15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पेम नर्बु शेर्पा 'ज्योति'-कृत 'हाम्रो गन्तव्य र कर्तव्य'-सित हातेमालो

कृति/समीक्षा कृष्ण प्रधान April 24, 2022, 5:05 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

परिचयाङ्कन -
पाठ्यपुस्तक कार्यालयमा कार्यरत रही दिनभरि लखतरान खटेर पनि आफ्नो निखार-पखार जोशले भाषा साहित्यको विकास गर्नमा आफूलाई सोह्रै आना परिश्रम फुर्मास गर्ने सक्रिय, फुर्तिला, आँटिला व्यक्तित्वको नाम हो - पेम नर्बु शेर्पा 'ज्योति' । आफ्नो नाउँको पछिल्तिर 'ज्योति' उपनाम थपी भारतीय नेपाली साहित्य, भारतीय नेपाली साहित्यिक पत्रिका लगायत विभिन्न सङ्घ-संस्थाको विकास, संरक्षण-संवर्द्धन गर्नमा ज्योतिकै रुप धारण गरी उज्यालो ज्योति बाल्न अहर्निश हुटहुटिने पेम नर्बु शेर्पा 'ज्योति'- ले लाखिम-बेन, दक्षिण सिक्किममा पपा स्व. युला छिरिङ अनि आमाला स्व. लादिकी शेर्पाको कोखबाट ५ अगष्ट १९६७ मा जन्मेका पेम नर्बु शेर्पा 'ज्योति'को नाम भारतीय नेपाली साहित्यमा नसुन्ने विरलाकोटि पाइएलान् ।
ठिटौले उमेरदेखि नै साहित्यप्रति चासो राख्ने उद्यमी साहित्यकार पेम नर्बु शेर्पा 'ज्योति'ले हालससम्म तीन-तीनवटा साहित्यिक कृतिहरू साहित्यदेवीको चरणमा साहित्य अर्ध्यस्वरुप चढ़ाइसकेका छन् । ती कृतिहरू हुन् -
१) धरतीको पुकार (कविता सङ्ग्रह - सन् १९९५ )
२) यो मानव यो संसार (कविता सङ्ग्रह - सन् २०१८)
३) यो युगको कहानी (कविता सङ्ग्रह - सन् २०२०) र
४) हाम्रो गनव्य र कर्तव्य (मुक्तक सङ्ग्रह - तपाईको हातमा) ।
साहित्यिक कृति प्रकाशन गर्नाका साथै यिनले निम्नलिखित पत्र-पत्रिकासमेतको सम्पादन गरेको पाइन्छ -
१) इन्द्रकील (साप्ताहिक समाचार पत्र - सन् १९८४ )
२) हाम्री आमा (सन् १९८५ देखि हालसम्म)
३) धर्मचक्र प्रवर्त्तन ( सहयोगी सम्पादक - (सन् २०१६ देखि हालसम्म) ।
कर्मठ, लगनशील पेम नर्बु शेर्पा 'ज्योति' साहित्यकार मात्र नभएर साहित्यिक पत्रकार पनि हुन् भन्ने यिनीद्वारा सम्पादित उपरोक्त पत्र-पत्रिकाले छतछती प्रमाण गर्दछ । यिनी मूलतः सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारी नहुँदा हुन् यिनी पक्कै वरिष्ठ, उदीयमान पत्रकार हुने नै थिए भन्ने मेरो दाबी छ ।
पेम नर्बु शेर्पा 'ज्योति' अति नै व्यस्त समाज संस्कारकका रुपमा जियाला व्यक्तित्वका धनी हुन् । यिनले आफ्नो व्यस्त जिन्दगीलाई बूढ़ो औँली देखाउँदै भए पनि आफ्नो समय उबारेर विभिन्न सङ्घ-संस्थाको उत्थानको निम्ति निम्नलिखित संस्थामा महत्त्वपूर्ण पद सम्हालेर सोह्रै आना बिर्सिनै नसकिने योगदान पुऱ्याएको देखिन्छ । यिनी संलग्न संस्थाहरू हुन् -
१) दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्ची दक्षिण सिक्किम - प्रचार सचिव,
२) नेपाली साहित्य परिषद् गान्तोक, पूर्व सिक्किम - आजीवन सदस्य,
३) दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्ची दक्षिण सिक्किम - आजीवन सदस्य,
४) त्रिफल अन्तरराष्ट्रिय, धुलाबारी - आजीवन सदस्य,
५) अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) -
६) विश्व नेपाली साहित्य महासङ्घ (विनेसास) भारत शाखा ।
नेपाली साहित्य, साहित्यिक पत्रकार तथा समाज-सेवकका रुपमा यिनको भाग्यमा अनगन्ति पुरस्कार, सम्मान तथा अभिनन्दन जुरेको छ । हालसम्म यिनलाई निम्न संस्थाहरूले पुरस्कार, सम्मान तथा अभिनन्दन गरेर एकजना सच्चा, इमान्दार, होनहार व्यक्तित्वको सम्मान गरेर यिनको जोश, उत्साहलाई हरिलो-भरिलो बनाएको देखिन्छ -
१) दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्ची दक्षिण सिक्किम - प्रचार सचिव,
२) मेन्तोक दुम्रा वार्षक पत्रिका परिवार एवम् सरकारी वरिष्ठ माध्यमिक पाठशाला बेनद्वारा अभिनन्दित
३) विभिन्न साहित्यिक गोष्ठी र कार्यक्रमहरूमा अभिनन्दित र स्मृति चिन्हद्वारा सम्मानित ।
पत्नी श्रीमती लादिकी शेर्पाका स्नेहालु पति पेम नर्बु शेर्पा 'ज्योति' चूपो लागि बस्ने स्वाभावका मानिस पटक्कै हुँदै होइनन् । यिनको उन्नति र प्रगतिको काममा श्रीमती लादिकी शेर्पाको सिंहभाग भूमिका देखिन्छ । यिनको सम्पादनमा प्रकाशित हुने 'हाम्री आमा' पत्रिकाको प्रकाशिका भएर श्रीमती लादिकी शेर्पाले उनका पतिलाई मात्रै होइन सिङ्गो नेपाली साहित्य समाजलाई तिर्नै नसकिने ऋृण लाएकी छन् । आचार्य चाणक्यले एक ठाउँ भनेका छन् -"भाग्यमानीले मात्र असल मित्र पाउँछन् ।" पेम नर्बु शेर्पा 'ज्योति' ले साहित्यमा होस्, समाजमा होस् वा साहित्यिक पत्रिका सम्पादनमा होस् चिताउनै नसक्ने उन्नति र प्रगति गरेका देखेर यिनै आचार्य चाणक्यको देखासिकी गर्दै भन्न मन लाग्छ - पेम नर्बु शेर्पा 'ज्योति' साँच्चै भाग्यमानी पति हुन् । श्रीमतीले आफ्नो सात काम छोड़ी श्रीमती लादिकी शेर्पाजस्ता श्रीमतीहरू कम्तिको पनि पाँच जना मात्र श्रीमतीहरू भए हाम्रा साहित्यकारहरूका भाग्यले संसार फाँड़्ने थियो । अबका साहित्यकारहरूलाई हाम्रा पेम नर्बु शेर्पा 'ज्योति'कै जस्ता पतिलाई हर-हमेशा साथ दिन पत्नी जुरोस् भनी तेत्तिसकोटि देवी-देवता समक्ष विन्ति बिसाउँछु । पत्नीको हौसला जोशले जोशिला, जियाला बनेका पेम नर्बु शेर्पा 'ज्योति' निकट भविष्यमा प्रकाशक रही साहित्यकारहरूका कृति प्रकाशित गर्ने विचारमा मग्न छन् । यसबाहेक पनि जीवितकालमै साहित्यकारहरूको जीवनी ग्रन्थ लेखी तिनलाई प्रकाशित गर्ने योजना पनि तल्लीन छन् यिनी ।
महाकवि देवकोटाले भने जस्तो -
"विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उही रम्य आँगन ।।
महाकवि देवकोटाले मनलाई नै विमान मानेर चन्द्र, तारा, पृथिवी घमेर आनन्द उपभोग गरी फेरि आफ्नै झुपड़ीमा आएजस्तो हाम्रा पेम नर्बु शेर्पा 'ज्योति' लेखन र प्रकाशन क्षेत्रमा अघि बढ़्ने इच्छा र सपनामा मग्न छन् । यिनको सपना र इच्छा पूर्ण होओस् भन्ने अग्रिम भक्कुमारी शुभकामना ।
शिक्षक, समाज अभियन्ता, साहित्यकार पेम नर्बु शेर्पा 'ज्योति' एकजना अब्बल गीतकार सँगसगै पोख्त गायक पनि हुन् । यिनको एउटा गीत सङ्ग्रह लगायत गीति एल्बम पनि प्रकाशमा आसकेको छ ।


हाम्रो गन्तव्य र कर्तव्य - विश्लेषण -
पेम नर्बु शेर्पा 'ज्योति' विरचित मुक्तक सङ्ग्रह 'हाम्रो गन्तव्य र कर्तव्य' नाउँको भूमिका लेख्ने जिम्मेवारी मेरो भाग्यमा परेको छ । मलाई सम्झेर यस्तो महत्त्वपूर्ण काम मलाई दिनुभएकोमा म अत्यन्तै हर्षित छु । यसको निम्ति मुक्तककार पेम नर्बु शेर्पा 'ज्योति' कन साधुवाद प्रकट नगरी बस्न सक्तिनँ । यिनको मुक्तक सङ्ग्रबारे केही फ्लाकनु अघि मुक्तकबारे सामान्य चर्चा नगर्नु हो भने यस सङ्ग्रमा समाविष गरिएका मोठ २४० वटा मुक्तकहरूमाथि न्याय नहोला भन्ठानी यस भूमिकाको सिरानमै मुक्तकबारे केही कुरा राख्ने धृष्टता गरेको छु ।
मुक्तक लेख्ने परम्परा हिजोआजको पटक्कै होइन । यो मुक्तक लेखन परम्परा ता वैदिककालदेखि नै बामे सर्दै आएको इतिहास साक्षी छ । साक्षीकै रुपमा कुरा गर्नुपर्दा संसारको सबैभन्दा पुरानो ग्रन्थ 'ऋृग्वेद'-मा त्रिष्टुप छन्दमा कथिएका प्रत्येक मन्त्रलाई एकेकवटा मुक्तक स्वीकारेका छन् विद्नानहरूले । भारतीय नेपाली वाङमयमा मुक्तक लेखिएका मुक्तकहरू मध्ये कालिदासको 'ऋृतुसंहार', 'ऋृङ्गारतिलक' 'पुष्पवाणतिलक' र 'राक्षसकाव्य' आदि संस्कृत काव्यकृतिहरूमा मक्तकको गज्जब गन्ध पाइऩ्छ । यसबाहेक, ईसाको सातौं शताब्दीका प्रख्यात संस्कृत कवि भर्तृहरिलाई संस्कृत मुक्तकाव्य परम्पराका अङ्ग्रिम पङ्क्तिका मुक्तकाकार हुन् । भर्तृहरिद्वारा तीन भाग 'ऋृङ्गार शतक'. 'नीति शतक' र 'वैराग्य शतक'-मा लेखिएको 'त्रय शतक' नाउँको मुक्तक सङ्ग्रहले निकै प्रशंसार र ख्याति प्राप्त गरेको पाइन्छ । नवौं शताब्दीका संस्कृतका महान् कवि अमरुक वा अमरुलाई पनि अब्बल मुक्तकाकार मान्न सकिन्छ । यिनको 'अमरुकशतक' मुक्तक सङ्ग्रहले पनि गज्जब प्रसिद्धि पाएको थियो । मुक्तक लेख्ने संस्कृत कविहरूम्ध्ये विल्हण (चौरपञ्चिका). गोबर्धनाचार्य (आर्यसप्तशती). जयदेव (गीत गोविन्द). हरिशङ्कर र प्रभाकर दुबे (गीतराघव) लाई मुख्य मुक्तकार देखिन्छ । संस्कृतकै देखासिकीमा पाली तथा अपभ्रंश हुँदै विकसित यस क्षेत्रका नेपाली तथा हिन्दी भाषामा मुक्तक लेखनको इतिहास सबैभन्दा पुरानो देखिन्छ । हिन्दी वाङमयका हरिवंश राय बच्चन प्रसिद्ध मुक्तककार हुन् । एघारौं शताब्दीमा जन्मेका पर्सेली कवि उमर खय्याम रुबाई शैलीका ख्यातिप्राप्त मुक्तककार हुन् । यिनका चार पङ्क्तिका रुबाईहरूले संसारभरि नै प्रशिद्धि हत्याएको पाइन्छ । यिनका रुपाईहरूलाई अङ्ग्रेजी भाषाका अब्बल कवि एडवर्ड फिज्जेरालले अङ्ग्रजी भाषामा अनुवाद गरी सिङ्गो संसारमा प्रशिद्ध बनाएका हुन् । एघारौं शताब्दीदेखि नै हाइकु मुक्तक लेखिने परम्परा आरम्भ भएको पाइन्छ ।
नेपाली कविताको प्राथमिककालदेखि माध्यमिककाल हुँदै आधुनिककालमा मुक्तकहरू भटाभट लेखिँदै आएको पाइऩ्छ । प्राथमिककालमा शक्तिवल्लभ अर्याल, गुमानी पन्त, रघुनाथ पोखरेल, भानुभक्त आचार्य, शशिधरदास, धौकलदास, अभयदिल प्रथम, अगम दिलदास, रमानाथ आचार्य आदि कविहरूले मुक्तक कविता कथेका पाइन्छ भने माध्यमिककालमा मोतीराम भट्ट, वैयाकरण नेपाल, शिखरनाथ सुवेदै, लक्ष्मीदत्त पन्त, पद्मविलास पन्त, सिद्धिदास अमात्य, वैजनाथ न्यौपाने, नरदेव पाण्डे, बद्रीनाथ आचार्य, नरदेव पाण्डेय, बद्रीनाथ आचार्य, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँरजस्ता कविहरूले मुक्तक कथेको पाइन्छ । आधुनिककालमा देखा परेका मुक्तकहरू गुणात्मक, सङ्ख्यात्मक र प्रवृत्तिगत दृष्टिले हेर्दा निक्कै बान्किला, मिठाइला, रसिला तथा चिरिच्याँट्टै परेका देखिन थालेको देखिन्छ । यसकालमा देखिएका मुक्तककारहरू हुन् - लेखनाथ पौड्याल. बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, माधव घिमिरे, भीमदर्शन रोका,टेकबहादुर 'नवीन', ईश्वरवल्लभ, वैरागी काइँला, मोहन कोइराला, नीरविक्रम प्यासी, रत्नशमशेर थापा.आदि । यसपछि यस विधामा कलम चलाउनेहरूमा कृष्णप्रसाद पराजुली, भूपि शेरचन, हरिभक्त कटुवाल, मोहनहिमांशु थापा, यादव खरेल, ज्ञाऩ उदास, धीरन्द्र मल्ल, महेश प्रसाई, सरुभक्त, अशेष मल्ल, वासु शशी, ज्ञानुवाकर पौड़ेल मधिकर्मी आदि मुक्तककारको योगदान लरतरो देखिन्न ।
'हाम्रो गन्तव्य रकर्तव्य' मुक्तक सङ्गालोमा मोठ २४० वटा मुक्तकलाई स्थान दिएको पाइन्छ । मुक्तकको आयाममा चार पङ्कितकै हुनुपर्ने भएकोले यस सँगालोका मुक्तकहरू सबै नै चार पङ्क्तिभित्रै सिद्ध्याएका छन् मुक्तककार पेम नर्बुले । समाविष्ट मुक्तकहरूमा वैचारिक चेतनाको आग्रहका साथै समसामयिक विषयहरूमाथि टिपप्णी गर्नु मुक्तककारको खूबी देखिन्छ । मुक्तकहरूमा प्रतीक तथा विम्बको चेतना उजागर गर्दै समसामयिक विषयलाई सजिलो तथा बोधगम्य रुपमा तीव्र अनुभूतिका साथ व्यक्त गर्ने सिप पनि टड़कारो देखिन्छ । मानिस मानिसमाध हुने भेदभावप्रति मुक्तककारको अभिभावकीय मनतव्य पनि स्वागतनीय देखिन्छ -
एउटै हौं हामी मान्छे फेरि किन छुटाउनु जात
एउटै हौं हामी सन्तान फेरि किन छोड़्नु साथ
अस्ताउने यो जीवनमा फेरि किन हुनु शत्रु
एउटै हो दुखाइ सबैको फेरि किन गर्नु घात ।
मुक्तककार पेम्ब नर्बु हामी बसेको समाज स्वस्थ, मिठाइलो, रमाइलो हुनाका साथ आफन्तपनको साइनो गाँसियोस् भन्ने विचारमा अहर्निश हुटहुटिने सभ्य, भव्य मुक्तककार हुन् । उनी 'वसुधैव कुटुम्बक्म्'-को मन्त्र यसरी फ्लाक्न चाहन्छन् -
यो दुइ दिनको जिन्दगीमा हामी यहाँ बाँच्नुनै पर्छ
लोभ, रिस र आरिसलाई मास्दै हामी यहाँ हाँस्नुनै पर्छ
ठूलो-सानो सबैलाई एकै सम्झि अघि बढ़्नुनै पर्छ
यसरी मानिसको चोखो साइनो हामी यहाँ गाँस्नुनै पर्छ ।
चुनावको समयमा नेताहरूको लोलोपोतो, बाह्र बत्तीसका कुरा, चुनाव साङ्गे भएपछि घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो जनताहरू गाँसको अभावमा तड़पिने गरेका अवस्था लगायत देशको व्यवस्थामाथि मुक्तककार पेम नर्बुको टड़कारो कटाक्ष -
चुनावको बेला मञ्चमा हुन्छ मिठो भाषण
छैन केही पनि जनताको घरमा रासन
यसरी चल्छ हाम्रो महान् देशको व्यवस्था
विजय पछि हुन्छ यहाँ तितो शासन ।
देशको अव्यवस्थित लोकतन्त्रमाथि पनि मुक्तककारको असन्तुष्टि देखिन्छ । नेताहरूप्रति उनको व्यङ्ग्य टड़कारो देखिन्छ -
चुनावको बेला यहाँ हुन्छ सुन्दर नारा
चौकीमा पुगेपछि नेता हुन्छ धेरै टाढ़ा
यो कस्तो लोकतन्त्र व्यवस्था हो हाम्रो
जान्दाजान्दै पनि फेरि हुन्छ जनतालाई कारा ।
यस सङ्गालोमा परेका प्रायःजसो मुक्तकहरू नै समकालीन मुक्तकको पछ्यौरा समाएको देखिन्छ । अन्याय, भ्रष्टाचार, अत्याचार, विभेद, नेताहरूका फट्याइँ, अकर्मण्यता आदिका विरुद्ध पनि मुक्तककार पेम नर्बु शेर्पा 'ज्योति'-का मुक्तकहरूले व्यङ्ग्य, विद्रोह, आक्रोशका साथै शिष्टाचार व्यक्ति गरेको पाइन्छ । यिनका मुक्तकहरूमा शिल्पपक्षभन्दा पनि चिन्तनपक्ष, उपदेशपक्ष र आदर्शपक्ष प्रभावकारी देखिन्छ । राष्ट्रियता, मानवता, भाइचारा र निष्ठाका पक्षको वकालती गरी समसामयिक वस्तुस्थिति र अनुभूति पनि मुक्तककमा वाल्छ्याल पाइन्छ ।
वर्तमान समाजको स्थिति कहालिलाग्दो छ । अभिभावकहरू आफ्नो कर्तव्यदेखि टाढ़ा बसेकाले तिनका लालाबालाहरू कुलतमा परेको घटना सबैलाई थाहा भएकै हो । युवा समाज कुलतमा परी समाजलाई बिल्लिबाँठ पारेकोमा मुक्तककार विचलित छन् । आफ्ना लालाबालाको उचित संरक्षण, मार्गदर्शन दिनुपर्ने प्रत्येक अभिभावको परम कर्तव्य हो भन्ने उद्देश्य देखिन्छ ः
जस्तो सङ्गत उस्तै हुन्छ नानी
मार्गदर्शक नगरी कहाँ हुन्छ ज्ञानी
अभिभावकले आफ्नो कर्तव्य यहाँ नबुझे
कुलतले आफ्नै सन्तानको हुन्छ हानि ।
सफल जीवन धान्नु पट्कै सजिलो छैन भन्ने आफ्नो आदर्श भाव व्यक्त गर्दै स्वस्थ, अब्बल, सुखी जीवन धान्नलाई सामर्थ्यको नितान्तै आवशयक्ता हुन्छ भन्ने पनि मुक्तककारको अनुभव यहाँ यसरी प्रष्फुटित हुन्छ -
जन्ममरणको क्रम यहाँ भइरहन्छ
बाँच्नुको लागि श्रम यहाँ भइरहन्छ
सजिलो छैन यहाँ जीवन चलाउनु
सामर्थ्य बिना भ्रम यहाँ भइरहन्छ ।
यो समाजमा तानातानको चलखेल चलिरहन्छ । सबै होहोरीमा लागि एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति देखिन्छ यहाँ । यो भूल हरदर होहोरीमा लाग्नेहरूको भूल हो । यस्ता हूलमा परेका कुरा मुक्तककारको स्वीकारोक्ति देखिनाका साथै आफू भूलमा परेको कुरा उकेलेको पाइन्छ -
कुनै बेला भत्काउनेको हुलमा हुन्छु म
थाहा नभएपछि फेरि भुलमा हुन्छु म
तान्नेको समूहमा पसेपछि कसरी अघि बढ़्ने
यस्तै रोकावट भएपनि भूलमा हुन्छु म ।


मुक्तककार पेम नर्बु शेर्पा 'ज्योति'-का मुक्तक अभिलक्षण -
यिनका मुक्तकहरूको अभिलक्षणलाई बूँदागत रुपमा निम्नप्रकारले देखाउन सकिन्छ -
O छोटो-छरितो, लघुतमा आकारको टड़कारो कवितात्मक अभिव्यक्ति ।
O खिरिलो, चोटिलो, सहजबोध्य र बोधगम्य ।
O प्रभावकारी, मितव्ययी र सारगर्भित ।
O वस्तुस्थितिलाई टपक्कै टिपी सुधारात्मक विचार वा मनतव्य प्रेष्ण ।
O भावप्रधानलाई प्रमुखता ।
O सरल, सहज संरचना ।
O भावको तीव्रता र एकोन्मुखता ।
O कथनको पूर्णता ।
O एउटै लयगत ढाँचामा प्रस्तुत ।
O मनका कुरा भनिसक्ने हुटहुटी ।
O सङ्क्षिप्त आकार ।
O एक श्लोके वा अनुच्छेदीय काव्यात्मक अभिव्यक्ति ।
O स्वयममा पूर्ण ।
O कम समयमा पढ्न सकिने ।
O भावको तीव्रता ।
O सुगठित भाषा ।
O शैलीगत विशेषता ।
O अनुप्रास योजनाले चित्ताकर्षक ।
O मुक्तकको पोष्टमर्ट्म आउँदैछ ।
शीर्षक सार्थकता -
सङ्गालोमा समाविष्ट मुक्तक 'हाम्रो गन्तव्य र कर्तव्य'-मा मुक्तककार गाउँ, समाज, देश, राजनीति, साहित्यको उन्नति र प्रगतिको निम्ति समाजका प्रत्येक मान्छेको सठिक गन्तव्यमा पुगी आ-आफ्नो कर्तव्य पालन गर्नुपर्ने कुरालाई प्रकाश पारिएको हुनाले प्रस्तुत मुक्तकको शीर्षक उचित र सार्थक देखिन्छ ।

पुछारमा, सरल र सरस भाषामा लेखिएका पेम नर्बु शेर्पा 'ज्योति'-को मुक्तक सङ्गालो 'हाम्रो गन्तव्य र कर्तव्य'-मा मुक्तककारको सरल, निष्कपटविहीन, छलकपटविहीन हृद्यबाट वसुधैव कुटुम्बकम-को मन्त्र फ्लाक्न चुकेका छैनन् । यिनका प्रायःजसो मुक्तकहरू शिक्षामूलक, आदर्शमूलक, ज्ञानवर्द्धक देखिन्छन् ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।