15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाटो

कविता सतीश छेत्री April 15, 2022, 3:24 am
सतीश छेत्री
सतीश छेत्री

बाटैबाटो हिँडछ गोरू
चाबूकमा - चोटमा

बाटो छोडेर हिँडेपछि मात्र
बनिन्छ तर अर्को बाटो

आमाले आफूलाई च्यातेर
दिन्छिन् - पृथ्वीको बाटो
बाबुले आकांक्षाको

आँखामा पट्टी बाँधेर
नाकको कम्पासमा डोरिएर
गइरहेपछि त
जीवन सिद्धिएर जान्छ त्यसरी नै
जसरी जान्छ चरामुसाहरूको

मान्छेलाई चुनौती छ चेतनाको
चेतना उकास्नुको
लालटेनको सलेदोलाई झैँ छेकेर
पारदर्शिताले
बढाउनु पर्ने आयातन उज्यालोको

हिजो जन्मिएको
भोलि मर्नुपर्ने
आज विवाहमा नाच्नुलाई
अन्तिम सामाजिकता भन्छौ तिमी !

दुईवटा कालो पट्टीमा
आँखाले त्यति मात्र देख्छ
जति टेक्नुपर्छ
दुईवटा पाइलाले
त्यसदेखि उता देख्दैन
चार पाइला अघिको
गोलो खाल्डो

जब कि त्यही खाल्डोमा
उम्रन्छ
पुस्तादर पुस्तालाई पुग्ने
अचेतनता
विहोशीपन
मादकता
जडता

बाटो त हिजो थियो
आज छ
भोलि पनि रहनेछ
बाटो कसैको हुँदैन
बाटोले कहीँ पुरयाउँदैन पनि
हिँडछ मान्छे आफैं
पुग्छ मान्छे आफैं
बाटोलाई प्रेम गरे पनि
बाटोलाई घृणा गरे पनि
बाटो मुक्त हो
बाटोले तिमीलाई प्रेम गर्दैन
बाटोले तिमीलाई घृणा पनि गर्दैन

बाटोको लक्ष्य हुँदैन
लक्ष्य यात्राको हुनसक्छ
यात्रा मान्छेको हुनसक्छ
बाटो पाएर संसारमा आएपछि
एउटा बाटो रेखिनु हो जीवन
हिँड्नेहरू पुग्नेछन्
त्यो प....र माथि
घाम तरल भएर
रङ्गरङ्गित् हुने
क्षितिजमा
उनीहरू घामका स्वरूप हुन्
उक्लिनेछन् डाँडामा।

यसरी बन्नेछ
एउटा जातीय जीत
सिद्ध हुनेछ -
मान्छे नामको सही अर्थ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।