18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उपदेश

लघुकथा श्रवणकुमार ढुंगाना April 4, 2022, 1:52 am
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

तिमीले त्यहाँ पुगेपछि थरीथरीका मानिस भेट्यौहोला। जति धेरै आवरणयुक्त मानिस भेट्यौ ऊ उतिनै उपदेश दिन अनिच्छुक पायौ होला। जति आवरण कम हुँदै गयो ऊ उतिनै उपदेश दिन इच्छुक पायौ होला। पुर्णतः अनावृत्त मानिसलाई सबैभन्दा उग्रता, उत्तेजना र बेचैनीका साथ उपदेश दिन उत्ताउलिएको पायौ होला।
हो, त्यतिबेला हामी प्रत्येकको मनमा पनि त्यस्तै प्रश्नहरो थिए- `ती कुरा त बुझियो, तर मैले कोसँग उपदेश लिनु ठिक होला? कुनै ऋषिका २४ गुरु थिए रे! उपदेश त जसले दिन्छ उसैसँग सुन्नु ठिक होला, कि कसो?´ तर, ती ऋषिले शिक्षा लिएका थिए कि उपदेश सुनेका?

हामी मध्येका केही हामी उपदेश लिन आतुर थिए। उनीहरु उपदेश दिन आतुर कहाँ पुगेको देखियो। त्यहाँ निकै तामझाम देखियो। भब्य उत्सव मनाइयो। उपदेश सुरु हुनु अगावैको दृष्य दर्शनीय थियो भन्यो भने त्यो भब्यताको आकलन गर्न सहज होला।

हामी मध्येका केही हामी सर्वाधिक आवरण युक्तहरूको छेउ पुगेको देखियो। तर, त्यहाँ अपेक्षित उपदेशकहरूले भब्य तामझाम देखाउनुको कुरै छोडौँ उपदेश दिन पनि खोजेको देखिएन। हामीले आफैंले आग्रह गर्‍यौं। हाम्रो प्रश्नले गम्भीरताको आभा युक्त उनीहरुको मुहारमा विस्मयबोधक चिन्ह ठड्याइदियो। फेरि स्वभाविक प्रशन्नताको मुद्रामा फर्केर उनीहरूले भने `ल हामीसँगै यात्रा गर ।´
हामी दुविधामा थियौं- हामी घर छोड्न आएका होइनौं नि!
`हामी त तपाइँहरूसँग उपदेश लिन आएका´
`के उपदेश? तिमीरूले हामीलाई रोज्यौ। अब हामी जहाँका भएपनि आआफ्नो ठाउँबाट सहयात्रा गरौं।´
`यो तपाईंहरूको आवरण के हो?´
`के को आवरण ? हामीसँग लाज छ, समाज छ र समाज प्रति ईमान छ त्यति हो ।´
`अर्थात ?´
`जसले हामीलाई हामी स्वयं, हाम्रो समाज र यो पृथ्वीलाई मूर्ख बनाउने मूर्खता गर्न दिंदैन त्यहि।´
`लाज भन्नाले?´
`के तिमीहरूलाई मन्दिरमा ईश्वर सामु उभिँदा आफ्ना व्यवहारका छल, कपट, धोका ईश्वरलाई थाह छ भनेर मुख देखाउन गाह्रो लाग्छ ? लाग्छ भने त्यो लाज हो। र त्यहि नै हाम्रो मार्ग।´
हामी तिर हेरेर उनीहरू मुस्कुराए र सरासर अघि बढे।
र सँगसँगै हामी पनि हिँड्यौं, जसरी तिमी आज हामीसँगै छौ त्यसरी नै। र, आउने पुस्ता तिमीहरूसँग जोडिन आईपुग्ने छन्।
उता हिंड्नेहरू हिंडिरहे। पदार्थ र समयको संगम, विवर्तन, सन्तुलन र निरन्तरताको ध्यान चलिरह्यो।
उता उपदेश दिनेहरूको उत्सव झन् झन् चर्किरह्यो। र उपदेशितहरूको उलार पनि भब्य। निस्फिक्री। कतिपय आकर्षणले सौम्यताको यात्रा बिच्चैमा छोडेर भब्यता तर्फ दगुरेको पनि देखियो
संसार चाहिँ कुनबाटो हिँडेर बाँचिरहेको छ? त्यो प्रश्न भने किताबहरूकै जालोमा ध्यानमग्न छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।