15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धरावासीको राधा उपन्यासमा विनिर्माणवाद

कृति/समीक्षा बालकृष्ण लामिछाने May 17, 2022, 4:06 pm
बालकृष्ण लामिछाने
बालकृष्ण लामिछाने

कृष्ण धरावासी नेपाली साहित्याकाशमा प्रयोगधर्मी साहित्यकारका रुपमा स्थापित नाम हो । वि. सं. २०१७ सालमा पाँचथरमा जन्मिएका धरावासीले झापालाई आफ्नो कर्मथलो बनाए । धरावासीले कथा , कविता , उपन्यास , निबन्ध , समालोचना विधाहरुमा कलम चलाए पनि उनले उपन्यास विधामा नै मुख्य सफलता प्राप्त गरेका छन् । उनका शरणार्थी (२०५६ ) , आधा बाटो ( २०५९ ) , राधा ( २०६२ ) , तपाईँ ( २०६३ ) प्रकाशनमा आइसकेका उपन्यास हुन् । बालक हराएको सूचना ( २०४८ ) , नारीभित्र त्यस्तो के छ हजुर ? (२०५३ ) , उत्तमजङ्ग सिवजापतिको आलु ( २०५५ ) निबन्ध सङ्ग्रहहरुले उनलाई विचारपरक निबन्धकारका रुपमा चिनाएका छन् । उन्मुक्तिका आवाजहरु (२०५५ ) , कान्छी राधा ( २०६२ ) जस्ता काव्यकृति प्रकाशनमा ल्याउने उनी कविका रुपमा पनि परिचित छन् । झोला (२०६२ ) कथा सङ्ग्रहले नै उनलाई सबल कथाकारका रुपमा स्थापित गरेका छन् । धरावासीले प्रकाशनमा ल्याएका विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरु (२०४८ ) लीलालेखन (२०४८ ) , पाठकको अदालतमा (२०६२ ) समालोचनात्मक कृतिहरुले उनको द्रष्टा व्यक्तित्व पनि उर्बर रहेको देखाउँछ । लीला प्रस्तावना , अभिलेख , कन्दरा , आजको कविता , वनिता ( लीलालेखन विशेषाङ्क ) जस्ता साहित्यिक पत्रपत्रिका र पुस्तकाकार कृतिहरुको सम्पादनमा सम्लग्न भइसकेका उनी एक कर्मठ साहित्यिक व्यक्तित्वका रुपमा चिनिन्छन् । यति धेरै साहित्यिक गतिविधिसँग सम्लग्न धरावासी महानन्द पुरस्कार ( २०४६ ) , उत्कृष्ट राष्ट्र्रिय यवा पुरस्कार (१९९५ ) , राट्रिय प्रतिभा पुरस्कार (२०५३ ) , यवावर्ष मोती पुरस्कार ( २०५६ ) , प्रतिभा पुरस्कार , विराटनगर ( २०५७ ) र मदन पुरस्कार ( २०६३ ) बाट पुरस्कृत भएका छन् । यसरी उनी मोफसलमा बसेर पनि बढी सफलता र चर्चा पाउने स्रष्टा हुन् ।

कृष्ण धरावासीको मूल साहित्यिक प्रवृत्ति लीलालेखन हो । लीलालेखन इन्द्रबहादुर राईद्वारा पूवीर्य अध्यात्म दर्शनलाई पनि मिलाएर प्रतिपादन गरिएको उत्तरआधुनिकतावादको पूर्वीय संस्करण हो । औपनिसदिक माया , बौद्घशून्य , जैन स्यादवाद , भौतिकवैज्ञानिक सापेक्षवाद ,मनोविश्लेषणात्मक फ्रायडवाद , मार्क्सवादीय ,आइडोलोजीका सिद्घान्त , व्यवहारवाद , समालोचनात्मक पाठकीय प्राप्ति सिद्घान्त , विनिर्माणवाद , क्वान्टम पिजिक्स , लोकवत्तु लीलावैकल्यम् आदिबाट लीलालेखनले आधा।र प्राप्त गरेको जनाइएको छ । यसमा जे जति तथाङ्क उल्लेख भए पनि लीलालेखनको मुख्य प्रभाव स्रोत विनिर्माणवाद नै हो । बनिसकेको कुरालाई भत्काएर फेरि बनाउनु , पढिसकेकोलाई विपठन गर्नु नै विनिर्माणवाद हो । धारणाहरुको भिन्नताका कारणले व्यक्तिपिच्छे दृष्टि , बुझाइ र पढाइमा भिन्नता ल्याउँछ । मानिसले सबै कुरालाई आफूअनुसारको बनाएर हेर्न खोज्छ । यसरी वस्तु व्यक्तिपिच्छेका सोचाइ , बुझाइ , विचार र सजिलोअनुसार लीलायित अथवा विनिर्मित हुन्छ । पठन र विपठनबाट वस्तुको विनिर्माण भइरहने भएकाले यथार्थ पनि समय , स्थान र परिस्थिति अनुसार फरक हुन्छ । विनिर्माणवादमा सत्य स्थिर र सार्वभौम छैन ।
ज्याक डेरिडाले भनेजस्तै नै विनिर्माण वा विपठन नै एकपमात्र सही पठन भएकाले पाठभन्दा पाठक र पठनको महत्व बढी देखाइएको छ । कृतिमा एउटै मात्र अर्थ खोज्नु पाठकलाई विपठनको स्वतन्त्रताबाट वञ्चित गराउनु हो । विनिर्माणवादमा भाषाले लीलालाई अझ लीलामय बनाउन सहयोग पुर्‍याउँछ ।

यसरी विनिर्माणवादबाट मूल प्रभाव ग्रहण गरी इन्द्रबहादुर राईद्वारा प्रतिपादित लीलालेखनका सशक्त प्रयोक्ता धरावासीले पनि विनिर्माणवादलाई आफ्नो मूल प्रवृत्ति बनाएका छन् । यस लेखनमा विनिर्माणवादी दृष्टिले नै राधा उपन्यासलाई हेर्न खोजिएको छ ।
विषय प्रवेश

राधा , देखेको सत्यमात्र लेख्ने कृष्ण धरावासीले लेखेको स्वैरकल्पनावादी सशक्त उपन्यास हो । यो धरावासीले नै लेखेको उपन्यास भए पनि यसको भूमिका खण्डपछि अन्त्यसम्म नै उनी एक श्रोताका रुपमा उपस्थित छन् । उनी बीचबीचमा पाठकीय शैलीमा घटनाहरुप्रति आफ्ना धारणाहरु व्यक्त गर्दछन् । प्रतिक्रिया जनाउँछन् । यो आजको सामाजिक धरातल प्राप्त गरेकी राधाको आत्मकथा हो । अर्जुनधाराको कीचक बधमा उत्खनन् गर्दा बाकसमा भेटिएका धातुका पातामा लिखित आत्मकथाका वाचक कृष्णबाट दण्डित र श्रापित भई संसार घुमिरहेका अश्वत्थामा हुन् । यस उपन्यासमा पुराणका सर्जक मानिएका व्यासको कुनै अस्तित्व देखाइएको छैन । स्वयम् धरावासीको लेखकीय अस्तित्व पनि सङ्कलकका रुपमा मात्र आएको देखिन्छ । लेखन वा संयोजनपछि लेखकको मृत्यु भएर पाठमात्र बाँकी रहेको छ भन्ने देखाइएको यो उपन्यास विनिर्माणवादी ढपमा आएको कुरा स्वतः प्रष्ट हुन्छ ।

कृष्ण धरावासी स्वयम्ले राधा उपन्यासमा पौराणिक कथालाई सपसामयिक चेतना प्रदान गरेर देवतालाई मानिस बनाउने कठिन प्रयत्न गरेको उल्लेख गरेका छन् । यसरी राधा उपन्यासमा कथाबस्तु , पात्र वा चरित्र , परिवेश , विचार सबैको विनिर्माण भएको छ ।
विधा विनिर्माण

यो कृतिको विधाका ठाउँमा पुराण राख्न खोजेर पनि नेपालीहरुको प्रभाववादी जीवनपद्घतिसँग हारेर उपन्यास नै राखेको उपन्यासकारले उल्लेख गरेका छन् । वास्तवमा यो पौराणिक कथा बर्तमान युगसापेक्षता प्राप्त गरी आधुनिक पुराण नै बन्न पुगेको देखिन्छ । यसमा घटनाहरुको एकोहोरो संयोजन मात्र छैन , घटनाभन्दा बढी त्यसले उब्जाएका परिस्थितिजन्य विचारहरु छन् । लीलालेखनको मान्यतामा प्रक्षेपित ती विचारहरुले निबन्धात्मक रचनाको अनुभूति गराउँछन् । संवादको आधिक्य र घटनाहरुको दृश्यात्मक प्रस्तुतिले यसले नाट्यविधाको प्रवृत्तिलाई पनि ग्रहण गरेको छ । कृतिभित्र माधव घिमिरेद्वारा लेखिएको कवितांशलाई पनि समावेश गरिएको छ । आलङ्कारिक पदक्रम र नौलो शैलीको भाषिक खेलका कारणले कृतिले कविता विधाका विशेषताहरुलाई पनि उल्लेख्य मात्रामा ग्रहण गरेको छ । यसरी पौराणिक विषयवस्तको आधुनिक सन्दर्भलाई पश्चिममा विकास भएर आएको उपन्यास विधाको आयामभित्र समेटिएको भए पनि यसले सबै विधाका प्रवृत्तिहरुलाई ग्रहण गरेको छ ।
कथाबस्तुको विनिर्माण

राधा उपन्यासमा पौराणिक कथाको व्यापक विनिर्माण भएको छ । पुराणका कथाको अलौकिकपन राधामा आउँदा पूरै लौकिक र सामाजिक बनेको छ । कुनै चामत्कारिक दैवी शक्तिद्वारा नियन्त्रित भएका पुराणका घटनाहरु राधा उपन्यासमा तथ्यपरक कारणहरुद्वारा नियन्त्रित छन् । पुराणमा उल्लेख गरिएका घटनाहरुलाई विनिर्माण गरी बर्तमान समयको हाम्रै समाजको सापेक्षमा चित्रण गरिएको छ र थप विकथाहरुको पनि संयोजन गरिएको छ । एउटा धार्मिक महत्व बोकेको दैवी र चामत्कारिक पाठ सामाजिक महत्वको बनेको छ । मानवीय जीवनका उतार–चढाव , हाँसो –खुसी , सुख–दुःख , आदिको उद्घाटनका साथै मानिसले जीवनमा गर्ने भ्रमपूर्ण सङ्घर्षलाई मूल विषय बनाइएको छ ।

राधा उपन्यासमा नारी मुक्ति तथा पिछडिएको जाति जनजातिहरुको उत्थानको उद्घोष गर्ने विकथाहरुको संयोजन गरिएको छ । अहिले हाम्रो समाजमा उठिरहेका यी आवाजहरुलाई राधा उपन्यासको कथावस्तुले थोरबहुत समेट्न खोजेको छ । कृष्णमा रहेको भोगवादी प्रवृत्ति र पुरुषवादी अहम्का कारणले राधाभित्रको नारीवादी चेतनालाई जगाइदिएको छ । पुरुषहरुबाट आफूलाई जोगाउन घरभित्रै पनि साँघुरिएर सतर्क भएर बस्ने बाध्यतामा रहेका नारीहरुको चेतनाको ज्वाला तीब्र बन्दैछ भन्ने कुरा राधादेखि एकनंशा , कुन्ती र द्रौपदीसम्म फैलिएको कथाप्रसङ्गले देखाउँछ । युगयुगदेखि शोषित , पीडित , प्रताडित र कुण्ठित हुँदै आएका नारीहरुको मुक्तिको स्वरलाई राधा उपन्यासले मुखरित गरेको छ । यस्तै राधा र पिल्लीको हिमालयखण्डतिरको यात्रामा पिल्लीको सेर्पायुवकसँगको प्रेमप्रसङ्ग र उनीहरुका बीचको आपसी सांस्कृतिक सद्भावमा जाति जनजातिको उत्थानको आकाङ्क्षा भेटिन्छ ।

पापी कंशलाइृ कृष्णले वध गरी धर्मको रक्षा गरेको र पापी कंशको पापबाट धर्मात्माहरुलाई मुक्ति दिएको पौराणिक प्रसङ्गलाई राधा उपन्यासमा अझ सुन्दर ढङ्गले विनिर्माण गरिएको छ । यो पुराणकालीन पाप र धर्मबीचको युद्घलार्इृ समकालीन समाजको निरङ्कुशताका विरुद्घमा भएको मुक्तिकामी क्रान्तिका रुपमा विनिर्माण गरिएको छ । कृष्णले निरङ्कुश शासक कंशका विरुद्घ योजनाबद्घ छापामार युद्घ सञ्चालन गरेको देखाइएक्ो छ । बुढा , बालक , जवान , नारी , पुरुष सबैलाई सहभागी बनाई कृष्णले कलात्मक युद्घपद्घत्ति अपनाएका छन् । हाम्रै समाजको द्वन्द्वकालको झल्को आउने गरी राधा उपन्यासमा कृष्णको क्रान्ति अभियान उल्लेख गरिएको छ । त्यस्तो एउटा प्रस्रङ्ग हेरौँ :– “ तालिमकेन्द्र निकै व्यवस्थित भएको थियो । उनीहरुले हातहतियार तथा खाद्यपदार्थ राख्न केही सुरुङहरु पनि तयार गरिसकेका थिए । हातहतियार बनाउने पनि काममा व्यस्त थिए । अर्थात् त्यस्तो लाग्दथ्यो , केही ठुलै युद्घको यो तयारी हो । ”

लडाकूहरु जङ्गलबाट निस्किएर गाउँ कब्जा गर्दै बिस्तारै नगरतर्फ बढ्न थाले । कंशका सेनासित भिडन्त गर्दै र उनीहरुलाई आफ्नो दस्तामा मिलाउँदै कृष्णको सेनादल अगाडि बढिरहँदा कंश आत्तिसकेको हुन्छ । कृष्णका छापामार लडाकूहरु शुशीलाजस्ता लडाकूलाई गुमाउन ुपर्दाका पीडा तथा भिडन्तहरुमा सफलता पाउँदाको खुशीलाई सँगालिरहेका हुन्छन् । त्यस्तोबेला युद्घका चपेटामा परेका जनताहरुको पीडा तथा कंशको निरङ्कुशताका कारणले प्रताडित भएका जनताहरुको युद्घमा सहभागितालाई पनि राधामा सूक्ष्म रुपमै चित्रण गरिएको छ । होसियारीपूर्ण तरिकाले युद्घ सञ्चालन गर्दै गएुर अन्त्यमा सफलता प्राप्त गरेको उक्त कथा समयसापेक्ष रुपमा विनिर्मित भएको छ । जसले माओवादीले देशमा सञ्चालन गरेको युद्घलाई सापेक्षित रुपमा उतारेको छ ।

राधा उपन्यासमा पुराणमा प्रचलित परम्परित कथालाई विघटन तथा विपठन गरिएको छ । यसले हाम्रै समाजको उतारचढाव , होचीअर्घेलीदेखि लिएर सिङ्गो समाजको विकासप्रक्रियालाई नै उतारेको छ । पुराणकालीन देवता र दानवबीचको द्वन्द्वको कथालाई विनिर्माण गरी बर्तमान समाजको सत्ता राजनीतिको खेलका रुपमा चित्रण गरिएको छ । पुराणको विनिर्माण भई बनेको नयाँ कथाले बर्तमान सामाजिक ,आर्थिक ,सांस्कृतिक , धार्मिक , भाषिक स्थितिको चिरफार गरेको छ ।

राधा उपन्यासमा नारी र पुरुषबीचको प्रेम र आकर्षण तथा राग अनुरागको कथालाई फराकिलो स्थान दिएको छ । यसमा सृष्टिदेखि आजसम्म सबैभित्र समानरुपले उत्पन्न हुने यो चेतनाको उर्जालई सूक्ष्म रुपले केलाउने काम भएको छ । पात्रका मनमा मोडैपिच्छे उत्पन्न हुने प्रेम र आकर्षण तथा घृणा र तिरस्कारले घटनाहरु प्रभावित हुँदै कथा अगाडि बढेको छ । प्रेममा नै जीवन उर्जाशील र जीवन्त बनेको देखाइएको छ ।

राधा उपन्यासमा पौराणिक कथालाई विनिर्माण गरी बर्तमान कालको हाम्रै समाजको कथालाई प्रस्तुत गरिएको छ । पौराणिक कथा विनिर्माण भई राधामा पूरा पूरा सामाजिक बन्न पुगेको छ । यसले राजनीतिक निरङ्कुशता , त्यसको विरुद्घ हुने क्रान्ति , क्रान्तिबाट हुने परिवर्तन र समाजविकासको प्रक्रियालाई देखाइएको छ । युग युगदेखि शोषित पीडित बन्दै आएका नारी तथा पछाडि पर्दै आएका वर्गका चेतनालाई पनि यसले समेटेको छ । उपन्यासले ईश्वरीय लीलालाई प्रेमकथाको रुप दिई यसले मानव जीवनमा पर्ने प्रभावलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।

चरित्र विनिर्माण

पुराणका दैवी र दानवीय चरित्रहरु राधा उपन्यासमा पूरै मानवीय चरित्रमा विनिर्माण भएका छन् । तिनीहरु रिस– राग, दया– माया , हाँसो– खुशी , क्रोध– आक्रोस जस्ता मानवीय संवेदना र संवेगहरुले युक्त भएका छन् । आ–आफ्नै विशेषता बोकेका ती पात्रहरु बर्तमान समाजका मानिसहरुभन्दा भिन्न लाग्दैनन् । राधा उपन्यासका कुनै पनि पात्रसँग त्यस्तो ऐयारी , तिलस्मी र जादुगरी शक्ति पाइन्न । सांसारिकतामा चुर्लुम्म डुबेका , समाजमा आ–आफ्नो एउटा–एउटा भूमिका निभाइरहेका , आ–आफ्नो अस्तित्वका लागि लडिरहेका पात्रहरुको उपस्थिति नै राधामा भएको देखिन्छ । राधा उपन्यासमा परिस्थितिबाट चाँडो प्रभावित हुने तीब्र संवेदना बोकेका पात्रहरुकै बाहुल्य छ ।

पुराणमा बालभूमिका पाएर देवीका रुपमा चित्रित राधाको चरित्र यस उपन्यासमा मुख्य नारी चरित्रका रुपमा विनिर्माण भएको छ । राधा हृदय , प्रेम र मनकी प्रतीक हुन् । उपन्यासमा लामो भूमिका पाएकी कृष्णकी प्रेमिका राधाको जीवन अविवाहित रहेर नै बितेको देखाइएको छ । कृष्णको स्वार्थी र अभिमानी व्यवहारको जालोमा राधाले आफ्नो मन र जवानी जलाएकी छन् । बाल्यकालमा कृष्णसँग गहिरो प्रेम सम्बन्धमा बाँधिएकी राधा त्यसपछिका दिनहरुमा मोडैपिच्छे कृष्णप्रति कहिले प्रेम , कहिले घृणा र तिरस्कार हुर्काउँदै जीवन बिताउँछिन् । परिस्थिति बदलिँदै रहँदा राधाको मानसिकता पनि बदलिँदै रहन्छ । त्यसले उनको जीवनलाई गतिशील बनाएको छ । उनको हृदयमा संसारलाई पुष्पित , पल्लवित र सुगन्धित बन्न प्रेरणा प्रदान गर्ने अमर प्रेम छ तर उनको आफ्नै जीवनचाहिँ जटिल , जड र मरुभूमितुल्य बनेको देखिन्छ । यसो हुनुमा राधाका आफ्नै मानवीय कमजोरीहरु पनि रहेका छन् । कृष्णले

पटक—पटक आफ्नोमा बोलाउँदा तिनले पो पहिले मलाई भेट्न आउनुपर्ने हो भनी प्रेमको आदर्श र भावुकतामा बस्नु राधाको कमजोरी थियो । त्यही कमजोरीका कारणले उनको उर्बर हुने सम्भावना बोकेको जीवन बाँझो बनेको देखिन्छ ।

जव मानिसको भावनामा गहिरो चोट लाग्छ , तब नै विचार प्रबल बन्न थाल्छ । गहिराइतिर गएर त्यसका कारणहरु खोजिन्छन् । आफ्नो प्रेमको मूल्य कृष्णले नबुझेर भावनामा ठेस लागेपछि राधामा वैचारिक चेतना तिखारिन थाल्यो । त्यसबेला नै उनी पुरुषवादी अहम्का कारणले नारीहरु युग–युगदेखि सताइँदै आएका छन् र दासतुल्य जीवन जिउन बाध्य छन् भन्ने बुझ्छिन् । त्यसैले नै उनी अब कहिल्यै विवाह गर्दिन भन्दै कठोरतापूर्ण निर्णय गरी नारी मुक्तिका लागि चेतनाको उज्यालो छर्दै देशाटनमा जीवन बिताउछिन् ।

यसरी पुराणमा बाल्यकालसम्मको सामान्य भूमिकामा भगवतीका रुपमा चित्रित राधाको चरित्रलाई लामो भूमिका प्रदान गरी समकालीन समाजका पुरुषहरुको अपहेलनाले पीडा भोग्न बाध्य भई त्यस्तो संरचना भत्काउन सङ्घर्षको अभियानमा जुटेकी नारी चरित्रका रुपमा विनिर्माण गरिएको छ ।
पुराणमा अद्भूत दैवी चरित्रका रुपमा चित्रण गरिएका कृष्णलाई पनि राधा उपन्यासमा सामान्य मानवीय गुण र कमजोरीले युक्त चरित्रका रुपमा विनिर्माण गरिएको छ । राधा उपन्यासमा कृष्णको त्यस्तो जादुमय दैवीशक्ति देखाइएको छैन । बाल्यकालमा औखी स्वभावका कृष्णका कार्यहरुले कति गाउँलेहरुलाई पीडित पारेको थियो भने कति तिनका कार्यले रोमाञ्चित हुन्थे । तिनले मानवले गर्नसक्ने कार्यमात्र गर्थे तर त्यसलाई बढाई–चढाई प्रचार गरिएको थियो । पछि गएर परिस्थितिले उनलाई नेतृत्व तहमा पुर्‍यायो ।

राधा उपन्यासका पात्र कृष्ण सामान्य बाल्यकाल बिताएर परिस्थितिले नेतृत्व भूमिकामा पुगेका हाम्रै समाजका कतिपय कुटिल र विलाशी राजनेता जस्ता देखिएका छन् । जनताको उत्साहलाई नेतृत्व गरेका तिनकै कारणले व्यवस्था र व्यक्ति परिवर्तन भए पनि प्रवृत्तिमा कुनै परिवर्तन आउँदैन । उस्तै भ्रष्ट व्यवहार , उस्तै सत्तालिप्सा , उस्तै विलाशिता भएका आजका शत्तासीन राजनीतिक नेताका रुपमा कृष्णको चरित्र विनिर्माण भएको छ । बाल्यकालमा धेरै गोपिनीहरुसँग समीप हुनु तिनको औखीपनले हो भने कंशको वधपछि सत्तामा पुगेर अनेकसँग विवाह गर्नु तिनको राजनीतिक विलाशिताको विकार हो । राणाशासन कालका शासकहरुको विलाशितालाई हेरे शासकीय विलाशिताको परिचय पाइन्छ । त्यही विलाशी रुप राधा उपन्यासको विनिर्मित पात्र कृष्णमा पाइन्छ ।

कृष्ण्को व्यवहारले प्रेम र भावनाको कदर गर्न सकेको छैन । तिनी हाम्रो प्रेमको प्रतीक भन्दै विशाल राधा महल बनाउन सक्छन् , राधाका अघि परेर तिमीलाई प्राप्त नगर्दा म यो युगकै कमजोर पात्र बनेको छु भन्न सक्छन् तर राधाका मनमा अनुभूति हुने गरी प्रेम गरेको व्यवहार देखाउन सक्दैनन् । कसरी सबैलाई सन्तुलनमा राखेर आफ्नो स्थानमा बसिरहने र सुखभोग गरिरहने भन्ने कुटनीतिक व्यवहार कृष्णमा प्रष्टैसँग देखिन्छ । यसरी पुराणमा चित्रित र महानायकीय कृष्णको चरित्र राधा उपन्यासमा औखी , बहादुर , विलाशी , अभिमानी र स्वार्थीजस्ता गुणदोषयुक्त मानवीय चरित्रका रुपमा विनिर्माण भएको छ ।

पुराणमा राक्षसी र पापी चरित्रका रुपमा चित्रित कंशको चरित्रलाई पनि राधा उपन्यासमा स्वेच्छाचारी निरङ्कुश शासकका रुपमा विनिर्माण गरिएको छ । हाम्रै देशका निरङ्कुश कालका राजाका जस्ता चरित्रदोषहरु कंशमा आरोपित गरिएका छन् । कंशले आफूमा महाशक्ति रुप देख्नु उसका चारित्रिक दोष हुन् । जनतालाई दवाएर राख्नुपर्छ भन्ने शासकीय संस्कृतिका कारणले नै उसलाई निरङ्कुश बनाएको हो । परिवर्तन बुझ्न नसक्ने कमजोरीका कारणले ने उसको पतन भएको देखाइएको छ ।
राधा उपन्यासमा अक्रूर , गर्गऋषि , एकनंशा , यशोदा माता , नन्दराय , वसुदेव , देवकी , कलावती , चन्द्रभानु , कुन्ती , द्रौपदी , रुक्मिणी आदि सानो ठूलो भूमिकामा आएका सबै पात्रहरुले नै बर्तमान युगसापेक्ष भूमिका प्राप्त गरेका छन् । इतिहासको कुनै कालखण्डमा बर्णित गोपालवंशी राजा जयगुप्तलाई पनि राधा उपन्यासको एक पात्रका रुपमा उभ्याइएको छ । पिल्ली , पिल्लीकी सासू , हिमालय खण्डका सेर्पाहरु राधा उपन्यासमै सिर्जित नयाँ पात्रहरु हुन् ।

उपन्यासको पृष्ठभूमिमा आएका झापाका तत्कालीन प्र. जि. अ. टीकाराम अर्याल , एस. एस. पी. शिवकुमार खड्का , पूरातत्वविद् उद्घव आचार्य साथै रामनाथ बास्कोटा , कृष्ण दाहाल , डिकमान विरही , माधव विद्रोही , लक्ष्मण ढकाल , तीर्थ सिग्देल , राजेश ढुङ्गाना , लेखनाथ भट्टराई , भूमिलाल राजवंशी । कृष्ण हुमागार्इँ जस्ता जीवित पात्रहरुको चारित्रिक प्रस्तुतिले उपन्यासलाई थप जीवन्त बनाएको छ ।

यसरी पुराणका पात्रहरुलाई राधा उपन्यासमा बर्तमान सपय सापेक्षता प्रदान गरी विनिर्माण गरिएको छ । यसरी विनिर्माण गरिएका पात्रहरुका कतिपय भाव र प्रवृत्ति पौराणिक कालदेखि नै आइरहेका छन् भने कतिपय चारित्रिक विशेषताहरु आजको युगसापेक्ष छन् । राधालाई पुराणमा नभएको नयाँ भूमिका दिई उनकै सापेक्षमा कृष्ण र अन्य पात्रहरुलाई हिँडाएर तिनको विपात्रीकरण पनि गरिएको छ । यसका साथै राधामा संयोजित थप पात्रहरुको उपस्थिति भएको पाउन सकिन्छ । पृष्ठभूमिमा आएका जीवित पात्रहरुले उपन्यासलाई नवीन शैलीको बनाएका छन् ।

परिवेश विनिर्माण

पुराणको परिवेश विनिर्माण भई राधा उपन्यासमा बर्तमानमा हामीले भोगेको समयको हाम्रै वरिपरिको भूगोल र त्यहीँ उत्पन्न परिस्थितिभित्र सीमाबद्घ बनेको छ । इतिहासले तथ्य जुटाउन नसकेको दैवी र दानवी चरित्रहरु बास गर्ने लोकको कथालाई हामी बाँचिरहेको समयको र हाम्रै लोकको बनाउनका लागि परिवेशको विनिर्माण गरिएको हो । छापामारहरुको भर्ती गराई योजनाबद्घ तरिकाले जनक्रान्ति सञ्चालन गरी निरङ्कुश सामन्ती राजालाई पदच्युत गराउन चालिएका कदम , नारी मुक्तिको आन्दोलन , जाति र जनजातिको उत्थानजस्ता प्रसङ्गमा राधा उपन्यासले बर्तमान समयको राजनीतिक तथा सांस्कृतिक आन्दोलनको अवस्थालाई प्रष्टसँग बोकेको छ । सुख–दुःख , पीडा–क्रोध , माया–दया , रीस–रागजस्ता समकालीन मानवीय संवेदनाहरु राधा उपन्यासमा सूक्ष्म किसिमले समेटिएका छन् । केही गर्नुपर्छ भन्ने एकपक्षको चाहना त्यसप्रति अर्को पक्षको विरोध र क्रिया– प्रतिक्रिया साथै सङ्घर्ष र विकासमा अगाडि बढिरहेको आजको समाज नै राधा उपन्यासको परिवेश हो ।
व्रजका जनताहरुको खेती किसानी , पशुपालन ,चालचलन , रहन सहन , धर्म संस्कार र परम्पराले नेपाली ग्रामीण परिवेशलाई चित्रित गरेको छ । त्यस्तै कंशको राजधानी मथुराले सामन्ती व्यवस्थाले जकडिएको बर्तमान सहरी सभ्यतालाई चित्रण गरेको छ । यसबाट राधा उपन्यासले बर्तमान समाजकै आर्थिक , राजनीतिक , धार्मिक ,सांस्कृतिक र प्राकृतिक चित्र उतारेको छ ।

राधा उपन्यासले राधाको बाल्यकालदेखि लिएर प्रौढअवस्थासम्मको वर्णन गरेको छ । राधाकी माता कलावती बृद्घअवस्थामा पुगेर रोगले थलिएकोसम्म देखाइएको यसले करिब पचास वर्षको समयावधिलाई आफ्नो कथामा समेटेको छ । जीवनको एक पुस्ताले भोगेको सम्पूर्ण घटना राधा उपन्यासमा देखाइएको छ ।

राधाले वैष्णवी रुप धारण गरी नारी मुक्तिका लागि तीर्थ यात्रामा निस्कँदा उनी पुगेका ठाउँहरुको वर्णनबाट उपन्यासले फराकिलो भौगोलिक परिवेशलाई समेटेको छ । राधा व्रजबाट मथुरा हुँदै दक्षिणतर्फ गङ्गा पुष्कर , नैनीसारण्य , सिद्घाश्रमसम्म पुगेकी छन् । उपन्यासमा ती क्षेत्रहरुको परिवेशलाई जीवन्त किसिमले उतारिएको छ ।
त्यसले भारतवर्षका रीति संस्कृति , भाषा ,जाति, धर्म ,परम्परा र प्रकृतिको चित्र उतारेको छ । उनले गरेको उत्तरतर्फ हिमालय खण्डतिरको यात्रामा वर्णित विभिन्न ठाउँहरुले नेपाली परिवेशको चित्र उतारेको छ । उनी उत्तरतर्फ हस्तिनापुर हुँदै कालीगण्डकीबाट सेर्पाबस्तीसम्म पुग्छिन् । फर्कँदा उपत्यका ( काठमाडौं ) का पशुपति र गुहेश्वरीको दर्शन पनि गर्छिन् । त्यहाँबाट लगातार तीन महिनाको यात्रा गरी कोशी नदी तरेर विष्णुपादुका र दन्तकालीसम्म पुग्छिन् । मेची नदीको दक्षिण पश्चिममा अवस्थित कोचबंशी राजा वीरसिंहको राज्य कोचनगर तथा विराट राजाको राज्य विराटनगरसम्मम पनि उनी पुगेकी छिन् । उनको उत्तरतर्फको यात्राका क्रममा वर्णित गाउँहरुले सम्पूर्ण नेपालको भूगोललाई नै समेटेको छ । यसले नेपाली सामाजिक ,सांस्कृतिक ,धार्मिक र प्राकृतिक परिवेशको जीवन्त चित्र उतारेको छ ।

यसरी राधा उपन्यासमा इतिहासले प्रमाणित गर्न नसक्ने समयको कथालाई विनिर्माण गरी बर्तमान यगसापेक्ष बनाइएको छ । विनिर्मित राधा उपन्यासले नेपाल तथा भारतको विशाल भूगोललाई समेट्नुका साथै जीवनको एक पुस्ताको परिदृश्यलाई नै प्रस्तुत गरेको छ । अझ राधा उपन्यासले नेपालको सामाजिक , सांस्कृतिक , धार्मिक र प्राकृतिक परिवेशको जीवन्त चित्र उतारेको छ ।

विचार विनिर्माण

पुराणमा अर्काको कुभलो गरे पाप र अर्काको भलो गरे पुण्य मिल्छ , सधैँ असत्य वा पापीको हार र सत्य वा धर्मात्माको जित हुने हुनाले सत्य र धर्मको बाटो हिँड्नुपर्छ भन्ने आध्यात्मिक विचार पाइन्छ । त्यसलाई विनिर्माण गरी राधा उपन्यासले लीलालेखनको मान्यताको सापेक्ष हुने गरी विचार प्रक्षेपण गरेको छ । उपन्यासले लेखकको जीवनदर्शनको भारलाई पूरा पूरा बहन गरेको छ । ती विचारहरु प्रत्येक घटनापछि त्यसको विश्लेषण गर्ने क्रममा सोझो रुपमा नै आएका छन् । लेखक स्वयम्ले उस युगको कथालाई यस युगको चेतना भरेर प्रस्तुत गरेको बताएका छन् ।

पुराणको मूल विचारलाई विनिर्माण गरी सत्यकै मात्र जित नभएर जित त कूटनीतिक चालबाजीको पनि हुन्छ भनिएको छ । कृष्णको कूटनीतिक चालबाजीका कारणले कंशको हार र कृष्णको जित भएको देखाइएको छ ।

राधा उपन्यासमा हामी भ्रमलाई नै सत्य मानेर जीवन बिताइरहेका हुन्छौँ भनिएको छ । प्रत्येक पात्रहरु भ्रममा भुलिएर नै बाँचेको देखाएर सत्य त व्यक्तिको मनमा उठेको धारणा मात्र हो र धारणा फेरिएपछि सत्य पनि फेरिन्छ भनिएको छ । पात्रहरुका बीच विचार , रुचि र इच्छाहरु फरक भएको देखाएर व्यक्ति– व्यक्ति बीच फरक हुने सत्य त वैयक्तिक हुन्छ भन्ने विचार प्रस्तुत गरिएको छ ।

युगले आफूअनुरुपको विकासको बाटो समाउने हुनाले विकासको गति कहिल्यै रोकिँदैन , प्रत्येक युगमा नयाँ चेतना उब्जिने र त्यस चेतनाले समाजलाई नयाँ रुपमा परिवर्तन गर्छ भन्ने विचार यस उपन्यारमा व्यक्त भएको छ ।

माया–दया , रीस–आक्रोस , घृणा–तिरस्कार , प्रेम–शद्भाव , हाँसो–खुसीजस्ता भावहरु हामीमै मात्र भएका भाव होइनन् , युगौँदेखि हस्तान्तरित हुँदै आएका भाव हुन् । यिनै भावका कारणले व्यक्ति फेरिए पनि प्रक्रिया दोहोरिदै रहन्छ । त्यसैले नै कंशलाई परास्त गरी शासनसत्ता आफ्नो हातमा लिने कृष्णको पनि विलाशी व्यवहार उसरी दोहोरिएको हो भन्ने विचार उपन्यासमा आविर्भाव भएको छ । त्यसैले व्यक्ति फेरिए पनि प्रवृत्ति दोहोरिन्छ भन्ने विचार उपन्यासमा सशक्तताका साथ उठेको छ ।

राधा उपन्यासमा नारी मुक्ति तथा स्वतन्त्रताको विचार सबै भन्दा सशक्त बनेर आएको छ । पौराणिक कालदेखि नै नारीहरु पुरुषको रखेल , भोग्या र सुखको साधन बनाइदै आएका हुनाले मुक्तिको आवाजलाई बुलन्द बनाइएको छ । पुरुषहरुले नारीलाई नर्तकी बनाएर , पत्नी बनाएर , प्रेमिका बनाएर जहिले पनि आफ्नो हितमा मात्र प्रयोग गरेको भन्दै यो अवस्थाबाट परिवर्तन ल्याउन नारीहरु आफैँ जागरुक र चेतनशील हुनुपर्ने विचार पनि उपन्यासमा व्यक्त भएको छ । पौराणिक कालका राधा , कुन्ती , द्रौपदी , एकनंशा भातृजस्ता सबै नारी पात्रहरुले पुरुषहरुबाट कुनै न कुनै पीडा सहन बाध्य हुनु परेको थियो भने त्यस्तो अवस्था अहिलेको समाजमा पनि विद्यमान छ । नारीहरुले समान हक पाएर सहअस्तित्वका साथ बाँच्न सक्ने अवस्था नआएसम्म समाज परिवर्तन हुन सक्तैन भन्ने विचार यस उपन्यासमा व्यक्त भएको छ ।

अधर्मले पाप र धर्मले पुण्य मिल्छ , सधैँ सत्य र धर्मको नै विजय हुन्छ भन्ने धार्मिक विचारको विनिर्माण गरी अन्याय दण्डनीय हुन्छ भनिएको छ , अझ यस उपन्यासको विनिर्मित विचारमा जित सधैँ सत्यकै मात्र हुँदैन जित त कूटनैतिक चालबाजीको पनि हुनसक्छ भनिएको छ । राधाका विनिर्मित विचारहरु सबै लीलामान्यतामा आधारित भएकाले लीलालेखनका दर्शनको गह्रौ भारी उपन्यासले बोकेको छ ।

निष्कर्ष

लीलालेखनलाई मूल लेखकीय प्रवृत्ति मानेर साहित्य रचना गर्ने कृष्ण धरावासीले धार्मिक महत्वको पुराण विनिर्माण गरी साहित्यिक कलाले युक्त औपन्यासिक रुप दिएका छन् । पुराणले हाम्रो समाजमा आफ्नै प्रभाव पारेको छ । यसलाई ठुलो धार्मिक आश्थाका साथ भन्ने र सुन्ने गरिन्छ । त्यही कथालाई नयाँ चेतनाले रँगाएर रचना गरिएको उपन्यासको उद्देश्य साहित्यिक बनेको छ । भन्नलाई उपन्यास भनिए पनि अउपन्यासका ढाँचामा लेखिएको यसमा निबन्ध , नाटक कविता र समालोचना विधाका विशेषताहरुलाई उल्लेख्य मात्रामा समावेश गरिएको छ । यसरी राधामा विधा विनिर्माण तथा विधा भञ्जन भएको छ । पुराणका चामत्कारिक घटनाहरु राधा उपन्यासमा बस्तुतथ्य प्रमाणद्वारा प्रामाणिक बनेका छन् । त्यसमा समकालीन समाजको यथार्थ चित्र उतारिएको छ । कृष्ण र राधाको प्रेम प्रसङ्ग , राधाको नारी मुक्ति र स्वतन्त्रताको सङ्घर्षको प्रसङ्गले राधामा हाम्रै समकालीन युगको कथा प्रस्तुत भएको छ । सम्पूर्णतः मानवीय संवेगले युक्त यस उपन्यासका पात्रहरु सांसारिक सुखदुःखका खेलमा सामेल भएका छन् । तथ्य प्रमाण जुट्न नसक्ने पौराणिक परिवेश विनिर्माण भई प्रामाणिक परिवेश खडा भएको छ । यसले हाम्रै समाजको प्रतिनिधित्व गर्ने नारी पात्र राधाको जीवनको सम्पूर्णतालाई प्रस्तुत गर्ने गरी ५० बर्षका समयावधिलाई समेटेको छ । राधा उपन्यासका घटनाहरु नेपाल तथा भारतको भूगोलमा घटित भएका छन् ।
अधर्मले पाप र धर्मले पुण्य मिल्छ , सत्यको सधैँ विजय हुने हुनाले सत्यमार्गमै प्रवृत्त हुनुपर्छ भन्ने पौराणिक विचारको विनिर्माण गरी यसले लीलालेखनको दर्शनमा आधारित विचारहरु प्रक्षेपित गरेको छ ।

पुराणको कथा , चरित्र , परिवेश , विचार आदिलाई विनिर्माण गरी रुढिग्रस्त समाजको आडम्बरमाथि प्रहार गर्ने राधा आफैँमा एक सशक्त उपन्यास हो । बस्तुवादी नयाँ चेतनाका आँखाले समाज प्रस्तुत गरिएको यो उपन्यासमा युद्घ र प्रेमलाई नजिकैबाट हेर्न खोजएको छ । विचार विनिर्माणका क्रममा बस्तुतथ्य यथार्थलाई भ्रम नमानिएको भए यो उपन्यास अझ सशक्त बन्ने थियो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

सन्दर्भग्रन्थसूची

१ धरावासी , कृष्ण , शरणार्थी , झापा : नियात्रा प्रकाशन , २०५६ ।
२ ———————— , राधा , ललितपुर : साझा प्रकाशन , २०६२ ।
३ ————————— , देखेको सत्य लेख्नु लीलालेखन , गरिमा , मधुपर्क ( समालोचना विशेषाङ्क , भदौ , २०५५ )
४ बराल ऋषिराज ,लीलालेखन अर्थात् फर्मुलाबद्घ लेखन ,गरिमा ( समालोचना विशेषाङ्क , बैशाख, २०५१ )
५ राई , इन्द्रबहादुर , कठपुतलीको मन , कलकत्ता ,श्रीमती इन्द्र प्रधान , ई १९८३ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।