16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानु लामाको हिमालचुली मन्तिर – आत्मोपन्यास

कृति/समीक्षा नवीन पौड्याल March 27, 2022, 5:10 am
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश
नेपाली साहित्यमा सानु लामाको नाम आदरका साथ लिइन्छ। सानु लामाको जन्म सन् १९३९ मा गान्तोकमा भएको हो। उनले अभियान्त्रिकी अध्ययन गरेर सिक्किमको विकास कार्यमा सक्रिय रूपमा रही काम गरेका थिए। उनी एक कुशल कथाकार, गीतकार र नियात्रा लेखक हुन्। हालसम्म उनका ‘कथा सम्पद्’, ‘गोजिका’, ‘मृगतृष्णा’, ‘सूर्यको तेस्रो किरण’, ‘आँगन परतिर’, ‘जोसमणि सन्त परम्परा अनि साहित्य’, ‘जहाँ बग्छ टिस्टा रङ्गीत’, ‘भगवान् बुद्ध : जीवन अनि दर्शन’ (अनुवाद), ‘गुरू पद्मसम्भव साधन’ (अनुवाद), ‘हिमालचुली मन्तिर’ प्रकाशित पाइन्छन्। सानु लामाको सबैभन्दा प्रखर व्यक्तित्व कथाकार नै हो। उनका कथाहरूका विभिन्न विशेषता छन्।
२. हिमालचुली मन्तिर- संस्मरण कि आख्यान कृति?
हिमालचुली मन्तिर (१९९८, दोस्रो संस्करण २०२०) प्रकाशनले निकै चर्चा पाएको थियो। हामी आमपाठकलाई यो कृतिलाई संस्मरण भन्नु कि उपन्यास भन्नु कि भन्ने कुरामा संशय रहेको छ। परम्परागत रूपमा उपन्यास पढ्ने बानी भएकाले यसलाई कदापि उपन्यास मान्न सकिन्न। यसलाई संस्मरण कृति नै मान्दा नै उचित छ यद्यपि यसमा एउटा कथारेखा छ। कृतिको भित्रभित्र कथाको प्रवाह पाइन्छ। नेपाली साहित्यमा अन्य केही कृति छन् जसमा लेखकको अनुभव र आख्यान दुवैको मिश्रण पाइन्छ। यसमा जीवनका अनुभवका साथै आख्यानका रेखा पनि पाइनाले यसलाई आत्मोपन्यास पनि मान्न सकिन्छ।
३. हिमालचुली मन्तिरको आत्मोपन्यास-
सानु लामाको हिमालचुली मुन्तिर एउटा उत्कृष्ट कृति हो। यो कृति पढ्दै जाँदा यसभित्र विभिन्न स्थानको वर्णन हुँदाहुँदै भित्री रूपमा यसभित्र एउटा कथातन्तु पनि हिँडेको छ, कथारेखा सिर्जिएको छ। यो घटना संस्मरणहरूको माला हो, शृङ्खला हो। जीवनको क्रमबद्ध विवरण हो। सिक्किम भारतमा विलय भएदेखि यता क्रमशः विकासका खुड़किलाहरू, लेखकको आफ्नो जीवनवृत्त आदिलाई कथाका रूपमा बुनिएको पाइन्छ। यसमा लेखकको विभिन्न कालखण्डलाई समेट्दै अघि बढाइएको छ। लेखकले आफ्नो जीवनीलाई नै आख्यानात्मक स्वरूप प्रदान गरेका छन्। यसमा एक्काइसवटा अध्याय रहेको छन् जसमा मुख्य मुख्य घटना वर्णन पाइन्छ। यसमा संस्मरणहरूमा केही रोचक घटना उपघटना बुनिएका छन्।
३.१. शीर्षक अध्ययन- पुस्तकको नाम रखाइमा लामाले सचेतता देखाएका छन्। हिमालचुली मन्तिर भनेर हिमाच्छादित सिक्किम र सिक्किमका डाँड़ापाखालाई बुझाउने प्रयत्न गरिएको छ। सिक्किमको उत्तर भूभाग हिमपर्वत, हिमनदी, उच्च उच्च पर्वत आदिले ढाकिएको छ। विश्वको तेस्रो सर्वोच्च कञ्चनजङ्गाको केही अंशले सिक्किम पनि छोएको छ। यसबाहेक सिक्किमका पश्चिम र पूर्व जिल्लाका धेरै ठाउँमा हिउँ पर्छन्, साना हिमपर्वत शृङ्खला रहेका छन्। सिक्किमका दक्षिणका भूभागमा भने केही सहर, बजार, गाउँ, खेती पाती, जङ्गल, गौचरण आदि रहेका छन्। सिक्किमको प्राकृतिक सौन्दर्य साहित्यकारका निम्ति प्रेरणाको स्रोत बनेको छ।
३.२. कथावस्तु – हिमालचुली मन्तिर एक आत्मजीवनी हो। यसमा व्यक्ति सानु लामाको आफ्नो जागिरे जीवनको संस्मरण र विवरण रहेको छ। यसमा झिनो कथावस्तु पनि देखिन्छ। सिक्किमका निर्माण कार्यको क्रम विकाससितै कथावस्तु बढ्छ। यसमा सन् १९७० को दशकदेखि नै सिक्किमको ग्राम विकास विभागको स्थलगत कार्यको क्रमबद्ध रुपरेखा अङ्कन गरिएको छ। यसमा कुनै कथातन्तु छ जसले यसलाई आख्यान कृति बनाउन सहयोग गरेको छ। यसमा लेखकको आफ्नो कामको सिलसिलामा विभिन्न ठाउँ जानु, ती ती ठाउँको आधारभूत कुराहरूको निरीक्षण गर्नु, प्रत्येक गाउँ पञ्चायत प्रधानबाट गाउँको समस्या बुझ्नु र तिनीहरूका माग सुनिदिनु, त्यसका समाधानका लागि पहल गर्नु आदि कुरा रहेको छन्। पुस्तकको बीसौं अध्यायमा एउटा उपकथा गाँसिएको छ। याङताम बस्तीभित्र पर्ने कैंजले गाउँको एउटा परिवारको उपकथा छ। १८५० तिर पहिलोचोटि मनहाङ सावादेनले भारी बिसाएको ठाउँ कैंजलेमा उसका सन्तान फैलिए। त्यही सन्तानको एक युवकले छेत्रीको छोरीसित बिहा भएको देखाइको छ। चारजना दाजुहरूकी एउटी बहिनी लिम्बु केटासित भागेर बिहा गर्नेहुँदा पहिले एक दुई वर्ष माइतमा नबोलाउनु तर एक दुई वर्षपछि देखि भने बोलाएर झन बढी माया गरेको एउटा कथानक पनि बुनिएको छ।
यसमा रहेका अध्यायभित्रका घटना-उपघटना आदिले कथाको शृङ्खला गाँस्दै लगिएको छ। यसको बिचमा नै सावादेन परिवारको प्रसङ्ग भने काल्पनिक बनाइएर औपन्यासिक रूप बनाइएको छ।
३.३. पात्रविधान –
हिमालचुली मन्तिर आत्मजीवनीपरक हुनाले यसमा लेखक नै मुख्य पात्र हुन्। यद्यपि यसलाई आत्मजीवनीमूलक उपन्यास मानेमा यसमा मुख्य नायक र अन्यपात्रहरू पनि समावेश छन्। सिक्किमका तत्कालीन मुख्य सचिव पि. के. प्रधान र लेखक प्रायः सँगसँगै निर्माण कार्यको यात्रामा रहेका थिए। यसमा सिकिमका विभिन्न स्थानका मानिसहरू, ब्राजिल र कोलम्बियाका मानिसहरू पनि सामेल छन्। यसका पात्र-पात्राहरू सिक्किमका गाउँ बस्तीका मानिसहरू, पञ्चायत प्रधान र सदस्यहरू, सरकारी अधिकारीहरू, गाउँले मानिसहरू, कोलम्बिया र ब्राजिलका केही अधिकारी आदि रहेका छन्। यसका मूल पात्र लेखक नै हुन्। यसमा प्रायः पि.के. प्रधान पनि लेखकसँगै देखा परेका छन्। उनी विकासप्रेमी, इमानदार अधिकारी, अरूलाई काम लान मात्र होइन, आफैं काम गर्न अग्रसर हुने, जनभावना बुझेर तिनको नजिक जाने, आफु दुःख गरेर दिनरात खटेर विकास कार्यलाई साकार रूप दिने कर्मठ व्यक्तित्वका रूपमा देखा परेका छन्। लेखक स्वयम् पनि एक कर्मठ, विकासप्रेमी, जनताप्रति उत्तरदायी पूर्ण रूपमा बहन गर्ने, इमानदार, परिश्रमी प्रतीत भएका छन्। लेखक एक प्रकृतिप्रेमी पनि हुन्। आफ्नो दायित्वलाई सदा मन प्राण लिएर पालन गर्दछन्।
३.३. परिवेशविधान-
सानु लामाको हिमालचुली मन्तिरमा सिक्किमका विभिन्न गाउँ बस्ती, प्राकृतिक परिवेश, बाटाघाटा, खोला नाला, जङ्गल, आदिको वर्णन पाइन्छ। परिवेश निर्माणका दृष्टिले यो उत्कृष्ट बनिएको छ। पुस्तकका प्रत्येक लेख र पानाहरूमा प्राकृतिक सौन्दर्यको वर्णन गरिएको पाइन्छ। भर्खर भर्खर सिक्किम भारतमा विलय भएको, भारतको २२ औं राज्यको रूपमा सिक्किमको अवस्थान्, विकासको मूल फुट्दै गरेको, राज्यको आधारभूत ढाँचाको निर्माणाधीन अवस्थालाई लेखकले परिवेशको सिर्जना गरेका छन्। प्राकृतिक वर्णनका साथै तदानुरूप लेखकको मानसिक अवस्थालाई पनि झल्काएका छन्। लेखक आफु धेरै वर्ष सिक्किमको ग्राम विकास विभागमा अभियन्ता भएर हिँड्दा सिक्किमका प्रायः प्रत्येक गाउँ-ठाउँ घुमिघुमि त्यहाँको सामाजित आर्थिक, भौगोलिक, राजनैतिक आदिको अध्ययन गरेका छन्। लेखक कोलम्बिया र ब्राजिलका गाउँतिर घुमेर पनि त्यहाँका गाउँ विकासका गतिविधि नमुना र कार्यशैली अवलोकन गरेर सोहीबमोजिम सिक्किमका गाउँमा प्रयोग गरेका छन्। यसमा प्रायः ग्राम्य परिवेशलाई नै प्राथमिकता दिइको छ। भर्खरै सिक्किम भारतमा विलय भएपछिको त्यहाँको भौतिक पूर्वाधारको निम्ति गरिएको कार्यको गतिलाई सूचनात्मक विवरण गरिएको छ। घटनाशृङ्खला, संवेग र संवाद आदिको मिश्रणबाट यो कृति बुनिएको छ।
३.४. भाषा र शैलीविधान-
सानु लामाको प्रस्तुत कृतिमा सरल सहज र शिष्ट भाषाको प्रयोग पाइन्छ। आफ्नो जीवनक्रममा देखेका घुमेका कुरालाई स्वभाविक रूपमा प्रस्तुत गरेका छन्। लेखकको अनुभवलाई सहजै अभिव्यक्त गरेका छन्। प्रस्तुत कृतिमा प्रयुक्त लेखन शैली वर्णात्मक विवरणात्मक रहेको पाइन्छ। यसमा प्रयुक्त वाक्यहरू कति ठाउँमा लामा भए पनि सलल बगेका छन्। लेखक लेखनमा सचेत छन्। प्रत्येक शब्द र वाक्यलाई शिल्प सचेत भएर अभिव्यक्ति दिएका छन्। यसमा ठेट नेपाली शब्द, तद्भवको प्रयोगाधिक्य पाइन्छ। मनमा उब्जेका कुरालाई स्वाभाविक रूपमा सरल र सहज भाषामा उतारेका छन्।
४. कृतिमा संवेदनशील पक्ष-
हिमालचुली मन्तिरमा मानवीय संवेदनशील पक्षलाई पनि पस्केका छन्। लेखकको मनका विभिन्न अवस्था प्रस्तुत गरिएको छ। रम्फुछेउमा घिर्लिङको काठको पीरामाथि बसेर उर्लँदो भेलको टिस्टा तर्नुपर्दा चिउँचिउँ हुनुपरेको अवस्था तर अभियन्ता र नाइके भएर हिँद्नुपर्दा डराएको समेत देखाउनु पनि अपठ्यारो हुने स्थितिको सिर्जना हुनु, कमलेन्दु चाकी भने टिस्टाको माथिपट्टि डोरी अड्किएकाले अचलावस्था हुँदाको स्थितिलाई बडो सम्वेदनशीलताका साथ प्रस्तुत गरिएको पाइन्छ। लेखक सौरेनीमा तीन दिन बस्ताको प्रकृतिसँग स्वच्छन्द भाव लिएर बसेको स्थिति, पानी प्रदा मकैका तामा झमझम बजेको सांगीतिक अनुभूति गरेका छन्। उनी प्रकृतिमा रंमेर बस्न चाहन्छन्। सिक्किमेली जनताका सुखका निम्ति सवृम्वेदनशील छन्। जनताको इच्छा र आकांक्षालाई पूरा गर्न कम्मर कसेका छन्। उनी जातीय, सिक्किमेली भावनामा सम्वेदनशील छन्। उनी मेक्सिको, कोलम्बिया आदि विदेश जाँदासमेत सिक्किम नै बोकेर गएका छन्। मेक्सिकोका अधिकारी कोर्दोबाले सिक्किमलाई थाइल्याण्डको रूपमा प्रस्तुत गरिदिँदा लेखकको हृदय कुँडिन्छ, स्वाभिमानमा लाग्छ। जसरी भए पनि उनी सिक्किम को परिचय दिन चाहन्छन्। आफ्नो कामको क्रममा सिक्किमका पाखा- कन्दरा सबै ठाउँ घुमिघुमि विकास कार्यमा सरिक छन्। एकपल्ट आफ्नी मायालु श्रीमती बिरामी हुँदा समयमा घर पुग्न नपाउनुको पीड़ालाई बड़ो मार्मिक ढङ्गमा प्रस्तुत गरेका छन्।
५. सिक्किमको क्रमबद्ध विकासको रूपरेखा –
कृतिमा लेखकको आफ्नो कार्यहरूको विवरण पाइन्छ यद्यपि यसमा सिक्किमको क्रमबद्ध विकासको रूपरेखा पनि पाइन्छ। सन् १९७४ मा भारतमा विलय भएर भारतको २२ औं राज्यका रूपमा रहेपछि यसले चाँडै नै विकासको गति लिएको देखिन्छ। यसका सुगम र दुर्गम क्षेत्रका गाउँ-बस्तीमा बिस्तारै विकासको मिरिमिरे उज्यालो छरिदै गएको देखिन्छ। सिक्किमको ग्राम विकास विभागले दिनरात खटेर विस्तारै विकासको गति दिएको थाह पाइन्छ। यसमा मुख्य गरी विभागका मुख्य सचिव पूर्ण कुमार प्रधान, अभियन्त सानु लामा र केही अन्य अधिकारीहरूको ठुलो योगदान रहेको छ। मुख्य सचिव प्रधानको निरन्तर कार्यनिष्ठता, तत्परता, गाउँले मानिससितको सहयोगी भावना, कठिन पैदल यात्रा गरेर भए पनि गाउँको विकासमा कटिबद्ध भएर अघि बढेको वर्णन र तथ्य पाइन्छ। सिक्किमका गाउँमा चाहिने आधारभूत आवश्यकताहरू जस्तै खाने पानी, पूल, बाटो, बिजुली, कुलेसो, सामुदायिक भवन आदि कुराका निर्माण र यसका तयारीका लागि गर्नुपर्ने दौड़धुप, खटाइको वर्णन गरिएको छ।
६. मूल्याङ्कन र उपसंहार –
नेपाली साहित्यमा एक वरिष्ठ कथाकारका रूपमा रहेका सामु लामाको हिमालचुली मुन्तिर एउटा उत्तरआधुनिक कृतिका रूपमा रहेको छ। यसलाई आत्मोपन्यासका रूपमा लिन सकिन्छ। यसमा रहेका कथाका सूत्रहरू, पात्र र तिनका गतिविधि, परिवेश, थ्यात्मकता आदिले यसलाई निकै प्रभावकारी कृति सिद्ध गरेका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।