15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मेरो पहिलो बेलायत यात्रा’ मा सौन्दर्य प्रवर्धन

कृति/समीक्षा प्रा.कपिल अज्ञात April 30, 2022, 2:32 am
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

आँखा, मन र गोडाको गतिसँग पाठकलाई पनि सँगै डो¥याएर घुमाउन सक्ने सीपको सिर्जनात्मक लेखन नै यात्रासाहित्य वा नियात्रा हो । डा. गोविन्दराज भट्टराई युगीन साहित्य र परम्परालाई आत्मसात् गरी विधागत सचेत भएर सिर्जनारत रहने प्रमुख लेखकमध्येकै एक हुन् । उनी बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् भन्ने तथ्य उनकै दर्जनौँ साहित्यिक कृतिले सावित गरेका छन् । कारयित्री र भावयित्री दुबै प्रतिभाले सम्पन्न उनी युगकै पहिचान र प्रतिनिधित्व एवम् नवीन दिशाकै निर्देश गर्नसक्ने हस्ती हुन् । अङ्ग्रेजी साहित्यकै अथक ज्ञानबाट नेपाली साहित्यलाई पनि जोड्न सक्ने विशाल साहित्यिक सेतु हुन् ।
अहिले मेरा हातमा उनैको स्नेहप्रसादस्वरूप मेरो पहिलो बेलायत यात्रा (२०७५) हात परेको छ । बेलायत विश्वकै विकसित राष्ट्रमध्येको एक हो । त्यहाँ घुम्ने–फिर्ने सपना धेरैले साँचेका हुन्छन् । उहिले–उहिले जात जाला भन्ने डरले कोही डुल्ने–घुम्ने मन नगरे पनि पछिपछि सामान्य हुँदै गएपछि बेलायतको रमझम देखेर प्रभावित भई लेख्ने मन नगर्ने साहित्यकार कमै होलान् । नेपाली यात्रा–साहित्य जङ्गबहादुरको बेलाइत यात्राबाटै विकसित भएको छ । यही क्रममा तारानाथ शर्माले लेखेको बेलाइततिर बरालिँदाले त उत्कर्षमैं पु¥याएको स्थिति छ । त्यसपछि कतिपय प्रबुद्ध लेखकहरूले बेलायतको सम्झनामा यात्रासाहित्य लेख्ने गरेका छन् । जसमा मेरो लण्डन राजनीतिक यात्रा, युरोपको चिठी र स्पेनको सम्झना आदि प्रमुख छन् । शोधखोज गर्दै जाने हो भने त्यसको विवरणसूची लामै तयार हुन सम्भव छ । गद्यमा मात्र होइन पद्यमैं पनि बेलाइतलाई आधार बनाएर लेखिएका यात्राकाव्यहरू समेत देखापरेका छन् । यसै क्रममा मेरो पहिलो बेलायत यात्राको विशेष महŒव र स्थान छ भन्ने देखिन्छ ।
मेरो पहिलो बेलायत यात्राको शीर्षकले नै यो लेखकले लेखेको पहिलो यात्रा हो भन्ने देखिन्छ । लेखकले त्यसपछि पनि यात्रा गरेका छन् तर पहिलोमा उनले के–कस्ता दृश्य देखे, के–कस्ता कुरा भोगे र अनुभव गरे त्यसैको चित्रण हो भन्ने सङ्केत पनि शीर्षकबाटै पाउन सकिन्छ । खासमा लेखक साहित्यिक अभियन्ता विश्वासदीप तिमेलाको साहित्यिक कार्यक्रमको प्रमुख आतिथ्य ग्रहणको आमन्त्रणमा विश्वकै विकसित मुलुक बेलायत पुगेका हुन् । यसमा २०६५ भाद्र ६ देखि २५ सम्म जम्मा १९ दिनको यात्रामा समेटिएका विषयवस्तुको वर्णन निहित छ । १९ दिनमैं यात्रा गरेर आपूmले देखे–भोगका विषयलाई आधार बनाएर एक उच्चस्तरीय कृतिकै रूप दिनसक्नु लेखकीय क्षमताको विशिष्ट पहिचान हो । लेखकमा अध्ययन र चिन्तनको गहन पृष्ठभूमि छ । उनी जुन वस्तु वा विषयमाथि दृष्टि दिन्छन् । त्यसबाट साहित्यिक अभिव्यक्तिको प्रवाह प्रस्तुत गर्छन् । उनमा विराट समीक्षाचेत, व्याख्या–चेत, तुलना प्रतितुलनाको विषयगत आधार छ । कथनको कौशलता एवम् वर्णनको चातुर्य छ, अनुभूतिलाई तन्काउने, फुकाउने र फैलाउने सिर्जनात्मक सीप र ज्ञान छ, सन्दर्भ र प्रसङ्ग चल्ने बित्तिकै उनी अनुभूतिहरूको सिलसिलाबद्ध रूपमा व्यवस्थापन गर्न खप्पिस छन् । आफ्नो बुद्धिबर्कत र प्रातिभ क्षमताको अधिक उपयोग गर्न साधनारत लेखक भएकाले उनी कमभन्दा कम समयमा पनि अधिकाधिक लेखी विशद् कृतिको स्वरूप सिर्जित गर्न सक्छन् । यही क्षमताको उत्कृष्ट परिणाम हो यो – मेरो पहिलो बेलायत यात्रा । यसमा जम्मा १९ दिनका एकदिनमा एकभन्दा बढी पर्ने गरी जम्मा चौबीसवटा यात्रावृत्त दैनन्दिन शैलीमा सङ्गृहीत छन् । यसैबाट उनको अद्भुत र विशिष्ट क्षमता दर्शिन्छ । यात्राकै आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेकाले उनी अन्य विधामा जस्तै नियात्रामा पनि सिद्धहस्त बनेका छन् भन्ने प्रमाणित गर्दछन् ।
यो मूलरूपमा नियात्रा हो तर संस्मरण र दैनन्दिनको उपयोगले सरल र सरस बनेको छ । लेखकले नै प्रस्तुत गरेको उत्तरआधुनिक शैलीमा यो लेखिएको छ अर्थात् यसमा विधामिश्रणको स्थित छ । यसबाट लेखकको आन्तरिक स्वभाव र आत्मिक व्यवहार पनि स्पष्टिएको छ । लेखक अध्ययनमा कति रुचि राख्छन्, समयको कति सदुपयोग गर्छन्, आहार–विहारमा कति सजगता अपनाउँछन्, ती सबैको चित्रणले नियात्राको आफ्नै मौलिकपन प्रस्तुत भएको छ । मूलतः संस्मरण र दैनिकी दुबै उपविधाका विधागत विधिलाई अपनाएर लेखिएका डा. भट्टराईका यी यात्रापरक निबन्धहरू सरल भैकन पनि सन्देशमूलक र ज्ञानबद्र्धक देखिन्छन् । सत्य र निष्ठाका साथ सङ्कोच र भयका भावहरूलाई पनि उनले आफ्ना निबन्धमा समेटेका छन् । यसबाट लेखकीय इमान्दारितासहित लेखकका मनोदशाको पनि चित्रण भएको छ, जसले पाठकलाई सन्निकट मित्र मानेर आफ्ना भावनाहरूलाई उन्मुक्त रूपमा प्रस्तुत गर्छन् । यसबाट लेखकीय प्रवृत्ति प्रकट हुन्छ नै, पाठकप्रति आत्मीय भाव पनि जागृत हुन्छ । आफैलाई नढाँटेर स्वाभाविक रूपमा आफ्ना भावना प्रकट गर्नु नै संस्मरण लेखनको मूल पहिचान हो । जो पारिवेशिक चित्रणसहित सूक्ष्म घटनाहरूको वर्णन गर्दै आत्मिक मनोदशालाई समेत खुलस्त्याएर आपूmसँगै हिँडाउन, देखाउन र मनन गर्न–गराउन समर्थ हुन्छ ऊ सफल लेखक हो भनिन्छ भने यसमा लेखक खरा उत्रिएका देखिन्छन् । लेखनमा ठूलाठूला विषय पो किन चाहिन्छन् र ! झिनामसिना कुरा नै किन नहुन् ती सरसतापूर्वक आए भने तिनको आफ्नै आनुभाविक मूल्य हुन्छ, त्यसले कथ्यलाई साहित्यिक तुल्याउँछ । वर्णन भए पनि कोरा वर्णन नहुनु, अनुभव भए पनि संवेदनाले मुछिएको हुनु नै त सिर्जनात्मक स्वरूप हो । डा. भट्टराईका रचना यस्तैको प्रचुरताले डम्म भरिएका देखिन्छन् । जसको अनुभवको क्षितिज फराकिलो छ, बौद्धिक धरातल विस्तृत छ, जसले गहन उपन्यास लेख्न सक्छ, जीवनदर्शनका गहन कृति लेख्न सक्छ, सामयिक विषयमा गहन टिप्पणी वा समीक्षा गर्न सक्छ, कुनै कृतिभित्र प्रवेश गरी त्यसका जराजरा खोतल्न सक्छ उसका सामु संस्मरण लेखन एक बसाइको प्रवाहपूर्ण अभिव्यक्ति हो किनभने स्मृतिमयताको आधार लिएर लेख्न शुरु गरेपछि अन्य तŒवहरू सन्दर्भ र प्रसङ्गअनुसार प्रस्फुटित भएर कथ्यलाई प्रवाहपूर्ण रूपले एक आयाम दिन्छन् । तिनै रचना पढेर हामी आह्लादित हुन्छौँ । जो लेखकमा अनेक पाटा वा पक्षमा प्रकट हुने सामथ्र्य छ, ती जहाँ जान्छन्, जे देख्छन्, जेमा चिन्तन–मनन गर्दछन् ती सबै रचनाराशि भएर उभ्रिन्छन् । डा. भट्टराईको लेखनी पनि साधिएको घोडाझैँ छ । उनी जहाँ सवार हुन्छन्, वेग मार्छन्, गन्तव्यमैं पुगेर आफ्ना स्वर र शैलीको पहिचान गराउँछन् । निबन्ध होस् कि नियात्रा, संस्मरण होस् कि आत्मकथा अलिकति बरालिने पन भित्रियो भने त्यसले पनि कथ्यलाई रोचकताले सरस र सुमधुर पार्दोरहेछ । यस्तै लेखनको उन्मुक्त सिर्जनात्मक सीप डा. भट्टराईमा पनि देख्न सकिन्छ । उनको सिर्जनात्मक मूल प्रवृत्तिलाई अन्य उपप्रवृत्तिले सघाएर साहित्य सौन्दर्य प्रबद्र्धन गरेको देखिन्छ ।
विवेच्य कृति विविध भावना र प्रसङ्गले ओजिलो, गहकिलो र चोपिलो बनेको छ । लेखक कतै यन्त्र सञ्चालित संस्कृति देखेर छक्क छन्, कतै जातीय र सांस्कृतिक एकताका निम्ति नेपालीले सार्वजनिक घर किन्न सकेकोमा मख्ख छन्, कतै पैसा छिराएर कफी र कोक खाने यन्त्र देखेर चकित छन् । कतै सैन्यजीवनका भिन्न कला र कठोर अनुशासन देखेर गम्भीर छन्, कतै भयप्रद र रोमाञ्चित दृश्य देखेर उद्विग्न, कतै शोधखोजका सौख र संलग्नता देखेर उदेक छन् । यसरी लेखकले चित्रात्मक वर्णनको सजीवताले नियात्रालाई रोचक र ज्ञानप्रद तुल्याएका छन् । नियात्राको खास विशेषता सूचनात्मकता हो । यसमा यस्ता सूचनाहरू वर्णित छन् जो पढ्दैमा पाठकको मन तरङ्गित हुन्छ, विस्मितभाव जागृत हुन्छ । समुद्रको पिँधबाट चल्ने रेलमार्गको सुरुङ होस्, प्राग्ऐतिहासिक संरचनाको स्टेन्हेन्ज होस्, सेतेभिर होस्, मानव निर्मित विशाल भवन हुन्, धरहराजत्रो जेम्स हस्पिटल होस्, वेस्टमिन्टर ब्रिज होस्, लण्डन आइ अर्थात् आकाश छुने रोटेपिङ होस्, वेलफास्ट नामको युद्धपोत होस् यी सबै प्रकृति एवम् मानव निर्मित अद्भुत नमुना हुन् । यस्ता विस्मित विषयको शोधखोज र चित्रण गर्नु नियात्राकारको धर्म र उद्देश्य हो ।
सारमा यसमा साहित्य एवम् सांस्कृतिक गतिविधिमा आतिथ्य ग्रहण गर्दै जाँदा बेलायतमा देखेका, भोगेका र अनुभव गरेका दैनन्दिन विषय छन् । सोद्देश्य प्रस्तुत गरिएका गन्तव्य र दृष्टिकोण छन्, सान्दर्भिक रूपमा आएका टिप्पणी र समीक्षा छन् । सामयिक साहित्यको स्वरूप र दिशानिर्देश छन्, दुरावस्थाका तुलना र चर्चा छन् । सरल, सम्प्रेष्य र प्राञ्जल शैलीमा परिपक्व विचारका उठान छन् । विषयवर्णन सूचनामूलक मात्र नभई सन्देशमूलक, ऊर्जाशील भावना, विस्मृत पार्ने विषय एवम् विविध मनोदशाका चित्रण छन् । दिनदिनै लेख्दै र टिपोट गर्दै जाने लेखकयि प्रवृत्तिले समग्र नियात्रा सजीव, रोचक र प्रभावोत्पादक बनेका छन् । संलग्न साहित्यकारहरूका वैयक्तिक परिचय एवम् साहित्यिक योगदानका विवरण एवम् बेलायती प्रकृति र परिवेशका वर्णन छन्, यान्त्रिक जीवनका निरीहता एवम् विशेषताका बखान छन् ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।