15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यथार्थको भ्रमका दृष्टिले राधा उपन्यास

कृति/समीक्षा बालकृष्ण लामिछाने April 30, 2022, 2:23 am
बालकृष्ण लामिछाने
बालकृष्ण लामिछाने

पृष्ठभूमि
राधा उपन्यासका उपन्यासकार कृष्ण धरावासीको मूल प्रवृत्ति लीलालेखन हो । लीलालेखन इन्द्रबहादुर राईद्वारा पूर्वीय अध्यात्मदर्शनलाई पनि मिलाएर प्रतिपादन गरिएको उत्तरआधुनिकतावादको पूर्वीय संस्करण हो ( धराबासीले होइन भनेका छन् ) । यो प्रवासमा जन्मियो र झापाका प्रतिभाशाली स्रष्टाका माझ तीव्रगतिमा मौलाइरहेको छ । धरावासीको राधा उपन्यासले मदन पुरस्कार प्राप्त गरेपछि लीलालेखनले आफ्नो यात्रा अवधिको उत्कर्षता प्राप्त गरेको हो । आज लीलालेखन नेपाली साहित्यको मूल चर्चेय बिषय बनेको छ । यहाँचाहिँ लीलालेखनले सत्य ठानेको यथार्थको भ्रमका दृष्टिले राधा उपन्यासलाई हेर्न खोजिएको छ ।

लीलालेखनले अध्यात्मदर्शनको भ्रम र मायावादबाट मुख्य प्रभाव ग्रहण गरेको छ । हाम्रा पौराणिक ग्रन्थहरुमा भ्रम उत्पन्न गराउने मायाजाल र लीलाका धेरै कथाहरु पाइन्छन् । इन्द्रबहादुर राईले कृष्णको रासलीलामा सोह्रहजार गोपिनीहरुले आफ्नो आफ्नो चाहनाअनुसारको कृष्ण प्राप्त गरेको उल्लेख गरेका छन् । कृष्ण त एउटै छन् तर एउटैलाई धेरै देखिन्छ । यो धेरै देखिनु भ्रम हो । हामी जुन कुरालाई यथार्थ र तथ्य भनेर भनिरहेका छौँ , बुझिरहेका छौँ , भोगिरहेका छौँ , त्यो यथार्थ होइन भ्रम हो ।
वस्तु यथार्थ नभएर वस्तुले व्यक्तिका मनमा उत्पन्न गर्ने प्रतिति नै यथार्थ हो । व्यक्तिले त्यसलाई कस्तो देख्छ र के धारणा बनाउँछ भन्ने कुराले नै प्रमुखता पाउँछ । वस्तु र घटनालाई व्यक्तिले आ आफ्नै प्रकारले लिने भएकाले सत्य पनि व्यक्तिपिच्छे फरक हुन्छ । त्यसैले गर्दा कसैलाई खराब लागेको कुरा कसैका लागि असल भइदिन्छ , कसैलाई बिकामे लागेको कुरा कसैका लागि कामलाग्ने भइदिन्छ । एउटै कुरामाथि व्यक्तिका हजारौँ दृष्टिकोण आउन सक्छन् । हामीले मन पराउने रङ्गहरु पनि फरक फरक छन् । व्यक्तिपिच्छे जीवनका परिभाषाहरु फरक फरक छन् । त्यसैले यथार्थ सार्वभौम छैन । वैयक्तिक छ । वस्तुले व्यक्तिमा पारेको भ्रमका कारणले नै यथार्थ वैयक्तिक बनेको हो ।

एउटै व्यक्तिले बनाएको वस्तुप्रतिको धारणामा पनि परिवर्तन आउँछ त्यसैलै यथार्थ सदा गतिशील छ । त्यही गतिशीलताका कारणले हिजोको मित्र आज सत्रु बनेर देखा पर्नसक्छ , अनि बषौँसम्म पूजा गरिराखेको देवता त ढुङ्गोमात्र रहेछ भन्ने पनि लाग्न सक्छ । बाँच्तै र अगाडि बढ्दै जाँदा आफ्नो सजिलोअनुसार देख्छ मानिसले सबै । त्यसैले जीवनमा रुढ कुरा केही छैनन् जीवनमा , सबै परिवर्तनशील छन् । सवै आवश्यकता अनुसार रुप गुण र तत्वमै भिन्न बन्छन् भन्ने धरावासीको धारणा छ ।

इन्द्रबहादुर राईका अनुसार बाँच्ने स्वार्थ सबै सबै स्वार्थको जड हो । उनी अगाडि भन्छन् “ हामी यहाँ हुनु र हामी बाँच्नका स्वार्थी हुनु एकै छ प्रकृतिमा । बाँच्ने स्वार्थ प्रकृतिबाट छ , प्रकृतिमै छ , प्रकृति हो । ” यसरी मानिसका सबै कार्य उसको बाँच्ने स्वार्थमा केन्द्रित भएका देखिन्छन् । आइपरेका परिस्थ्िितसँग जुझ्रदै बाँच्नुपर्दा मानिसले पलैपिच्छे आफ्नो रुपलाई परिवर्तन गरिरहनुपर्छ । अनि आफूले पहिले बनाएका धारणहरु र ठानेका सत्यहरु पनि परिवर्तन हुँदै जान्छन् । एउटै वस्तुलाई व्यक्तिले भिन्न ढङ्गले बुझ्दा बस्तुको विशेषतामा गतिशीलता आउँछ । त्यसैले वस्तुको परिभाषा सदाका लागि एउटै बन्दै बन्दैन । बस्तुले पहिने उत्पन्न गर्ने भ्रमभन्दा अहिले उत्पन्न गर्ने भ्रम फरक हुन्छ ।
हामी जीवनमा बाँच्ने खेल खेलिरहेका छौँ भन्ने राईको भनाइ छ । उनी “बाँच्नुको अर्थ बढ्नु , आफूमा गाँस र दिन थप्दै बढेर बाँच्नु ” भन्छन् । अर्थ मानिस बाँच्नका लागि मात्र बाँच्छ , गाँस र दिन थप्दै । उसले गर्छु भनेका र गरेका कार्यहरु खेल बराबरको महत्वका छन् , बाँच्ने खेलमा । ऊ मैले ठुलै काम गरेँ भन्ने भ्रममा हुन्छ । राईकै भनाइमा “यहाँ भ्रान्तिहरुको अभिनय छ क्रीडा छ , लीला छ ।

पूर्वीय अध्यात्म दर्शनले ” ब्रह्म सत्य जगत् मिथ्या “ भन्छ । लीलालेखनले पनि जगत्प्रतिको व्यक्तिको प्रतितिलाई मात्र सत्य मानेको छ । जगत् मिथ्या छ र हामीले बाँचेको जीवन पनि मिथ्या हो । हामी सम्पूर्णतः भ्रमपूर्ण जीवन बिताइरहेका छौँ । राई “जीवन जगत्को लीलानुसारी सङ्घर्षमा रत रहौँ ” भन्ने आव्हान गर्छन् । मानिस जीवनमा भ्रमपूर्ण सङ्घर्ष गर्छन् ।

लेखकले आफूले देखेको यथार्थलाई समायोजन गरी कृति तयार पार्छ । उसले त्यहाँ पुरानै विषयलाई पात्रद्वारा नवीकृत गरेको हुन्छ । लेखकको प्रस्तुतिमा समाजका आम मानिसले भागेको कुरा आएकाले अब उक्त कृति उसको मात्र होइन । संयोजनपछि उसको लेखक अस्तित्व समाप्त भएर ऊ पनि पाठककै भूमिकामा मात्र सीमित हुन्छ । त्यसपछि कृतिको पठनबाट हजारौँ विपठनहरु हुन्छन् र पाठहरु विनिर्मित हुन्छन् । अझ प्रष्टसँग भन्नुपर्दा कृतिले व्यक्तिमा पारेको फरक फरक भ्रमका कारणले कृतिको विपठन र विनिर्माण हुन्छ ।

हामीले देखेको , जानेको र बुझेको भनेको यथार्थको भ्रम मात्र हो । हामी जस्तो देख्छौँ , त्यसलाई यथार्थ मान्छौँ । त्यस्तो यथार्थ नितान्त वैयक्तिक र गतिशील हुन्छ । त्यही देखेको सत्यलाई साहित्यमा लेखिन्छ । पाठकले त्यसको विपठन गर्छ । पाठकले कृतिलाई आफ्नो सजिलो अनुसार जसरी बुझे पनि फरक पर्दैन । यसरी लीलालेखनले समालोचनाको खुला सीमा प्रदान गरेको छ ।

राधा उपन्यासमा यथार्थको भ्रम

पौराणिक आख्यानलाई समकालीन धरातल प्रदान गरी रचना गरिएको राधा उपन्यासमा मानिसले भ्रममा भुलेर नै जीवन बिताइरहेको हुन्छ भन्ने कुरा देखाइएको छ । उपन्यासको थालनीतिर नै कीचकबधको उत्खनन् गर्दा फेला पारिएका सामानहरुका प्रयोगकर्ताहरुका कुनै परिचय नपाइनुले ती मानिसहरुले भ्रमपूर्ण जीवन भोगेका थिए भन्ने कुरा सङ्केत गरिएको छ । यहाँ भनिएको छ , “ फुटेका भाँडाका टुक्राहरु , घरका पर्खालका इँटहरु , गहनाका अवशेषहरुबाहेक तिनलाई प्रयोग गर्नेहरुको कुनै दसी नहुँदो रहेछ । कत्रा कत्रा महारथी थिए होलान् , अहम् र आत्मगौरवका कति दम्भहरु थिए होलान् , नजिती नहने र सत्ता प्राप्तिका लिप्सा थिए होलान् । म कल्पना गरिरहेको थिएँ — त्यस युगका रुपसी नायिकाहरुको र युवानायकहरुको , प्रेम र समर्पणको , यौन र प्रसुतिको । ( राधा पृ—६ )

आज हामी जे प्राप्तिका लागि संसारमा लुछाचुँडी गरिरहेका छौँ र त्यो प्राप्त गरेर हामी महान बन्नेछौँ भन्ने हाम्रो भ्रम मात्र हो । भोलि हामीले बाँचेको युगको प्रमाण देखाउने भग्नावशेषबाहेक दसी नभेटिने दिन पनि आउने रहेछ । यसबाट लेखकले थालनीमा नै आज हामी जीवनलाई जस्तो ठानिरहेका छौँ र जे सोचेर रङ्घर्ष गरिरहेका छौँ त्यो भ्रम मात्र हो भन्ने मान्यता राख्दै अगाडि बढाएका छन् ।

राधा उपन्यासमा मुख्यतः पात्रले विताएका भ्रमपूर्ण जीवनलाई समुद्घाटन गरिएको छ । जीवनलाई भोग्दै र अगाडि बढ्दै जाँदा पात्रले सोच्ने , बुझ्ने र बाँच्ने तरिकामा भिन्नता देखा पर्दै जान्छ । सबै पात्रहरुले छल , अष्पष्टता र अज्ञानतामा आफूले बिताउनु परेको जीवनलाई भ्रमपूर्ण ठानेका छन् । सबै पात्रहरुले आजको आफ्नो सोचाइ , भावना , विचार र जीवन भोगाइलाई यथार्थ ठानेका छन् तर त्यो पनि समय र परिस्थितिसगैँ बदलिदै गएको छ । एउटा पात्रको सोचाइ , विचार र भावना अर्को पात्रसँग मिलेको छैन । राधा , कृष्ण , यशोदा , एकनशां आदि पात्रहरुका जीवनको यथार्थ र भ्रमलाई मुख्य रुपले उल्लेख गर्न सकिन्छ ।

राधा उपन्यासकी मुख्य पात्र राधा कृष्णकी बालसखा हुन् । बाल्यकालमा हरपल कृष्णसँगै रहेकी राधाका रहरहरु हुर्कँदै जाँदा कृष्णकी प्रेमिका बनेकी हुन् । उनी आफूसँग सधैँ नजिक रहने समवयी कुष्णसँग आकर्षित हुँदै जान्छिन् । “ कृष्ण कहिलेदेखि मन पर्न थाले वा उनीप्रति म कहिलेदेखि आकर्षित भएँ थाहा छैन तर मैले थाहा पाउँदा म कृष्णप्रति समर्पित भावले भरिएकी थिएँ । ” ( राधा पृ—२८ )ं भन्ने राधाको कृष्णप्रतिका समर्पण भाव पाइन्छ ।

कृष्णसँगको प्रेमको गहिराइमा डुब्दै जाँदा राधा कृष्णलाई सबथोक ठान्दै भन्छिन् “ म वास्तवमा कृष्णकै मुरली हुँ , उनैले बजाइरहेकी धुन । जतिबेला पनि उनकै स्मरण र ध्यान छ मनमा । उनकै रुप , आवाज , गति र बिम्ब छ इन्द्रियभरि । मेरो सोच , चिन्तन र कल्पना सबै उनीै हुन् । ( पृ —२२ )

कृष्ण पनि राधासँग उस्तै नै प्रेमभाव प्रदर्शन गर्छन् “ म त तिम्रै भरमा सारा संसार बिर्सिएर हिँडिरहेछु । तिम्रो साथ पाएपछि मर्नु बाँच्नुको के अर्थ छ ? जीवनले पूर्णताको खोजी गर्छ । पूर्णताको प्राप्तिपछि समय , स्थान , काल , जीवन केहीको पनि अर्थ रर्हदैन , सबै निरर्थक हुन्छन् । ( राधा पृ —२४ )
अव राधाका लागि उनको खुशी र सम्पूर्णता भनेका कृष्ण मात्रै हुन् । कृष्णको प्रेम राधाका लागि प्रेरणाको स्रोत हो , सुख र प्रगतिको कारक हो , जीवनको उज्यालो हो ।
व्रजमा मुरली बजाउँदै गाई चराउने गोपिनीहरुका प्यारा ग्वाला कृष्णले एकदिन मथुराबाट आएका गर्ग ऋषिबाट आफ्नो जन्मको रहस्य थाहा पाए । कृष्णले आफू नन्दबाबा र यशोदामाताको छोरा नभई वशुदेव र देवकीको छोरो भएको थाहा पाए , अझ उनले त आफू कंशको भानिज र सत्रुसमेत रहेको थाहा पाए । यसरी प्राप्त भएको नयाँ भूमिकाका लागि उनलाई सबैले सहयोग गरे । छापामार युद्घ सञ्चालन गरी कुटनीतिक यद्घकलाका कारणले कंशको वध गर्न सफल भए । त्यसपछि मथुराको राज्यसत्ता प्राप्त गरी बस्न थाले ।

विजयी बनेपछि कृष्ण आफू र व्रजबासीसँग आफ्नो खुसी बाँड्न पक्का पनि व्रजमा आउनेछन् भन्ने राधाले सोचेकी थिइन् तर कृष्णले मथुरामा डाकेर पत्र पठाएछन् । त्यसपछि नन्द , यशोदा , राधाकी माताहरु त मथुरा गए तर राधाचाहिँ जान मानिनन् । तिनले खुसी बाँड्नुपर्ने सबैभन्दा नजिककी सहृदयी भनेकी ममात्र पो हुँ , त्यससैले तिनले पहिले भेट्न आउनुपर्ने हो भन्दै राधाचाहिँ व्रजमा नै कृष्णलाई पर्खेर बस्न थालिन् ।

मनमा कृष्णलाई उसरी नै राखेर प्रतीक्षा गरिरहेकी राधा कृष्णसँग बिताएका क्षणहरुको स्मरण गर्दै भन्छिन् , “ जङ्गलमा गाइने गीत , वस्तुका चरनका ध्वनिहरु सब तिनै हुन् तर यी सबै दृष्यहरुमा मात्र कृष्ण छैनन् । कृष्ण नभएको र अरु सबै भएको पनि नभएको जस्तो लाग्थ्यो । मनमा खालीपना बढेपछि बाहिरी पूर्णताको कुनै अर्थ नहुँदो रहेछ । ” ( राधा पृ —१३९ )

यसरी आफ्नो जीवनको पूर्णता कृष्णलाई ठान्ने राधाले विशाखाबाट “ द्वारिकामा कृष्णको विवाह रुक्मिणीसाथ भव्य रुपमा सम्पन्न भयो रे । ” भन्ने खवर सुनिन् । गहिरो घाउ नदुखेजस्तो राधाले तत्काल कुनै दुःख देखाइनन् । त्यो धेरै पुरानो र लामो यात्रा कहीँ पुगेर बीच बाटोमै स्थगन हुन पुगेको थियो । मनको बत्ती निभेपछि राधाले संसारलाई नै अँध्यारो देख्न थालिन् ।

अब राधाको संसारलाई ,प्रेमलाई र जीवनलाई हेर्ने दृष्टिकोण त एकाएक बदलियो , अस्ति आफैले बुझेको कुरा पनि आफ्नै लागि गलत लाग्न थाल्यो । यसैतर्फ सङ्केत गर्दै राधा भन्छिन् “मलाई लाग्यो , मैले साधारण कृष्णमा असाधारण व्यक्तित्व उभ्याएँ , आफैँले । तिनी सामान्य युवक थिए , अरु जस्तै , तर तिनलाई असामान्य देखेको मैले नै हो । ” ( राधा पृ — १६२ )

कृष्ण त आफ्नो अनिवार्य भारी बनिसकेका रहेछन् भन्ने कुरा राधा बल्ल थाहा पाउँछिन् र अब कृष्णजस्तै आफू पनि स्वतन्त्र भएको सोच्छिन् । कृष्णले उनलाई प्रेम होइन अत्याचार गरेका रहेछन् । अब उनका सामु कृष्णको नयाँ परिचय उभियो । उनी भन्छिन् , “ तिनी त सानैदेखि भोगवादी थिए । जीवनमा भोग्नुमात्र लक्ष्य लिएका , बुद्घिमान मान्छेका जस्ता कुरा गरेर प्रभावित पारेर एकक्षण भोग्दै छाड्दै गर्ने तिनको बानी पुरानै हो । ” ( राधा पृ—१६५ )

अब त राधाका लागि कृष्णसँगको प्रेम न जीवनको उज्यालो हो , न प्रगतिको कारक नै । यो त उनको मनलाई बाँधेर राख्ने साँङ्लो पो रहेछ । यो बुझेपछि उनले कहिल्यै विवाह नगर्ने , वैष्णवी रुप धारण गरी तिर्थाटन गर्ने र जीवनलाई स्वतन्त्र तथा मुक्त बनाउने निर्णय गरिन् । उनले अस्ति बुझेको जीवन र आज बुझेको जीवनमा आकाश र जमिनको फरक छ । राधाले आज बुझेका कुराहरु :—

१ परिवार , ठाउँ , ठेगाना , नाम ,थर , गोत्र आदि भनेकाहरु जीवनका भोग पक्ष हुन् । ( राधा पृ—१८२ )

२ एउटा सानो घेरामा अहम्हरुको अग्लो थुम्कोमा उभिई त्यसैलाई अन्तिम सत्य ठानी बितेको हुँदो रहेछ , जीवन । ( राधा पृ —१८३ )

३ मैले त आफूलाई अझ के पनि बुझेँ भने म त व्रजले उसको अनुसार तयार गरिएकी एक उपकरण पो रहिछु । ( राधा पृ—१८३ )

जीवनलाई यही रुपमा बुझ्दै विशाखालाई साथमा लिएर नारी मुक्ति र मानव सेवाका लागि निस्किएकी राधाले निकै लामो यात्रा तय गरिन् । यात्राको समय र दूरी निकै बढेपछि उनीहरुलाई अब हामी कता जाँदै छौँ र कता पुग्ने छौँ भन्ने पनि थाहा हुन छोड्यो । लामो कष्टपूर्ण यात्रामा अनेक हण्डर खादै सिद्घाश्रम तीर्थ पुग्दा उनको भेट कृष्णसँग भयो । त्यहाँ भेट भएका कृष्णले राधासँग उनकै खोजीमा भारतवर्षका कयौँ तीर्थहरु महिनौदेखि घुमिरहेको कुरा गरे ।

राधा कृष्णसँगै द्वारिका गइन् । कृष्णले कंशको वध गरी सत्ता आफ्नो हातमा लिएर नयाँ निर्माण गरेको द्वारिकालाई देखेर उनी चकित भईन् । कृष्णले निर्माण गरेको आफूहरुको प्रेमको प्रतीक भव्य राधामहल पनि उनले देखिन् ।

राधाले कृष्णसँग आफूले रुक्मिणी लगायत अन्यहरुसँग विवाह गर्नु रहर नभएर वाध्यता भएको कुरा गरे । अनि आफूले विवाह गरेर ल्याएकाहरुमा राधाको एउटा एउटा रुप पाएको र आफूले राधालाई प्राप्त गर्न नसक्दाको अपूर्णतालाई पूर्णता दिनका लागि मात्र धेरैजनासँग विवाह गर्नुपरेको बताए । आफूहरुको प्रेमको असफलताका कारणले आफू ज्यादै कमजोर भएको भन्दै कृष्णले राधासँग भने , “ सबैभन्दा कमजोर पात्र हुँ म यस युगको । ” (राधा पृ – २०८ )

कृष्णले राधासँग विवाह नगरेर अन्यसँग गर्नु परेका आफ्ना विवशताहरु बताए । रुक्मिणीले त्यसलाई प्रमाणित गर्ने आधारहरु जुटाइन् । त्यसपछि कृष्णको प्रेमले राधाको अठोटलाई फेरि हल्लाउन थाल्यो । उनी भन्छिन् “कृष्णको मप्रतिको एकोहोरो भक्तिभाव सुनेर मेरो मन दङ्ग भयो । हर्षले गद्गद् भएँ म । ” ( राधा पृ—२१२ )

राधाले कृष्णको प्रेमलाई सत्य ठानेर फेरि स्वीकार गर्नु आफूले त्यही प्रेमको वितृष्णाका कारणले यति कठोर यात्रा गरी आफैँलाई दुःख दिएको गलत थियो र सत्यलाई भ्रम बुझेर जीवन बिताइएछ भन्नु नै त हो । तर एकनंशाले राधाको धरमराउन लागेको हृदयलाई बलियो बनाउन सहयोग गरिन् । एकनंशाले कृष्ण त जाली , स्वार्थी र भोगवादी छन् भन्ने कुरा सप्रमाण बताइन् । अनि राधा तत्काल बिउँझिएर उज्यालो देखेझैँ भन्छिन् , “ एकनंशाले मेरो चेतनाको पर्दा उघारिदिइन् । ” ( राधा पृ —२२२ )

राधा कृष्णका कुरातर्फ नलागी आफ्ना अठोटलाई दृढ बनाएर पुनः यात्रालाई निरन्तरता दिन लाग्छिन् । त्यसबेला कृष्णले आफूसँग गरेको व्यवहारबाट उनले आफूलाई साँच्चै प्रेम गरेको हो अथवा स्वाङ रचेको हो बुझ्नै नसक्ने अवस्थामा रहेकी राधालाई देखाइको छ । राधा भन्छिन् “छेउमा बसाएर कृष्णले आफ्ना राम्रा हत्केला र औँलाहरु मेरा गालामा ,निधारमा , कपालमा घुमाइरहे । तिनले त्यति भावुक भएर मलाई स्पर्श गरेको यो पहिलोपल्ट थियो । तिनलाई त्यति भावुक देखेको पनि त्यही नै हो । कृष्णका छातिमा टाउको अड्याएर मैले आफूलाई रित्याएँ । ” ( राधा पृ — २२६ )

कृष्ण राधालाई पुर्‍याउन हस्तिनापुरसम्म गए । त्यसपछि राधा यात्राकै क्रममा फेला पारिएकी पिल्लीसँग हिमालय खण्डतिरको यात्रामा लागिन् । यो लामो यात्राका क्रममा उनीहरुले अनेक ठाउँहरुले घुम्दै बाह्र वर्ष विताए । राधा गोपालवंशी राजा जयगुप्तको राज्य काठमाडौं पुगिन् । ती गोपालवंशी राजाबाट राधाले कृष्णले आफ्नो लामो खोजी गरेको थाहा पाइन् । अनि ती जयगुप्तलाई त्यस राज्यको राजाका रुपमा कृष्णले नै स्थापना गरी राधासँग भेट नभएकामा दुःख मान्दै फर्किएको कुरा पनि थाहा पाइन् ।
अहिलेसम्म आफूलाई नै खोज्दै हिड्ने कृष्णका हृदयमा गहिरो प्रेम रहेछ भन्ने कुरा राधाले बुझ्न पाइन् । त्यतिबेला राधाले कृष्णका बारेमा व्यक्त गरेको अन्तिम दृष्टिकोण ज्यादै मर्मस्पर्शी छ । उनी कृष्णको प्रेममा गलेर भावुक हुँदै भन्छिन् , “बषौँदेखि बनाउँदै ल्याएको मन एकाएक पानीपानी भयो । मलाई ठुलो पश्चाताप लागेर आयो । मैले कृष्णलाई पटक्कै बुझ्न नसकेको बोध भयो । तिनी कामुक थिए र हरेक राम्रा आईमाई भेला पार्ने अभियानमा लागेका थिए भन्ने मेरो अठोट भत्किए जस्तो आग्यो । “ ( राधा पृ –२४८ )

उक्त टिप्पणीका आधारमा हेर्दा कृष्णका बारेमा राधाले पहिले बनाएको धारणा नै भ्रमपूर्ण थियो र त्यसै धारणाका आधारमा उनले बिताएको जीवन पनि भ्रमपूर्ण थियो । उनी त कृष्णले द्वारिकामा बोलाउँदा नै जानुपर्थ्यो अथवा सिद्घाश्रममा भेटेपछि कृष्णले राखेको प्रस्तावलाई सहर्ष स्वीकार गर्नुपर्थ्यो । यसरी भ्रमलाई सत्य बुझेर भयानक कष्टपूर्ण जीवन बिताएकीमा राधालाई पछुतो लागेको छ । यस उपन्यासमा मुख्य पात्र राधाले यथार्थ ठानेर बिताएको भ्रमपूर्ण जीवनलाई मुख्य रुपमा देखाइएको छ ।

कृष्णले बिताएको जीवनलाई पनि त्यतिकै भ्रमपूर्ण देखाइएको छ । कृष्णले आफ्ना मातापिताका रुपमा यशोदा र नन्द रायलाई पाएका थिए । गोपिनीहरुका प्यारा कृष्ण उनीहरुको सङ्गत मन पराउँथे । उनी गाई चराउँथे र सबैको हृदय आकर्षित गरी मिठो धुनमा बाँसुरी बजाउँथे । औखी स्वभावका कृष्णका कार्यले कहिलेकहीँ व्रजबासीलाई दुःख दिने र सताउने गर्थो । अनौठो स्वभावका कृष्णका कतिपय कार्यलाई प्रशंसा पनि गरिन्थ्यो । यसरी मुरली बजाउँदै , गोपिनीहरुलाई आकर्षित गर्दै , व्रजबासीलाई कहिले सताउँदै त कहिले चकित बनाउँदै कृष्णको बाल्यकाल बित्दै थियो । कृष्णको भूमिका साँघुरो घेरामा सीमाबद्घ थियो । त्यही जीवन नै उनका लागि आफ्नो यथार्थ जीवन थियो ।

एकदिन व्रजको जङ्गलमा मुरली बजाइरहेका कृष्णलाई मथुराबाट आउँदै गरेका गर्ग ऋषिले बाटोमा नै भेटे । त्यहाँ गर्ग ऋषिबाट कृष्णले आफू नन्द र यशोदाका नभई बसुदेव र देवकीको छोरो भएको थाहा पाए । कंशको हातबाट बचाउन कृष्ण एकनंशासँग साटिएका थिए । यसरी साटिएको कुरा स्वयम् देवकी र यशोदा मातालाई पनि थाहा नभएको कृष्णले बुझे ।

देवकीका आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ भनी कंशलाई सपनामा भगवान् नारदले भनेका रहेछन् । त्यही भयले कंशले देवकीका कोखबाट जन्मेका सबै सन्तानलाई बाँच्न नदिने षड्यन्त्र रचेको रहेछ । आफू जन्मनुभन्दा अगाडि नै जन्मिएको आफ्नो सत्रुबाट बचाउन आफलाई एकनंशासँग साटेर व्रजमा ल्याइएको रहेछ । अहिले कसरी हो कृष्णको यस्तो जन्मको रहस्य कंशले थाहा पाएर हत्याको ठुलो षड्यन्त्र गरिरहेको र आफूलाई दरबारमा बोलाएको कुरा पनि राम्रोसँग बुझे । आफ्नो जन्मको यस्तो रहस्य अचानक खुलेपछि कृष्ण भन्छन् , ” म मुरली बजाएर वन–वन डुलिरहेको एउटा गोठालाका पछि कत्रो रहस्य र षड्यन्त्र ? अब मैले म जे थिएँ त्यो नभई जे बनाइँदै छु त्यो हुनुपरेको छ । “ ( राधा पृ– ६३ )

व्रजको साँघुरो घेरामा गाई चराउँदै र मुरली बजाउँदै रहेको म ग्वाला नै हुँ भन्ने कृष्ण त भ्रममा भुलिएका थिए । अब गोपिनीहरुसँग रमाइलो गर्नु , राधासँग प्रेम गर्नु , वन नै गुञ्जिने गरी मुरली बजाउनु , गाई चराउनु र आफ्नो औखी स्वभावले व्रजबासीलाई चमत्कार देखाउनुमा मात्र उनको भूमिका सीमित नरहने भयो । अब उनले जनतालाई गुम्स्याएर राख्ने र कज्याएर खाने निरङ्कुश शासक कंशसँग मुख्य प्रतिद्वन्दीको भूमिका निभाउनुपर्ने भयो । यगकै महानायक पनि व्रजको साघुरो घेरामा यही नै मेरो संसार हो भनी भ्रमपूर्ण जीवन बिताइरहेका रहेछन् ।

कृष्णले आफू जवान बन्दासम्म यथार्थ मानेर बिताएको जीवन भ्रम भएपछि उनको जीवन र संसारलाई हेर्ने दृष्टिकोण त्यहीअनुसारको बन्यो । उनमा मानिसले बाँच्दै र अगाडि बढ्र्दै जाँदा जुन भूमिका प्राप्त गर्छ त्यही भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्छ भन्ने सोच र चिन्तन विकसित भयाृे । आफ्ना रुचि , इच्छा र चाहनाहरुलाई एकातिर थन्क्याएर प्राप्त भूमिका निर्वाहका लागि मात्र बाँचेको भन्ने भ्रममा नै आफ्नो जीवन बिताएका छन् ।

भ्रममा नै जीवन बिताउनु पर्दा यशोदा मातालाई ठुलो पीडा परेको देखिन्छ । उनले आफ्नै कोखबाट जन्माई हुर्काएको कृष्णलाई आफूले त जन्माएकै होइन रहेछ भन्ने अचानक थाहा पाइन् । यशोदाले कृष्णलाई आफ्नै छोरो सम्झनु र माया दिनु भ्रम थियो । त्यत्रो वर्ष आफूलाई साँचो कुरा नभनी भ्रममा नै भुलाएर राख्ने पतिलाई आफूले गरेको विश्वास पनि अहिले आएर गुमेको ठानिन् । उनले परिवारमा सम्पूर्ण कुराको पूर्णता छ भनेर मनाएको खुसी , गरेको विश्वास र दिएको माया सबै –सबै भ्रम रहेछ । त्यसबेला यशोदाले आफ्ना पति नन्दसँग भनेकी छन् ”तर आज मलाई जीवन खोक्रो लागेको छ । मलाई मैले भोगिआएको , सोचिआएको सब कुरा अनावश्यक र भ्रम रहेछ भन्ने बोध भएको छ । जीवनमा सबैथोक आफ्नो ठान्नु पनि त्यो आफैँलाई आफैँ गरेको अन्यायबाहेक केही होइन रहेछ । ........तपाईँसँग मैले बिताएको यति लामो जीवन त कागजको फूलजस्तो रहेछ , सपनाको मिठो परिकार जस्तो रहेछ । “ ( राधा पृ–७९ )

नन्द रायले कृष्णको जन्मबारेमा आफ्नी पत्नीसम्मलाई पनि यथार्थ कुरा नभनी बस्नुलाई गोपनियताका दृष्टिले उचित ठहर्‍याएका थिए । तथ्य थाहा पाएपछि यशोदाले उनीसँग पोखेको आक्रोश तथा गुनासोले स्वयम् नन्द रायको् मन अमिलियो । उनले कुरा गोप्य राखेर ठुलो कार्य गरेको छु भन्ने सोचेको पनि बालुवामा पानीझैँ बेकम्मा भयो ।
उपन्यासमा बसुदेव र देवकीलाई आफ्नै बाबुआमा ठानेर बाँच्दै गरेकी एकनंशा तथा एकनंशालाई आफूले नै जन्माएकी छोरी भनेर माया गर्ने देवकी जस्ता पात्रले बिताएको जीवनलाई भ्रमपूर्ण देखाइएको छ । त्यस्तै सफलतापछि सुख , समृद्घि र स्वतन्त्रता प्राप्त हुनेछ भन्ने सोचेर कृष्णको नेतृत्वमा सङ्घर्ष गर्ने जनताहरुले खोजेको कुरा प्राप्त गर्न नसकेकाले तिनका आकाङ्क्षाहरुलाई पनि भ्रमपूर्ण देखाइएको छ ।

पात्रहरु तत्काल जुन विचार , भावना , परिस्थिति र परिवेशमा छन् त्यसलाई नै यथार्थ ठानिरहेका हुन्छन् । समय बित्दै जाँदा क्रमशः यसमा परिवर्तन आउन थाल्छ । त्यसैले पात्रले भोगेको विगतको जीवनलाई नै भ्रमपूर्ण बनाइदिएको छ ।

राधा उपन्यासमा संसारमा बाँचिरहेका मानिसहरुको भूमिका अभिनयकर्ताको भूमिकाभन्दा बढी देखाइएको छैन । सत्य अर्कै हुन्छ तर बाहिर अर्कै व्यवहार गरिरहनुपर्ने बाध्यता देखाइएको छ । यही कुरालाई देखाउने एउटा प्रसङ्ग हेरौँ – प्रेम वियोगमा पीडित बनेकी राधालाई सम्झाउँदै यशोदा माता भन्छिन् , “आज तिमीलाई परेको पीर तिमीलाई मात्र परेको होइन , यो सनातको पीडा हो , जसलाई पनि एकपल्ट यस्तो परेकै हुन्छ । आ–आफ्ना मनका कृष्णहरु यसैगरी मध्यरातमा बिलाउँदै जान्छन् , बालुवा मनस्थिति छाडिराखेर । प्रेमको यो अतृप्तता नै जीवनको अश्रुभण्डार हो । ”

आफ्नो मनको प्यारो मान्छे अप्राप्य भएपछि कसैसँग बाध्यात्मक सम्झौताको जीवन बिताउनुपर्ने हुन्छ , सबैले । साँचो कुरा मनमै राखेर बाहिरी अभिनयमा जीवन बिताउनु पर्छ । भ्रम देखाइएकोलाई अरुले सत्य ठान्छन् ।

राधा उपन्यासमा व्यक्तिले आफ्नो सजिलोअनुसार देख्ने , बुझ्ने , भोग्ने र अनुभव गर्ने सत्य वैयक्तिक हुन्छ भन्ने कुरा देखाइएको छ । उपन्यासमा कृष्णलाई सबै गोपिनीहरुले आफ्ना चाहनाअनुरुपको पाएको अनुभव गरेका छन् । यस्तो कुरा उपन्यासमा राधा र सुशीलालाई विशेष भूमिका दिएर पुष्टि गरिएको छ । ती दुबैलाई कृष्णले मन दिएका छन् र दुबैले कृष्णलाई अत्यन्त मन पराएका छन् । सुशीला चञ्चल स्वभावकी हुनाले उनले कृष्णलाई चञ्चल र औखी स्वभावको नै पाएकी छन् तर भावुक र गम्भीर स्वभावकी राधाले भावुक र गम्भीर स्वभावकै कृष्ण प्राप्त गरेको अनुभव गरेकी छन् । यसरी प्रत्येक गोपिनीहरुले आ–आफ्ना रुचिअनुसारकै कृष्ण प्राप्त गरेको उल्लेख गरी मानिसहरुले आफ्ना रुचि , चाहना , ज्ञान र विचारअनुसारको संसार प्राप्त गर्दछन् भनिएको छ ।

त्यस्तै कंशको दरबारको सभामा पुगेका छद्मभेषी कृष्णलाई देख्नेहरुले आफूअनुसार भिन्न भिन्न रुपको देखेका छन् , “मल्लहरुले व्रजपुरुष देखे , स्त्रीहरुले मूर्तिवानु कामदेव देखे , सामान्य मानिसहरुले नररत्न , गोपहरुले स्वजन , शास्ताहरुले दण्डकर्ता , बसुदेव र देवकीले शिशु देखे , कंशले कराल मृत्यु , अविदूषहरुले विराट् , योगीहरुले परम्तत्व , वृष्णीहरुले इष्टदेव देखे र हामीले हाम्रा प्रिय मित्र कृष्ण र बलराम देख्यौँ । ”

उपन्यास पढिसक्ने पाठकका मनमा भ्रम भरिदिन पनि उपन्यास सफल भएको छ । कृष्णले राधालाई साँच्चै प्रेम गरेका थिए अथवा प्रेम गरेको अभिनय गरेका थिए भनेर भन्न सक्ने अवस्थामा पाठक छैनन् । पाठकका आ–आफ्नै धारण हुन सक्छन् । कंशसँगको यद्घ जितेपछि सबैभन्दा पहिले तिमीलाई नै भेट्छु , तिमीसँगै खुसी मनाउँछु , म आफूलाई भन्दा बढी तिमीलाई नै माया गर्छु भनी राधासँग वाचा बाँधेर हिँडेका कृष्ण कहिल्यै फर्किएनन् । विवाह गर्ने समय बितिसक्दा पनि कुनै वास्तै नगरी हिँड्ने , रुक्मिणी र अन्यहरुसँग विवाह वन्धनमा बाँधिने कृष्ण जाली , स्वार्थी र अभिमानी हुन् । उनले राधासँग प्रेमभाव व्यक्त गर्नु त अभिनय मात्र हो भन्ने एकप्रकारका पाठकहरुको धारणा रहन्छ ।

आफ्नो काँधमा ठुलो अभिभारा बोकेर हिँडेका कृष्ण साँच्चै वाध्यतामा थिए । उनले राधालाई भेट्न व्रजमा नगए पनि द्वारिकामा आउन भनी पटक पटक खबर पठाए तर राधा नै नमानेकी हुन् । आफूहरुको प्रेमलाई अमर बनाउन राधा महल बनाउने , राधासँग वियोगलाई सहन नसकी सारा संसार खोज्दै हिँड्ने कृष्ण राधाका पागल प्रेमी नै हुन् भन्ने अर्का प्रकारका पाठकहरुले धारणा बनाउन सक्छन् । यसरी एउटै विषयवस्तुबाट पाठकका मनमा फरक फरक भ्रम उत्पन्न गर्न उपन्यास सफल छ । त्योभन्दा पनि बढी वस्तु सत्य हो भन्ने धारणामा रहेका पाठकका मनमा प्रतिति नै सत्य हो भन्ने भ्रम सिर्जना गर्नमा उपन्यासको प्रयास निकै चोटिलो बनेको छ ।

राधा उपन्यासका लेखक कृष्ण धरावासी स्वयम् पनि भ्रममै रहेका देखिन्छन् । उपन्यासको नभनी नहुने कुरामा धराबासीले पुराणमा राधालाई अलपत्र छाडिएको र उनीमाथि ठुलै अन्याय भएको हुनाले तिनै राधाको कथालाई पूर्णता दिँदा ( न्याय दिँदा ) राधा उपन्यास तयार भएको उल्लेख गरेका छन् । पुराणहरुमा त्यस्ता परित्यक्त पात्रहरु सयौँ छन् तर किन धराबासीले राधालाई नै अन्याय भएको देखे त ? राधा उपन्यासकै पात्र शशीकलालाई उभ्याएर सजिलो उत्तर दिन सकिन्छ , “ जसले पनि सबैभन्दा पहिले आफूअघि उपस्थित वस्तुको मात्र मूल्य तोक्ने हो । अनुपस्थितलाई खोजी खोजी स्थापना गर्ने फुर्सद कसैलाई हुँदैन ।”

नेपाली समाजमा राधा कृष्ण्को जोडीलाई प्रेमको सबैभन्दा उत्कृष्ट जोडी मानिन्छ । नेपाली समाजको हिन्दू संस्कारमा हुर्किएका कृष्ण नामका धराबासीको अचेतन मनले पनि राधालाई आफ्नी प्रेमिकाका रुपमा नै देखेको छ । त्यसैले धराबासीले राधाको लामो खोज र अनुसन्धान गरी यो उपन्यास तयार पारेका हुन् । परित्यक्तभन्दा बढी आफ्नी प्रिय पात्रलाई उभ्याएर राधा उपन्यास रचना गरेका हुन् । यसअघि नै आफ्नो साहित्यक मान्यताका प्रिय प्रणेता इन्द्रबहादुर राईले “जयमाया आफूमात्र लिखापानी आइपुगी” कथामा अलपत्र छाडेकी पात्र जयमायाको कथालाई पूर्णता दिएर शरणार्थी उपन्यास प्रकाशनमा ल्याएका छन् । त्यसैते परित्यक्त पात्रलाई उभ्याएर नै राधा उपन्यास तयार गरेँ भन्नु लेखकको आफ्नो भ्रम मात्रै हो । अनुपस्थितलाई खोजेर स्थापना गराउने फुर्सद त स्वयम् लेखकलाई पनि कहाँ छ र?

निष्कर्ष

उत्तरआधुनिकतावादको पर्वीय संस्करण मानिने लीलालेखनलाई मूल आधार बनाएर कृष्ण धराबासीले राधा उपन्यास तयार पारेका छन् । पौराणिक आख्यानलाई समकालीन धरातलमा उतारिएको यस उपन्यासमा देउतालाई मान्छे बनाउने प्रयत्न गरिएको छ र अपत्यारिलो कथा पनि तथ्यगत आधार पाएर पत्यारिलो बनेको छ । तर ती सबै पात्रहरुले बिताएको जीवनलाई भ्रमपूर्ण देखाइएको छ । उपन्यासमा वस्तुलाई नभएर त्यसले व्यक्तिका मनमा उत्पन्न गर्ने भ्रमलाई सत्य वा यथार्थ मानिएको छ । समय र परिस्थिति अनुसार पात्रको सोचाइ , भोगाइ र अनुभव फरक देखाएर सत्य गतिशील हुन्छ भन्ने बताइएको छ । उपन्यासमा भिन्न भिन्न पात्रहरुले एउटै विषय र वस्तुलाई पनि फरक फरक ढङ्गले बुझेको देखाएर सत्य वैयक्तिक हुन्छ भनिएको छ । यसरी वस्तुले व्यक्तिका मनमा उत्पन्न गरेको भ्रमलाई नै यथार्थ हो भन्ने मान्यतालाई राधा उपन्यासले मूल रुपमा स्थापना गर्न खोजेको छ । वस्तुनिष्ठ तथ्यलाई नभएर प्रतितिलाई नै सत्य मान्नु अथवा वस्तुले उत्पन्न गर्ने भ्रमलाई सत्य मान्नु स्वयम् लेखककै भ्रम त होइन ? त्यसको निष्कर्षका लागि समालोचकका वीच अझ लामो बह।सचाहिँ आवश्यक छ ।

सन्दर्भग्रन्थसूची
१ धरावासी , कृष्ण , शरणार्थी , झापा : नियात्रा प्रकाशन , २०५६ ।
२ ———————— , राधा , ललितपुर : साझा प्रकाशन , २०६२ ।
३ ————————— , देखेको सत्य लेख्नु लीलालेखन , गरिमा , मधुपर्क ( समालोचना विशेषाङ्क , भदौ , २०५५ )
४ बराल ऋषिराज ,लीलालेखन अर्थात् फर्मुलाबद्घ लेखन ,गरिमा ( समालोचना विशेषाङ्क , बैशाख, २०५१ )
५ राई , इन्द्रबहादुर , कठपुतलीको मन , कलकत्ता ,श्रीमती इन्द्र प्रधान , ई १९८३ ।

इलाम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।