15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कृष्ण बजगाईं र संवैधानिक पत्नी लघुकथासङ्ग्रह

कृति/समीक्षा डा. शेखरकुमार श्रेष्ठ April 24, 2022, 5:58 pm
डा. शेखरकुमार श्रेष्ठ
डा. शेखरकुमार श्रेष्ठ

१ .विषयप्रवेश
कृष्ण बजगाईं नेपाली साहित्यका मूर्धन्य लघुकथाकार हुन् । उनको जन्म २०२४ साल असार ९ गते धरानमा भएको हो । उनका माता तारादेवी र पिता रामकुमार बजगाईं हुन् । हाल उनी बेलायतमा बस्दै छन् । उनको कलम नेपाली साहित्यको कविता, नियात्रा र आख्यान विधामा चलेको छ । उनका हिउँको तन्ना (२०६५), मौन प्रणय (२०७७) र कुमारी रात (२०७५) हाइकुसङ्ग्रह, युरेसियाको स्पर्श (२०७३), भाया साक्रा (२०७४) र दाइबुचु (२०७६) नियात्रासङ्ग्रह, कमरेड भाउजू ( (२०७२) कथासङ्ग्रह, स्रष्टा र डिजिटल वार्ता (२०६५) साहित्यिक अन्तर्वार्तासङ्ग्रह तथा यन्त्रवत् (२०६४), रोडम्याप (२०६५), कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) लघुकथासङ्ग्रह प्रकाशित छन् । प्रस्तुत लेखमा उनको संवैधानिक पत्नी लघुकथासङ्ग्रहको अध्ययन गरिएको छ । यसमा चवन्न ओटा लघुकथा सङ्गृहीत छन् । उनको यस सङ्ग्रहको लघुकथा कमरेडको अन्तर्वार्ताबाट सुरु भएर कमरेडको पेटमा अन्त्य भएको छ । यसले प्रस्तुत सङ्ग्रहमा राजनीतिक विषय त्यसमा पनि कम्युनिस्टको राजनीतिक क्रियाकलाप उठान भएको देखिन्छ ।
२. सैद्धान्तिक आधार
लघुकथा साहित्यको उपविधा हो । जीवन जगत्को एउटा प्रवाहमा जमेको घटनालाई शृङ्खलाबद्ध रूपमा गद्य भाषाका माध्यमबाट कुतूहल, कलात्मक सिर्जना गर्दै चोटिलो समापनका साथ छोटो आयाममा प्रस्तुत गरिएको रचना लघुकथा हो (श्रेष्ठ : २०७७, पृष्ठ १५)। लघुकथा आख्यानको लघुरूप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तत्वका कारण यो आफैमा पूर्ण हुन्छ । लघुकथाका तत्व भनेको लघुकथा लेखनका लागि आवश्यक पर्ने साधन हो । लघुकथाका अध्येताहरूले लघुकथा लेखनमा प्रयोग हुने विभिन्न अङ्ग वा साधनहरूको चर्चा गरी लघुकथाका तत्वको निरूपण गरेका छन् । तिनै तत्वमध्ये यस अध्ययनमा विषयवस्तु/कथानक, चरित्र, परिवेश, भाषाशैली, उद्देश्य र शीर्षक (श्रेष्ठ : २०७७, पृष्ठ १७) का आधारमा संवैधानिक पत्नी लघुकथासङ्ग्रहको अध्ययन गरिएको छ ।
२.१ विषयवस्तु

लघुकथाका लागि कथानकमा आउने घटनाले विषयवस्तुको निर्धारण गर्दछ । अतः विषयवस्तुअनुरूप प्रवृत्ति निरूपणका लागि कृष्ण बजगाईँद्वारा लेखिएको संवैधानिक पत्नी लघुकथासङ्ग्रहको विषय यहाँ प्रस्तुत गरिएको छ । उनको यसमा सङ्गृहीत लघुकथामध्ये अनौठो सम्बन्धबाहेक अरूमा स्वदेश अर्थात् नेपालभित्रकै राजनीतिक, सामाजिक, पारिवारिक समस्या प्रस्तुत छ । उनको यस सङ्ग्रहका लघुकथालाई विषयवस्तुका आधारमा यस प्रकार छुट्याउन सकिन्छ :

२.१.१ राजनीतिक विषयसँग सम्बन्धित लघुकथा

प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने, राज्यको शासन प्रणाली र राज्य एवम् प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्तसँग सम्बन्धित विषय (२०७५, पृष्ठ१०७०) राजनीतिक हुन् । कृष्ण बजगाईँको ‘कमरेडको अन्तर्वार्ता’मा राजनीतिक विषय प्रस्तुत छ । यस लघुकथामा प्रगतिवादी नेता र पत्रकारलाई पात्र बनाइएको छ । यसमा कम्युनिस्ट नेताको बोलाइ र व्यवहारमा फरक देखिएपछि पत्रकारमा परेको मानसिक असर देखाइएको छ । यस लघुकथाले नेपालमा बढ्दो आयातित सिद्धान्त, द्वैधचरित्र बोकेका नेता, नेताकै झोला बोकेर माथिल्लो तहमा पुगेका पत्रकारको गलत समाचार र त्यसले पारेको समस्या देखाइएको छ । ‘अभियुक्त सङ्घ’ लघुकथाले नेपालको राजनीतिक पाटी र देशको चौथो अङ्ग न्यायालयसँग सम्बन्धित विषय बोकेको छ । न्यायालय निष्पक्ष संस्था हुनुपर्नेमा सत्ता पक्षको रखैल बन्दै गएको कुरा यसमा उल्लेख छ । ‘अपराधी प्रशिक्षण केन्द्र’ले नेपालको विद्यालय र विश्वविद्यालय अपराधी जन्माउने संस्थाका रूपमा रहेको कुरा बताएको छ । यसले नेपालबाट उत्पादित विद्यार्थीहरू नैतिकवान् र आदर्शवान् बन्न नसकेको भन्दै भ्रष्टाचारी, व्यभिचारी र अपराधी जनशक्ति उत्पादन हुनुमा शिक्षा दिने परिपाटी दोषी भएको कुरा आएको छ । यस लघुकथाले नेपालको शैक्षिक जनशक्ति बिग्रनुमा राजनीतिक पाटीको मातहतमा रहेको अपराधी प्रशिक्षण केन्द्रको भूमिका रहेको कुरा गरेको छ । यसप्रकार यस लघुकथाले राजनीतिक पाटीको संरक्षणमा शैक्षिक केन्द्र दर्ता भई विभिन्न राजनीतिक पाटीलाई अपराध गर्ने जनशक्ति दिइरहेको कुरा व्यक्त गरेको छ । ‘कुकुर ‘क’’ले नेपालको शैक्षिक विकृति विसङ्गतिमा राजनीतिक दलको स्वार्थ रहेको कुरा देखाएको छ । विद्यार्थीलाई असल चरित्र र सक्षम नागरिक बनाउनुभन्दा पनि राजनीतिक पाटीअनुसार शिक्षा दिन लागिपरेको कुरा यसमा आएको छ । आफनो देश, समाजका कुरा छाडेर अर्काको देशको राष्ट्रियता, देशप्रेम, संविधान, शासन सत्ता, कानुन, सामाजिक पद्धति भित्र्याउने राष्ट्र नक्कलपुर बन्ने कुरा ‘नक्कली’ लघुकथामा आएको छ । यस लघुकथाले नेपाल नक्कलपुर बनेको भनी व्यङ्ग्य गरेको छ । ‘स्वर्गमा किनबेच’मा इन्द्रले स्वर्गको सरकार चलाउन र सत्ता जोगाउन विभिन्न पदहरू थपेर राजनीति गरेको कुरा आएको छ । यस लघुकथामा नेपाललाई स्वर्गका रूपमा लिइएको छ भने इन्द्रलाई सरकार प्रमुख बनाइएको छ । ‘यातना प्रेम’मा नेपाली जनताले नेताबाट यातना पाए पनि आफ्नो नेतालाई जिताई सत्तामा पुर्‍याउन विदेशबाट स्वदेश र सहरबाट गाउँ पुगी मतदान गरेको कुरा उल्लेख छ । नेपाली जनताले नेताबाट प्राप्त हुने यातनालाई प्रेम ठानेको कुरा यसमा अभिव्यक्त छ । ‘कुर्सी उद्योग’ले नेपालमा अर्थोपार्जनका लागि खेतीपाती, उद्योग व्यवसायका लागि कुनै योजना बन्दैन तर सरकार, नेता र कर्मचारीहरूको कुर्सी जोगाउन योजना बनेको कुरा यसमा आएको छ । यसमा पदीय कुर्सीले नै अर्थोपार्जन भएको कुरा बताएको छ । यसले कुर्सीको उद्योग नेपालको प्रमुख व्यवसाय बनेको भनी आलोचना गरेको छ । ‘बेबकुफतन्त्र’ लघुकथामा भारत र चीन दुई ठुला राष्ट्रका बिचमा बेबकुफनगर रहेको कुरा गरेको छ । बेबकुफनगरका जनताले चलाख, बुद्धिमान् र वीर जाति भनेर आफूलाई चिनाए पनि जनता गरिब र नेता धनी रहेको कुरा यसमा आएको छ । विश्वका अन्य देश ज्ञान, विज्ञान र प्रविधिमा अगाडि बढे पनि बेबकुफनगरका जनता भने अन्धविश्वास र भाषणमा रुमलिएर अविकसित राष्ट्रका रूपमा रहेको बताइएको छ । स्वास्थ्य, शिक्षा जस्ता कुरादेखि लिएर शोषण, अन्याय अत्याचार भोगिरहेका बेबकुफनगरमा जनता बेबकुफ भएर नै बेबकुफलाई सरकारमा पठाई बेबकुफी शासनभित्र परेको भनी सिङ्गो राष्ट्रलाई यस लघुकथाले व्यङ्ग्य गरेको छ । ‘जोकतन्त्र’ले देश विकासमा योगदान गर्नुपर्ने अखबार, रेडियो, टेलिभिजन जस्ता सञ्चार माध्यम नेताहरूको जोक गर्ने मञ्च बनेको कुरा गरेको छ । यसका साथै नेपाली जनताले राजनीति र सरकार चलाउने कामलाई जोक गर्ने स्थानको रूपमा लिँदा देश विकास नभएको कुरा यसमा व्यक्त छ । यस लघुकथाले लोकतन्त्रलाई जोकतन्त्र बनाइएको कुरा व्यक्त गरी नेपालको लोकतन्त्रका बारेमा अध्ययन गर्न आउने अनुसन्धाता पनि जोकतन्त्रको रिपोर्ट सुनी हाँस्न बाध्य भएको कुरा आएको छ । ‘कुचो’ले आफ्नो स्वार्थ पूरा नभएपछि पाटी बदलेर वा पाटी फोरेर नयाँ पाटी बनाउने र कार्यकर्तालाई पशुलाई झैँ सङ्गठित गर्ने पाटीफोर नेताका दुश्चरित्र देखाइएको छ । ‘भद्र सहमति’ले भ्रष्टाचार, तस्करी, व्यभिचार जस्ता विकृति विसङ्गति भद्र सहमतिमा चल्ने गरेको कुरा गर्दै यसैका कारण देश विकृतिको भासमा परेको कुरा बताएको छ । ‘असन्तोषी जनता’ सरकार वा सत्ता पक्षको तर्फबाट लेखिएको लघुकथा हो । यस लघुकथाले हरेक जातजाति, विद्यार्थी, कर्मचारी, व्यापारी, कर्मचारी, चोर, डाका, तस्कर, व्यभिचारी, नेता, कार्यकर्ता, पत्रकार सबैलाई आवश्यकताअनुसार सुविधा दिँदा पनि सरकारको विपक्षमा नाराबाजी जनताले लगाएको भन्दै जनतालाई असन्तोषी भनेको छ । ‘धन्दा’ लघुकथामा विचित्रपुरलाई स्थानका रूपमा लिइएको छ । यस लघुकथाले विचित्रपुरलाई ऋण, अनुदान र सहयोगमा चल्ने राष्ट्र मानेको छ । नेताले उद्योगधन्दा स्थापना गर्ने कुरा गरी राजनीति गर्ने तर काम नगर्ने विचित्रपुरको विशेषता बनेको कुरा पनि यसमा आएको छ । यहाँ बस्ने हरेक क्षेत्रका पेसाकर्मी, बेरोजगारलगायत सबैले राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाएको कुरा पनि यस लघुकथाले गरेको छ ।

राजनीतिक विषयक लघुकथा लेख्ने क्रममा बजगाईँले ‘सहिद मन्त्रालय’मा सहिदपुरलाई स्थान बनाएका छन् । यस लघुकथाले नेपालमा जुनसुकै मन्त्रालय, कार्यालय भए पनि त्यहाँका जनशक्ति भ्रष्टाचारको योजना बनाउन निपुण रहेको कुरा गरिएको छ । ‘राजनीतिक सुप’मा २०४७ सालपछिको नेपालको छाडा राजनीति चित्रित छ । यस लघुकथामा नेपालका हरेक राजनीतिक पाटीले गरिब जनताको दुःख, गरिब, पीडा आदिका आँसु वा शक्ति लिएर सरकारमा प्रवेश गरेको बताउँदै जनतासँग भएका शारीरिक ऊर्जा पाटीलाई सरकारमा पुर्‍याउने क्रममा सकिएको कुरा बताएको छ । ‘समाजवादमा म्युजियम’ले भाषणपुरलाई स्थानका रूपमा लिएको छ । यस लघुकथाले समाजवादी सिद्धान्त कागज र भाषणमा सीमित राखी गरिबको बसोबास उठाएर राजनीतिक कर्मीको महल ठड्याउने राजनीति भएको कुरा बताएको छ । यस लघुकथाले समाजवादी मान्यता चित्र, तस्बिर, सिनेमा, किताबमा हेर्नमा सीमित रहेको कुरा गरेको छ । ‘भ्यु टावर’ले वैपरीत्य विकासप्रति औँला ठड्याएको छ । यसमा जनताको गाँस, बास, कपास, औषधी उपचार, रोजगार आदिका लागि काम गर्नुपर्ने तीनै मातहतका सरकारले भ्यु टावर निर्माणमा जोड दिएकोप्रति व्यङ्ग्य गरेको छ । पहाड नभएका सहर र देशमा उचाइमा बसेर गाउँ वा सहर हेर्न भ्यु टावर बनाइन्छ तर नेपालमा प्राकृतिक सुन्दरताले भरिएका उच्च पहाड हुँदाहुँदै सहर नियाल्न भ्यु टावर बनाउनु हास्यास्पद भएको कुरा यसमा आएको छ । मल्लकालीन समयमा जनताको घरमा भात पाक्यो कि पाकेन भनी थाहा पाउन अग्लो घर राजाले बनाएको कुरा गरी अहिले त्यो कुराको प्रयोजन नहुँदासमेत अग्लो टावर बनाएर नेपालको बजेट ध्वस्त पार्ने अवैज्ञानिक र अव्यावहारिक कार्य भएको कुरा यसमा उल्लेख छ । ‘प्रेमिल सपना’मा प्रेमगरलाई स्थान बनाइएको छ । यसमा पारिवारिक, सामाजिक, राष्ट्रिय एकताले भरिएको नेपालमा अरू द्वन्द्वमा फसेको राष्ट्र आई प्रेमनगरलाई द्वन्द्वनगर बनाइदिएको कुरा व्यक्त छ । ‘गँवार’मा राजनीतिक नेताहरूले सोझा गाउँलेमाथि शब्दका माध्यमबाट गरेको राजनीतिक शोषण प्रस्तुत गरेको छ । सहरको मापदण्ड नपुगी गाउँलेलाई सहरिया बनाएको नाममा थोपरिएको करलाई यसमा देखाइएको छ । ‘धर्मसङ्कट’ले नेपाली राजनीतिक कर्मको द्विविधाग्रस्त मानसिक स्थिति चित्रण गरेको छ । ईश्वर छैन भनी आफूलाई प्रगतिवादको कित्तामा राख्ने नेताहरूले आफूलाई अप्ठ्यारो पर्दा ईश्वरकै नाममा कसम खाएको कुरा यसमा आएको छ । ‘ऊर्जा’ले विद्यालयमा पढाइने नैतिक शिक्षाले नीतिवान् बनाउन नसकेको कुरा गरेको छ । विद्यार्थीले पढ्ने विषयमध्ये विज्ञानमा फोहोरलाई ऊर्जाका रूपमा प्रयोग गर्न सकिए पनि अन्य विषयमा फोहोरले बिगारिरहेको कुरा यस लघुकथामा आएको छ । समाज, धर्म, संस्कृति, राजनीति आदिमा फोहोरको हालीमुहाली चल्दा नैतिक विषयको पढाइ मित्थ्या बनेको कुरा यस लघुकथामा उल्लेख छ । ‘थुक’ले जनतामा आएको चेतना प्रस्तुत गरेको छ । यस लघुकथामा गरिब जनताको भोट माग्न पल्केका नेताले भोटको नाममा जनताको भविष्य, जीवन आदि लुटिरहेको अवस्था देखाएको छ । पाँच वर्षको अन्तरालमा जे जे छ त्यही दिनुहोस् भनी नेताले माग्दा जनताले आफूसँग बाँकी रहेको थुक दिएर आफैसँग भएको जनबलले चोट दिएको कुरासमेत यसमा व्यक्त छ । ‘मूर्ख सङ्घ’ले नेपालको राजनीतिक समस्या उठाएको छ । यस लघुकथामा नेताहरूले बुद्धिजीवीलाई सङ्गठित गरी मूर्ख बनाएको कुरा अभिव्यक्त गरेको छ । ‘चप्पल’ले गरिब, शोषित, पीडित जनतालाई चप्पलका रूपमा लिएको छ । यसमा चप्पल (सस्तो) र जुत्ता (महँगो) जे भए पनि त्यो व्यक्तिको पैतालाले थिचिने कुरा व्यक्त गरी नेपाली जनताले जस्तो जीवन भोगे पनि त्यो राजनीति गर्ने नेताको शोषणमा रहेको कुरा यसमा व्यक्त छ । ‘कमरेडको पेट’ले गरिब, निम्न, निमुखा वर्गको प्रतिनिधित्व गरी प्रगतिवादी नेता बनेका समूहप्रति व्यङ्ग्य गरेको छ । यस लघुकथाले नेपालमा पेटको राजनीति बढेको कुरा जनाएको छ । जनताको कुण्ठित हक अधिकारका लागि सत्तामा पुगेका नेताहरूले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका छन् । यी कुराको विरोध जनताले गर्दा गणतन्त्रलाई खतरामा पार्न नेता उद्यत बनेको कुरा पनि यसमा आएको छ ।

कृष्ण बजगाईँका कमरेडको अन्तर्वार्ता, अभियुक्त सङ्घ, कुकुर क, स्वर्गमा किनबेच, यातना प्रेम, कुर्सी उद्योग, जोकतन्त्र, कुचो, असन्तोषी जनता, धन्दा, सहिद मन्त्रालय, राजनीतिक सुप, समाजवादमा म्युजियम, प्रेमिल सपना, धर्मसङ्कट, थुक, मूर्ख सङ्घ, चप्पल, कमरेडको पेट आदि लघुकथा विशुद्ध राजनीतिसँग सम्बन्धित छन् भने बाँकीमा अन्य विषय सहकारी भएका छन् । उनका लघुकथाले देशको राजनीति अस्थिरता हुँदा त्यसले आर्थिक, सामाजिक, राष्ट्रियता जस्ता विविध विषयमा असर गर्ने कुरा गरेको छ । संवैधानिक पत्नी लघुकथासङ्ग्रहमा भएका उनका चवन्नओटा लघुकथाहरूमध्ये पच्चिसमा राजनीतिक विषय आएका छन् ।

२.१.२ एनजिओ (गैरसरकारी संस्था) विषयसँग सम्बन्धित लघुकथा

सरकारले गरेको काम नाफारहित ढङ्गले सञ्चालन गर्न खोलिएको संस्थालाई एनजिओ भनिन्छ । यसले सरकार पुग्न नसकेको गाउँसहर र समाजमा गई भौतिक र मानसिक चेतना बढाउने काम गर्दछ । यही एनजिओ सम्बन्धित भई लेखिएका लघुकथा यस शीर्षकमा राखिएका छन् । बजगाईँको ‘धर्मपत्नी’मा नेपालमा चेतना बढाउने क्रममा एनजिओले धर्मपत्नी जस्तो पवित्र शब्द, पवित्र बन्धन र आदर्श परिवार निर्माण गर्ने अचुक साधनसँग खेलवाड गरेको कुरा आएको छ । यसमा नारीलाई शब्दभित्र अल्झाएर नेपाली भाषा, संस्कृति, चालचलन र भद्रता एनजिओले बिगारेको कुरा उल्लेख छ । ‘महिला राज्य’मा एनजिओले महिला अधिकारका बारेमा बोल्दा पुरुषविहीन राज्य निर्माणमा दौडेको कुरा देखाइएको छ । यस लघुकथाले महिला चेतना, अधिकार, र सत्ताको नाममा सृष्टि प्रक्रियाको वैपर्यय गई पुरुषको विरोध भएको कुरा एकातिर उल्लेख गरिएको छ भने अर्कातिर सृष्टि प्रक्रियामा उत्तरआधुनिकतावादले नछुने कुरासमेत देखाइएको छ । ‘स्वर्गमा महिला सहिद’ले सहिदको अवमूल्यन भएको कुराप्रति चनाखो बन्नुपर्ने कुरा गरेको छ । यसमा स्वर्गमा समेत सहिदको सङ्ख्या बढ्ने क्रममा महिला सहिद पुगेको र एनजिओ चलाउने ती महिला सहिदले नारीप्रति विभेद भयो भन्दै आन्दोलन गर्न खोज्दा इन्द्रले चलाखीका साथ अप्सरा बनाई आन्दोलन साम्य गरेको प्रसङ्ग आएको छ । यस लघुकथाले एनजिओका कारण महिला अभिसारिका बनेको कुरा उल्लेख भएको छ । ‘छोरी उद्योग’ले छोरीको विषयलाई लिएर एनजिओले कमाउ धन्दा चलाइरहेको कुरा व्यक्त गरेको छ । ‘पुरुष सत्ता’ले नारी सशक्तीकरणका नाममा एनजिओले नेपाली दाम्पत्य परम्परा, परिवार, समाज र राष्ट्रको मेलमिलाप बिगारिदिएको कुरा बताएको छ । यस लघुकथामा एनजिओहरूले आफ्नो जागिर बचाउन, धन कमाउन र भौतिक सम्पत्ति कमाउनका लागि पुरुष सत्ताको विरोध गरेको कुरा आएको छ । ‘महिला क्लब’मा एनजिओले महिला सत्ता चलाउने नाममा पुरुष सत्ताको उग्र विरोध गरेको छ । पुरुषलाई वशीभूत गर्न विज्ञानको आविष्कारको सहयोग लिन मिल्ने तर विज्ञान र आविष्कारमा पुरुषको वर्चस्व रहेकाले यो कार्य तत्काल सफल नहुने सोच महिलामा देखिएको कुरा यसमा आएको छ । महिलाको यस्तो सङ्गठित र पुरुष कज्याउने उग्र स्वभावसँग पुरुष पनि सचेत बन्न खोजेको कुरा पनि यसमा उल्लेख गरिएको छ । ग्लोबल वार्मिङको नाममा नेपाली धर्म, संस्कृति, चालचलन, रीतिरिवाज, दाम्पत्य जीवन, परिवार, समाज र राष्ट्रमा भएको खण्डित राजनीतिको कुरा ‘ग्लोबल वार्मिङ’ले प्रस्तुत गरेको छ । एनजिओले विश्वमा बढ्दो ग्लोबल वार्मिङको असर भन्दै नेपाली परिवार, समाज र राष्ट्रलाई भताभुङ्ग पारी उत्तरआधुनिकतातिर लगेको कुरा यसमा आएको छ ।

२.१.३ सामाजिक विषयसँग सम्बन्धित लघुकथा

समाजसँग सम्बन्धित, समाजमा पाइने कुरीति, चलन, व्यवस्था आदिलाई सामाजिक भनिन्छ । कृष्ण बजगाईँको ‘महँगीको हत्या’ सामाजिक समस्यासँग सम्बन्धित छ । यसमा महँगीलाई मानवीकरण गरिएको छ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको महँगीले सबैलाई समस्या पारेको कुरा गरी सपनामा महँगीको हत्या हुँदा सपना देख्ने ऊ पात्र छट्पटिएको कुरा यसमा आएको छ । दैनिक जीवनमा कष्ट दिने महँगीको हत्या भएपछि महँगीबाट छट्पटिएकाहरूले हत्याराको प्रशंसा गरे पनि गृह मन्त्रालय, प्रहरी, न्यायाधीश, राजनीतिक पाटीका नेता र व्यापारीहरू विरोध गर्न थाल्दछन् । उनीहरू महँगीको हत्या गरिब, निमुखा र निम्न वर्गले गरेको कुरा गर्दछन् । सबैबाट हत्याराको विरोध भएपछि गरिब वर्गको उसलाई हत्याको आरोपमा फसिने चिन्ता बढ्छ । ऊ सपनामा पनि बर्बराएर आफूले हत्या नगरेको कुरा बताउँदा महँगीकै समर्थक घरभेटी कोठाभाडा लिन आउँछ र नदिए प्रहरी बोलाउने कुरा गर्छ । यस समय ऊ पात्र अर्धचेतन अवस्थामा हुन्छ । एकातिर घरभेटीको उपस्थितिसँगै आएको प्रहरी शब्द अर्कातिर सपनामा सबैले महँगीको हत्यारा पक्रने भनी गरेको कुराले उसलाई छुन्छ । यस स्थितिमा आफूले हत्या नगरेको कुरा बताउँदा महँगीको रूप घरभेटी भाग्छ । यस लघुकथामा एकातिर महँगीले गरिबलाई पारेको मनोवैज्ञानिक समस्या प्रस्तुत छ भने अर्कातिर महँगीको कारणले बढ्न सक्ने हत्या आत्महत्या प्रकरण उजागर भएको छ । ‘ई–भिक्षा’ले सामाजिक, राजनीतिक, प्रशासनिक, धार्मिक, व्यापारिक क्षेत्रका विसङ्गति देखाएको छ । बिस वर्षको समयावधिमा पनि नेपालले प्रगति गर्न नसकेको कुरा यसमा आएको छ । एनआरएन लामो समयपछि नेपाल आउँदा एरपोर्टदेखि लिएर होटल र पशुपतिको मन्दिरमा समेत ठगिएको कुरा यसमा आएको छ । यस लघुकथाले बिस वर्ष पहिले भिखारीले माग्ने गरेकोमा अहिले सभ्य, युवक, सम्पन्न व्यक्तिहरू नै सङ्गठित भई माग्न थालेको कुरा गरेको छ । नेपालको ठगीलाई यस लघुकथाले देखाएको छ । ‘पत्नीपूजा’ले अनविज्ञ रहेर नै मानिसले मानिसको प्रवृत्ति नक्कल गरिरहेको कुरा गरेको छ । पतिले पत्नीलाई अरू कसैको बन्न नदिन पूजा गर्दा गाउँसमाजले तिनको नक्कल गरेको कुरा यसमा आएको छ ।
‘पात्रहरू’ले संसारका हरेक वस्तुको स्थायीत्व नभएको कुरा गरेको छ । कथामा आउने पात्रहरूलाई लेखकले समान स्तरमा प्रस्तुत नगार्दा पात्रहरू रिसाएको कुरा यसमा एकातिर उल्लेख गरिएको छ भने अर्कातिर कथाका पात्र लेखकको हातमा हुने भएकाले मेटिएर जाने कुरासमेत आएको छ । यस लघुकथामा साहित्यमा भएका पात्रको मनसायलाई पढेर पनि आफूमा लागु गर्न नसक्ने बरु लेखककै विरोध गर्ने समाजका पात्रहरूको प्रवृत्ति उजागर गरिएको छ । यसका साथै लेखकलाई ईश्वर र पात्रलाई प्राणीको रूपमा लिई ईश्वरले प्राणीलाई कर्मका लागि खटाएको र ईश्वरले चाहे प्राणीको मृत्यु हुनसक्ने कुरा पनि यसमा प्रस्तुत छ । यसमा व्यञ्जनात्मक अभिप्राय आएको छ ।

२.१.४ यौनिक विषयसँग सम्बन्धित लघुकथा

पुरुष र स्त्रीसँग सम्बन्धित मैथुन क्रिया, यौन, सम्भोग, बलात्कार, यौन आवश्यकता पूर्ति नहुँदा देखिने समस्या (२०७५, पृष्ठ१०७०) यौनिक हो । कृष्ण बजगाईँको ‘सम्बन्ध मर्मत’ लघुकथा यौनिक विषयसम्बद्ध छ । आश्रममा बसेर बाबाले नैतिक ज्ञानका उपदेश दिए पनि भित्रभित्रै नारीलाई बलात्कार गरेको कुरा एकातिर आएको छ भने अर्कातिर बाबाकै कारण नारीको घर मजबुत बनेको कुरा देखाइएको छ । यसले कुनै पनि व्यक्ति सामान्य हेराइमा दोषी रहे पनि यथार्थमा निर्दोष रहने कुरा गरेको छ । ‘अनौठो सम्बन्ध’मा बायोसेक्सुअलको कुरा आएको छ । यस लघुकथामा लन्डनलाई स्थानका रूपमा लिइएको छ । बायोसेक्सुअलसँग शारीरिक सम्बन्ध राखेर यौन सन्तुष्टि लिएका युवा युवतीको आपसमा बिहे भएपछि बायोसेक्सुअलले चाहिँ आत्महत्या गरेको कुरा यसमा आएको छ । ‘परास्त’ले महिलाहरूको यौनेच्छा तृप्त गराउन नसकेका पुरुषको मनमा उत्पन्न हीनताबोध देखाएको छ । यस लघुकथाले महिलाको काम वासनालाई तृप्त गराउन नसक्ने पुरुषको सङ्ख्या अधिक रहेको तर पुरुषले ती कुरा दमन गरिरहेको कुरा उठाइएको छ ।

२.१.५ पारिवारिक विषयसँग सम्बन्धित लघुकथा

परिवार सम्बन्धित र परिवारमा गरिने काम कुरालाई (२०७५, पृष्ठ ७६८) पारिवारिक भनिन्छ । कृष्ण बजगाईँको ‘पत्नी पुराण’मा आफूमाथि अन्याय अत्याचार परेको नारी (जेठी पत्नी) ले पत्नी पुराणको तुल टाँगी धर्मका नाममा सबैलाई उपस्थित हुन बाध्य बनाई लोग्नेको बद्ख्वाइँ गर्न सफल भएको कुरा आएको छ । यसमा नारी विद्रोहको परिमार्जित क्रियाकलाप प्रस्तुत छ । ‘सन्नाटा १’ले पत्नीको सुखेच्छा पुर्‍याउँदै जाँदा विदेशमा परिवारसहित पुगेको पतिले पुर्ख्यौली सम्पत्तिसमेत ससुरालीमा बुझाएको र आफू अपहेलित भई नेपालको पशुपतिमा आएको कुरा उल्लेख छ । यसले पुरुषको भाग्य र सुख नारीमा रहने कुरा एकातिर गरेको छ भने अर्कातिर घरबारविहीन अवस्थामा पनि नेपालीलाई भोलेनाथले साथ दिएको कुरा व्यक्त भएको छ । ‘सन्नाटा २’ले कुनै पनि आपराधिक घटनाभित्र अपराध गराउने सूक्ष्म उत्तेजित भूमिका हुने कुरा गरेको छ । यसमा श्रीमतीको चाहना पूरा गर्न ससुरालीका लागि सम्पत्ति, समृद्धिका आधार, शरीरका अङ्ग दिँदा पनि चित्त नबुझेको र पत्नीले भौतिक तथा शारीरिक आवश्यकता पूरा गराउन नसक्दा बेसहारा बनाइदिएको कुरा आएको छ । यस लघुकथाले दिएर सकेपछि लोग्नेले पत्नीको ज्यान लिएको कुरा आएको छ । ‘अतिरिक्त आम्दानी’ले पठो लोग्नेको हुर्मत लिएको छ । यसमा श्रीमतीले पैसा कमाएर ल्याउँदा खुसी भएर श्रीमतीका बारेमा ध्यान नपुर्‍याउने लोग्नेले श्रीमतीलाई नै देह व्यापारका लागि लैजाने गरेको कुरा आएको छ । यसमा लोग्नेलाई कुराले धोका दिने महिलाको प्रवृत्ति देखाई भारतमा बेचिएको कुरा एकातिर आएको छ भने अर्कातिर पत्नीका बारेमा ध्यान नदिने तर पैसा पाउँदा खुसी हुने पुरुषले आत्मसम्मान गुमाउँदा परेको पीडा व्यक्त भएको छ ।
‘दाइजो’ले माइती गएर आएपछि घरमा झगडा गर्ने लोग्ने स्वास्नीको प्रवृत्ति र कारण देखाएको छ । यसमा अरू समय झगडा नगर्ने तर श्रीमती माइत गएर आएपछि दाइजोका रूपमा झगडा बोकेर ल्याउने गरेको कुरा आएको छ । यस लघुकथाले घर झगडा हुनुमा माइतीको उचालपछार जिम्मेवारी रहेको कुरा बताइएको छ । ‘विवाहपछिको प्रेम’ले अर्काकी श्रीमती र अर्काको श्रीमान्सँग प्रेम गर्दा आफ्नै दाम्पत्य जीवनमा धोका हुने कुरा बताएको छ ।‘आँखाको नानी’ले विचलनयुक्त नेपाली परिवार देखाएको छ । बाबुआमाले छोरालाई आँखाको नानीका रूपमा हेरे पनि बुहारी भित्रिएपछि आमाबाबु बेघरबार, आश्रयहीन र मानसिक रूपमा रोगी बनेको कुरा यसमा छ । ‘पीडित पति’ले वर्तमान आधुनिक समाजमा नारी अधिकारले पुरुष पीडितको सङ्ख्या बढेको कुरा देखाएको छ । पति पीडित भए पनि पत्नीकै र सामाजिक अवगालका कारण पुरुषहरू हीनताबोधको सिकार भएको कुरा यसमा आएको छ ।

२.१.६ न्याय तथा कानुनी विषयसँग सम्बन्धित लघुकथा

मुद्दामामिलाका विभिन्न प्रमाण बुझी वादी प्रतिवादी कुनै एक पक्षमा गरिने फैसला (२०७५, पृष्ठ ७०९) न्याय हो भने कानुनसँग सम्बन्धित वा कानुनमा भएको र कानुनले बाँधिएको (२०७५, पृष्ठ २१०) कुरा कानुनी हो । कृष्ण बजगाईँको संवैधानिक पत्नी लघुकथासङ्ग्रहमा न्याय तथा कानुनी क्षेत्रसँग सम्बन्धित लघुकथा पनि रहेका छन् । उनको ‘संवैधानिक पत्नी’ कानुनी तथा न्याय विषयक लघुकथा हो । यसैबाट सिङ्गो कृतिको नामकरण भएको छ । यसमा नेपालको संविधानले नारीलाई एकलौटी अधिकार दिँदा आएको समस्या प्रस्तुत छ । लोग्ने स्वास्नी भएपछि एकले अर्काको विभिन्न आवश्यकता पूरा गर्नुपर्छ । तिनै आवश्यकतामध्ये एक यौन सन्तुष्टि पनि हो तर यौन इच्छा पूरा गर्ने क्रममा आफूलाई लोग्नेले बलात्कार गरेको आरोप पत्नीले लगाएका कारण लोग्ने सजायको भागी बनेको कुरा यसमा आएको छ । यस लघुकथाले एनजिओको उचालपछार र कानुनी आधारका कारण आफ्नै स्वास्नीसँग सहवास गर्ने लोग्ने बलात्कारी बनेको कुरा आएको छ । ‘नामर्द’ले नेपालमा बनेको महिला मुक्तिको एकोहोरो कानुनले निरपराधी पुरुष कानुनको चङ्गुलमा फसेको कुरा व्यक्त गरेको छ । महिलाले चाहेमा यौन सम्पर्क वैध हुने र नचाहेमा पुरुष बलात्कारी बन्न सक्ने स्थिति यस लघुकथामा आएको छ । यस लघुकथाले कानुनको जथाभाबी प्रयोगले पारिवारिक सद्भाव बिग्रिएको कुरा गरेको छ । ‘पुरुष भाग्य’मा महिलाले चाहेको खण्डमा जुनसुकै पुरुषलाई बलत्कारीका रूपमा फसाउन सक्ने कुरा एकातिर गरेको छ भने अर्कातिर बलात्कारी पुरुषलाई सजाय दिने नाममा उसकै घरमा भएका पत्नी र छोराछोरीको दुरवस्था हुने कुराप्रति सोच निर्माण गर्न आवश्यक रहेको बताएको छ । यसका साथै बलात्कार पीडितलाई न्याय दिन जाने पुरुष पनि बलात्कारीका आरोपमा भिडबाट उम्कन नसक्ने कुरा यसमा आएको छ । यस लघुकथाले पुरुषको भाग्य महिलामा निर्भर रहेकाले कुन पनि बेला पीडित बन्ने कुरा गरेको छ । ‘गोप्य’ले जनताबाट कुरा गोप्य राखी काम गर्ने संस्था दिनप्रतिदिन बढ्दै गएको कुरा गरेको छ । देशमा गोप्य रूपमा संस्था दर्ता गरी गोप्य संस्थाकै नाममा नेता, सरकार र न्यायाधीश समेतले भ्रष्टाचार गर्ने गरेको कुरा यसमा आएको छ । यसका साथै गोप्य रूपमा नै न्यायालयले कारबाही गरी अपराधीलाई मुक्त गराएको कुरा समेत यसमा प्रस्तुत छ ।

२.१.७ अन्य विषयसँग सम्बन्धित लघुकथा

माथिको २.१.१ देखि २.१.६ उपशीर्षकभन्दा बाहेकका विषयमा लेखिएका लघुकथालाई यस अध्ययनमा अन्य विषय मानिएको छ । कृष्ण बजगाईँको ‘अन्तिम इच्छा’ लघुकथाले मृत्युको मुखमा पुगेका बिरामीहरूको माध्यमबाट मानिसको अचेतन मनमा रहने रिस, राग, लोभ र मोहलाई चित्रण गरेको छ । यस लघुकथाले जीवनभर लोभ गर्ने व्यक्तिमा मृत्युको क्षण आए पनि लोभ परास्त नहुने कुरा अभिव्यक्त गरेको छ । ‘अन्तरङ्ग’ले मानिसको आदिमता व्यक्त गरेको छ । नागा बाबा प्रत्यक्ष रूपमा नग्न देखिँदा सबैलाई लाज सरम लागे पनि यथार्थमा हरेक मानिस नाङ्गिएको कुरा यसमा आएको छ । मानिसले लाज छोप्न अनेक किसिमका वस्त्र धारण गरे पनि यथार्थमा मानिसको चरित्र वस्त्रले नछोप्ने कुरा नागा बाबालाई प्रतीक बनाई यस लघुकथामा अभिव्यक्त भएको छ ।

लघुकथाकार कृष्ण बजगाईँ पेटका लागि विदेश पलायन भएका साहित्यकार हुन् । उनी विदेशमा रहे पनि उनको हृदय र मस्तिष्क नेपालमा रहेको छ । उनका लघुकथाहरूमध्ये अनौठो सम्बन्धबाहेक अरूमा विदेशलाई परिवेश नबनाएका कारण पनि यो कुरा प्रमाणित हुन्छ । उनको सैवैधानिक पत्नी लघुकथासङ्ग्रहमा राजनीतिक चिन्तन वा धरातल भएका लघुकथा अत्यधिक छन् भने त्यसपछि एनजिओको प्रभावले देश, समाज र परिवारमा ल्याएका अस्थिरता र मनोमालिन्य प्रस्तुत भएका लघुकथाहरू छन् । उनका कतिपय लघुकथामा खास क्षेत्र आए पनि प्रायः मा राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, गरिबी, भ्रष्टाचार, बेथिति जस्ता विषय सहकारी भएर आएका छन् । उनले आफ्ना प्रत्येक लघुकथाको आदि स्थानमा अनेक क्षेत्र, व्यक्ति आदिमा देखिएका विविध विकृति विसङ्गतिलाई प्रस्तुत गरी मध्य स्थानमा तिनलाई कसिलो बनाउँदै अन्तमा खास समस्या उजागर गर्दै समापन गरेका छन् । यस आधारमा उनका लघुकथा लेखनको संरचना सोली आकारका छन् ।

२.२ चरित्र
कृष्ण बजगाईँको सैवैधानिक पत्नी लघुकथासङ्ग्रहमा व्यक्तिवाचक नाम प्रयुक्त भएका पात्र कम छन् । उनका लघुकथाहरूमध्ये ‘स्वर्गमा महिला सहिद‘ र ‘स्वर्गमा किनबेच’मा इन्द्र (व्यक्तिवाचक नाम र पौराणिक पात्र) छन् भने ‘नक्कली’, ‘प्रेमिल सपना’मा ऊ पात्र छ । उनका बाँकी लघुकथामा नेता–जनता, पुरुष/लोग्ने–नारी/स्वास्नी, प्रेमी–प्रेमिका, दाता, कर्मचारी, लेखक, पत्रकार, बुद्धिजीवी, कार्यकर्ता, विद्यार्थी, शिक्षक, नागाबाबा, गाउँले, न्यायधीश जस्ता पात्रहरू छन् । उनका लघुकथाहरूमध्ये लन्डनको परिवेशमा घटित ‘अनौठो सम्बन्ध’मा नेपाली पात्र छन् भने यस कथामा बायोसेक्सुअललाई पनि पात्रका रूपमा राखेका छन् भने ‘पुरुष भाग्य’मा तेस्रो लिङ्गी पात्रको प्रयोग छ । त्यस्तै, उनले नेपाललाई नै परिवेश बनाई लेखेका लघुकथाहरूमध्ये ‘ई–भिक्षा’ र ‘यातना प्रेम’मा एनआरएन, ‘बेबकुफ तन्त्र’, ‘जोकतन्त्र’, ‘धन्दा’, ‘भ्यु टावर’, ‘प्रेमिल सपना’मा विदेशी अनुसन्धाता, दाता, पर्यटकलाई पात्रका रूपमा राखेका छन् भने ‘चप्पल’मा चप्पल र जुत्तालाई पात्र बनाइको छ । त्यसैगरी उनले एनजिओको विषयमा आएका लघुकथामा एनजिओ र त्यसका कर्मचारी (विदेशी पनि हुनसक्ने)लाई पात्र बनाएका छन् ।

लघुकथामा प्रयुक्त पात्र विधानका आधारमा कृष्ण बजगाईँको सैवैधानिक पत्नी लघुकथासङ्ग्रहभित्र खास समुदाय, वर्ग, जाति, लिङ्ग आदि समेट्ने गरी पात्र राखिएका छन् । यी पात्रका कारणले उनका लघुकथा पढ्दै जाँदा पाठक स्वयं लघुकथाको पात्र बन्दै गएको आभास हुन्छ । उनले विषयको प्रभाव व्यापक बनाउन, आफ्नो मौलिकता देखाउन, पात्रकै प्रयोगबाट परिवेश निश्चित गर्न यस किसिमको पात्र चयन गरेको देखिन्छ । समष्टिमा यस लघुकथासङ्ग्रहका सम्पूर्ण पात्र विषयवस्तु र परिवेशअनुसार राखिएका छन् ।

२.३ परिवेश
कृष्ण बजगाईँको संवैधानिक पत्नी लघुकथासङ्ग्रहमा रहेका लघुकथाहरूमध्ये ‘अनौठो सम्बन्ध’मा लन्डनको अपार्टमेन्ट, ‘स्वर्गमा महिला सहिद’ र ‘स्वर्गमा किनबेच’मा स्वर्गलाई स्थानका रूपमा राखिएको छ । उनको स्वर्गमा महिला सहिद, स्वर्गमा किनबेचमा परिवेशगत स्थान स्वर्ग आए पनि यसले लक्षणामा प्राकृतिक सुन्दरताले भरपूर नेपाल प्रस्तुत गरेको छ । यसका साथै ‘भद्रसहमति’मा भद्रपुर, ‘धन्दा’मा विचित्रपुर, ‘सहिद मन्त्रालय’मा सहिदपुर, ‘समाजवादको म्युजियम’मा भाषणपुर, ‘प्रेमिल सपना’मा प्रेमीनगर जस्ता कृत्रिम स्थान देखाइएको छ । लघुकथामा आएका यी स्थानले प्रकारान्तरमा नेपाललाई जनाउँदै व्यङ्ग्य गरेको छ । यसका साथै अन्य लघुकथामा विषयवस्तुअनुसारका परिवेश छन् । समयका आधारमा उनका लघुकथाका विषयले २०६२/६३ पछिको गणतान्त्रिक प्रजातन्त्रपछिको राजनीतिक, सामाजिकदेखि अन्तर्राष्ट्रिय गतिविधि समेतलाई परिवेश बनाएको छ । यसै आधारमा उनका लघुकथामा नेपालको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, पारिवारिक, न्यायिक क्षेत्रमा देखिएका समस्या, विकृति, बेथिति, विसङ्गति, विदेशीमूलको प्रभाव, अन्तर्राष्ट्रिय चलखेलका कारण देखिएका समस्या परिस्थितिका रूपमा आएका छन् । उनले ज्ञान, विज्ञान, उत्तर आधुनिकतावादी संस्कार र विदेशी चलखेलबाट देश मुक्त नभएका कारण नै नेपालमा समस्या देखिएको कुरा बताएका छन् । त्यसैले विषयलाई यथार्थ र विश्वसनीय बनाउन उनका लघुकथाले उठान गरेका परिवेश सान्दर्भिक छ ।
२.४ भाषाशैली
कृष्ण बजगाईँको संवैधानिक पत्नी लघुकथासङ्ग्रहमा रहेका लघुकथाहरूमध्ये सबैभन्दा धेरै ‘कमरेडको पेट’मा २७३ शब्द छ भने धर्मसङ्कटमा सबैभन्दा कम १२१ शब्द छ । त्यसैले शब्द गणनाका आधारमा यिनका लघुकथाको आयाम मानक देखिन्छ । उनको यस लघुकथासङ्ग्रहमा रहेका कथाहरूमा आदि, मध्य र अन्तको क्रम शृङ्खलित छन् । त्यसैले यिनका लघुकथा रैखिक र सरल छन् । उनले आफ्ना प्रत्येक लघुकथाको आदि स्थानमा अनेक क्षेत्र, व्यक्ति आदिमा देखिएका विविध विकृति विसङ्गतिलाई प्रस्तुत गरी मध्य स्थानमा तिनलाई कसिलो बनाउँदै अन्तमा खास समस्या उजागर गर्दै समापन गरेका छन् । यसै कारण प्रस्तुतिका आधारमा यिनका लघुकथा सोली आकारका छन् ।
बजगाईँले ‘स्वर्गमा महिला सहिद’, ‘स्वर्गमा किनबेच’, ‘पात्रहरू’ र ‘चप्पल’ लघुकथाहरूमा बिम्ब र प्रतीकको उत्कृष्ट प्रयोग गरेका छन् भने ‘महँगीको हत्या’, ‘अभियुक्त सङ्घ’, ‘अपराधी प्रशिक्षण केन्द्र’, ‘महिला राज्य’, ‘स्वर्गमा महिला सहिद’, ‘स्वर्गमा किनबेच’, ‘सहिद मन्त्रालय’, ‘राजनीतिक सुप’, ‘समाजवादको म्युजियम’, ‘महिला क्लब’, ‘पात्रहरू’ आदिमा काल्पनिकताको प्रयोग गरेका छन् । उनले ‘प्रेमिल सपना’, ‘नक्कली’ र ‘महँगीको हत्या’मा यथार्थ घटनालाई सपनाको माध्यमबाट देखाएका छन् । यिनमा अवचेतन मनोविज्ञानको प्रयोग छ । उनले आफ्ना लघुकथामा सूक्ष्म घटनालाई पनि मूर्त रूपमा प्रस्तुत गरेका छन् ।
बजगार्इँको यस सङ्ग्रहका लघुकथाहरूमध्ये ‘पत्नीपूजा’, ‘स्वर्गमा किनबेच’, ‘बेबकुफतन्त्र’, ‘राजनीतिक सुप’, ‘समाजवादको म्युजियम’ र ‘प्रेमिल सपना’मा वर्णनात्मक/निबन्धात्मक शैली रहेको छ भने ‘कमरेडको अन्तर्वार्ता’, संवैधानिक पत्नी’, भद्र सहमति’, असन्तोषी जनता’, ग्लोबल वार्मिङ’मा विवरणात्मक शैलीको प्रयोग छ । उनका ‘महँगीको हत्या’, ‘स्वर्गमा महिला सहिद’ ‘कुर्सी उद्योग’, ‘भद्र सहमति’, ‘धन्दा’, ‘भ्यु टावर’, ‘आँखाको नानी’, ‘मूर्ख सङ्घ’, ‘चप्पल’, ‘कमरेडको पेट’ जस्ता कथाको अन्त्य संवादबाट भएका छन् । यी लघुकथामा खुला समापन रहेको छ । यी बाहेक अन्य लघुकाथको अन्त वर्णन र बन्द समापनबाट भएका छन् भने ‘सन्नाटा १’, ‘सन्नाटा २’, ‘विवाहपछिको प्रेम’, ‘महिला क्लब’, ग‘ँवार’ जस्ता लघुकथा संवादबाट सुरु भई वर्णनमा अन्त्य भएका छन् । ‘स्वर्गमा महिला सहिद’, ‘धन्दा’, ‘भ्यु टावर’, ‘आँखाको नानी’, ‘चप्पल’, ‘कमरेडको पेट’ लघुकथाचाहिँ वर्णनबाट सुरु भई संवादमा समापन भएका छन् । उनका ‘अभियुक्त सङ्घ’, ‘अपराधी प्रशिक्षण केन्द्र’, ‘कुकुर क’’, ‘ई–भिक्षा’, ‘अनौठो सम्बन्ध’, ‘पत्नी पुराण’ जस्ता २६ ओटा लघुकथाका भने आदि भागमा वर्णन, मध्य भागमा संवाद र अन्तमा पुनः वर्णन आएका छन् । यसरी हेर्दा उनका लघुकथामा घटना वर्णनकै प्रयोग अधिक छ ।
कृष्ण बजगाईँको यस सङ्ग्रहका लघुकथाहरूमा तृतीय पुरुष (बाह्य) दृष्टिविन्दुको प्रयोग छ । देशले परदेशी बनाएको तर मनमुटु भने स्वदेशतिर भएको लघुकथाकार कृष्ण बजगाईँले विदेशमा बसेर नेपालको राजनीतिक, सामाजिक, धार्मिक, पारिवारिक दुर्दसा नियालेर यो लघुकथाङ्ग्रह तयार गरेको देखिन्छ । आफूले नजिकबाट आफैलाई नियालेर सबल र कमजोरी हेर्नुभन्दा टाढा बसेर हेर्दा धेरै स्पष्ट र राम्रो देखिन्छ । यदि यस सन्दर्भलाई उपयुक्त ठान्ने हो भने बेलायतमा बसेर नेपाललाई हेरी लेखिएका कारणले गर्दा उनका लघुकथाहरूले नेपालका सबल र कमजोरी दुवै पक्ष देखाई सुधारका लागि चेतना देखाएका छन् । यो पनि उनको लघुकथा लेखनको प्रवृत्ति नै बनेको छ । उनका लघुकथामा विषयवस्तुको हेराइ, प्रस्तुति, घटना मिलान शैली मौलिक देखिन्छ । यही सामर्थ्यले उनलाई घटनाको सूक्ष्म पर्यावलोकन गरी सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने लघुकथाकार बनाएको छ ।
२.५ उद्देश्य
कृष्ण बजगाईँको संवैधानिक पत्नीका लघुकथाहरू २०६२/६३ पछि नेपालमा बढ्दो पश्चिमीकरण, विदेशी हस्तक्षेप आदिलाई विषय बनाई लेखिएका छन् । सामान्य रूपमा उनका लघुकथाले राजनीतिक, सामाजिक, प्रशासनिक, पारिवारिक, न्यायिक क्षेत्रमा देखिएका समस्यालाई प्रस्तुत गरेको छ भने विशिष्ट रूपमा हेर्दा एनजिओ/आइएनजिओमार्फत नेपालमा बढ्दो विदेशी हस्तक्षेप र यसले नेपालको दाम्पत्य, पारिवारिक, धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक क्षेत्रमा पारेको प्रभाव देखाएको छ । उनका लघुकथाले देश ध्रुवताका आधारमा विभाजन उन्मुखतिर गएको कुरा देखाएको छ । एकातिर आन्तरिक कलहका कारण राष्ट्रियता कमजोर बन्दै गएको र अर्कातिर विदेशी खुला हस्तक्षेपका कारण नेपालको सर्वोच्च संस्था कार्यपालिका, न्यायपालिकामा समस्या देखिन थालेको कुरा उनले उल्लेख गरेका छन् । उत्तरआधुनिकतावादी सोच, चिन्तन, बल, ज्ञान आदिका कारण नेपालको प्राकृतिक ज्ञान र विज्ञान निषेध बन्दै गएको कुरा पनि उनको लघुकथामा व्यक्त छ । उनले नेपाली समाज उत्तर आधुनिकताको मार्गमा लाग्दै गर्दा देश, समाज र परिवार भ्रष्ट र नग्न बन्दै गएकोप्रति सचेत रहन आग्रह लघुकथाका माध्यमबाट बताएका छन् । उनले व्यक्तिगत चिन्तन र अचेतन मनले पनि सामाजिक र राष्ट्रिय समस्या बढाउँदै लगेको कुरा उल्लेख गरेका छन् । समष्टिमा उनका लघुकथाले नेपाली गरिब जनतादेखि सरकारका नायकसम्मलाई राष्ट्र, राष्ट्रियता र यससँग जोडेर आउने हरक्रियाकलापमा सचेत रही मौलिक राष्ट्र बनाउन चेतना दिएको छ ।

२.६ शीर्षक
कृष्ण बजगाईँको संवैधानिक पत्नी लघुकथासङ्ग्रहमा रहेका चवन्न लघुकथाहरूमा नै विषयलाई आधार मानी शीर्षक राखिएका छन् । उनका लघुकथाको शीर्षकले आदिदेखि अन्तसम्मको विषयलाई बहन गरेको छ । उनका लघुथाहरूमध्ये ‘अपराधी प्रशिक्षण केन्द’्र, ‘स्वर्गमा महिला सहिद’मा तीन शब्दको शीर्षक छन् भने तिस ओटामा दुई शब्द र एक्काइस ओटामा एक शब्द प्रयोग गरी शीर्षक राखिएका छन् । उनका लघुकथाहरूमध्ये अभियुक्त सङ्घ, अपराधी प्रशिक्षण केन्द्र, स्वर्गमा किनबेच, कुर्सी उद्योग, आँखाको नानी, ऊर्जा, थुक, चप्पल आदिका शीर्षक प्रतीकात्मक छन् ।
३ निष्कर्ष
कृृष्ण बजगाईँ नेपाली लघुकथा लेखन विधाका स्वनामधन्य लघुकथाकार हुन् । उनले नेपाली राजनीतिक, सामाजिक, पारिवारिक, यौनिक तथा न्याय क्षेत्रमा देखिएका विकृति विसङ्गतिलाई विषय बनाई लघुकथा लेखेका छन् । उनका अधिकांश लघुकथा राजनीति र यसकै परिवृत्तमा रहेको छ । उनका लघुकथामा आदि, मध्य र अन्त्यको क्रम सोली आकारको छ । उनले लघुकथाका पात्रहरूलाई पेसा, वर्ग, समुदाय आदिका आधारमा वर्गीय प्रतिनिधित्व हुने गरी प्रयोग गरेका छन् । उनका कतिपय लघुकथामा काल्पनिक स्थान आए पनि नेपालको राजनीतिक, सामाजिक, पारिवारिक, न्यायिक क्षेत्र परिवेश छन् । उनका लघुकथाको पात्र रखाइ र परिवेश प्रयोगले घटनाको विषयलाई गम्भीर बनाएको छ । उनका लघुकथामा तृतीय पुरुष/बाह्य दृष्टिविन्दु प्रयोग भएका छन् । उनी लघुकथामा घटनाहरूको विवरण प्रस्तुत गरी ती घटनाले उत्पन्न गराएका समस्या र तिनका कारण पर्गेली आदि, मध्य र अन्त्यको क्रममा प्रस्तुत गर्दछन् । उनी लघुकथामा वर्णन र विवरणका माध्यमबाट घटना प्रस्तुत गरी संवादका माध्यमबाट द्वन्द्व उत्पन्न गराउँछन् र अन्तमा त्यसले पारेको प्रभाव देखाउँछन् । शैलीका कोणबाट उनका लघुकथाहरूमा विशिष्ट बनेका छन् भने उद्देश्यका दृष्टिले सचेत बन्ने र बनाउने प्रयास उनको यस सङ्ग्रहका कथाले गरेका छन् । उनका लघुकथाहरूमा बन्द समापनको मात्रा अधिक छ । उनका लघुकथामा विदेशी हस्तक्षेप, ज्ञान र विज्ञानका कारण नेपाली समाजको आस्था र धरोहर परिवर्तन भई विकृति उन्मुख बनेको कुरा उल्लेख छ । मूलतः उनका लघुकथाले राजनीतिक, सामाजिक विसङ्गति र बढ्दो पश्चिमीकरण देखाएको छ ।

सन्दर्भ सामग्रीसूचीः
.....................,(२०७५), नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
बजगाईँ, कृष्ण, (२०७७), संवैधानिक पत्नी, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
श्रेष्ठ शेखरकुमार, (२०७७), सृजनात्मक साहित्यको रूपमा लघुकथा लेखन, लघुकथाको सुगन्ध लघुकथा प्रधान पत्रिका, चितवन : नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क २, पृष्ठ १४–२२ ।
......................,(२०७८), लघुकथाको विधागत स्वरूप, लघुकथाको सुगन्ध लघुकथा प्रधान पत्रिका, चितवन : नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क ३, पृष्ठ १३–१९ ।

दक्षिणकाली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।