15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्थान

कविता राजु “हिमांशु” April 24, 2022, 5:03 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

ऊजस्तै
म पनि
प्रजातान्त्रिक ठाउँमा नै छु
तर मैले पूजा गरेको कसैले थाहा पाउँदैन
मेरो घाउको त झन के कुरा गर्नु !
त्यो घाउ दुखेको कसैलाई पत्तो हुँदैन ।

मजस्तै
ऊ पनि
त्यहीँ ठाउँमा छ
तर उसले पूजा गरेको सबैले थाहा पाउँछ
उसको ठेसको त झन के कुरा गर्नु !
उसको त्यो ठेसले सबैलाई दुखाउँछ ।

म र ऊमा
थाहा पाउनु र नपाउनुको
एक्लो र बाक्लो हुनुको
असुरक्षित र सुरक्षित हुनुको
ठूलो अन्तर रहेछ
ठूलो तलमाथि रहेछ
किनकि
म निर्धो प्रजा हुँ
ऊ भने
मैले नै चुनेको नेता हो ।

हुनु त म
ऊ भएकै गाउँमा हुन्छु
तर म बोलेको गाउँले सुन्दैन
म हिँडेको त खै के कुरा गर्नु !
त्यो हिँडाइको उद्देश्य गाउँले बुझ्दैन
फिका चियामा भिजाएको निस्तो भातले
म अघाएको कसैले थाहा पाउँदैन
बेरोजगार भएर घरभित्रै
म भोकै बसेको कसैले थाहा पाउँदैन
तर उसले डाकेको सभाहरूमा
मैदानभरि अन्नहरू छरिन्छन् यत्रतत्र
घरबाट आउन र फेरि घर पुग्नलाई
गाड़ी भाड़ाहरू बाँडिन्छन् यत्रतत्र
किनकि
ऊ हो नेता
म हुँ निर्धो प्रजा ।

हुन त
हामी दुवैजना प्रजातान्त्रिक ठाउँमा नै छौँ ।
अन्तर भने बेस्मारी छ हामीमाझ
उसलाई क्यामराको बथानले
खोजिबस्छ
पर्खिबस्छ
मलाई भने
मेरो निर्धोपनले गिज्याइबस्छ
मेरो सोझोपनले भिजाइबस्छ ।
उसलाई
खर्चिलो समारोहले ढोगिबस्छ
भव्य स्वागतले अँगालिबस्छ
मलाई भने
उसको बडीगार्डले छेकिबस्छ
मेरै कमजोरीले हेपिबस्छ

हुन त
हामी दुवैजना प्रजातान्त्रिक ठाउँमा नै छौँ ।
उसले रुपियाँ बाँडेको बेला
मैले नपाउनुमा
उसलाई न दु:ख हुन्छ न खुसी
किनकि
उसले मलाई चिन्दैन
तर म उसलाई चिन्छु
ऊ सत्तामा छ
म गत्तामा छु
उसको जुँगा मठाराइमा
महँगो भाउहरू खस्छन् फुरुरुरु
मेरा सपनाहरू भने
सपनामा नै जल्छन् हुरूरूरु
फरक त बेस्मारी छ
ऊ र ममा ।

हुन त
हामी दुवैजना प्रजातान्त्रिक ठाउँमा नै छौँ ।

खरसाङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।