ , गोष्ठी भएरै छोड़्यो ।

१६ । मैले काम पाएँ - जुलूस नारीबाजीमा उपस्थित भइदिँदाको परिणामस्वरुप म पात्रले भोलियनटेयर रुपमा काम पाएको छ । अब स्थायीको निम्ति रातदिन एउटा गरेर दुगुरेको कथा अर्कै छ । कामको लोभमा धर्नामा बस्दा, भोक हड़ताल गर्दा कति झर्झराउँदा युवकहरूको जीवन नै बिल्लीबाठ भएको कुरो ढाँट होइन । घरकाहरूलाई पनि ढाँट्दा ढाँट्दा अब केही भएको छैन भन्नुको सट्टा अलिक दिन पछि भनेर टार्नुपर्ने स्थितिमा युवकहरू बाँच्नुपरेको स्थिति । यस्तो नोकरीको तिर्सनामा, छटपटाइमा पात्र मानसिक तनावले रन्थनिसकेको छ । बल्ल तल्ल काम पक्कापक्की हुने खबर आउँदा म पात्र कोसेली लिई घर पुग्छ । सबै काम पाएको खबर सुन्न काकाकुली छटपटिरहेको स्थितिमा म पात्रले मिठाई, केक लिएर घर पुग्ने बित्तिक्कै आफूले काम पाएको कुरा सुनाउँदा घरमा उपस्थित सबैका आँखा रसिन्छन्...आँशुका ढिकाहरू चुहुन्छन्...तर त्यो आँशु खुसीको आँशु थियो ।

१७ । म फेरि क्वारण्टिनमा बसेँ - कमानमा श्रमिक काम गर्ने आमा अनि कमजोरी बाबा रोजकारी काम गर्ने गरिबा आमा-बाबाका सुपुत्र (म पात्र) जसोतसो उच्च माध्यमिक छिचोले पनि आर्थिक अवस्था साह्रै कमजोर भएकोले आफू कमजोरी रहेको बहानी गरी कलेज पढ़्ने इच्छालाई तिलाञ्जलि दिने म पात्र साथीहरूको लहैलहैमा लागि कामको खोजीमा बिहार पुग्छ । बिहारको उखरमाउलो गर्मी, होहल्ला तथा दूषित वातावरणले अस्वस्थ भई फेरि म पात्र घर ऱ फर्किन्छ । पाँच जनाको परिवार । घरको आर्थिक अवस्था बलियो थिएन । आफू कमजोरी भएकोले कमान काम गर्ने तागत थिएन । जसरी पनि बाँच्नु ता पर्छ भन्ने विचारमा सय दिने काम चलुञ्जेल हाजिरा दिनु पुगे पनि खर्च ढिलो दिने भएको गोजी रित्तै । केही महिना त्यसै यताउति रल्लिपछि मन भुलाउन नेपाली मावली तिर लाग्छ । नेपालका चारजना मामाहरू लखनौ जाने मतो मिलाएको थाहा पाएर म पात्र कामको खोजीमा लखनौ लाग्छ । छत्तीस घण्टाको लामो रेल यात्रापछि लखनौ पुग्छ । मामाहरूले अगावै कामको बन्दोबस्त गरिसकेका हुनाले घर भाड़ा लिई जुत्ता दोकानमा काम शुरु । म पात्रलाई लेख-पढ़् गर्न जानेकोले उसलाई कारखानाबाट बाहिर पठाइने जुत्ताको तथ्याङ्क राख्ने काम दिन्छ । जसोतसो जीवन चल्दैथ्यो तर अचानक कोरोनाले संसारभरि उत्पात् मच्चाउन थालेको थियो । त्यसपछि देशव्यापी लकडाउनको घोषणाले एक्काइस दिनसम्म म पात्र र तिनका साथीहरू ठट्टा गर्दै बिताउँछन् । काम दाम केही छैन । त्यसपछि फेरि लकडाउन घोषणा सुनेर एक महिनाको तलब दिएर मालिकपक्षले लकडाउन खोलिएपछि मात्र काममा आउने आदेश दिन्छन् । हातमा रहेका पैसाहरू एक्काइस दिन मात्रै ता लकड़ाउन ठानी पैसा फुर्मास गर्छन् । म पात्र परदेशम बेरोजगार नै भयो । केही अरु उपाय नहुँदा म पात्र आफ्ना साथीहरूसित फेरि पैदलै घरै फर्किने निर्णय लिएर लखनौ छोड़्छन् । ठाउँ-ठाउँमा पुलिसको लट्ठी प्रहार थिँदैत्यो । कतै बिसाउने ठाउँ थिएऩ । गुगलको मानचित्र हेर्दै दस दिने थकित यात्रापछि म पात्रहरू नक्सलबारी आइपुग्छन् । मेडिकल टेस्ट पछि चौध दिनको क्वारेऩ्टाइनवास । त्यसपछि प्रमाण पत्र लिएर घर आइपुग्छ म पात्र । घर-परिवार लगायत साथी-भाइहरूलाई भेट्ने तीव्र इच्छाले म पात्र तड़पिनुसम्म तड़पे पछि बल्ल बल्ल गाउँ ता पुग्छ तर कसैले गाउँकै निनीले म पात्रलाई देखेर झ्याल ढप्काएकी देख्छ । माथि डिलमा आमा-बाब र दुइ भाइ पात्रको प्रतिक्षामा हँसिलो मुहार लिएर उभिरहेको देखे पनि आमाले सोझै घरमा ऩआएर कम्युनिटी हलमा जाने निर्देशका साथै बाबाले क्वारेऩ्टाइनमा बस्नुपर्ने कुरा सुनाउँदा म पात्र अरकच्च पर्छ । सबै म पात्रदेखि टाढ़िनुका साथै चौध-चौध दिनसम्म क्वारेन्टाइनमा बसेर आएकोले घर परिवार नै सोसियल बाइकट भएको तितो अनुभवले म पात्र दुःख मनाउ गर्छ ।

१८ । मेरो विन्ती छ - आत्मपरक निबन्धात्म शैलीमा लेखिएको यस मार्मिक कथामा खसीको दुःखद जिन्दगीको कथा-व्य़था छ । गाउँ-घरहुँदी बड़ो जतनका साथ खसी-बाख्रा पाल्छन् तर ती अबोला, निरीह, निर्धा-निरुपाय पशुलाई दसैं वा बिहेको छेक तिर बिक्री गरी काटमार गर्छन् । मान्छेले यसरी पशु हत्या गरेको आरोपमा पशु हत्या गरेको दोष लाग्दैन भन्ने खसीको गुनासो सुनिन्छ । यिनीहरू मानिस जातिलाई घृणा गर्छन् । विद्रोह गर्ने आँट र क्षमता यिनीहरूसित छैन । मानिसहरूले खसीको हत्या गरेकामा दुःख मनाउ गर्दै खसी भन्छ -''अर्को जुनीमा म मान्छे नबन्न सके पनि कम से कम बाख्रा भएर जन्मनु नपरोस् अनि यी सभ्य मान्छेहरूले पनि बाख्राको जुनी कहिल्यै नपावोस्.... मेरो विन्ती छ ! मेरो विन्ती छ !!"

१९ । छोरीले भनेजस्तो कथा लेख्न थालेँ - पात्रलाई कथा लेख्ने अदम्य इच्छा छ तर कथा लेख्नै सक्तैन । कोरोनाको प्रकोपले तछनछ पारिसकेको छ संसारैमा । जस्तै डरलाग्दो कोरोना आए पनि मान्छे अटेरी गरी बजारमा निष्फिक्री घुमेका देख्दा, बजार-पात गरेका देख्दा म पात्र छक्क पर्छ । पात्र कथा लेख्ने कुरा सोंची अलिलिलि लेख्नैपर्छ भनी ढीट बन्छ । जति गर्दा पनि कथा लेखिँदैन म पात्रबाट । बुवाको यस्तो असमञ्जस्ता देखी अनलाइन क्लास गर्दै गरेकी पात्रकी छोरी तपाईलाई के भयो भनी प्रश्न गर्दा पात्र कथा लेख्न बसेको तर विषय नै नपाएको कुरा सुनाउँछ छोरीलाई । पात्रको असक्तता बुझी छोरीले आफ्नै कथा लेख्न अनुरोध गरेपछि छोरीको उत्साह, प्रेरणा, जोश लिएर छोरीले भनेजस्तै कथा लेख्न थाल्छ ।

२० । हामी खुशी छौ ! सुखी छौं ! - सात जना परिवारमघ्ये सबैभन्दा कान्छो छोरो भएकोले भुरा उमेरदेखि नै कुनै दुःख नभोगी सुखै-सुखको काखी चेपाइमा हलक्कै बढ़ेको पात्रको दिनचर्या गाउँकै दौंतरी भुराभुरीहरूसित बित्छ खेलेरै बित्छ । शोक न सुर्ता भोक न भकारीका धनी म पात्रको पढ़ाइ पनि राम्ररीसितै बित्छ । त्यति ज्ञानी विद्यार्थी नभएकोले परीक्षामा चित्तपर्दो मार्क्स कहिल्यै हासिल गर्न नसके पनि तर स्कूलमा फेल चाहिँ कहिले भएन । सङ्गीतप्रति झुकावका साथै गिटार भनेपछि हुरुक्कै हुने म पात्रले गुरुबाट गिटार वादनबारे कुनै ज्ञान नपाए पनि अरुले बजाएका देखेर गिटार बजाउनसम्म सिकेकोले अहिले घरभरि गिटार थुपारेरे गिटार वादनको तिर्सना मेटाइरहेछ । घरका सबै ठूला-बड़ाको काखी- चेपाइ, लाड़-प्यार, थैथैले मातेर पछि पछि सबैका आँखा तारा पैसाले मातिएको छोरो कुलतमा लाग्छ । तर साथीहरू थोरै भएकाले यो कुलतले म पात्रलाई अम्मली बनाउन सकेन । दाजु-दिगीहररू सबैका हातखुट्टा बाँधिएर लालाबालाका धनी भए पनि म पात्र भने मुग्लिस नै देखिन्छ । बल्ल-बल्ल अन्तरजातीय प्रेमिका भेट्टाइए पनि घरका सबै अनभिज्ञ नै थिए । विशिष्ट सरकारी ओहोदामा रहेकी प्रेमिकाको मोहले म पात्रको कुलतमा लगाम लाग्छ । यसबारेमा अद्यावधि प्रेमिका अनभिज्ञ नै छे ।
बाबाको नाति हेर्ने धोका पूरा गर्न म पात्र बिहे गर्न वाध्य हुन्छ । हातखुट्टा बाँधिए पनि म पात्र भने बेरोजगारकै लिङ्गेपिङमा हुर्रिनु बाहेर अरु उपाय केही थिएन । एक ता बेरोजगारको तनावले छटपटिनु परिरहेको बेलामा बिहे भएको ६ वर्षसम्म पनि जयजजन्म नहुँदा अर्को थप तनावमा म पात्र अधमरो हुन्छ । नैराश्यको बादलले म पात्रको खुशी, जोश, उत्साह वा दाम्पत्य जीवनमा कुइरो लागिनै रहन्छ । तरै पनि आफू छोरोका पिता हुने डाक्टरको सुखबर सुनेर खुशी हुँदा हुँदै पात्रको नोकरी स्थायी भएको खबरले दोबर खुशीले पात्र मक्ख पर्छ । चाहिँ सक्तैन । जीवनलाई स्वाहा पार्नसम्म तयार हुन्छ । घरमा नानी आएपछि पात्रको संसार सुखिलो मात्र होइन रमाइलो पनि हुन्छ । दुइ लोग्ने-स्वास्नी दाँत र गिजा झैँ भई नानी स्याहार्छ...घर संसार चलाउँछ । तर म पात्रको कमजोरी के छ भने ऊ बाह्रैघण्टा मोबाइल सुम्सुम्याइ रहन्छ । घरमा श्रीमतीलाई सघाउनु ता परै जावोस् तर रुँदै गरेको नानीलाई समेत फकाउने फुर्सद हुँदैन । लखतरान खट्दै आइरहेकी श्रीमतीलाई पतिले नानी रोएको यादै नगरेको देखेर रणचण्डी हुनु स्वाभाविकै हो । रिस खपिनसक्नु भई पतिको महङ्गो दामको मोबाइल भूइँमा पछारेर रिस शान्त पार्छे । बोलचोला बन्द । अरु के केही गर्न नसके पनि म पात्रले राम्रा साथीहरू बनाउऩ सकेको छ । साथीहरू उसलाई बेला बखत राम्रा-राम्रा सल्लाह दिइबस्छन् । श्रीमतीसित सामान्य ठाटाक-ठुटुक परेपछि म पात्र आफ्नो रिस पटक्कै कम्ति नगर्ने अनि सेखी गर्ने स्वास्नीसित त्यसरी नै सामना गर्ने निर्णय लिए पनि अन्त्यमा साथीहरूले श्रीमतीलाई सहयोग गर्नुपर्छ, पुरुषार्थ देखाउन हुँदैन, सेखी नगरी श्रीमतलाई हरेक क्षेत्रमा सघाउनुपर्छ भन्ने प्रवचन सुनेपछि म पात्र साथीले भनेजस्तै श्रीमतीलाई 'सरी' भन्न वाध्य हुन्छ । साथीको भनाइमा आफ्नो ढिट, लिँड़ेढिपी, अभद्र व्यवहारमा परिवर्तन ल्याएपछि अहिले दुइ दम्पत्ति सबै कुरामा खुशी हुन्छन् ।

शीर्षकको सार्थकता -
सङ्ग्रहमा समाविष्ट उन्नाइसवटा कथामा दिइएका शीर्षकहरूसित कथा सङ्ग्रहको शीर्षक बेग्लै देखिन्छ । कथा सङ्ग्रहको नामाकरण 'जीवनको वरिपरि राखिएको छ । यस शीर्षकमा कुनै कथा लेखिएको पाइँदैन । यसकारण यस सङ्ग्रहको शीर्षक रखाइमा पनि एउटा नयाँपन देखिएको छ । अहिलेसम्म देखा परेका कथा सङ्ग्रहमा सङ्ग्रहमा परेका कुनै एउटा कथाको शीर्षकलाई नै सङ्ग्रहको नामाकरण गरिने परम्परा देखिएको छ । तर यस परम्परालाई भत्काएर कथाभित्र नभएका तर कथाकै परिधिभित्र शीर्षक राखिएको पाइन्छ । यस कथा सङ्ग्रहमा देखा परेका पात्रहरूको जीवन शैली, समस्या, वाधा-अड़्चन, विरोध-वितृष्णालाई उजागार गरिएको पाइन्छ । पात्रका जीवनको वरिपरि घटेका घटनालाई प्रस्तुत गरी तिनमा सन्देश प्रस्तुत गर्नु नै कथाकारको उद्देश्य र जमर्को देखिन्छ । कथा सङ्ग्रहमा परेका प्रायःजसो कथाहरू प्रथम पुरुष दृष्टिविन्दुको आधारमा लेखिएको भए पनि प्रत्येक म पात्रको व्यथा, पीर, असहिष्णुता, सहनशीलता नै जीवनका वरिपरि बसेका हरदर पात्रहरूको व्यथा, पीर, गुनासो, हर्ष-विमर्ष हो । जीवनको वरिपरि अनेकन् दृश्य, घटनाह्ररू देखिन्छन् । तिनैलाई समेटेर कथाकार दीप प्रधानले सङ्ग्रहमा सग्रहित कथाहरूको शीर्षकभन्दा प्रस्तुत कथा सङ्ग्रहको शीर्षक राखेको हुँदा प्रस्तुत कथा सङ्ग्रह नामको शीर्षक सार्थक देखिन्छ ।

कथाप्रवृत्ति -
मिरिक भेक मात्रै होइन भारतीय नेपाली कथा साहित्यका उदीयमान कथाकार दीप प्रधानको पहिलो कथा सङ्ग्रह हो 'जीवनको वरिपरि' । कथाकार दीपले आफ्ना कथाहरूमा नेपाली समाजको जीवन्त चित्र उतारेका छन् । तीव्र सामाजिक चेतनाको मगमग वासना आउने यिनका कथाहरूमा नेपाली जनजीवनको यथार्थ परिस्थिति, घटनाको चित्रण गरेर स्थानीय तथा आञ्चलिक कथाकारमा हुने हुने बिरुवाको चिल्ला पातको लक्षण देखाउन सफल भएका छन् । आफ्नै सामाजिक जीवनका वरिपरिका घटनाहरूलाई कथाशिल्प बुनबान पारेर नयाँ जीवनदृष्टि दिने प्रयास गरेको पाइन्छ । कथालाई घटनासित बुन्दै जाँदा यिनी कतै पनि भावुकता बाईपङ्खी घोड़ामा नचढ़ी नै आफ्नै धरातलमा बसी यथार्थको चित्रण गर्नमै व्यस्त देखिन्छ । यिनका म पात्रले भोगेको घटनाले समाजकै वरिपरि बस्ने कसै न कसैलाई सायद कहीँ न कहीँ, कतै न कतै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिमोटेको हुनैपर्छ । सामाजिक मूल्य र मान्यताको सम्बन्धमा पात्रलाई प्रथम पुरुष दृष्टिविन्दुको धरातलमा उभ्याएरै पनि पात्रको व्यक्तित्वको प्रतिष्ठा गरेको पाइन्छ । यसैकारण कथाकार दीप प्रधानलाई सामाजिक यथार्थवादी कथाकारको पङ्क्तिमा सजिलैसित उभ्याउन सकिन्छ ।
कसैलाई विश्वास गर्दा आफै खलिकपूर हुनुपर्ने वर्तमानमा फेसबुके सम्बन्धले धेरै ठगिएका घटना अहिले व्यापक रुपमा फैलिएर गएको छ । सङ्ग्रहमा परेको पहिलो कथा 'विश्वास र आस्था पनि गुमाएँ' उत्कृष्ट कथा हो । यस कथामा दीपले आरम्भमा फेसबुक मार्फत् चिनाजाना, पछि लम्बेतान म्यासेज र सामान्य अपरिचित युवतीको सामान्य सरप्राइज गिफ्टको लोभमा बीस हजार पठाएको र पछि जुत्ताको प्याकेटमा कागजको डल्ला मात्रै हात पर्नु अनि पछि सम्पर्क नै नहुनुजस्ता घटनाले कथालाई मार्मिक बनाएको छ । अदेख, अपरिचितहरूसित टुप्पो फेद केही नबुझी मित्रता गाँस्दा हुने दुष्परिणामलाई कथाकारले कथाको माध्य्ममा देखाएर सम्पूर्ण फेसबुके साथीहरूलाई सतर्क गराएका छन् । यिनी आफ्नो समाजका तमाम् फेसबुके युवा-युवती मित्रहरूलाई जोगिएर. बुझेर मात्र सम्बन्ध गाँस्ने सङ्केत पनि दिएका छन् । कसैलाई पनि आशा देखाउनु हुँदैन । आशा देखाएर पछि त्यही आशा नै पश्चाताप र ग्लानीको भुङरोमा पर्नुपर्छ भन्ने किसिमको कथा हो 'बन्दना अब मरेर मात्र खुवाउने ?' । नयाँ आएकी बुहारीले एउटा बिहेमा नेवारी पकवान 'समय बजी' बनाएर सबैलाई खुवाउँछे । बुहारीको यो 'समय बजी' यति साह्रो मिठाइलो, टेसिलो हुन्छ सबै यस पकवानमा मक्ख पर्छन् । झन् नीनीले ता यसमा अरु सामग्री थैथाप गरी यस्तो मिठो 'समय बजी' बनाउने नयाँ बुहारीलाई अनुरोध गर्दा बुहारीले वचन ता दिन्छे । तर समयको व्यस्तता तथा घरको कामले फुर्सद नहुँदा नीनीको आग्रह बुहारीले पूरा गर्न सक्तिन । अन्त्यमा नीनी बितेकी खबरले बुहारी मर्माहुत हुनुमात्रे होइन थकथकी हुन्छे । समाजमा भइरहने घटनालाई कथाकार दीपले मिठो पाराले बुनेर प्रस्ततु गर्नु मात्र होइन सामाजिक सन्देश पनि दिएका छन् । मानिस जस्तै असहाय भए पनि कतिको चाहिँ अतिथि सेवा गर्ने ध्याउन्नमा लागेर दिलोज्यानले अतिथि सेवा गर्छ भन्ने यथार्थ कथा हो 'मनका धनी ।' 'बाँचुञ्जेल दुखेर मर्नु नै जिन्दगी हो' कथामा नारी जातिले बाँचुञ्जेल दुःख भोग्नुपर्छ र त्यही दुःख भोगाइ नै जिन्दगी हो भन्ने सङ्केत दिएको पाइन्छ । राखेको हुँदा प्रस्तुत कथा सङ्ग्रहको नामको शीर्षक सार्थक देखिन्छ । 'यो मन अनि पुर्कुटी सरको निमन्त्रणा' निबन्धात्मक कथामा, हिजोआज साहित्यमा चल्ने वादप्रति कथाकारको वितृष्णा देखिन्छ । वाद पछ्याउने वा वाद आन्दोलन आरम्भ गर्ने साहित्यकारहरू आफ्नो वादसितै ओझेलमा परेका र तिनका वादलाई कतिले अद्यावधि समर्थन गरेका छन् भन्ने लेखकको तर्क टड़कारो देखिन्छ । यस तर्कलाई नकार्ने ठाँवै छैन । .यिनको भनाइमा साउँ अक्षर छिचोल्ने पाठकहरूले पनि साहित्य रुचाउनुपर्छ भन्ने कथाकारको आह्वान देखिन्छ । लेख्न मन लागे मात्र लेख्ने नत्र कैयौं वर्ष थन्केर बस्ने लेखकप्रति कथाकारको सिकसिक मुनासिब देखिन्छ । मन बुझाउनु, अरुलाई खुशी पार्नु मात्र साहित्य लेख्नेहरू प्रति कथाकारको व्यङ्ग्य ठुङमार्दो देखिन्छ । हाम्रो समाजमा देखा पर्ने असामाजिक क्रियाकलापप्रति कथाकार स्वयम् प्रत्यक्ष दर्शक भएर समाजजीवनको नकारात्मक घटनलाई कथा 'आखिर दोष कसको?' छर्लङ्गै पारिएको छ । कथा छोटो छ यद्यपि कथाको विषय गहन, गहिरो, गहन, कदरणीय पनि छ । घरमै रक्सी बेच्नेका छोराहरूले रक्सी खान आएका ग्राहकले रक्सी खाएका देखेर ठूला मान्छेले खाएको कुरा राम्रै ता होला भनी रक्सी खाएर घर परिवारलाई डरसरी पारेको घटनामा यथार्थ कुरा छर्लङिएको पाइन्छ । यस्ता कुव्यसनहरू घरमा प्रयोग नगरियोस् भन्ने कथाकारको सन्देश देखिन्छ । कथाकार दीप यर्थाथको चित्रणमा मात्र नभएर जीवनका आदर्श पक्षको चित्रण गर्नमा पनि विशेष जोड़ दिने सशक्त कथाकार हुन् । बिहे गरेपछि लाला-बालाको धनी, त्यसपछि घरको आर्थिक अवस्था खङरङ्ङै हुँदै गरेको घटना समाजमा नयाँ होइन । सामान्य नोकरी गरेर पनि तनखाले वरको सिन्का पर नसर्नु वास्तविक घटना हो । सबै सरकारी नोकरी पाउने आशामै बसिरहेका छन् । तर इन्टरभ्यू दिन जाँदा इन्टर पहिल्यै र भ्यू मात्र पछि हुने यथार्थ घटनालाई कथाकारले प्रस्तुत गरेका छन् 'नो प्रब्लम' कथा मा । 'मानबीर अझ छक्क पर्छ' दुइ दाज्यू-भाइको छक्कै पर्ने खालको कथा हो । यस कथामा धनको मुख रातो हुन्छ भन्ने कुरो देखाइएको छ । समयमा उठेर आफ्नो काम गरिहाल्नुपर्ने कुरा छोटोमै प्रस्तुत गरेका छन् 'प्रण आफैसँग गरें' कथामा । दीप प्रधानको कथाका पात्रहरूलाई कथाको पुछारमा आफ्ना दुर्बलताबारे छर्लङ्ङै हुन्छ । ती पात्रहरू सबै कुरो छ्याङ्ङै भएपछि असल मार्गतिर लाग्छन् वा आफ्नो गल्ती तथा कमी कमजोरीबारे पश्चाताप गर्ने पक्षमा पुग्दछन् । कथा 'अप्रेल Fool'-मा पनि बिहे बटुल, पूजा-आजातिर परिचय भएपछि आफूले देखेको युवक वा युवतीलाई उनको नेपथ्य नै नबुझी मनको कुरो भनिहाल्ने र पछि सबै सत्य उदघाटन हुँदा के कस्तो स्थिति आइलाग्छ सो देखाइएको छ 'अप्रेल Fool'-मा ।
छोरोले आफ्नो पढ़्नुपर्ने पाठ नघोकी रातदिन मोबाइल मात्रै खेलाएको देख्दा घरका अभिभावकले रणचण्डीको भूमिका लिएर घरमा रँड़ाको मच्चाउने कुरो नयाँ होइन । यो घटना प्रायः सबैको घरमा नभए पनि एकाध घरमा देखिन्छ । कथाकारका म पात्र पनि छोरोले मोबाइल खेलाएकोमा त्यही रोगले ग्रसित छन् । कुनै सीप नचल्दा छोरोकै शिक्षकलाई जम्मै पोल हाल्दा तिनले भोलि स्कूलमा छोरोलाई सम्झाउँनेछ भनी विदा मागी घर पस्दा आफ्नै छोरा-छोरी मोबाइलमा मस्त भएका देख्दा आफू पनि त्यही ज्वालामा तड़पिनु वाध्य बन्छन् । घ-घरमा केटकेटीहरूले मोबाइल खेलाउने हिजोआज साबिक रोगले ग्रस्त छन् प्रत्येक अभिभावकहरू । यस घटनाबारे दोष कसलाई दिने भन्ने प्रश्नले शिक्षकलाई चिर्थोनुसम्म चिथोर्छ । किनभने अरुलाई खाने बाघले शिक्षकलाई पनि खाएको घटनालाई पाठकलाई नैतिक सन्देश र आदर्शको पाठ दिएको पाइन्छ 'मैले निर्णय लिन सकिनँ'- कथामा । सामाजिक मान्यतादेखि पन्छिएका पात्रको मनोव्यथालाई उदाङ्गो पारिएको छ 'म रिटायर्ड भएछ'-कथामा । कथाका पात्रहरूले समाजको निश्चित वर्गको प्रतिनिधित्व समेत गरेका छन् । बाह्र बत्तीसका कुरा देखाएर अरुबाट पैसा लिई तोकिएको समयमा नफर्काउनेहरू हाम्रो समाजतिर पाइँदैन देखिँदैन भन्न सकिन्न । पछि कतै भेट्दा पनि देखेर पनि नचिनेको जस्तो गर्नेहरू पनि छन् जताततै । यस 'यस्तो पनि हुँदोरहेछ' कथामा यस्तै पात्रलाई पाठकसामु राखेर सामाजिक समस्या, सामाजिक रोगलाई कथाकारले निष्पक्षरुपमा प्रस्तुत गरेका छन् । आफू बसेका समाजको उन्नति, प्रगति हेर्न मनपराउने तथा समाजको सर्वाङ्गीण विकास अनि तिनको संरक्षण-संवर्द्धन गर्न अहर्निश सजग रहने कथाकार दीप प्रधान आफ्नो समाज र तिनका समाजमा बस्नेजति नबिग्रिउन, नमासिउन्, ननासिउन् तथा नभाँड़िउन् भन्ने कुरामा अडिग रहेर स्वच्छ, स्वस्थ समाजको निर्माण होओस् भनेर अहर्निश हुटहुटिने का कथाकारले 'मनु र इन्दुले घर छाड़े' कथामा समाजका ज्वलन्त समस्या, भाँड़भैलो, बेचबिखनका समस्यालाई उदाङ्गो पार्न रसक्षम देखिनुका साथै यथार्थ कुरालाई पाठक अघि राखेर पाठकलाई कथामा निहित विषयवस्तुमाथि घोरिन, मन्थन गर्न वाध्य बनाउँछन् । यस 'मनु र इन्दुले घर छाड़े' कथामा एउटा स्वस्थ, अब्बव, सक्षम, बलिष्ठ परिवारमाथि प्राकृतिक प्रकोपका कारणले वज्रपात भिएर आमाको मृत्यु हुनु, पहिरोको चपेटमा परी बाबुको खुट्टा काटिनु अनि बाबु पनि बेस्सरी मातेर दुइ दिदी बहिनीको जीवननै पल्लो फाल पुगेको पढ़ाइदेखि टा़ढ़िनुका साथै एकजना अपरिचित झिल्केसित प्रेम गरी सुखिलो जीवन बिताउँन आशामा हात खुट्टा जोड़िएपछि एकजना नारी तस्करको खप्परमा देह व्यापारमा जाँकिनुजस्तो घटनाले आँखा नहेरी, केही नबुझी पैसा कमाउने वा बिहे गर्ने आशामा अरुमाथि भरपर्दा गति के हुन्छ भन्ने घटना हाम्रो समाजमा हरदर हाम्रा चेलीबेटीहरूमाथि भइरहने नारकीय, दुःखद तथा मार्मिक पक्षलाई उदाङ्गो पारेको देखिकन्छ । देह व्यापारसित संलग्न रहेका अपरिचित युवकसित सुखिलो जीवन बिताउने पात्रा सामाजिक संस्थाको सहयोग पुनः आफ्नै घरमा फर्के पनि गाउँका मानिसहरूको छिःछिः र दूरदरू, परपर तथा कटुवचन सहनी नसकी दुवै दिदी बहिनीले गाँवै छोड़ीजस्तो घटनाले पाठकलाई एकक्षण भए पनि घोरिनु, घोत्लिनु, खुइय्य....काढ़्नु वाध्य गराउँछ । यस कथाबाट हेर्दा कथाकार सामाजिक पुनर्जागणको पक्षमा देखिन्छन् ।
'गोष्ठी भएरै छोड़्यौ' कथामा हिजोआज आयोजन हुने साहित्यिक गोष्ठी बलैले मात्र हुने गरेको अनि कार्यक्रममा निम्तारुहरू समयमै उपस्थित नभएर अबेर गरी आई आयोजकलाई टाउको मात्र देखाई कार्यक्र्म नसिद्धिकनै फुत्त-फुत्त कार्यक्रमथलोबाट निस्केर जाने, आयोजकलाई आफ्नोअनुहार मात्रै देखाउनु आउने कतिपय तथाकथित साहित्यकार लगायत आयोजनवर्गको अबेर गरी उपस्थितिप्रति तीव्र व्यङ्ग्य गरिएको पाइन्छ । घरमा लछेप्रै काम हुँदाहुँदै, श्रीमतीलाई एक छेउ नसघाई गोष्ठीमा सहभागी हुने आउने निरीह साहित्यकारको व्यथालाई पनि यस कथामा दर्शाइएको छ । कार्यक्रम थलोनी पुगेर पनि आयोजकवर्गहरूमध्ये कसैको पनि नाक मुख नदेख्नुजस्तो लाजमर्दो घटना अरु के हुन सक्छ र ! तरै पनि येनकेन प्रकारेण गोष्ठी सम्पन्न हुने गर्दछ भन्ने कुरा पनि कथामा देखाइएको छ । जदौरी गरिएको गोष्ठी जसोतसो साङ्गे गरे पनि भोलिको अखबारमा ठूल्ठूला फोटोसहित हिजोको गोष्ठीमा दुइ देशका साहित्यकारहरूको साहित्यिक जमघट शीर्षकमा ढाँट खबर पढ़ेर व्यङ्ग्यात्म हाँसो हाँस्दै गोष्ठी भएरै छोड़्यो भनी धाक र हाँक नपिटी अरु उपाय पनि ता छैन । परम्परागत साहित्यिक मान्यताको एउटा पीड़ोबोध पाइन्छ य़स कथामा ।
बेरोजगारको पहाड़ जमेको छ अचेल । खाए खा नखाए घिच् भनेजस्तो सामान्य भोलेण्टियरको सूचीमा नाम परेकोले र आफ्नो नोकरी स्थायी हुने लोभमा विभिन्न जुलूसमा जानु मात्र होइन, धर्ना र आमरण अनसनले धेरैलाई ग्यास्ट्रिकले थला पारेको छ भने धेरैको किडनी फेल भएको छ भने कति ऋृणमा डुबेर जीवननै स्वाहा पारिसकेको घटना नयाँ होइन यो समाजमा । घरकाहरू छोराले काम पाउँछ र घर-संसार बलियो हुन्छ भन्ने चाहनामा काकाकुली छटपटिने आमा-बाब, स्वास्नी, छोरा-छोरी अङ्गुर खस्छ र टिपुँला भनी थुक निल्दै अङ्गुरको झ्याङमुनि धर्नाढुक लाएर बस्ने स्यालहरूजस्तै छोराको स्थायी काम रुङ्नेहरूको सङ्ख्या दोबर-तेबर छन् । बिभिन्न ठाउँमा दौड़-धूप गरेर आएपछि घरकाहरूले काम भयो भनी सोद्धा केही भएको छैन नभनेर अलिक दिन पछि अरे भनी टार्नेहरूको कथा-व्यथा अर्कै छ । स्वाभिमान बन्दकी राखिसकेका छन् आजका युवा जमातले । भाग्यवश काम पक्की भएको खबर आएपछि खुशीले बुरुक्-बुरुक् उफ्रिँदै घरमा प्रतिक्षा गरिरहेका परिवारलाई मिठाइका पाकिट प्रदान गर्दै मैले काम पाएँ भनिदिँदा तमान् परिवारका आँखाबाट खुशीको आँशु झर्नु स्वाभाविकै हो । एउटा पीड़ाबोधको सुइले च्वास्स घोंच्ने यस कथाले य़थार्थवादी धरातलमा ओरालेको छ । कथाका पात्र व्यक्तिप्रतिनिधभन्दा पनि वर्गप्रतिनिधि भएर सिङ्गो कथालाई मार्मिकताको पृष्ठूभूमिमा डुलाउँदै अन्त्यमा हर्षको सागरमा डुबुल्की लाएको छ । 'म फेरि क्वारेण्टाइनमा बसेँ' कथामा बेरोजगारले ग्रस्त भई कामको खोजीमा घर-समाजदेखि बाहिर जाने युवा-युवतीहरू, काम गर्दा गर्दै लकडाउनको चपेटमा परी पैदले आफ्नो ठाउँमा आएर पनि सोझै घर पस्नु नपाई घरकै मान्छेले गाउँकै क्वारेण्टाइनमा पठाउनु अनि गाउँकै मान्छेहरूबाट पर...पर हुने घटनालाई कथाकारले बड़ो मार्मिकताका साथ प्रस्तुत गरेका छन् । .यस कथामा मानव मनको विश्लेषण गरिएको छ । 'मेरो विन्ति छ' कथामा खसीको मार्मिक कथाका साथै खसीलाई बलि दिने, खसी काटी मासुको भाग लाउने क्रुर मानिसमाथि तीव्र प्रहार गरिएको छ । 'छोरीले भनेजस्तै कथा लेख्न थालेँ' कथामा कथावस्तु नभेट्टाउने , कथा लेख्नै नसक्ने कथालेखको आत्मव्यथा छ । तर अन्त्यमा छोरीले मेरो आफ्नो कथा लेखिदिनोस् भने पछि मात्र छोरीको विन्तीमा कथा लेखेर आफू सन्तुष्ट भएको कुरा यस कथामा उतारिएको छ ।
सङ्ग्रहमा ठाउँ पाएको अन्तिम कथा 'हामी खुशी छौ ! सुखी छौं' - कथामा पारिवारिक जीवनको राम्रो चित्रण गरिएको पाइन्छ । यो कथाको सिरानमा सुखद क्षण, माझमा घर-संसार र गृहस्थीको रमाइलो मिठाइलो क्षण र त्रसित क्षण र पुछारतिर योगान्त क्षणलाई कथामा प्रस्तुत गरेका छन् । सानोभन्दा सानो बुझ्न नसकेका कुराहरू जानेर होस् वा अञ्जानमा होस् सामान्य गल्तीले पनि दाम्पत्य जीवनमा समस्या उत्पन्न हुन्छ अनि पात्रद्वारा त्यस्ता साना-साना कुराहरूको समाधान भइहाल्छ भन्ने पनि 'हामी खुशी छौ ! सुखी छौं !' कथाले दर्शाएको पाइन्छ । यस कथामा कथाकार दीप प्रधानले पात्रको सुखिलो मिठाइलो जिन्दगीको वर्णन गर्दै माझमा लोग्ने स्वास्नीमाझको मनोमालिन्यको दुष्परिणाम देखाएका छन् र पुछारतिर पात्रकै मिलनसार साथीको अर्तीवचनले दुइ दम्पत्तिमाझको ठाटाकु-ठुटुक, ठुस्का-ठुस्की क्षणिक हुन्छ अनि सम्झौतामा आएपछि ती मनोमालिन्य साङ्गे भएर एउटा सुखिलो दाम्पत्य जीवन आरम्भ हुन्छ भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।
कथाकार दीप प्रधानका कथाहरूमा विषयको विविधता, सामाजिक कुरीति, अनैतिकता, वर्गभेदको वर्णन पाइन्छ । पात्रको पीड़ित मनोदशालाई देखाउऩका साथै निम्न तथा मध्यमवर्गीय स्थितिको सङ्केत बाहेक पनि बेरोजगारीको असहनीय पीड़ा, मानसिक स्थितिको कहालिलाग्दो स्थितिलाई उदाङ्गो पारेर तिनको समाधान तर्फ पनि कथाकार सचेष्ट भएको देखिन्छ ।

दृष्टिविन्दु -
कथामा घटना बुन्दै पाठकसमक्ष प्रस्तुत गर्नु एउटा ढाँचा हुन्छ । कथा भट्याउन समाख्याता (कुनै कुरा वा घटनाको वर्णन गर्ने) उभिने आधारलाई नै दृष्टिविन्दु भनिन्छ । दृष्टिविन्दु आन्तरिक र वाह्य गरी दुइ प्रकारका देखिन्छन् । आन्तरिक दृष्टिविन्दुमा कथाको सम्पूर्ण घटनावली समाख्याताले स्वयमले बखानेर म पात्रको रुपमा पाठक अघि उभिन्छ । यस्तो आन्तरिक दृष्टिविन्दुलाई प्रथम पुरुष दृष्टिविन्दु भनिन्छ । त्यसरीनै नै समाख्याताले आफूलाई पर राखी वा कथा बाहिर नै रही पात्रका बारेमा नालीबेली लाउँछ भने त्यस दृष्टिविन्दुलाई तेस्रो पुरुष कथन पद्धति वा तेस्रो दृष्टिविन्दु भनिन्छ ।
यस कथासङ्ग्रहमा समाविष्ट धेरैजसो कथाहरू म पात्र अथवा कथावाचक (कथाकार) स्वयमबाट भएको छ ।

भाषाशैली -
पात्र अनुकूलको भाषा प्रयोग गरेर कथालाई सम्प्रेष्य बनाउने भरसके प्रयास गरेको पाइन्छ । भाषा सरल, सहज हुनाका साथै भाषामा कथात्मक अभिव्यक्ति दिएर कथालाई बान्किलो बनाएको पाइन्छ । केही कथाहरूमा अङ्ग्रेजी शब्दलाई काखी च्यापे पनि भाषिक लालित्य खज्मजिएको पाइँदैन ।

कथाको विशेषता -
मानव मनको विश्लेषण गर्नु कथाकार दीप प्रधानको कथाको विशेषता हो । सबभन्दा ठूलो कुरो यिनका कथामा पात्रहरूको घुइँचो नहुनु अर्को विशेषता हो । घेरै पात्रहरूको समागमले कथाको मूल पात्रको चरित्राङ्कनमा शिथिल आउने सम्भावना देखिन्छ । यसैकारण यिनका कथाहरूमा देखा परेका पात्रहरू चरित्रमा कुनै शिथिलता आएको देखिँदैन । कथामा कुनै पनि पात्रको नाम नलिईकनै कथा आरम्भ गरेर सिद्ध्याउनु यिनको विशेष विशेषता देखिन्छ । मानव जीवनका वास्तविक, खाँटी तथा जैविक समस्याहरू छर्लङ्गै पार्ने विशेषता देखिन्छ । कथाका पात्रहरूलाई जे जस्ता स्थान दिइएको छ ती सबै जिउँदा, भुक्तभोगी र एउटा न एउटा समस्यालाई उदाङ्गो पार्नु लाउने विशेषता ता छँदैछ ।

सबल र दुर्बल पक्ष -
कथाकार दीप प्रधानले निकै परिश्रम गरी तयार पारिएका कथाहरूको संरचना, स्रोत, ढाँचा, तत्त्व आदि सबैको निष्ठापूर्वक पालन गरी कथा सिर्जना गरेको पाइन्छ । भाषा सबल देखिन्छ । कथाको प्रस्तुतिमा कुनै पट्यारलाग्दो स्थिति पाठकले भोग्नुपर्दैन । कथा सलल बगेर घटनाप्रवाहलाई चरमविन्दुमा पुऱ्याई कथा समाप्ति गरिएको पाइन्छ । कथामा असान्दर्भिक घटनालाई छेउसम्म पर्न दिएको देखिँदैन । यो कथाकारको कथा लेखनको सबल पक्षहरू हुन् ।
यति हुँदा हुँदै पनि कथाकारको कथा लेखनमा केही दुर्बल पक्ष पनि नदेखिने होइन । कतिपय कथाहरू निबन्धगत ढाँचामा लेखिएका छन् ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।