15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिम्ब बनेका ‘बाका आँशु’

कथा विमल लामिछाने March 27, 2022, 5:13 am
विमल लामिछाने
विमल लामिछाने

अस्पतालको बेडमा भर्ना भएका दिनदेखिनै बाका आँशु झरिरहे । कुरुवाको रुपमा सानू फलामे टुलमा छेउमा बसेर मैले बालाई सोधेँ ‘बा के भयो ?’ बा बोल्नुभएन, बरु बाको मन अझ भकानियो । अस्पतालको बेडमा बालाई भेटेर आमा घर फर्किएका दिनपनि बाका आँशु उसरी नै झरे । मैले त्यसदिनपनि बालाई सोधेँ, बा के भयो ? अँ हँ बासँग जवाफ थिएन । मैले सोध्नपनि छाडिँन । बाले मुण्टो अर्कातिर फर्काउनुभयो र वर्षौदेखि गोजीमा च्यापेको पातलो रुमालले आँखा छोप्तै बत्तीतिर देखाएर भन्नुभयो– ‘बत्तीको सामू हुँदा आँशु आउँछ ।’ मैले होइन भन्न पनि सकिँन, हो भन्न पनि सकिँन, तर मैले मेरै मनसँग भने प्रश्न सोधिरहेँ । उज्यालो बोकेको बत्ती सामु हुँदा बाको आँशु किन आउँछ ? नर्स र डाक्टरले नाडी छुने वित्तिकै बाको आँशु किन आउँछ ? मुटुभरी माया बोकेकी जीवनसंगिनी सामू हुँदापनि बाको आँशु किन आउँछ ? शक्ति र जुक्तिका पर्याय बनेका छोराछोरी सामु हुँदापनि बाको आँशु किन आउँछ ?
हुन त यसअघिपनि बा धेरैपटक अस्पताल बस्नुभएकै हो । तर यसपटक भने बाको अस्पताल बसाइ अलिक लामै भयो । बाको यूरिन प्रोब्लमले प्रोष्टेडको अप्रेसन गर्नु थियो । अप्रेसन भनेपछि बालाई अलिबढी त्रासले सताएको पनि थियो होला । जीवनभरीको लेखा राख्ने गरेको भए मान्छेको मन जीवनमा कति पटक रुन्छ र कति पटक हाँस्छ हिसाव भेट्न सकिन्थ्यो होला तर मान्छेको मन न हो ।
जीवनमा बाको मन कति पटक रोयो, कति पटक हाँस्यो, तर त्यो हाँसो र रोदन व्यक्तिगत रमाइलो वा रोइलोको लागि पटक्कै थिएन । त्यो हाम्रो लागि थियो । परिवारका लागि थियो । तर, उ बेलाका बा र अहिलेका बामा धेरै भिन्नता छ । उ बेलाका बाको मन दह्रो थियो । उ बेला बालाई रुनपनि नरुनु पथ्यो, डराउन पनि निडर हुनु पथ्र्यो, भोकाउन पनि अघाउन पथ्र्यो र रुनपनि हाँस्न पथ्र्यो, तर अहिलेका बाको मन कमलो छ, अहिलेका बालाई निडर हुन पनि डराउनुपर्छ, अघाउन पनि भोकाउनु पर्छ, हाँस्नपनि रुनपर्छ र नरुनपनि रुनैपर्छ ।
‘जीवन बुझाउने बिम्ब बनेका बाका आँशु’ रोक्न अस्पतालकै बेडमा म बालाई हाँस्य, टुक्रे कथा र विगत सम्झाउथेँ । बा मन गह्रौ भएको रुन्चेहाँसो फिस्स हाँस्तै सुन्नुहुन्थ्यो । म विगतका किस्सामा रङ भर्नथाल्थेँ । बाको रुन्चेहाँसो र मेरो विगत नङ्ग्याउने र रङ्ग्याउने कला दैनिकी जस्तै बनेको थियो ।
मैले मेरो बुवाले गरेको मेहनत राम्रोसँग देखेको छु । बा बिहानै ठूलो कोदालो, जारो भएको झम्पल र हलो बोकेर खेतमा काम गर्न जाँदा सँगै जान झगडा गरेका किस्सा । जुवामै गोरुलाई घाँस हालेर ह..ह भन्दै बासँगै आलीमा बसेर खाजा खाँदा कति मज्जा आउँथ्यो है बा ? बाले जवाफ दिन नपाउँदै म थपिहाल्थे– बाले लगाएको त्यो घुँडा च्यातिएको अर्धानु सुरुवाललाई काटेर बनाएको हाफ सुरुवाल समेत चुर्लुम्मै भिज्दा पनि दाँदेमा हुई...गर्दै गोरु साउँदै, बाउसे गर्दै गर्न छाड्नु हुन्नथ्यो है । त्यो सानो झम्पल र कोदालीको वीँडले वाको हातमा फोकैफोका हुँदा पनि त्यही बीँडले नै बुवाको फोका फुटाउथ्यो, तर बा हाँस्तै एक हातमा अर्को हात दल्दै हिँड्नुहुन्थ्यो । बुबा, हजुरले प्याँगे र जुकेनी बेँशीका खेत रोप्न लायक र ठूला गह्रा बनाइदिनुभयो, त्यसैले त आज हामीले हिरा जस्तै टल्किने सेतो चामलको भात खान सकेका छौं ।
जति नै दुःख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखेको थिइनँ । सुठुनी रोप्दाका धोक्रेका कथा, बारीलाई खेत विराउँदाका कुईनेटाका कथा, हजुरआमाले सम्धी पाहुँना आउँदा चियामा चिनीको सट्टा कनिका घोलेर दिएको कथा, मोइबेगर भात खाँदिन भन्दा मोइको अभावमा मकैको पीठामा पानी घोलेर भात खाएका कथा, नुन लिन मधेश जाँदा बाटामा पोको फुकेर पछ्यौरीले कस्दा हातको कुहिनाले साथीको नाकमा लागेको कथा आदि सुनाइसकेपछि बा बल्ल हास्नु भयो ।
बाको मुहारमा हाँसो छाएको देखेर मलाई अझै उत्साह बढीरहेको थियो । मैले पढेका बा प्रतिका सम्मानित शब्दहरु सम्झेजति बालाई सुनाउँदै गएँ । ‘बा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । जोसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन्, बुवाले बारम्बार झक्झकाउने पनि गर्नु भएको छ । आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्नु पर्दछ ।
बा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हो । मलाई अझैपनि मेरा बाप्रति पूर्णविश्वास र भरोसा छ । मैले जिवनमा भेटेका कुनै पुरुष मेरो बाको बराबरीका मलाई लाग्दैनन् । सबैभन्दा बा नै उच्च लाग्छ । मलाई लाग्छ सबैका बा सन्तानमा उर्जा भरिरहने पावरहाउस पनि हुन् । त्यसैले त ठेसलाग्दा पनि हामी अइया बाबा भन्छौं, यो शब्द भित्रबाट अनायस निस्किन्छ । मानौं यो एउटा पावर हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ ।’
अझै थप्तै गएँ– बाले दिनरात नभनी घर परिवारप्रति नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नु भयो । मेरो सन्तानको भविष्य उज्यालो होस् भनेर दुनियाँसँग कति झुक्नु भयो होला है ? हाम्रो शिक्षा र स्वास्थ्यको निम्ति कति पौठेजोरी खेल्नुभयो होला, स्कुलमा शुल्क तिर्ने पैसा कमाउन कतिका घर छाउँदा चोया र बाताका तिखा काँडाले कतिपटक नङ घोचेपनि दुखेको महशुस गर्नुभएन होला है, हाम्रै पालनपोषणका निम्ति भनेर धनसारे कुलो सोर्नजाँदा खुट्टा घोचेका सुँगुरे काँडाका खील कतिपटक बात्तीले डढाउनुभयो र अझै कति बाँकी होलान है ? कैयौँ दिनको पसिनाको कमाइले आमालाई सारी ल्याइदिने सपना बुन्नुभयो होला । बा हजुरको खल्तीमा पैसा नहुँदा पनि पञ्चमी र रवि बजारका पसलमा झुण्ड्याइएको त्यही सारी विहान हेर्दै जाने र बेलुका हेर्दै घर फर्किने पनि गर्नुहुन्थ्यो होला है । ? ?
अस्पतालको बेडमा बाको मन भुलाउन र आँशु छिपाउन यी र यस्तै प्रश्न म सोधीरहेको थिएँ, खोजिरहेको थिएँ । बाले जवाफ दिन नपाउँदै ( नोवेल अस्पताल विराटनगर) क्याविन वी को ८ नं कोठाको ढोका खुल्यो, नर्स भित्र पसेर भनिन्– विरामीको कुरुवा वाहिर जानुहोस् त, डाक्टर चेकमा आउने समय भो, भित्र बस्न मिल्दैन । डाक्टर साहेवको टोली भित्र पस्यो, म बाहिर निस्केँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।