16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रश्न र परिवेश

कथा कृष्ण प्रर्साई October 13, 2008, 1:12 pm

१ बीस तला माथिबाट मान्छे हाम फाल्यो तर मरेन के भयोर?

२ उड्दा उड्दैको चराले अण्डा पार्यो तर भुईमा झरेन कसरी?

३ पांच तले घरवाट लड्डु झर्यो के भयो?

सांझ आठ बजेको टेलिभिजनको समाचार सकिने बित्तिकैका प्रश्नहरु थिए यी । यी प्रश्नहरु सोध्ने अरु कोही नभएर तीन कक्षामा पढिरहेकी मेरी नाबालक छोरी प्रविधि थिई । यी यस्ता प्रश्नहरु थिए जस्को जवाफ म कनिकुथि पनि दिन सक्दिन थिए । छोरीका प्रश्नको उत्तर खोज्नु भन्दा पनि तीन कक्षामा पढ्ने अहिलेका बालबालिकाहरुको दिनचर्या र जिज्ञासाका बारेमा मेरो मनमा कुराहरु उठ्न थाले । कहाँको मेरो युग र कहाँको यो युग । यी भिन्न युगको तुलना नै हुन सक्दैनथ्यो । परिवर्तन कै युग छ यो । भाले बासेपछि भाले सगै बिउँझने बिहान छैन यो । अलार्मको समय छ यो । गा्र्रमोफोन र कागजे चिठ्ठीको जमानाले उहिल्यै डाडो काटिसक्यो । मोबाइल, इन्टरनेट र एम. पी. फोरको जमाना छ यो । परिवर्तन कै युग छ या, रुखको फेदमा पाइने सितलता वातावरणुकुलित कोठाले दिनथालेको छ । ल्याप्टप, डिजिटल साउण्ड र हाइटेकमा पुगिसकेको काल छ यो । मिडिया र उच्च प्रविधिको युग छ यो । सहरको सम्पुर्ण सुविधा रिवचेर आफुमा समाहित पारिरहने मेरी छोरीको युग हो यो । मेरी छोरी जस्तै सम्पुर्ण छोराछोरीहरुको युग हो यो । मैले सोचे जस्तो, चाहे जस्तो र कल्पना गरे जस्तो पक्कै छैन यो । एकाध गाँउ बाहेक सम्पुर्णजिवन र परिबेशलाई अहिलेको प्रविधिले अठ्याइसकेको युग छ यो ।

मैले तीन कक्षामा पाइलो राख्दा अंगे्रजीको बर्णमालासँग साक्षात्कार हुन अझै एक बर्ष कुर्नु परेको थियो । चार कक्षा- देखिमात्र मैले अंग्रेजीको प्रारम्भिक वर्णमाला सिकेको थिए । तर अहिलेको शहरमा हर्ुर्किएको अंगेजी स्कुलको चार कक्षाले अंगेजी शिक्षामा ठुलै महत्व राखेको हन्छ । नेपालीका धेरै शब्दहरुको अर्थ अंगेजीमा भनिदिदा मात्र छोराछोरीहरुले बुझ्ने अवस्था छ अहिले । कँयौ पटक यो अवस्था मैले गुजारिसकेको छु आफुबाट । जतिखेर म तीन कक्षामा गाउँको स्कलमा पढ्थे त्यतिखेर मेरा खुट्टामा चप्पल थिएनन् । जुत्ता त धेरै पछि मात्र लगाएको थिएँ मैले । खाली खुटाले हिड्ने बानी परेकाले अलि ठूलो भएर चप्पल लगाउदा धेरै पटक चप्पल छोडिएका छन मेरा । लगाउने बानी नहुदा त्यसको उतिसारो महत्व नभएकाले छाडिएका हुनसक्छन त्यतिबेला । घरको काम सकेर हतार हतार खाली खुट्टाले स्कूल पुग्दा कहिल्यै सोचिएको थिएन एक दिन यी खुट्टाले पनि जुत्ता लगाउन पाउनेछन भनेर ।

तीन कक्षामा पढदा मैले हसिया चलाउन सिकिसकेको थिए । घांस काट्न सिकिसकेको थिए । भैसी चराउन सिकिसकेको थिए । बलले गर्नु पर्ने सम्पुर्ण घरायसी कामहरुमा पोख्त भैसकेको थिँए । म मात्र किन र ! मेरो उमेर तापेर बस्ने तत्कालिन मध्यमवर्गीय गाउले साथीहरु सबैको दिनचर्या एकैनासको हुन्थ्यो । ९:३० बजेसम्म घरको काम सकेर छिट्छिटो भात खाने अनि हस्याङ्फस्याङ् हुदै स्कुल जाने । एक बजे टिफिनको लामो एकोहोरो घन्टी बज्नासाथ बाहिर निस्केर मंगली बजारमा आदिबाशी राजवंशी महिलाले बेच्न राखेका लारु ¬- सक्खर हालेर बनाईएका भुजा ' मुरै ' का डल्ला) को खाजा जुन पन्द्रपैसाका तीनवटा आउथे र एक किसिमले भोक मर्नेगथ्र्यो । पाँच कक्षामा पढ्दा भने खाजाका लागि पच्चीस पैसा छुट्याइएको हुन्थ्यो जुन चना र मुरैका लागि पर्याप्त ठानिन्थ्यो । अलिपछि भने पच्चीस पैसा गोटाका दुईवटा समोसाले खाजा टारिन्थ्यो । यसरी चलेको थियो काम र खाजाको संसार त्यसताका तर्राई गाउँको स्कूलमा ।

तर समय अहिले बदि्लसकेको छ । सोचाई बदि्लसकेको छ । मेरो बुबाले नब्बे रुपैयामा गर्नु भएको ताम्झामको विहे आजभोलि नब्बे हजारमा पनि कल्पना गर्न सकिन्न । मेरा बुबाले किनेका ३५ रुपैया तोलाका सुन जसलाई म आजभोलि पनि आफ्नै आमाका गलामा देखिरहेछु ,जुन आजभोलि २४ हजारको हाराहारी पुगिसकेको छ । हजुरबुबा र नातिनीको उमेरको फरकलाई वस्तुमा कमजोर देखिएको पैसाको मुल्य भन्दा अरु आर्श्चर्य मैले लिन सक्दिन किनभने समयसँग आएको वाढीलाई रोक्न सक्ने ताकत् कसैको छैन । ऋतुहरु त्यसरी नै बदिलरहेछन अहिले जसरी म साना कक्षाहरुमा हुदा बदि्लन्थे । सूर्य त्यसरी नै उदाइरहेछन अहिले पनि, जसरी पहिले उदाउथे । तर कानमा आएको श्र्रवणशक्तिको ह्रास , जिब्रोमा आएको बोदोपन, आखामा आएको धमिलोपन, शरिरमा आएको आलथ्य र टाउकामा प्राय सबै फुलिसकेका सेता कपालले जीवनमा धेरै कुरा चखाएको छ । धेरै घाटको पानी खुवाएको छ यी बर्षाहरुले । बर्ष र साउन त त्यही हो अहिले आउने पनि तर यसले नाङ्गै भएर फुलवासा र हँडिया खोलामा पौडी खेलाउन खकेको छैन । हिउद त उस्तै गरी आउछ अहिले पनि तर यसमा खमारमा रहेको धानका कुन्युहरुमा लुकामारी खेलेर आउदैन यो । न सिलाधानका बालाहरुमा पैसा भएर नै आउछ । छुट्टी त अहिले पनि प्रसस्तै हुन्छ तर उड्डु धुडेका दाउसँगै गुच्चा खेलहरुमा आउदैन । न आउछ शरदका पिङ र चन्द्रमाको हेरिरहु लाग्ने रोसनी भएर । तेसैले पनि मैले माया गरेको छु कतिपय चोर ती समयहरुलाई जतिखेर तेली बुढाका काँचा आँपहरु चोरेर खाइन्थे । अनि झुम्रा र चोरेकै होक्सेका काँचा फलहरुलाई फूटबल बनाएर खेलिन्थे । त्यतिबेलाका नं.१ ब्राजिलियन खेलाडी पेले ले पनि आफुले खेलेको फुटबललाई त्यति जतन गर्दैनथे होला जति हामी गर्दथ्यौ हाम्रो झुम्राको नक्कली फूटबललाई ।

समय अब पहिले जस्तो रहेन । मैले मेरा बुबालाई आक्रमण खेल खेल्ने अभ्यासका लागि बोलाउने कुरा असम्भव प्रायः र सोच्न सकिने कुरा थिएन त्यतिखेर किनभने बुबासँग रहेको डर र त्रासको घोडाले हामी आफै घोडा भैसकेका हुन्थ्यौ । उपद्रो र छुच्चांयाइले गर्दा आफ्ना अविभावकहरुसँग रहने डर त्यतिखेरको परिवेशमा अजङ्गको पाटो हुन्थ्यो सबै केटाकेटीहरुमा ।

तर स्थिति पुरै बदलिएको छ अहिले । मेरी छोरीले मसँग अक्रमण खेलेको प्रस्ताव आफै पहिला राख्न सक्ने बेला छ यो । गाउँ खाने कथा सुनाउन हाक्काहाक्की उभिएर थुंप्रै गाउँ निल्ने अवस्था रहेको छ अहिले । गाँउ खाँदाखाँदै आफू बस्दै आएको घर समेत गाँउ खाने कथामा आफ्ना छोराछोरीहरुलाई सुम्पेर अविभावक सुकुम्बासी हुनुपर्ने जमाना छ यो । पुराना धेरै कुराले नेटो काटिसकेको अवस्था छ यो । त्यो जस्तो कहा छ र यो ! यो जस्तो कहा छ र त्यो ! राजतन्त्रबाट गणतन्त्र, एकलबाट प्रदेशिक र समानुपातिक भैसकेको परिवेश छ यो । आफैले आफैलाई दलित भन्न पाउने र सुविधाको माग राख्न पाउने समय छ यो । समय पुरै बद्लिसकेको छ यहँा । आफूले पढदै आएका पुस्तकहरु, पुस्तकालयहरु र विश्वविद्यालयहरुलाई पनि माग राखेर भस्मीभूत पार्न सकिने सजिलो युग छ यो । एउटा जिल्लालाइ प्रान्त बनाउन पाउनु पर्छ भनेर हड्ताल गर्न सकिने जमाना छ यो । राष्ट्र बिर्सने, भाषा बिर्सने, संस्कृति बिर्सने र भेषभुषासँगै राष्ट्रियता सबै बन्धकी राख्न मिल्ने भएको छ यो युगमा ।

धेरै सुविधा तानेर उन्नतिको शिखरमा पुगेको अत्याधुनिकबाट उत्तर आधुनिक बन्दै गएको जमाना छ यो जहा श्रीमान रिसाउदा श्रीमतीले हड्ताल गर्न सक्छिन् । मामासंग रिसाउदा भान्जा ले चक्काजाम गर्न सक्छन् । यो त्यस्तो युग छ जहँा टायर बालेर, गाडी तोडफोड गरेर र घरका सिसा फुटाएर राष्ट्रिय पार्टी नेता बन्न सकिन्छ । माग नै मागको जमाना छ यो । आफै माग्ने र आफै लिने जमाना छ यो ।

यो भन्दा झन् अफठ्यारो प्रश्न पनि केही महिना अघि उसले सोधेकी थिई । उसको प्रश्न सामान्य भए पनि दिमागमा एक किसिमको झट्का थियो यो पनि । दाल, चामल, सागसब्जी किनेर खाँइरहनु पर्ने सहरको बाजारु संस्कृत देखेर उसले जब आफनो परल मूल्य सोधी, कतिमा किनेर आफूलाई भित्र्याएको भनेर सोध्न थाली त्यतीखेर भने हामी सबै नाजवाफ भयौ । उसको विचारमा उ पनि दैनिक आवश्यकताका सामानहरु झैँ सौदापात भएर हाम्री छोरी हुन आइपुगेकी हो । ऊ पनि बजारबाट किनिएर भित्रिएकी हो । किनभने उस्को विचारमा शहरका सबै कुरा पैसामा पाइन्छ ।

उस्लाई थाहा छैन दुध कसरी बन्छ । किनभने उस्ले दुध दिने गाई देखेको थिएन । गाईका सन्तानले दुध खाएको देखेकी थिएन । धान कसरी फल्छ उसलाइ थाहा थिएन । घास कसरी काटिन्छ । जब उ हिउदे छुट्टीमा गाउ पुगी उसले गाई ब्याएको देखी । गाईको बिगौती देखी । दुध देपछि जमाएको ,मोही पारेको र घ्यू निकालेका सब देखी । बिरालो देखी र बिरालोसँग खेल्न थाली । बाख्रो देखी र बाख्राको पाठोसँग रमाउन थाली । ढिकुटीको बोराका बोरा धान देखी, र शहरमा देखेको पोलिथिनसँग तुलना गर्न थाली । देख्ने र गाउसंग तादाम्य भएर भोग्ने सबै भोगी, १५ दिनको अन्तरालमा । उ रमाएको देखेर म पनि खुसी भए । गाउले जीवनको सानो पाटो उसले थाहा पाएकोमा म गद्गद् भए । यस्तो लाग्यो उस्ले धेरै कुराको उत्तर पाई गाउबाट जुन उस्ले अब म सँग सोधने छैन् । जुनकुरालाई मैले सानैमा अमन भइन्जेल भोगेको थिए त्यही कुरा उ विद्यार्थी भएर सिकिरहेकी थिई । तर उसको भोगाई र मेरो भोगाईको पाटो नितान्त फरक परिवेशमा थियो ।

ट्रान्जिट फेजमा जन्मिएको म आफूलाइ एक किसिमले भाग्यमानी नै सम्भिरहेछु किनभने मेरा हजुरबुबाले गाँउमात्र देखे । मेरा बुबाको समकालीन प्रायः धेरैले विदेश देखेनन्, शहर कम देखे तर गाँउ पुरै देखे । तर मैले गाँउ देखे, सहर देखे, र विदेश पनि देखे । त्यसैले मलाई तीनै कुराको अनुभव छ । मेरा छोराछोरीले गाँउ कम देखे, शहर देखिरहेछन् र विदेश देख्ने दाउमा छन् ।

मेरी छोरीका प्रश्नको उत्तर दिनुको साटो म गन्थनतिर लागिरहेकोमा म क्षमा प्रार्थी छु । लहरो तान्दा पहरो गर्जिए जस्तै भैरहेछ अहिले । मेरी छोरीका यी तीन प्रश्नको उत्तर नदिएसम्म उसका लागि म नालायक हुनेछु । उत्तर खेज्ने क्रममा उस्ले मेरा कुनै गन्थनहरु स्वीकार्ने छैन । यस अधि धेरै प्रश्नहरु सोधेर उसले मलाई हैरान पारिसकेकी छ । उस्का प्रश्नहरुको उत्तर दिन मलाई महाभारत परिरहेको छ । प्रत्येक प्रश्नहरु सोध्दा उ यसरी प्रस्तुत हुन्छे मानौ मैले नजानेको कुरा संसारमा कुनै पनि छैन र तर जति सोध्छे ती सवै प्रायः मेरो पहुँच भन्दा वाहिरका र उस्को युगले निकालेका हुन्छन् जस्लाई जति कोशिश गरे पनि मैले निरीह बन्नु भन्दा अर्को उपाय हुँदैन ।

छोरीको जिरह क्रमशः वढिरहेको छ । सँगसँगै उसका प्रश्नहरुको उत्तर नजान्दाको नमज्जा र बेचैनी पनि संगसंगै छ । सुत्ने बेला भैसकोकाले मैले भोलि विहान बताउने कुरा सुस्तरी उस्लाई राखे । यस्मा मेरो चलाखी के थियो भने उ विहान उठ्दा नउठ्दा उसको युगसंग समकालीन भएर रत्तिएको उसैको दाइबाट समस्याको समाधान हुन सक्नेछ । किन भने यी प्रश्नहरुको उत्तर उनीहरु विच पक्कै साटासाट भएको हुनुपथ्र्यो । तर मेरो अनुरोधलाई उस्ले सिधै जिद्धिगरेर नकारे पछि भने म लाचार जस्तै भए । उसका प्रश्नको उत्तर मैले नजानेर उ आफैले दिँदा म भन्दा ऊ आफू ज्यादा शक्तिशाली र जान्ने छु भन्ने देखाउन पनि आफ्ना प्रश्नहरुको उत्तर आफै भन्न तयार भएकी हुन सक्छे । यो एक किसिमको बालहठ र उत्सुकता दुवै हो भन्ने मैले ठाने । उत्तर दिने उस्को रोजाई संगसंगै एउटा र्सत पनि तर्साइ उस्ले त ! मान्नै पर्ने उस्को र्सत भने उस्का लागि मैले हात्ति भइदिनु पर्ने र ऊ हात्ती माथि सवार हुने थियो । सवै उपायहरु निकम्मा भएपछि मैले 'हुन्छ' भनेर स्वीकृती दिएपछि उस्का प्रश्नहरुको उत्तर ऊ आफैले क्रमैसंग यसरी दिई

१) अचम्म भयो । २) कट्टु लागाएकाले ३) बुनियाँ भयो ।

उस्का उत्तरहरुसंग सन्तुष्ट हुन नसक्नु मेरो आफ्नै कमजोरीहरु होलान् त्यसैले यी उत्तरहरुको प्रश्न एकपटक फेरि तपाईलाई हर्ेन म अनुरोध गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।