17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परीक्षा

कविता सतीश छेत्री May 17, 2022, 4:09 pm
सतीश छेत्री
सतीश छेत्री

जीवनमा परीक्षा नबसी
आत्माको तलमा
चढ्न सकिँदैन छोरी


वान्, टू, थ्री, फोर
हुँदै
हामी पशुदेखि
मान्छेको श्रेणीसम्म पुग्छौं


मान्छेको नक्शा
अनुहारमा देखिने बित्तिक्कै
ऊ मान्छे भइहालेको हुँदैन नि
त्यस्तै भए त
आज हाम्राे संसार,
कति फूलैफूल हुनेथियो
कि जति जनसङ्ख्या बढ्यो
झन् आनन्द।


फलामले परीक्षा दिन्छ
आगोमा पस्छ
पिटिएर कालो भएपछि मात्र
हतियार बन्छ त्यो
तिमीले पनि छोरी
आफ्नो चेतनालाई
तपाएर, पिटेर
हतियार बनाउन पर्छ त्यसको ।
अनि
हटाउन पर्छ अज्ञानतालाई।


परीक्षा नभएपछि
के हुन्छ ?
कन्सिडर ।
कन्सिडर त्यो तराजु हो
जसमा हलुका आत्माहरूको
तौलाई हुन्छ ।
ओजन त
कञ्चनजङ्घाको हुन्छ
रात हुन्छ/दिन हुन्छ
झरी/बादल/बर्खा सब हुन्छ
रातो, सुन्तले,सेतो हुँदै बरू !
रङ्ग फेरेको देखिन्छ
तर त्यसले फेरेको हुँदैन
आफ्नो जरा उम्रेको भूइँ।
सिरेटो सहन्छ चुचुराले
तर गुदी र चुरो हल्लिएको हुँदैन
हुइँ - हुइँ।
भन त कञ्चनजङ्घाको
तौल कति हुन्छ ?


देखेकी छौ ?
हिमाल त्यहीँ हुन्छ
जहाँ खाडल हुन्छ !


जीवनमा कुनै हुरी आयो भने,
आफूले
एउटा ईँटा उप्काउँदा
सघाउनेहरूले
घर ढालिदियो भने
आकाश हेर्नू
अनि धन्यवाद भन्नू ईश्वरलाई
कि योजना बन्दै गरेको हुनसक्छ
महाअभियन्ताको
त्यहाँ निर्माणलाई ।


बस तिमीले
पात्रता तयार गर्नुपर्छ
राजी छु भनेर
स्कुलमा जसरी
हात उठाएको हुनपर्छ।


तिमीलाई दु:ख दिने
तिम्रै अदेख्नुहरू मात्र हो
जुन दिन तिमीले
यी आफ्ना अदेख्नुहरूलाई देख्छौ
कोही पनि हुँदैनन् वरपर
तिमीलाई दु:ख दिने ।
सबै पात्र
सबै घटना
ईश्वरकै विस्तारहरू हुन् नि !
जुन ईश्वरले
तिमीलाई पनि बनाए ।


कति ठूलो
सकारात्मक षडयन्त्र छ नि
कति ठूलो माया !
हो
तिमी यही परिक्षामा
पास हुनपर्छ छोरी !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।