16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पौराणिक आख्यानको नवीन उत्कर्ष रूप : रावणायन

कृति/समीक्षा प्रा.कपिल अज्ञात April 24, 2022, 5:20 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

कविता, मुक्तक र हाइकु आदिमा आफ्नो शैलीशिल्पलाई तिखारी आधा दर्जनभन्दा बढी कृतिको प्रकाशनपश्चात् उमेर, अवस्था र अनुभवले परिपक्व भएको जीवनको उत्तरार्द्धमा आएर खनाल रेवतीरमणले आख्यानमा प्रवेश गरी यो नवीन रूप प्रस्तुत गरेका हुन् । पूर्वीय पुराकथामा आधारित सीतायनजस्तै हो – रावणायन । हिन्दी भाषामा अरू नै पनि रावणायन लेख्नेहरू होलान् तर नेपालीमा यो पहिलो देखापर्छ । शीर्षकले नै यो रावणका चारित्रिक विशेषतामा आधारित हो भन्ने देखिन्छ । वाल्मीकि विरचित रामायणमा रावण खलपात्रको रूपमा रहेको छ । यसमा रामलाई नभई रावणलाई मानवीय दुर्बलासहित नायकत्व प्रदान गरिएको छ । रामायणका आधारमा रामलाई मान्ने जति भक्त छन् रावणका विशेषता बुझेर दक्षिण भारततिर रावणका पनि त्यत्तिकै भक्त छन् भनिन्छ । जे होस्, रावणायन भनेर यसमा रावणको अतिरञ्जित वा अतिशयोक्ति बखान नभई गुण–दोषको समुचित महिमा छ ।
यो खनाल रेवतीरमणको साहित्यिक अध्ययन र साधनाको सर्वोत्कृष्ट प्राप्ति हो । जीवनभर कविता र दर्शनमा अभ्यास गर्दागर्दै पद्यधाराबाट गद्यधारामा प्रवेश गरी सिर्जनाको आरोहणबाट प्राप्त गर्न पुगेको एक गौरवपूर्ण उचाइ हो । यो पुराकथा जति रोचक र ज्ञानबर्द्धक छ, यसको भाषाशैली उत्तिकै प्राञ्जल, परिष्कृत र सम्मोहक छ । विवेकभन्दा ठूलो भगवान हुँदैन, यो बुद्धले दिएको महान् अर्ती हो । अन्धश्रद्धा र अन्धभक्तिबाट कसैको कल्याण हुँदैन । हुन त आस्था र श्रद्धामा प्रश्न गरिँदैन त्यहाँ तर्कको ठाउँ हुन्न भनिन्छ तर यहाँ लेखकको नवीन धारणा छ । गुणको सही बोध नै ज्ञानको सही गन्तव्य हो । गुणाज्ञ र ज्ञानी बनाउने कविचेतको यो सुन्दर प्रकाश हो । कवि, कवि हो; भक्त होइन । ऊ सत्यभित्र पनि तथ्य के हो भनेर उधिनेर हेर्छ । सत्य–तथ्यमा प्रकाश पार्नु नै लेखकीय दायित्व हो । पौराणिकतामा नवीनता पस्केर दिएको यो सबैका निम्ति रुचिकर र प्रियकर आस्वाद्य सामग्री हो भन्नेमा दुविधा छैन । प्रवाहशील र सम्प्रेष्य भाषामा विषयवस्तुको मिठो स्वाद दिएर पाठकीय मनलाई विरोचित गराउन सक्नु लेखकीय शक्ति र सीपको अप्रतिम प्राप्ति हो । यस सन्दर्भमा लेखक र प्रकाशक दुवै धन्य छन् ।
रावणायन पौराणिक आख्यान हो । पौराणिक आख्यान लेखनका निम्ति भावना र कल्पनाको प्रचुरता भएर मात्र पुग्दैन । पुराणहरूको पनि गहन अध्ययनको आवश्यकता पर्छ । मूल तथ्यमा फेरबदल नहुने गरी पौराणिक आख्यान लेख्नु एक गम्भीर चुनौती हो । रामायण पढेर रावणप्रति खलनायकको रूपमा जे–जस्तो घृणा, आक्रोश र निन्दाको भाव जागृत हुन्छ । रावणायन पढेपछि रावणप्रति सम्मान र सहानुभूतिको भाव सृष्टि हुन्छ । गोविन्द विनोदीद्वारा विरचित शूर्पणखा र कैकेयीले पनि नवीन धारणा जागृत गरिदिएको छ । त्यही क्रममा रावणायन देखिएको छ । त्यो पढेपछि रावणप्रति सराहनाको भाव उठ्दछ । एक उत्तम कलाकृतिको रचनाद्वारा जनधारणालाई बदल्ने वा पुनर्विचार गर्न प्रेरित गर्ने सामर्थ्य राख्नु लेखनक्षमता र सीपको निकै उत्कर्ष स्थिति हो ।
हरकुनै राज्य धर्म, संस्कृतिले बनेको र त्यसैले जोगाइरहेको पनि हुन्छ । लङ्केशको मूल संस्कृति रक्ष संस्कृति हो । वयं रक्षाम नै त्यसको मूल दर्शन हो । श्रमलाई अधिक महŒव दिने, सबैलाई समान देख्ने, जातीय भेदभाव नगर्ने, वसुधैव कुटुम्वकम्को भावना राख्ने, धर्मको नाममा आडम्बर नफैलाउने, समाजको भलाइमा लाग्ने काम नै रक्ष संस्कृतिका विशेषता हुन् । यिनमा समतावादी दर्शन देखिन्छ । विधि र व्यवस्था जसले राम्रो गर्छ उही शक्तिशाली बन्दै जान्छ । रावण शक्तिशाली बन्नुमा सर्वेभवन्तु सुखिनकै मूल आदर्श हो र यक्ष संस्कृति र देवसंस्कृतिका सामु रक्ष संस्कृति नै प्रभावकारी बन्यो । यसमा जातिभेद, रङ्गभेद, स्थानभेद आदि कुनै भेदभाव र सङ्कीर्णता नरहेकाले पनि यो जनप्रिय हुन पुग्यो । रावण कसरी शक्तिसम्पन्न बन्यो र उसको राज्यले कसरी भौतिक समृद्धि प्राप्त गर्‍यो, कृतिले त्यसको सूक्ष्म र स्पष्ट प्रकाश पारेकैले कृतिकै नाम रावणायन रहन गएको छ । आफै रुने र शत्रुलाई पनि अतिशय रुवाउन सक्ने भएकैले नै रावण नाम रहेको तथा उसैको प्रभाव वृद्धिमा आधारित चरित्राख्यान रहेकाले रावणायन भनिएको पाइन्छ । यसमा सङ्गृहीत तर्कहरू पनि विवेकसम्मत र विधानसम्मत देखिन्छन् । आख्यानकारले प्रवाहशील एवम् सहजसम्प्रेष्य भाषामा जे–जति घटनावृत्तहरू बुनेका छन् ती सबै सीप, चातुर्य र कौशलताले खारिएका अनुभूत हुन्छन् । कवितामा पाइने आवेग, उत्तेजना र आक्रोशको बाछिटासम्म नपारी निकै भद्र, संयम र शालीन तरिकाले परिवेश र चरित्रको निकै सुन्दर विश्लेषण गर्नु लेखकले उपादानको अध्ययन–अनुभवबाट प्राप्त गरेको अप्रतिम ऊर्जास्रोत हो भन्ने लाग्दछ । साहित्यिक जीवनमा यस कृतिले उनको नाम चम्काउने र उजिल्याउने मात्र नभई साहित्यिक श्रेणीक्रममा उच्चस्तरमा प्रतिष्ठित तुल्याउने छ भन्ने विश्वास गर्न सकिन्छ । पाठकजगत्का निम्ति यो अमूल्य निधि हो भन्नेमा दुविधा नहोला ।
छल, प्रपञ्च नरले गरून् कि नारायणले ती दुष्कर्म नै हुन् । कुनै पनि दुष्कर्म देवताले गरे सही, नरले गरे बेसही भन्ने हुँदैन । अशुभकर्म जसले गरे पनि अशुभ नै हुन्छ । त्यो कसैका निम्ति क्षम्य हुँदैन । दुषित कर्मको विरोध सत्यप्रतिको निष्ठा र सङ्घर्ष हो । सत्य–तथ्यको खोजी गरी त्यसको पक्ष लिएर असत्यको उजागर गर्नु सच्चा लेखकको धर्म र कर्तव्य नै हो । सत् साहित्यले नै जीवनको सही मार्गदर्शन गर्छ । यस कृतिभित्र देवताको उच्च आसनमा जो स्थित छन् तिनैमध्ये कतिले मर्यादाको उल्लङ्घन गरेका छन्, तिनैलाई लेखकले एक–एक गरी उत्खनन गर्दै आख्यानलाई अन्तर्सङ्गठित पादै जे–जस्तो सन्देश मुखरित गर्न खोजेका छन् त्यो नै सर्वाधिक सुन्दर पक्ष लागेको छ साथै रावणको चरित्र उद्घाटन गर्ने क्रममा वेदले परिपालना गर्ने गरेको समाजको निर्माण गर्न उद्यत एवम् समतामूलक समाज निर्माण गर्ने उसको जे अभियान छ त्यसले उसको चरित्रलाई महानायकत्व प्रदान गरेको छ त्यो पनि सुन्दर पक्षभित्रै पर्दछ । यस्तै कृतिभित्रका अन्तर्वस्तु संयोजन र चारित्रिक उदात्तताले रामायण, सीतायनजस्तै रावणायन पनि एक हो, यो आदर्श चरित्रकेन्द्री रचना हो भन्ने सावित गरिदिएको छ ।
वागीवनका कविता र दर्शनको उहापोह गर्दागर्दै साहित्यिक क्षेत्रमा अहिले आएर लेखक जे–जसरी फड्को मार्न सफल भएका छन् त्यसले विजयश्रीको गौरव प्राप्त हुने देखिन्छ । त्यसका निम्ति रेवतीले राहुलाई पनि पराजित गरेको बुझी अप्रतिम उज्यालोका निम्ति साधुवाद अर्पित गर्दै समीक्षात्मक कार्यलाई बिट मार्नतिर जाँदैछु । साहित्यमा प्रवेश गरेपछि साहित्यका अनेक बाटा छन् : कविता, आख्यान, नाटक र निबन्धहरू । कुन बाटो लाग्दा वा जाँदा आफ्नो प्रकृति खुल्छ वा मेल खान्छ त्यसैमा सक्रिय रहनु अन्तर्नेत्रले देखाएको राजमार्ग हो । हरेकका विजयश्रीको गन्तव्य आफ्नै प्रकारको हुन्छ । जुन बाटो गए पनि शिखर पुग्ने, सबैसँग त्यो अद्भुत क्षमता र सीप सम्भव नहुन सक्छ । आफ्नो प्रकृति र शैलीप्रति विश्वास राखी जो आरोहण गर्छ उसैले आफ्नो योग्यताको पहिचान र परीक्षण गर्न सक्छ । जीवनको उत्तरार्द्धमा आएर खनाल रेवतीरमणले जुन बाटो अपनाए त्यसबाट उनले ठूलै बाजी जितेको देखिन आएको छ ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।