17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ज्ञानको भण्डार पुस्तकालयहरुमा पुग्दा

निबन्ध चन्द्रमणी गुरागाईं April 4, 2022, 1:42 am
चन्द्रमणी गुरागाईं
चन्द्रमणी गुरागाईं

इभा प्रेरी लाइब्रेरीका केही घण्टा

२०६९ सालको पौष २५ गते बुधबार बेलुका ४ वजेतिर छोरीले लाइब्रेरी जाउं बुवा नानीहरुलाई लिएर भनी । तुरुन्तै हुन्छ भनेर हामी ठीक पर्यौं । घरबाट नजिकैको लाइब्रेरीको नाउं रहेछ इभा प्रेरी । म सफा, शुन्दर, फराक, ब्यबस्थित, र्याकका लाइन विचमा पुस्तक झिक्न हिडने बाटो, पढन बस्ने सोफा, कम्प्युटरहरु राखिएको भब्य भवनभित्र पसें नानीहरुका पछिपछि । त्यो देख्दा मेरो मानसपटलमा झल्यास्स संझना आयो मेरो भानुसाझा पुस्तकालयको । त्यो पुस्तकालय वि.सं. २०२६ साल फागुन महिनामा भु.पू. दलारी १ हाल सुन्दरपर ५ तिनपैनी चुडा बहादर निरौला (साइिला निरौला) को घरको एउटा दराजमा स्थापना गरी उदघाटन गरेको थियो । त्यसपछि मनले सम्झन थाल्यो त्यस पुस्तकालयका संस्थापकहरु भरत राइ, टिकराम पाण्डे, धरणीधर गुरागाईं, मातृका, दिनानाथ, लक्ष्मी, कमल प्रसाद सिक्देल, मानबहादर तामांग आदि मानिसहरु भेला भएर खुशी प्रकट गरेको दिन । मोरंग जिल्लाको दोस्रो पुस्तकालय बामे सर्दै, ताते गर्दै टुकुटुकु हिडेको पुस्तकालयलाई राम्रो घरको खोजिमा सुन्दरपर ४ मा बस्ने जेठा बुढा विर बहादर तामागंले आफना छोरा स्व. दलबहादर तामांगको स्मृतिमा त्यही नजिक तिनपैनी सुन्दरपर ७ मा २ तले काठको घर बनाइ दान दिएका थिए । अहिले आएको पुस्तकालयको माथिल्लो र्याकमा के हात पुगेका थिए, म त झल्यास्स ब्युझेछु । ओ हो.. म त अमेरिकाको नर्थ क्यारोलाइना राज्यको केरीमा संचालित “इभा प्रेरी” लाइब्रेरीमा पो छु त ! आगन्तुकहरुको गाडी पार्क गर्न बनाइएको विशाल प्रांगडभित्र भब्य भुइतले भबन देख्दा अचम्म लागेर आयो । प्रसस्त काठहरु प्रयोग गरिएको तर माकुराको जालो कतै छैन, कि यहां माकुरा नै छैनन कि ?आफैलाई सोधें । मनमनै आफनो भानुसाझा पुस्तकालय र यो पुस्तकालयलाई तुलना गर्न थालें । आखिर भाषा न फरक हो, काम त एकै हो नी तर किन यति ठूलो फरक? काम त पढन आउने मान्छेहरुलाई किताब उपलब्ध गराइदिनु नै हो । बनावटमा कति ठूलो अन्तर, हामी कहिले यो अबस्थामा पुगौंला, कसले प्रेरणा देला । उमेर नै हेर्ने हो भने मेरो पुस्तकायलको पनि युवा अवस्था कटेर प्रौढतिर गइसक्यो । अब यो कसरी सबल होला, हाम्रो देश गरिव हो कि हाम्रो मन गरिव ? कि हामीलाई पुस्तकालय चाहिएकै छैन ? चियादोकानमा बसेर गफ गर्न, ५,६ जना भेला भएर तास खेल्न जतिपनि फुर्सद छ हामीलाई तर बौदिक ज्ञान लिने कुराको विषयमा गफ गर्न, समाजलाई चाहिने कुराको गफ गर्न किन समय छैन ? मनमा कुरा खेल्छन । पुस्तकालय भनेको शैक्षिक क्ष्ोत्रको अत्यन्त महत्व राख्ने विद्यालय हो । मानिसभित्रको अध्यारो नास गर्ने प्रकाश हो । बाटो, विजुली, औषधी, खाने, लाउने यि सबैको ज्ञानको स्रोत भनेको विद्यालय हो, उचिन विद्याको अभाबमा हामीले हाम्रा छोरोछोरीहरुलाई कसरी हुर्काइरहेछौं ? अलिकति गहिरिएर सोच्न आवश्यक छ कि छैन ? हामीले जिताएर गएका प्रतिनिधिहरुले सोच्ने पर्ने हो कि होइन? सही शिक्षाको अभाबले नै हो गुणस्तरका नागरिक उत्पादन गर्न नसकेको । हामी कहिले सबैका छोराछोरीले उत्तिकै शिक्षा पाउन र उत्तिकै जागिरका अबसर पाउन भन्छौं होला । युवाहरुलाई पुस्तकालय आउन मन लाग्ने बनाउन कहिले सोच्छौ होला ? पुस्तकालयमा गएर पढने काम उमेर घर्केकाको मात्र हो र ?
अमेरिकामा मैले पहिलो पटक देखेको र टेकेको इभा प्रेरी पुस्तकायलमा दुइवर्षदेखिका बच्चाहरु भेला गरेर एकआध घण्टा पढाइंदोरहेछ । त्यो समयमा पढाउने मान्छेले ति नानीहरुको सबै ध्यान आफूतिर खिचेर कथाको माध्यामबाट खोजिनितिका कुरा, बिभिन्न खेलका कुरा, आचरणका कुरा सिकाउंदा रहेछन । वास्तबमा बच्चाहरु सानैदेखि नै विभिन्न कुराको परिकल्पना गरेर खेल्ने, घर बनाउने, बाटो बनाउने, आफूले देखेका गाडी बनाएर त्यो बाटोमा कुदाउने गर्छनन नै । मपनि कुनै कुलो, अथवा खोलाको नजिक पुगेको बेला छेउमा भएको वालुवा आफनो गोडाभरी राखि थपथपाएर बिस्तारै गोडो झिक्दा त्यो आफनो गोडो सरक्क झिकियो भने ओ हो मेरो गोडोले बनाएको घर भनेर रमाउथें । आखिर त्यो भनेको सिकाइ त हो रहेछ नि π त्यति नै ध्यान दिएर अर्थाेक रचनात्मक कामपनि त गर्न सक्छन नि बच्चाहरुले तर यस्ता खेललाई हामीले चकचक गरेको भनेर उनिहरुलाई हतोत्साइत गर्न पछि परेनछौं । यो खेल्ने बानीमा चकचक नभएर नानीहरुको सृजनात्मक भावना पोखिएकोरहेछ भन्ने कुरा हामीले कहिल्यै बुझेनछौं । यस्ता खेलमा मैले सिक्नुपर्छ, जान्नुपर्छ भन्ने कुराका श्रीगणेश सानैदेखि भएको रहेछ तर यसलाई उचित प्रोत्साहन दिनुपर्छ भनेर जानेनछौं । यस्तो वाल मनोविज्ञान अमेरिकीहरुले बुझेकारहेछन । मैले बढो उत्साहपूर्वक हेरिरहें, त्यो एकआध घण्टाको कार्यक्रम खेलबाटै शुरु भयो । कार्यक्रम बाटो बनाएर गाडी कुदाउने रहेछ । बच्चाहरुलाई प्रशिक्षकले अत्यन्त हंसिलो र फरासिलो पाराले कैंचीले बढो होसियारकासाथ कागजलाई भने अनुसारका टुक्रामा काटन लगाइन । ति काटेका कागजका टुक्रालाई टेपले जोडेर भिरालो बनाउन लगाइन र त्यसलाई बाटोको रुपमा प्रयोग गरि स– साना खेलाउने गाडीहरु त्यसमाथि कुदाउन सिकाइन । ति नानीहरु कागजको बाटोमा गाडी कदाएर मख्ख परे । म मनमनै प्रशिक्षकको प्रशंसा गर्दै मात्र हेरिरहें । ति प्रशिक्षकले अन्य कुराहरुपनि चित्रको माध्यामबाट, खेलौनाको माध्यामबाट सिकाइन । अबिभाबकहरु नै सामेल गराएर सिकाएको त्यो ज्ञानले गाडी कुदाउनलाई पहिले बाटो बनाउनु पर्छ भन्ने ज्ञान ति नानीहरुलाई दिएको देख्दा मलाइ मेरो सिकाइको फेदैमा पुगेजस्तो भयो । कार्यक्रम सकिएपछि दायांवाया हेर्न थालें । नानीहरुका उमेर सुहाउदा पुस्तकहरु र्याकभरी छन । २ वर्षदेखि माथि जति वर्षका नानीहरुलाई चाहिने हो त्यति नै वर्षका किताबहरु छन । एकपल्टमा आफूले चाहेजति किताबहरु चेक गर्न लगाएर लान पाइने रहेछ तर दुइहप्ताभित्रमा बुझाउने सर्तमा । मेरा नाती नातिनीलेपनि चाहिनेजति किताब लिएर आए । यिनिहरुको हातमा किताब देखेर मलाइ लाग्यो पुस्ताकालय त अक्षरालय बाट बढदै बढदै पुस्तकालय पो भएको रहेछ । वाल, किशोर, जवान हुदै बयस्क र बृध्दसम्मका लागि यथेष्ट खुराक दिने पुस्तकहरु आज पहिलो पल्ट देखें मैले । सबै पुस्तकका र्याक हेरें, धित नमरुन्जेलसम्म घुमें । बिद्यार्थि, बुढा, जवान, महिला, पुरुष सबै पढिरहेका छन । कोही ठूलो श्वरले बोल्दैनन । तिनिहरुको पुस्तकभित्रको एकाग्रता देख्दा कुन किरा फट्यांग्रादेखि जनावरको जीवनचक्रका बारेमा ज्ञान हुदैन होला रπ कुन मुलुकको बारेमा ज्ञान हुदैन होला र जस्तो लाग्यो । मानौ यो पुस्तकायलभित्र ज्ञानको सिंगो संसार नै अटाएको छ ।
आक्कल झुक्कल भेटिएका किताब, रेडियो र टिभीबाट पाएको समचार र पत्रपत्रिकामा पढेको समचार मात्र पाएको मेरो दिमाग अमेरिकाको यो पुस्तकालय देखेर रन्थनियो केही बेर । फेरी सम्झें उही आफनो भानुसाझा पुस्तकालय, विचारा..... हामी वरीपरीका अक्षर नचिनेका, पुस्तक नदेखेका आफूलाई आफै बिर्सेका मान्छेहरु यी नानीहरुलेजस्तो पढन पाएका भए आजसम्म जातभात मै रुमलिरहेने थिएनौ होला । पुरुषले महिलालाई हेप्ने, महिलाले महिलालाई नै हेप्ने, दलितले दलितलाई नै हेप्ने, थिच्ने, थिचिने, लाटा, सोझा र वाठा सबैको तस्वीर आखां अगाडि नाच्न थाले । कसले भ्याओस हामीलाई पुस्तक पढनुपर्छ, पुस्तकालयमा आउनुपर्छ, ज्ञान विज्ञानका कुरा सिक्नुपर्छ सिकाउनुपर्छ भनेर । त्यसैले त अझैपनि ठगहरुकोलागि, चाटुकारहरुको लागि जातिय, क्षेत्रिय र लंैगिक विभेद फैलाएर, हुर्काएर कथित राजनेताहरु आ–आफनो अभिस्ट पुरा गर्छन । भिन्न भिन्न नाउंमा पार्टीहरु च्याउ उम्रिएझैं उम्रिनको कारण अशिक्षा नै त हो । अशिक्षा र गरिवीलाइ आफूले चिन्न नसक्दा, आफूलाई गतिशिल बनाउन नसक्दा हामी पछि परेछौं । सधैं अर्काको भेडा, बाख्रा र गोठालो हुने हामी नेपालीले माल पाएछौं तर चाल पाएनछौं । हिमालको देश, जडिबुटीको देश, ऋषीमुनीले तपस्या गरेको देश, प्रशस्त नदिनालाको देश, प्रकृतीको अनुपम गहनाहरुबाट सिंगारिएको देश, रसिलो, मलिलो देश हो नि तर हिरामोती र सुन फलाउनका लागि पहिला चेतना रोप्न र फलाउन पर्दोरहेछ । चेतना फैलाउन उचित शिक्षा चाहिने रहेछ अनिमात्र न अरु मुलुकजस्तो समृदिेदीतिर लंम्किन सकिनेरहेछ । अमेरिकाको लाइब्रेरीभित्र बसेपनि मेरो मन उतै घरदेशको दु:खमा पुगेछ ।
इभा प्रेरी लाइब्रेरीबाट आएपछि मनमा धेरै कुरा खेले । किन दक्षिणको छिमेकीले हाम्रो सिमाना मिच्छ? सिमानामा बाध बांधेर हाम्रो जमीन डुवाउंछ? वर्षैपिच्छे सयौ नेपाली किसानको वास बस्ने घर, खोले खाने अन्न नष्ट गराइदिन्छ । एक छिमेकी सार्वभौम मित्र राष्ट्र्रका जनताको सार्वभौम अधिकार खोस्न कसले उसलाई अधिकार दियो ? किन छिमेकीका अनेकौ ज्यादतीहरु जबरजस्ती सहन बाध्य छौं हामी ?किन निरिह हुन्छन अन्याय सहन हाम्रँ सरकार प्रमखहरु ? हामीमा राष्ट्रिय चिन्तन नभएर हो कि अथवा तिलस्मी विचारहरु र अवसरवादी चिन्तनहरु हाबी भएर हो ? शोषित, पिडित, किसान, मजदरहरुले वर्गिय मुक्तीको लागि वर्षैादेखि भात खुवाएर वा लुकाएर राखेको खर्च दिएर नेतृत्वमा पुर्याएका नेताहरुको हविगत देख्दा टिठ लागेर आउंछ । जातिय, क्षत्रिय र भुरे टाकुरेको दलदलमा फसेको देख्दा हामी पढेलेखेका नै अर्धशिक्षित रहेछौ भन्ने देखाउदैन होला ? राष्ट्र्रिय जग राम्रो बसाउन शिक्षाको जग बलियो हुनु पर्दौरहेछ त्यसैले मान्छले वामे सर्दैदेखि अक्षरसंग खेल्न सिक्न पर्नेरहेछ । अनिमात्र उसको उमेरसंगसंगै चेतना बढेर जान पाउंदोरहेछ । त्यही पुस्तकारलयले दिने खुराक, सन्देशले मान्छे एउटा पूर्ण मान्छे बन्दोरहेछ । पूर्ण हुन सृष्टीका सबै तप्का र तहका प्राणीहरुका जीवनचक्रका बारेमा थाहा हुन पर्दोरहेछ । त्यसले मानिसलाई भाबक बनउदोरहेछ, विवेकसिल बनाउदोरहेछ अनि त्यसैले मान्छेलाइ नराम्रो काम गर्नबाट बचाउने रहेछ नी । असल चिन्तनको विकाससंगसंगै संसार पढने अबसर पाउंदोरहेछ मान्छेले । शिक्षाकै कारण कुन कुन देश के कारणले समृद भएका रहेछन र के कारणले गरिव भएका रहेछन भन्ने कुरा थाहा हुने हुनाले नेतृत्वमा जाने मानिसहरुपनि खारिएर जाने अभ्यास हुंदोरहेछ । सायद शिक्षालाइ बेलैमा बुझेछन विकशित मुलुकका मानिसहरुले । हामी भने त्यही सही शिक्षाको अभाबले गर्दा नै असक्षम मान्छेलाई नेतृत्वमा पुरयाउंदारहेछौं र देशको युवा जनशक्ति निर्यात गर्नमा बहादरी देखाउंदारहेछौं ।

हन्ट लाइब्रेरीका केही घण्टा

छोरीज्वाइको अनुरोधमा मलाइ १० वर्षपछि अर्थात २०७८ को मंसीरमा फेरी अर्कोपल्ट अमेरिका भ्रमण गर्ने अनुकल मिलेकाले छोरी नम्रता घर आएकी थिइ । घरमा सप्ताह पूराण लाउने काम सकेर म जेठी छोरी भाबनाको घर काठमाडौ आएं । त्यतिबेला नाती निमेषको बिबाहले छोपीसकेको थियो । उसको बिबाहको काम सक्दानसक्दै अमेरिका आउने दिन आइसकेकोछ । जमघटमा धेरै मान्छे भेटिएकाले कतै कोरोना भन्ने भाइरसको शिकार भएर जानेकुरा रोकिने त होइन? भित्र अलिअलि चिसोपनि पसेको थियो । अब जे होला नै, अहिले मिलेन भने जहिले मिल्छ तहिले जाउंला भनेर चित्त बुझाएको थिएं । कोरोना टेष्टको नेगेटिभ रिजल्ट आएपछि मात्र उडन पाइन्छ बुवा छोरीले पहिले नै भनेकी थिइ । जानेदिन नजिक आएकोले २ दिन अघि हामी कोरोना टेष्ट गर्न गयौं । भोलीपल्ट दिउसो मात्र रिजल्ट आउंछ भनेको थियो । के होला के होला भन्दै घर आयौं । नभन्दै भोलीपल्ट रिजल्ट नेगेटिभ नै आएकोले दुइदिनपछि अर्थात २०७८ मंसीर १२ गते हामी बाउछोरी अमेरिका हानियौं । लामो यात्रामा थकाइबाहेक अरु केही भएन, राम्ररी नै छोरीज्वाइ बसेको राज्य नर्थ क्यारोलाइनाको केरी आइपग्यौं ।
भोलिपल्ट अलि ढिलै उठिएछ । उठेर तल आएं । ढोका खोलेर बाहिर हेर्दा छोरीका घर वरीपरी पहिला देखेका कुरा उस्तै रहेछन । मसींर महिनाको जाडोपनि घरतिरको जस्तै लाग्यो । अलिदिन आराम गरेपछिको एक शनिवार छोरीज्वाइकै अनरोधमा उनिहरुले अध्ययन गरेको नर्थ क्यारोलाइन स्टेट युनिभरसिटी घुम्न गएं । घुम्ने सिलसिलामा पहिलो कुरा त त्यति भब्य र ब्यबस्थित बिश्वविद्यालय हाम्रो निम्ति दुर्लभ त हुने नै भयो अर्को कुरा बिश्वविद्यालयको प्रांगडभित्रको अनौठो पुस्तकालय रहेछ । पहिलो पटक २०६९ सालमा अमेरिका यात्रामा मैले देखेको पुस्तकालयभन्दापनि आश्चर्यजनक यो पुस्तकालयको नाम हन्ट लाइब्रेरी रहेछ । हन्ट लाइब्रेरीमा पुस्तक झिक्ने र राख्ने काम रोबोटले गर्दोरहेछ । पुस्तकालयको माथिपटि भब्य र फराकिलो पढने ठाउं रहेछ जहां ज्ञानका भोकाहरु आफूलाई चाहिने ज्ञान अघाउंजी लिइरहेझैं लाग्थ्यो । त्यो शुन्दर पुस्तकालयका हरेक तलामा पाठकहरु बसेर पढन पाउने रहेछन । त्यहां प्राय गरेर त्यहि विश्वविद्यायलमा पढने विद्यार्थिहरु पढन आउंदा रहेछन । नर्थ क्यारोलाइनाका ७१ औं गर्भनर जेम्स हन्टले निर्माण गरेको २० लाख किताबहरु अटाउने क्षमता भएको ५ तलाको त्यो भब्य विल्डिंगमा ५० फीट अग्लो रोबोटले किताब राख्ने र झिक्ने गदोरहेछ । रोबोटले कसरी काम गर्छ भनेर देखाउनका लागि बाहिर बटन राखिदिएको रहेछ । नातीले यहां थिच्नु त बुवा भन्यो, मैलेपनि सुइच थिचिदिएं । नभन्दै रोबोट माथिबाट सररर तल आयो, तलको तलाको एउटा किताबका ठेली राखेको बाकस झिक्यो र माथि लिएर गयो । एकछिनपछि फेरी त्यो बाकस त्यही ल्याएर राखेर गयो । त्यसमा कुनै भौतिक शरिरको आवश्यक्ता परेको देखिएन ।
विज्ञानले चमत्कार गर्यो रे । मान्छेले काम गरेजस्तै काम गर्ने मेसिन बनाएको छ रे । त्यसको नाम रोबोट अरे भन्ने सुनेको थिएं तर रोबोटले गर्ने यस्तो चमत्कार आफनै आंखाले देख्न पाउनुपनि ठूलै अबसर ठानें मैले । नेपालीका छोराछोरीले कति सय वर्षपछि यो सुबिधा पाउलान ? मनमा कुरा खेलिरहे । दुइपटकका दुइखाले पुस्तकालयको अबलोकनपछि मेरो मनभित्र के भानुसाझा पुस्तकालयलाई यस्तो बनाउन सकिएला? भन्ने जिज्ञासा जागिरहयो ।
नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।