16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भावुकता र मार्मिकताको अद्भुत सङ्गम: ‘विगत र बाडुली’

कृति/समीक्षा प्रा.कपिल अज्ञात April 20, 2022, 4:03 am
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

संस्कृतको तत्सम शब्द हो – विगत र अर्को झर्रो नेपाली शब्द हो – बाडुली । विगतले बितेको कुरालाई जनाउँछ भने बाडुलीले कुनै कष्ट वा पीडा सम्झेर हुने शारीरिक हिक्क–हिक्कको अवस्थालाई बुझाउँछ । विशेषण र नामका यी दुबै शब्दलाई अव्ययबोधी ‘र’ संयोजकले जोडेको देखिन्छ । दुबै शब्दबाट यो संस्मरणात्मक कृति हो भन्ने बुझिन्छ नै साथै कुनै दारुण वा कारुणिक घटना सम्झेर लेखिएको कृति हो भन्ने पनि सङ्केत मिल्दछ । संस्मरणात्मक कृतिमा रहेको यो शीर्षक अत्यन्त सार्थक र सटीक लाग्दछ ।
लेखिका भारती गौतमको विगत र बाडुली (२०७७ साल, सन् २०२०) नामक कृति आकारमा स्थूल मात्र नभई स्वरूपमा आकर्षक रूपले सज्जित पनि छ । कागजको गुणस्तर र अक्षरहरूको व्यवस्थापन आदिले कृति निकै मनोरम बनेको छ नवदुलहीझैँ । विषयप्रस्तुतिका दृष्टिले संस्मरणको उच्च नमुनाको रूपमा यो रत्नझैँ महनीय, पठनीय र सङ्ग्रहणीय बनेको देखिन्छ । यसमा प्रगाढ भावात्मक अभिव्यक्ति छताछुल्ल रूपमा विस्तारित भएको पाइन्छ । सूक्ष्मातिसूक्ष्म घटनाको उत्खनन एवम् प्रस्तुति पनि मिहिन तरिकाले गरिएको पाइन्छ । सिर्जन प्रक्रियामा कति संयम, धैर्य र गाम्भीर्यको उपयोग हो भन्ने तथ्यले लेखकप्रति सहानुभूति र श्रद्धाको भाव पनि उठ्दै जान्छ । शीर्षस्थ रूपमा रहेको ‘बा मेरो सर्वस्व’ आयतनका दृष्टिले छयालिस पृष्ठमा फैलिएको बृहद् आकारको आलेख भए पनि एकल रूपमा प्रस्तुत गर्दा कृतिकै रूप लिन सक्दछ । यस एकै लेखले पनि लेखकमा निहित सिर्जनात्मक वैशिष्ट्यको प्रतिनिधित्व गर्दछ ।
विगतका घटित स्मरणलाई अनुभूतिमय सिर्जनात्मक अभिव्यक्तिका प्रवाहपुञ्जले संस्मरणलाई मार्मिक तुल्याएका छन् । कथनमा पनि काव्यात्मकता र मनोहारिता छ । छोटा–छोटा छरिता वाक्यहरूमा कथ्यशृङ्खला प्रस्तुत छन् । शैली उत्कृष्ट बनिसकेको र स्वर पनि स्पष्ट रूपले खुलिसकेर आफ्नो मौलिकता दर्शाएको देखिन्छ । प्रतीक र बिम्बहरू पनि यथोचित रूपले उनिएका छन् । अनुभवहरू सर्वसाधारणले व्यावहारिक जीवनमा बेहोरेकै तथ्य हुन् तर ती कलात्मक रङ्गले विशिष्ट बन्न पुगेका छन् । अनुभवहरू सुन्दर अनुभूतिमा ढालेर पङ्क्ति–पङ्क्तिमा सरसता उत्पन्न हुने गरी सिर्जना गर्न सक्नु नै संस्मरण कलाको विशेषता हो भने त्यस्ता अनेकन विशेषता भारतीका संस्मरणमा प्रचुर रूपमा पाउन सकिन्छ । लेखिकाले स्नेहपूर्वक हस्तान्तरण गरेको यो कृति रुचिपूर्वक पढेर आस्वादन मात्र होइन प्रतिक्रिया समेत जनाएर मूल्य चुकाउने क्रममा सरिक हुन थालिएको छ ।
संस्मरणमा स्मृतमयताकै आधिक्य रहन्छ । भारतीमा घरायसी चलनचल्तीका वस्तुहरूको विवरणलाई पनि अनुभूतिमय तुल्याएर चित्रण गर्ने कौशल भेटिन्छ । जुन विषयको उठान छ त्यसैलाई फुकाउन र फैलाउन पनि तीक्ष्ण बुद्धि, प्रखर सीप र सघन संवेदनाको आवश्यकता पर्छ ती सबै भावुक विषयलाई गद्यात्मक लयमा उनेर परिपाकमय स्थितिमा पु¥याउनु उत्कृष्ट साधना हो । शैल्पिक दृष्टिले भारतीमा कथन भङ्गिमाको विशिष्ट क्षमता पनि सन्निहित रहेको पाउन सकिन्छ । सबै संस्मरण लेख उत्कृष्ट छन् तिनमा पनि ‘बा नै मेरो सर्वस्व’ सर्वोत्कृष्ट देखिन्छ किनभने यसमा मार्मिकता, काव्यात्मकता, विश्लेषणात्मकता, सूक्ष्मता एवम् व्यक्तित्वका उच्चताको स्पष्ट स्वरूप छ । ‘दो टिकट चाहिए’ जस्ता संस्मरणमा पनि यात्राकै विवरणभन्दा संस्मरणकै मनोगतभाव प्रस्तुत छ । यथार्थ घटनालाई सहजै विस्तार र विश्लेषण गरी कारुणिकताको मूल फुटाउने सामथ्र्य शक्तिशाली लेखनीबिना सम्भव देखिन्न । आगोको अतिशय चापले फलाम त पग्लिन्छ नै भारतीका लेखनीबाट ढुङ्गो पनि पग्लिन्छ कि भन्ने लाग्दछ ।
सामान्य भेटघाटका व्यावहारिक विषयलाई पनि चित्रणकला, कथनभङ्गिमा एवम् मार्मिक अनुभूतिले सिँगारेपछि कति मिठो र उत्कृष्ट साहित्य बन्दोरहेछ भन्ने नमुनाका निम्ति भारतीका संस्मरण पढेपछि पुग्ने रहेछ । कथ्य विश्लेषणका क्रममा पारिवेशिक चित्रणले पनि महŒव राख्दछ, हुन त यो औपन्यासिक शैलीको एक अङ्ग हो । संस्मरण लेखनमा पनि यसको प्रयोगले कथ्यलाई आकर्षक विस्तार दिने गर्छ । आत्मकथा होस् कि संस्मरण गद्यधाराअन्तर्गतको जटिल लेखन हो, औपन्यासिक लेखनजस्तै । बुद्धि र अनुभवको यथेष्ट विस्तार नभइकन र ज्ञानको क्षितिज फराकिलो नतुल्याइकन संस्मरण लेखन सम्भव देखिन्न । एक त संस्मरणमा स्मृतिचेतको तीव्रता आवश्यक पर्छ नै त्यसमाथि अनुभूतिको तरलता र सूक्ष्मताका साथै समीक्षाचेत एवम् भावुकता र संवेदनाको व्यवस्थापनका निम्ति वर्णन कलाको पनि आवश्यकता पर्छ । भारतीमा यी सबैको सीप–सामथ्र्य उत्कृष्ट रूपमा सन्निहित रहेको पाइन्छ । संस्मरण लेखनमा समीक्षाचेतले संस्मरणलाई अझ प्रभावोत्पादक तुल्याउँछ । भारतीमा समीक्षाचेतको तीव्रता कति छ भन्ने तथ्य ‘संभावना बाहिरको संयोग’ मा पाउन सकिन्छ । आत्मसंवाद र आत्मन्थनले संस्मरणलाई सघन तुल्याउँछ । विविध सन्दर्भमा भारतीमा प्रचुर रूपमा यी तŒव यथोचित रूपले संयोजित हुँदै गएको देख्न सकिन्छ ।
संस्मरणका क्रममा ‘बेरीतले दुःखेको रीत’ मा लेखिकाले पुरुषप्रधान प्रवृत्तिको यस समाजमा लैङ्गिक विभेदको कुरा पनि उठाएकी छन् । सन्तान भैसकेपछि भेद नहुनु पर्ने तर भेद हुनुको कारण पनि नाजायज लाग्दैन किनभने छोरीले विवाह विधिद्वारा गोत्र परिवर्तन गरिसकेकी हुन्छिन् र श्राद्धविधि पूरा गर्ने दायित्व छोरामा मात्र निहित हुन्छ । यो हिन्दू संस्कारको एक रिवाज हो तथापि लेखिकाको अुनभूतिमय चिन्तन अनुपयुक्त लाग्दैन । वस्तुगत दृष्टिले पनि समीक्षा गर्नुपर्दा यसमा कैयौँ पक्षहरू प्रकट हुन्छन् । कुन शीर्षकमा के–कस्तो विषयको चित्रण छ त्यसको फेहरिस्त खुलाउन थाले पनि लेखकले निकै लामो आकार लिने हुँदा यहाँ कृतिको परिचयात्मक प्रस्तुतिलाई प्राथमिकता दिने उद्देश्य रहेको छ ।
यो विशेषतः परिवारजन र आत्मीयजनमा आधारित कृति हो । यसमा श्रद्धा र स्नेहको प्रगाढ भावना पाठकमा गहिरोसँग प्रभाव पार्ने गरी प्रकट गरिएको छ । पारिवारिक सम्बन्धलाई मायाको सूत्रले नै डो¥याएको र बाँधेको हुन्छ । त्यसरी नै बाँध्न र बाँधिनु पर्छ भन्ने सन्देश यस कृतिले दिएको छ । प्रायः मानिसहरू पश्चिमी हावा लागेर स्वार्थी स्वभाव र प्रवृत्तिका व्यक्तिनिष्ठ बन्छन् । आत्मीयजनप्रति त्यति कोमल हुँदैनन् तर भारतीमा पूर्वीय आर्यसंस्कृतिको त्यस्तो शिष्ट र मर्यादित संस्कार छ, जुन यस कृतिमा स्पष्टसँग मुखरित भएको छ । अनेपाली पश्चिमासँग सम्बन्ध गाँसेर पनि पारिवारिक सद्भाव र स्नेहले आह्लादित तुल्याएको छ ।
संस्मरण–लेखनका सिर्जनात्मक वैशिष्ट्यले यो संस्मरणकै मानक कृतिमध्ये एक उत्कृट कृति देखिन्छ । यसमा शारदा अधिकारी, झमक घिमिरे, मोहन कोइराला र डायमन समशेरजस्ता साहित्यिक व्यक्तित्वसँग सम्बद्ध संस्मरण छन् भने अधिकांश पारिवारिक संस्मरणमा आधारित छन् । केही यात्रासँग पनि सम्बन्धित छन् । सबै संस्मरणमा भारतीको स्मृतिचेत, विश्लेषण सामथ्र्य एवम् वाक्य विन्यास विशिष्ट देखिन्छ । भिन्न–भिन्न समय र सन्दर्भमा रचिएका भए पनि स्वरशैलीमा एकरूपता पाइन्छ । संस्मरण लेखनका निम्ति यो एक आदर्श कृति हो भन्नेमा सङ्कोच मान्नुपर्ने देखिन्न ।
सारमा भारतीलाई मार्मिक अभिव्यक्तिकी धनी व्यक्तित्व भन्न सकिन्छ तर जिज्ञासा उठ्छ कस्तो मार्मिक अभिव्यक्ति ? दारुण घटनाबाट निसृत करुणा त छँदैछ भावात्मकतालाई बडा धैर्य र संयमले फुकाउँदै, तन्काउँदै र फैलाउँदै वर्णनको मनोहारिताले पाठकलाई तानिरहने जुन विशिष्टपन छ त्यो अद्भुत र मौलिक छ । यिनै संस्मरणले पाठकलाई आह्लादित तुल्याउने मात्र होइन, शक्तिशाली संस्मरण लेखिका हुनुको समेत परिचय दिन्छन् ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।