15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहिँला दाइ र देश

कविता ताराप्रसाद पोखरेल May 9, 2022, 4:03 pm
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

आजकल हाम्रो गाउँका साहिँला दाइ
वारिपारि गाउँसहरमा देखिने रंगीविरंगी झण्डासँगै
अनौठो कल्पनामा डुबेका छन्
अब उनका दु:खका दिनहरू चाँडै सकिने छन्
चुनावी माहौल तातिएको बेला
राजनीतिका नीतिहरूले दिएको आश्वासन सुनेर
उनी दङ्ग भएका छन् ।
परारको चुनावमा साहिँलादाइलाई
भोट माग्न आउनेहरूले
दिएका थिए
दुई दुई छाक पुग्ने खाना
त्यो खानाले पनि उनलाई केही
सान्त्वना मिलेको थियो
यस साल पनि उनी कल्पना गर्दै छन्
अलि धेरै खाना र नाना पाइन्छ कि
उनी सोच्दै छन्
यसपटक त मैले
खानामात्र होइन अलि धेरै माग्नु पर्छ ।
तर
साहिँलादाइलाई के थाहा
उनले दिएको भोटले
देश कति लुटियो
उनैको थाप्लोमा कति ऋणभार थपियो ?
लुटाहा र जाली फटाहालाई उनको भोट
भ्रष्टाचार गर्ने लाइसेन्स भएको के थाहा ?
साहिँलादाइलाई त सधैभरी
दुईछाक खाना र नानाको मात्र चिन्ता छ
खाना खान र लाउन पाएमा
साहिँलादाइले
देशकै सौदाबाजी गर्नेहरूलाई पनि चिन्दैनन्
किनकि उनलाई त
सधैभरी
ती नाबालक छोराछोरीको पेट
देशभन्दा ठूलो छ
आफ्नो दुईछाक खाना
साहिँलादाइलाई
संसारमा सबैभन्दा महत्वको छ
कसैले के चाहियो भनी प्रश्न गरेमा
साहिँलादाइले सहजै जवाफ दिन्छन्
मलाई दुईछाक खाना र
नाना चाहियो
मलाई देश चाहिएको छैन ।

पोखरा नेपाल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।