15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टेम्पल रन

कथा सतीश छेत्री May 9, 2022, 4:13 pm
सतीश छेत्री
सतीश छेत्री

हो ऽऽऽ

गरेको एउटा आवाजसित बडेमानको एउटा दैलोबाट ऊ भाग्नथाल्यो। दश, नौ, आठ, सात, छ, पाँच हुँदै अघिको दुरी, पछिल्तिर पैतालामुनिबाट छिर्न लाग्यो। उसको केही हातको दुरीमा पछिपछि थियोे - एउटा बडेमानको जटायुको टाउको भएकोे जिव । आदिम भावभङ्गिमाको कुदाइसित पछिपछि। होला ऊ त्यसैबाट भागेको । यति छिटो कुदेको ऊ जिन्दगीमा कहिले थिएन।

ऊ हो, मनु। ऊ लक्का जवान केटो थियोे। तर आज ऊ असिनपसिन हुँदै भागिरहेको थियो, कुनै टिल्लोको बाटै-बाटो। दृश्यमा कुनै खोट थिएन, सुन्दर थियो अवस्थिति तर ऊ भाग्दै थियो- कुन अज्ञात प्रेरणाले। बाटोको टुङ्ग्याउनी आयो। कुइनेट रहेछ अङ्ग्रेजीको ‘जेड’ अक्षरजस्तो। कुद्दाकुद्दै अचानक आयो भिर। मनुलाई खेद्ने जटायुजस्तो जीव हरायो अहिले थिएन। गति आफैं तेज, आफैं तेज भइरहेथ्यो । आयो एउटा घिर्लिङको डोरी, उसले डोरीमा हाम फालेर पक्रयो । नत्र झण्डै मरेको। सुल्कियो सररर । घुत्रुक्क हाम फाल्यो फेरि कुद्यो त्यही बाटो अलिकति दृश्यमा परिवर्तन। बाटोले नै मोड्ने यात्रा। कुइनेटो आधा के नाघेको थियो बाटोमा रहेको रूखको जरा अग्लो उठेको जमिनमा ठोक्कियो उसको खुट्टा। ‘हो’ गरेर प्रकट भइहाल्यो त्यो जीव । कुदाइ अनवरत् थियो उसको।

बाटोमा आगो र खाल्डोमा फडकोहरू मारयो, आधाबाटो बिचबाट चोइटिएर झरेकोमा किनारकिनार कुद्यो ऊ। आगोमा छलियो। एउटा घण्टी जस्तो वातावरण बज्यो - डायमण्ड देखियो, झण्डै नलडिहालेर त्यसलाई हात पारयो । अचानक आयो खोला। खोलामा घुम्दैथिए ठूला घट्टा । उसलाई हाम फाल्न लायो, एउटा अज्ञात बलले । यात्रा जारी राख्न हो भने हाम फाल्नै पर्थ्यो खोलामा उसले। खोलाको पानीले बगाइरह्यो। घट्टामा र ढुङ्गामा नठोक्किनु उसलाई चुनौती थियो। बहँदाबहँदै फेरि आयो, अघिजस्तै तर केही फरक बाटो। त्यही कुदाई। अलिकति पाइला ठोक्कियो, प्रकट भयो फेरि उही जटायू जीव, तर दश पाइलासम्म खेदेर हरायो। ऊ कुदिरहयो। आयो आगैआगोको बाटो।

रेलको ट्रली, अँध्यारो गुफामा। बसेको ऊ। त्यो अनकण्टार भित्र कहाँ पस्यो, वेगले हानिएर कुदिरहयो। फेरि बाटोमा डायमण्ड देखियो।

“ए भात खानु आइज ।“
मनु कुद्न थामियो।


आज पनि भाग्न आरम्भ गरयो मनु ।
कुदिरहîो। ठोक्कियो जीव प्रकट भयो। खेदयो। फेरि ठोक्कियो। त्यसले हतियार प्रहार गरयो। छात्ती बजाएर दुई हातले, उचालेर, आकाश हेरयो।
एउटा जुनी आगोमा पसेको थियो।
एउटा जुनी घट्टामा ठोक्किएर छरिएको थियो।
एउटा जुनी भिरबाट झरेको थियो।
एउटा जुनी पानीले बगाएको थियो।
एउटा जुनी जीवको प्रहारले गयो।

फेरि कुद्यो मनु। फेरि आरम्भ भयो - ‘हो’
अनि अनवरत कुदाई ।
घिर्लिङ, डोरी, खोला, बाटो, ट्रली।
....
“ए भात खानु आइज ।“
**

कुदाइमा केही कुइनेटोहरू चिन्यो उसले । हिजो ठोक्किएको ठाउँमा आज जीव आएन ।
खोला, घट्टा। डायमण्ड।

**

साथीले सोध्यो - दैलो खुला राखेर ओच्छयानमा घोप्टो परेको साथीलाई दैलोबाटै -“फेरि त्यै ? कति राउण्ड पुगिस् ?“
ऊ डिस्टर्ब भयो। गजक्क फुलिएको हाँसेर भन्यो - “आम्मामा क्या सेम छ नि हौ, आफैं छु जस्तो लाग्छ।“ पिर्लिक्क फर्केर पछिल्तिर हेÚयो।
आँखा जोतेकै फेरि एकछिनमा भन्यो - “यसमा राउण्ड साउन हुँदैन। यो कुद्ने गेम हो“
बस्दै साथीले भन्यो - “यो गेम कस्तो चैँ छ ?“
“जिन्दगीजस्तो छ ।“ मनुले मुखमा आएको भन्यो - “दîाट मिन्स’ लामो छ।“
ऊ चुपो लाग्यो । केही बेरपछि फेरि सोध्यो - “कुदेर कहाँ पुगिस् ?“
नसोधे पनि हुन्थ्यो भन्ने अवस्थामा पुग्यो मनु - “हैट् यो कहीं पुग्ने गेम होइन हौ। कुदिरहनु पर्छ। चुनौतीहरू धेरै हुन्छ । बाँचेर कुद्नुपर्छ, कुदेर बाँच्नुपर्छ। खेद्ने हुन्छ, जटायू जस्तो प्राणी। त्यसले रिस्क थप्छ अझ झन्।“
“अन्त अरूचाहिँ ?“ - साथीले सहज प्रश्न गरयो ।
“डायमण्ड जित्छ नि!“ उसले भन्यो ।
साथीले भन्यो -“के गर्छस् त त्यो डायमण्ड?“
मनुले भन्यो - “त्यसले लाईफ रिगेन पाउँछ नि!“
साथी हाँस्यो। दुवै हाँसेे।
भन्यो - “हिँड्, दलेर नखेली बस्। मेरोमा गुहार लाग्। फूल रोप्दैछु।“


उनीहरूले दाल र भातजस्तो माटो र मल मुछे। हात र मुखजस्तो जुटेर फूलबारी तयार गरे।
फूल रोपिरहँदा मनुले सोध्यो - “फूल रोपेर के हुन्छ ?“
उसले सुनेको थियो - “फूल रोप्यो भने मन सुन्दर हुन्छ, कोमल हुन्छ। फुलेपछि देख्दा मनै हरक्क हुन्छ । यस्तै के के“ - मनु फेरि दोहोरयाएर यस्तै सुन्न चाहन्थ्यो। धेरैवटा कुरा हुन्छन्, जो जिन्दगीमा एकैपल्टमा तृप्त भइँदैन। तर साथीले अर्कै उत्तर दियो, मनुको अपेक्षाको डोको लड़यो। साथीले भन्यो - “अर्काेपालि बिउ हुन्छ । कहीं खोज्नुजानु पर्दैन।“

“कस्तो फूल?“- मनु आफूलाई थाह थियो कि यो प्रश्न भएन; तर आत्मसम्मान बचाउन उसले सोध्नै पर्थ्यो। साथीले पनि जिज्ञासा - आकारको गाग्रो लिएर उभेको मान्छेलाई त्यसै फर्काउन चाहेन - “स्वीटविलियम, सालभिया, क्यालनडुला, क्याना ठूलो-सानो यस्तो फूलहरूचाहिँ कमन हो । यसको भेल्यू छैन। यसको लागि पट चाहिँदैन अनि योहरू मन्दिरमा चढ़ाउनु मात्र हुन्छ। अरू छ, भेल्यू भा’को - कार्नेसन, पेञ्जी, क्यालसेरिया - अझै खास त चङ्गेज खाँ, स्नोबल, वाइट ब्युटी..।“
“के हो ?“ मनुले रोक्यो ।
“बल भ्यारेटी। गदावरी“ साथीचाहिँले भन्यो।
“मन्दिरमा चल्दैन योहरू ?“ मनुको निर्दोष अनि स्वाभाविक प्रश्न ।
“कसले चढ़ाउँछ यति दामी ?“ उसको भन्दा निर्दोष उत्तर।

**

पिटुनिया डबल र हाइजेरेनियमको फूलको बिजन भनेर मनुलाई पनि साथीले रोप्न भनी दियो । घर आउँदा मनुले, इलामे, खर, चन्दनपाती आदि के के उम्रिएको आफ्नो पिता र भोलिको आफ्नो अचल सम्पत्ति हेर्दै आयो र घरपरिसरमा फूलबारी हुनसक्ने ठाउँमा दल्सिङ ढुङ्गाहरूको गिटीमाथि पिच्च थुकेर भित्र पस्यो। बिजन बक्सामथि राख्यो।


बहिनीले पढ्दै थिई -
“तिमी चिन्ता मात्रै गर्ने कि अस्पताल पनि देखाउने ?“
“तिमी चिन्ता मात्रै गर्ने कि अस्पताल पनि देखाउने ?“
“तिमी चिन्ता मात्रै गर्ने कि अस्पताल पनि देखाउने ?“

“ओइ !“ मनु कड्क्यो एउटा बादलजस्तो ।
“के भयो ?“ बहिनी बली बिजुलीजस्तो।
“के चिन्ता चिन्ता गरेको ?“ मनुले थिच्न खोज्यो ।
“देखिनस् अलङ्कार पढेको ?“ बहिनी स्प्रीङ भई, अनि अझ कराएर ऊसित आँखा जुधाएर, बोल्न थाली -

“सन्.....देह...... अलङ्............काऽऽऽऽ र-
रूपियाँ हो कि पैसा हो म ता अल्मलिएँ भनि।
अँध्यारोमा कोर्न लाग्यो घेरामा नङले अनि ।।

रूपियाँ हो कि पैसा हो म ता अल्मलिएँ भनि।
.....“

“ऐ को हो त्यो हल्ला गर्ने ? घरमा हल्ला भयो । यो भजन गर्ने समयमा ? सह नखेद् त।“ भित्रबाट आवाज आयो ।
आगोमा चरू हालेजस्तो मनुले पोल हाल्यो - “पढेको अरे होइ !“
“नापिस् ।“ - त्यही आवाज ।
बहिनीले तीनपल्ट कुम मात्र उचालेर भाङ्डा नाचेको भई।

**

बाहिर देखा परिन् हुरी भएर आएर भुँवरी भएर घुम्दै गरेकी - नेत्रिका, मनुकी गाउँले माइज्यु।
उसको आवाजभन्दा सास बेसी बज्दैथियो - भनिन् -
“लु तपाईंहरू पनि हिँड्नुपरयो । समाजघरमा मिटिङ छ अहिले “
मनुले आगनमा हावा खाँदै गरेको अवस्थामा सुरूपसुरूप अदुवाको चिया दुईपल्ट पियो।
मनुको बा निस्किए, सुरूवाल र इस्टकोटमा, छातीको अदम्य साहस अनि कालासेता - रौँ छातीका। अनुभवले रङ्गिदै गरेको। अनुभवको सेतो रङ्।
“के भयो ?“ सोधे ।
“उः त्यसले ढुङ्गा हान्यो ।“ मनुकी माईज्युले फेर अझ माथि तानी, तल हेरिराखेको भएर ।
“कसले ?“ सोधे।
“त्यो छ नि ..। भोटमा उठ्छु भन्ने“ माइज्युको आँखाबाट ज्वालाहरू निस्कँदै थिए।
“कुनचैँ भोट ?“ प्रश्न गयो।
“कुनै पनि भोट। हामी सबले त बुझिसकेका छौँ। अघि कुरा गरेको, नयनको दोकानमा बिँड़ी खाँदै।“ मनुकी माइज्यूको निर्दोष भाव।
“अँ, अनि के भयो ?“ प्रश्नको रम्भा, एउटा प्रहार - “लाग्यो ढुङ्गाले तिमीलाई?“
“ अमुइ नभन्नुहोस्। झण्डै। यीँ नेर खसेर नि! त्यत्रो बडे ढुङ्गाले । होइन, यसले त गर्नु पो गÚयो त हौ, अस्ती कान्छी काकीको फूलको बोट पनि भाँचिदिएछ। हिँड्नुहोस् त, हिँडनुहोस् न।“ मनुकी माइज्युले हातमा तान्ला जस्तो गरेर फेरि भनिन् - “आज त्यसलाई म चखाउँछु । मिटिङ गरिहाल्नु पर्छ।“ बूढ़ालाई हातमा तान्न नपाएकोमा अलि पछि सरिन् अनि एउटा बड्कुँलो टिपेर समाजघरतिर भएको दिशातिर हानेर भनिन् - “तपाईंहरू गएर बस्दै गर्नुहोस् । म आज गाउँ भेला गरेर त्यसको..“

मनुको चिया सकिएको थियो। तिनी उकालै कुदिन् । तलबाट माथि कराएको मधुरो आवाज अझ मधुरो हुँदै गयो -
“औ फूपा ! काका ! ए हौ मामा ! ल है ल! तपाईंहरू डल्लिर’नु न ! अत्याचार भइसक्यो गाउँमा चाहिँ... ककसले गाउँमा आगो लगाइसक्यो.. उङिबस्नुस् ल कटेरोमा ..“


**

सधैँजस्तो आज पनि राति अर्केष्ट्रा जमेको थियो। कीटपतङ्गहरूले किरकिरकिर गरेकोमा, धारामा खस्ने अनवरत पानीले छरररर थपेको थियो। दूर कता जङ्गलमा चरा हुनपर्छ, हुकुकुकुक गरेर इकोमा बोल्थ्यो। गाउँका प्रायः घरका खिड़की-खिड़कीहरू सेता कि त सुन्तले रङ्मा चहकिला थिए। अँध्यारोमा रूखहरू सुरक्षाका सिपाहीहरू जस्ता ठिङ्ग छायाँहरू भएर उभेका थिए। छेउतिरका घरहरूबाट अलिकति नबुझिने हल्ला ह्नात्त आउँथ्यो अनि प्रकृतिको उही सङ्गीतमा एउटा अंश भएर मिसिन्थ्यो र लय अझ जिउँदो हुन्थ्यो अनि कता कता भाँड़ाहरू बजेको ठाङठाङ ठिङठिङ पनि। यो अनवरत सङ्गीत त्यहाँ बजिरहेको थियो निरन्तर। जूनकीरीको एउटा झुण्ड यता देउसी खेलिसकेर उताको पोथ्रामा सरेको थियो।


कमराभित्र सेतो चमक थियो। सेतो चमक सीफीएल पाँच वाटको। भित्ता वरिपरि धेरै पुतलीहरू जामा फरर पारेर बसेका थिए। तिनमा कोही ठूला थिए, कोही साना थिए। उपनिवेशवादी बिटल्सहरू पनि आएका थिए, कार्यक्रममा। टिकट नपाएका भुसुनाहरू उँउँउँ गरेर गुनासो गर्दै, बत्तीभित्रै ब्ल्याकमा पस्ला जस्तो गर्दैथिए।

हिजोको पार्टी बिहान मात्र मनुकी आमाले आज डस्टबिनमा हालेकी थिइन्। यो पार्टी दैनिक खेलजस्तो थियो।

त्यो सेतो बत्ती संसार थियो।
**

मनु गेम खोलेर बसेको थियो ओच्छयानमा घोप्टो परेर। कुनि के सम्झेको भयो। पल्लो कोठामा सोध्यो -
“के भयो बा मिटिङमा ?“
आवाज आयो - “के हुन्छ र, देख्ने छैन । कसको कुरा ठिक, कसको कुरा नठिक । टाइमपास।“
मनुले भन्यो - “झण्डै गयो यार ।“
“तेरो यार हो बाउ?“ आमाले भनिन् ।
मनुका बाले भने - “तँ पनि केही अर्थपूर्ण गर्। घोप्टो परेर गेम मात्र नखेली बस्।“

मनु एकछिन गेमबाट गमेको भयो ।
यी शब्द कुनै नयाँ थिएनन्, मनुले सुनेकोमा। बाउको मुखबाट सुनेकोमा। सधैं सुनिरहेकै शब्द थिए ती। तर अहिले यो डिएसएलआरले खिचेको फोटो जस्तो, फोकस गरेको बस्तु मात्र अघि उभारिएर आए झैँ, अरू जम्मै पार्श्व ब्लर भएर वाक्यको एउटा शब्द मनुको मानसपटलमा उभारिएर आयो । त्यो शब्द थियो - ‘अर्थपूर्ण’ ।

उसको दिमागमा एउटा मान्छे आएर ‘दाज्यु के हो ‘अर्थपूर्ण’ भनेको ?’ भनेर गयो।

भित्री प्रेरणाले छेउबाट शब्दकोश तानेर पृष्ठहरू पल्टाउन थाल्यो।

‘माने’, ’मत्लब’, ‘अभिप्राय’, ’तात्पर्य’, ’हेतु’, ’निमित्त’ ‘प्रयोजन’ ’ऐश्वर्य’, ‘सम्पत्ति’, ’मूल्य’ यस्ता थुप्रोहरू लेखिएको उसले भेटयो।
’पूर्ण’ लाई अलग खोज्नु पÚयो ।
‘पूरा’, ‘भरि’, ‘सिङ्गो’, ‘डल्लै’ हरू लेखिएको भेटयो ।
अर्थपूर्ण-लाई भेटेन। मनुको भित्र कता पाटोमा एउटा तिर्खा उम्य्रो। पानीले तिर्खा मरेन मनुको।

प्लास्टिकको बोतलबाट पानी पियो। कागजको टयाग थिएन बोतलमा।


मनुका बाले रेडियो छोड़ेनन्, उनको तन्नेरीअवस्थाको साथी। लौरोजस्तो गरी तिनले एउटा रेडियो राखेका थिए, अझै पनि त्यो बज्थ्यो - बजिरहेको थियो पल्लो कोठामा -

ये मोह मोह के धागे
तेरी उँगलियों से जा उलझे
कोई टोह टोह ना लागे
किस तरह गिरह ये सुलझे

की ऐसा बेपरवाह मन पहले तो न था
की ऐसा बेपरवाह मन पहले तो न था
चिट्ठियों को जैसे मिल गया
जैसे इक नया सा पता ...


मोबाइलमा होला गीत बज्न लाग्यो मुनकी बहिनीको कोठामा -

‘आज है फ्राइडे नाईट, मैं चलूँ अपने फ्रेंड्स के साथ
रैंडम स्पिनिंग व्हील्स मेरी बूम-बूम कार
लगा के सीडी प्लेयर हम तो चले हैं तैयार
स्पीकर मारे बेस कर दे सब के कान फाड़
हेलो मिस्टर डीजे, मेरे गाना प्लीज़ प्ले
आज नो वाइन आज नो लागा, आज पियेंगे शैमपेन
बा बा बा बूज़िंग, डांसिंग एंड वी क्रुज़िंग
बाउंसर पंगा लेता है तो, गौटा कीप इट मूविंग
चार बज गए लेकिन पार्टी अभी बाकी है
तारे गिर गए लेकिन पार्टी अभी बाकी है
मेरे डैडी है नाराज़ लेकिन पार्टी अभी बाकी है
पार्टी हो गयी तो आफ्टर पार्टी अभी बाकी है

नन्दनले मेसेज गरेको मनुले पढ़्यो।
‘दुई र दुई कति ?’
‘हिसाबमा कमजोर थिएँ‘अस्ती भनेको थियो मनुले उसलाई।
एकक्षण ढिलो नगरी लेखिपठायो- ‘२२’
उताबाट त्योभन्दा छिटो उत्तर आयो - ‘होइन, ४।’
मनुले हार्नलाई पर्खेको जस्तो झन् छिटो उत्तर पठायो - ‘जितिस्’
उताबाट -‘आँ गरेर आँसुसरी भएर हाँसेको ईमोजी आयो अनि शब्दहरू आए - ‘जित्नु भनेको नै जिन्दगी हो के यार।’
मनुले पठायो - ‘को भाले, को पोथी भनेर लँड़ाइ गराउनेलाई चाहिँ हो! जितिरहन खोज्दा कुनै दिन ‘कति बोतल फिनाइल खाने’ कम्पिटिशन पनि जित्लास्।’’


कोमलिका मनुकी प्रियेसी।
मेसेज पठाएको थियो अघि मनुले। - ‘आई लभ यु !
अनि पठाएको थियो, कुखुरा-बाख्राको भन्दा सस्तोमा पाइने ‘हार्ट’ जीआईएफ फाइल भुक्लुक/भुक्लुक भइरहेको। अन्त चुम्मा गरेको ओठ चुच्चो पारेको इमोजी पनि।

कोमलिकाले साहित्य लिएर पढ़दैथिई - पठाइछ-
‘हम को मालूम है जन्नत की हक़ीक़त लेकिन
दिल के ख़ुश रखने को, ‘ग़ालिब’ ये ख़याल अच्छा है’

मनुले लेख्यो - ‘यो तिम्रो मुखबाट सुहाएन हौ।’

केही समयपछि मनु बाथरूम पस्यो। बाथरूम माने टोइलेट, बाहिर गएर ड्रमबाट पानी उबाएर भित्र पस्नु पर्ने, टिनको डब्लू, एम भएको दैलो खोलेर। अनि निढाल जस्तो भएर हात पुछ्दै आयो।

हेÚयो कोठामा - एउटा गोलाकार पारदर्शी पिण्डभित्र प्रेमीलजोड़ी, केटाले कालो सूट र हात समाएर यसो ढल्केकी केटीले सेतो जामा लाएर डल्लै अवस्थिति नै घुम्दै गरेको वस्तु। चम्किला ताराहरू, रङ्गविरङ्गी धुवाँ जस्तो प्रकाश। शोकेसभित्र। नदेखिने गरी तार लगेर थ्री पीन जोड़िएको। मनुले जन्मदिनमा पाएको कोमलिकाबाट। उसले नजिक गएर हेÚयो। भित्रबाट ती प्रेमीजोड़ीले गुलिभरको टाउको देख्यो मनुको अनुहार। ती दुईले शङ्का गरे कि ! आफूहरूको अस्तित्वमाथि, एकछिनपछि घुम्न बन्द भए।

मेसेज हेÚयो उताबाट कुनै प्रतिक्रिया आएन रहेछ। सायद कोमलिका कठोर भएर निदाइसकी । उसले अझ लेख्यो ‘मेरो छेँड़ै मात्र नखोज काली, म पनि नौद्वारकै मान्छे हुँ’
----


मोबाइलले उसलाई हेरिरहयो, मोबाइलको उज्यालो अनुहार । मनुको पुतली फारिएको थियो, उसकी निद्रादेवी, मोबाइलको दैलो खुल्लै देखेर ‘मान्छे सुतेको छैन, जहिले जाँदा पनि हुन्छ’ भनेर कतै डुल्न निस्केकी थिई।
बिना स्वार्थको समय कुराई धेरै लामो समयसम्म चलिरहयो ती प्राणी र प्राणी हुन आँटेको दुई जीवहरू माझ।
अन्ततः मनुले “गुड नाइट’’ भनेर मोबाइल स्वीच अफ गÚयो।

**

बिहान।
मनु बाहिर थियो।
आज उसको मनमा स्फूर्ति थियो, बिहान छिटो उठेको थियो।
युगचेत ६ वर्षको भाइ आइपुग्यो। भन्यो - “माइला काका! माइला काका खेदाखेदी खेलम् न !“
तोतेबोली, मीठो थियो । मनुले सोध्यो -“कस्तो ?“
“म छुन्छु, तपाइँ हुनुहोस् । तपाइँले छुन्छ, म हुन्छु।“


**
मनुको फूल रोप्ने साथी, कहाँ गएको हो ? भन्न सकिएन। अघि यतैबाट उता तेर्सै गइरहेको थियो ऊ।
**


आजको समय,
मनुको फूल रोप्ने साथी अनि मनु दुवैजनाले पचास नाघिसकेका छन्। बसेका छन् गोलमेचको वरिपरि आराम कुर्सीमा। रेलिङ स्टीलको। समुद्रको दृश्यलाई थामेको छ त्यसले अनि उता विराट नीलो पानी। छालहरू सेता। किनारसम्म आउँदैछन्-फर्कँदैछन् । त्यही किनारको बालुवामा जीवन्त रमाइरहेका छन् बालबच्चा, वृद्ध बनिता।

***
अब कथाले माग्छ, अन्तिम-बिचमा के भएको थियो ? यो भन्न सकिएन।
तर यो कथाको उपसंहार चाहिँ यही हो।
कथाले पनि खोजोस् अलिकति आफूभित्र।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।