15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उनै हुन् मेरा गुरु

कविता विमल लामिछाने April 5, 2022, 4:39 am
विमल लामिछाने
विमल लामिछाने

कालो बोर्डमा सेतो खरीले भरेको कखरा लौराले घोच्दै
घोकाउदा –घोकाउँदा जसको घोक्रो सुकेको छ
तालु तातेर परसम्मको कपाल झरेको छ
र गुरुजस्तै भएर खुल्ला पहिचान बनाएको छ, उनै हुन मेरा गुरु ।।
००
चिलाउनेका दानाको गुच्छा खेल्दा उचेरा गएका मेरा औंला
र होक्सेको फुटबल खेल्दा पक्लक्कै उप्किएका खुट्टाका नङ
सुम्सुम्याउँदै नुनपानीले धुन, तीतेपाती माँड्न, ठाडे उन्यूले लेप्न
र पटुका काटेर बाँध्न जसले सिकायो, उनै हुन् मेरा गुरु ।।
००
गुरुका आँखा छल्दै बेन्चमुनी हात लुकाएर खैनी माड्दा
‘अई..’ भनेर जसले खवरदारी गर्यो र जुरुक्क उठायो,
दुई दुईको जोडफल चार भएझै, एङ्गल र ट्रयाङ्गलका हिसाब नमिल्दा
पिसाब चुहिने गरी तिघ्रामा फिट भाँचेर भएपनि जसले साध्य घोकायो
परिधीको सूत्र रटायो, टेन्स र टोनका ट्रायल मिलाईदियो
जसले त्रिकोण बुझ्न त्रिनेत्र खुलाइदियो, उनै हुन् मेरा गुरु ।।
००
बाले शुल्क तिर्न नसकेका बेला, अध्यायन विदाको अघिल्लो दिन
म अफिसको झ्यालमा हरियो ओठ बनाएर पिलपिल गर्दा
‘मेरो विद्यार्थी’ भनेर जसले धाप मार्न सक्यो
र जमानी बसेर परीक्षाको प्रवेशपत्र दिलायो, उनै हुन् मेरा गुरु ।।
००

म उत्ताउलिएर उफ्रिँदा र बाटो विराउँदा
क्यारामबोडमा बरालिँदा, भद्राक्षे, काफल र चुथ्रोमा भुलिँदा
र गोजीभरी पाङ्ग्रा र रिट्ठा भेटिँदा घुँडा टेकाएर भएपनि
जसले सतमार्गमा हिड्न सिकायो, उनै हुन मेरा गुरु ।।
००
गुरुकुलमा नसिकेको विज्ञान र मदर टोनमा नभएको अंग्रेजी
फररर पढ्न नसक्दा शिक्षा नियमावली पल्टाएर
शिक्षण विधीको उच्च कला प्रयोग गर्दै कलिला हातमा
मालुबाँसे भाटाले सुम्ला उठ्ने गरी हानेर प्रत्येक दिन
मलाई बालशिक्षा जसले रटायो, उनै हुन् मेरा गुरु ।।
००
ह्रस्व र दीर्घको सीमा कोरेर स्वास्थ्यको वीमा गर्न
सत्संगीसँग प्रिति गाँस्न र वर्गीय चेत भर्न
भूगोलको रेखांमा उत्तर र दक्षिणमा जंगे पिलर गाड्न
अनि, छात्ती चौडा बनाएर माटोमा देशभक्ति लेख्न र देख्न
निर्धक्कसँग जसले मलाई सिकायो, उनै हुन् मेरा गुरु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।