15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हरियो स्वेटर

कथा सतीश छेत्री April 24, 2022, 5:10 pm
सतीश छेत्री
सतीश छेत्री

उसको नाम हुन त राजन थियो, तर सबैले जिस्काएर उसलाई ‘ल्वाँगे’ भन्थे । ‘ल्वाँगे’ को अर्थ कसैले खोजेका पनि थिएनन्। तर ‘ल्वाँगे’ शब्दको ध्वनि-उच्चारण रूप सुन्दा कतै न कतै उनीहरूले राजनमाथि राखेको भित्रीभावको प्रकटीकरण हुन्थ्यो सायद त्यस शब्दमा । यसैले ‘ल्वाँगे’ शब्द राजनमाथि यसरी बसेको थियो मानौं कि केकमाथि हो चेरीको टुक्रा । राजनलाई पनि अब गुनासो केही थिएन । घरिघरि सम्झेजस्तो पाराले ऊ राजन हुनुको नकलजस्तो गर्थ्यो ; तर फेरि 'ल्वाँगे' भएर उभारिन्थ्यो ।

त्यस गाउँमा राजनको वरपर भएर उसलाई प्रश्न सोधिरहने एकजना थियो - मानव।

‘आज खाना के खायौ ?’ भन्थ्यो ऊ । वा त ‘तिम्रो गलफेन छ ?’ भन्थ्यो ; तर राजन बोल्दैनथियो । ऊ कसैको प्रश्नमा पनि बोल्दैन थियो। किन बोल्दैन थियो - त्यस कुराको निम्ति गाउँमा सबैले आफ्नो - आफ्नो मिथक कारणहरू बनाएका थिए ।

कसैले भन्थे - ‘राजन पेटमा हुँदा चट्याङ परेको हुनाले केही वर्षहरूसम्म बोलेर ऊ अहिले बन्द भएको हो।’

कसैले भन्थे - ‘उसले आगो खेलाउने गर्थ्याे । एकदिन आगो खेलाउँदै गर्दा दिदीले बोलाइन्, उसले डरले त्यो आगो भएको लट्ठी हत्त न पत्त खल्तीभित्र हालेको थियो, खल्ती चुहुने थियो । त्यही भएर ऊ नबोलेको हो ।’

कसैले भन्थे - ‘ऊ नबोल्नुको कुनै कारणै छैन, यहाँ बोल्नु पर्ने के छ र ऊ बोल्नु पर्छ ?’

यसरी सिरूबारीमा एउटा विषयलाई कृतज्ञताको साथमा, घाम नडुबुञ्जेल थुप्रै कोणहरूबाट हेरिन्थे ।

त यस्तो राजनमाथि मानवले प्रश्नहरू राखिछोड़िदिन्थ्यो । जस्तै कि देउरालीमा फूल ।

**

एकदिन मानवले राजनलाई बाटोमा भेटेर फेरि सोध्यो - ‘तिमीलाई सबले ल्वाँगे किन भनेको ?’

यस्तो सुनेर आँखा विस्फारित पारेर हेरयो उसले, केही भनेन ।
'‘होइन, मेरो भन्नु हो - तिमी यसबाट मुक्ति खोज न’'
फेरि पनि उसले केही भनेन ।
वरपर एकदुईजनाले त्यो घटना सुने/देखे।
भोलिपल्ट केही भनेन ।
पर्सीपल्ट पनि केही भनेन ।

**

मानव त्यस गाउँको अलि छुकछुके केटो थियो। उसको व्यवहार देखेर उसलाई धेरैजनाले भनिसकेका थिए कि -‘तँलाई चूर्ना परेको छ!’
तर मानव आफैँलाई थाह थिएन कि, चूर्ना परेको कस्तो हुन्छ।

वर्जित प्रश्नहरू भने उसित धेरै थिए, जुनचाहिँले गाउँको पारम्परिक खोलामा पानी हल्लन सक्थ्यो।

‘सरस्वती पूजा डानस कम्पिटिसिन’मा को को नाच्ने भनेर मिटिङ चल्दै गर्दा उसले उठेर भन्यो - ‘बजाउने हो भने अनुप जलोटाको क्यासेट मसित छ।’
सबले उसलाई टेँडो आँखाले हेरे ।

मैदानमा खेल चल्दै गर्दा उसले गएर लाइन्समेनलाई भन्यो - ‘त्यो ढुङ्गा फुटाउनू नि ! ग्राउन बड्थ्यो ।’ लाइन्समेनले उसलाई पहेंलो कार्ड देखायो ।

रेफ्रीको अभावमा लाइन्समेनलाई नै पहेँलो र रातो कार्ड सुम्पिइएको थियो आयोजकले। उसले आज उत्साही भएर त्यसको प्रयोग गरिरहेको थियो । पाँडेको गोरू अघि अचानक फुस्किएर मैदानमा पस्दा गोरूलाई उसले रातो कार्ड देखाएको थियो । गोरू आफैँ त खेलको नियम बुझेर बाहिर के जान्थ्यो, एकदुईजनाले लाइन्समेन उर्फ रेफ्रीको इज्जत ढाक्नलाई गोरूलाई लघारिपठाएका थिए ।

त लाइन्समेनले मानवलाई पहेँलो कार्ड देखायो । खेल अहिले हाल्फटाइममा रोकिएको थियो र ऊ खेलमा अँशग्रहणमा पनि थिएन । तर देख्नेहरूले बुझ्नलाई यति पर्याप्त थियो कि फेरि मानवले केही वर्जित प्रश्न गरयो ।

अर्काे घटना -
मानवले एकदिन रूखको बिरूवा रोप्ने ईच्छा गरयो । रोप्यो । पछि थाह पाएर सबले उसलाई आ-आफ्नो तरिकाले सम्झाए कि त्यो जमिन घाट बनाउने भनेर सरकारसमक्ष अर्जी गरिएको छ, यो घाट गाउँको निम्ति पहिलो घाट हुनेछ र सबैले त्यसको निर्माणमा सहयोग र गर्व गर्नुपर्छ। मानवले किन उत्ताउलो हुनु परेको ?

उसका जिउभरि प्रश्नचिन्हका अङ्कुशेहरू झुण्ड्याइएका थिए। राति एघार बजीतिर उसले सबै अङ्कुशेहरू दिमागबाट निकाली सिद्धयायो र निदायो ।

**

मानवको ‘बेउरा’ यति खतम भएको थियो कि त्यसको रिस थाम्न नसकेर मुन्शी बाऊले आफ्नी श्रीमतीलाई राति दुई चटकन लगाए। हुन त सम्बन्धमा मानव, मुन्सी बाऊको केही पनि पर्दैन थियो।

**

यस कथाको अर्काे पात्र हुँ म । म मानवको साथी, एउटै गाउँको वासिन्दा हामी । काभ्राको रूख भएको केही माथि मानवको घर थियो । म मानवको विषयमा भन्नसक्छु किनभने उसलाई मैले नजिकबाट देखेको छु।

मानवसित एकदिन एउटा घटना भयो, एक साँझ।

त्यो विशेष घटना के भयो भने बाध्यतावश प्रिय बनेको मानवको एउटा हरियो स्वेटर थियो..., किनभने ऊसित अरू थिएनन् । जाड़ोमा त त्यो स्वेटर, स्वटेर होइन, उसको छाला नै हुने । त त्यो स्वेटर नलगाएको दिन मानिसहरूले उसलाई सोध्थे - ‘ए धोइस् क्या हो ?’
कि त तारमा सुकाएको त्यो स्वेटर भेटियो भने हेर्थे - कहीं ऊ त्यहाँ स्वेटरभित्र त छैन ?

जुङाको घाँस ओठको गह्रामा उम्रन लागेपछि हामी दुई-चारजनामा चाहिँ लुगा अद्लीबद्ली चल्थ्यो। कि नयाँ लाग्थ्यो हेर्नेलाई पनि। देखेर हेरिबस्नु पर्ने परिस्थितिहरूमा हेर्नेको आँखाको अलिकति भए पनि स्वाद फेरिनसक्छ, भन्ने हामी मान्यता राख्थ्यौं । मानवको त्यस हरियो स्वेटरको अदलाबद्लीलाई लिएर भने भुराहरूमा नयाँ विचारको सूत्रपात हुन लागेको अवस्था पनि थियो यतिबेला। साथीहरूले उसलाई भन्न लागेका थिए - कि ‘तेरो स्वेटरमा तेरो आत्मा बस्दोरहेछ। हामीलाई नयाँ लाग्नु त होइन, सबैले तेरै नामले हामीलाई बोलाउने गर्छन् ।’

यसपछि भने उसको हरियो स्वेटर कसैले मागेनन् । हाम्रो पनि उसले मागेन। बिस्तारै हामी बिच कुलो सिर्जना भएको र समयको अन्तरालसितै त्यसमा पानी बड्दैगएको हामीले समूहमा अनुभवचाहिँ गरयौं । हाम्रो निष्कर्ष निस्क्यो कि - ‘मानव अब निकै नमिल्ने मान्छे भएको छ ।’

त उसको त्यही हरियो स्वेटर बुधबारको साँझ हराएको भेटियो । जुन दिनचाहिँ ‘किरकेट‘ भएको थियो गाउँमा । यो खेल क्रिकेट जस्तै थियो ; तर क्रिकटैचाहिँ होइन।


किरकेटको कुरा -
कुरा कहाँबाट आरम्भ गर्ने हो भने -
....
गाउँमा ठूलो मैदान थिएन । मैदान यति सानो कि ‘लङअन फिल्डर‘ र ‘विकेट किप्पर’ लगभग एकै ठाउँमा उभिएका हुन्थे। बल उकालो गयो भने ‘अम्पायर’-ले पनि “क्या...च“ भनेर कराइपठाउँथे । त दुईजना यी ‘किप्पर’ र ‘फिल्डर’हरू आकाशबाट खस्दै गरेको बल, ईश्वरको वरदानलाई जस्तो दुई हातले थाप्न खोज्थे, कोहीबेला कनपट्टीमा लागेर ‘फिल्डर’ आफैं अरर पनि पर्थ्याे, त्यसको एउटै कारण थियो कि मैदानमा पर्याप्त खाल्डोहरू भएको हुनाले पाइलाको स्थिरता र माथि बल, हातमा खस्नुको ‘टाइमिङ’ मिलाउनु कसैलाई पनि गाह्रो पर्थ्याे।

त त्यस मैदानमा स्वाभाविकै हात खोलेर खेल्न नपाइने विशेष नियम थियो, नत्र ‘आउट’ दिइन्थ्यो। किनभने बल खोलामा जान्थ्यो । माथिल्लोपट्टि तानेर हल्दार्नी बड़ीको हर्दी बारीमा पसाउन सक्यो भने चाहिँ नकुदी तीन रन पाइने। कहिले कहिले एक समूह मामाहरूको ‘किरकेट’ हुन्थे । यतिबेलाचाहिँ सिधा ‘स्ट्रेथड्राइभ’ उठाएर मदानेको रूखको छेउ ढड़्यानमा बल पुरयाउन सक्यो भने त्यो आठ रन गनिन्थ्यो । तर त्यो उनीहरूलाई मात्र छुट थियो हामीलाई होइन । किनभने आठ रनको ध्याउन्नमा भुराहरूले सबै बल खोलामा हुर्याउँथे।

मानवले एकदिन आठ रनलाई लिएर प्रश्न उठायो । टाइटनिक जहाजको अघिको भागजस्तो उसको चुच्चो छात्तीमा सर्टको दुईवटा फेर फररर उड़ाउँदै ऊ कमेण्टेटरको नजिक गयो। उसले ठान्थ्यो कि सत्य निर्भिक हुन्छ अनि सही कुरालाई कसैले ढाक्न सक्दैन। कमेण्टेटरलाई गएर भन्यो - ‘यो आठ रन त हेपाउ पो त । यस्तो पनि नियम हुन्छ ?’

उसले आशा गरेको थियो कि केही न्यायसङ्गत उत्तर पाइन्छ।

तर कमेण्टेटरसित ध्वान्द्रे थियो । त्यसको भरपुर लाभ उठाए तिनले । मैदानलाई सम्बोधन गरेर भने - “अहिलेको भुराहरूमा संस्कार छैन। हजारवटा किरकेट खेलाइसकेको मलाई, एक्ले मस्तानहरूले आएर किरकेट नखेलाउनलाई धम्की दिन्छ । भरे साँझमा बाटो ढुक्छु भनेको छ । ढुकोस् । म धम्कीसित डराउँछु र ? यो गाउँमा किरकेट एउटा परम्परा हो । परम्परा भत्काउनेले मलाई धम्की दिन्छ ।“

सबैले मानवलाई हेरिरहेका थिए । मानवले फर्केर आफ्नो पछिल्तिर हेरयो । न कोही पो छ कि ! किनभने कमेण्टेटरले यो के प्रसङ्गमा कसलाई के भनेको हो, उसले ठम्याउन सकेन। वास्तवमा ऊ यस घटनाको लागि तयार नै थिएन।


कमेण्टेटरले भने - “न त्यो मान्छे मेरो छेउमा पो उभिइराखेको छ कि ! तपाईंहरूले ठिकै चिन्नुभयो।“

मानव अहिले प्रधानाध्यापकको अघि उभिएजस्तो तिनको अघि उभिराखेको रहेछ । ऊ त्यहाँबाट फर्केर आयो ; तर मैदानमा जमा भएका प्रायः जम्मै नजरहरूले उसलाई पुरयाउन गेटसम्म आए ।

कमेण्टेटरले भन्दैथिए - “मेरो प्राण छउञ्जेल म यो किरकेटको रक्षा गर्छु ।“ सबैले साइसाइ र सुइसुइ पार्दै थप्पड़ी बजाएको मानवले पार्श्वमा सुनिरहेको थियो।
**

भन्न हो भने, किरकेट त्यसै रूचिकर बनेको थिएन हाम्रो गाउँमा, त्यसको कारण छ। भव्य थियो सबै बन्दोबस्त ।अरूका गाउँकाहरू यस्ता अनुष्ठान आयोजनाको निम्ति पुरस्कार किन्न तीन घण्टाको बाटो हिँड़ेर बजारतिर जान्थे; तर हाम्रो गाउँमा त्यो समस्या थिएन। जित्नेलाई ट्रफीको रूपमा बाख्राका पठेक्री बाँड़िन्थे । पठेक्री बाँड़िनुमा एउटा प्रगतिशील उद्देश्य निहित थियो कि युवाहरूले किरकेट खेलेर आफ्नो बेरोजगारी जीवनको समस्या खोज्न सकुन् । उनीहरूले किरकेटमा जितेेर पशुपालन गरून् । उद्योग गरून्।

निकै दूरदर्शी सोंच थियो।

त्यहाँ कोहीकोही बेलाचाहिँ अकल्पनीय घटनाहरू हुन्थे जस्तै कि एकदिन ‘मेन अफ् द म्याच’ को ‘ट्रफी’लाई लिएर भएको ठूलो द्वन्द्व । त्यो द्वन्द्व कसरी सिर्जना भयो भने ट्रफीमा लोकल बाख्राको पठेक्री बाँडिनु पर्थ्याे, तर त्यसदिन लामकाने बाख्राको पठेक्रीहरू बाँडिए , त समस्या ईंगीत गराउनेले सोधे लामकाने किन ? किन कसैलाई तोला, कसैलाई मासा ?

अर्काे एकचोटिचाहिँ के भयो भने ‘मामा समूह एसोसिएशन’ को किरकेट थियो। एसोसिएशनको नाम भए पनि खेल्दा एकएकजना नै खेल्थे, आ-आफ्ना लागि नै खेल्थे । किन कि खेल खेल्नको निम्ति चाहिने प्रतिद्वन्द्वी दल उनीहरूले खड़ा गरेका थिएनन्। त एसोसिएशन भित्र सबै एक्लाएक्लै थिए । भनिन्छ, एकदिन ‘नयाँ दिशा खेल समूह’ले अर्को गाउँबाट आपसमा एउटा ‘टुर्नामेण्ट’ खेल्ने प्रस्ताव राखेको थियो अरे ! तर त्यो प्रस्ताव गाउँसम्म आइ नै पुगेन। किन कि मामा एसोसिएशनलाई यस्ता टुर्नामेण्ट-फुर्नामेण्टमा विश्वास पनि लाग्दैनथियो। माने आफूमाथि। उनीहरू आफैँमाझ खेल्न अभयस्त र पारङ्गत भइसकेका थिए।

त यस्तै एउटा खेलमा बुधे मामाले आठ रन, आठ रन हानेर छिटै निनानब्बेको अङ्कमा पुग्नुभयो। अब उहाँलाई एक रनको आवश्यकता थियो ; तर ‘हुक’ गरेको बल ‘टपऐज’ लागेर ‘गली फिल्डर’मा गयो । ‘फिल्डर’ले कुनै गल्ती गरेन, पक्रियो ; तर बुधे मामा थिए ढिट् । एक रन बनाउन अघि उनलाई किन आउट बनाइयो ? उनले न्यायसङ्गत कुरोको उठान गरे। त उनलाई न्याय दिन आवश्यक थियो; तर कसैले उनलाई एक रन दिन मानेनन् । आउट भएपछि पनि त्यहाँ खेल्न पाउनु त उचित थिएन । यसमा न्याय बड़ो युक्तिसङ्गत् ढङ्गले गरियो । जुन किरकेटको इतिहासमा यो स्वर्णाक्षरमा लेखिनुपर्ने हो। त्यो के भने गत आइतबार यसै मैदानमा लात्तेभकुण्डो भएको थियो। बुधे मामाले जुन खेलमा निर्णायक एक गोल दागेका थिए। त्यही एक गोललाई आज उनको निनाब्बे रनमा गाभेर सय रन बनाइयो। त उनको यसरी ‘सेञ्चुरी’ पूरा भएको थियो ।

किरकेटमा अर्काे समस्या भनेको अम्पायरलाई लिएर हुन्थे । कि को बस्ने ? किनभन्दाखेरि गाउँमा किरकेट र यो निर्दिष्ट नियम जान्ने सबैजना नै खेल्न चाहन्थे । अम्पायरले खेल्न पाएन भने त समस्या अझ विकराल हुन्थ्यो, त यसैले उसलाई खेल्न दिइन्थ्यो। कोही बेला अम्पायरले आफैं ब्याट गर्न जानु पर्थ्याे कोही बेला बलिङ। कोही बेला होइन साधारण त यही पक्रिया चल्थे । त्यही भएर अम्पायरको कुरा पत्याइँदैन थियो हत्तपत्त ।

**

त्यो दिनको कुरा -
त्यसदिन मानवको पालो भयो अम्पायर बस्ने । ग्राउण्ड बिचमा त जगा थिएन ; त्यसैभएर कालीगेड़ीको झाङको छेउमा गएर ऊ उभियो, जसरी अरू उभिन्छन्। राजनको ब्याट परयो - तल्लो बारीबाट कुदेर आयो बलर। बल गर्न लाग्दा नै ऊ जिप्टिएको हुँदा बल अझ गतिले राजनको छेउमा गयो , उसले पनि हड़बड़ीमा कसेर हानिपठायो । छैन, कसैले देखेनन् कि बल कता गयो ।

आधासम्म देख्नेहरूले बताए कि उनीहरूले छल्न खोजेका हुनाले देखेनन् । त्यो ‘बेनिफिट अफ द डाउट’ को चार रन मुङ्ग्रोधारीको खातामा गयो । दोस्रो बलको लागि दोस्रो बल मगाइयो अर्थात अन्तिम बल पनि त्यही। त्यो हरायो भने अर्काे नभएको कारणले प्रत्येकपल्टको ‘बलिङ’ नै हेर्नेहरूका लागि पनि चरम रोमाञ्चको खेल हुन लाग्यो। दोस्रो, तेस्रो, चौथो हुँदै खेल चलिरहयो, ओभरपछि ओभर हुँदै खेलको गति चलिरहेको थियो; अचानक राजनले पहिलो बल ढड्यान नजिक रूखको टुप्पोमा सिधा आकाशे हान्योे। दोस्रो बल आकाशतिर पठायो, त्यो यति माथि गयो कि कतिले पोलेको मकै छोड़ाउँदै आकाशतिर हेरे।

यानिके मैदानमै खेलाड़ीहरूका लागि नूनको चिया र पोलेको मकैहरूको व्यवस्था हुन्थ्यो । मलाई पनि मुटुको दैलोमा ढकढक्याइराखेर भाग्ने केटीले सिलभरको मग थाप्न लगाएर चिया खन्याइदिई। यस्तो लाग्यो कि त्यो कहिले नभरियोस् । देब्रेतिर लुर्किएको उसको शिर र चियाको धारामाथिको उसको तन्मयताले गर्दा म उसको शितल अनुहारको मानचित्रमा नजरको यात्रा गर्दैथिएँ । एउटा पोलेको मकै हातमा दिई । मैले थपक्क नथापिहालेर यो क्षणलाई स्थीर राख्न खोजेँ, ऊ कटारीजस्तो मुस्काई । मलाई त्यो मकैको पोलेको घोगा होइन, उसको ईच्छा मलाई सुम्पिएको जस्तो लाग्यो।

धेरैले चिया पिइरहेका थिए, कतिले पिइसकेर अन्तिम एक घुटको धोतीसरोको घाँसमाथि हुत्याए ।

बल खस्यो । सीमानामा खसेछ, एकजनाले चराको बचेरोलाई झैं बल पक्रिएको थियो, बलर तल्लो बारी पुगेर, कान्ला चढ़िवरी यताबाट आयो खुशीले दगुरेर।

मानवले चोर औंलाले आकाश देखायो। आउट हुने मान्छे इन्द्रजस्तो रिसायो। मानौ कि मानवले कृष्ण बनेर गोवर्धन पर्वत् उठायो। रिस गरेपछि न्यायसङ्गत पाराले त्यसको निप्ट्यारा हुनु त आवश्यक थियो । अम्पायर अवतार मानवले आफ्नो घाँटीको छालालाई दुई औंलाले तन्काएर भन्यो - “कस्सम तिमी आउट भयौ ।“

राजनले केही भनेन ।

**

त्यो थियो, माथि भनिएको बुधबारको दिन। त्यही साँझ मानवले आफ्नो स्वेटर हराएको भनेर थाह पाएको रहेछ । नभेट्दा थाह लागेछ उसलाई । कसैले लगाउन लगेको होला भन्ने पटक्कै लागेन। किनभने त्यो स्वेटर लैजानेले लगाएर बजार जान त सक्दैन थियो नै ।

किन हरायो होला ! भनेर उ सोचमा डुब्यो।

बिहिबार बिहान। हामी सबै स्कुल गयौँ । कक्षामा मिसले भन्नुभयो -
“तिम्रो साथीले तिमीलाई उसको ट्रफी चोरयो भनेर आरोप लगाएको छ ।“
घोप्टिएर हामी एक दुईजनाले रूपाको फिलासम्म सुल्केको जामाको फेरको सिलाई हेर्दैथियौँ। कति के गर्दै थिए, कति के गर्दै थिए । त आ-आफ्नो धुनमा रमाउँदै गरेको हामीले आवाजतिर हेरयौँ।

मिस, मानव बसेको अघि, रातो पारीको हरियो साड़ी भएर उभिनुभएको थियो ।
“हजुर कस्तो ट्रफी ?“ मानवको गाला आइफल भयो ।
“किरकेटको ?“ मिसले आँखाको सुइरोले कोटयाउनुभयो ।
“पाठा ?“ मानवको एक हाँगा आँट् सर्लङ्ग तल झरेको देख्यौँ ।
“पठेक्री।“ मिसले मोहर लगाउनुभयो।
ऊ हेन भन्नु न तेन भन्नु भयो । कक्षामा यति बिना शान्ति छायो कि परेवा कोठाबाट बाहिर उडे़र गएको पनि तोप दागेजस्तो आवाज भयो ।
”तपाईंले कसरी थाह पाउनुभयो ?“- उसको प्रश्न सुनेर सबैले ”हो रहेछ क्या हो“ जस्तो ठानेर ठाड़ो कानलाई अझ तिखो पारे ।
“तिमीलाई हरियो स्वेटर लगाएर भाग्दै गरेको देखेको थियो अरे साथीहरूले । तिमी नै हौ, सबै कद्काँटी तिम्रै, देख्नेहरूलेे भने त“

उ नीलो भयो । साथीहरूतिर फर्केर हेरयो । कुनैकुनै साथीहरूको मुस्कान अठ्याउँदा-अठ्याउँदै ओठको तगारो ठेलेर बाहिर फुत्किसकेको थियो।

”मेरो स्वटेर त हिजै हराएको “ - उसले सानो दबिएको स्वरमा भन्यो तर मिसले सुन्नुभएन तर उहाँको कुरा सुनेर प्रसङ्ग मिलेजस्तो हामीलाई लाग्यो ।
“तिमी भाग्दा स्वेटर छोडे़र भागेछौ । हामीसित प्रमाण छ ।”
आकस्मिक काम गर्नुपरे जस्तो सुकेको ओठमा उसको जिभ्रोले सिञ्चाइ गरयो ।

उसले अन्तिम हाँगालाई जस्तो एउटा प्रश्न पक्रयो - “अनि ट्रफी ?”
“के ट्रफी ? काँसको हो त्यो ? घाँस खाने हो । गयो होला नि, जसको थियो, उसैकोमा“ - मिसले साँच्चै नै रिसाएर भन्नुभयो यतिबेला ।
ऊ लाजशरम, अपमानबोधले डल्लिएको थियो ।
उसले मिसलाई हेरयो, पीपी ब्यागबाट उहाँले हरियो स्वेटर निकाल्नुभयो, अलिलि माटो लागेको ...

उसको टाउको गह्रौं भएर उठाउन नसकेको हामीले हेरिरहेका थियौं । हाम्रो मनमा सुतिरहेको खरायो आज त खोर भत्काउलाजस्तो उफ्रँदैथियो । उसले बिस्तारै हरियो स्वेटरतिर हेरयो, नजर गाड़िने बित्तिकै ऊ फुत्तै निस्कन खोजेजस्तो आँटमा आयो । भन्यो - “मिस ! यो सुइटर हरियो हो। मेरोजस्तै हरियो भए पनि यसको भित्री प्याटर्न यस्तो होइन । इः हेर्नु ! यसमा ज्यामितीका आकारहरू छन्, जताभावि राखिएको । तर मेरो स्वेटर त्यस्तो होइन ।“ मिसलाई हेरेर अदालतमा भिडियो-प्रमाण देखाइरहेको उकीलकोे आत्मविश्वासमा भन्यो -
“मिस ! यो मेरो होइन।“

“लैजान दिएको हो र ! प्रमाण देखाएको पो त।“ मिसले अर्जापेको बामफोकले केराको गुभा काटेजस्तो उत्तर भन्नुभयो - “खेल्न जान्दैनौ अनि ट्रफी चोर्ने ?“

उसले केही पनि भन्न सकेन । साथीहरूले छिल्लिएको हाँसो एकअर्कामा पासापास गरे।
**

त्यस दिनको स्कुल छुट्टी भयो । घर फिर्दै गर्दा मानव नउफ्री हिँड़िरहयो। आज पनि म ऊसित साथमा थिएँ । केराको गाछको साँप्रा उप्काएर धारा जोडे़को ठाउँमा खुट्टा पखाल्दै गर्दा उसले अचानक भन्यो - “मलाई ट्रफी के गर्नु ? मेरोमा त खोर पनि त छैन ।“
उसले मलाई हेरिरहेको थियो, आँखामा निरिह भाव टुसुक्क बसेको थियो उसको ।

एउटा कुइनेटोमाथि दोकान थियो । दोकानमा छेपारोको अण्डाजत्रो रङगीविरङ्गी मिठाई, त्यस्तै तर आकारमा केही ठूलो गोल मिठाई, काठजस्तो काठ मिठाई, पीरो पर्पराउने सुन्तला-केस्रा आकारको कालोकालो मिठाई, सिजनअनुसार कोही बेला सुन्तलालाई बिचमा काटेर नून खोर्सानी दलेको आधा सुन्तला कि त कोही बेला काँचो तित्तिरीहरू के के पाइन्थे । ती सामाग्रीहरूमा उसको प्राण बस्थ्यो, त्यो दोकान आइपुग्नासाथ उसमा त्राण आउँथ्यो ; तर आज ऊ निश्चिन्त थियो । सधैँ देखेको मान्छेमा यस्तो व्यवहार परिवर्तन मलाई भने कप्टेरो कप्टेरो लागिरहेको थियो । गोजी छामें हाप्पेनको, दश पैसा रहेछ, सिल्भरको । भर्खर लेख्न सिकेको भाइले १० लेखेजस्तोको अक्षरसित । निकालेर हत्केलामा हेरेँ ।
बोलाएँ -
“ओइ !“
हेरयो । “केइ खाने ? मेरोमा पैसा छ ?“

“खान्न । पैसाको धम्की नदे’, राख्।“ - उसले मेरो प्रश्नलाई कुकुरलाई ढुङ्गा हानेजस्तो उत्तर हानेर खेद्यो।
म जिल्ल परेँ ।
के साह्रो घमण्ड बढे़छ यसको, जस्तो लाग्यो तर मसित भन्नु अरू केही थिएन ।


मानवको घर पहिले आउँथ्यो गाउँमा ।
उसको घर पुगियो। उसले आफूलाई र स्कुलको ब्यागलाई घरको पिढीमा फ्यात्त फ्याँक्यो । आमा पर धारामा चामल धुँदैथिइन् । भनिन् -
“हेर यसको चाल ! ...ऐ तेरो लुगाचाहिँ अबदेखि धुन नदे है मलाई।“

म छेउमा उभिरहेको थिएँ ।
“कुन लुगा ?“ उसले वाक्क मानेजस्तो भन्यो ।
आमा आफ्नै धुनमा थिइन् -
“तेरो हरियो स्वेटर । लगेर गराउन्-मा फ्याँकेछ ।“
मतिर फर्केर भनिन् - “तिमारूले केइ सिकाउनै बाबु यसलाई ।“
मेरो नाक अलि उच्चियो । भन्न मन लागेको थियो कि - “त्यसै त गर्न सकिँदैन हौ आण्टी, महीनाको दर-अनुसार अलिकति मिलाइदिनु न, भइहाल्छ नि सिकाउनु त।“

तर मेरो व्यवसाय अघि बड़ाउनलाई सम्भावित ‘कस्टमर’-को अवस्था हेरेर उचित लागेन । हुन त उसले मभन्दा राम्रै अङ्क ल्याउँथ्यो, नाचगानबजान्-मा पनि मभन्दा अब्बलै थियो र पनि मलाई के कुरामाचाहिँ उसलाई सुधार्न सक्छु भन्ने लाग्थ्यो । सुधार्न सक्छु मात्र होइन, मैले नै उसलाई सुधार्न पर्छजस्तो पनि ।


जे होस् उसकी आमाको कुरा सुनेर ऊ भित्र कतै उफ्रेजस्तो भयो - खुशीले कि आश्चार्यले ।
“खै ?“
आमाले भनिन् -
“उः“

स्वेटर सफा भएर, तारमा हात खोलेर, पिङ खेल्दै थियो ! एकैछिनमा हामी त्यहाँ पुग्यौँ ।
साथीको हात पक्रेजस्तो बौला छोएर त्यसले भन्यो - “कहाँ पाउनुभयो ?“ म पनि उकीलले प्रमाणको दस्तावेज हेरेजस्तो त्यो स्वेटर छामिरहेको भएछु ।

“तेरो साथीले ल्याएर दिएको; हिलोको दहमा थियो अरे !“
मैले पुलुक्क उसको अचेतपनालाई हेरें ! भन्यो -
“मैले कालीगेड़ीको झाङमाथि राखेको थिएँ, अम्पायर बस्दा ।“

त्यही बेला उसको भाइ मरेको चरालाई हातमा झुण्डयाएर आइपुग्यो। उसको भङ्गिमा, हिन्दी चलचित्रका नायक देवानन्दको जस्तो थियो अनि उसको गलामा क्याटिस, कुनै वरमालाजस्तो झुण्डिएको थियो। भाइले दाजुलाई देख्नेबित्तिकै भन्यो - “फर्केर आइस् ?“
“तेरो मात्रै हो त जुठे ?“ मानवले भरिराखेको बन्दुकजस्तो जिभ्रोको ट्रिगर दबायो, मुखबाट बोली छुटयो। भाइले प्रतिक्रिया जनाउँथ्यो होला, आमाले भनिन् - “यो भाइले त नि दाज्यूलाई देखिसहँदैन त, के खाइदिएको छ है, दाज्यूले तेरो ?“
भाइको वाक्यमा त्यस्तो नराम्रो केही थिएन ; तर आमाले कुन कुराको उत्तर दिइन् मैलेचाहिँ भेउ पाइनँ ।

**

भोलिपल्ट बिहान। म उकालो चडेँ़ । मानव आफ्नो काठको ड्यामड्यामे पल्ला भएको घरको दैलोबाट बाहिर निस्कियो । उसले आज स्कुले पोशाक होइन, आमाले धोइदिएकी हरियो स्वेटर लगाएछ । उसको आफ्नो हरियो स्वेटर । भोटेपानमा कालीगेड़ी भरेर खाँदै हामी स्कुल पुग्यौँ। ऊ आज निकै हलुका भएर हिँड़ेको मैले अनुभव गरेँ, जोचाहिँ मलाई गह्रौँ भएको थियो।

स्कुल पुग्यौँ । एउटा रेलिङबाट सबै साथीहरूले आफ्नो पहुँचमा ढुङ्गा हानिरहेका रहेछन् । मैले एकदुईजनालाई सोधें -“के छ ?“
“हान्न । सबले हानिरहेको छ, मजा आउँछ ।“ - उत्तर आयो । फेरि थपियो - “ढुङ्गा हान्न पनि केही हुनपर्छ क्या हो ?“

तर यसचोटि उनीहरूले मानवलाई देखे ।
मौरीको एकताले घर भेटेर यता उडे़र आयो ।
- “कतिको स्पीड भागिस है ?“
- “ट्रफीले घाँस खान्छु भनेन ?“
- “कति बजीतिर घरबाट निस्केको थिइस् चोर्नलाई ? ट्रफीले प्या... गरेको भा’ मान्छेले तेरो राजखानी चुँडाइदिन्थ्यो नि फेरि ।“

उनीहरूले यस्तै थुप्रैहरू सोधिरहे उसलाई । म उसको पक्षमा बोल्न सक्दिनँ थिएँ, किनभने भिड़ यता धेरै थियो । जे होस्, मेरो मनको बोझ बिस्तारै हलुका भने भएको थियो ।

अचानक त्यसले बल गरेर अलि ठूलो चिच्यायो - “देखिनस् मेरो स्वेटर, इः याँ, हरियो ? कहिले चोरेँ मैले ?“

हाम्रो स्कुलमा सानो फूलबारी पनि थियो। फूलबारीको ढुङ्गाको कापमा पहेँलेको एउटा झुप्पो थियो ।

**

कक्षा आरम्भ भयो मिसले पहिलो वाक्य मानवलाई सम्बोधन गरेर भन्नुभयो - “नानी अबदेखि नचोर्नू ल !“
*

दोस्रो घण्टी लागे, हिसाबको सर आउनुभयो, भन्नुभयो -“नानी हो साथीलाई देखिहाल्यौ, ट्रफी जित्नु हो भने खेल्नु पर्दछ, चोर्नुहुँदैन ।“
*

घण्टी बजाइसकेर काकाले भने - “नानीहरूमा संस्कार हुनपर्छ र मात्र सफलता कमाउँछ। तिमीहरू मानवजस्तो हुनुहुँदैन ।“
*
यसरी मानवलाई जसले पनि देख्यो, कुनै न कुनै रूपमा टिप्पणी गर्नै पर्ने आवश्यक नियम अघोषितरूपमा गाउँमा व्याप्त भयो ।
**

दिनकालहरू यसरी नै बिते । अब मानव बाटोमा सँगै हिँडदावर्दा एक्लै गुनगुनाउँदै हिँड्थ्यो ; तर पहिलेजस्तो बोल्दैन थियो I ‘पहिलेजस्तो बोल्दैनथियो’ माने - मन खोलेको स्पष्ट बुझिने बोल्दैन भनेर हामी साथीभाइले एउटा मान्यता बनाई त्यसमा सिलमोहर गरिसकेका थियौँ। ।

त्यस दिन माध्यमिक परीक्षाको अन्तिम दिन थियो । हामी दुई भाइ हिँड़ेर आइरहेका थियौँ। हाम्रै सिको गरिरहेका थिए अरूले पनि, अलि परपर। अर्थात् उनीहरू आ-आफ्ना घर फिरिरहेका थिए; तर हामीले उनीहरूको सिको गरेका थिएनौं, आज अन्तिम दिनको परीक्षा सकेको खुशीमा घर नगएर हामी कतै गइरहेका थियौँ।

पारि क्षितिजका डाँड़ाहरू सेतो बादलको धुसा घाँटी-घाँटीसम्म बेह्रेर लहरै बसेका थिए, मानौं कि त्यहाँ कुनै गम्भीर छलफल चलिरहेछ। अलि वरको झरना पानी नखसाई ठाड़ो उभिएको जस्तो देखिन्थ्यो । पर नागबेली सड़कहरूमा फाटाकफुटुक एस मोडल ट्रकहरू ‘हँ.....हैँसे’ कराउँदै छात्तीमा खून जमाएर उकालो आउँदैथिए । कहिले-कहिले जीप पुच्छरमा लोड बेसी भएकोले नाकले आकाश हेरेर सिधा बाटो आउँदै हामीलाई ‘ए.................ई’ भनेर जिस्काएर जान्थ्यो। माथि भित्तामा बाँसको झाङ, दुईको गुणा रिदममा रटिरहेको बालकजस्तो हावामा हल्लिँदै थियो ।

“एक्जाम कस्तो भयो ? भनिनस् त“ - मैले मौनता तोड़ेँ ।
“कस्तो हुन्छ र ? अरूले जानेको प्रश्नको उत्तर ? आफैले भन्न मन लागेको प्रश्नको उत्तर गर्न पाए पो मजा आउँछ । कोही बेला त यस्तो प्रश्न गर्छ कि उत्तर हुँदैन होइन, उत्तर दिने आवश्यकता नै हुँदैन।“
‘बोर्डको एक्जाम’ तैँले भनेको जस्तो हुन्छ क्या हो ?“ - त्यसको मानसिकतामा मलाई हाँसो उठिरहेको थियो।
“एउटा घरको सय ढोका, जहाँबाट पनि निस्कन सकिन्छ, के हो?“ त्यसले गाउँखाने कुरा गरेको जस्तो लाग्यो मलाई ; अप्रत्याशित थियो यो, र मैले उत्तर दिएँ - “तेरो टाउको !“
ऊ केही बोलेन ।
फेरि सोधेँ - “पर्सी शनिबार रामनवमी मेलामा जाँदैनस् ?“
“जान्न ! माटोकै खिलौना मात्र हुन्छ, के जानु ?“
“एक्लै भइस् के गर्छस् ?“- मैले के भन्नुपर्थ्यो, के भनेँ मलाई केही पनि थाह थिएन। यस्तै भनेँ ।
अलिकति गहिरो स्वास लिएर उसले भन्यो - “देख्दा पो एक्लो छु त, म कहाँ एक्लो छु ! यो अनुभूतिको कुरो हो, म एउटा आशिर्वाद, एउटा सहारा, एउटा बलियो सहयोग हरदम अनुभूत गर्छु ।" मतिर फर्किएर मेरो मन राखिदिएजस्तो फेरि सोध्यो -" के तँ कहिले आशिर्वाद् अनुभूत गर्दैनस् ? तेरो गाला छोएर जाने हावाले तँलाई माया गरेको छैन र ? तीर्खा मेट्ने चिसो पानी, तेरो साथ होइन र ?“

केही बेरपछि भन्यो - “यति हो मान्छेबाहेक चाहिँ म सबसित बोल्छु ।“
मैले उसको जुङा केही बाक्लिँदै गरेको ओठको अनुहार हेरेँ। त्यो जुङा भाग अलि माथि उभारिएजस्तो लाग्यो मलाई ।
भन्यो - “तर एउटा कुराचाहिँ हो कि म बोल्न सक्छु र त यस्तो छु । सोच्छु, जो बोल्न सक्दैनन्, उनीहरूको झन् के हाल होला ?“

एटेट बड़ाले छेवैको टाट्नो नजिक गगुनको घाँसको भारी बिसाए । एउटी गाइले प्रेमिकाले प्रेमीलाई चिहाएको जस्तो बाँसको फाँकाहरूबाट हामीलाई हेर्दै थिई । दुईटा साना सेता पठेक्री, आफ्नो अस्तित्वको हिँड़ाईलाई नै चुनौती दिँदै, तेर्सो तेर्सो उफ्रिन खोज्दै थिए- घाँटीमा उनीहरूको थाङनाको डोरी बाँधिएको थियो । आँपको रूखले, तार बाँधिएको धड़मा पातहरूको औँलाद्वारा हावा खेलाउँदै थियो।

म फेरि मानवको अनुहारमा ओर्लिएँ, मेरो ध्यान उसको कुरामाथि होइन, अब त धेरै गरी उसको जुङामाथि नै जान लाग्यो । जसले चाहिँ मलाई भित्ता खौरने तारको ब्रुशले जस्तो बिझाइरहेको थियो । भनें -
“जुङा पलाउँदैरहेछ। हिरो देखिनेरै’छस्।“
“तेरो पनि त पलाउँदैछ नि त्यसो त।“-उसले हाँसेर भन्यो -“अरू हिरो देखिन्छ कि देखिँदैन, नडरा ! आफू हिरो हुन्छु कि हुँदिन, त्यो हेर् ।“
म चुपो लागेँ । यस्तो अबुझसित के कुरा गर्नु जस्तो लाग्यो मलाई । ‘यो मान्छे राम्रो हुने थियो भने आज एक्लो हुन्थ्यो ?’ मेरी चित्त बहिनीले आएर मलाई सम्झाई ।

‘जानुपर्छ, बसेर हुँदैन“ - उसले भन्यो अनि हिँड़न थाल्यो ।

**
दूर क्षितिजमा सुन्तले रङ बाक्लो गरी बड़ो दक्ष चित्रकारिताको साथमा लागेको थियो। अलिलि हलुका गाड़ा नीलो हुँदै अघि फैलिएको हलुका आकाशे रङको विस्तृत क्यानभासमा ठाउँ - ठाउँ वैगुने रङको गहिरो स्ट्रोक थियो । उत्तर-पश्चिम दिशाको सानो भाग आकाशमा, एउटा बादल, पाकेको बेलको गुदी जस्तो; तर चहकिलो रङले टलक्क बलेको थियो। यस्तो लाग्थ्यो कि भित्रको ठूलो प्रकाशपुञ्ज त्यहाँबाट छचल्किएर बाहिर पोखिएको हो।

हाम्रो हिँड़ाइमा न उत्साह, न थकान थियो, न हतारो, न शुस्ती, न विषाद, न हुटहुटी, न पश्चताप, न होड थियो । हामी गइरहेका थियौँ। जस्तै कि पानी हौँ - बगिरहेछौँ, हावा हौँ - बहिरहेछौँ ।

मैले उसलाई जिस्काउने सुरमा सोधेँ -
“म नआएको भए के गर्थिस्?“
उसले हाँसेर भन्यो - “भनें त म एक्लो छुइनँ।“
मैले भनेँ - "म तेरो कथा लेख्छु"
उसले भन्यो -"हो र तँ कथा पनि लेख्छस् ? लेख् ... मेरो होइन, मेरो हरियो स्वेटरको कथा लेख्, जसले गर्दा म आज छु। त्यस स्वेटरको हरेक धागोलाई, गाँठो र घरहरूलाई कृतज्ञता जाहेर गरिदिएर लेख् ।"
***
त प्रिय सुधीजन् ! यही नै हो कथा ! अब टुङ्ग्याउँनीमा आउँछौँ । यस कथाको सम्भावित अन्त्य चार प्रकारले भएको छ।

एक. मानवले उसका कुराहरू गाउँमा राख्यो, उसका कुराहरू सबैले सुने अनि गाउँमा पनि ‘क्रिकेट’ नै हुनथाल्यो। मैदानको ढुङ्गा फुटाइयो, छेउभित्ता काटेर सबैले खेल्न सक्नेगरी ठूलो मैदान बनाइयो। नियम शास्वत र समग्रलाई हुने गरी खेलहरू हुन लागे । अथवा

दुई. गाउँमा स्वाभाविकै नियमहरू चलिरहे, प्रकृतिको नियम झैँ त्यसमा अदलाबद्ली आवश्यक र सम्भव पनि भएनन्। जस्तो छ त्यसरी नै चलिरहे । भएकै के थियो र ! कसैलाई केही फरक परेन। तर पछिपछि नियम जड बन्दैगयो। नियम जड भएपछि सबै निरस बन्दै गए अनि सम्पूर्ण अनुष्ठान बन्द भए । अथवा

तीन. मानवमाथि हात अज्माएर भिडमा आफ्नो पहिचान सुनिश्चित गर्नु धेरैजनाले चाहे अनि तीमध्ये धेरै सफल पनि भए, तर बाटोमा कतिजना अब लडेको भेटिनथालियो । जुन घटनाहरूको मानवसित कुनै प्रतिक्रिया थिएन। अथवा

तीन. मानवमा यति चेतना विकास भयो कि उसले भन्न थाल्यो - ‘मेरो जीवन ‘हरियो स्वेटर’-ले बनायो । उसमा कुनै बद्लाको भावना रहेन। आफ्नो जीवन जसरी पनि बनियो र बनिरहेछ, त्यसमा यी सारा घटकहरूको आवश्यकता थियो भन्ने उसले बुझ्यो र सम्पूर्ण ब्रम्हाणडप्रति ऊ कृतज्ञ बन्यो । अथवा

चार. गाउँमा यतिबिना त्रास र भयको आतङ्क सिर्जना भए कि त्यस उप्रान्त कसैले पनि नियममाथि बोल्न पाएनन् । कोही मानव फेरि जन्मिएन । अथवा, गाउँमा त्यसपछि पनि धेरै मानवहरू जन्माइए।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।