15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्यारा युवक - १०

कविता काशीनाथ मिश्रित April 15, 2022, 3:32 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

यै माटोमा रगत पसिना पोखिनूपर्छ तिम्रो ।
यात्रा गर्छौ अविरल उतै रोकिनूपर्छ तिम्रो !
आमालाई सकस अति भो फर्क ज्युँदै नमार !
मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

वर्षौँदेखिन् नयन रसिला भैरहेछन् जनाका ।
गाउँगाउँ डुल बुझ कथा व्याप्त छन् वेदनाका ।
हेर्ने कल्ले मलिन तिनको टीठलाग्दो मुहार ?
मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

हाम्रो आफ्नोपन सब गयो खोक्रिँदो सभ्यता छ ।
माटो यै हो बिउ अरु भए उम्रिनु त्यो कता छ?
छोडी हाईब्रिड गहुँ,मकै, धान आफ्नै उमार !
मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

गुम्दा आफ्नोपन सब भए चीज हाम्रा ठिमाहा
मेट्ने यस्तो पन किन अहो ! पाउनूपर्छ थाहा !!
चाँडै यस्को महसुस गरी तोडनु पर्छ क्यार !
मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

टोपी हो वा पहिरन गला बाँधिने टाइ हाम्रो?
मम्मी बोल्छौँ सहज किन खै लाग्छ आमा नराम्रो??
आफ्नो अर्को उचित कुन हो? हैन बेग्ल्याउने र?
मेरा प्यारा युवक बलिया देशका कर्णधार !!॥

हाम्रो भाषा छ र विरसिलो? मान्दछौ बोल्न लाज !
आस्था राख्छौ परतिर सधै बन्छ कस्तो समाज !
सोच्ने आफ्नो मगज दरिलो चेतनाले तिखार !
मेरा प्यारा युवक बलिया देशका कर्णधार ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।