17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आफन्त

कविता शिबु ढकाल March 27, 2022, 5:07 am
शिबु ढकाल
शिबु ढकाल

सुन्छु अचेल ...
तिमीलाई आफन्तको
ज्यादै फिक्री छ रे !
तिमी आफन्तको
निकै खोजीनिती गर्दै छौ रे,
आफन्तकै खोजीमा
गाउँ सहर डुल्दै छौ रे,
अपरिचितको भीडमा पनि
आफन्तकै अनुहार खोज्दै छौ रे,
अनि परिचितको समाजमा पनि
आफन्तको हृदय भेट्टाउने
लाखौं यत्नहरू गर्दैछौ रे !

सुन्छु अचेल ...
तिम्रो खोजीले तिमीलाई
कहिले त घाटसम्म पुर्‍याउने गरेको छ रे,
सँगै गएका मलामीको अनुहारमा
तिमीले देखेको आफन्तको प्रतिविम्बले
तिम्रो चित्त नबुझेपछि
तिमी चितामै पल्टेर
खाँटी आफन्तको अनुहारको
परिकल्पना गरेको कुरा
अचेल बजारका गल्ली गल्लीमा चर्चामा छ रे !

सुन्छु अचेल ...
सम्बन्धको पर्खालबाहिर पनि
आफन्तको खोजीमा
हाम्फालेर तिमी पुग्छौ रे,
बटुवा, ढँटुवा, आन्द्रा कटुवा सबैको
आँखाको नानीमा आँखा गाडेर
हृदयले चिन्ने कोसिस गर्दैछौ रे,
कि ऊ आफन्त हो कि हैन भनेर !
वरको छिमेकीदेखि परको विदेशीसम्म
सम्बन्धको जालोभित्र र बाहिर पनि
सबैलाई मोटक कम्मरमा च्यापेर
खरो परख गर्दैछौ रे ! ... अचेल ।

ए मेरा प्रिय आफन्त !
मेरो एउटा विनय छ तिमीसँग --
कि तिमीले कतै आफन्तलाई भेट्टायौ भने
सुटुक्क मलाई पनि चिनाइदिनू है !

पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।