15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार विक्रमवीर थापाको संक्षिप्त जीवनी र व्यक्तित्वको अध्ययन

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व April 4, 2022, 2:02 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्य जगतमा विशिष्ट आख्यानकारको रुपमा परिचित विक्रमवीर थापाको जन्म तत्कालीन अविभाजित असम अर्थात् हाल मेघालय राज्य अन्तर्गत शिलाङको बारपत्थर भन्ने ठाउँमा भएको हो। वास्तवमा जन्म पत्रिका अनुसार उनको जन्मतिथि वि.स. 2005 को ज्येष्ठ महिना 13 गते तदानुसार सन् 1948 को 22 फरवरी हो। यिनका पिताको नाम स्व. रघुवीर थापा अनि माताको नाम स्व. कौशल्या देवी हो। उनका एकजना दाज्यु हर्क बहादुर अनि एउटी दिदी जयन्ती देवी थिए। उनका पिता गोर्खा फौजका अवकाश प्राप्त सुबेदार थिए। विक्रमवीर थापाको उमेर 4 वर्षको बाल्य अवस्था छँदा पिताको देहान्त भयो। त्यसको एक वर्षपछि सन् 1953 मा उनको उमेर 2 वर्ष घटाएर उनका अभिभावक आमा र दाज्युले उनलाई शिलाङको क्यान्टोन्मेन्ट बोर्ड प्राइमेरी स्कुलमा भर्ना गराए। बोर्ड प्राइमेरी स्कुलबाट तेस्रो श्रेणी उतिर्ण गरेपछि सन् 1958 मा उनी गोर्खा पाठशालामा चौथो श्रेणीमा भर्ना भए। त्यहाँबाट छैटौं श्रेणी उतिर्ण गरे पश्चात् सन् 1961 मा उनी शिलाङकै गोर्खा हाई स्कुलमा भर्ना भएका थिए। तर सन् 1961 मै उनको आमाको स्वर्गवास भयो। उनी टुहुरो भए। त्यसबेला उनका दाज्यु डाक तथा टेलिग्राफ विभागमा सिक्किममा कार्यरत थिए। उनले भाईलाई गोर्खा हाई स्कुलबाट छुटाएर आफूसितै गान्तोक, सिक्किम लिएर गए। फलस्वरूप उनको एक वर्षको पढ़ाई खेर गयो। सन् 1962 मा उनका दाज्यु स्थान्तरण भएर गान्तोकबाट शिलाङ आए पश्चात् उनी शिलाङको सरकारी हाई स्कुलमा भर्ना भए। तर लगत्तै एक वर्षपछि सन् 1963 मा दाज्युको पुन: स्थान्तरण अरुणाचल स्थित बमडिलामा भएको हुनाले त्यस अवधि उनले भाउज्यूको माइत शिलाङकै लालचन्द बस्तीमा बसेर आफ्नो पढ़ाई जारी राखे। विद्यार्थी जीवनको अल्लरे उमेरदेखि नै उनी पेन्सिलले निकै राम्रा चित्रहरू कोर्ने गर्थे। उनी फोटो अथवा अनुहार हेरेर हुबहु चित्र बनाउब सक्थे। पछि उनले आफ्नो चित्रकलालाई अझ विकास गर्दै लगे। त्यसैबेला साहित्यतिर पनि उनको मन आकर्षित हुन थालेको थियो। तर माता-पिता बिनाको एक्लो जीवन र यस्तै कतिपय विपरित एवं अप्ठ्यारा परिस्थितिहरूका कारणले उनले आफ्नो शिक्षा आठौँ श्रेणीदेखि अघि बढाउन सकेनन्। अन्तत: 16 मई सन् 1968 मा उनी सेनामा भर्ती भए। शिलाङमा भारतीय सेनाको 2/5 गोर्खा राइफल्समा भर्ती भएर देहरादुनमा रिक्रुट ट्रेनिङ सकेपछि उनको पल्टनको पोस्टिङ सन् 1969 मा इलाहबादमा भएको थियो। त्यहाँबाट सन् 1970 मा उनी आफ्नो पल्टनको साथमा स्थान्तरण भइ केरालाको त्रिवेन्द्रम पुगे।
सन् 1971 को दिसम्बरमा भारत र पाकिस्तान माझ युद्ध छेड़ियो। उनले पाकिस्तानको विरुद्ध छेडिएको तत्कालीन पूर्व पाकिस्तान (आजको बङ्गलादेश)-को त्यस युद्धमा एक वीर योद्धा सिपाहीको रुपमा भाग लिएका थिए। त्यस युद्धमा पाकिस्तान नराम्रोसित पराजित भएको थियो। युद्ध थामिएपछि उनको पल्टन पश्चिम बङ्गालको मालदा हुँदै गुजरातको धरङधरा शहर पुगेको थियो। त्यसपछि उनी सन् 1972 को मार्च महिनातिर राजस्थानको उदयपुर सहर पुगे। त्यसको लगभग तीन महिनापछि उनको पल्टनको स्थान्तरण भई राजस्थानको उदयपुरबाट मरुस्थल बाड़मेर पुग्यो। त्यही वर्ष उनी दशैं-त्यौहारको चाड़ मनाउने गरी 3 महिनाको छुट्टी लिएर शिलाङ आएका थिए। यस बीच उनको पल्टन बाड़मेरबाट कोटा सरुवा भइसकेको हुनाले छुट्टी पुरा गरेपश्चात् उनी सोझै कोटा पुगे। त्यसको एक महिनापछि उनी आफ्नो पल्टनसहित त्यहाँबाट स्थान्तरण भइ पुन; त्रिवेन्द्रम पुगे। त्यहाँबाट सन् 1973 को जुन-जुलाईतिर उनको पल्टन सरुवा भई पाकिस्तानको सिमाना कारगिल पुग्यो। कारगिलमा उनी लगभग दुई वर्ष रहेका थिए। त्यसपछि सन् 1975 मा उनी ग्वालियर पुगेका थिए।
उनले सैनिक जीवनकालको आरम्भदेखि नै कथा, कविताहरू लेख्न थालिसकेका थिए। उनको प्रथम कथा ‘कम्युनिष्ट’ सन् 1969 मा शिलाङबाट प्रकाशित हस्तलिखित पत्रिका ‘तरुण’ मा प्रकाशित भएको थियो। उनको दोस्रो कथा ‘उपहार’ सन् 1973/74 तिर युवक पत्रिकामा प्रकाशित भयो। तर सैनिक जीवनको व्यस्तता र अनुशासनमा रहनु पर्ने वाध्यताले उनले त्यसबेला धेरै लेख्न सकेनन्।
सन् 1972 कै मार्च महिनादेखि उनले आफ्नो पहिलो उपन्यास ‘विगतको परिवेशभित्र’ लेख्न थालेर त्यही वर्ष दशैं-त्यौहार मनाउने गरी तीन महिनाको छुट्टी लिएर घर आउँदा उपन्यास लेखी सिध्याएका थिए। तर लगभग 11 वर्षसम्म उपन्यास अप्रकाशित नै रहेको थियो। सन् 1983 मा सेनाबाट अवकाश ग्रहण गरेपश्चात् मात्र उनको यो उपन्यास प्रकाशित हुन सकेको थियो।
उनको जीवनमा सङ्घर्षहरूको धेरै उतार चड़ाव घटित हुन गयो। उनी आफ्नो शारीरिक अस्वस्थता र कतिपय प्रतिकुल परिस्थितिको कारणले गर्दा आजीवन अविवाहित रहन वाध्य भए। सन् 1975 मा आफ्नो पल्टनबाट छुट्टीमा शिलाङ आएको बेला राधिका प्रधान नामकी एउटी युवतिलाई उनले मनपराएका थिए। उनैलाई आफ्नो जीवन सँगिनी बनाउने उनको निर्णय पनि भइसकेको थियो। सन् 1976 मा उनीसित प्रेम विवाह गर्ने निश्चय उनले गरेका थिए। तर अचानक सन् 1976 मा उनका दाज्यु हर्कबहादुर थापाको मेघालयको गारो पहाड़भित्र पर्ने नंगलबिबरा भन्ने ठाउँमा हत्या हुन गयो। त्यसबेला उनी ग्वालियरमा थिए। आफ्नै परिवारमा घटेको त्यस दु:खद घटनाले गर्दा त्यो वर्ष उनको बिहे हुने कुरा स्थगित रहनु अपरिहार्य थियो। त्यसपछि दाज्युको घर परिवार सम्हाल्न सन् 1977 मा उनी ग्वालियरबाट शिलाङस्थित 58 गोर्खा ट्रेनिङ सेन्टरमा पोस्टिङ लिएर आए। परिवारमा भाउज्यु र भतिजा-भतिजीहरूमाथि आइपरेको यति ठुलो बज्रपात र दु:ख जबसम्म टर्दैन तबसम्म बिहे नगर्ने उनले अठोट गरे। यस्तो परिस्थितिमा दाज्युको परिवारको देखभाल गर्नु उनको कर्तव्य पनि थियो। सन् 1978 मा दाज्युले कार्य गर्ने विभागमा क्षतिपुर्ति स्वरूप भाउज्युले नियुक्ति पाइन्। यसबाट परिवार चल्न सक्ने एउटा भरपर्दो आर्थिक सहारा प्राप्त हुन सक्यो।
त्यसपछि सन् 1979 नभए 80 मा निश्चित रुपमा राधिका प्रधानलाई जीवन सँगिनी बनाउने उनको विचार थियो। तर नियति भनौं वा प्रारब्ध, परिस्थितिले उनले चिताएको अठोटमा वाधा उत्पन्न गरायो। उनी शिलाङस्थित 58 गोर्खा ट्रेनिङ सेन्टरमा पोस्टिङ लिएर आए पश्चात् उनलाई त्यहाँको सी.एस.डी. क्यान्टिनमा सेल्सम्यानको काममा खटाइएको थियो। त्यसबेला त्यस पल्टनका कमाण्डिङ अफिसर ले. कर्नेल ए.बी. हरोलिकरले सी.एस.डी. क्यान्टिनका कर्मचारीहरूमाथि मनमानी हुकुम गर्ने, सताउने र अत्याचार गर्ने गर्थ्यो। यस्तैमा उनलाई लगातार रातीको ड्युटी खटाइयो। केही दिनसम्म उनले जसोतसो राम्रैसित ड्युटी गरे। तर यसरी धेरै दिनसम्म चल्न सकेन। रातभरि सुत्न नपाउँदा उनलाई अत्याधिक टाउको दुख्ने बिमारीले भेट्यो। अन्तत: उनलाई शिलाङको मिलिटेरी अस्पतालमा भर्ति हुनु पर्यो। त्यहाँ राम्रो उपचार हुन नसक्दा उनलाई कलकत्ताको कमाण्ड अस्पताल पठाइयो। त्यसबेला यस प्रकारको बिमारी जाँच गर्ने सी.टी.स्क्यान मशिनको अविस्कार भइसकेर विदेशमा यसको प्रयोग हुन थालेको भए तापनि सम्भवत: भारतमा त्यो उपलब्ध हुन सकेको थिएन। यसर्थ त्यहाँको न्युरो डाक्टरले मष्तिस्कको जाँचको निम्ति मेरुदण्डको तल्लो भागको हड्डीबाट तरल पदार्थ निकाल्नु परेको थियो जसलाई चिकित्सा विज्ञानमा लम्बर पङ्कचर भनिन्छ। यसले गर्दा उनी ढाड़मा असहनीय पीड़ा हुने रोगले पनि आक्रान्त भए। पछि केही कम भए तापनि रोग पूर्ण रुपले छुट्न सकेन। यसकारण सन् 1983 मा उनी सैनिक सेवाबाट स्वेच्छा पूर्वक अवकाश ग्रहण गर्न बाध्य भए। यही कारणले उनले राधिका प्रधानलाई जीवन सँगिनी बनाउन सकेनन्। उनी जीवनभरि अविवाहित नै रहनु पर्यो। राधिका प्रधान पनि आजीवन कुमारी रहेर सन् 2017 मा परलोक भइन्।
सेनाबाट अवकाश ग्रहण गरेपश्चात् आजसम्म उनी साहित्य साधनामा नै संलग्न रहेर आफ्नो जीवन व्यतित गरिरहेका छन्। सन् 1983 मा उनको प्रथम कृतिको रुपमा उपन्यास ‘विगतको परिवेशभित्र’ प्रकाशित भएपश्चात् सन् 1986 मा उनको दोस्रो उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ प्रकाशनमा आयो। यस उपन्यासले उनलाई भारतीय नेपाली साहित्य जगतमा एक जना स्थापित एवं वरिष्ट उपन्यासकारको रुपमा परिचित गरायो। यस उपन्यासलाई सन् 2010 देखि उत्तरबङ्ग विश्वविद्यालयको एम.ए. नेपालीको पाठ्यक्रममा पनि अन्तर्भुक्त गरिएको छ। उनले जीवनभरि यसरी शारीरिक अस्वस्थता सँगसँगै कतिपय पारिवारिक एवं सामाजिक असुविधाहरू भोग्दै, प्रतिकुल परिस्थितिहरूको सामना गर्दै निरन्तर कलम चलाइरहे। उनले कथा, कविता, गीत, गजल, संस्मरण, एकाङ्की नाटक, जीवनी, उपन्यास र लेख-निबन्धहरू लेखे। उनका रचनाहरू नेपाल र भारतका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। यिनीद्वारा रचित केही गीतहरू सङ्गीतबद्ध गरी आकाशवाणी, गुवाहाटी र अन्य रेडियो स्टेशनबाट प्रसारित पनि भएका छन्। उनका केही एकाङ्की नाटकहरू पनि विभिन्न सङ्घ-संस्थाद्वारा मञ्चित भएका छन्। तर तिनका पाण्डुलिपिहरूको संरक्षण हुन नसकेको जानकारी पाइयो। उनले एउटा सडक नाटक पनि लेखेका छन् जसको शीर्षक छ ‘आर्थिक विकास समिति खोलियो बुद्धि विकास समिति खोल्न बाँकी छ’ जो अप्रकाशित नै रहेकों छ।
उनका अहिलेसम्म प्रकाशित कृतिहरूको सूची यसप्रकार रहेको छ :-
1. विगतको परिवेशभित्र (उपन्यास – 1983)
2. टिस्टादेखि सतलजसम्म (उपन्यास – 1986)
3. हत्या : रातो डायरीको (अनुसन्धनात्मक संस्मरण -1994)
4. बीसौं शताब्दीकी मोनालिसा (कथा सङ्ग्रह – 1997)
5. माटो बोल्दो हो (उपन्यास – 2007)
6. मणिसिंह गुरुङ (जीवनी – 2010)
7. कारगिल युद्ध -1999 (आत्म जीवनी – 2016)
यसबाहेक उनको चित्रकारितामा पनि अगाध रुचि रहेको देखिन्छ। उनले पेन्सिल चित्र, रेखा चित्र, जल-रङ्ग चित्र अनि तैल चित्र लगाएर लगभग 300 जति चित्रहरू कोरेका छन्। ती मध्ये कतिपय चित्रहरू भारतका विभिन्न स्थान मिजोराम, असम, दार्जीलिङ, सिलगढी, पञ्जाब, महाराष्ट्र अनि नेपालसम्म पुगेका छन्। नेपाल स्थित पशुपति मन्दिरको तैलचित्र रङ्ग संयोजनको दृष्टिमा उत्कृष्ट तथा प्रशंसनीय रहेको बताइन्छ। उनका ती सम्पूर्ण चित्रहरूको संरक्षण एवं मूल्याङ्कन हुन बाँकी नै रहेको छ। यस दिशामा उनका एक शुभचिन्तक असमका एक जना लेखक विशाल के.सी.ले आफ्नो पुस्तक ‘विक्रमवीर थापा मेरा आँखी झ्यालबाट’ मा उनका 36 वटा चित्रहरू सङ्कलन गरी एकै ठाउँमा प्रकाशित गरेर एउटा सराहनीय कार्य गरेका छन्।
तीन वटा उपन्यास र एउटा कथा सङ्ग्रह प्रकाशित गरेर उनी एक अब्बल दर्जाका आख्यानकारका रुपमा परिचित भइसकेका छन्। उनको उपन्यास लेखनको प्रवृतिबारे ‘विक्रमवीर थापाको औपन्यासिक प्रवृत’ शीर्षक समीक्षात्मक लेखमा लीला लुइँटेल लेख्छिन्- ‘थापा स्वच्छन्दतावादी उपन्यासकार हुन्। यिनका उपन्यासमा भावुकता, आवेग, कारुणिकता, संवेदनशीलता, प्रकृति चित्रणमा विशिष्टता, प्रकृति र मानवको तादात्म्य, कला एवं भाषासाहित्यप्रति अगाध आस्था, राष्ट्र, परम्परा एवं जातीयताप्रति गौरवबोध, आफ्ना गौरवमय परम्पराको महत्ता आदिको चित्रण विशिष्ट ढङ्गले गरिएको छ। स्वच्छन्दतावादका निकट रहेका यस्ता प्रवृत्ति यिनका उपन्यासमा पाइनुले यिनलाई स्वच्छन्दतावादी उपन्यासकार मान्न सकिन्छ। उनी अझै लेख्छिन् - ‘थापा सामाजिक यथार्थवादी उपन्यासकार हुन् । यिनका सबै उपन्यासका विषयवस्तु र पात्रहरू भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समाजसँग सम्बद्ध छन् । विभिन्न सामाजिक यथार्थलाई खोजीखोजी प्रस्तुत गर्न रुचाउने थापाका उपन्यासमा यथार्थलाई प्रामाणिकता दिने प्रयत्नस्वरूप पत्रिकाका सन्दर्भ, ऐतिहासिक घटना, साहित्यिक व्यक्तित्वको परिचयजस्ता विभिन्न सन्दर्भलाई प्रस्तुत गरेको पाइए पनि सामाजिक यथार्थमा स्वच्छन्दतावादको सम्मिश्रणसमेत गरिएको छ।‘
वर्तमान यिनी गोर्खा एक्स सर्भिसमेन युनियन, शिलाङका सदस्य, नेपाली साहित्य प्रकाशन समिति शिलाङको कार्यकारी सदस्य, सप्तऋषि सांस्कृतिक सङ्घ, तिनसुकियाका सल्लाहकार र देउराली सांस्कृतिक सङ्घ बालिजान, शोणितपुरका सल्लाहकार रहेर सामाजिक र साहित्यिक कार्यहरूमा सम्बद्ध रहँदै आएका छन्। सन् 1989 मा उनले शिलाङबाट आफ्नै सम्पादनमा ‘युग दृष्टि’ पत्रिका प्रकाशित गरेका थिए जो पहिलो अङ्कपछि अर्को निस्कन सकेन। त्यसपछि सन् 1994मा उनले आफ्नो सम्पादनमा ‘युगान्तर’ पत्रिका प्रकाशित गरे जो अहिले सम्म सामयिक रुपमा 10 अङ्कसम्म प्रकाशित भइसकेको छ।
उनले सन् 1985 मा कथा ‘दिशान्तर’-का निम्ति नेपालबाट रत्नश्री सुवर्ण पदक प्राप्त गरेका थिए। यसरी नै सन् 1992 मा सिक्किमबाट स्रष्टा पत्रिकामा प्रकाशित ‘के जुनकिरीलाई तारा हो भन्दै छुनु?’ शीर्षक कविताको निम्ति स्रष्टा पुरस्कारले सम्मानित भए। उनले सन् 1992 मै साहित्य अकादेमी, नयाँ दिल्लीको भ्रमण अनुदानमा महाराष्ट्रको भ्रमण गर्ने अवसर पनि पाएका थिए। सन् 1995 मा गुवाहाटी, असमबाट उनको अनुसन्धनात्मक संस्मरण ‘ हत्या : रातो डायरीको’ को निम्ति हरिभक्त कटुवाल स्मृति पुरस्कारद्वारा सम्मानित भए। सन् 1999 मा साहित्य अकादेमी, नयाँ दिल्लीबाट ‘बीसौं शताब्दीकी मोनालिसा’ (कथा सङ्ग्रह)-को निम्ति साहित्य अकादेमी पुरस्कारले सम्मानित भए। यसका अतिरिक्त सिक्किम सरकारबाट सन् 2004 देखि मासिक रूपमा साहित्यिक योगदानका निम्ति भत्ता पनि प्राप्त गरिरहेका छन्। यसरी नै उनलाई सन् 2007 मा नयाँ दिल्लीबाट ‘डा. अम्बेडकर फेलोशिप सम्मान’, सन् 2013 मा कुवैतबाट स्पन्दन कविता पुरस्कारका लागि ‘अभि जमान स्मृति ट्रस्ट पुरस्कार र सन् 2014 मा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिद्वारा ‘नेपाली साहित्य दूत (धौलागिरि) सम्मान’ प्रदान गरेर उनको यथोचित कदर पनि गरिएको छ। हामी उनको स्वस्थ एवं दिर्घायु जीवनको कामना गर्दछौं।
सन्दर्भ :-
1. विक्रमवीर थापा मेरा आँखी झ्यालबाट – विशाल के.सी.
2. कारगिल युद्ध – 1999 – विक्रमवीर थापा
3. हत्या : रातो डायरीको – विक्रमवीर थापा
4. टिस्टादेखि सतलजसम्म (उपन्यास) – विक्रमवीर थापा
5. बीसौं शताब्दीकी मोनालिसा (कथा सङ्ग्रह) – विक्रमवीर थापा


बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।