17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निबन्धका निष्णात व्यक्तित्व: केन्द्र र परिधिमा

कृति/समीक्षा प्रा.कपिल अज्ञात May 17, 2022, 4:04 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

निबन्धका निष्णात व्यक्तित्व हुन् – रामबाबु घिमिरे (२०११), उनले कविता, आख्यान जे लेखे पनि उनको मूलप्रवाह निबन्ध नै हो । चितवनका मात्र नभई राष्ट्रकै उत्कृष्ट निबन्धकारमध्ये उनको नाम अग्रस्थानमा मान्न सकिन्छ । उनी प्रकृतिप्रति विश्वास र प्रकृतिको रक्षा गर्नुपर्छ भन्ने मान्यता राख्ने निबन्धकार हुन् । चर्चामा भन्दा सिर्जनात्मक स्वभाव र सत्यतामा विश्वास राख्ने उनी सिर्जनात्मक शैलीमा आफ्नो अन्तस्र्वभावलाई इमानदारितापूर्वक मुखर गराउँछन् ।
उनको अध्ययनको क्षितिज व्यापक छ । उनी जीवनजगत्लाई गहिराइपूर्वक नियाल्न सक्छन् । मनको ऐनादेखि ग्रहगतिसम्मका कुरा गर्छन् । जीवन र मृत्युका सन्दर्भमा उनले उठाएका प्रसङ्गहरू उत्तिकै गहन र मननीय छन् । गहन तथ्यलाई पनि सरलतामा प्रस्तुत गर्न सक्नु उनको निजत्व हो । छोटा–छरिता वाक्यहरूमा जुन आत्मव्यङ्ग्यको प्रविधि अपनाएका छन्, त्यसैले नै उनको निबन्धकारितालाई शिखरमा पु¥याएको छ । यदाकदा मुक्तक, दृष्टान्त र सदुक्ति जेजे प्रयोग गर्छन्, ती सबै कथ्यलाई संपुष्टि मात्र होइन निबन्धात्मक गतिलाई मनोरमसमेत तुल्याएका छन् ।
म हरेश खान थालेको छु (२०४७), लेख्न नपर्ने कुराहरू (२०५७), अनर्गल प्रलाप (२०६६) पछिको यो चौथो कृति हो केन्द्र र परिधि (२०७६, चैत्र) । यस चौथो चरणसम्म आइपुग्दा उनले भौतिकता र आध्यात्मिकताको सन्तुलनमैं जीवनलाई सुन्दर र स्वस्थ देखेका छन् । यदि सन्तुलन बिग्री सङ्कट उत्पन्न हुन्छ भन्ने उनको धारणाप्रति मेरो भावना र विचारले पनि सहमति जनाउँछन् । मनमा पिर परेपछि नै मानिस ग्रहदशा हेर्न ज्योतिषविदसमक्ष प्रस्तुत हुन्छ । मनकै पीरका सन्दर्भमा उनले यस पङ्क्तिकारको पनि सम्झना गरेका छन् । यो उनको ज्योतिषप्रतिको विश्वास र ज्ञानप्राप्तिको सम्मान हो । उनका सिर्जनात्मक पङ्क्तिभित्र प्रवेश पाउनु पङ्क्तिकारको निम्ति पनि गौरवको विषय हो । उनको सिर्जनात्मक बगैँचावृत्तमा पूmलको रूपमा समावेश हुन पाउनु प्रसन्नताको भाव जागृत गर्ने एक दिव्य कारण हो । ज्योतिषकै कुरा गर्दा निबन्धका अनेक स्थलमा ज्योतिषका प्रसङ्गहरू आएका छन् । एक ‘ग्रहगति’ नामक निबन्ध त पूरै ज्योतिष केन्द्रित छ । ज्योतिषका सैद्धान्तिक तथ्यलाई नै पुष्टि हुने गरी निबन्धात्मक साँचोमा ढालेर कलात्मक ढङ्गले प्रस्तुत गर्नु सामान्य कुरा होइन ।
‘साहित्य जीवनको दर्पण मात्र होइन दर्शन पनि हो’ भन्ने सिद्धान्तलाई उनका निबन्धले चरितार्थ पारेका छन् । जो जीवनप्रति प्रेम गर्छन्, समयको निश्चित कालखण्डलाई सार्थक र सोद्देश्य पार्न चाहन्छन् तिनका लागि उनका निबन्धहरू निकै मननीय र मर्मस्पर्शी बनेका छन् । जीवनजगत्सम्बन्धी उनका कथनहरू कहीँ कुनै अर्ती–उपदेशजस्ता नभई प्रेयसीका मधुर मनोहर वचनझैँ लाग्छन् तसर्थ जीवन सन्दर्भमा उनको यो कृति रत्न नै बनेको छ । पङ्क्तिकार पनि तीन बीस हिउँद खाइसकेको व्यक्ति हो । यो उमेरमा आएर शरीरको कति जतन गर्नुपर्छ । आफ्नै शरीर आफ्नै आत्मा वा मनको अवज्ञा गर्न थालेको घटना पनि अनुभव सत्य हो । यसमा यस्तै व्यापक अनुभवराशि सन्निहित छन् । जीवनप्रतिको अनुभवबोध गराउनमा उनका यी निबन्धहरू अनुपम मार्गदर्शक बनेका छन् ।
जीवनका गहिरा अनुभव र अनुभूतिमा डुबेर लेखिएका हुनाले उनका निबन्धहरू मानसिक ऊर्जा प्रदायक छन् । लेख–निबन्धहरू सामान्यतया दुई किसिमका हुन्छन् – (१) प्रयोजनपरक र (२) मानसिक ऊर्जाप्रदायक । उनका अपवादस्वरूप केही प्रयोजनपरक लेख–निबन्धबाहेक उनका अधिकांश लेखनिबन्ध मानसिक ऊर्जाप्रदायक रहेकाले निबन्धजगत्मा उनको कृति उच्चस्तरीय बन्न पुगेको महसुस गर्न सकिन्छ ।
मनका बारेमा, प्रेमका बारेमा धर्म, जीवन र योगका बारेमा, मृत्युका बारेमा उनका अद्भुत तर्कहरू कृतिभरि व्याप्त छन् । एकैपटक पढेर उनका कृतिको रस निचोड्न सकिन्न । जतिपटक पढे पनि उत्सुकता मेटिन्न । शब्दशक्तिको लक्षणा र व्यञ्जना विधिबाट जब कथ्यबोध मनमस्तिष्कमैं झङ्कृत हुन्छ तब उनको नैबन्धिक कला महसुस हुन्छ । यसमा जीवनोपयोगी दार्शनिक रहस्यका कुरा पनि प्रशस्त छन् । दुःख र सुख दुबैको मूल कारण हाम्रो मनै हो भन्ने दिव्य सन्देशले हाम्रो मन अभिभूत हुन्छ । हाम्रो जीवन प्राकृतिक संरचनाबाट नचली भौतिक संरचनाकै वशीभूत भएर चल्दा दुःखद स्थितिहरू बेहोर्न परेको तथ्यलाई पनि निबन्धहरूले उजागर गरेका छन् ।
यस निबन्धमा निबन्धकारले मानवीय मनोप्रवृत्तिका तहतहको सूक्ष्मतापूर्वक यति सुन्दर विश्लेषण गरेका छन् । ती प्रखर प्रतिभा र गहन अध्ययनबिना सम्भव देखिँदैनन् । निबन्धको आकार लघु भनिए पनि त्यति लघु छैनन् र ती भावप्रक्षेपणका दृष्टिले अत्यन्त घनीभूत छन् । उनका समग्र निबन्ध सरल, तरल र सम्प्रेष्य छन् । भावना, कल्पना र चिन्तनको अद्भुत समन्वय नभई बिम्बै–बिम्बका मनोरम शृङ्खला सटीक रूपमा जडित छन् । हाम्रो मन–मस्तिष्कमा बयेली खेल्न सक्ने उनका निबन्ध पढ्दा निकै आनन्द आउँछ । कथ्यलाई काव्यात्मक चास्नीमा डुबाएर प्रस्तुत गर्ने हुनाले पनि उनका निबन्ध पढ्दा कुनै पट्यार लाग्दैन । प्रसङ्गका अनेक तानाबानाबाट पनि उत्सुकताको लयमा उनिएकाले रोचकता स्वतः सिर्जित भएर आउँछ । जति दोहो¥याएर पढे पनि कत्ति नीरस नलाग्ने भाव र चिन्तनलाई अद्भुत समन्वय गरेर सरल र स्पष्ट प्रस्तुतिमा भएका अभिव्यक्तिले मनलाई नै सम्मोहित पारेर पाठकलाई कथ्यवृत्तमा रमणीय वातावरण सिर्जना गर्छन् । त्यसबाट पाठक अतिशय अनुरक्त स्थितिमा आत्मिक रूपमैं आत्मविभोर बन्न पुग्दछ ।
भावबोध र मसृण चिन्तनका साथै उनमा समीक्षात्मक चेत पनि प्रबल छ । निबन्ध कृतिभित्रैको ‘तस्बीर तिम्रै’ यसको दृष्टान्त हो । एक निबन्धकारको समीक्षात्मक चेत तीव्र हुनुपर्छ र तबमात्र त्यसले उत्कृष्ट निबन्धहरू जन्माउन सक्छ । उनका केही निबन्ध सायद त्यसैका उदाहरण हुन् । साहित्यिक व्यक्तित्व व्यासका अतिरिक्त उनले राजनीतिक शिखर व्यक्तित्व कृष्णप्रसाद भट्टराईको पनि समीक्षा गरेका छन् । साहित्य र राजनीति दुबै मानक मापदण्डमा उनी निपुण देखिन्छन् । सत्य र तथ्यमा आधारित उनका तर्कसम्मत र विवेकसम्मत व्याख्याले समीक्षात्मक निबन्धको उत्कृष्ट स्वरूप वहन गरेको देखिन्छ । उनका चिन्तन र भाव कथनहरू कपोलकल्पित मनगढन्त स्थितिमा आधारित नभई व्यावहारिक सत्यतामा आधारित छन् । उनले आफ्नै यथार्थ जीवनमा घटेका घटना आफ्नै वरपरको परिवेश र आफ्नै उत्प्रेरक सहृदयी मित्र व्यक्तित्वको पनि संस्मरण गरेका छन् सन्दर्भअनुसार । यस क्रममा निर्मोही व्यास, कपिल अज्ञात, इन्द्र रेग्मी, तिलकराज शर्मा, धनराज गिरी, लक्ष्मण अर्याल प्रभृतिको उल्लेख गरेका छन्, जसले साहित्यिक वृत्तमा विशेष अर्थ र महŒव राख्दछ ।
नवीन चिन्तन, दर्शन र विचारले नै निबन्धलाई उठाउँछ । उनका नवीन चिन्तनको उपज हो केन्द्र र परिधि । यो सिर्जनात्मक गतिशीलता हो । गतिशील जीवन होस् कि राजनीति दुबैमा केन्द्र र परिधि हुन्छ । शरीरको पनि केन्द्र र परिधि छ । मस्तिष्क केन्द्र हो भने त्यसबाट परिचालित गतिशील अवयवहरू परिधि हुन् । राज्यको विकास र समृद्धिका लागि केन्द्र र परिधि आवश्यक पर्छ । दुबैको सुन्दर र सन्तुलित स्थितिमा नै प्रगति र समृद्धि सन्निहित छ भन्ने सङ्केत गर्दै निबन्धकार केन्द्र र परिधिलाई सन्तुलित र व्यवस्थित गर्नुपर्ने धारणा राख्दछन् । वर्तमान जीवन र सामयिक राजनीति दुबैप्रति लक्ष्यित गर्ने यो उनको नवीन विचार वा जीवनदर्शन हो । यही नवीन चिन्तनको विषयलाई आधार मानेर आफ्नो उत्तराद्र्धकालीन परिपक्व वयको उपज कृतिको नामकरण पनि केन्द्र र परिधि राखेका छन् ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।