15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्रूर कालको कालो कारागारभित्र

कविता राजु “हिमांशु” April 15, 2022, 3:29 am
राजु “हिमांशु”
राजु “हिमांशु”

एकातिर
राजनीतिक छेकथुनको आवाजले दङ्गा पाकिसक्यो ।
अर्कोतिर
आफन्तहीन लासहरूको बगाइले गङ्गा थाकिसक्यो।
एकातिर
बगिरहे मुर्दा शरीर भएर
रोगहरू भक्कु पालेका निर्धाहरू ।
अर्कोतिर
लोभको माउसुली मनभरि उफ्रिएर
अदेख कालोबजारीको चङ्गा उडिरह्यो ।
गाँस,कपास र बासको त कुरै छैन,
स्वच्छ हावासम्म दिन नसक्ने समय छ ।
स्वाधीन ठाउँमा स्वाधीन हावा नपाएर
निस्सासिने निर्दयी समय छ ।
आफन्तलाई न्यानो अँगालोमा बाँधेर रुन पनि नपाउने
प्रतिबन्धित समय छ ।
प्रेमिल स्पर्शबिना सन्चोले बस्नै नसक्ने मायालुलाई
मायाले अन्तिमचोटि अँगाल्न पनि नपाउने कस्तो विधान बनियो?
एकअर्काको साथबिना एकछिन पनि अलग्ग बस्नै नसक्ने
साथीलाई टाढाबाट मात्र हेर्न पाउने कस्तो व्यवधान बनियो ?
जलिरहेका ती निष्प्राण शरीरहरू मुर्दामात्रै त होइनन् नि !
कसैका निम्ति आन्तरिक सुख र सुरक्षा दिने काखहरू हुन् ती।
तनाउ र समस्याले दुखाएका बेला-कुबेला
ढ़ुक्कले रुनलाई शिर राखेर अडिसिने काँधहरू हुन् ती।
त्यतिको सुरक्षित ठाउँ नै कहाँ पाइन्छ र अब ?

क्रूर कालको कालो कारागारभित्र निस्सासिएर
फेरि फेरि नउठ्ने गरी
चुपचाप निदाएका ती आत्मीय शरीरहरूलाई
दागबत्ती दिनसम्म
मसानघाटमा पालो पर्खेर बसेका
आफन्तका मनभित्र पनि
कति दन्किरह्यो होला दन्दनी
अथाह विषादको भयावह अग्निकुण्ड ?

अकालमा मुर्दा भएर जलिरहेको
चिताको आगोले
एक्लै परेकी प्रेयसीको मनलाई
कति पोल्दो हो?
कति रुवाउँदो हो विधुर-विधवाका आँखाहरूलाई ?
कति पिल्साउँदो हो प्रियजनका मनका पाखाहरूलाई ?

अति नजिक भएर पनि नजिकमा बस्न नपाउने
मायाको अन्तिम म्वाइँधरि खानु नपाउने
असमयमा पहेँलिएको निधारमाथि
माया र श्रद्धाका दुई थोपा आँसुधरि
तप्प चुहाउनु नपाउने
कस्तो सङ्कटकारी समय हो ?

स्वाधीन भएर पनि उन्मुक्त सास फेर्नु नदिने
कपटी कालमा
अस्थायी जीवनको कुनै वारन्टी छैन
स्वच्छ सास फेर्न पाइरहने ग्यारन्टी छैन
केवल
मृत्यु-धुनहरूले कान खाइरहेछन्
बेस्सरी अचेल ।

डाउहिल, खरसाङ(भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।