15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ वर्ष

कविता प्रा.जगत उपाध्याय 'प्रेक्षित' April 15, 2022, 3:43 am
प्रा.जगत उपाध्याय 'प्रेक्षित'
प्रा.जगत उपाध्याय 'प्रेक्षित'

नयाँ वर्ष आयो, नयाँ हर्ष छायो
नयाँ जिन्दगीको बिहानी उदायो ।
छ आकाश खुल्ला छ यो चित्त चङ्गा
बगोस् जिन्दगीमा सधैँ ज्ञानगङ्गा ।।
(१)
हिमाली छ लाली, छ दङ्गै चमेली
वसन्ती हवामा सुगन्धी छ बेली ।
छ मुस्कान नौलो नयाँ बालिकामा
युवा मुस्कुरायो यही मृत्तिकामा ।।
(२)
छ जोड्नै टुटेका यहाँ भग्न चित्त
छ सामर्थ्य भर्नै यहाँ पित्तभित्र ।
छुटेका सवारी चलाई अगाडि
छ बढ्नै अझै लाख फाँडेर झाडी ।।
(३)
गरी वक्ष चौडा भुली वैरभाव
हटाएर सारा यहाँ विघ्न, ताप ।
जलाऔँ दियो आसको फेरि आज
भगाई निराशा जगाऔँ समाज ।।
(४)
निरोगी धरा यो सदा देख्न पाऔँ
सयौँ वर्ष हाँसी-खुसी रम्न पाऔँ ।
नयाँ दृष्टि बोकी रचौँ राष्ट्रगाथा
नयाँ मार्ग खन्दै चुमौँ विश्वमाथा ।।
(५)

बुढानीलकण्ठ-१२, आदर्श नगर, कपन, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।