समाजमा नारीवादी नेताका रूपमा चिनाउन सफल हर्कध्वज र युवानेता महेशबाबु दुवैजना उदीयमान राजनेता हुन् । एकरात दस बजेतिर दुवै नेताहरुको जम्काभेट हु्न्छ, उनीहरूकै क्वाटरको आँगनमा ।
“नेताज्यू, हजुरसँग आउनु भएको नेत्री चाहि को होइसिन्छ?” ठिटो नेताले जिब्रो लरबराउदै सतर्क भएर सोध्छन् ।
“मे-री नयाँ प्रि-ए हुन्, महेशबाबु, चाहिने भन्दाखेरिमा ।” अलिक अक्मकाउदै जवाफ दिन्छन् नेताजीले ।
“म यो के सुन्दैछु नेताज्यू? यो तपाईको नयाँ प्रिय?” ठिटो नेताले हल्का ठुलो स्वरमा सोध्छन् ।
“मैले पि.- -ए. भनेको हुँ पि-रि-य भनेको होइन हउ युवानेता।” हर्कध्वजले कुरा प्रस्ट पार्न खोज्छन् ।
“नेताज्यू हजुरको चालामाला अलि निको लागेन है मलाई । नेता भएर यस्तो रातमा एक्ली महिला लिएर घर आउने? ” युवानेताले शङ्कालु कुरा गर्छन् ।
“चाहिने भन्दाखेरिमा, शंका गर्नु पर्दैन, महेशबाबु। माइ कसम यिनी मेरी नयाँ पिइइ. ए. नै हुन्, चाहिने भन्दाखेरिमा ।” हर्कध्वजले भन्छन् ।
बलतल शरीरलाई नियन्त्रण गर्दै घरि घरको भित्तामा ढेस लाग्दै घरि टुसुक्क बस्दै नेताको नयाँ पि.ए.(पर्सनल एसिस्टेन्ट) भने आफ्नै दुनियामा अस्तमस्त भइरहकीछिन् ।
“नेताज्यू, मैले पनि मेरी पि.ए. ल्याको छु है आज । युवानेता भएपछि मलाई काम भ्याउन गार्हो भएकाले मैले पनि यिनीलाई भर्ना गर्नुपर्यो ।” युवानेताले एक युवतीलाई अगाडि बोलाएर अंगालो मार्दै भन्छन् ।
“ठिकै छ चाहिने भन्दाखेरिमा हामी जस्ता महान नेताहरुलाई पि.ए. बिना काम गर्न मुस्किल हुन्छ चाहिने भन्दाखेरिमा । ए महेशबाबु, सुन त, यो कुरा चाहि चाहिने भन्दाखेरिमा कसैलाई थाहा हुनुहदैन है, अति गोप्य हुनुपर्छ, ओके?” हर्कध्वजले युवानेतालाई कानैको छेउमा गएर भन्छन् ।
“हुन्छ नेताज्यू, मलाई विश्वास गर्नुस् । नेताको धर्म नै विश्वास गर्नु र विश्वास दिलाउनु हो ।” युवानेताको कुरा सुनेर अङ्कमाल गरेर दुवैजना हाँस्छन् ।
“धोकाबिनाको विश्वास र विश्वासबिनाको धोका हुनैसक्दैन भने झैँ नेताबिनाको पि.ए. र पि.ए.बिनाको नेता हुनसक्दैन, कि कसो हो नेताहरु?” युवानेतासँग आएकी युवतीले हल्लिदै भन्छिन् ।
"सही भन्यौ, पि-रि-य ।" युवानेताले युवतीको हात समाउदै भन्छ ।
"नेताज्यूले मलाई उपमेयरको टिकट मिलाइ दिने भनेर यहाँ बोलाउनु भको हो। यो चुनावमा जसरी भए पनि उपमेयर बनाइनु पर्छ। बुझ्नु भो, महाशयहरू।" हर्कध्वजसँग आएकी बुज्रुक महिलाले गर्जदै भनिन्।
युवक नेता र युवती एकअर्कालाई हेराहेर गर्छन् । युवतीले ती बुज्रुक महिलाको छेउमा गएर आँखा फुकाएर हेर्दै भन्छिन्, "ए, आमै, घर जानुस्। हजुरको धर्मपतिलाई यस्तो रातमा एक्लै छोडेर जाबो उपमेयरको पदको पछि नलाग्नुस्। त्यसैमा हजुरको भलो हुन्छ।" युवक र युवती दुवैजना खिस्याउदै हाँस्छन्।
"सट अप, यु स्टुपिड गाइज। म यो म्युनिसिपालिटीको अबको उपमेयर। यु मस्ट अनर मि। अन्डर्स्टेन्ड?" बुज्रुक महिला कड्किन्छिन्।
"एस, आइ अन्डर्स्टेन्ड। बट यु डन्ट अन्डर्स्टेन्ड, ओल्ड लेडी।" युवतीले खिस्स हाँस्दै भनिन्।
"डन्ट से मि ओल्ड लेडी। म भर्खर पचास वर्षकी युवा नेत्री हूँ। हुनेवाला उपमेयर।"
हर्कध्वजले ती बुज्रुक महिलालाई तानेर केहीपर लान्छ र कानमा केही कुरा खुसुक्क भन्छ। बेढङ्गले हिडेर छेउमा आउदै युवतीले भन्छिन्, "ओ, फ्याट लेडी, यस पाटीबाट उपमेयरको टिकट मैले पाइसकेँ। यु कान्ट अन्डर्स्टेन्ड। उफ, नो कमन सेन्स एटअल!"
हर्कध्वज झस्किन्छ। उसको मुहार अँध्यारो हुन्छ। बुज्रुक महिला क्रोधित भावमा हर्कध्वजको कोटको फेरो समाउदै कराउछिन्, "यो के सुन्दैछु, नेताजी? मेरो पुँजी र ...ले सोर्सफोर्स पुगेन? कि के हो, हर्कध्वज?"
हर्कध्वजको आँखाहरू भुइँतिर लत्रेका हुन्छन्।
युवानेताले बिचैमा कुरा काट्दै भन्छ, "अब पालो युवा पुस्ताको, आन्टी।"
बुज्रुक महिलाले युवतीलाई झम्टिदै सोध्छिन्, "कति बिटो फ्याकिस्, नखरमाउली? पाटी र नेताप्रतिको मेरो त्याग, पैसा र बैँसाले पनि पावर नपुग्ने तर तैले टिकट पाउने तँसँग त्यस्तो के छ?"
"पावर अफ वुमन, आन्टी। नेताजीको हुनेवाला बुहारी।" छाती फुलाएर युवा नेताले जवाफ दिन्छ।
ती युवती युवानेता महेशबाबुको छातीमा टाउको राख्दै मसिनो स्वरमा बोल्छिन्, "हजुर मेयर, म उपमेयर । आहा! हामी मिल्यौं भने चरम आनन्द हुनेछ- सहरबासीलाई, विकास र सुखसुविधाले। कि कसो नेताज्यू?"
"तिमीहरूले गरेका कर्तुतको अडियो, भिडियो सबै प्रमाणहरू छन् मसँग। तिमीहरू बाबु, छोरा, बुहारी सबको भन्डाफोर गर्दिन्छु। होसियार, भ्रष्ट पोल्टिसियनहरू।" बुज्रुक महिला रिसाउदै गज्रिन्छिन्।
"वाह रे वाह, मतिभ्रष्ट नेता र नेत्रीहरु!" ताली पिट्दै एक जेष्ठ महिला नागरिक क्वाटरको बरन्डामा निस्किन्छिन् । "तिमीहरुले गर्ने राजनीतिको असली अनुहार आज देखियो । पाखन्डी स्यालहरू।"
"अरे! मेरी प्रिय श्रीमती, गाउँबाट कहिले---??" भनि नसक्दै हर्कध्वज लल्याकलुलुक भएर भुइँमा बस्छ।
"आमा, तपाई यहाँ .............." महेश निहुरेर आमाको खुट्टा समाउन खोज्छ तर ती महिला पछि सर्छिन्।
"इन्सपेक्टर साब, यिनीहरुलाई पक्रेर लानुस्" यति भनेर ती महिला घरभित्र पस्छिन् । त्यो घरको चारैतिरबाट प्रहरीहरुले घेरा हालिसकेका हुन्छन् । त्यहाँ आएका प्रहरी निरीक्षकले ती चारैजनालाई पक्राउ गर्न आदेश दिन्छन्। नारीप्रति उदार नीतिको राजनीति गर्ने नेताहरू तर तिनको लाज-नीति पर्दाफास हुन्छ, त्यस दिन ।
***
उर्लाबारी, मोरङ, हालःधरान